स्याङ्जाली लोकगीत अन्तर्गत आँधीखोले लोकगीतको इतिहास

- तुलसी प्रवास

हरेक मुलुकका आ—आफ्नै संस्कृति अनुसार लोकगीतहरू हुन्छन् । नेपालका पनि पचहत्तरै जिल्लाका लोकगीतहरूको समष्टि स्वरूप नै नेपाली लोकगीतको स्वरूप हो, जसको फेद एउटै छ र इतिहास पनि । मोटामोटी रूपमा मात्र सबैतिरका लोकगीतका सामान्य विशेषताहरू बटुलेर नेपाली लोकगीतहरूको एउटा रुपरेखा तयार पारिएको छ तर विभिन्न क्षेत्रमा पाइने लोकगीतहरूको समग्र संकलन हुन भने सकेको छैन ।
नेपाली लोकगीतको बीजभूमि खोज्दै जाँदा वैदिक साहित्यसम्म पुगिन्छ । उच्च धवल हिमश्रृङ्खलाले घेरिएको , हरिया पहाडहरूले भरिएको, कञ्चन जलप्रवाहका पवित्र हिमनदीहरूले नागबेली पारेर सिचिंएको यस नेपाल भूमिमा आर्यहरूको आगमन भएपश्चात् नै उनीहरूबाट यहाँका मनमोहक दृष्यावलीहरूबाट प्रभावित भई वैदिक उद्गारहरू उद्गारित भए जो लोकसाहित्यकै श्रेणीमा रहेर श्रुतिपरम्परामा हजारौं वर्ष गाइँदैं रहे । यसै परम्परासँग हाम्रो लोकगीतको ऐतिहासिक परम्परा सम्बन्धित छ । उतिबेलाको भाषा वैदिक थियो । त्यही वैदिक भाषाा संस्कृत, प्राकृत अपभ्रंश हुदैं ११औं शताब्दीसम्म आइपुग्दा विभिन्न आर्य भाषाहरूको रूपमा परिणत हुन पुग्यो जसमध्ये एउटा नेपाली हो । लोकसाहित्य पनि भाषिक अभिव्यक्ति नै भएकोले भाषामा परिर्वतन आउँदा यसमा पनि परिवर्तन आउनु स्वाभाविकै हो । माँगल आदि गीतको गायन प्रक्रिया र वैदिक ऋचाको गायन प्रक्रियामा अझै साम्यता पाइन्छ । साथै दुवैको भावभूमि पनि समान किसिमको पाइएबाट यसको ऐतिहासिकता प्रमाणित हुन्छ ।
वर्तंमान भारतको काश्मीर गडवालतिरबाट नेपाल आउने खसहरू नै नेपाली भाषाका प्रथम वक्ता र प्रचारक मानिन्छन् । यिनकै सम्पर्क र प्रभावमा आएका ११ देखि १७ औं शताब्दीसम्म कुमाउँ, गढवालबाट नेपाल पस्ने हिन्दूहरू नै नेपाली भाषा र लोकगीतका प्रचार–प्रसारकर्ता हुन् । यिनीहरूले पश्चिमबाट पूर्वतिर प्रसारित हुँदैं जाने मौका पाए । आजभोलि पाइने चाँचरी, माँगल, सगुनका गीतहरू पनि तिनै गढवालतिरबाट आउने पूर्खाका देन हुन् ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगै यस क्षेत्रमा पुनर्जागरण आयो । लोक गायकहरूले राष्ट्रिय गौरव र राष्ट्रिय वीरताको गाथा गाउँ—गाउँमा गाउँदै हिँडी एकीकरण अभियानमा ठूलो सघाउ पु¥याएका थिए । एकीकरणपछि र सुगौली सन्धिअघि कुमाउँ, गढवाल नेपालमा हुँदा एउटै राष्ट्रियताको नाताले त्यहाँका कतिपय गीति, लयहरू यतातिर सर्नु पनि स्वाभाविकै हो । सुगौलीपूर्व अंग्रेजसँग गढवालतिर जाने बाग्लुङका गोरे सिरस र मनवीर खत्रीले त्यहाँ बस्ता सिकेका हाइगौरी आदि कतिपय लयहरू सुगौलीपछि घरगाउँमा फर्केर गाउन थाले, जो ज्यादै लोकप्रिय भए । झ्याउरेका अनगिन्ती भेद र भाकाहरू निस्केका छन् र निस्किदैं छन् । सुगौलीपछि अंग्रेजी सेनामा भर्ती हुने जवानहरूले पनि प्रवासमा बस्दा र घर गाउँमा आएको बेला लोकगीतको विस्तारमा उल्लेखनीय योगदान पु¥याए । जङ्गबहादुरको पालामा लमजुङका म्याक्रुम गुरुङले ‘सालै जो ’ भन्ने लामो भाकाको आविष्कार गरी नेपाली लोकगीतमा नौलो आयाम थपे । वि.स. १९७६ तिर पर्वतका ‘बिर्खे पुन’ र दार्जिलिङकी ‘हंशरानी’ (त्यतिबेलाका प्रसिद्व गायक,गायिका ) आफ्नो कला देखाउन लन्डनसम्म पुग्न पाएका थिए । यिनले नेपाली लोकगीतलाई युरोपसम्म पु¥याए । लमजुङका ‘द्यौ बहादुर दुरा’ लोकगीतका अर्का अविष्मरणीय प्रतिभा हुन् । १९९० सालमा कर्पुटारमा भएको यिनको गीत र नृत्यको बखान जीवन्त छ । यिनैताक पाल्पाका ‘बहादुर सिंह बराल’ र ‘मित्रसेन ’ नेपालका पहाडी भागमा घुमी—घुमी लोकगीतको प्रचार प्रसार गरे यिनै बहादुर सिंहको ‘बरालको आँसु’ नामक लोकगीत संग्रह १९७९ मा प्रकाशित भएको थियो । सन्त ‘ज्ञानदिलदास’ ले झ्याउरे लयमा उपदेश दिने गरेको र स्याङ्जाका ‘जगन्नाथ पन्त’ ले झ्याउरे छन्दमै पुराणका कथा भन्ने गरेको कुरा प्रसिद्धै छ ।
१९९० सालपछि लोकगीतको अध्ययन, अनुसन्धान र सङ्कलन समेत हुन थाल्यो । महाकवि देवकोटाले झ्याउरेलाई काव्यात्मक उच्चता प्रदान गरे । भद्रकाली रेकर्डस्द्वारा लोकगीतका रेकर्डहरू तयार पारिन थाल्यो । २००३ सालतिर लोकगीतको सामल छर्दै, बटुल्दै धर्मराज थापा आए । सत्यमोहन जोशीले लोकगीत सङ्कलन गर्न थाले । ‘उद्योग’ र ‘शारदा’पत्रिकामा लोकगीतका टुक्राटुक्री छापिन थाले ।
२००७ सालको क्रान्तिपछि साहित्य र लोकसाहित्यका क्षेत्रमा पनि क्रान्ति आयो । यसैसाल चैत २० गते रेडियो नेपालको स्थापना भयो । २०१० सालमा धर्मराज थापाको सक्रियतामा भएको लोकगीत प्रकाशन तथा २०१३ सालमा श्री ५ महेन्द्रको राज्यभिषेकका अवसरमा भएको लोकगीत सम्मेलनले यस क्षेत्रमा नयाँ जीवन प्रदान ग¥यो । राजाको अनुरागबाट पारखीहरूले प्रेरणा पाए । लक्ष्मण लोहनीको ‘रोदीघर’ (२०१३), ‘प्रज्ञा प्रतिष्ठानको स्थापना’ (२०१४), धर्मराज थापाको ‘मेरो नेपाल भ्रमण’ (२०१६), काजीमान कन्दङ्वाको ‘नेपाली जन साहित्य’ (२०२०) ‘हाम्रो संस्कृति पत्रिकाको प्रकाशन’ (२०२३) हरिहर राज जोशीको ‘सोरठी’ (२०२३) , ‘संगिनी’ (२०२८), धर्मराजको हरिबहादुर रन्जितकार र भैरबबहादुर थापाको ‘लोकगीत’ (२०२९), ‘कर्णाली लोक संस्कृति’ (२०२८), कालीभक्त पन्तको ‘हाम्रो संस्कृतिक इतिहास’ (२०२८) धर्मराजको ‘गण्डकीका सुसेली’ (२०३०), देवकान्त पन्तको ‘डोटेली लोकसाहित्य’ (२०३२), कालीभक्तको ‘गीतसुधारको राष्ट्रिय बाटो’ (२०३३), जगमान गुरुङको ‘गुरुङ जाति तथा संस्कृति’(२०३४), ‘नेपाली लोक सँँस्कृति संगोष्ठी’ (२०३५), तुलसी दिवसको ‘धिमाल लोकधर्म र संस्कृति’ (२०३९) धर्मराज थापा र हंसपुरे सुवेदीको ‘नेपाली लोकसाहित्यको विवेचना’ (२०४१), कृष्णप्रसाद पराजुलीको ‘नेपाली लोकगीतको आलोक’ (२०५७), चूडामणि बन्धुको ‘नेपाली लोकसाहित्य’ (२०५८) आदि नेपाली लोकगीत तथा लोकसाहित्यको अध्ययन परम्पराका महत्वपूर्ण सङ्गाला हुन् । यसका अतिरिक्त त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयबाट समेत स्नातकोत्तर, विद्यावारिधि लगायत विभिन्न प्रयोजनका लागि प्रशस्तै शोध एवम् अनुसन्धानहरू लोकसाहित्य र लोकगीतका क्षेत्रमा हँुदै आएका छन् ।
गण्डकीको सुसेली, मेरो नेपाल भ्रमण हाम्रो साँस्कृतिक इतिहास, नेपाली लोकसाहित्यको विवेचना, नेपाली लोकसाहित्य, नेपाली लोकगीतको आलोक तथा स्याङ्जाली लेखकहरू विश्वप्रेम अधिकारी र देवीप्रसाद वनबासीका लोकसाहित्य सम्बन्धी विभिन्न पुस्तक तथा लेखहरूमा पनि स्याङ्जा जिल्लाको नेपाली लोकगीतको चर्चा तथा उल्लेख भएको छ । खाँडो जगाउने परम्पराको सूत्रपात स्याङ्जा क्षेत्रबाटै भएको हो । नेपाली लोकगीतका क्षेत्रमा महत्वपूर्ण स्थान ओगट्ने सोरठी, घाटु, झ्याउरे आदि गीतह्रू स्याङजाका प्रमुख गीतहरू हुन् । चुट्का—खेली, भजन आदि बाह्रमासा गीतहरू र दोहोरी आदिको प्रमुख थलो पनि स्याङ्जा क्षेत्र नै मानिन्छ । रेडियो नेपालका विभिन्न कार्यक्रमहरूमा स्याङ्जाली गलाहरू समय—समयमा गुञ्जन्छन् । चेतन कार्की, चन्द्रबहादुर गाहा, सावित्री शाह, दिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपाने, राजेन्द्र लम्साल, शर्मिला गुरुङ् आदि जस्ता लोक गायक ÷गायिकाहरू जसले सञ्चार जगतमा नै तहल्का मच्चएका छन् आदि पनि स्याङ्जाली भूमिकै प्रतिभा हन् । अर्का महत्वपूर्ण प्रतिभा चन्द्रबहादुर सेन ‘मसाने’ पनि स्याङ्जा जिल्लाकै प्रतिभा थिए । उनले सर्वप्रथम यस जिल्लाका कुना—काप्चा, गाउँ—बेशी जताततै एउटा नौलो भाका ‘साइँला दाइ काँ गयो पानी खाँदा न्याउरी जुरायो’ भन्ने गुञ्जाउँदै हिंड्ने गर्दथे । यसरी नेपाली लोकगीत परम्परामा तथा नेपाली लोकगीत फाँटमा स्याङ्जाली लोकगीतको स्थान र देन दुवै उल्लेख्य देखिन आउँछन् ।

स्याङ्जाली लोकगीत अन्तर्गत आँधीखोले लोकगीत

स्याङ्जा जिल्लाको मध्यभागबाट बग्ने प्रसिद्ध खोलोलाई ‘आँधीखोला’ नामले चिनिन्छ । स्याङ्जाको डहरे देउरालीबाट उत्पत्ति भई सेतीदोभान, स्याङ्जा, वालिङ, गल्याङ हुँदै मिर्मीमा पुगेर कालीगण्डकीमा मिसिने यस खोलाले विशेष गरी १७ वटा गा.वि.स.र २ वटा नगरपालिकालाई सिंचित गर्दै अगाडि बढेको छ । यस खोलाले स्याङ्जा जिल्लालाई दुई चिरामा बाँडेर अगाडि बढेको छ । विभिन्न जात—जाति, धर्म—संस्कृतिका मानिसहरूको बसोबास रहेको यस खोला आसपासका बस्तीहरूमा नेपाली लोकसाहित्यको भण्डार रहेको महसूस हुन्छ । दिनभरि मेलापात गर्ने, साँझपख थाकेर लस्त परेको शरीर घिसार्दै उकालीका चँौतारीमा भारी बिसाएर मनको भारीलाई हलुङ्गो पार्न छेउको चिलाउने पात टिपेर बजाउने यस क्षेत्रका बासिन्दाले लोकसाहित्यलाई नै मनोरञ्जनको प्रमुख साधन बनाएको पाइन्छ । विभिन्न उखान टृक्का, गाउँखाने कथा आदि यस क्षेत्रका बासिन्दाका जिब्रा—जिब्रामा भुन्डिएका छन् । कुनै कुरा गर्न थाल्यो कि प्रसङ्ग, अनुसार का उखान टुक्काको प्रयोगले उनीहरू का कुराहरू सुनिरहुँ जस्तो लाग्छ । त्यसैगरी लोकगीत त यस क्षेत्रको मनोरञ्जनको अत्यन्तै महत्वपूर्ण साधन हो । गाउँमा हुने स्वास्थानी,सत्यनारायणको पूजा, सप्ताह आदिमा गुन्जने भजनका अतिरिक्त युवक र युवतीका दोहोरी गीतहरू ले सबै गाउँलेलाई नै मनोरञ्जन प्रदान गरेका छन् । गुरुङमगरहरू को समेत घना बस्ती रहेको यस क्षेत्रमा रोदी संस्कृतिले पनि महत्वपूर्ण स्थान ग्रहण गरेको छ । मादलको घिन्ताङसँगसँगै गुरुङ युवायुवतीमा गुन्जने सालैज्योका भााकाहरू यसक्षेत्रमा कालीदासका कोमल पदावली जस्त्रै सुरम्य र सुललित बनेर पाखाापखेराभरि छरिएको पाइन्छ । यस्तै, यस्तै संस्कृतिको धनी आँधीखोला क्षेत्रमा तीजका गीत, झ्याउरे, खेली, चुड्का, बालगीत आदि पनि प्रशस्तै गाइन्छन् । त्यसैगरी विवाह व्रतबन्धमा माहल (माँगल) गाइन्छ । क्षेत्री, ठकुरीहरू विवाहमा खाँडो जगाउँछन् । बेंसीका ठूलाठूला फाँटहरू मा असारे गीतको भाका अलापिन्छ । मगर गाउँमा कौरा र नचरी यहाँ पनि नचाइन्छ । तिहारमा भैलो, देउसी, तीजमा झोरा, नवदूर्गामा मालश्री, वनपाखामा बाह्रमासे, हाटबजारमा खेली, दोहोरी र झ्याउरेले यहाँको जनजीवनलाई हमेशा रङ्ग रमाइलो र मायाप्रीतिको रस दिइरहेकै हुन्छन् ।
