समयचेतनाका गीतहरु:' मेरै हिमाल जस्तो'

- निकुञ्ज तिवारी

नेपाली सङ्गीतका अध्येता एवम् लेखक प्रकाश सायमीको ‘नेपाली सङ्गीतको एक सतक’ पुस्तकका अनुसार नेपाली सुगम सङ्गीतको आरम्भ सन् १९१० देखि भएको पाइन्छ ।
उनले लेखेका छन्–ग्रामोफोनको जमानामा सेतुराम र मेलवादेवीको उदयसंगै नेपाली सङ्गीतले नयाँ गोरेटो पहिल्याउने काम ग¥यो । पछि मित्रसेन, मास्टर रत्नदास प्रकास, उर्मिलादेवी लगायतका सर्जकले यसलाई थप गोडमेल गर्ने काम गरे ।
विक्रम संवत् २००७ सालमा रेडियो नेपालको स्थापना भएपस्चात् मुलुकभित्रै गीत लेख्ने, सङ्गीत भर्ने र रेकड गर्ने र प्रशारित हुने क्रम तीब्र रुपमा अगाडि बढेको पाइन्छ । यसपछि नेपाली सङ्गीतमा नयाँ प्रवृत्ति देखियो ।
धेरै लेखिने तर पुस्तकाकारका रुपमा थोरै मात्र प्रकाशित हुने विधा हो गीत । केही स्वर सङ्गीत पाएर रेकड भएका र केही नयाँ गरी पुस्तकाकारका रुपमा बजारमा आएको छ, गीतकार तीर्थ श्रेष्ठको ‘मेरै हिमाल जस्तो’ गीत सङ्ग्रह ।
नेपाली साहित्य, सस्कृति र सङ्गीतको क्षेत्रमा आँफूलाई उभ्याइसकेका सर्जक तीर्थ श्रेष्ठको परिचय दिइरहनु आवश्यक छैन । मोफसलमा रहेर अनवरत साधानारत स्रष्टा श्रेष्ठले यस अगाडिनै ‘तीर्थ श्रेष्ठका कविताहरु’ कविता संग्रह, ‘जिन्दगीको कुरुक्षेत्रबाट’, ‘महाभारतका गीतहरु’ मुक्तक संग्रहहरु र ‘पाईलाका निबहरु’ कविता संग्रह सयुक्त रुपमा प्रकाशित गरी आँफूलाई कवि एवम् साहित्यकारको दर्जा दिलाइसेकका छन् ।
एउटा सर्जकको सर्वश्रेष्ठ सम्पति पाठक वा श्रोता हो । पाठक वा श्रोताले नै उसका श्रृर्जनाको मूल्याङ्कन र समीक्षा गर्छ । पाठक वा श्रोताको आँखामा समालेचकीय अस्थित्व स्थापित हुन्छ सर्जकका लागि ।
श्रेष्ठको भर्खरै मात्र बजारमा आएको गीत सङ्ग्रह मेरै हिमाल जस्तोमा देशप्रेम, जीवनदर्शन, मायाप्रिती लगायत विविध भाव बोकेका गीत समाविष्ट छन् ।
सामान्यतया गीतमा मायापे्रमले अधिकता पाउने गर्दछ । त्यसका अलवा राष्ट्रिय जीवनका उतारचढाव समेटिएका स्वदेशगानहरुको पनि विशिष्ट महत्व बोकेको हुन्छ अजम्वरी गीतमा ।
सङ्ग्रहका गीतमा त्यस्तो गहन भाव पाउन सकिदैन तर पनि हल्का स्पर्श त हुन्छ नै सङ्ग्रहित गीत पढ्दा । पढ्दा साङ्गीतिक अनुभूति हुने प्रस्तुत गीतहरुमा मानवका जीवनमा भोग्नुपर्ने र भोग्नुपरेका यावत विषयलाई चित्रण गरेका गीत छन् ।
जीजिविषाका क्रममा भोग्नुपर्ने वाध्यता, नियति, आकाङ्क्षा, उपेक्षालाई कृतिका गीतमा उतारिएको छ । ङ्ग्रहका गीत विषेशतः मानवीय प्रेमप्रणयमा केन्द्रित छन् । मायाप्रेम, त्यागतपस्या हुनाका साथै सबै प्राणीका लागि प्रेम सभ्य हुन्छ भन्ने भाव छ ।
त्यसैगरी, उनले गीतमा प्रेममा हुने उत्साह, उमङ्ग वाचा, असन्तुष्टि, गुनासो, पीडा जस्ता सन्र्धभलाई मार्मिक तरिकाले जीवन्त बनाउने प्रयास गरेका छन् ।
तर, धरती र जननीका लागि पनि गीत हुनुपर्छ भन्ने मान्यतामा रहेका श्रेष्ठले राष्ट्र, राष्ट्रियता र प्रकृतिको बयान गर्न पनि पछि परेका छैनन् । सौन्द्रर्यको विशिष्ट भूमि पोखरा प्रति सर्मपित स्वर्गीय गायक सोम बज्राचार्यको आवाजको गीति अंश–
मेरै हिमालजस्तो हेरिरहूँ पोखरा
मेरै तालजस्तो बगिरहुँ मेरै पोखरा...
सङ्ग्रहमा देश र प्रकृतिप्रति महिमा दर्शाएका छन् सर्जकले । त्यस्तै राष्ट्रभावले ओतप्रोत भएका गीतले पनि स्थान पाएका छन् । विशेषः संस्कृति, भेषभूषा, भाषा र आफ्नोपनाका मौलिक गीतहरु पनि कोर्न भ्याएका रहेछन् श्रेष्ठले ।
साङ्गीतिकताको आभाष दिलाउने उनका कृतिमा मानवीय संवेदनाको उच्च अस्थित्वबोध छ । कलात्मक र गेयात्मक अनुशीलता प्रयुक्त गीतमा गहिरो जीवनबोध एवम् समयचेतको मार्मिक प्रस्तुती छ ।
स्वच्छन्दतावादी चेतना, लालित्यपूर्ण र परिस्कृत भाषाशैलीय विन्यास र समानान्तर अन्त्यानुप्रासको स्वभाविक आयोजन गरिएको कृतिका गीत कवितात्मक वान्किका छन् ।
लयात्मक गीतमा अस्थित्व चिन्तन प्रवल छ । गीत पढ्दा जोसुकैले पनि आफ्नै जीवन र जगतप्रतिको रागद्धेषको आत्ममूल्याङ्कन गर्न सक्छ । आज हराउँदै गएको मानवीयताको कारण समाजमा मौलाएको अशान्ति, अस्थिरता र त्यसले उब्जाएको पीडा नै सर्जकलाई गीत लेख्न प्रेरणा मिलेको भान हुन्छ कृतिका गीत पढ्दा ।
जीवनको सौन्द्रर्य र कुरुपता अथ्याउन प्रयोग भएका कृतिभित्रका केही गीत सरल सरस, सहज र लयात्मक हुँदाहुँदै पनि बोधगम्य र अस्पष्ट छन् ।

सर्जक ः तीर्थ श्रेष्ठ
प्रकाशक ः पोखरेली युवा साँस्कृतिक परिवार, पोखरा
मूल्य ः१५०।–

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु