आँधीखोले कालिदास अर्थात् चन्द्रबहादुर सेन ‘मसाने’

- तुलसी प्रवास

नेपालको पश्चिमाञ्चल विकासक्षेत्रको एउटा पहाडी जिल्ला स्याङ्जालाई गीत, सङ्गीत, र संस्कृतिको भण्डार भने हुन्छ । यस जिल्लाको मध्य भागबाट बग्ने एउटा प्रसिद्घ खोलो छ , त्यसलाई आँधीखोला भनिन्छ । अन्धाअन्धीको आँसुबाट बनेको नदी भएर ‘आँधी’ नाम रहेको किम्बदन्ती रहेको यस खोलाले स्याङ्जा जिल्लालाई दुई फ्याकमा विभाजन गरेको छ । यसै खोलाको वरिपरि हुर्केका विभिन्न लोक प्रतिभाहरूले यहाँको पा्रकृतिक उच्छवाससँगै गाएका मधुर लोक लहरीहरूलाई आँधीखोले लोकगीतको नामले सर्वत्र चिनिन्छ ।
मानव विकासको उषाकालसँगै भित्रिएको लोकसाहित्यका विभिन्न विधा उपविधाहरूमध्ये लोकगीत पनि एउटा सशक्त विधा हो । मानव मनका अन्तर कुन्तरका वेदना , हर्ष , खुसीको अभिव्यक्ति लोकगीतमा हुने गर्दछ । लोकगीतका स्रष्टाहरू पनि यसै भावभूमिबाट उठेका हुन्छन् । उनीहरू आफ्ना अभिव्यक्तिहरू लयबद्घ रूपमा प्रस्तुत गर्दै जान्छन् र त्यही नै लोकगीत बनेर धेरैका कण्ठमा उनिन्छन् । वर्तमानमा विज्ञानका विभिन्न उन्नतिसँगै लोकगयकहरू रेडियो, क्यासेट, टेलिभिजन आदि मार्फत आफ्ना गीतहरू प्रस्तुत गर्ने गर्छन् तर यी आविष्कारभन्दा अगाडिको समयमा लोकगायकहरु जीवनको मार्गमा आउँथ,े हराउँदै जान्थे अनि एउटा इतिहास बन्थे । त्यो कसैले लेख्दैनथ्यो । उनीहरु एउटा नलेखिएको इतिहास बनेर जान्थे । हाम्रा समाजका यस्ता नलेखिएका इतिहास कैयौँ छन् । ती सबैको चर्चा गरेर साध्य नै छैन । त्यस्तै एउटा इतिहास बनेर हामीबाट टाढिएकोे प्रतिभा जसले आँधीखोलाका कलकलसँगै र यहाँको प्रकृतिक छटामा आफ्ना जीवनपथका धेरै गोरेटाहरू कोरिसकेको छ । कुनै समय थियो, उक्त व्यक्तिको नाम मात्र उच्चारण गर्दा पनि आँधीखोले समाज रोमाञ्चित हुने गथ्र्याे । कुनै विवाह, भोज ब्रतबन्ध , उत्सव आदिमा त्यो व्यक्तिको उपस्थिति भएमा घर–घरमा ताला लाग्थे । बालकदेखि बृद्घवृद्धासम्मको उपस्थित त्यहाँ हुने गथ्र्यो र आफूलाई उसैसँग हराइदिन्थे यहाँका मान्छेहरु । यस्ता प्रतिभाशाली र हरेकलाई आफूभित्र नै हराइदिन सक्ने एकजना अाँधीखोले कालिदास थिए चन्द्रबहादुर सेन ‘मसाने’ । उनै ‘मसाने’ को छोटो चिनारी दिने प्रयास यस लेखमा गरिएको छ ।
वि.सं.१९६० साल भाद्र १३ गतेका दिन हालको कँेवरे गा.वि.स. वार्ड नं.४ स्थित सपाउँदे गाउँमा जन्मेका ‘मसाने’को वास्तविक नाम चन्द्रबहादुर सेन थियो । आफ्नो गायनकला र अभिव्यक्तिको प्रदर्शनको क्रममा विभिन्न स्थानमा घुमफिर गर्ने, रङ्ग रमाइलोमा प्रायः कतै नछुट्ने भएको कारणले कसैले उनको नाम ‘चल्दो मसाने ’ राखिदिए । त्यही नाम पछि गएर मसानेमा रुपान्तरित भयो । अहिले उनको मृत्यु पछि पनि उनका सन्तानहरूलाई समेत नामको पछाडि ‘मसाने’ भनेर नै पुकारिन्छ ।

मसानेका पुर्खाहरू कोइराला थरका उपाध्याय बाहुन थिए । उनका कुनै पूर्खाले ठकुरीकी छोरीसँग विवाह गरे । उनीबाट जन्मेका सन्तानहरूलाई प्छि गएर सेन ठकुरी भनिन थालियो र कोइरालाबाट सेन भए भन्ने कुरा यसै पंक्तिकारले सम्बन्धित ठाउँमा नै गएर बुझ्दा पत्ता लागेको छ । अहिले पनि उनका छिमेकी कोइराला थरका नै रहेका छन् र त्यस टोललाई ‘कोइराला टोल’ भन्ने गरिन्छ । ‘मसाने’ आफ्नो बाल्यकालदेखि नै गीत गाउनमा खप्पिस थिए । विवाह उत्साव आदिमा गीत गाउनु तथा नाना थरि अभिनय गरी नाच्नु उनको स्वभाव नै बनेको थियो । त्यही स्वभाव तन्नेरी अवस्थामा र बृद्घ अवस्थामा पनि रह्यो र उनको मृत्यु सँगसँगै मात्र हराएर गयो । एक समय चापाकोट निवासी मित्रलाल डिट्ठाको हत्या गरेको अभियोगमा मसाने जेल समेत परेका थिए । ज्यान मुदामा थुनिएका मसाने जेलभित्र पनि विभिन्न रङ्ग रमाइलो गर्ने गर्थे । जेलमा प्रहरीहरू समेतलाई उनी आफ्नो कलाद्वारा मख्ख पार्ने गर्थे । त्यही कलाकै कारण उनी चाँडै नै जेलबाट समेत छुट्न सफल भए । त्यसैगरी मसाने वि.सं.२०१५ सालमा राजा महेन्द्र यस क्षेत्रमा सवारी हुँदा दार्सिङ देखि राम्दीसम्म नाना थरि गीत गाउँदै महेन्द्रलाई मनोरञ्जन दिलाएको कुरा उनका दौतरीहरू बताउँछन् । ठाउँठाउँमा राजा महेन्द्रको स्वागतमा साँस्कृतिक कार्यक्रमहरू गर्दै नाच्दै हँसाउँदै हिडेको सम्झना मसानेलाई नजिकैबाट चिन्नेहरूमा अझै पनि ताजै छ । पछि गायक मसानेले राजाबाट तक्मा समेत पाएका छन् । यसरी गीत तथा अभिनय कलामा लागेर राजाबाटै सम्मानित र पुरस्कृत हुने ‘मसाने’ सम्भवतः पहिलो स्याङ्जाली कलाकार हुन् । अनेकौँ गीतका टुक्काहरूलाई अनुप्रास मिलाएर प्रस्तुत गर्ने र त्यसैलाई लयमा समेत रुपान्तर गर्ने साथै आफै गीत गाउँदै ,नाच्दै विभिन्न अभिनय गर्ने उनको कला अत्यन्तै प्रशंसनीय थियो । उनको नाच्दाखेरिको कम्मरको ढाँचा, आँखीभौँको सञ्चालनले सबैलाई मोहित पार्ने गथ्र्यो । मसाने उपस्थित भएको समारोहमा त्यस क्षेत्रका मानिसहरु प्रायः रमाइलो हेर्न छुट्दैनथे । उनी श्रृव्य र दृश्य दुबै विधामा उत्तिकै सशक्त थिए । स्याङ्जामा कुनै समय अत्यन्तै लोकप्रिय बनेको एउटा भाका “साइलो दाई काँ गयो , पानी खाँदा न्याउली जुरायो”का स्रष्टा पनि उनै मसाने थिए । यही गीत गाउँदै त्यसैमा नानाथरि टुक्काहरु थप्दै उनी विभिन्न मेला ,घाट , विवाह, पूजाआजा जताततै मसान भैmँ धाउने गर्थे । स्याङ्जा, पर्वत , पाल्पा, कास्की, गुल्मी, तनहुँ आदि जिल्लाका विभिन्न स्थानमा उनको सुगन्ध छरिएको थियो । माटो–माटोमा छरिएको उनको सुवास वर्तमानमा पनि उत्तिकै चर्चाको विषय बन्ने गर्छ । उनलाई सम्झेर रोमाञ्चित हुनेहरू अझै पनि प्रशस्तै भेटिन्छन् ।
वि.सं २०१८ साल फागुन ७ गतेको प्रजातन्त्र दिवस समारोहमा प्रचार प्रसार विभागले आयोजना गरेको जिल्लास्तरीय साँस्कृतिक प्रतियोगितामा स्याङ्जा जिल्लाको प्रतिनिधित्व गर्ने सावित्री शाह ,अशोक श्रेष्ठ र चन्द्रबहादुर सेन ‘मसाने’ले गाएको गीत रेडियो नेपालको लोकलहरी कार्यक्रम अन्तर्गत प्रसारित भएको थियो । यही गीत नै रेडियो नेपालमा स्याङ्जाली गायकहरूद्वारा गाइएको पहिलो गीत थियो । यसभन्दा अगाडि कुनै पनि स्याङ्जाली गायकको गीत रेडियोबाट प्रसारित भएको थिएन । त्यसैले यिनै गायकहरुलाई रेडियो नेपालका प्रथम स्याङ्जाली गायक मान्न सकिन्छ । त्यतिबेला उनीहरुले गाएको गीत यसप्रकार थियो ः
कति साह्रै जमेको पिरती, बीचमै छुटायो दैवले ,
पर्ख तिमीलाई , जाल बुन्नेलाई ,
मसानेले गाएको गीत यही एउटै मात्र रेकर्ड भएको पाइन्छ । उनका अन्य चर्चित र लोकप्रिय गीत भने त्यत्तिकै बिलाएर गए ।
चन्द्रबहादुर सेन ‘मसाने’ र उनकी पत्नी गंगाकुमारी सेनबाट ५ सन्तानको जन्म भएको थियो । त्यसमा ४ जना छोरा र एउटी छोरी थिइन् । उनका ४ भाइ छोरामध्ये अहिले उनको गाउँ केँवरेमा एउटा मात्र छोरा र उनका परिवार रहेका छन् । यिनै माइला छोरा रणबहादुर मसानेले आफ्ना पिताको पुख्र्यौली थलोमा आफ्नो जीवन निर्वाह चलाइरहेका छन् भने अन्य छोराहरु कोही मणिग्राम, कोही बुटवल त कोही रामपुरमा रहेका छन् । स्याङ्जा जिल्लाका कुना कुनामा मसानेकोे चर्चा हुने गरेपनि उनका धेरै चर्चित गीतहरू रेकर्ड भने गरिएको पाइदैन । यो साहै्र दुःखलाग्दो कुरा हो । एउटा अनन्य प्रतिभा आफ्ना जीवनका उकाली ओरालीहरूमा जति यात्राहरू पार गर्यो ती सबै अहिले इतिहास बनेका छन् । उनको इतिहासका प्रत्येक पाटाहरु लोक साहित्यप्रेमीहरूका लागि प्रेरणा बन्न सक्दछन् । मात्र सुनाइको भरमा पनि उनका जीवनका तरेलीहरूले आनन्दित र आल्हदित बनाउने गर्छन् । स्याङ्जालीे लोकसाहित्यको इतिहासमा मसानेको नाम छुटेमा त्यो इतिहास अधुरो र अपुरो रहनेछ । उनी यस क्षेत्रका आँधीखोले साँस्कृतिका ‘कालिदास’ हुन् । आफ्नै भावनाका तरेलीहरूमा रङ्मङिदै जसरी कालिदास गुन्जन्थे त्यसरी नै आँधीखोलाको सुस्याहटसँगसँगै बग्ने एउटा चीर साधक बनेर स्याङ्जाली क्षितिजमा चम्केको प्रतिभाको नाम हो चन्द्र बहादुर सेन ‘मसाने’ ।
अन्तमा, उनकै लोकप्रिय गीतको एउटा अंश यहाँ प्रस्तुत छ ः
साइलो दाइ काँ गयो

पुरुषः च्याट्टै पारी सिदेऊ दमै सुर्ती हाल्ने बासा,
ओच्छ्याई देऊ गुन्द्री काम्लो ढाल्छु तिरी पासा
साइँलो दाइ काँ गयो, पानी खाँदा न्याउली जुरायो ।



स्त्रीः छिँचिकोटे मारी मारी बाह्र धार्नी बोसो,
ओछ्याउन त ओच्छ्याउँथे गुन्द्री काम्लो,
हजुरले तिरीपासा ढाल्दा छ तीन परे कसो ?
साइँलो दाइ काँ गयो ............

पुरुषः सानो सानो गाईको बाच्छो तर्नु गंगा तर्ला,
ओच्छ्याइदेऊ त गुन्द्री काम्लो, ढाल्दा पासा छ तीन परे पर्ला ।
साइँलो दाइ काँ गयो ............

स्त्रीः तलै साइलो, तलै माइलो राजदर्बार तलै,
ढाल्दा पासा छ तीन परे व्यहोर्ने कल्ले ।
साइँलो दाइ काँ गयो ..............

पुरुषः जालै लिई खोला खोला माछै मारे को छु,
ओच्छ्याइदेऊ गुन्द्री काम्लो, ढाल्दा पासा छ तीन परे व्यहोर्ने म छु ।
साइँलो दाइ काँ गयो ..............

स्त्रीः कर्मी दाइ सिपालुले गरेको किरती,
ढाल्दा पासा छ तीन परे पनि व्यहोर्ने भए, लगाउँ त पिरती ।
साइँलो दाइ काँ गयो ..............

पुरुषः दाएँ साइलो, दाएँ माइलो, बहर बाच्छो दाएँ,
न्याय पाउँला ठेक्का राजाबाट, बुढेसकालमा प्रीति लाउन पाएँ ।
साइँलो दाइ काँ गयो ..............

स्त्रीः बटौलीको बजारमा पान सुपारी सस्तो,
राजासित बक्सिस खाने, अमिलढुंगे गाइने यो जस्तो ।
साइँलो दाइ काँ गयो ..............

पुरुषः तेर्सो टेक्ने लहुरी त उकालीलाई कोरा,
मैले लिउँला सारङ्गी त तिमी बोक बोरा ।
साइँलो दाइ काँ गयो ..............

स्त्रीः नेपालबाट काइँयो ल्याई जुलफी कोरुँला,
मलाई बोरा बोक्ने भन्दा थाप्लै पो फोरुँला ।
साइँलो दाइ काँ गयो ..............

पुरुषः सानो सानो रुमालैलाई साबनैले ध्वौली,
मेरो थाप्लो फो¥यौ भने आफै राँडी हौली ।
साइँलो दाइ काँ गयो ..............

स्त्रीः सानो गाईको बाच्छो गंगा तारुँला नि,
मलाई राँडी हौली भन्दा झ्यालखान पारुँला नि ।
साइँलो दाइ काँ गयो ..............

पुरुषः कुन्छ साइलो कुन्छ माइलो खोली ढुङ्गा कुन्छन्
आफ्नै खसमलाई झ्यालखान हाल्ने यस्तै राँडी हुन्छन् ।
साइँलो दाइ काँ गयो ..............

स्त्रीः पित्तै साइँलो, पित्तै माइलो, माछा मा¥यौ पित्त,
के को माया प्रीति लाउने यस्ता मूर्खसित ।
साइँलो दाइ काँ गयो ..............

पुरुषः बटौलीको बजारमा सुपारी खान्छ्यौ त
बुढेसकालमा प्रीति लाई मसित जान्छ्र्यौ त ।
साइँलो दाइ काँ गयो ..............

स्त्रीः पारी पाखा पखेरीमा सिनु खायो स्यालले,
चार भाइ छोरा, मुटुको किला जस्ता सौता माथि लान्छु भन्छ यल्ले ।
साइँलो दाइ काँ गयो ..............

पुरुषः साह्रै राम्री देखेँ मैले अत्तर घसेकीलाई ,
मलाई पनि लान मञ्जुर छैन, तिमी जस्ती चाउरिएर बेत बसेकीलाई ।
साइँलो दाइ काँ गयो ..............

स्त्रीः सुर साइँलो सुर माइलो लडाइँ गर्ने सुर,
एक छाक गुन्द्रुकमा त आँखा गाड्छन् भने म के भा की छु र ।
साइँलो दाइ काँ गयो ..............

पुरुषः कलाई साइँलो कलाई माइलो लेख्न बाँकी कलाई,
रगत मासु अन्तै भ्याइछौ, हाड र छाला मलाई ।
साइँलो दाइ काँ गयो ..............


सन्दर्भ र्सची ः——
१. अधिकारी, विश्वप्रेम, आँधीखोले लोकसंस्कृति र लोकगीत,
स्याङ्जा, विजयकुमार अधिकारी, २०५७ ।
२. वनवासी, देवीप्रसाद, आँधीखोले लोकसंस्कृति,स्याङ्जा,
चित्रलेखा प्रकाशन, २०५५।
३........................आकृति र अनुभूति, स्याङ्जा,
सुदर्शन रेग्मी २०५५।
४. ....................मसाने र उनका दोहोरी गीत,
२०४३ विश्वसन्देस साप्ताहिक ८ भदौ ।
५. खनाल , तुलसीराम, आँधीखोले लोकगीतको अध्ययन,
स्नातकोत्तर शोधपत्र २०६० ।


प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 चैत्र, 2068

लेखकका अन्य रचनाहरु