आँधीखोला क्षेत्रका अधिकांश वनजङ्गल तथा प्राकृतिक सुरम्य वातावरणले यहाँको जनजीवनलाई कुत्कुत्याइरहेको हुन्छ । खोलाको कलकलसँगै सबैलाई गुन्गुनाइदिन प्रेरित गर्दछ । आँधीखोला क्षेत्रमा गुन्गुनाइने अधिकांश गीतमा आँधीखोलाको प्रसङ्ग, यहाँका वरिपरिका वनपाखाहरूको प्रसङ्ग पनि भित्रिने गरेको पाइन्छ । स्याङ्जा जिल्लाबाटै रेडियो नेपालमा गीत रेकर्ड गराउने प्रथम कलाकारहरू चन्द्रबहादुर सेन मसाने, सावित्री शाह आदिको नाम अगाडि आउँछ । यी कलाकारहरू स्याङ्जाली गायन क्षेत्रकै नमुनाका रुपमा परिचित छन् । यिनका रेडियोमै रेकर्ड गरिएका गीतहरूमा पनि आँधीखोलाको प्रसङ्ग भित्रिएको छ । जस्तै ः
छपक्कै जाल हान्यो दाइले आँधीखोला माछा छ भनेर ।
जालको माछा, स्याङजाली नानी, मीठो हुन्छ खानी कि नखानी ।
यसरी यहाँका गीतमा आँधीखोलाको प्रभाव परेको पाइन्छ । धेरैजसो गीतमा आँधीखोलाको नाम झल्किने गरेको छ । त्यस्तै ः
आँधीखोला उर्लेर आयो,
आउनेथिइन मायाले बोलायो.......।
पछिल्ला केही वर्ष यता नेपालमा लोक तथा दोहोरी गीतहरूको बाढी नै आएको महसुस हुन्छ । हिजोका दिनहरूमा लोकगीतलाई पाखे गीत ठानी पाश्चात्य पप,¥याप संगीततर्फ उन्मुख भएका युवापुस्ताहरू पनि यस समयमा लोकगीततर्फ आकर्षित भएका छन् । यसैको फलस्वरुपः नेपाली सञ्चार जगतमा लोकगीतले नै महत्वपूर्ण स्थान पाउन थाल्यो । शहरका ठुलाठुला डान्स तथा गजल रेष्टुरेण्टहरू दोहोरी रेष्टटुरेण्टहरूमा परिणत हुन थाले । वनपाखा र देउरालीहरूमा गुञ्जने लोकगीत यतिबेला शहर, गल्ली हुँदै कोठा,चोटामासमेत गुञ्जन थाले । लोकगीतका स्रष्टाहरूका लागि यो सुनौलो अवसर हो । विगतका लोकगीत गायकहरूलाई घृणाको दृष्टिकोणले हेरिन्थ्यो । तिनै गायकहरू अहिले सम्मानित र पूज्य मानिन्छन् । आखिर सत्यको विजय एकपटक अवश्य हुँदोरहेछ । क्षणिक रोमान्समा जस्तासुकै गीतहरू बजेपनि कालजयी र शास्वत आखिर लोकगीत नै भएको यथार्थ सबैका सामु छर्लङ्ग छ ।
नेपाल अधिराज्यभरि ढाकेको लोकगीतको यस बाढीले जिल्लालाई अछुतो राख्न त किन सक्थ्यो र ? यस जिल्लाका कुनाकाप्चाबाट, वनेली र पखेरीहरूबाट लोकगीत सुसाउँदै अनेकथरि लोकगायक÷गायिकाहरू शहरतिर झर्न थाले । विकासको फाइदा उनीहरूले पनि उठाए । आफ्नै गाउँका, समाजका लोकभाकाहरू र शब्दहरूलाई टपक्क टिपेर क्यासेट प्रकाशित गरे । जुन क्यासेटबाट मनग्य धनसम्पत्ति आर्जन गरे । त्यसको साथसाथै आँधीखोले समाजलाई मनोरञ्जन पनि प्रदान गरे । वर्तमान समयमा स्याङ्जाली चर्चित लोकगायक गायिकाहरूमा पुरुषोत्तम न्यौपाने , भगवान भण्डारी, रमेश वि.जी., शर्मिला गुरुङ, रामजी खाँण, खुमन अधिकारी, राजु गुरुङ, शंकर विरही गुरुङ, गोपाल जि.टी. अर्जुन गैहै्र, पित्ताम्बर अर्याल, लोकनाथ सापकोटा, बिष्णु माझी, घनश्याम रिजाल, सुजन लम्साल, शिव हमाल आदिको नाम अगाडि आउँछ । यी स्रष्टाहरू स्याङ्जाली धर्तीका उज्याला तारा हुन् । समग्र नेपाली लोकगीतको विकासमा यिनीहरूको महत्वपूर्ण योगदान छ ।
नेपाली लोक तथा दोहोरी गीतको संरक्षण र सम्बद्र्घन गर्ने उद्देश्यले संस्थागत रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापना गरी हाल लोक तथा दोहोरी गीतका स्रष्टाहरूका एकत्रित भएका छन् । त्यसैको शाखा स्याङ्जा जिल्लामा पनि गठन भएको छ । यसै प्रतिष्ठानमार्फत स्याङ्जाली कलाकारहरू राष्ट्रिय स्तरमै पुग्न र प्रभाव पार्न अग्रसर भएका छन् । यी सबै क्रियाकलापहरूले गर्दा स्याङ्जाली लोकगीतको भविष्य झनै उज्ज्वल देखिन्छ ।
उचबखबकतगकिष्२थबजयय।अयm
सन्दर्भ सूची
अधिकारी, नारायणप्रसाद (२०४३), स्याङ्जाली लोकगीतको अध्ययन, सङ्कलन र वर्गीकरण
(ज्याग्दी खोलामा केन्द्रित), स्नातकोत्तर शोधपत्र ः त्रि.वि.वि. ।
अधिकारी, बिश्वप्रेम (२०५७), आँधीखोले लोकसंस्कृति र लोकगीत, स्याङ्जा ः विजयकुमार
अधिकारी ।
खनाल, तुलसीराम (२०६०), आँधीखोले लोकगीतको सङ्कलन, वर्गीकरण र अध्ययन,
स्नातकोत्तर शोधपत्र ः त्रि.वि.वि ।
थापा, धर्मराज र सुबेदी हंसपुरे (२०४१),नेपाली लोकगीतको विवेचना, काठमाडौँ ः
पा.वि.के,त्रि.वि. ।
........................................(२०३०), गण्डकीका सुसेली, काठमाडौँ ः ने.रा.प्र.प्र. ।
न्यौपाने, कुसुमाकर (२०६०),धवलागिरी अञ्चलमा प्रचलित लोकगीत,एक अध्ययन (लघु
अनुसन्धान) काठमाडौँ ः विश्वविद्यालय अनुदान आयोग ।
.............................(२०६६), पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको
अध्ययन विद्यावारिधी शोधपत्र ः त्रि.वि.वि.
पराजुली, कृष्णप्रसाद (२०५७), नेपाली लोकगीतको आलोक, काठमाडौँ, वीणा प्रकाशन ।
बन्धु, चुडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौं ः एकता बुक्स ।
रेग्मी, भीमनारायण(२०६०) आँधीखोले रोइला ः एक परिचय, गरिमा (वर्ष २१, अङ्क १०, पूर्णाङ्क
२५०) काठमाडौँ ः साझा प्रकाशन ।
वनवासी, देवीप्रसाद(२०५५) आँधीखोले लोकसंस्कृति, स्याङ्जा ः चित्रलेखा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 8 जेठ, 2069

लेखकका अन्य रचनाहरु