हुन त म कवि होइन - को एउटा पठन

- बासुदेव पुलामी

समकालीन भारतेली नेपाली साहित्यमा विशेष गरेर कवितालेखनमा नयाँ पुस्ताका कविहरूको उपस्थिति निकै बाक्लै पाराले झ्याङ्गिँदै गएको देखिन्छ। यी कविताहरूमा सामयिक जीवनस्थिति र भोगाइको एकालापी स्वर मात्रै नभएर विश्वबजारीकरण, साइबरसंस्कृति र भूमण्डलीकरणसितै भित्रिएको ठिमाहा संस्कृतिको यावत प्रभाव प्रक्षेपणले उचालेको नयाँ वाग्धरा लिएर आएको देखिन्छ। यसैले आजका कविता भनेकै अन्तर्सास्कृतिक मिश्रण तथा सामासिक संस्कृतिबाट जन्मेको स्वर हो भन्न सकिन्छ । कवि रूपेश राईका कविताहरू ती प्रभाव - प्रक्षेपणहरूदेखि अक्षुण्ण छैनन्। हुन त म कवि होइन - शीर्षकले पाठकीय जिज्ञासालाई एकाएक झ्वाम्मै तान्छ । कविले किन यसो भने होलान्, पाठकले एकपल्ट त सोच्छन् नै। कवि भएर कवि हुनुको वोधदेखि टाडिनु कविको निश्चय ‘स्व’- प्रतिको एउटा ठूलो चिन्ता हुनसक्छ। सबैले कविता लेख्तैमा कवि हुँदैनन् भन्ने धारणासित झन्नै खाप खाने यिनको धारणा शीर्षकले दिँदछ। आज लेखिँदै गरेका कतिपय कविताहरू हेरिँदा साँच्चै ती कविताहरू कविता नै हो के त, त्यस कविताको भूइँ कतिको बलियो छ, के त्यो कतै पाठकको आँखामा हालिएको धुलो मात्रै होइनन् के ? पाठकले पनि त्यसलाई अचेल शंकाको दृष्टिले हेर्न थालेका छन्। कविताको पठनमा पाठकीय उपस्थिति र उसको हस्तक्षेप बढो विचारणीय कुरो देखिन्छ। पाठकीय हस्तक्षेपले नै वास्तवमा कविलाई माथि उक्लन मदत् मिलेको हुँदछ। सहृदय पाठकको प्रतिक्रिया तथा आलोचनादेखि टाडा रहने कवि त कवि नै होइनन् कि। तर कतिपय राम्रा कविताको पाठकीय समालोचना पनि नभएको स्थित हाम्रै साहित्यमा धेरै छन्।
रूपेशले यस कविताहरूबाट भन्न चाहेको कुरो निश्चय अरू नै केही हुनपर्छ । यसरी यिनका यी अरू नै केही कुराहरू बुझ्न, कुराहरूसित जुझ्न वा भीड्न यस सङ्ग्रहका कविताहरूसित पाठक अघि आउनै पर्छ। यिनी के रहेछन् त भनेर खुट्याउन पाठकहरूलाई एकाएक आग्रह गरे जस्तो जस्तो पनि पाइन्छ शीर्षकले सङ्केत गरेबाट। जे नै होस् कवि रूपेश राईका कविताहरूसित पाठकीय बुंताभरिको केही कुरा खोतल्न आग्रही छु, यिनका कविताले यति लेखाएरै छाड्यो मलाई, अथवा यति व्याख्या गर्नै लगायो। पाठकीय व्याख्या एकालापी हुन्छ भन्ने कुरा जान्दा जान्दै पनि म व्याख्या नै गर्न तम्सिरहेछु। यो व्याख्या तर नितान्त मेरा मात्रै हो। यसै त सङ्केतवैज्ञानिकहरू भन्छन् – संसारमा मानिस मात्रै यस्ता प्राणी हुन् जसले कुनै पनि वस्तुको व्याख्या गर्दा आफ्नै अर्थले व्याख्या गर्छ। तसर्थ यस पठनक्रममा यिनका कविताबारे मेरो पाठक-संस्कारद्वारा भेटाइएका अर्थको सङ्केतहरू खोतल्ने काम मात्रै यहाँ भएको छ। सङ्केतित अर्थहरू अझ अरू केही होलान् ।
रूपेश राईका कविताहरूमा आजकै भाषाको प्रयोग छ। आजको भाषा भन्नाले हाम्रा घरसङ्धारमा भित्रिएका उपभोगतावादी / साम्राज्यावादी साइबरनेटिक्स, जनसञ्चार, प्रविधि र विज्ञानचेतनाबाट टिपिएका ठिमाहा (Hybrid) भाषा बुझिन्छ। यिनका काव्यात्मक शैली बेग्लै रूपकात्मक परिपाटिको देखिन्छ, त्यसमा आजको पाठकले आफ्नै नजिकको कथ्यद्वारा कविता भनिरहेको भेट्ने छन्। यस्ता कथ्यबाट कविताको बेग्लै रूप सिर्जना गर्न सकिँदोरहेछ भन्ने कुरा रूपेशका कविताहरू हेरेपछि पाठकलाई लाग्नेछ। पारम्पारिक रूपको पठऩक्रमले यिनका कविताहरूका पढदा जोगिएरै पढ्न पर्ने हुन्छ। यिनका कविताभित्र उनीहरूले खोजेका कुरा नभेट्लान कि भन्ने मेरो पाठकीय आशङ्का पनि छ। तर यी कविताका पाठहरू आजका पाठकका लागि आजकै भाषामा बढी सम्प्रेषणशील हुनसक्छ भन्ने युक्ति समातेर लेखिएका यिनका कविताहरू धेरै रूपकात्मक छन्। उनी भन्छन् –
१. एस. एम. एस. अलर्ट टोनले गाउँलाई सूचित गऱ्यो ।
सुक्खा रोटी र फिका चिया खाएर जङ्गल हिँडन लागेको
गाउँ, सलबलायो। हिजाज साह्रै सुबिस्ता भएको छ मोबाइलले
ऊ र मोबाइल सँगसँगै हिँडछ/डुल्छ। जङ्गलदेखि लिएर सहर, बजारसम्म।
........................................................
सस्तो मोबाइल र लाटो गाउँ। खुब मिलेको छ
रिटेलर, डिलर र खुज्रा मेरो गाउँ।
(कम्पनी, टक्‌टाइम र मेरो गाउँ, पृ. ३० -३१)

यसप्रकार साइबरनेटिक्स, कम्प्युटर इन्फर्मेसन टेक्नोलजी, इलेट्रोनिक मिडियाजस्ता प्रविधिहरूले सिर्जनप्रकियामा पनि नवीन आयाम र आकारका रूपमा मान्छेसँग साक्षात्कार हुन पुगेका छन्। यसैले प्रविधिको विकास द्रुत गतिमा बढेपछि मानवका लागि हातमा कुनै विवशता बाँकी रहेन। प्रविधिको विकास मानवका लागि यान्त्रिक नै भए पनि यसले समकालीन वस्तुस्थितिप्रति अभ्यस्त गर्नलाई स्वीकार्नै पर्ने वाध्यता देखिन्छ। यसको अर्को विकल्प पनि छैन। अब फर्केर फेरि ढुङ्गे युगतिरै जान पनि सक्तैनन् मान्छे। समय धेरै अघि दौडिसकेको छ। समय सँगै मान्छे दौडनु स्वाभाविक र अनिवार्य पनि हो। हातहातमा अचेल सानो थ्री- डी मोबाइलमा ठुलो संसार अटेको छ। सानोभन्दा सानो माइक्रो चिप्समा संसार अटेको छ। इलेकट्रोनिक मिडिया, कम्प्युटर, इन्टरनेट आजका मान्छेका लागि आँखाका चस्मा सरि भएको छ। यसको अभावमा उसले संसारलाई राम्ररी ठिम्याउन नसक्ने भइसकेको छ। यसप्रकार हाम्रा गाउँसमाज र संस्कृतिमा पनि सूचना सञ्चार व्यवस्थाले गहिरो प्रभाव पार्दै गएको प्रसङ्गहरू रूपेशका कविताहरू भित्र प्रशस्त पाइन्छ। यस्ता संवेदनाले भरिएका मान्छेका समाजमा आजभोलि देखिने अनेक किसिमका अभिघातहरू पाइन्छ। जसले गर्दा समाजमा सांस्कृतिक अन्तर्मिश्रण, सांस्कृतिक रूपान्तरण र सङ्क्रमणजस्ता कुराले मानवमूल्य दिनोदिन क्षय भएर वातारण विनाशको स्थितितिर अघि बढ्दै गएको कुरालाई रूपेशका कविताले बोलेका छन्। उनी भन्छन् -
२. रिमिक्स बुँख्याचाले
मञ्चमा उभिएर
ऱ्यापमा भाषण
दिँदा । गर्वले ताली
दिने मेरा भद्रजन।
(भद्रजन, पृ. ६२)

३. गाउँलेहरू बिछट्टै खुसी
गाउँ बेचिएर केही सुख पाउने लालचमा।
......................................
भर्जिन छैन गाउँ अब ता।
...............................
गाउँ बेचिएको खबर
वेबसाइटले चारैतिर फैलाइसकेको छ।
(गाउँ बेचिएको खबर, पृ. ४३)
समकालीन कविताहरूमा गाउँको विभिन्न सन्दर्भको चित्रण गरिएको पाइन्छ। गाउँ एउटा केन्द्रीय विषय रहेको देखिन्छ यिनका कवितामा पनि। आजभोलि साहित्यमा गाउँविषयक कविताहरू बढी लेखिँदैछ। गाउँको यो एउटा नोस्टालजिक भाव मात्रै रह्यो आजका मान्छेसित। गाउँभित्र गाउँ नै छैन। गाउँमा उच्च ठानिएका / मानिएका शासनसत्ताका ठेकेदारहरू चरित्रहीन, ग्रामीण स्वच्छ वातावरणको विनाश / सङ्कट उत्पन्न गर्न सचेष्ट देखिन्छ। गाउँमा सामाजिक राजनैतिक असङ्गतिहरूको बढदो परिवेश तथा विकृति र विसङ्गतिले उब्जाएका विकराल स्थिति चर्किएर बढेको देखिन्छ।यसका साथै सत्ताधारीहरूको चाकडी गर्ने समाजका निच मानसिकताजस्ता संस्कारहरू समाजमा दिनोदिन हुर्कदैँ गएको स्थिति पाइन्छ। रूपेश आफ्ना कविताहरूमा त्यस्ता स्वरहरू टडकारो रूपमा प्रस्तुत गरेका छन् -
४. विश्वस्त दुनियाँ सालापनमा
विहङ्गम च्यातिएका छन् तिम्रो मुस्कानको प्रताडनामा।
....................................
अलिखित छ गाउँ, बाँझो छ सपना, तुहेको छ रोटी
अपूरा छ खुसी, तिम्रा द्विविधाका कुरासँग।
(विरोधाभासका कुराहरू, पृ. ७७)
समसामायिक कविताहरूमा पाइने राजनीतिक, आर्थिक र सामाजिक विकृतिले उब्जाएका विकराल सङ्कट, व्यवधान र मान्छेका दुषित मनोवृत्तिलाई उदाङ्गो पारेर देखाउने काम यिनका कविताहरूले पनि गरेका छन्। राजनीतिको खेती गरेर गाउँघरमा उब्जाएको विकृति र विसङ्गतिको बिब्ल्याँटो परिवेशको चित्रण गर्दै कवि रूपेश लेख्छन् -
५. राजनीति
राजनीति राजनीति
राजनीति राजनीति राजनीति।
................................
टुप्पीदेखि
कुर्कुच्चासम्मै।
(कुर्कुच्चा, पृ. ३६)

६. राजनीतिको पहिरोमा बग्दै गरेको गाउँ
पञ्चायतको सिँढीमा हिँडदै गरेको गाउँले।
(अनुभवको अध्यायमा मेरो परिचय, पृ २०)
यी बाहेक यिनले मान्छेलाई विभिन्न अभावहरूले ऐकान्तिकहरूले, शुन्यताले, स्वप्नहरूले छलछाम गरिरहेका मानसिक स्थिति र प्रसङ्गहरूको चित्रण पनि पाइन्छन्। मानवीय जीवनबोध र पीडाबोध एवं स्वतन्त्रबोधका अभिव्यक्तिहरू प्रकट गर्ने क्रममा यिनले आद्भुतिक विम्बसिर्जना गरेको देखिन्छ। प्रलय, संहार, शुन्यता, रिक्तताजस्ता आद्भुतिक परिवेश सिर्जनाबाट वर्तमान सन्त्रस्त परिवेश र भयानकता पस्तुत गर्दै लेखिएका उनका कविता यसप्रकार छन् -
७. साह्रै आकर्षक
त्यो , आकर्षणमय छोपिएका कुरा।
...........................................
हुन सक्छ त्यहाँ
बम नै होला !
तर
त्यो बमसँगै पड्कन मन लाग्छ।
.............................................
हुन सक्छ त्यहाँ
शुन्य होला
तर
त्यो शुन्यतासँगै हराउन मन लाग्छ।
(छोपिएका कुरा, पृ. ४७)
रोला बार्थले द प्लेजर आफ् दि टेक्स्ट भन्ने लेखमा भनेका छन् भने Is not the body’s most erotic zone there, where the garment leaves gaps ? अत: शरीरको ती अङगहरू के अधिक आकर्षक हुँदैन र जहाँ गहनाले सिँगारिएको हुँदैन। खाली छाडिएको ठाउँ अझ रत्यात्मक आनन्दको केन्द्र हुन्छ। माथिको कविताको पङ्क्तिहरूका बिचमा जे उपस्थित छ र जे अनुपस्थित छ, त्यसले पाठकलाई एकाएक तानेको छ। यिनै पङ्क्तिहरूका अन्तरालबिच अर्थका बहुल सम्भावनाहरू हुन्छन् र त्यसैको अनुभूतिमय अवस्था नै अनिर्वचनीय आनन्दको अवस्था भनेका छन् बार्थले। यस्ता पङ्क्तिहरूबाट अर्थको एकत्व लुप्त भएर अर्थगत बहुलताको सम्भावना बढेर गएको हुन्छ।
८. साह्रै आकर्षक
त्यो , आकर्षणमय छोपिएका कुरा।
..........................
छोपिएको कुरा किन साह्रै कामुक हुन्छ हँ ?
…………………………………………………
छोपिएका कुरा भन्दा आकर्षक अरू के छ र !

यसप्रकार समकालीन नेपाली कवितामा अप्रस्तुतविधान वा सादृश्यविधानको व्यापकता देखिन्छ । यस्ता विम्ब संयोजनबाट भयानकता, सन्त्रास र भयावहता आदि देखाउन सरलरूपमा आद्भुतिक विम्बसंयोजन यिनका कवितामा भएको पाइन्छ । यिनका कविताहरू पढ्न पाठकहरू अझ धेर आतुर हुन सक्छन् । यिनका कवितामा विशेष गरेर विम्बको नयाँ रूपकहरू पनि पाइन्छ । जस्तो – क्लकवाइज आयुको टेन्सन, पाइरेटेड विन्डोको भाइरस, क्राइम लिस्टमा ईश्वर, जोडी दुधिलोको बुढो रूख, शरणार्थी वाक्यहरू, वाक्यको मैथुन, विकलाङ्ग गाउँ , इ- गाउँ आदि। यसबाहेक साइबर संस्कृतिबाट टिपिएका अनेक शब्दहरू उनले प्रयोग गरेका छन् जस्तै – डिलिट, गुगल सर्च, फेसबुक, च्याटिङ, अप्डेट्स, स्टाटस, अफलाइन, मेसेज, मेसेज सेन्ट, मोबाइल, टकटाइम, रिचार्ज,मोबाइल रिङटोन, मोबाइल कलरट्युन , विन्डो, भाइरस, कम्पनी, एस. एम. एस., ल्याण्डफोन, अमेजिङ अफर, अलर्टटोन, भ्यालिडिटी, एक्स्ट्रा टकटाइम, कस्टमर केयर, व्यालेन्स, कलब्याक, रिटेलर, ह्यान्डसेट, मिस्डकल आदि।
अन्त्यमा भन्न पर्दा आजभोलि विज्ञानचेतनाबाट टिपिएका शब्दहरू लगाएमा मात्रै आजको कविता हुनसक्छ भन्ने भ्रममा परेर कविता लेख्नेहरू पनि धेरथोर पाइरहेका छौँ। यस प्रकारको प्रयोगले कविताको मर्ममाथि प्रहार गर्छ कि गर्दैन ? कविताप्रति बनेको र बन्नुपर्ने धारणालाई विकृत गर्छ कि गर्दैन? के यो कविताको 'कमोडिफिकेसन' मात्रै होइन ? के यो कविताको सत्तामाथि प्रहार र त्यसको विद्रुपीकरण होइन ? यी प्रश्नहरू अवश्य पनि गम्भीर छन् । निश्चय नै आज यस्तो उपभोक्तावादको साम्राज्यवादी नीतिबाट प्रभावी छ समाज, जसले निसङ्कोच र निर्भय कलाको विशिष्ट प्रकृति र प्रकार्यसँग खेलाँची गर्छ र त्यसलाई उपयोगिताको तल्लो आसनमा झार्छ । यस्ता प्राविधिक शब्दको प्रयोगले काव्यात्मक विम्बको रूडलाई त भत्काउँछ नै तर यसले निर्माण गरेको विम्बले कविताको रूपाकात्मकतालाई कतिको उचाल्छ त्यो पनि हेर्न जरूरी देखिन्छ। आजभोलि भर्च्युअल रियलिटी, म्याजिकल रियालिटी, साइबरस्पेश, सिमुल्याक्रम सबैले कलाको छद्म प्रतिरूपलाई अघि सार्छ र वास्तविकलाई छोपेर अवास्ताविकलाई प्रस्तुत गरेको छ। फलत: कला आफ्नो सत्ता र शक्तिबाट च्यूत हुन्छ। कलाको आसनमा चरम उपयोगितावाद आरूढ हुन्छ। तर हामी यस लज्जाजनक र अपमानपूर्ण क्रियालाई हेर्न विवश छौँ। अन्तमा भन्न पर्दा रूपेश राईका कविताहरूमा आजकै स्वर छ। यिनी आफ्ना कवितामा गाउँप्रति असीम सम्मोहन राख्छन्। तर ग्रामीण परिवेशमा साइबरसंस्कृतिले पारेका प्रभावबाट आक्रान्त स्थितिप्रति यिनी चिन्ता पनि व्यक्त गर्छन्।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 बैशाख, 2070

लेखकका अन्य रचनाहरु