धम्पुस यात्रा र लालीगुराँस जस्तै चोखा मनहरू

- तुलसी प्रवास

धेरैले भनेका छन् – जीवन एउटा यात्रा हो । जीवनका हरेक क्रियाकलापहरू यात्रामा निस्कँदा भेटिने संयोग मात्र हुन् । मानिसको जीवनमा कतिबेला कुन अवस्था आउँछ, केही थाहा हुँदैन ।
जीवनरूपी यात्रामा यात्रा गर्दा झनै आनन्द आउँदो रहेछ । सैनिक आवासीय महाविद्यालय, पोखरामा पाँच वर्षको यस बसाइमा धैरै यात्राहरु भए । महाविद्यालयको वार्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार पोखरा वरिपरीका डाँडापाखाहरू खुब चाहारियो । अन्यत्रै भए त कहिलेकाहिँ दिक्क पनि लाग्दो हो तर पोखरा वरिपरिका डाँडापाखा जहाँ गए पनि सुनैलो अवसर झैँ लाग्छन् । यस वर्ष पनि नेपालकै सुन्दर पर्यटकीय गाउँ धम्पुस जाने अवसर मिल्यो १०० जना विद्यार्थी १० जना शिक्षक र अन्य सैनिक तथा गैरसैनिक कर्मचारीहरूको साथमा ।
धेरै भएछ पैदल नहिँडेको । हाम्रो यात्रा हेमजाबाट पैदलै शुरु भयो । उकालो बाटो, जंगलको बीचबाट हाम्रो यात्रा अगाडि बढ्यो । मोटरबाटो खनिएको भएपनि हामी कहिले पुरानो गोरेटो त कहिले मोटर बाटो हुँदै अगाडि बढिरह्यौँ । जंगल पार गरिसकेपछि एउटा रमाइलो गाउँमा पुगियो । त्यस गाउँलाई अस्ताम भन्दा रहेछन् । जता हेरे पनि सुन्दर दृश्य, त्यसमाथि हाम्रा उत्साहित विद्यार्थीहरूको गीत बाटोमा गुञ्जदै गयो । कहिले पेटका आन्द्रै छिनाल्ने खालका चुट्किला, कहिले मनै रमाउने गीतहरू त्यस सुरम्य प्राकृतिक छटाहरूमा बडो मेल खान्थे । हामी अगाडि बढ्दै गयौं । धम्पुस गएर मात्र बिसाउने उद्देश्यले हिँडेका हामी जाडो मौसममा पनि पसिनै पसिना भयौं ।
उत्तरमा सेताम्य हिमाल, दक्षिणमा कास्की नौडाँडा, लुम्ले लगायत पर–परसम्म देखिने सुन्दर पहाडी श्रृंखलाले हाम्रो यात्रामा थकान महसुस भएको थिएन । डाँडामा पुग्दा महाविद्यालयका सम्पर्क अधिकृत सेनानी जितेन्द्र गुरुङ र सुबेदार बिनोद खत्रीले पसिनै पसिना हुँदै हामीलाई भेट्नुभयो । उहाँहरूसँगको हिडाइ हामीलाई कठिनै भयो । एउटा बहाना बनाएर म त पछाडि लत्रिहालेँ । विचरा ! राजु सर भने जितेन्द्र सरलाई साथ दिन्छु भन्दै सकी नसकी उहाँलाई भेट्टाउने प्रयास गरिरहनुभयो । धम्पुस पुगेपछि उहाँले व्यक्त गरेको पीडा बडो हाँसोलाग्दो थियो । जितेन्द्र सरको हिँडाइलाई हामी सबैले मनमनै प्रशंसा गरिरह्यौंँ । आखिर सैनिक तालिम गरेको मान्छेसँग हामीले के सकिन्थ्यो र ?
जे होस्, यात्रा रमाइलो भयो । दिनको ३ः३० बजेतिर धम्पुस पृथ्वीनारायण मा.वि.को प्राङ्गणमा पुग्यौँ । विद्यालयमा पढाइ भइरहेपनि सबैजना हाम्रो जम्बो यात्राटोलीलाई अनौठो मानेर हेरिरहेका थिए । १०० जना विद्यार्थीहरूको एउटै पोशाक, अनुशासित, शिष्ट र भद्र व्यवहारबाट साँच्चै बाटोमा पनि सबैले अनौठो मानेको आभाष पाइन्थ्यो । हुन पनि आजभोलिको यो छाडा वातावरणमा हाम्रा विद्यार्थीहरूमा पाइने यो विशिष्ट गुण नै
थियो ।
विद्यालयको प्राङ्गणमा खाना तयार हुँदै थियो । विद्यार्थीहरू बसेर थकाइ मार्दै थिए । साथीहरू पनि सबै आ–आफ्नै तरिकाले रमाइलो गर्दै थियौँ । मलाई भने अरुभन्दा पनि राती सुत्ने अवस्थाको चिन्ता लाग्न थाल्यो । हेडमास्टरसँग सबै कोठाहरू हेर्ने निहुँले जितेन्द्र सरलाई लिएर त्यस विद्यालयका हेडमास्टरको साथमा कोठाहरू अवलोकन गर्न लाग्यौं । विदेशीहरूको सहयोगमा निर्मित विद्यालयका कक्षाकोठाहरू बडो आकर्षक तरिकाले सजाइएको रहेछ । त्यसरी सजाइए पनि जताततै फोहोर अनि राम्रोसँग सदुपयोग नभएको जस्तो पाइयो । सबै कोठाहरू हेरिसकेपछि सबैलाई सुत्ने बन्दोवस्त मिलाएर हेडमास्टरलाई धन्यवाद दिएर हामी आफ्नो कामतर्फ लाग्यों ।
जितेन्द्र सर भने हामीलाई सबै व्यवस्था मिलाएर रमाइलो गर्नुहोला है भन्दै पोखरा फर्कनुभयो । उहाँको अनुपस्थितिले मन खिन्न भएपनि उहाँको आफ्नो कार्यव्यस्ततालाई हामीले स्वीकार्न बाध्य भयौँ ।
साँझ पर्न लागेको थियो । हिमालका टाकुराहरूमा सुनौला घामका किरणहरू
देखिन्थे । अन्यत्र जताततै अँध्यारो हुन लाग्दा पनि हिमाल भने प्रस्टै देखिन्थ्यो । साँझको खाना खाएपछि हाम्रो रमाइलो कार्यक्रम सुरु भयो । बीचमा आगो बालेर चारैतिर घेरो लगाएर विद्यार्थीहरू बसे । आ–आफ्ना प्रतिभाहरू सबैबाट प्रस्तुत हुँदै गए । धम्पुस बजारमै घर भएका हाम्रा अभिभावक एवम् पृथ्वीनारायण मा.वि.का शिक्षक सोमबहादुर गुरुङले हाम्रो साँझलाई अझै रमझमपूर्ण बनाउने तयारी गर्नुभएको रहेछ । त्यहाँको आमासमूहका आमा, दिदी, बहिनीहरुले हाम्रो स्वागत गर्ने कार्यक्रम रहेछ । काँधमा मादल भिरेर आमासमूहको टोली हामी भए ठाउँ आइपुग्यो । मैले कार्यक्रम सञ्चालनको दैलो उघारैँ एउटा मुक्तकबाट –
पारी हे¥यो माछापुच्छ«े वारी सुन्दर गाउँ रैछ,
स्वर्गलाई नि बिर्साउने धम्पुस यसको नाउँ रैछ ।
जसले जे–जे भनेपनि भन्नलाई स्वतन्त्र छ,
म त भन्छु हरेक मानिस बुद्ध बन्ने ठाउँ रैछ ।।

