धरानको गन्ध

- मणि लोहनी

चन्द्र घिमिरे मैले फाट्टफुट्ट कविता पढिरहेको नाम हो । ४८/४९ सालतिर हुनुपर्छ, म आफ्नो पहिलो कवितासंग्रह प्रकाशनको तयारीमा जुटिरहेको बेला धरानका चन्द्र कविताबाट विरक्तिएछन् । त्यसताका उनले कवितामा आफ्नो उपस्थितिलाई जब्बर बनाइसकेका थिए । तर, लेखनमा रोग देखे उनले । लेखनबाट भाग्न कस्सिए । त्यसैताका मधुपर्कमा उनको कविता छापियो, डन्ट टच मी ओ कविताहरू । यो उनको कविताबाट सन्न्यासको घोषणा थियो । कवितासँग उनको अचम्मको वितृष्णा देखियो । निराशाको हदमा पुगेर उनले कसमै खाए, आइन्दा कविता लेख्दिनँ ।
यसैबीच उनी बग्र्रेन र नर्वे पुगे । एउटा भावुक कविले कसरी कविता त्याग्न सक्थ्यो ! बग्र्रेनको हिउँले उनीभित्रको कविलाई अराजक बनायो र आफ्नै कसमविरुद्ध उनले कविता लेखे, बग्र्रेनको हिमपात र सल्लो । झरीको त्यस सहरले चन्द्रभित्र कविताको बाढी नै ल्याइदियो । स्वदेश फर्केलगत्तै उनले फेरि कविता लेखे, टच मी ओ कविताहरू । यसरी कविताबाट लिएको सन्न्यासको २५ वर्षपछि उनी पुनः कवितामा फर्किए ।
डन्ट टच मी ओ कविताहरू भन्दै कवितासँग नाता तोडेका कविले कवितासँग पुन सम्बन्ध स्थापित गराए । अनि त्यसपछि लेखिएका ४२ कविताको संग्रह नै तयार पारे । त्यही संग्रह हो, डन्ट टच मी ओ कविताहरू । चन्द्रको यस किताबको नामबाटै म प्रभावित भएँ । त्यसो त पछिल्लो समय प्रकाशनको क्षेत्रमा चर्चामा रहेको फाइन प्रिन्टले छापेका केही किताबको नाममा अंग्रेजी शब्दको प्रयोग भएको छ । त्यो सुन्दा पनि त्यति अप्रिय लाग्दैन । ‘डन्ट टच मी ओ कविताहरू’ यस्तै शीर्षक हो भन्ने लाग्छ ।
चन्द्रले कवितामा आफ्ना अनुभूतिलाई सर्वसाधारणका अनुभूतिसँग एकाकार गराएका छन् । त्यही भएर पनि कविता प्रिय बनेको छ । पढ्न रुचिकर लाग्छ । कवितामा धरानको गन्ध छ । धरानका सपना र पीडाहरूको गन्ध छ । जिन्दगीलाई अनौपचारिक बनाउन खोेज्दा वा जिन्दगीलाई आत्मीय बनाउने होडमा जिन्दगी नै जिन्दगीसँग अपरिचित भएजस्तो धरानको अस्पष्टता कविताहरूमा छन् ।
धरानबारे धेरैलाई थाहा छ, धरान सपनाहरूको सहर हो । त्यहाँ सपना देख्न वर्जित छैन । त्यहाँ निर्धक्क सपना देख्नेहरूको जमात ठूलै छ । पढेर ठूलो मान्छे हुनुपर्छ भन्ने लाहुरे बाबुको बटमलाइनभित्र बसेर देखिएका अधिकांश किशोर सपनाको ह्याङ छ धरानमा । अधिकांश लाहुरेहरू छन् । देश, विदेश घुमेका छन् । पैसा कमाएका छन् । सबै चिज भएजस्तो लाग्छ । सबै चिज छ पनि । तर, केही छुटिरहेको छ धरानमा । सब थोक भएर पनि केही छैन धरानमा । हो, त्यही छुटिरहेको चिज, केही नभएको चिज धराने कविहरूका कवितामा पाइन्छ । त्यो सर्वाधिक प्रिय छ । धरानका कविहरूमा अजीवको शैली छ । गुमेको, छुटेको र हराउँदै गएको कुरालाई लिएर कविता लेख्ने धराने कविहरूको त्यो शैली कवितामा सानका साथ राज गरिरहेको छ ।
त्यो अजीवको शैली...... जुन बोलिरहेजस्तो...... गफ गरिरहेजस्तो .......वा भनौँ कविले आफैँलाई सम्बोधन गरिरहेजस्तो लाग्ने खालका छन् । धरानका पुराना कविहरूदेखि अहिलेका नयाँ कविहरू सञ्जीव राई र सुदीप पाख्रिनसम्मका कवितामा यो कुरा लागू हुन्छ । त्यो शैली चन्द्रका कवितामा पनि पाइन्छ । अर्को जमातको स्थापनादेखि आजसम्म चन्द्रले कविताका लागि गरेको संघर्ष, कविताप्रतिको प्रेम र विकर्षण अनि कविताले तानेर ल्याएको त्यो काँचो आँपजस्तो विगत कविताका सौन्दर्य हुन् ।
एकपछि अर्को कवितामा आएको भिन्नता कवि चन्द्रको शक्ति हो । कुनै बेला जीवनको अव्यवस्थाविरुद्ध कुर्लने उनी एक्लै थिए । उनी अहिले समाजका अन्तद्र्वन्द्वभित्र छिर्छन् र पीडितहरूलाई उनीहरूकै भाषामा कुर्लन सिकाइरहेछन् । प्रेम, अनुभूतिको तीव्रता र भावुकतासँग अनौठो सम्बन्ध रहेको चन्द्रले सबाल्टनहरूप्रति देखाएको सद्भाव कवितामा बेजोड छ । उनले सीमान्तकृत वर्ग, समुदाय, क्षेत्र र जातिका कमजोर आवाजलाई काव्यको शक्ति दिएका छन् ।
एक सय पेजको ‘डन्ट टच मी ओ कविताहरू’ पढिसकेपछि मलाई लाग्यो, कवितामा भेटिने अनौपचारिकता र कलात्मकता चन्द्रको शक्ति हो ।
पछिल्लो समय कविताका नाममा विचारको बिक्री भइरहेको छ । कविताहरू कविता कम र नारा बढी भइरहेका छन् । यस्तो अवस्थामा चन्द्रको कविताकर्म कविताका लागि उपलब्धिपूर्ण छ । उनले कवितामा राजनीतिक विसंगति र समाज विकासका क्रममा भइरहेका असहजताहरू नलेखेका होइनन् । लेखेका छन् । अधिकांश कवितामा हाम्रो समाज र विसंगतिहरू नै छन् । ती कविताका रूपमा आएका छन् । शब्दानुशासन, प्रकृति र जीवनको सूक्ष्म अनुशीलनका बलमा चन्द्रले आफूलाई गतिलो सम्भावना भएको स्रष्टाका रूपमा प्रस्तुत गरेका छन् ।
बिम्बका आधारमा हृदयको अन्तरसँग बात मार्ने, गोचर वस्तु र अगोचर भावनाहरूको कलात्मक संगुम्फन गराउन सक्ने सामथ्र्य चन्द्रसँग छ । उनले सूत्रमय, किञ्चित रहस्यपूर्ण र प्रिय लाग्ने काव्यशैलीमा उनेर आफ्ना कवितालाई प्रस्तुत गरेका छन् । उनको यो शैली आजका कतिपय प्रमुख कविहरूको पनि प्रिय शैली हो । अहिलेका केही राम्रा कविहरूले कलाविहीन भाषणवाजी बन्ने जोखिमको एकदमै नजिक भइसकेको नेपाली कवितालाई फेरि एकपल्ट नेपाली कविताको गौरवशाली परम्परासँग जोडिदिएका छन् । यसमा चन्द्र पनि मिसिएका छन् ।
उनी कुनै निश्चित वादका सीमाभित्र छैनन् । उनका कविताहरू यथास्थिति र जडताविरुद्ध छन् । उनी कवितामा चित्र उतार्छन् । यस्तो चित्र जसलाई सहजरूपमा बुझ्न पनि सकिन्छ र नबुझ्न पनि । तर, सौन्दर्यले जोकसैलाई प्रभावित पार्छ ।
चन्द्रका सीमाहरू पनि छन् । जस्तो उनी अनुभूतिमा दोहोरिएका छन् । कतिपय कवितामा आफूलाई दोहो¥याइरहन्छन् । आफ्ना अनुभूति र आफूले लिएको बिम्बलाई पटकपटक उनी कवितामा ल्याउँछन् । उनले रोजेका बिम्ब र तिनले रच्ने चित्रमयता कति ठाउँमा अस्वाभाविक पनि लाग्छ । अर्को कुरा, चन्द्रले कवितामा आफ्नो मनस्थितिलाई एकै विन्दुमा उभिएर बुझ्ने कोसिस गरेका छन् । एउटा कविका रूपमा विभिन्न कोण र विन्दुबाट आफ्नो मनस्थितिलाई अध्ययन गर्न सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 चैत्र, 2069

लेखकका अन्य रचनाहरु