खस्तै गइरहेको पात

- बासुदेव पुलामी

रूखको हाँगाबाट एउटा पात खस्छ
सिङ्गो पृथ्विबाटै पनि एउटा रात खस्छ
मेरै हो भन्ने यो जीवन पनि पृथ्वीको कुनै ठाउँमा कतै न कतै खस्छ।
पात हरेक दिन खस्छ
रात हरेक रात खस्छ ।
निरन्तर खसिरहेका पानीका निर्बल थोपाहरू जस्तै
हिजोबाट आज खस्छ र विलाउछ कतै
आजबाट भोलि खस्छ र बिलाउछ कतै।

म आफै पनि हिजोबाट आज एकदिन खसे
मलाई भरै फेरि एकरात खस्नु छ
मलाई भोलि अलिकता चोइटिनु छ।

खसिसकेपछि
तल कतातिर बिलाउछ निस्सिम सन्नाटामा समय।

पात पनि माटै बन्छ
मान्छे पनि माटै हुन्छ।
पात = मान्छे ?
तर कस्तो असीम सम्मोहन यो खसाईमा ?

दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु