डायास्पोरिक कथाकार सञ्जु बजगाईं र ‘समुद्र र सपना’ कथासंग्रह

- तुलसी प्रवास

नेपाली साहित्य आफैंमा महान् छ । समय—समयमा यस नेपाल भूमिमा जन्मेका साहित्य स्रष्टाहरू नेपाली साहित्यको विकासमा आ—आफ्नै तवरले क्रियाशील छन् । यसैको परिणामस्वरूप विगतको तुलनामा वर्तमानमा साहित्यको विकास तीव्रतररुपमा भइरहेको छ । हिजोको भानुभक्तीय साहित्य र वर्तमानमा विकसित साहित्यलाई तुलना गर्ने हो भने नेपाली साहित्यले यसबीचमा ठूलो फड्को मारेको महसुस हुन्छ ।
वर्तमान समाज हरेक तवरले विकसित बनिरहेको छ । नयाँ नयाँ विचार, धारणा, आविष्कार आदिको जन्म भइरहेको छ । हिजोको पाषाढ युगको मानवीय समाज आज चन्द्र, मंगल लगायतका पृथ्वी बाहेकका ग्रह–उपग्रहमा समेत बस्ती बसाउने योजनामा छ । मानव समाजको यत्रो विकास भैसक्ता यस विकासको पछाडि केही केही नकारात्मक कुराहरू समेत विकास भैरहेका छन् । त्यसैले विकाससँगसँगै विकृति पनि भित्रिनु कुनै अस्वाभाविक कुरा होइन ।

विज्ञान र प्रविधिले विश्वलाई साँघुुरो बनाउँदै जाँदा अहिले मनभरि नेपाल बोकेर विदेशका कुना कुनासम्म नेपालीहरू पुग्ने गरेका छन् । कोही जागिरको लागि, कोही व्यापार— व्यवसायको लागि त कोही स्थायी बसोबासकै क्रममा विदेशिनेहरू प्रशस्त छन् । देशभित्र अवसर नपाएर अवसरको खोजीमा विदेशिए पनि मातृभूमिको सम्झनाले विदेशिनेहरूको हृदयलाई समय—समयमा झस्काउने गर्दछ । आफू जन्मेको ठाउँ, साथीसंगी,आफन्त, नातागोता सबै—सबैको सम्झनाले पिरिएको छातीबाट समय—समयमा अक्षर बनेर पीडाहरू छताछुल्ल पोखिन पुग्छन् । कसैले पीडा पोख्छन्, कसैले आफ्ना अनुभवहरू ओकल्छन् त कसैले मनभरि पीडा भएपनि बाहिर खुसी देखाउँछन् । आखिर जे—जसरी लेखेपनि नेपाली साहित्यको भण्डार अझै चुलिदै छ । देश—विदेशबाट नेपालाई माया गर्नेहरूको ओइरो लागेकै छ । यसरी विदेशमा स्थायी रूपमै बसोबास गरेर पनि नेपाली साहित्यप्रति समर्पित एक स्रष्टा हुन् सञ्जु बजागाईँ ।

नेपालको मोरङ्ग ंिजल्लामा जन्मेर हाल स्थायी रुपमा बेलायतको लण्डनमा बसोबास गर्दै आएकी सञ्जु बजागाईँ डायस्पोरिक चेतना बोकेकी नेपाली साहित्यकार हुन् । सन् १९९७ सालमा धरानमा रहँदै देखि ‘प्रयास’ पत्रिकामा कविता प्रकाशन गरेर साहित्यिक धरातलमा पाइला राखेकी बजगाईँले पछि काठमाडौँबाट ‘अभिव्यक्ति’ मार्फत कथा लेखनलाई निरन्तरता दिइन् । धरान, काठमाडौँ हुँदै बेलायत उडेकी बजगाईँ हाल सपनाको देश बेलायतबाटै नेपाली साहित्यको विकासमा लागिपरेकी छन् । उनी समकालीन साहित्य डट कम, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) आदि इ—पत्रिका तथा साहित्यिक संस्थामा आबद्घ छन् । उनका रचानहरू मधुपर्क, नेपाल साप्ताहिक, रचना, अभिव्यक्ति, मिर्मिरे, शब्दाङ्कुर, अन्तर्दृष्टि, प्रयास, समकालीन साहित्य, शब्दाञ्जली, शब्दसंयोजन लगायत विविध पत्र— पत्रिकामा प्रकशित छन् । यिनै पत्र—पत्रिकामा प्रकाशित र नयाँ कथाहरू गरी उनको हालै ‘समुद्र र सपना’ नामक कथासंग्रह प्रकाशित भएको छ ।
‘समुद्र र सपना’ भित्र स्वदेशी र विदेशी परिवेशमा रचना गरिएका १५ वटा कथाहरू संग्रहित छन् । समुद्र र सपना, पपेट, गुलाबी फ्रक, आत्महत्याको शृङ्खला, एम्बुस, विद्रोह, क्रसरोडमा, बन्द झ्याल, सम्बन्धको दूरी, अर्को मोड, ईष्र्या, ग्याँसच्याम्बर छेउबाट, सप्तकोशी किनारबाट, मार्गरेट र मेरी आमा, महत्वाकाङ्क्षा शीर्षकका कथाहरू समावेश छन् । अभाव र गरीबीले पिल्सिएको नेपाल र त्यसमाथि नेपालीले भोग्नुपरेको कहालीलाग्दो द्वन्द्वको घाउ समुद्र र सपनाभित्र संग्रहित कथामा चित्रण गरिएको छ । डायस्पोरिक नेपाली नारी जीवन र नेपालकै नारीहरूको भोगाइका साथै नारीलाई स्वाभीमानी, स्वावलम्बी र आत्मसम्मानयुक्त रूपमा प्रस्तुत गर्नु कथाकार बजगाईँका विशेषता हुन् । सञ्जु बजगाईँ देश—विदेशको अनुभव संगाल्ने अवसर पाएका थोरै नेपाली नारीमध्येकी एक हुन् । नेपाली नारीहरूले भोग्नुपरेका पीडाहरू उनले नजिकैबाट चियाएकी छन् भने आधुनिकताले सिंगारिएर बिकृत बनेका डायस्पोरिक नेपाली नारीहरूको चित्रण पनि उनले आफ्ना कथाहरूमा गरेकी छन् । सधैंभरि चुलो—चम्कोमा सीमित, आफ्नो घरको संघार नाघेर बाहिर जान नपाएका र विदेशको कल्पनासम्म नगरेका कैयौँ नेपाली नारीहरूका लागि ‘समुद्र र सपना’ भित्रका केही कथाहरू साँच्चै सपना जस्तै छन् । आधुनिक रहन सहन र विदेशी जीवनशैली कथामा राम्रैसँग प्रस्तुत भएका छन् । जस्तै :
“.............भोलिपल्टै कान्छ्यामालाई सिँगारिने बडी–सेम्पो, बडी–लोसनदेखि लिएर, ब्लस, लिपिस्टिक, मस्करा, हाइलाइटर, हेयरस्प्रे र पफ्र्युमको बोतलसम्म ल्याइदिएँ जसमा कान्छ्यामाका रहरहरू भरिएका थिए । ‘समुद्री वीच’मा लगाउन हाफ पाइन्ट, स्लीभलेस र सनग्लास पनि ल्याएँ । .....................”
—समुद्र र सपना

विदेश गएपछि नेपाली नारीहरू त्यहीँको रमझममा भिज्न चाहन्छन् । उनीहरूको मनभित्रका स्वतन्त्र र उन्मुक्त रहरहरू स्वच्छन्द आकाशमा कावा खान चाहन्छन् । एउटी आधुनिक बृद्घका रहरहरू समुद्र र सपना कथाभित्र बडो आकर्षक चित्रमय शैलीमा प्रस्तुत गरिएको छ । कथा पढ्दै जाँदा कुनै आधुनिक विदेशी फिल्म हेरेझैँ लाग्दछ । नारीभित्रका रहरहरूलाई चित्रण गर्न खोजिएको यो कथा नारी मनोविज्ञानको एउटा नमूना कथा पनि हो । त्यसैगरी यस कथामा धन सम्पतिमात्र र भौतिक सुखले मात्र पनि मानिसलाई सन्तोष नहुने कुरा यसरी अभिव्यक्त भएको छ ः
”............झण्डै बाटैभरि मैले तिनका हातहरू समाइरहेँ । ती हातहरूमा भेटिएको अपनत्वको रापले म पुलकित भैरहेकी थिएँ । बिरानो मुलुकमा ऐस–आराम, नाम–दाम, मोज–मस्ती पाए पनि आफन्तको तातोपन कहिल्यै अनुभूत गर्न पाइएन । त्यसैले कान्छ्यामासँग बिताउने पल–पललाई सञ्जीवनी मानेर पिउँन आतुर भएकी हँुदी हुँ म ।........... ”
—समुद्र र सपना

‘समुद्र र सपना’ कथासंग्रहभित्र संग्रहित केही कथाहरू स्वैरकाल्पनिक पनि छन् । नेपाली समाजको यथार्थता प्रस्तुत गर्ने सन्दर्भमा उनले ‘गुलाबी फ्रक’ शीर्षकको कथामा यस्तो शैली अपनाएकी छन् । जस्तै ः
“........बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोलेँ । दुईमा एक आफ्नै पुरानो आकृति ! म विचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी सम्भव हुन्छ ? फेरि मैले त मेरो भूत खोजेकी थिइनँ । ...................”
–गुलाबी फ्रक

यस कथामा कथाकारले कुनै मानिसभित्रको पीडाले सीमा नाघेपछि उसभित्रको माया–ममता सबै हराएर जान्छ र आफ्नोपनप्रति पनि घृणा उत्पन्न हुन थाल्छ भन्ने कुरा देखाउन खोजेकी छन् । धनसरी नामक पात्रको सन्दर्भमा उनी यसो भन्छिन् ः
“.......आफ्नो जे हो त्यही नै त्याग्नुपर्दा पनि एउटा बाल–मस्तिष्कमा कुनै भय छैन । कुनै नैराश्यता छैन । समय कुन बनौटमा परिवर्तन हुँदै गइरहेछ । माटो, मान्छे, मन्दिर कसैप्रति मोह नहुनु ? कस्तो बिडम्वना ! ! !”
–गुलाबी फ्रक

पछिल्लो समयमा रोजगारीको खोजी गर्दै कैयौँ नेपाली नारीहरू इजरायलमा पुगेका छन् । त्यहाँ काम गर्ने नारीहरूको यथार्थ चित्र ‘ग्याँसच्याम्बर छेउबाट’ कथामा प्रस्तुत भएको छ । त्यहाँकी म्याडम रुथबाट काम गर्न गएकी नेपाली महिलाले संघर्ष गर्न सिकेकी छ । हिटलरले यहुदीहरूमाथि गरेको अत्याचारका कथाहरू म्याडम रुथले एक–एक गर्दै यसरी सुनाएकी छ ः
............‘नाजीहरूले हाम्रो परिवारलाई बन्दीगृहमा राखेको बेला म केटाकेटी नै थिएँ । मेरो साथमा मेरी सानीआमा थिइन् । हामीलाई राखेको क्याम्पमा आइमाई र केटाकेटीहरूलाई मात्र ग्याँसच्याम्बरमा पठाइन्थ्यो । कत्ति बच्चाबच्ची त भित्र नपुग्दै मरिसकेका हुन्थे । पुगेकाहरूलाई ग्याँसको छिटो र अधिक प्रभावका लागि पहिले पानीमा नुहाउन लगाउँथे । त्यसपछि ग्याँस छोड्ने फलामे चाङ्गमाथि लस्करै बसाइन्थ्यो । बिस्तारै छोडिएको ग्याँसको प्रभावले तिनीहरूहरू छट्पटिएर मर्थे । तिनका मरेका लाशहरू जलाउन बडेमानका भट्टीहरू बनाइएका थिए । एकमुष्ट थुपारेका लाशहरूमाथि नाजीहरूका बुट नाचेको बिचलित भई हेरेको, रगतको हिलोमाथि हिँडेको क्षण, मान्छेको चिच्याहट....!’ बाह्र वर्ष पुग्नै लाग्दा भोगेको यो विभत्स समयको बयान गर्दागर्दै उनको अनुहार निलो देखियो ।
–ग्याँसच्याम्बर छेउबाट

