अब्बल दर्जाका लघुकथाहरू

- छविरमण सिलवाल

मुख्यतः एउटै विधामा मात्र सिमित रहेर कलम चलाउँने सर्जक हुन् सुमन । आधुनिक लघुकथाहरू(लघुकथा,२०५२), पराइ विचार(लघुकथा,२०६५) लघुकथाका यी दुई पुस्तकहरू प्रकाशित भइसकेका छन् सुमनका यस अघि । अहिले तेस्रो लघुकथा सङ्ग्रह “चौथो लिङ्गी” लिएर आएका छन् । विगत अढाई दशक देखि नेपाली लघुकथा क्षेत्रमा निरन्तर लागिरहेका सुमनले लघुकथाका क्षेत्रमा आफ्नो स्थान सुरक्षित बनाई सकेका छन् । लघुकथा क्षेत्रमा केही गर्ने उद्देश्यले हाल उनी लघुकथा समाजमा आवद्ध रहेर लघुकथालाई व्यापकता बनाई रहेका छन् ।
पहिले लघुकथा भन्ने विक्तिकै उपविधाको रुपमा हेर्ने गरिन्थ्यो । हालका दिनमा यस विधाले पनि आफ्नो अस्तित्व बनाई सकेको छ । शुरुका दिनहरूमा औंलामा गन्न सकिने थिए । हाल धेरै लघुकथाकारहरू जन्मि रहेका छ । लघुकथामात्रै लेखेर शिखर चढिरहेका थुप्रै सर्जकहरू छन् । यस मध्येका एक हुन सुमन सौरभ । पहिले लघुकथा कसले पढ्छ र भन्ने प्रकाशन संस्थाले पनि हाल लघुकथाका थुप्रै पुस्तकहरूमा लगानी गरेका छन् । सुमनको तेस्रो लघुकथा सङ्ग्रह “चौथो लिङ्गी” पनि साझा प्रकाशनबाट प्रकाशित भएको छ । समयको परिवर्तनसंगै नेपाली साहित्यमा पनि फड्को मार्नेक्रम वढिरहेको छ । सिर्जनाका तिख्खर स्वादसंग परिचित हुने क्रम बढिरहेको छ । सुमनका लघुकथाका स्वाद पनि यस्तै तिख्खर छन् । नेपाली लघुकथामा उनी एक कदम अगाडि फ्ड्को मारि रहेका छन् । उनलाई लाग्छ जसरी आफ्नो प्रशव पीडाबाट जसरी एउटी महिलाले बच्चाको जन्म दिन्छिन र बच्चा प्राप्त भएपछि सम्पूर्ण प्रसव पीडा भुल्छिन । त्यसरीनै एउटा सिर्जना लेख्दा यस्तै अनुभव हुन्छ उनलाई । समाजकै लागि लेखिने सिर्जना पनि समाज भित्रकै विषयवस्तु हुनु पर्छ । अब कल्पनाका कुराहरू मात्र गरेर पाठकलाई अल्मल्याउने समय होइन । सुमनका कथाहरू पनि यही समाजका विसंगतहरू हुन । उनले एउटा लघुकथा लेख्नेको लागि धेरै अध्यन गरेका छन् । आफू हुर्केको समाजलाई पुनः शुष्म अध्यन गर्छन् । त्यसैले त उनी आम लेखक भन्दा पृथक छन् । अरू भन्दा पृथक तथा विशिष्ट भएर देखा परेका छन् । तेस्रो लघुकथा सङ्ग्रह “चौथो लिङ्गी” पुस्तक यीनको विशिष्टताको नमूना हो । प्रस्तुत सङ्ग्रहका प्रत्येक लघुकथाहरूले केही न केही सन्देश प्रवाहित गरिरहेका छन् । केही लघुकथामा उनले नयाँ प्रयोग गरेका छन्, जुन आम लेखकहरू पुग्न सकेका थिएनन् । “चौथो लिङ्गी” शिर्षकको कथा यसको उधाहरण हो । यसको अलावा थुप्रै कथाहरूमा नवितम प्रयोग गरेका छन् सुमनले पाठकलाई मनोरञ्जन प्रदान गर्नको लागि । केही कथामा प्रयोग नाममा काल्पनिक र बनावटी लागे पनि ति कथाहरूले वोल्न खोजेका कुराहरू यथेष्ट रुपमा आएका छन् ।
सुमन सौरभको लघुकथाका बारेमा साहित्यकार किशोर पहाडीको टिप्पणीलाई हेरौं ः–“सुमन आफ्नो लघुकथामा यस्तो बिषय लिन्छन्, जसलाई अरूले ग्रहण गरेकै हुँदैनन् । सुमन त्यस बिषयलाई आफ्नो लघुकथामा यसरी प्रस्तुत गर्छन्, जसलाई अरूले यसरी प्रस्तुत गर्न सकिन्छ भनेर सोचेकै हुँदैनन् । सुमन त्यस विषयलाई यसरी अन्त्य गर्छन् कि पाठकहरू त्यस लघुकथाको तिक्खरताबाट धेरै समयसम्म प्रवाहित भएर रहन्छन् । खास भन्ने हो भने सुमन सौरभका लघुकथाहरू यिनको मुस्कानजत्तिकै तिक्खर छन् । त्यही तिक्खरतालाई कायम राखेको छ यिनको यस “चौथो लिङ्गी”ले पनि ।” पहाडीको यो टिप्पणी सतप्रतिशत सत्य छ । जम्मा ४३ ओटा लघुकथा भएको यस सङग्रह भित्रका प्रत्येक लघुकथाको आफ्नै विशिष्ठता छ । वर्तमान समयका बाछिटाहरूले हानेर थलिएका मान्छेहरूका पीडाहरू यत्रतत्र पोखिएका छन् । खान नपाएर भोकमरीले मरिरहेका मान्छेका पीडाहरू पोखिएका छन् । “कौसीको उचाइबाट जेलर सहरको गज्याङमज्याङ नक्सा अनौठो मानेर हेर्दै गयो, ऊ बयान गर्दै गयो–“ जेलबाट छुटेर म सोझै उः त्यो बाटो हुँदै घर गएँ । घरमा परिवार छ, अनि मचाहिँ बेराजगार । घरबाट सोझै उः त्यो बजारमा पुगिन्छ । बजारमा अपराध छ, अपराधबाट पुलिसचौकी, अनि अदालत, अनि यही जेल । यो सहरिया बाटोको नक्सा नै यस्तै छ, सोझो हिँड्दा पनि जेलमै आइपुगिन्छ भने कुन बाटो र कुनचाहिँ कुबाटो हो जेलर ?” “कुबाटो” शिर्षकको लघुकथाका यी वाक्यहरूले तीतो यथार्थसंग जक्का भेट गराउँछ । वर्तमानको भोगाइलाई व्यग्य पनि । थोरै शब्दमा धेरै प्रस्तुुति गर्नु लघुकथाको विशेषतानै हो । उनका यी लघुकथाले एउटा युगको निर्माण गर्न सफल देखिन्छन् । यी लघुकथालाई साझा प्रकाशनले प्रकाशन गरेर भारो टार्ने काम मात्र गरेको छ । कमसल कागज र गुणस्तरहिन छपाईले स्रष्टाका मुल्य घटाइएको छ । प्रकाशन जे जस्तो भए पनि पुस्तक भित्रका लघुकथाहरू अत्यन्त राम्रा गुणस्तर छन् । प्रस्तुत कृति लघुकथा लेख्नेहरूका लागि मानक पुस्तककै रूपमा लिन सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 भाद्र, 2069

लेखकका अन्य रचनाहरु