उज्यालोको आँखा

- बासुदेव पुलामी

घरभित्र गजधम्म भई बसेको छ
अराजक विचारको लाटकोसेरे आँखाहरू।
उज्यालो हेर्नै मान्दैनन् त्यसले।

पुस्तौंदेखि
अँध्यारोको सिंहासनमा बसेर
अँध्यारोकै गीत भजन जत्तिकै प्यारो सम्झेर गाइरहन्छ यसले।
कुलुलुलुलुलुलु.............................
कुलुलुलुलुलुलु.............................
कुलुलुलुललुलु.............................
एकैखाले स्वरहरू
एउटै रिदममा लयबद्ध कोरसहरू।

एक झिल्का जूनकिरीको उज्यालोसित डराउँछ त्यो।
...........................................
घरमाथिको बगेनाको रूखबाट
जूनले घरलाई नै चिहाइरहन्छ।

चूकजस्तो अँध्यारो पोखिएको घरभित्रबाट
स्वादको जिब्रो पढकाइएको आवाजहरू मात्रै बाहिर आइरहन्छ।
................................................
अँध्यारोमा बसेर त्यसले आफैलाई खाइरहेछ कि ?
बाहिर निस्कनै सक्तैन त्यो।

मलाई थाह छ
घामको उज्यालो घरको छानाबाट भित्रैसम्म छिरेको दिन
ती आँखाहरू अन्धा हुनेछन्।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 पौष, 2069

लेखकका अन्य रचनाहरु