यस कथासंग्रहका कुनै कथाहरू दार्शनिक प्रवृत्तिका छन् । पुरुषपीडित नारीका मनको अन्तद्र्वन्द्व, विद्रोह र नारीवादी चेतना प्रस्तुत गर्ने सन्दर्भमा कथाकार ‘विद्रोह’ कथामा केही भावुक पनि बनेकी छन् ।
“..........................बुद्धले धोका दिन सक्दैन । बुद्ध भनेको धोका होइन विश्वास हो । शिवजीको जस्तो छल गर्दैन बुद्धले । दृढ छ ऊ । बुद्ध भेटिन्छ । आँखा मिच्छे र बिस्तारै नियाल्छे । उचाईको मध्य बिन्दुमा त्यो बुद्ध ध्यानमग्न छ । उही शान्त र शालीन । धैर्यताको समुन्द्रभित्र उसरी नै पौडिरहेको । थोरै फरक भएछ । निधारमा थकानका धर्साहरू बसेछन् । हर्षविभोर ऊ पछाडि फर्किन्छे सयौँ नारी विद्रोहको प्रतिनिधित्व छ ।

“मेरो बुद्ध भेटियो । बाँकी रह्यो महिला राष्ट्रपतिको कुरा । म राष्ट्रपति हुन विद्रोह गरेर निस्किएकी हुँ । हामी सबै अधिनायकबादका विद्रोही हौ । उद्देश्य एउटै छ । हातेमालो गरौँ संरचना बदलौँ ।” सरला विद्रोहको नेतृत्व गर्छे । प्रत्येक विद्रोही आवाज थप्छन्– ‘विद्रोहलाई अन्तिम बिन्दुमा पु¥याउन साथ छ ।’ आकाश गुञ्जिन्छ स्वरहरूले । रोलमोडल बुद्धको ध्यान भङ्ग हुन्छ । पर–पर एम्बुलेन्स र पुलिस भ्यानहरूका साइरनको कोकोहोलो सुनिन्छ ।................”
–विद्रोह

कतै कतै देशप्रेम छताछुल्ल भएर पोखिएको छ । दुःख र पीडाबाट अक्रान्त र विक्षिप्त नेपाली नारीका डायस्पोरिक भोगाइ अत्यन्तै सजीव भएर आएको छ ‘क्रसरोड’ कथामा ।
....................म मेरी आमा बिर्सन सक्दिन । मेरो घर बिर्सन सकिरहेकी छैन । मलाई मेरो माटोको गन्ध सुँघ्न मन लागेको छ । आफैँ कस्तुरी भएर बास्नाका लागि भौतारिरहेकी छु ।

म सुन्दर युवती ! देशभरी परिवर्तनको ढोँग पिटेर छद्मभेषी भई सलबलाएका अमानवहरूको पञ्जामा परेर आफ्नो अस्मिता गुमाउनुको कारण आज अर्काको बिरानो मुलुकमा विवश बाँचिरहेकी छु । मेरो राष्ट्रिय पहिचान के त ?................
–क्रसरोडमा

त्यसैगरी पश्चिमी सभ्यता र संस्कारमा भिजेको नेपाली नारीको जीवनशैली, यन्त्रमानवलाई प्रतीक बनाएर मानवीय चाहनाको अभिव्यक्ति , मानव र जनावरबीचको पृथक जीवनशैली, विदेश गएका नेपाली नारीहरूको अनुत्तरदायी चरित्रको चित्रण गरिएका कथाहरू पनि यस कथासंग्रहभित्र समेटिएका छन् । नारीपात्रमा नै केन्द्रित कथाहरू यसमा समावेश गरिएका छन् । आजको उत्तरआधुनिक जीवनशैली बाँचेका नेपाली नारीका विविध पक्षलाई जीवन्त रूपमा कथामा प्रस्तुत गरिएको छ । डायस्पोरिक परिवेशमा रचना भएकाले कथाहरूमा अंग्रेजी मिश्रित भाषाको अत्यधिक प्रयोग भएको छ । समग्रमा कथाहरू अत्यन्तै मार्मिक छन् । कथा पढ्दै जाँदा पाठकलाई कता–कता सपनामा हराएझँै लाग्दछ । अलिकति देशका कथा, अलिकति विदेशका कथा अनि धेरै–धेरै नारीका व्यथाहरू समेटिएको यो कथासंग्रहलाई नेपाली साहित्यमै नवीन प्रस्तुति मान्न सकिन्छ । मनभरी सपना बोकेर समुद्रको देशतर्फ हानिएकाहरूको कथा भएकाले कथासंग्रहको शीर्षक ‘समुद्र र सपना’ पनि सार्थक नै देखिन्छ ।

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 बैशाख, 2069

लेखकका अन्य रचनाहरु