बलबहादुरको कथा

- नवराज सुब्बा

यतिञ्जेलसम्म
बलबहादुरले आफ्नो अनुहार
राम्ररी नियाल्न भ्याएको छैन
नागरिकता बनाउँदा एकदिन
फोटो खिच्ने बेलामा एकछिन
ऐनामा आफूलाई चियायो र मुसुक्क हाँस्यो
अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि
फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो
सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो
उपरान्त उसले हाँसेको देखिएन
विचराले हाँसोस् पनि कतिबेला
भारीले सधैं थिचेको चिच्यै छ
साहुको रिनले किचेको किच्यै छ
यही झोंकमा कहिलेकाही बले
गोरुलाई चुट्नुसम्म चुट्छ र
पछि पछुताउँदै सुम्सुम्याउँछ
गोरुलाई र आफूलाई

बेलाबेला बलबहादुर नागरिकतामा
आफ्नो तस्वीर दोहोर्याई तेहेर्याई हेर्छ
कुनै नायक भन्दा कम देख्दैन आफूलाई
इतिहासका पुस्तकमा छापिएका तस्वीरझैं
सुन्दर देख्छ ऊ आफ्नो तस्वीर
तर पनि कसैलाई भन्दैन
व्यक्त गर्दैन आफ्ना भावना
बरु भीरको टुप्पोमा चढेर
भारीमा तोक्मा लगाउँछ र लामो सुसेल्छ
आफू हिंडेका बाटो र नदीलाई सुनाउँछ–
हेर म यहाँसम्म आइपुगें ! ...
खुईया...
बलबहादुरको जीऊमा
आजकल बल हराउँदै गएको छ
उसलाई आफ्नै तस्वीरले पनि
गिज्याउन थालेको छ
कहिले काहिँ सुन्तलीको बट्टे ऐनामा
आफूलाई हेर्छ, देख्छ छाया र अझ हेर्छ
आँखा देख्छ, नाक देख्छ, पहेंला दाँत देख्छ
मनमनै हाँस्छ र लजाउँछ आफैसित
तर कसैलाई प्रश्न गर्दैन बलबहादुर
किन विकृत भयो उसको अनुहार
कसरी विरानो भयो तस्वीर
भनेर

यसरी
सगरमाथाको फेदमा
ऊ जन्मियो कुनैदिन
कथासितै हिंड्यो ब्यथासंगै बाँच्यो
अपूर्णतामा पनि कैंयौं सुन्दरता देख्यो
जीवनलाई अमूक सिर्जना बनायो
बाँच्दा मर्यो होला अनेकपटक
तै पनि ऊ बाँचेकै छ
रोएर पनि हाँसेकै छ
सगरमाथा जस्तै
बलबहादुर ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 12 फागुन, 2069

लेखकका अन्य रचनाहरु