फुर्बाको कम्प्युटर

- रामकुमार पण्डित क्षेत्री

भाइब्रेसनले थर्काउँदै फुर्बाको मोबाइलमा नेपाली कर्णप्रिय गीत गुन्जियो – “नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे ... ।” फोन आएकोले फुर्बाले मोबाइलमा नम्बर हेर्‍यो । नम्बर घरको जस्तै लागेकोले हत्त न पत्त रिसिभ गर्‍यो “हेल्लो !” उताबाट झन् बेतोडले आवाज आयो– “हेलो !” फोन उसकी श्रीमती अस्पराले गरेकी रहिछे ।
“किन फोन गरेको ? सञ्चै छ ?” उसले हतारिएर सोध्यो ।
“यहाँ साह्रो पर्‍यो । ज्यानमा सञ्चो छैन । महिना दिनपछि दसैँ पनि आइसक्यो । त्यसैले हजुर तुरुन्तै स्वदेश फर्कनु पर्‍यो ।”
“केको बिसञ्चो हो ?”
“खोइ, जीउ गल्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने ... । उठ्न बस्नै गाह्रो पर्‍यो । हजुर एक दुई दिनमै नआए त मेरो मुख पनि देख्न पाउनु हुन्न नि !”
“भर्खर छ महिना भो, विदेश आको । भिसा र भाडाको खर्च बल्ल त उठ्यो ... !” बोल्दाबोल्दै मोबाइलमा लाइन काटिएको टुँट् ... टँुट ... टुँ...ट आयो । उसले भन्यो– “ला ! फोन नि कटिसकेछ । साह्रै गाह्रो पर्‍यो क्यारे, अब ज्यानकै लागि पैसा कमाउनु पर्ने हो, ज्यानै नरहे पैसाको के काम ! महिना दिनपछि दसैँ पनि आइसक्यो, अब टिकेटसिकेट मिलाएर भोलिपर्सि नै जानुपर्ला ! ”
तीन दिनको दिनमा ऊ घरमा पुग्यो । घर आँगनमा सानो फूलबारी ऊ जानेबेलाजस्तो सफा र चिटिक्क अहिले थिएन । थरीथरीका फूलका बोटहरू र सानो दुबोको चौर घाँसले डसेको होइन बरु फूलको बोटले घाँसलाई डसेको
जस्तो प्रतीत हुन्थ्यो किनकि त्यहाँ फूलको भन्दा घाँसको उपस्थिति बाक्लो थियो । उसले मनमनै सोच्यो– “साँच्चै, अप्सरे त बिरामीले साह्रै थला परिछ क्यारे ! त्यै भएर बगैँचा पनि बिरामी पो छ त ! ” ऊ भित्रभित्रै आत्तियो । मूलढोका भित्रैबाट बन्द थियो । तसर्थ उसले घण्टी थिच्यो । ‘टिङटिङ’ एकैछिनमा ढोका खुल्यो । अप्सराले अचानक आनो अगाडि लोग्नेलाई देखेर अचम्म मान्दै, सपनामै छु कि जस्तो गरी एकपलको लागि अपत्यारिलो नजरले हेर्दै झ्याम्म अँगालो मार्दै बोल्छे– “आम्मै, कत्ति छिट्टो ! कस्तो सप्र्राइज ! एयरपोर्टमा लिन आइजो भन्नु पर्दैन ?” बिरामी छे भनेकी श्रीमती त हट्टाकट्टा, अझ पहिलेभन्दा केही मोटीघाटी देखेर फुर्बा छक्क परेर हेरी नसक्दै जहानको प्रश्नको जवाफ दियो– “तिमी बिरामी छौ भनेर नि ! बिरामीलाई किन दुःख दिऊँ भनेर भन्दै नभनी सिधैँ आएँ ।”
“हजुर पनि मलाई कत्ति माया गर्नुहुन्छ । अस्तिअस्ति त हो नि झन्डै हजुरले मेरो मुखै देख्न नपाको । बल्ल हिजोबाट त उठेको । जाऊँ भित्र ! ” मनभित्रका पीडा र डरलाई हल्का मुस्कानले छोप्दै अप्सरा जवाफ दिन्छे । भुइँमा राखिएका उसको सुटकेस र झोला एकअर्काले बोकेर घरभित्र पसे ।
फर्केको आज पन्ध्रौँ दिन भयो । यतिका दिनसम्म आरामसाराम, साथीभाइ, छरछिमेकलाई भेटेरै बित्यो उसको । बिहानी समय थियो, बगैँचामा बसेर फुर्बा चिया पिउँदै थियो । यी दिनहरूमा उसको मेहनतको कारण बगँचामा जेलिएका घाँसहरू करिब करिब सबै हराइसकेकाले दसैँको स्वागत उसले राम्ररी गरिरहेझैँ लाग्थ्यो । त्यति नै खेर अप्सरा आएर भन्छे– “फुर्बा, हेर्नोस् न । हजुर आइपुग्दा मेरो मैना पुगेको थियो । आज पन्ध्र दिन नाघिसक्यो, पिरेड भएन ।”
“किन भएन त ? त्यै हुनलाई पो अस्तिअस्ति बिरामी परेको हो कि ?”
“कुन्नि, त मलाई के था’ ! एकचोटि जँचाउन जाऊँ न प्लिज ! मेरो पेट नि दुखेको दुख्यै छ ।”
“हुन्छ, जाऊँ ! ” फुर्बाले भन्यो ।
डाक्टरले अप्सराको दुखेको पेट छाम्दै सोधे– “महिनावारी रोकिएको कति भयो ?”
“त... ती... होइन, डेढ महिना भयो ।” अप्सराले अकमकिँदै जवाफ दिई । फुर्बा यी सबै दृश्य कौतूहलवश हेरिरहेको थियो ।
“चक्कर आउँछ ? उल्टी हुन्छ ?” डाक्टरको प्रश्नको उसले जवाफ दिई– “कहिलेकाहीँ आउँछ ।”
डाक्टरले भने– “खासै केही देखिन्न । एकपटक ‘पिसाब चेक’ गरेर हेर्नुप¥यो । यो चेक गर्नु होला । ”
“हुन्छ । ”
उनीहरूले पिसाब परीक्षण गरेर डाक्टरलाई देखाए । डाक्टरले रिपोर्ट हेरेर भने– “बधाई छ ! तपाईं आमा बन्दै हुनुहुन्छ ।” यो सुनेर उनीहरू खुुसी भएर एकअर्कालाई हेर्दै मुस्कुराए । अप्सराको मुस्कानभित्र कताकता डराएको जस्तो भाव झल्किएको कसैले पनि वास्ता गरेनन् । “धन्यवाद डाक्टरसाब ! ” फुर्बाको धन्यवादको जवाफ अलिकति शिर झुकाउँदै डाक्टरले भने– “धन्यवाद ! अब अर्को महिना आउनु होला । त्यतिबेला भिडियो एक्सरे गरेर हेर्नुपर्दछ । अहिलेलाई नियमित यो आइरन चक्की सेवन गर्नु होला । ” “हस् डाक्टर ! ” यत्ति भन्दै उनीहरू ओठमा मधुर मुस्कान लिएर घर फर्किए ।
पत्नी दुईजीउ भएकीले फुर्बा अत्यन्तै खुसी भयो । तसर्थ सन्तानको बाबु हुन आँटेको, अनि घरमा कोही नभएकोले घर गृहस्थीका काम आफैँ गर्न थाल्यो । दसैँ आउन लागेकोले अघिपछिभन्दा सफासुग्घरका कामहरू अलि बढी नै थिए । त्यसैले श्रीमान्ले मात्रै काम गरेको अप्ठेरो लागेर अप्सराले सहयोग गर्न खोज्दा ऊ भन्थ्यो– “नगर, नगर ! बिहे गरेको यतिका वर्षपछि बल्ल त हामी सन्तानको बाबुआमा बन्दै छौँ । पहिलाको जस्तो फेरि खेर गयो भने ... ... ! ” भनेर गर्न नै दिँदैन थियो । विदेशमा काम छोड्नु परेर धन हानी भए पनि स्वदेशमा सन्तान सुख हुन लागेको देखेर ऊ मनमनै हर्षित थियो । सोच्थ्यो– “यही सन्तानको सुख दिनलाई सायद भगवान्ले मलाई स्वदेश बोलाएका रहेछन् क्यारे ! ”
दसैँ आयो । गर्भमा रहेको सन्तानले यो संसारको सुख देख्न पाउने आशा गर्दै उनीहरूले हर्षोल्लासपूर्वक दसैँ मनाए । आफूले मान्यजनको हातबाट टीका लाउन नपाए पनि आप–नो सन्तानलाई भने रातो टीका र पहँेलो जमरा लगाइदिँदै आशिष् दिएको कल्पना गरे । हुन त उनीहरूको मातापिता गाउँमै थिए । अन्तर्जातीय विवाहका कारण उनीहरूलाई समाजले अस्वीकार गरेकाले गाउँमा चाहेरै पनि जान सक्ने थिएनन् । त्यसैले फुर्बाले बाबुआमाको मन्जुरीमा गैह्रीखेत र घरपाटो चलनचल्तीभन्दा दोब्बर सस्तो मूल्यमा बेचेर यता सहरको चर्को भाउ तिरेर सानो घडेरी किनी त्यसैमा आफूलाई पुग्ने गरी घर बनाएको थियो । स्वदेशमा राजनीतिक अस्थिरताका कारण, भएका कलकारखाना पनि बन्द हुँदै गएकाले रोजगारीको अवसर थिएन । त्यसैले बुढेसकालका लागि धनको जोहो गर्न ऊ विदेश हानिएको थियो
पहिलोपटक डाक्टरलाई भेटेको महिना दिन पुगेको केही दिनमै तिहार आइरहेको थियो । तिहारलाई चाहिने झिलिमिलीका सामानहरू पनि किन्नु प¥यो अनि डाक्टरलाई पनि भेट्नुप¥यो भनेर उनीहरू क्लिनिक गए । डाक्टरले बेडमा पल्टिएकी अप्सराको टिसर्ट नाभीभन्दा माथि सार्न लगाए । तीन इञ्च फराकिलो कम्मर पेटीले छोपेको पाइन्ट केही तल सार्न लगाए । अब नाभीभन्दा तलसम्मको गोरो पेट प्रस्ट देखिन्थ्यो । डाक्टरले कम्प्युटरको मोनिटरमा हेर्दै भिडियो एक्सरेको प्रोब अप्सराको पेटमाथि घुमाउन थाले । मोनिटरमा केही डल्लो आकार देखिन्थ्यो । यो दृश्य उभिएरै फुर्बाले पनि हेरिरहेकै थियो । जीवनमा पहिलोपल्ट देखेको दृश्यले उसमा कौतूहल छाएको थियो । डाक्टरले सोधे – “महिनावारी रोकिएको कति भयो ?” “साढे दुई महिना ! ” निर्धक्क भएर यसपल्ट फुर्बाले जवाफ दियो ।
“अरे, भिडियोमा त चार महिनाको जत्रो देखिएको छ । कहीँ तपाईंले बिर्सनु पो भयो कि ?”
“डाक्टरसाब, म विदेशबाटै फर्किएको डेढ महिना भो भने कसरी चार महिना हुन्छ ?”
– “ए हो र ! मेसिनको गडबडी भयो होला ।” एकछिन रोकएिर डाक्टरले फेरि भने– “तपाईं एकैछिन बाहिर जानोस् न ! यहाँ बिरामीलाई अप्ठेरो भो ! ” डाक्टरको आदेशले फुर्बा बाहिर निस्कियो । बाहिर निस्केपछि फुर्बाको मन आत्तियो । उसले के भयो होला भन्दै घरीघरी ढोकाबाट चिहाउन थाल्यो । डाक्टर केही कुरा सोध्दै गरेको देखिन्थ्यो । केही क्षणपछि अप्सरा बाहिर निस्कनासाथ फुर्बाले सोध्यो– “म बाहिर निस्केपछि डाक्टरले के भने ?” अप्सरा केही क्षणसम्म बोलिन । “भन न ! ” ऊ हल्का झस्किई र भनी– “डाक्टरले भन्दै थिए, पेटमा बच्चा उल्टो बसेको छ रे ! अनि अर्को हप्ता आउनुपर्छ रे ! ”
“ए ! कसरी त्यस्तो भएछ ? अब के गर्ने होला ?” फुर्बाले अलि आत्तिएर बोल्यो ।
“आत्तिनु पर्दैन रे, दबाई खाएर र हल्का शारीरिक व्यायाम गरेमा ठीक हुन्छ रे ! ”
झकिझकाउ बजारको माझबाट तिहारको किनमेल सकेर घरमा पुगेपछि पनि फुर्बालाई चिन्ताले सताइरह्यो । “चार महिनाको जत्रो छ” भन्ने डाक्टरको भनाई उसको दिमागमा घुमिरहन थाल्यो, जसरी बलेसीमा परेको पानी बग्दा पानीको फोका घुम्दै बग्ने गर्दछ । ऊ घरी यता, घरी उता गरिरह्यो । दिमागमा भारी भएर आलसतालस हुन थालेपछि ऊ आराम गर्न ड्रइङत्ररुमभित्र छि¥यो । ऊ त्यस कोठामा आक्कलझुक्कल मात्रै जान्थ्यो । विदेशबाट फर्केपछि आजै पहिलोपल्ट ऊ पसेको थियो । भित्र कोठा फोहोर थियो । कहिल्यै कोठा नखोलेकोले, अर्कै खाले ग्याँस जम्मा भएको थियो । बिस्तारै त्यस कोठाको ग्याँस बाहिर निस्कने क्रममा उसले जमेका धूलोहरू पुछेर बस्नलाई रहरलाग्दो बनायो । पङ्खा चलायो । कोठा ताजा भएपछि ढोका थुनेर बस्यो । प्रायः जसो त्यस कोठमामा ऊ एक्लै बस्दथ्यो, दुई तीन घण्टा । यस पटक त ऊ पहिले भन्दा धेरै, पाँच घण्टा बसेर निस्कियो । त्यस कोठाबाट निस्किँदा सधैँ अनुहारमा कान्ति छाएर, पूर्ण रूपमा ताजा भएर निस्कने फुर्बाको मुहार त्यस दिन मलिन थियो । कताकता के हराए जस्तो, के गुमाए जस्तो, के नपुगे जस्तो, के नपाए जस्तो उसलाई महसुस भइरहेको थियो । उता अर्को कोठामा अप्सरा जीउ भारी भएर असजिलो भएकोले पल्टिरहेकी थिई । भित्रभित्र छटपटी र डाहाले भरिएको तथा पहाडैले थिचेजस्तो गरी गह्रुङ्गो भएको छाती लिएर फुर्बा अप्सरा सुतेको कोठामा आएर सोध्यो– “अप्सरा ! म गएपछि हाम्रो घरमा तिम्रा र मेरा मिल्ने साथीहरू आए होलान् हगि ?”
पेटभित्र सललल्ल भ्रूण चली अप्ठेरो भएर पल्टेकी अप्सराले नमीठो मुख लाउँदै– “आए । ”
“को को ?”
“यही मेरो साथी उमा, रीता, अनि हजुरको साथी रमेश ! ”
“त्यति मात्रै अरू पनि त आए होलान् नि ! त्यो बाहुनको बच्चा उमेश आएन ?”
“कहिलेकाहीँ आउनुहुन्थ्यो । किन सोध्नुभएको ?”
“कहिलेकाहीँ रमेशले अनलाइनमा उसले तिम्रो हालखबर बुझेर आएको भन्दथ्यो । त्यही भएर... ! अनि साथीहरूको सम्मान त राम्रैसँग गरी हौलिऊ नि ! ”
“गरेँ । घरमा आएको पाहुना देवता समान हुन्छ भन्छन् । आफ्नो इज्जत जोगाउनलाई भए पनि उनीहरूको मान त राख्नै पर्‍यो नि ! ”
“गुड ! अनि मान राख्न केके ग¥यौ ? भन त ! ” अनायास फुर्बाको प्रश्न सुनेर अप्सराको मनमा भुइँचालो गएको जस्तै कम्पन भयो । केही काँप्दै भनी– “केही पनि गरिनँ । तर चिसो, तातो, खाना–खाजा चाहिँ राम्रै खुवाएँ । ... होइन हजुर यस्ता कुरा किन गर्नु हुन्छ ? नगर्नोस् न प्लिज ! मेरो पेट दुखिरहेको छ के ! ”
“हेर कुरा भर्खर सुरु भएको छ । यसलाई अन्त्य त गर्नु नै पर्दछ । मेरो मनलाई शान्ति दिन पनि यो कुरा खुलस्त गर्नुपर्छ । तिम्रो पेट दुख्ने कारण म होइन, तिमी स्वयं आफैँ हौ ।”
“अँ, मेरो मात्रै कारण होला नि ! हजुर नभएको भए मेरो पेटमा बच्चा कसरी आयो ?”
