सबाल्टर्न

- बासुदेव पुलामी

दार्जिलिङको फुस्रो र रातो माटोलाई जसले खनेर खानेकुरा उमार्न सक्छ दार्जिलिङ आदिदेखि अन्ततक उनीहरूकै हो। अरू कसैको हुन सक्तैन। माटोले जसलाई दिन्छ त्यो ठाउँ उसैको हो, अरू त आशामा बसेकाहरू मात्र हुन्।
(आज रमिता छ, इन्द्रबहादुर राई, चौथो संस्करण सन् २०००, पृ ११२)

सभ्यताको
अन्कन्टार जङ्गलहरू फाडेर
हिमाल हेर्दै हेर्दै हिमालको फेदैफेद
डाँडा – काँडा हुँदै
बाघ, भालु, चितुवा, निगाले, फ्याउरा, स्याल, बाँदर, दुम्सी, मृग, घोरल, थार, अर्नाहरूसित
पोंठेजोरी खेल्दै खेल्दै
दुर्ज्यालिङ, मायलल्याङ्देखि
गुन्द्रीबजार बनाउँदै दार्जिलिङसम्म पनि पो बनायौं।

रेलिङ
मगरजोङ
नयाँगढी, फुवागढी, दामसाङ्गढी, सुखिम अझ पर परसम्म फैलेर फैलिँदै गयौँ
जङ्गलमा कन्दमूल, फलफूल, काफल, कटुस, काउलो, भद्रासे, ऐंसेलुहरूसित
कति मितेरी लायौँ लायौँ।
च्याउ, निगुरो, गाभा, सिस्नु, तामा, बनकेरा
कति खायौँ खायौँ।
जङ्गलहरूमा
अझै पनि
चिहानघारी खोतलेर हेरे लछेप्पै भेट्लान्
हाम्रै नाकनक्साका, नलीहाड र अभागी खप्परहरू ।

रूङदुङ खोला,
रेली खोला, बालासन हुँदै
महानदी हुँदै टिस्टा रङ्गीतको तीरैतीरमा उधौंली र उभौंली गर्दै
संसारी माई पुजेर, मुन्धुम गाएर, ढोल ढ्याङरो ठटाएर,
फेदाङ्बा, बिजुवा, जानपा, बाप्पा, भूसालहरूबाट बुङथिङ राखेर
सिमेभूमे पन्साउँदै - पन्साउँदै आयौँ।

घना
जङ्गललै थर्कने गरी
झ्याम्टा बजाएर, डम्फु र मादल घन्कायौँ
रत्यौली, सङ्गिनी, बालुन गाउँदै गाउँदै
देवरालीमा थान थाप्यौँ
चिलाउनेको फेदमा
आइताबारे थानमा
ढोल-ढ्याङ्ग्रो कति ठटायौं - ठटायौँ ।
यो जङ्गलमा
गाईभैंसी, भेडा-बाख्रा, कुखरासितै कति सुत्यौँ - सुत्यौँ।
एमान एमान ढुङ्गा फोरेर
बाटो कति बनायौँ - बनायौँ
मालिङ्गोको घारीबाट डेरा कति बनायौं -बनायौँ।

आलु, मूला, मगरबुक, भटमास, फापर, मकै, धान फलाउँदै
गुन्द्रुक, सिन्की, किनेमाको पसल थाप्यौं
पसलमा गुन्द्री, ढोको, ढाकर, पेरूङ्गा, थुन्चे, नाङ्लो बेच्दै
गुन्द्रीबजार नै बसायौँ।

हाम्रो बराजुको ढाकर जस्तो दार्जिलिङ
हाम्रो बाजेको तोक्मा जस्तो दार्जिलिङ
हाम्रो बाबुको दौरासुरूवाल जस्त् यो दार्जिलिङ
हामी जस्तै हाम्रा दार्जिलिङ।
(नयाँ क्षितिजको खोज, असीत राई, दोस्रो संस्करण १९८४, पृ च )

बिस्तारै
बिस्तारै चियाबारी रोप्यौँ
चियासितै सिक्यौँ हामीले
दुर्ज्यालिङलाई हामी दार्जिलिङ, कम्पनी, डारजीलिङ भन्न
त्यसपछि त
हामीले के के सिक्यौँ - सिक्यौँ
तर हामीले हाम्रै इतिहास लेख्न चाहिँ सिकेनौँ ।

चियाको मुना झैं हामी निमोठिँदै – निमोठिँदै गयौँ,
चियाको गाँछ झै सुक्दै - सुक्दै गयौँ
चियाको रङहरूसितै
रगत र पसिनाहरू
निचोरिँदै - निचोंरिँदै गयौँ।
आफैले बनाएको
आफ्नै जमीनमाथिको घरबारीबाट
हट्टाबाहिर त कति भयौँ - भयौँ।

हामी तर बाँच्यौँ
बाँचिरह्यौ
शताब्दीऔंदेखि यसरी यो देशमा हामी बाँच्यौं
बगरमा छरिएका ढुङ्गासरह
सिमानामा राखिएका ढुङ्गासरह
हामी निरीह मात्रै बाँच्यौँ।

यो देशको
मानचित्रमा, माटोमा , भूगोलमा बाँच्यौ
इतिहासमा तर सँधै ओझेलमा पऱ्यौं ।
हाम्रो
इतिहास तर
अक्षरहरूले लेखेको भन्दा गहिरो छ।
देशलाई हाम्रो इतिहास थाह छैन। ( ? )

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 चैत्र, 2068

लेखकका अन्य रचनाहरु