खेली गीत र रोइला गीतका भिन्नता

- तुलसी प्रवास

१. पृष्ठभूमि
खेली गीत र रोइला गीत नेपाली लोक गीतका भिन्न भिन्न प्रकार हुन् । यी गीतहरूको व्युत्पत्ति, परिभाषा, संरचना, लय÷छन्द, गायन स्थल, गायन अवसर, गाउने जाति आदिमा धेरै नै भिन्नता पाइन्छ । लोकमा गएर अनुसन्धान गरिएका तथ्यहरूले यस कुराको पुष्टि गर्दछन् । खेली र रोइला गीतको सम्बन्धमा अग्रज लेखक तथा अनुसन्धानकर्ताहरूका विचारमा एकरुपता पाइदैन । पुस्तकहरूमा पनि अन्योलपूर्ण रुपमा यी गीतहरूलाई प्रस्तुत गरिएको छ । यी गीतलाई यहाँ लोककै बोली अनुसार नामकरण गर्दै तिनीहरूको व्युत्पत्ति, परिभाषा, प्रकार, संरचना, लय÷छन्द, गायन स्थल, गायन अवसर, गाउने जातिका आधारमा तथ्यपूर्ण उदाहरण सहित तिनका बीचको भिन्नता पहिल्याएर विश्लेषण गरी निष्कर्ष निकाल्ने काम गरिएको छ ।
२. खेली गीत
‘खेली गीत’ नेपाली लोकगीतको एउटा महत्वपूर्ण प्रकार हो । ‘खेली’ शब्दको व्युत्पत्ति खोज्दै गयो भने ‘खेल’ मूल शब्दमा ‘ई’ प्रत्यय लागेर ‘खेली’ बनेको हो (न्यौपाने, २०६६ ः १२४) । तर लोकगीतका सन्दर्भमा भने यसको अर्थ ‘नेपाली लोकगीतको एक प्रकार’ भन्ने बुझिन्छ । हाँसखेलका रूपमा व्यक्त हुने अर्थात् कुनै पूजा–आजा, रोदी आदिमा युवायुवतीहरू जम्मा भएर व्यक्त गर्ने सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भनिन्छ । यो गीत कहिले भजन बनेर, कहिले प्रेमगीत बनेर त कहिले चुड्का बनेर नेपाली समाजमा गुञ्जिँदै आएको छ (प्रवास, २०६९ ः १)। यस खेली गीतलाई विभिन्न विद्वान् तथा अनुसन्धानकर्ताहरूले आ—आफ्नै तरिकाले खेली, ख्याली, आँधीखोले भाका, रोइला, चुड्का, लोइरो गीत, तीन ठ्याके गीत आदि नामले पुकारेको पाइन्छ । वृहत् नेपाली शब्दकोशमा ‘खेली’ नभएर ‘ख्याली’ शब्दलाई खेलीको अर्थमा अथ्र्याइएको छ । जसको अर्थ (१) विशेष चाडपर्व वा पूजाआजामा खैँजडी मजुरा आदि बजाउँदै गाइने लोकगीत, चुड्का (२) तन्नेरी, तरुनी भेला भई गाइने एक प्रकारको जुवारी (३) खूब ख्याल, ठट्टा गर्ने स्वभावको, ठट्यौलो (पोखरेल (नि.), २०४० ः ३१४) । खेली लगायतका लोकगीतहरूलाई पहिले पहिले एक प्रकारको खेलको रूपमा लिइने चलन पनि थियो । जहाँ जीतहारको सवाल हुन्छ त्यसलाई खेल मान्न सकिन्छ । भनिन्छ, खेली गीतको जुहारी अथवा दोहोरी यस्तो घम्साघम्सीले चल्थ्यो कि सात दिन सात रातसम्म जीतहारको टुङ्गो लाग्दैनथ्यो र जित्नेले बिहे गरेरै लाने वा जानेसम्म हुन्थ्यो । त्यसरी ख्याल ख्यालैमा हँस्यौली–ठट्यौली पाराले पनि निकै समय गाइने हँुदा पनि यसलाई खेली भनिएको कुरामा सहमत हुन सकिन्छ ।
खेली गीतलाई विभिन्न विद्वान् एवम् अनुसन्धानकर्ताहरूले आ–आफ्नै प्रकारले परिभाषा दिने काम गरेका छन् । यसलाई कसैले खेली, कसैले रोइला, कसैले ख्याली आदि आदि भनेर चिनाएका छन् । त्यसमध्ये केही प्रमुख परिभाषाहरू यसप्रकार छन् ः
(१) खेलका रूपमा ख्यालख्यालमै गाइने गीत खेली हो ।
(न्यौपाने, २०६६ः १२४)
(२) ख्याल ठट्टा र हाँसखेलका रूपमा रमाउँदै गाइने सदाकालिक लोकगीतलाई ख्याली (खेली) भनिन्छ ।
(लामिछाने, २०६८ ः ८१)
(३) हाँसखेलका रूपमा व्यक्त हुने युवायुवतीहरूको सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई ख्याली भनिन्छ ।
(बन्धु, २०५८ः १३०)
(४) ख्यालीको सामान्य अर्थ हो –हाँसखेल, प्रेममा जाली कुरा गर्ने र रसरङ्ग उब्जाउने हँसिलो ठटेउलो व्यक्ति । तर यहाँ लोकगीतको चर्चा प्रसङ्गमा ख्यालीको मतलव हो बाह्रमासे लोकगीतको कुनै प्रसिद्ध भाका ।
(थापा र सुवेदी, २०४१ ः १०१)
माथिका परिभाषामा खेली गीतलाई कसैले ख्याली भनेर त कसैले खेली नै भनेर चिनाउने प्रयास गरेको भेटिन्छ । यो गीत हाँस खेलका रुपमा, ठट्यौलो पारामा र ख्यालख्यालमा गाइन्छ भन्ने कुरामा विद्वान्हरू एकमत भएको पाइन्छ । सबै विद्वानहरूका परिभाषाहरूलाई हेर्दा निष्कर्षमा खेली गीतको परिभाषा यस प्रकार उल्लेख गर्न सकिन्छ ः खेलका रुपमा वा ख्यालख्यालमा गाइने मनोरञ्जनमुलक एवम् भक्तिपरक बााह्रमासे गीत खेली गीत हो ।

बाहुन, क्षेत्री, नेवार, ठकुरी, गन्धर्व, जोगी जस्ता हिन्दू समुदायमा रामायण, महाभारत, कृष्णचरित्रका भक्तिभावपूर्ण तथा जीवन र जगतका विविध पक्षका प्रेमभाव, करुणाभाव, हास्य–व्यङ्ग्यभाव र शृङ्गारिक विषयमा छक्क्याउँदै जिस्क्याउँदै गाइने खेली गीत प्रचलित छ । च्वास्स मनलाई छुने यस्ता गीतहरू सहज, सरल हुनुको साथै भाव र लयमा मार्मिकता र विविधता पाइन्छ (क्षेत्री, २०६९ ः २ ।
खेली गीतको गायन स्थल मन्दिर, घरको आँगन, पिँढी मझेरी र पाखा पखेरा, चौतारी अनि खरबारी हुन् । यस गीतलाई भजनको रुपमा गाउँदा प्रायः मन्दिरमा गाइन्छ । त्यसका साथै पूजा आजाको समयमा घरमै पनि खेली भजन गाउने चलन छ । नेपाली समाजमा पूजाआजा गरिसकेपछि पहिला आरती गर्ने त्यसपछि भजन गाउने र जब रात छिप्पिदै जान्छ, बुढापाकाहरू ओच्छ्यानतिर लाग्छन् भने त्यहाँ रहेका युवा युवतीहरू दोहोरीमा रमाउन थाल्छन् । यस गीतलाई महिला र पुरुष दुवैले एकल वा संयुक्त रुपमा जसरी पनि गाउन सक्छन् ।
खेली गीत भगवानको भक्ति, गुणगान गरेर गाएमा खेली भजन, माया प्रेम र दोहोरीको रुपमा गाएमा खेली गीत र चुड्का भट्याएर गाएमा खेली चुड्का गरी तीन प्रकारका हुन्छन् (प्रवास, २०६८ ः ३–४) । उनीहरू दोहोरीमा रमाउने, एक प्रकारको हारजीत हुने खेल खेल्ने भएकोले र ख्यालठट्टा गर्दै रमाइलोसँग गाउने भएकोले पनि यी गीतहरूलाई खेली भनिएको हो । यसका साथै खेली गीत वन, चौतारी, पाखा पखेरा र खरबारीहरूमा पनि गाउने गर्दछन् । यसमा नृत्यको अनिवार्यता हुँदैन । यो गीत विभिन्न लयमा गाइन्छ । यो गीत जहाँकहीँ, जो कसैले, जुनसुकै बेला गाउन वा नाच्न सकिने बाह्रमासे गीत हो । यसमा खासगरी खँैजडी र मुजुरा बाजाको प्रयोग हुने गर्दथ्यो तर अहिले आएर मादल, मुजुरा र बाँसुरी जस्ता लोकबाजाहरूको पनि प्रयोग गरिन्छ । बाजा, गीत, सङ्गीत र नाचको तालमेल भएमा खेली यस्तो झ्याम्झ्याम्तीको हुन्छ कि रसिलो पाराले गाउने, चिच्याउने (हुटिङ गनर्)े र भुरुङ झैँ फन्फनी घुमेर नाच्ने तथा ती सबै कुरा हेर्न जम्मा हुनेलाई समेत छुन्छ, आनन्द आउँछ ।
खेली गीतहरू ठाउँ र परिवेशअनुसार फरक फरक संरचनाका हुन्छन् । यस्ता गीतमा यति सहजता छ कि आफूलाई जसरी सजिलो हुन्छ त्यसरी नै गाउन सकिन्छ । दुई पंक्ति, तीन पंक्ति, एकोहोरी, दोहोरी जसरी पनि यसलाई गाउन सकिन्छ । खेली गीतको आफ्नै निश्चित संरचना छ जुन अन्य कुनै पनि गीतमा पाइदैन । यसमा अक्षर गणना गरेर गाइन्छ । कहिलेकाँिह लय र भाव मिलाउने क्रममा संरचना भङ्ग भए पनि खेली गीतको संरचना प्रायः ६, ७, ७ अक्षर गरी कुल २० अक्षरमा समेटिएको हुन्छ । जस्तै ः
पानी नलाउनाले (६)
बाँझै रह्यो खेत् पनि (७)
हुनै छाड्यो भेट् पनि (७)

हुनि थियो भेट (६)
बेँसी मकै छरे त (७)
आउनी जानि गरे त (७)
यसरी हेर्दा खेलीगीतमा पहिलो पंक्तिमा छ अक्षर र दोस्रो, तेस्रोमा सात– सात अक्षर संरचना रहेको भेटिन्छ । दुई पंक्तियुक्त खेलीमा भने ६ र ७ गरी १३ अक्षरको संरचना रहेको हुन्छ । खेली कुनै बाध्यात्मक शाष्त्रीय संरचनाले जकडिएको गीत नभई मानव हृदयको स्व—स्फूर्त अभिव्यक्ति हो । गाउँदै जाँदा मानिसलाई जसरी सहज हुन्छ त्यसरी नै यसलाई गाउने गरिन्छ । त्यसैगरी खेलीको लयमा पनि एकरूपता छैन । ठाउँ—ठाउँमा फरक– फरक तरिकाले फरक–फरक लयमा खेली गीत गाइन्छ । यस गीतको लय लोक लय नेै हो । यसलाई लामो सुर निकालेर फलाक्दै पनि गाउने चलन छ । जस्तै ः
ए.............
जाऊँ जाऊँ लाग्यो
(गोसाईँकुण्ड तिरिथ)२
यसरी गीत सुरु गर्नुृभन्दा अगाडि लामो सुरमा ए...... भनी बल्ल गीत निकाल्ने र त्यसलाई ४—५पटकसम्म गाउने चलन छ । खैँजडी, मुजुराको तालमा यसलाई कहिले छिटो र कहिले ढिलो गरी गाइन्छ भने विना बाजा वन, पाखा, चौतारो, मेलापातमा पनि यसलाई गाउन सकिन्छ । ठाउँ अनुसार यसको लय फरक—फरक भएको पाइन्छ । खेली गीतको लयको गतिलाई यसप्रकार देखाउन सकिन्छ ः


१ २ ३ ४ ५ ६
औँ ठी लै जाऊ चि नो सामान्य गति

१ २ ३ ४ ५ ६ ७
रु माल् लै जाऊ धु न लाई सामान्य हुँदै दू्रत गति

१ २ ३ ४ ५ ६ ७
स म झे र रु न लाई दू्रत गति
माथिको उदाहरणमा पहिलो हरफमा छ अक्षरसहितको सामान्य गति, दोस्रोमा सात अक्षरसहितको सामान्य हुँदै द्रूत गति र तेस्रोमा सात अक्षरसहितको द्रुत गति
पाइन्छ ।
३. रोइला गीत
रोइला गीत रोदनसँग नजिक रहेको गीत हो । यसको व्युत्पत्ति रुवाइंला. रोइला हो । यस्तै कसैले रोइ लाग् भन्दा भन्दै रोइला भएको हो भन्छन् । ‘रोइला’ शब्दले व्यक्त गर्ने अर्थ पनि रुवाइ वा रोदन जस्तो लाग्ने भएकोले यस्तो व्युत्पत्तिगत अर्थ लगाउन सकिन्छ । रोइलाले एउटा छुट्टै खालको करुण रसप्रधान गीतलाई बुझाउँछ जुन बिलम्बित लयमा गाइन्छ । यो गीत विशेषतः थकाली जातिमा प्रचलित छ । उनीहरूले मृत्यु संस्कारमा रोइला गाउँछन् । त्यसैगरी मगरहरूको गोपीचन लोकनाटक र गुरुङ् जातिको सतीघाटुमा पनि रोदनायुक्त गीत पाइने भएकाले त्यसलाई पनि रोइला भन्न सकिन्छ । थकाली, शेरचन, भट्टचन, गौचन, तुलाचन आदिले घाटुलाई रैला वा रोइला भनेर मृतकको सम्झनामा तिनका सुकर्महरूको उल्लेख गर्दै भट्याएर रुने गर्दछन् (खत्री, २०५८ ः४० ) । यसरी रोइला गीत गुरुङ् मगर र थकाली जातिले मृतकको सम्झनामा भट्याएर रुँदै गाउने एकप्रकारको रोदनयुक्त गीत भनेर परिभाषित गर्न सान्दर्भिक देखिएको छ ।
थकाली जातिले आफ्नै परम्परा बमोजिमको मृत्युसंस्कार गर्दछन् । उनीहरूको मृत्युसंस्कारमा कोही आफन्तको मृत्यु हुँदा अनिवार्य रूपमा फलाक्दै रुनुपर्ने हुन्छ । यदि स्वाभाविक मृत्युमा कसैलाई रुन नआए पनि छोरीचेलीलाई बोलाएर उनीहरूलाई अनिवार्य रुवाउने गर्छन् । यसरी रुन लगाउँदा उनीहरू आफ्ना छोरी चेलीलाई ‘‘रोइ लाग् रोइ लाग्’’ भन्दै रुन लगाउँछन् । त्यही रोइ लाग् भन्ने पदावली पछि गएर ‘रोइला’ शब्दमा रुपान्तरित भएको हो । मृत्यु हुने मानिसको गुण र विगत सम्झेर फलाक्दै लयमा छोरीचेलीहरू रुँदा त्यहाँ उपस्थित अन्य मानिसहरू पनि नरोइ रहन