“त्यो बच्चा मेरो होइन । गिराइदेऊ त्यसलाई । यदि हाम्रो सम्बन्धमा कुनै गडबडी नल्याउने हो भने ! ”
“आम्मै ! हजुर त कस्तो, छ्या ! लोग्नेमान्छे भएर नि यस्तो नामर्द जस्तो कुरा गर्छन् त ? कसरी हजुरको होयन यो बच्चा ? भन्नोस् त ! ”
अघि डाक्टरले भन्दै थियो नि चार महिना जस्तो देखिन्छ भनेर । अनि चार महिना अघि म विदेशमा थिएँ । के त्यो प्रमाण होइन ?”
“डाक्टरले त कहिलेकाहीँ भिडियो एक्सरे मेसिनले गल्ती देखाउँछ नि त भन्दै थिए नि ! ”
“त्यो, त्यसको भनाइ हाम्रो दाम्पत्य जीवनमा फाटो नआओस् भनेर आएको हुनुपर्छ । ”
“अहँ, हुँदै होइन । मेसिनले गल्ती देखायो भनेरै त हजुरलाई बाहिर पठायो नि डाक्टरले ! ”
“अँ हुन्छ नि काहीँ नपाएर । तिमी बाहुनीहरू कति छिटो कुरा बदल्न सक्छौँ हँ ? कति छिटो पाप गरेर धर्म गरेँ भन्न सक्दछौँ । तिम्रै रूपको कारण मैले मेरो परिवार, सेर्पा समुदाय नै परित्याग गरेँ । आफ्ना बृद्द बाआमा गाउँमा एक्लै छोडेर यस अन्जान सहरमा बसेँ । तर तिमी भने... ! अब तिमीले यस बच्चाको नामोनिशान मेटाउनै पर्दछ । अनि अबदेखि हामी स्वदेश–विदेश जहाँ भए पनि सँगसँगै बस्नुपर्छ । ”
“होइन, कहिल्यै रक्सी नखाने हजुरले आज किन मातेको कुरा गर्नुहुन्छ ? रक्सीको सुरमा ख्यालख्याल गर्दागर्दै आफ्नै जहान काटेको पत्तै नपाउने अरू सेर्पाभन्दा भिन्न स्वभाव भएकैले त मैले हजुरसँग बिहे गरेँ नि ! मैले पनि त आफ्नो सबै परिवार त्यागेकै छु नि ! कसले पो मलाई राम्रो भन्दछ र ?”
“म मातेको होइन अप्सरा ! मातेको सुरमा तिमीले चाहिँ अरूकै पाप बोकेकी छ्यौ । ”
एक सासमा आक्रोसले भरिएको फुर्बाको आवाज सुनेर अप्सरा पनि भित्रभित्रै डराएर झोक्किँदै भन्दछे– “मैले कसको पाप बोकेँ ? के प्रमाण छ यसको हजुरसँग ?”
“तिमी प्रमाण चाहन्छौँ ? आऊ ड्रइङरूममा ।”
दुवै जना ड्रइङरूममा पसेपछि फुर्बाले भन्यो– “तिमी याद गर ! म विदेश जानुभन्दा छ महिना अगाडि यस घरमा चोर पसेर हाम्रो धनमाल कति हराएको थियो ! त्यसैको फलस्वरूप मैले यस घरमा सर्तकता अपनाएको थिएँ ।” अप्सराले मौन सहमति जनाई । उसले कम्प्युटर ‘अन’ ग¥यो । एकछिनपछि त्यहाँ बितेका घटनाहरू एकएक गर्दै चल्न थाले । बैठक कोठामा छुट्टिने बेला उनीहरू दुवैको अश्रुधारा बगेको दृश्य चल्यो । ऊ विदेशिएपछि उदास अनुहार लगाएर अप्सरा धेरै दिनसम्म सोफामा पल्टिरहेको दृश्य चल्यो । उनीहरूका साथीहरू कहिलेकाहीँ आएर रमाइलो गरेका दृश्यहरू चले । अप्सरा छक्क मान्दै यी दृश्यहरू हेर्दै थिई । उसलाई थाहै थिएन यी दृश्यहरू कसरी आए होलान् ? भनेर । त्यत्तिकैमा एकदिन अप्सराको पुरुष साथी आएर टिभी हेर्दै गरेको दृश्य चल्यो । टिभी अप्सरा र त्यो साथी एउटै लामो सोफामा बसेर हेर्दै थिए । उत्तिनखेरै त्यो साथीले आफ्नो मोबाइल झिक्यो अनि भन्यो– “मसँग फेमस हलिउड नायिका लगायत हाम्रै देशका चर्चित नायिकाहरूको ‘रोमान्टिक सिन’ छ, हेछ्र्यौ अप्सरा ?”
नेपाली नायिकाको अश्लील सिनको बारेमा धेरै सुनेकी अप्सराले अप्ठेरो मान्दै कोतूहल जनाई– “नेपाली फलानो नायिकाको चाहिँ एकचोटि हेरौँ न त ! ” उसले मोबाइलमा ती नायिकाको नग्नलीला देखायो । आँखा झिमिक्कै नपारी एकतमासले हेर्दै गर्दा अप्सरा र त्यो साथीको शरीरले एक–अर्कालाई छोयो । बिस्तारै बिस्तारै दुवै जनामा विवेक शून्यता छाउन थाल्यो । एकअर्काका शरीर बोल्न थाले । अप्सराले आफ्नो सिमाना बिर्सिन थाली । हेर्दाहेर्दै उसलाई पनि त्यो साथीले बिस्तारै नङ्ग्यायो ती नायक–नायिकाले जस्तै गरी । अनि ठ्याक्कै नायक–नायिकाकै सिको गरी अप्सरा र त्यो साथीले यौवनको मज्जा लिइरहेको दृश्य चलिरह्यो । केहीबेरपछि दुवैको शरीर शिथिल भयो । अब बल्ल विवेकले काम सुरु गर्न थाल्यो । अप्सरा रुँदै भन्छे– “आम्मै ! मैले तिमीलाई फुर्बाजस्तै देखेर ठूलो पाप गर्न पुगेँ । ”
“यो पाप होइन, धर्म हो । शरीरको भोक मेट्नु धर्म त हो नि ! तिमी नडराऊ, म छँदै छु नि ! ” त्यो साथीले भन्यो ।
“नाई मैले पहिलोपल्ट गल्ती गर्न पुगेँ । म फुर्बालाई धोका दिन चाहन्नँ थिएँ ।”
“अब जे नहुनुथ्यो, त्यो भइसक्यो । बितेका पल फर्काउन सकिन्न ।”
साथीको उत्तरले केही साम्य हुँदै उसले भनी– “केही गरी गर्भ बस्यो भने के गर्ने ?”
त्यो साथीले स्वार्थवश सल्लाह दियो– “तिम्रो पिरेड भएन भने, बूढोलाई बोलाऊ न बिरामी परेँ भनेर ! दुई तीन महिना ढिलो आए पनि फरक पर्दैन क्यारे ! आखिर सात महिनामा पनि आइमाईले बच्चा पाएकै छन् ।”
यी सबै दृश्यहरू हेरिरहेकी अप्सरा अब उम्किने ठाउँ नदेखि जोडजोडले रुन थाली । अनि सोधी– “यो कसरी आयो कम्प्युटरमा ?”
सम्हालिँदै गम्भीर भावमा फुर्बाले भन्यो– “चोर छिरेर धनमाल हराएपछि, फेरि अरू पस्यो भने चिनियोस् भनेर मैले बैठक कोठमा गोप्य रूपमा सी.सी. क्यामेरा जडान गरेको थिएँ । त्यही सी.सी. क्यामेराले आज चोर पकडियो । ”
“मैले हजुरलाई धोका दिएँ । मलाई मार्नोस् ! ” भन्दै ऊ ऊँ ... हुँ ... हुँ... गरी रुन थाली ।
रुँदै गरेकी श्रीमतीलाई सम्झाउँदै उसले भन्यो– “एक्काइसौँ शताब्दीमा तिम्रो पाप क्षम्य छ अप्सरा ! यो तिम्रो दोष होइन, जवानीको दोष हो । हामीले बैँसमा एकअर्काबाट छुट्टिएर बस्नु नै हाम्रो गल्ती हो । त्यसैले आफूलाई निश्चिन्त पार्न हामीले आआफ्ना मनभित्रका भ्रम हटाउनु पर्छ पश्चात्तापले तिमीबाट हुन गएको भूलको मैलो अवश्य पखाल्ने छ । म तिमीलाई धेरै माया गर्ने हुँदा तिम्रो जिउँदोजाग्दो जीवन नै तिमीलाई सजाय भो । ... तिम्रो जिउँदोजाग्दो जीवन नै तिमीलाई सजाय भो ... !”

सिमलटार, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 11 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु