नेपाली खेलीगीतमा अलङ्कारविधान

- तुलसी प्रवास

(लोकगीतका विभिन्न प्रकारहरूमध्येको महत्वपूर्ण एउटा गीत ‘खेली’ हो । खेली गीत नेपाली ग्रामीण समाजका उपज हुन् । यिनको स्रोत पनि गाउँ नै हो । गाउँका बूढापाकाले जसरी गाउँछन् त्यो नै यसको मूल स्वरूप हो । गाउँका बूढापाकाहरू नै यस गीतका जन्मदाता र संरक्षक हुन् । यसलाई फरक –फरक लयमा गाउन सकिन्छ । खेली गीतको विषयवस्तु मूलतः प्रेम नै हो । दोस्रो, यसको विषयवस्तु धर्म, संस्कार हो । पूजाआजा तथा विभिन्न धार्मिक कार्यहरूमा खेली भजनको रुपमा पनि यसलाई गाउने गरिन्छ । त्यसैगरी खेलीगीत भावपूर्ण लोकगीत हो । यसमा प्रेम, करुणा, भक्ति आदिजस्ता भावहरू अभिव्यक्त भएका हुन्छन् । यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा खेलीगीत अझै मौलाउन सक्दछ । खेलीगीतमा अन्जानमै भए पनि लय, छन्द, विम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् । खेलीगीत गाउने व्यक्ति अशिक्षित हुने भएकोले उसलाई शास्त्रीय छन्द, अलङ्कार आदिको ज्ञान हुँदैन । नेपाली लोकगीतको चर्चा गर्दा हरेकले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आ–आफ्ना कृतिहरूमा खेली गीतको बारेमा चर्चा गरे तापनि खेलीलाई नै प्रमुख विषय बनाएर यसका विविध पक्षमा अनुसन्धान हालसम्म भएको पाइएको छैन । खेली गीतमा पाइने शब्दालङ्कार र अर्थालङ्कारहरूकोे विषयमा सबैजना मौन छन् । खेलीगीतमा प्रयोग भएका अलङ्कारहरूको खोजी गरी खेलीगीतलाई आधुनिक समाजमा पनि स्थापित गराउनु आवश्यक रहेको छ । खेलीभित्र लुकेका शास्त्रीय शब्दालङ्कार र अर्थालङ्कारहरूको खोजी गर्ने हो भने यो लोकप्रिय लोकगीति विधाका रूपमा स्थापित हुन सक्छ । यही कुरालाई हृदयङ्गम गरेर केही खेलीगीतहरू सङ्कलन गरी तिनकोे परिचयसहित तिनमा प्रयुक्त अलङ्कारहरूको संक्षिप्त चर्चा यस लेखमा गरिएको छ । )
१.नेपाली लोकगीतअन्तर्गत खेलीगीत
‘खेलीगीत’ नेपाली लोकगीतको एउटा महत्वपूर्ण प्रकार हो । ‘लोक’ भन्नाले कुनै निश्चित भू—भाग वा त्यहाँ बस्ने मानवजातिहरूको समूह भन्ने बुझाउँछ । यसरी हेर्दा ‘लोक’ शब्दले एकातिर धरातल भन्ने बुझाउँछ भने अर्कोतर्फ त्यस धरातलमा बस्ने मानवसमूह भन्ने बुझाउँछ । विभिन्न भू—भागमा बस्ने मानवजातिहरूले आफ्नो जातीय र राष्ट्रिय भाषामा आ–आफ्नोे परम्परागत जातीय संस्कृति र दुःख–सुखमा आन्तरिक भावहरू सरल र मौखिक रूपमा अभिव्यक्त गरेको पाइन्छ । त्यही नै पछि गएर लोकगीत हुन जान्छ । साधारण अर्थमा लोकगीत भन्नु नै लोकको गीत हो (तिवारी २०५० ः १) । लय वा भाकाप्रधान भएर वाणीका रूपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो । जब लोकले आफ्ना विरह, वेदना, सौन्दर्य तथा शृङ्गार भावलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्छ त्यसले लोकगीतको संज्ञा पाउँछ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हँुदैन त्यस्तो समाजमा लोकगीत अझै मौलाउन सक्दछ । शिक्षाले ल्याएको आधुनिकताको भुँवरीमा लोकगीत हराउन पनि सक्दछ (खनाल, २०६० ः १२) । लोकगीतमा अन्जानमै भए पनि लय, छन्द, विम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् । नेपाली लोकगीतको आकर्षक पक्ष भनेको लय हो, जसलाई भाका वा फाँकी भनिन्छ (अधिकारी, २०५७ ः १०) लोकगीत रचना गर्ने व्यक्ति अशिक्षित हुने भएकोले उसलाई शास्त्रीय छन्द, अलङ्कार आदिको ज्ञान हुँदैन । आन्तरिक उद्गार जस्तो भाकामा उद्गारित हुन्छ त्यही छन्द बन्दछ । वेदनाको तरङ्गले अभिव्यक्तिको बाङ्गो, सोझो जस्तो बाटो समाउँछ त्यही नै अलङ्कार हुन्छ (थापा र सुवेदी, २०४१ ः ५९—६०) ।
‘खेल’ मूल शब्दमा ‘ई’ प्रत्यय लागेर ‘खेली’ शब्द बनेको हो । लोकगीतका सन्दर्भमा यसको अर्थ एक प्रकारको गीत भन्ने बुझिन्छ । यो गीत खेलका रूपमा गाउन सकिने सजिलो खालको हुन्छ । त्यसैले ख्यालख्यालमा सजिलै गाइने गीत खेलीगीत हो ( न्यौपाने २०४० ः २०) । हाँसखेलका रूपमा व्यक्त हुने अर्थात् कुनै पूजा–आजा, रोदी आदिमा युवायुवतीहरू जम्मा भएर व्यक्त गर्ने सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भनिन्छ । यो गीत कहिले भजन बनेर, कहिले प्रेमगीत बनेर त कहिले चुड्का बनेर नेपाली समाजमा गुञ्जिँदै आएको छ । यस खेली गीतलाई विभिन्न विद्वान तथा अनुसन्धानकर्ताहरूले आ—आफ्नै तरिकाले खेली, ख्याली, आँधीखोले भाका, रोइला, चुड्का, लोइरो गीत आदि नामले पुकारेको पाइन्छ । ख्यालख्यालमा गाइने, खेलेर गाइने तथा यही भाकामा दोहोरी खेल्ने भएकाले यसलाई खेली नै भन्नु सान्दर्भिक देखिन्छ । ब्राहमण, क्षेत्री लगायतका जातिमा प्रचलित यो गीत घर, गोठ, वन, पाखा, आदि ठाउँमा गाइन्छ । बाजाका रूपमा खैँजडी, मुजुरा लगायतका बाजा बजाउँदा रमाइलो भए पनि यसको गायनमा बाजाको अनिवार्यता हुँदैन । त्यस्तै यसमा नृत्यको पनि अनिवार्यता हुँदैन । यो गीत विभिन्न लयमा गाइन्छ । यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ ।
‘खेलीगीत’ नेपालको पुरानो सम्पत्ति भएकोले आजसम्म आइपुग्दा यसका विभिन्न प्रकार—उपप्रकारहरू देखा परेका छन् । यसका मुलतः तीन प्रकार छन् । ती तीनवटाका पनि अनेक उपप्रकारहरू पाउन सकिन्छ । लोकगीतका अन्वेषक डा. कुसुमाकर न्यौपानेका अनुसार गीत, भजन र चुड्का गरी यसका तीन भेद रहेका छन् । ती तीन भेदमा पनि प्रत्येकलाई एकोहोरी र दोहोरी दुवै रूपमा गाउन सकिने कुरा उनी बताउँछन् (न्यौपाने, २०६६ ः १२४) । प्रेमगीतको रुपमा गाइने खेलीलाई खेलीगीत भनिएको पाइन्छ । यस्ता गीतहरू दुई पंक्तियुक्त र तीन पंक्तियुक्त साथै एकोहोरी र दोहोरी रूपमा गाइन्छन् । धार्मिक पूजाका अवसरमा गाइने गीतलाई भजन भनिन्छ (बन्धु, २०५८ ः १५३ ) । भजनमा पूजा गरिएका देवदेवीहरूको गुण, शक्ति र सामथ्र्यको बयान गरिएको हुन्छ । खेलीलाई प्रेमगीतअन्तर्गत राखेर अध्ययन गरिएको पाइन्छ भने भजनलाई धार्मिक गीतअन्तर्गत राखेर अध्ययन गरिएको पाइन्छ (खनाल, २०६० ः ३७) । कहिलेकाहिँ पूजाआजाको समयमा खेलीकै भाकामा पनि भजन गाउने चलन नेपाली लोकसमाजमा रहेको छ । त्यसैगरी खेली भजनलाई बीच —बीचमा चुड्का जोडेर पनि गाउने चलन छ । विभिन्न टुक्काहरू जोडेर खेलीकै भाकामा गाउने गीतलाई खेली चुड्का भनिन्छ । यसरी नेपाली लोकसमाजले खेलीगीतलाई तीनवटा रूपमा गाउँदै आएको पाइन्छ ।
२.खेलीगीतमा अलङ्कार
अलङ्कार शब्द अलम् ं कृ धातुबाट बनेको हो । अर्को शब्दमा अलम् ंकृं घञबाट अलङ्कार बनेको हो । अलम् भनेको भूषण हो । अलङ्कारशास्त्रमा जसले भूषित गर्दछ वा सिंगार्दछ, त्यसैलाई अलङ्कार भनिन्छ ( थापा, २०६६ ः २३१) । भामह, दण्डी र वामनले अलङ्कारलाई सर्वस्व ठानेका छन् । यसै पृष्ठभूमिमा सम्पूर्ण अलङ्कारको मूल स्रोतका रूपमा भामहले वक्रोक्तिलाई, दण्डीले अतिशयोक्तिलाई र वामनले उपमानलाई मानेका छन् । अलङ्कारलाई काव्यको आत्माको रूपमा नलिए पनि काव्यको एउटा आवश्यक र स्वाभाविक अङ्गका रूपमा लिन सकिन्छ । यसै आधारमा रसवादी र रीतिवादी आचार्यहरूले पनि काव्यमा उत्कर्षता प्रदान गर्ने अर्थ वा सहायक उपादानका रूपमा लिएका छन् । वास्तवमा काव्य वा साहित्यमा अलङ्कारको विशिष्ट स्थान छ । अलङ्कार भनेको सौन्दर्य हो । ‘अलम् करोति इति अलङ्कार’ अर्थात् जसले अभिव्यक्तिलाई पूर्ण पार्छ त्यही अलङ्कार हो अथवा जसले अभिव्यक्तिलाई सिंगार्दछ त्यही अलङ्कार हो । यहाँ ‘अलम’ शब्दका दुई अर्थ स्पष्ट देखिन्छन् । १. पूर्ण २.गहना । तर दुवैको वास्तविक आशय हो —‘अभिव्यक्तिलाई सिंगारेर पूर्ण परिष्कृत बनाई प्रस्तुत गर्नु ।’ अलङ्कारको प्रथम उल्लेख भरतमुनिको नाट्यशास्त्रमा भएपनि यसको शास्त्रीय व्याख्याचाँिह अग्निपुराणमा पाइन्छ । यसलाई अघि बढाउनेहरूमा पहिला आचार्य भामह हुन् । उनी अलङ्कारवादी ठानिन्छन् । उनको भनाइमा शब्दहरूको उक्तिबाट अभीष्ट बोलीको वक्रिम अभिव्यक्ति नै अलङ्कार हो अर्थात् शब्दार्थ वैचित्र्य नै अलङ्कार हो (न्यौपाने, २०४९ ः ३८४) ।
अलङ्कारको चर्चा काव्यबाट सुरु भएर पछाडिको व्याख्या उपव्याख्या पनि काव्य अर्थात् कवितामा मात्रै सीमित रह्यो । मानव समुदायको अत्यन्तै लोकप्रिय विधा मानिएको गीत र त्यसमा पनि लोकगीतमा अलङ्कारको व्यापक खोजी अहिलेसम्म भएको पाइएको छैन । लोकगीतमा यति धेरै शब्दचातुर्य र अर्थचातुर्य हुन्छन् जसको कारण नेपाली समाजमा यस्ता गीतहरू अत्यन्तै चर्चित रहेका छन् । यस्तो महत्वपूर्ण विषयको खोजी हुनु अत्यन्तै आवश्यक देखिएको छ । नेपाली लोकगीतको महत्वपूर्ण उपविधाका रूपमा रहेको खेलीगीत र यसभित्रका केही अलङ्कारहरूको खोजी गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।
२.१.खेलीगीतमा अन्त्यानुप्राश अलङ्कार
प्रत्येक हरफको अन्त्यमा हुने समान वर्णको पुनरावृत्तिलाई अन्त्यानुप्राश भनिन्छ । अन्त्यानुप्राश अलङ्कार शब्दालङ्कारको एउटा भेद हो । शब्दमा चमत्कार हुने अलङ्कारलाई शब्दालङ्कार भनिन्छ । यसले शब्द एवम् ध्वनिको चमत्कारपूर्ण प्रयोगबाट काव्य सौन्दर्य पैदा गर्दछ । नेपाली खेली गीतमा पनि शब्दहरूको चमत्कारपूर्ण प्रयोग भएको पाइन्छ । खेलीगीतको सन्दर्भमा भने प्रत्येक गीतमा पछिल्ला दुई पंक्तिका अन्तिम वर्णहरूको पुनरावृत्ति भएको पाइन्छ ।
यस्ता केही गीतहरू यसप्रकार रहेका छन् ः
(१) पोखरीको पानी,
चामल धोए चौलानी,
सम्झेकै त हौला नि ।
(२) म त स्याङ्जा जिल्ला,
बैनी पाल्पा जिल्लाकी,
माया लाउन मिल्ला कि ?
(३) भन्छन् दाइ गाउँलेले,
बोले हाँसे लइभ्यायो,
घरिबारे भैभ्यायो ।
(४) खर काटेर राखे,
भाटा काटी छाइदिउँला,
डबल माया लाइदिउँला ।
(५) उराठिलो मन,
बतासिलो चौपारी,
यो बैनीले सौपारी (शोक) ।
प्रस्तुत गीतहरूका दोस्रो र तेस्रो पंक्तिमा प्रयोग भएका ‘चौलानी र हौलानी’, ‘जिल्लाकी र मिल्ला कि’, ‘लइभ्यायो र भैभ्यायो’, छाइदिउँला र लाइदिउँला, चौपारी र सौपारी आदि शब्दमा अन्त्यानुप्राश अलङ्कारको प्रयोग भएको छ । खेलीगीतहरूमा यस्तो अन्त्यानुप्राश अत्यावश्यक जस्तै हुन्छ ।
२.२.खेलीगीतमा वृत्यनुप्राश अलङ्कार
उही क्रममा एक वा अनेक व्यञ्जनहरूको पटक पटक पुनरावृत्तिलाई वृत्यनुप्राश अलङ्कार भनिन्छ । यो पनि शब्दालङ्कारकै एउटा भेद हो । खेलीगीतमा वृत्यनुप्राशको प्रयोग यसरी भएको छ ः
(१) बिरहमा छौ कि, बोलाम भने रुन्छ्यौ कि, झन् बिरानी हुन्छ्यौ कि ?
(२) फर्कम भो भनौली, सुईँ सुईँ रेल्ले सुईँकाउँदा, बम्बैतिर हुईँकाउँदा ।
(३) छेप छेपनाले, नछेप दाइ रङ्गले, तीन पैसाको ढङ्गले ।
(४) भइयो केरे भेट, कर्म हारा हाराको, धर्म छाडा छाडाको ।
माथिका गीतमध्ये पहिलोमा क्, न्, छ् वर्ण, दोस्रोमा स्, इ, क्, द् आदि वर्ण, तेस्रोमा छ्, ङ्, ग,् ल् वर्ण र चौथोमा क्, ह्, र्, छ्, ड् वर्णहरूको पटक पटक पुनरावृत्ति भएकोले यिनमा वृत्यनुप्राश अलङ्कार रहेको छ ।


२.३. खेली गीतमा श्लेष अलङ्कार
श्लेष अलङ्कार शब्दालङ्कारको एउटा भेद हो । यसले एउटा शब्दमा अनेक अर्थ गाँसिएको भन्ने बुझाउँछ । जस्तै ः
पोखरीको पानी, कल्ले लयो खोलेर, के काम लायो बोलेर ।
यस गीतमा पोखरीमा पानी थियो, कसले खोलेर लग्यो भन्ने अर्थ एकातिर देखिन्छ भने अर्कोतिर कल्ले अर्थात् मेसिनले खोलेर लग्यो भन्ने अर्थ देखिन्छ । गीतमा प्रयोग भएको ‘कल्ले’ शब्दमा श्लेषालङ्कार पर्न गएको छ ।
२.४. खेली गीतमा उपमा अलङ्कार
‘उपमा’ अर्थालङ्कारको एउटा भेद हो । शब्दको अर्थमा मात्र सौन्दर्य र चमत्कारको सिर्जना भयो भने अर्थालङ्कार हुन्छ । एउटा वस्तुको छेउमा अर्को वस्तुलाई राखेर त्यसको समानता प्रस्तुत गर्नु नै उपमा हो । उपमा अलङ्कार हुनको लागि उपमान, उपमेय, सादृश्यवाचक र धर्म गरी चार तत्वको आवश्यकता पर्दछ । केही उदाहरण ः
(१) म त एकलकाँटे, पोखरीको मौलो झ,ैँ नचिनेको नौलो झैँ ।
(यस गीतमा ‘म’ नायकले आफूलाई पोखरीमा गाडिएको एक्लो मौलोसँग तुलना गरेको छ । यहाँ ‘म’ उपमेय, ‘मौलो’ उपमान, ‘झै’ँ वाचक र ‘एकलकाँटे’ धर्म भएकोले यस गीतमा पूर्णोपमा अलङ्कार देखिन्छ । )
(४) देखेनौ र तिम्ले, म मौरी झैँ घुमेको, ज्यान परान हुमेको ।
(यस गीतमा नायकले आफूूलाई रसको खोजीमा घुमी उड्ने मौरीसँग तुलना गरेको छ यसमा ‘म’ उपमेय, ‘मौरी’ उपमा, ‘झै’ँ वाचक रहेका छन् भने यसमा धर्म लुप्त छ । उपमा अलङ्कारका चार तत्वमध्ये कुनै तत्व लुप्त भएमा लुप्तोपमा अलङ्कार हुने भएकोले यस गीतमा पनि लुप्तोपमा अलङ्कार देखिएको छ । )
(५) लाउन हुन्थ्यो माया, अग्लो रैछौ टौवा झैँ, कालो रैछौ कौवा झैँ ।
(यस गीतमा मायाको याचना गरिरहेको नायकलाई नायिकाले गतिलो जवाफ दिएकी छन् । यहाँ नायक (लुप्त) उपमेय, ‘कौवा’ र ‘टौवा’ उपमान, ‘झै’ँ वाचक तथा ‘अग्लो’ र ‘कालो’ धर्म देखिएकोले यसमा उपमा अलङ्कारको प्रयोग देखिन्छ । )
माथिका गीतहरूमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उपमान, उपमेय, सादृश्यवाचक र धर्म चार तत्वहरू समावेश भएकोले यिनीहरूमा उपमा अलङ्कारको प्रयोग भएको देखिन्छ ।
२.५. खेलीगीतमा रूपक अलङ्कार
रूपक पनि अर्थालङ्कारकै एक भेद हो । उपमेयमा उपमानको आरोप नै रूपक हो । एक वस्तुसँग अर्को वस्तुलाई अभिन्न हुने र अन्तर नहुने गरी राख्नु नै आरोप गर्नु हो । रूपक अलङ्कारले फलानो नै फलानो हो भन्ने कुरा तोकेर बताउँछ । केही उदाहरण ः
(१) जगतै उज्यालो, जूनले र घामले, सीताले र रामले ।
(यस गीतमा ‘जून’ उपमान र ‘सीता’ उपमेय, ‘घाम’ उपमान र ‘राम’ उपमेय हुन् । सीतामा जूनको आरोप र राममा घामको आरोप भएकोले यहाँ सीता र राममा रूपक अलङ्कार पर्न गएको छ ।
(२) गाई कराउँदै गोठ, बाच्छी कता गैछर, अचाल के काम रैछ र ।
( यहाँ गाईमा प्रेमीको आरोप र बाच्छीमा प्रेमिकाको अदृश्य आरोप देखिन्छ । प्रेमी उपमेयमा गाई उपमानको आरोप र प्रेमिका उपमेयमा बाच्छी उपमानको आरोप भएकोले रूपक अलङ्कार देखिएको छ । )
(३) मै छु किनारैमा, फूल बगाउन के दिम्ला, चोखो जोवन मै लिम्ला ।
( यस गीतमा ‘चोखो जोवन’मा ‘फूल’को आरोप गरिएको छ । ‘चोखो जोवन’ उपमेय हो भने ‘फूल’ उपमा हो । त्यसैले ‘चोखो जोवन’ मा रूपक अलङ्कार पर्न गएको छ । )
(४) पत्थरै हो मन, कएरी भए रसाउँथ्यो, फूल भए बसाउँथ्यो ।
(यस गीतमा ‘मन’ उपमेयमा ‘पत्थर’ उपमानको आरोप भएको छ । त्यसैले ‘मन’मा रूपक अलङ्कार पर्न गएको छ । )
२.६. खेली गीतमा तुल्ययोगिता अलङ्कार
तुल्य भनेको समान र योगिता भनेको सम्बन्ध हो । तुल्ययोगितामा समान वा बराबरीको बीचमात्र सम्बन्ध हुन्छ । तुल्ययोगिता अलङ्कारले अनेक उपमेय तथा उपमानबाट एउटै स्वभाव वा गुणको सम्बन्ध बुझाउँछ । जस्तै ः
(१) मैले माया लाको, तिम्लाई हैन उनलाई हो, घामलाई हैन जूनलाई हो ।
(२) सेतो ईन्द्रकमल, रातो लालीगुराँस, नखाऊ दाइले हरेश ।
(३) लोटे मोरिदैँन, भीरको डाली समाए, मनमा अक्किल कमाए ।
माथिका गीतहरूमा घाम र जूनसँग मायालुको तुलना, सेतो ईन्द्रकमल र रातो लालीगुराँससँग माया लगाउने दाइको तुलना र भीरको डाली र मनको अक्किल बीच तुलना गरिएको प्रसङ्ग केही हदसम्म तुल्ययोगिता अलङ्कारको नियमसँग मिल्न गएकोले अथवा एक आपसमा सम्बन्ध देखाइएकोले यिनमा तुल्ययोगिता अलङ्कारको प्रयोग भएको देखिन्छ ।
२.७. खेली गीतमा उत्प्रेक्षा अलङ्कार
उपमेयमा उपमानको सम्भावना हुनु नै उत्प्रेक्षा अलङ्कार हो । विशेष रूपले उपमानलाई हेर्नु नै उत्प्रेक्षाको अर्थ हो । नेपाली खेली गीतमा यसप्रकारले उत्पे्रक्षा अलङ्कारको प्रयोग भएको पाइन्छ ः
(१) बार बारेर राखे, सुन्तलीको बेर्नालाई, पछि धोका फेर्नलाई ।
(¬२) खर काटेर राखे, भाटा काटी छाइदिउँला, डबल माया लाइदिउँला ।
माथि उल्लिखित गीतहरूमा पहिलोमा ‘सुन्तलीको बेर्ना जोगाएर राखे पछि धोका फेर्न पाइने सम्भावना’ र दोस्रोमा ‘खर काटेर राखेमा भाटा काटी छाउने र डबल माया लगाउने सम्भावना’, देखिएकोले यिनीहरूमा उत्प्रेक्षा अलङ्कार देखिन्छ । उपमेय र उपमान स्पष्ट नदेखिए पनि सन्दर्भ र भाव हेर्दा यिनमा उत्प्रेक्षा अलङ्कारको केही सङ्केत देखा पर्दछ ।
३. निष्कर्ष
खेली गीत नेपाली लोकगीतको अत्यन्तै महत्वपूर्ण उपविधा हो । नेपालको पश्चिमाञ्चल विकासक्षेत्रका गण्डकी, धवलागिरि र लुम्बिनी अञ्चलमा पर्ने स्याङ्जा, पर्वत, गुल्मी, तनहुँ, पाल्पा, बाग्लुङ, कास्की र नवलपरासी जिल्लाका विशेष गरी बाह्मण, क्षेत्री जातिका मानिसले यो गीत गाउने गर्दछन् । विभिन्न मेलापात, पूजापाठ, ब्रत, उत्सव आदि अवसरमा खेलका रूपमा अथवा खेल्दै गाउने भएकाले यसलाई खेली नाम दिइएको हो । आधुनिकता र शिक्षाको विकाससँगसँगै खेलीलाई अनेक नामहरूले सम्बोधन गरिँदै आएको छ । रोइला, चुड्का, ख्याली, आँधीखोले भाका, लोइरो गीत आदि विभिन्न नामहरूले यस गीतलाई सम्बोधन गरिए पनि यसको उत्पत्ति, अर्थ र लोकबोलीका आधारमा यसलाई ‘खेली’ नै भन्नु अर्थयुक्त र सान्दर्भिक ठहरिन्छ । खेलीगीतमा पूर्वीय शब्दालङ्कार र अर्थालङ्कारको प्रचूर प्रयोग भेटिन्छ । शब्द र अर्थको चातुर्यपूर्ण प्रस्तुतिले यी गीत नेपाली समाजका सदावहार गीत बनेर गुञ्जिरहेका छन् । केही सीमित गीतहरू सङ्कलन गरेर अध्ययन गरी तयार पारिएको यस लेखमा शब्दालङ्कारअन्तर्गत अन्त्यानुप्राश, वृत्यानुप्राश, श्लेष आदि अलङ्कार र अर्थालङ्कारअन्तर्गत उपमा, रूपक, उत्प्रेक्षा, तुल्ययोगिता आदि अलङ्कारहरू देखा परेका छन् । खोजी गर्दै जाने हो भने यस्ता अलङ्कारहरू खेली गीतमा अझै पाउन सकिन्छ । नेपाली समाजको यस्तो अमूल्य सम्पत्ति खेलीको बारेमा अझै धेरै खोजी अनुसन्धान गरेर यसका महत्वपूर्ण तथ्यहरू बाहिर ल्याउनु सबै लोकसंस्कृतिप्रेमीहरूको प्रमुख दायित्व हुन जान्छ ।
सन्दर्भ सामग्री
अधिकारी, बिश्वप्रेम (२०५७), आँधीखोले लोकसंस्कृति र लोकगीत, स्याङ्जा ः विजयकुमार अधिकारी ।
उपाध्याय, केशवप्रसाद (२०६१ चौ. सं), पूर्वीय साहित्यसिद्धान्त, काठमाडौं ः साझा प्रकाशन
खनाल, तुलसीराम (२०६०), आँधीखोले लोकगीतको सङ्कलन, वर्गीकरण र अध्ययन, स्नातकोत्तर शोधपत्र
ः त्रि.वि.वि ।
...............(२०६८), खेलीगीतको बारेमा देखिएका भ्रमहरू र यथार्थको खोजी (लोकसाहित्य राष्ट्रिय
संगोष्ठीमा प्रस्तुत कार्यपत्र) पोखरा ः नेपाल प्रज्ञा प्रतिष्ठान र पृथ्वीनारायण क्याम्पस ।
थापा, धर्मराज र सुबेदी हंसपुरे (२०४१), नेपाली लोकगीतको विवेचना, काठमाडौँ ः पा.वि.के, त्रि.वि. ।
........................................(२०३०), गण्डकीका सुसेली, काठमाडौँ ः ने.रा.प्र.प्र. ।
थापा, मोहनहिमांशु (२०६६ पाँचौ सं), साहित्य परिचय, काठमाडौं ः साझा प्रकाशन ।
तिवारी शोभा (२०६०), लोकसङ्गीतार्पण, काठमाडौँ ः साझा प्रकाशन ।
न्यौपाने, कुसुमाकर (२०६०), धवलागिरी अञ्चलमा प्रचलित लोकगीत, एक अध्ययन (लघु
अनुसन्धान) काठमाडौँ ः विश्वविद्यालय अनुदान आयोग ।
.............................(२०६६), पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको अध्ययन (विद्यावारिधी शोधपत्र) ः त्रि.वि.वि. ।
न्यौपाने, टंकप्रसाद (२०४९दो.सं.),साहित्यको रूपरेखा, काठमाडौँ ः साझा प्रकाशन ।
प्रवास, तुलसी (२०६८), आँधीखोले लोकगीतको विश्लेषण, स्याङ्जा ः गीता खनाल ।
बन्धु, चुडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौं ः एकता बुक्स ।

परिशिष्ट
खेलीगीत सङ्कलन
(१) स्याङ्जा जिल्ला, कालिकाकोट गा.वि.स., काभ्रेमा जन्मी हुर्केर हाल कोहलपुर, बाँके निवासी ४२ वर्षीय तोलाकान्त डुम्रेबाट सङ्कलन गरिएका केही गीतहरू ः
खेली भजनहरू
१. जान पाइदैन ,रामको लिला नबुझी ......२
२. भैया लछुमन ,जानै प¥यो वनमा ............ २
३ं रामलाई वनबास , भरतलाई रजाईँ ...........२
४ं मै हूँ जपितपि , रामको भैया लछुमान........२
५ं रामलाई अघि लाउँला , रामको पछि मै आउँला ........२
६ं जगतै उज्यालो, जूनले र घामले , सीताले र रामले
७) भूलै पारुँ है त, छक्कै पर्यौ गोलेनी, जव म त बोलेँ नि ।
खेली गीतहरू
(१) पोखरीको पानी, चामल धोए चौलानी, सम्झेकै त हौला नि ।
(२) म त स्याङ्जा जिल्ला, बैनी पाल्पा जिल्लाकी, माया लाउन मिल्ला कि ?
(३) भन्छन् दाइ गाउँलेले, बोले हाँसे लइभ्यायो, घरिबारे भैभ्यायो ।
(४) खर काटेर राखे, भाटा काटी छाइदिउँला, डबल माया लाइदिउँला ।
(५) उराठिलो मन, बतासिलो चौपारी, यो बैनीले सौपारी (शोक)
(६) पोखरीको पानी, कल्ले लयो खोलेर, के काम लायो बोलेर ।
(७) मै छु किनारैमा, फूल बगाउन के दिम्ला, चोखो जोवन मै लिम्ला ।
(८) उखु पेली खुदो, निउवा पेली चुकै हो, ठिक्क पार्नी मुखै हो ।
(९) कस्को माया धेरै, जोखम तुलो शेर पनि, खानी छैन फेर पनि ।
(१०) देखेनौ र तिम्ले, म मौरी झैँ घुमेको, ज्यान परान हुमेको ।
(११) सेतो ईन्द्रकमल, रातो लालीगुराँस, नखाऊ दाइले हरेश ।
(१२) वनको नयाउली पनि, सोझो छैन मसित, म बोलौँ दाइ को सित ।
(१३) लाउन हुन्थ्यो माया, अग्लो रैछौ टौवा झैँ, कालो रैछौ कौवा झैँ ।
(१४) एैना छोड बैना, रुमाल छोड धुनलाई, समझेर रुनलाई ।
(१५) गाई चराउनी चौर, बाख्रा चर्नी वन छैन, बोल्न पनि मन छैन ।
(१६) बाटैमा छ घर, आउँदा जाँदा पसे है, गुन्द्री तानी बसे है ।
(२) थुमपोखरा ५, तिवारी पसलका स्याङ्जा निवासी ७९ वर्षीय चन्द्रदत्त पाँडे (पाँडेबा) सँग सङ्कलित खेली गीतहरू ः
१) माथि पर्यो पेखु, तल पर्यो कुसुन्ने, बोलाउँदा नि नसुन्ने
२) बोलाए बोलूँ कि, त्यसै लरी परूँ कि, सधैँ यतै झरूँ कि
३) आउँदै रहनु होला, लौरी बरको ठाँटीमा, हाम्रो शीतल पाटीमा
४) छैन मेरो घर, वनपालेमा ठाँटी हो, माया लाउन आँटियो
५) छैन मेरो पनि, हजुरजस्तो घर पनि, जान्दिन के थर पनि
६) काँ हो तिम्रो घर, काँ हो तिम्रो मावल, बताए पो था होला
७) मावल बेउलीवास,घर त मापुर गैरार,अझै मालुम छैन र
८) बल्लै जानेँ मैले, यो बैनीको घर पनि, यस्तै रैछ थर पनि ।
९) सेनो बतासले, ठूलो रुख हल्लायो, मलाई हो कि कल्लाई हो ।
१०) मैले माया लाको, तिम्लाई हैन उनलाई हो, घामलाई हैन जूनलाई हो ।
११) तिम्ले मया लाको, जतततै छिरलो, मलाई पर्यो पिरलो ।
१२) सेतो ईन्द्रकमल, रातो लालीगुराँस, नखाऊ दाइले हरेश ।
१३) पारि वनपालेमा, चिलाउनेमा चील बस्यो, ए दाइ तिम्लाई दिल बस्यो ।
१४) दिल बसेको फूल, सुके पनि लाउनी हो, अब कहिले आउनी हो ।
१५) अब भेट हुनी, अब आउने दशैँलाई, नभने है कसैलाई ।
१६) भूलै पारुँ है त, गाउँदा गाउँदै गीदले, झुलाउँछ कि नीँदले ।
१७) तिमी भन्दा खेरि, असिना र पसिना, एकछिन कतै बसिन ।
१८) धन्नै आउनुभयो, उतै मया रसिलो, उकाली पाइ असिलो ।
१९) तिम्लाई जति मया, अरु कल्लाई लाउछ र, दैला मुनि साउ छर ।
२०) कति ठिक्कै पार्छौ, पानी खानी पेलामा, भेट भाको बेलामा ।
२१) भेट हुँदा खेरि, बल्लै भयो हरिष, जाउँला सँगै परिख ।
२२) जानी काँ हो काँ हो, हुनी के हो थाछैन, यसै भन्न भाछैन ।
२३) जाम्ला डाँडाकाँडा, खाम्ला चिसो बतास, आजकल मया कता छ ।
२४) अन्त मया छैन, रातो पैरो दर्घालाई, तिम्लाई देखि अर्कालाई ।
२५) दुई तलेको पाली, तीनतलेको झ्याल झ्याल, साँच्चै हो कि ख्याल ख्याल ।
२६) बैनी हजुरलाई, कैल्यै हेैन ढाँटेको, मया लाउन आँटेको ।
२७) लाउन हुन्थ्यो माया, अग्लो रैछौ टौवा झैँ, कालो रैछौ कौवा झैँ ।
२८) तिमलाई मया लाउन, भनेकै छ मनले, पुग्दैन कि धनले ।
२९) म त एकलकाँटे, पोखरीको मौलो झ,ैँ नचिनेको नौलो झैँ ।
३०) गाई कराउँदै गोठ, बाच्छी कता गैछर, अचाल के काम रैछ र ।
३१) आउँछे तेतैतिर, काँ थिम होला घर पनि, क्या हो तिम्रो थर पनि ।
३२) तेतै पाइ परेको, तेतै सालिम लर्केको, दिलमयालाई पर्खेको ।

(चौथो अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलनमा प्रस्तुत )

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 भाद्र, 2069

लेखकका अन्य रचनाहरु