नियात्रामा नविन प्रयोग : ‘एक पटक टोकियो’

- छविरमण सिलवाल

यात्रा साहित्य भन्नाले विविन्न स्थानहरुको भ्रमण अवलोेकन गरेर त्याहाँका सत्यतथ्य कुराको जानाकारी दिनु नै हो । नयाँ ठाऊँमा पुग्न नसकेका व्यक्तिहरूको लागि यस्ता जानकारीमूलक पुस्तक पढेर नै मनोरञ्नजनका साथै जानकारी लिन सकिन्छ । हालका दशकमा यात्रा साहित्य निकै लोकप्रिय विधाको रूपमा रहेको छ । थुप्रै पुस्तकहरू प्रकाशन भए पनि राम्रा र पठनीय कृतिको भने कमि महशुस भैरहेकै छन् । पाठकलाई भ्रममा पार्ने साहित्यले समाजमा उन्नती हुनुको साटो उधोगति तर्फ डो¥याइरहेको हुन्छ । एउटा सचेत पाठकले नै राम्रो नराम्रो छुट्याउन सक्छ । हालका व्यस्त समयमा लेखकका अनेकन गन्थनमन्थन सुन्ने फुर्सद कसलाई पो हुन्छ र ? त्यसैले लेखक पनि सचेत भएर लेख्नु पर्ने समय आएको छ । राम्रा र उत्कृष्ट सिर्जनाहरूको माग युगौंयुगसम्म उस्तै रहन्छ, सबैले मन पराउँने गर्छन् नै । र, यस्ता लेखकहरू सम्मानका पात्र बन्ने गर्छन सदियौंसम्म ।
यहाँ मैले यात्रानिवन्ध ‘एक पटक टोकियो’ पुस्तकका केही प्रसंङ्गहरू जोड्न खोजिरहेको छु । मूलतः कविता र निबन्ध÷नियात्रा विधामा कलम चलाई रहने भिष्म उप्रेतीको पछिल्लो यात्रानिबन्धहरूको संगालो हो ‘एक पटक टोकिया’ । अन्तर्राष्ट्रिय पेनको विश्व कङ्ग्रेसमा भाग लिन सन् २०१० को सेप्टेम्बरमा जापानको टोकियो पुगेका उप्रेतीले त्यस यात्रामा भोगेका, देखेका कुराहरूलाई पुस्तकका रूपमा ल्याएका हुन् । यस अवसरमा उनले जापानी जीवनशैलीका केही पक्षहरूलाई नजिकबाट हेर्न पाए, करिव करिव ८० देशका लेखक÷कविहरूसंग प्रत्यक्ष भेट्न पाए, र यीनै घटनाअनुभूतिबाट प्रेरित भएर यात्रा साहित्यमा एउटा पृथक पुस्तक प्रकाशनमा ल्याए ।
शिर्षकले नै स्पष्ट हुन्छ कि उनी पहिलो पटक टोकियो पुगेका हुन्, त्यो पनि केही दिनको लागिमात्र । यी केही दिन नै निकै महत्वपूर्ण रह्यो उनको । र, उनका अनुभूतिहरू प्रस्तुत गर्ने शैलीले नेपाली यात्रा साहित्यमा नौलो आयाम कै रूप लिन्छ भने विश्वास लिन सकिन्छ । ‘एक पटक टोकियो’ पुस्तक भित्र नौ ओटा यात्रा निबन्धहरूका साथै जापान बसाइका समयमा लेखिएका केही कविताहरू समाविष्ट छन् । पहिलो चोटी जापान जाँदा इमिग्रेसनले दिएको झन्झटबाट शुरू भएका उनका निबन्धहरू ताकेओ शान र आइडिया म्याराथनबाट टुङ्गिएको छ । यो यात्रा उनको विशुद्ध साहित्यिक यात्रा थियो । उनलाई स्कटल्याडकी बरिष्ट कवि टेक्सा रेन्सफोर्डले जापानकी कवि बन हासिजुमेको बारेमा इमेलमा लेखेकी थिइन्–‘कवि बन हासिजुमे दोस्रो विश्वयुद्धमा हिरोसिमामा अमेरिकाले खसालेको आणविक बमको शिकार हुँदाहुँदैं बचेकी कवि हुन् । जापान जाँदैछौ भने उनलाई पनि भेट ।’ कवि टेक्साको इमेल पछ्याउँदै उनले बन हासिजुमेलाई भेटिछाडे । हेरौं कवि बन हासिजुमेको बारेमा भिष्मका अनुभूतिहरू–‘हिरोसिमामा सन् १९३१ मा जन्मनुभएकी उहाँ ७९ वर्षको हुनुहुन्थ्यो तर झट्ट हेर्दा पचास वर्ष हाराहारीकी जस्ती देखिनुहुन्थ्यो । त्यसैले अभिवादन गरेपछि अचम्म मान्दै सोधेँ–‘के बन हासिजुमे तपाईँ नै हो ? साँच्चैं ?’उहाँले झन् उज्यालो मुस्कुराउँदैँ भन्नुभो– ‘हो, मै हुँ ।’ झण्डै आधा उमेर चाहिँ घरमै छोडेर आएजस्ती देखिनुहुन्छ भनेँ । यसपछि चिकाया शानसँगै बन शान र म पनि हाँस्यौं ।’ कवि बन शानका अनुभवहरू सुन्न लालायीत भिष्मलाई उनले आफ्नो पुस्तक उपहार दिएपछि अलि ढुक्क भयो । उनका अनुभवका केही अंश लगायत बन शानका कविता पनि यस पुस्तकमा उल्लेख गरेका छन्, भिष्मले । यसले ‘एक पटक टोकियो’ पुस्तकको शोभा वढाएको छ । यस्ता ऐतिहासिक व्यक्तित्वहरूको जीवनीले लेखक÷पाठकलाई सधैँ उत्साहित बनाउँने गर्दछ । पुस्तकको अर्को सवल पक्ष भनेको राष्ट्रिय गौरव पनि हो, विश्वको लगभग ८० राष्ट्रको प्रतिनिधित्व गरिरहेका भिष्म उप्रेतीका प्रवल कविताहरूले यो बोध गराई रहेको देखिन्छन् । हेरौं एउटा पंक्ति–‘कविता बोकेर मञ्चमा गएँ । नेपालीहरूबीचमा अनेकौं पटक कविता पढिसकेको भए पनि अङ्ग्रेजीमा विदेशी कविहरूको बिचमा उभिएर कविता पढ्न लागेको पहिलो पटक थियो । यो मात्र मेरो होइन, नेपाली कविताको पनि परिक्षा थियो । कवितालाई सम्मान गर्दै सावधानीपूर्वक वाचन गरेँ । ताली राम्रै बज्यो । कवितागोष्ठी सकिने वित्तिकै सर्बियाका कवि भ्लादिमिर कोप्पीसियलले भने–‘तपाईँसँग कविताको किताब छ’ ?’
पुस्तकको अर्को महत्वपूर्ण पक्ष भनेको ‘ताकेओ शान र आइडिया म्याराथन’ शिर्षकको निबन्ध भित्रका आइडियाहरू हुन् । कवि योशिको शानकै घरमा बसेका भिष्मले उनका श्रीमान ताकेओ शानका आइडिया म्याराथनका बारेमा जान्ने अवसर पाए । यदि उनी होटलमा बसेका भए यस्ता अवसरहरूबाट वन्चित हुने थिए । उनका यस्ता विचारहरूलाई हामीले अनुसरण गर्न सकेमा हाम्रा जीवनका मोडहरू सफल बन्न सक्छन् जस्तो लाग्छ । हेरौं उनको विचार–‘आइडिया भनेको पनि सपना जस्तै हो । तिनलार्ई सोच्ने बित्तिकै समातिएन भने स्मृतिबाट सजिलै हराएर जान्छन् । फेरि तिनलाई जबरजस्ती पक्डेर राखियो नै भने पनि तिनलाई व्यवस्थित गर्न कठिनाई पर्दछ । त्यसैले आइडियालाई समाउन र व्यवस्थित गर्न प्रणलीको विकास गर्नुपर्छ ।’ यस्ता थुप्रै रोचक प्रसङ्गहरू समेटेका छन्, भिष्मले ‘एक पटक टोकियो’ पुस्तकमा । सरल प्रस्तुतिका साथ थोरै शब्दमा भन्न खोजेका कुरालाई रोचक शैलीमा प्रस्तुत गर्नु उनको विशेषता नै हो । ‘एक पटक टोकियो’ यात्रा निबन्ध नेपाली यात्रा साहित्यमा एउटा नौलो प्रयोगका साथ देखिएको छ । रत्न पुस्तक भण्डारद्धारा प्रकाशित उक्त पुस्तक पठनीयका साथै सङ्ग्रहनिय रहेको छ । जापान बसाईका क्रममा लेखिएको ‘आशा’ शिर्षकको कविता ः–
भोलि फेरि उज्यालो हुन्छ
घाम लाग्छ
चराहरूको प्वाँखमा बसेर
हाम्रा सपनाहरूले यात्रा गर्छन्
नानीहरू ब्यूँझन्छन् र खेल्छन्
गीत गाउँछन्
जीवनको नदी फेरि पनि बग्छ लयबद्ध भई
र बिसङ्गतिका फोहोरहरूलाई बगाउँछ ।
भोलि फेरि उज्यालो हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु