सम्झनामा साम्बभक्त

- छविरमण सिलवाल

इतिहासको एउटा पाटो थियो, जुनबेला लेखक शहिद बनेका थिए । हाल हामी नेपाली साहित्य जगतका प्रथम शहिद ना.सु. कृष्णलाल अघिकारी भनेर चिन्छौं । उनले मकैको खेती नामक पुस्तक लेखेवापत जेलमा परेपछि उनको जेलमै मृत्यु भयो । उनका सवै पुस्तक जलाइए । उनले यस्तो सजाएँ पाएको देखेर थुपै्र सर्जकहरूले भित्रभित्रै आगो बाले पनि कलम भने बन्द भएको थियो । भित्रभित्रै आगो बलिरहेको थियो । लेखेर छन्दनाममा छापिने क्रम पनि वढ्दै गयो । आफ्नो भिनाजुको यस्तो हालत देखेर उनी पनि धेरै दुःखी भए । उनी पनि यसमा मुछिएका थिए । बलियो प्रमाण नदेखे पछि उनले सफाया पाए । सफाया पाए पनि आफ्नो भिनाजु शहिद भएपछि उनको मन विक्षिप्त बन्यो । आफ्ना सिर्जनाहरू छन्दनाममा प्रेषित गर्न थाले । र, उनै प्रथम साहित्यका शहिदलाई उचित न्याय दिन दिलाउन विद्धान लेखकलाई आह्वान गर्दै रहे अन्त्यकालसम्म । अहिले म उनै विद्धानका लेख, रचना र उनका बारेमा विभिन्न लेखकहरूले व्यक्त गरेका विचारहरू समेटिएको ग्रन्थ “साम्बभक्त सुवेदी ः सृजना र सम्झना”का बारेमा केही चर्चा गरिरहेको छु । यस ग्रन्थलाई वरिष्ठ साहित्यकार, नेपाली साहित्यिक पत्राकारिताका धरोहर तथा रचना पत्रिकाका सम्पादक रोचक घिमिरेले सम्पादन गर्नुभएको छ । ग्रन्थ भित्र उनका विविध पक्ष लगायत उनका सिर्जनाहरू पनि समेटिएका छन् । साम्बभक्तका बारेमा यस ग्रन्थबाट धेरै कुराहरूको जानकारी मिल्नुका साथै हामीले भोग्न नपाएका इतिहासका कालखण्डहरू सजिव भएर मानसपटलमा घुमिरहन्छन् । सम्झनै नसकिने यस्तो दर्दनाक समयलाई कसरी उनीहरूले भोगे होलान भन्ने जिज्ञासा मनमा खेलिरहन्छ । यस ग्रन्थ भित्र उनका पहिले नै प्रकाशित भएका पुस्तकहरू पनि समावेश भएका छन् । यसले गर्दा पाठकलाई साम्बभक्तका बारेमा जान्न खोज्दा यसै ग्रन्थबाट सबै कुराहरू प्राप्त गर्न सकिन्छ । “सत्यव्रत” पौराणिक खण्डकाव्य, “मुरारिपुकार” स्तुतिकाव्य, “साम्बकवितकवली” कविताहरु, “मुरारिकन्था” आदि लगायत उनका संस्मरणहरु, चिठ्ठिपत्र, केही गद्यरचनाहरु, उनका जीवनी, र उनले हिन्दीबाट अनुवाद गरिको “दशरत्न” जीवनी सङ्ग्रह पनि यस ग्रन्थमा समावेश भएको छ । सम्पादनकै क्रममा साहित्यकार रोचक घिमिरे लेख्नुहुन्छ ः–“मकैपर्वले सातो नउडाएको भए, र रानधानीमै बसेर क्षमता प्रदर्शन गर्ने वातावरण पाएको भए कवि साक्बभक्त सुवेदीको योगदानबाट नेपाली समाज अझ बढी लाभान्वित हुने थियो । तर पनि उहाँले नेपाली साहित्यलाई आफ्ना जेजति सृजना दिनुभएको छ त्यो निकै पोषिलो गुदी भएको देखा पर्दछ । अरु जनसामान्यको भन्दा आफ्नो बाटो बेग्लै छ भन्ने मान्यता कवि सुवेदीको थियो । आफ्नो स्वतन्त्रतालाई आघात पार्ने कुनै पनि प्रयास विरुद्ध जीवनभर उहाँ सदैव अडिग रहनु भयो । पराधिनता उहाँलाई कहिल्यै स्वीकार्य भएन । स्वावलम्वन, निर्भिकता र सत्यवादिताको आचरणबाट कहिल्यै विचलित हुनुभएन । यिनै कुराहरूले गर्दा आफ्ना समकालीन स्रष्टाहरू भन्दा बेग्लै व्यक्तित्व बनेको थियो उहाँको ।” साम्बभक्तका कवितामा पं.सोमनाथ शर्मा घिमिरे व्यासको टिप्पणी यस्तो रहेको छ :–“साम्बका कविताको भाषा, शैली, विषय शिष्टतापूर्ण समाज सुधारक भएकोले पाठ्यक्रममा राखिनु पर्ने देखिन्छ । पानीको मूल फूटेझँै पद्य निकाल्न सक्ने यस्ता आदर्श कविलाई उत्साह बढाई भविश्यमा समाजले आफ्नो काम हासिल गर्दै लोप हुन दिने छैन भन्ने मलाई लाग्छ ।” पं. सोमनाथले भनेझैं यस्ता आदर्श कविका रचानाहरू उनी दिवंगत भएको तिस वर्षपछि उनैका छोरा नवराज सुवेदीले प्रकाशन गरेर पुण्यको काम गरेका छन् । छोराको कतव्र्य पुरा गरेका छन् । समाजलाई उनका रचनाहरू सुम्पिएका छन् । यस कृतिको मुख्य उद्देश्य भनेको साम्बभक्तका व्यक्तित्व, कृतित्वका विविध पक्षहरूलाई उजागर गर्नुका साथै उनले नेपाली साहित्यमा गरेका योगदानको चर्चा गर्नु नै हो । साम्बभक्तका बारेमा चर्चा गर्दा उनका रचना चोरीका भएका बारेमा केही प्रसंग पनि यहाँ उल्लेख भएका छन् । साम्बभक्तका छिमेकी हितप्रसाद उपाध्याय सुवेदीले पाण्डुलिपि लगेर हुवहु उतारेर प्रकाशन गरेका रहेछन् । हितप्रसादका छोरा अशोक सुवेदीको सम्पादनमा आएको यस्तो दुस्शाहस पूर्ण कार्य भएको प्रमाण यहाँ उल्लेख भएको छ । यस पुस्तकबाट यस्ता बौद्धिक चोर चिन्ने अवसर प्राप्त भएको छ । यसका साथै अशोक सुवेदीले सम्पादन गरेका कृति “अङ्गत–रामायण सम्वाद”भित्र नेपालका चर्चित समालोचक प्रा.राजेन्द्र सुवेदीले भूमिका लेखेर बढाई चढाई गरेका छन् । हितप्रसाद ठूलै प्रतिभा भएका कवि हुन भनेर पगरी कसाएका छन् । ताकी जानकारहरू भन्छन्, हितप्रसाद भनेका विवाहमा श्लोक भन्ने एक साधारण व्यक्ति मात्र हुन्, कुरा नै नबुझेर यस्ता व्यक्तिका बारेमा ठूला कुरा गर्नु एउटा चर्चित समालोचकको शोभनिय कार्य होइन । र अर्को कुरा साम्बभक्त, अनङ्गनाथ, चक्रपाणी, शम्भुप्रसाद, लोकनाथ पोखरेल लगायतका रचनाहरू समावेश गरेर पिताको गुन मैले चुकाएँ भने जस्तो कार्य गर्नु स्वयम् अशोक सुुवेदीलाई पनि शोभा दिदंैन ।
केही वर्ष पहिले साहित्यकार जगदीश घिमिरेको निमन्त्रणामा रामेछाप घुन्ने अवसर पाएको थिएँ । थुप्रै वरिष्ठ साहित्यकारहरूसंग भएको त्यो यात्रा निकै फलदायी पनि रह्यो । गंगालाल, पुष्पलाल जन्मेको घडेरीमा जुनार लटरम्म फलेको थियो । हामीलाई त्यसका मालिकले त्यही बोटको जुनार टिपेर खान दिए । हामी कृतग्न भएर फर्किएका थियौं । तिनलालको जिल्ला पनि भनिन्छ रामेछापलाई । आज अर्का विद्धान साम्बभक्तका बारेमा प्रकाशित ग्रन्थकाबाट पनि धेरै कुराको जानकारी प्राप्त भएको छ । यस्ता महान विद्धान विदुषीका रचनाहरू आम पाठकका माझमा आएको छ, यो आफैमा उत्तम कार्य भएको ठहर्छ । त्यसैले यो ग्रन्थ पठनीय र सङ्ग्रहनिय रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 19 आसाढ, 2069

लेखकका अन्य रचनाहरु