'मरुभूमिको नदी' - मा सम्पूर्णा

- बासुदेव पुलामी

भारतेली नेपाली साहित्य जगतमा नारी हस्ताक्षरको रूपमा देखापरेकी सम्पूर्णा राई मूलत: कथाकारका हुन्। कथालेखनमा निकै चर्चित बनेका उनी सुरुमा कविता विधाबाटै आफ्नो साहित्यिक यात्रा थालेका थिए भन्ने कुराको जानकारी उनको पहिलो प्रकाशित कविता पूर्णेको जून (सन् १९६३ ) ले दिँदछ। यसरी साठीको दशकदेखि यता निरन्तर रूपमा कलम चलाएर अघि बढेका सम्पूर्णा राई नेपाली साहित्य अध्ययन समिति, कालेबुङ, साहित्य प्रकाशन समिति कालेबुङ, नेपाली सल्लाहकार समिति साहित्य अकादमी, दिल्ली, भारतीय नेपाली नारी साहित्यिक मञ्च, बसुधा दार्जिलिङजस्ता साहित्यिक संस्थाका कर्मठ सदस्याको रूपमा संलग्न थिए। उनले नेपाली साहित्यमा तीन कृति दिए – १. बजरङ्गी पहलमान (हिन्दीमा अनुवाद, सन् ... मूल लेखक- अमृतलाल नागर), २. नाभो (कथासङ्ग्रह, सन् १९९६). ३. मरुभूमिको नदी (कविता सङ्ग्रह, सन् २०१२) आदि। यसबाहेक उनका फुटकर लेख तथा निबन्धहरू विभिन्न पत्र-पत्रिकातिर प्रकाशित पाइन्छ। यसरी चारदशक भन्दा अधिक समय नेपाली साहित्यमा सेवा पुऱ्याएबापत उनी रणधोज राणा स्मारक कप, कालेबुङ (कवितामा सन् १९६८), स्रष्टा पुरस्कार, सिक्किम (कथामा, सन् १९९५), अरूगि पुरस्कार, खरसाङ (साहित्य सेवामा, सन् १९९९)जस्ता सम्मानहरूद्वारा सम्मानित र पुरस्कृत पनि भएका थिए। यस्ता प्रतिभा र लगन भएका स्रष्टा सम्पूर्णा राई ५ अप्रेल सन् १९४८ मा कालेबुङमा जन्मिएकी पेसाले शिक्षिका थिइन्। उनको देहावसान ........सन् २०१२ को दिन कालेबुङमै भयो। यसप्रकार उनका कृतिहरूले भारतेली नेपाली साहित्यमा एउटा आफ्नै किसिमको योगदान पुऱ्याएकाछन्। यहाँ विशेष गरेर उनको मरूभूमिको नदी कविता सङ्ग्रबारे संक्षिप्त रूपमा चर्चा गरिने छ।
कवि कलाकारहरू मरेर पनि बाँच्छन् आफ्ना काव्यकृतिहरूमा। उनीहरूका विचार, दृष्टि-दर्शन, जीवन-जगतप्रतिको धारणाजस्ता कुराहरू कहिल्यै मर्दैनन्, युग-युगका पाठकहरूले त्यसलाई जीवित बनाइरहन्छन् प्रत्येक पल्टको पठनमा। कविकलाकारहरू सबैभन्दा पहिला त सामाजिक प्राणी हुन्। प्राणीहरूमा पनि विवेकशील प्राणी भएका हुनाले उनीहरू सबैभन्दा बेसी संवेदनशील पनि हुन्छन्। साधारणत: हरेक मानिसमा प्रतिभा भन्ने कुरा हुन्छ। तर कतिले त्यसलाई लोकमा प्रचार र प्रसार गर्दैनन् र भित्रै राखेर पाल्छन्। कतिले भने आफै मात्रै भोग्छन् अरूलाई दिँदैनन्। तर कविकलाकारहरू चाहि लोकको विभिन्न व्यभिचार आदि आदि कुराहरूलाई पचाएर सदगुणयुक्त उपकारपूर्ण भावको प्रचार अरूमा पनि गरिदिन्छन्। भारतीय काव्य मर्मज्ञहरूले भनेका छन् – कविमा तत्वको दर्शन गर्ने क्षमता रहेका हुन्छन्। कवि पनि दार्शनिक हुन्छन् तर दार्शनिकले जस्तो नभएर भाषा र शब्दले तत्त्वलाई वर्णनकौशलको माध्यम परोक्षविधानद्वारा तत्त्वको बोध गराउने गर्दछन्। कवि भनेको ऋषि नै हुन्, तर ऋषिहरू भन्दा पनि कविको महत्त्व माथिको रहेको बताउँछन्, कारण कविले ती दर्शन तत्त्वको माध्यमद्वारा आफ्नो मोक्ष मात्र नभएर अरूलाई पनि मोक्ष प्राप्त गराउने गर्दछन्। आज पनि कविकर्म त त्यही नै हो। तर कविताले मोक्ष प्रदान गराउन सक्ने कविता आजको गम्भीर मुद्दा जस्तो भएर उभिएको छ। समकालीन समयका कविताहरूले विभिन्न स्वर-सन्धानमा लागेर कविताको वास्तवताको धरातलनै भत्काइदिइसकेको बोध गर्न सकिन्छ। आजको उत्तरआधुनिकतावादी धारणाले कुनै पनि कुराको केन्द्रलाई नमान्ने परिस्थितिजन्य सङ्कट छ। यस सङ्कट र स्थितिबाट पार भएर पनि लेख्न सक्ने कविकलाकारहरूका कृतिहरूले भने आज पनि मोक्ष दिलाउन सक्लान् नै। जे नै होस् कविता एउटा भाषिक कला पनि हो। कलाको प्रस्तुति कलाकारितापूर्वक गरिएको छ / छैन खुट्याउने जिम्मा हरेक पाठकको हो। मजस्ता लुते पाठकले यस कविता सङ्ग्रहभित्र भएका एकांश कविताहरूलाई एकोहोरो पठन गर्ने काम मात्रै यहाँ भएको छ। यो तर नितान्त मेरो एकल पठन हुन सक्छ । आजको समसामयिक सन्दर्भले कृतिलाई पाठ (Text) मात्रै मान्छ अनि त्यसको समीक्षा एककिसिमको पठन ((Reading) मात्रै हुन्छ।
सम्पूर्णा राईको मरूभूमिको नदी - भित्रका ६२ वटा कविताहरूलाई आद्योपान्त हेरिँदा विशेषत: उनीभित्र जीवनप्रतिको एउटा भग्न अन्तर्वेदना रहेको देखिन्छ। यो वेदना नितान्त वैयक्तिक होइनन्, देश- काल-परिस्थितिले जन्माएका सामाजिक विडम्बना, सामाजिक विद्रुप र सांस्कृतिक अधोपतनले पिरोलिएका जीवन्त अनुभूतिहरू हुन्। उनका कवितामा जीवनको विभिन्न पाटाहरूलाई देखाउने प्रयत्न रहेको पाइन्छ। जीवनलाई धेरै गहिरोसित आत्मसात गरी लेखिएका उनका कविताहरू जीवनकै पर्यायजस्तो भएर उभिएको छ। जीवनको क्षणभङ्गुरतालाई नै आफ्ना कविताहरूको साझा स्वरजस्तो बनाएर प्रस्तुत गरिरहेको बोध उनका कविताहरू पढेपछि अनुभव गर्न सकिन्छ। उनी भन्छन् -
१. यो जीवन
हिँडेर नटुङ्गिने गोरेटो
नभेटिने क्षितिज।
(जीवन र पीडा, पृ ४४)

आफ्ना कविता मार्फत् उनी पाठकहरूलाई जीवनको विकराल परिस्थितिसित साक्षात्कार गराउन चाहेको पनि बोध हुन्छ। कुनै वस्तुको विम्ब उभ्याएर उनी जीवनलाई धेरै नजिकबाट देखाउन चाहन्छ। मानिसले जीवन बाँच्ने क्रममा संसारका सारा प्रपञ्च र अप्ठ्याराबाट मूक्त हुने उपाय खोजिरहेको हुन्छ। तर जीवन ती उपायहरूबाट सदैव फुत्किरहेको हुन्छ। जहाँ रहे पनि, जस्तै सुख भोगे पनि मान्छेभित्र एउटा सन्त्रास सदैव लुकेर बसेको हुन्छ। त्यस्ता सन्त्रासबाट मान्छे कहिले मुक्त हुन सकेनन् अथवा सक्तैनन् भन्ने कुरालाई कवितामा राम्ररी प्रस्तुत गरेको पाइन्छ। त्यसैलाई उनी भन्छन् -
२. एउटा आतङ्क बाँच्छु म
फुट्ला कि सम्बन्ध बोतल जस्तै
जोडिएला के फुटेपछि,
त्रासले तरल - तरल भएर बग्छु म।
( एउटा स्थिति, पृ ४६)

यस्ता त्रासले पिरोलिएका मान्छेका जीवनको विम्बलाई बोतल तथा काँचको रूपमा देखाएका छन्। तरल भएर जिउनुमा नै जीवन छ। कठोरता जीवन होइन। तर उनी कवितामा जीवनका तिनै सन्त्रासमय अनेक रूपलाई देखाउने प्रयत्न गरेको देखिन्छ। तसर्थ उनलाई जीवनवादी सर्जकका रूपमा पनि देखाउन सकिन्छ। जीवनको अजरता, अमरता, काल्पनिकता, भावुकताले गर्दा उनका कविताहरू मानवमूल्यकै कुराहरूका केन्द्रस्थल बन्न पुगेका छन्। यसबाहेक उनका कवितामा प्रकृति, समाज र संस्कृतिका हरेक क्षेत्रबाट टिपिएका विभिन्न सन्दर्भहरूले पनि जीवनकै विभिन्न पाटाहरूलाई देखाउन चाहेको बोध हुन्छ। उनका कवितामा जीवनको सजीव स्पन्दन र ढुकढुकी पनि बजेको पाइन्छ। उनी जीवनमा आइपर्ने हरेक परिस्थितिजन्य सङ्कटलाई पनि जीवनको लयदार तालमा बजेको सुन्छन् । त्यो तालले झङ्कृत भएका मान्छेका मन कहिले सुनसान रहँदैनन्। केही न केही बजिरहेकै हुन्छन्। तसर्थ उनी भन्छन् -

३. कुन तार चुडिँन्छ मनको
मन अझङ्‌कृत हुँदैन किन ?
(विश्वासघात, पृ ४८)
कवि सम्पूर्णा राईका कविताहरूमा विम्ब र प्रतीक संघन तथा कसिलो पाराले नआए तापनि ठाउँ- ठाउँमा यस्ता पाराले घुसेका छन्, कि त्यो कविको सचेतताले नभएर स्वत: आइपुगेका छन्। अत: आजका कतिपय कविहरूले प्रयोग गरेजस्तो विम्ब र प्रतीकलाई खिपेर धारिलो र चमकदार टल्किने पालिसदार कृतिम विम्बहरूको प्रयोग उनका कविताहरूमा पाइँदैनन् । उनका कविताले एउटा मूल विषयलाई भन्न कवि मानसले जेलाई देख्छ त्यसैलाई टिप्दै भन्दै गएको अनुभव कविताहरू पढेपछि थाह लाग्दछ। तर भावपक्ष उनमा निकै दह्रिलो र जीवनदर्शनमूलक रहेको देखिन्छ।
मरूभूमिका नदी कविता यस कविता सङ्ग्रहका सार रूपमा प्रस्तुत भएको बोध पनि हुन्छ। उनका प्राय जम्मै कविताहरू यही कविताको केन्द्र वरिपरि घुमेका छन्। त्यसैको दृष्टान्त जस्तो यस कवितामा उनी भन्छन् -
४. मरूभूमिको नदी भएर
बालुवाको फैलाइमा
प्रखर तापको आगोलाई आफ्ना छात्तीमा बोकेर
कठिन छ बाँच्न मरूभूमिको नदी भएर
....................................................
दिउँसो सँधै प्रचण्ड घामको तापमा
राति सँधै बालुवाको भट्टीमा

छैन एउटा छहारी कतै
केवल गिद्धहरूको उडाइ छ आकाशमा।
(मरूभूमिको नदी, पृ ९९)
यसप्रकार जीवनलाई धेरै भित्रबाट आत्मसात गरि लेखिएको यस कवितामा जीवनको रूखो र सङ्घर्षपूर्ण परिस्थितिलाई विम्बको माध्यम निकै कलात्मक तरिकाले प्रस्तुत भएको देखिन्छ। आगो र पानी, दिन र रात, जीवन र मरण(सङ्घर्ष) जस्ता द्विचरविरोधले गर्दा उक्त कविताको संरचना तनाउ उत्पन्न भएको देखिन्छ। कवितामा यसले गर्दा प्रत्यक्षबाट अप्रत्यक्षको साक्षात्कार हुन मदत मिलेको छ। कवितामा मरूभूमिमा नदीको जुन प्रतीक देखाइको छ यसले कवितामा निर्देशात्मक चिह्नको माध्यम जीवनको इच्छा आकांक्षा र भ्रमपूर्ण बचाइँलाई देखाइएको कुरा सङ्केतित भएको पाइन्छ। कारण मरूभूमिमा नदी नहुने कुरा हो तर जीवन बाँच्नेक्रममा मान्छेले सङ्घर्षपूर्ण परिस्थितिमा भ्रमलाई पनि पालेरै बसेका हुन्छन् भन्ने कुरा कविताबाट सङ्केतित गर्न खोजिएको अनुभव हुन्छ। अर्कातिर मरूभूमि आफै नदी भएर बग्नु भनेको पनि जीवनको ठुलो चुनौतिलाई यहाँ इङ्गित गरिएको छ। अर्थात् खुल्ला आकासमुनि प्रखर घामको तापले पोलिएका बालुवाकणका मरूभूमिको नदी भनेको सङ्घर्ष, विरोधाभाष, विपर्यासपुर्ण जीवनको पाटालाई देखाउन चाहेको अनुभव गर्न सकिन्छ।
जीवनको व्यतिक्रम केलाउने क्रममा कवि सम्पूर्णाले मृत्युको आभाष पाइसकेकी कुरालाई कवितामा धेरै राम्रो प्रकारले प्रस्तुत गरेको पाइन्छ। उनी भन्छिन् -
५. नहुनुको चिसोपनबाट मुक्त आफै अनन्तको फुका उडानमा
जिन्दगी लयबद्ध छ आज।
(मृत्युबोध, पृ ७०)
जीवनपछिको रिक्त स्थितिलाई साधरणत मृत्यु भनिन्छ। तर मृत्युको निश्चितता बोध मानिसलाई जीवित भइञ्जेल थाह हुँदैनन्। तर जीवनमा मृत्युको आभाष पनि मान्छेले गर्नु पर्ने कुरा हो। आफू नहुनुको बोधबाट जीवनलाई हेर्दै उनले भनेका उक्त कवितांशले जीवन र मृत्युबिचको अवकाश(स्पेस)लाई देखाएको पाइन्छ। नहुनुको रिक्तपनलाई उनले अनन्त यात्रा भनेका छन्। तथा संसारमा जीवन र मृत्युको क्रम उसरी नै चलिरहन्छन् भन्ने विचार कवितामा रहेको पाइन्छ।
यसप्रकार जीवनलाई आफ्ना काव्यलेखनको एउटा विशेष सुत्र पक्रिएर लेखिएका उनका कविताको अभिव्यक्ति सरल, सहज र भावको गाम्भिर्यता भेटिन्छ। उनले जीवनबाहेक प्रेम, मानवीय प्रेम, देशप्रेम, जातीयप्रेमजस्ता कुरालाई पनि आफ्ना कवितामा ठाउँ दिएका छन् । यसका दृष्टान्तहरू निम्नलिखित पङ्तिहरूमा पाउँछौँ –
६. समय सुल्केर गए पनि
यात्रा त्यहीँ छ –
जहाँ यसले प्रथम पाइला टेकेको थियो।
(प्रश्न अनि सम्भावना, पृ ५८)

७. देश मानचित्र होइन
देश माटो मात्र पनि होइन
देश ता स्पन्दनको स्फूरण हो
जीवन जस्तै।
( यो देश – केवल स्वस्थ्य देश, पृ ७५)

८. चेतनारहित जनको यो खतरासित
कालो रातको मात्र त्यो अँध्यारोसित
भेट भइसकेको छ, त्यसैले म डराउँछु।
( हताशा, पृ, ५५)
यसप्रकार जीवन र मृत्युको द्वन्द्वबाहेक उनले समसामयिक जीवनपरिस्थितिहरूलाई पनि अङ्कन् गर्ने प्रचेष्टा राखेको देखिन्छ। समसामयिक समाज र स्थानिक स्वरलाई पनि ठाउँ ठाउँमा उल्लेख गरेका छन्। उनका कवि मानसले एउटा आदर्श समाज, देश, परिवेश, जीवन र जगतको चाहना राखेको पाइन्छ। समाजका अनेक विकराल स्थितिहरूले उनमा सन्त्रास पसेको देखिन्छ। यस्ता
समग्रमा भन्न पर्दा भारतेली नेपाली साहित्यमा नारीहरूको उपस्थिति न्यून देखिन्छ। त्यसमा पनि सुरु –सुरुमा कविताको क्षेत्रमा नारी कविहरूको उपस्थिति शुन्यप्राय: रहेको देखिन्थ्यो। तर आजको स्थिति बेग्लै छ। समकालीन भारतेली नारी कविहरूमा देख्छौँ वीणा हाङ्खिम, विन्ध्या सुब्बा, सुधा एम. राई, स्नेहलता राई, साङ्मू लेप्चा, निना राई, रेमिका थापा, सविता सङ्कल्प, रचना अनाकार, सुशिला सुब्बा, गीता छेत्री, शारदा स्टेफी, दिपा राई, बन्दना तोप्देन, संञ्जीवनी तोया, भीमा राई तोलाछा, सरिता समदर्शी आदि। कवि सम्पूर्णा राई यिनै कविहरूका समकालीन र अग्रज कवि थिइन्। कवि सम्पूर्णाका कविताहरू पनि समसामयिक जीवनका विभिन्न पाटालाई देखाउन सक्षम बनेकी छन्। कविता सङ्ग्रह मरुभूमिको नदी मा मूलस्वर जीवन नै भए पनि यसभित्र राष्ट्रप्रेम, देशप्रेम, मानवतावादजस्ता सार्वभौम विषयलाई कवितामा अनुवाद गरेका छन्।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आसाढ, 2069

लेखकका अन्य रचनाहरु