परर्र तालीको गड्गडाहट्सँगै नाचगानको कार्यक्रम सुरु भयो । हाम्रा विद्यार्थी भाइहरू पनि नाचगानमा रमाउन थाले । आमा समूहबाट हाम्रै स्वागतका गीतहरू गाइए...
घट्टे खोला पुल,
धम्पुस आउने मायालाई सम्झना लालीगुराँस फूल

धेरै बेरसम्म हामी नाचिरह्यौं । आमा समूहलाई धेरै धन्यवाद लिएर बिदा गरिसकेपछि हामी केहीबेर रमाइलो गरेर सुत्ने तरखरमा लार्यौं । मौसम जाडोकै भएपनि हामीले रमाइलोसँग रात बितायाँै । भोलिपल्ट बिहानै उठेर धम्पुस माथिका डाँडाहरुमा पुग्ने योजनाअनुरुप हामी बिहानको नास्ता खाएर उकालियौं । उकालो सिँडी, बाटोको दुवैतिर लहरै उभिएका चन्दनका रुखहरूले हामीलाई साँच्चै अनौठो उर्जा दिइरहेका थिए । अझ लालीगुराँस फुल्ने समय भएका भए त कति रमाइलो हुन्थ्यो होला । तैपनि कताकति फुल्न लागेका लालीगुराँस टिपेर हाम्रा विद्यार्थीहरू रमाउदै हिँडिरहेका थिए । कहिले गीत गाउदै, कहिले हाँस्दै हामी अष्ट्रेलियन क्याम्प पुग्यौँ । विदेशी नाम राखिए पनि त्यो सुन्दर डाँडो साँच्चै मनमोहक रहेछ । त्यहाँ पुग्दा देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध याद आयो । ह्ृदयको भित्री कुनाबाटै आवाज आयो– “नेपाल, सुन्दर, शान्त, विशाल....!” । हामी नेपाली भएर पनि यस्ता सुन्दर डाँडा आजसम्म पुग्न नसकेकोमा आफैलाई धिक्कार्दै केही बेर टहलिन थाल्यौँं । साँच्चै त्यहाँको सुन्दरतालाई शब्दमा व्यक्त गर्नै नसकिने लाग्यो मलाई ।
अष्ट्रेलियन क्याम्पको केही बेरको बसाइपछि हामी पुनः धम्पुस फर्कियौंँ । खाना तयार रहेछ । खाना खाएर हिँड्ने तरखरमा थियौं । त्यति नै बेला महाविद्यालयका प्रिन्सिपल खेमराज देवान पनि टुप्लुक्क आइपुग्नुभयो । पृथ्वीनारायण मा.वि.का शिक्षकहरूसँग सानो औपचारिक कार्यक्रम सम्पन्न गर्यौँ । प्रिन्सिपल सरले महाविद्यालयको तर्फबाट पृथ्वीनारायण मा.वि.लाई सानो मायाको चिनो प्रदान गर्नुभयो । उहाँहरूसँग सामूहिक तस्विर खिचिसकेपछि हामी आ–आफ्नो झोला भिरेर ओरालो झर्यौँ । पूरै यात्राभरि सन्तोष सर र म सँगै जस्तै रह्यौँ । पुष्प सर र श्याम सर भने आफ्नै सुरमा हुनुहुन्थ्यो । डोलराज सर आरुणि सर र बसन्त सरलाई भने उकालो ओरालोले छुँदो रहेनछ । जे होस् हिँडाइमा खासै कष्ट कसैलाई भएन । बेला–बेलामा भोलभद्र सरकोे ढाड दुखेको रमाइलो ओैषधि पनि चाख्दै रमाउँदै रमाउँदै ओरालो झरियो । हामीसँगै यात्रामा रहनुभएका सैनिक कर्मचारीहरू प्रेम बहादुर अधिकारी, मनराज भण्डारी लगायत गैर सैनिक कर्मचारीहरूले पनि हाम्रो यात्रा सम्पन्न गर्नमा सुमधुर भूमिका निर्वाह गर्नुभयो । मनभरि धम्पुसको स्मरण बोकेर त्यहाँको आमा समूह, पृथ्वीनारायण मा.वि. परिवार र सोमबहादुर दम्पतिलाई विशेष धन्यवाद दिदै हाम्रो यात्रा सम्पन्न भयो । अझैपनि मनैमनले भन्दै थियो–
घट्टे खोला पुल
फेरि आउँला, टिपेर राख हैं लालीगुराँस फूल ........!

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 फागुन, 2068

लेखकका अन्य रचनाहरु