सक्दैनन् । त्यति बेला त्यो ठाउँ साँच्चैको रुवावासीमय हुन्छ । यही लय मिलाएर अनिवार्य रुनैपर्ने संस्कृतिलाई थकालीहरू रोइला भन्छन् । थाकखोलाबाट आएर अहिले बाग्लुङ् बजारमा होटल व्यवसाय गर्दै आएका सोमु हिराचन भन्छन् – ‘‘रोइला हामी थकाली जातिको मौलिक संस्कृति हो । मान्छे मर्दा त जो पनि रुन्छ तर यसरी लयमा फलाक्दै अनिवार्य रुनैपर्ने संस्कृति भने थकालीहरूमा मात्रै छ’’ (सोमु हिराचनसँगको प्रत्यक्ष कुराकानीमा आधारित) । यसैक्रममा रोइला भनेर त अर्कै गीतहरूलाई भन्छन् नि भनेर प्रश्न गर्दा उनी भन्छन्– ‘‘वास्तवमा रोइला हाम्रो जातिको रुने संस्कृति हो । यसलाई कसरी गीत भनेर रमाइलोमा गाउन थालेका हुन् त्यो मलाई थाहा छैन ।’’
यसै सन्दर्भमा मिति २०६९ साल चैत्र ३१ गतेका दिन पोखरा नदीपुरस्थित थकाली सेवा समाजको समाजघरमा स्वर्गीय सुकदेवी शेरचनको मृत्यु संस्कार गरिरहेको अवस्थामा त्यहाँ गई हेर्दा मृत्यु भएको तीन दिनबाट छोरी चेलीहरू आउने क्रम सुरु हुने र सँगसँगै लयमा फलाक्दै रुने गरेको र त्यसलाई उनीहरू रोइला नै भन्ने गरेको कुरा त्यस संस्कारमा रुनेमध्येकी एकजना राजकुमारी गौचन बताउँछिन् । उनले उक्त मृत्युसंस्कारमा फलाकेको रोइलाको केही अंश यसप्रकार छ ः
हे आमा हो.....हो....हो.....
सबैलाई छोडी हो.....हो....हो.....
जानुभयो हो.....हो....हो.....
हे आमा हो.....हो....हो.....
सबैलाई आसिक दिनुस् हो.....हो....हो.....
हे आम्मा हो.....हो....हो.....
यहीँ बसी आम्मा हो.....हो....हो.....
आसिक दिनुस् आम्मा हो.....हो....हो.....
आसिक दिए आसिक लाग्छ
हे आम्मा हो.....हो....हो.....
(राजकुमारी गौचन र अन्य)
माथिको रोइला गीतमा एकजना महिलाले फलाकेकी थिइन् भने अन्य उपस्थित महिलाहरूले उनको फलाकोमा साथ दिइरहेका थिए । अर्कोतर्फ लामाले ढ्याङ्ग्रो बजाउँदै मन्त्र गीत गाइरहेका थिए । यसरी सबैजना रुँदै गाउँदै गर्दा त्यहाँ उपस्थित अन्य व्यक्ति पनि रोइरहेका थिए । त्यहाँ एक प्रकारको रुवावासीमय वातावरण सिर्जना भएको थियो । यो गीत विशेष गरी महिलाहरूले गाउँछन् । पहिले एकजनाले फलाक्ने र पछि अरुले त्यसमा साथ दिँदै सबैजना रुने गर्दछन् । मृत्यु संस्कारको अवसरमा किरिया बसेको स्थानमा भेट्न आउने छोरी चेलीहरू यस्तो रोदन निकाल्छन् । यस प्रकारको रोइलामा कुनै निश्चित अक्षर संरचना भेटिदैन । यो लयात्मक हुन्छ । थकालीहरू भन्छन्, यस्तो रुने संस्कार अहिले आएर हराउँदै गएको छ । पहिला पहिला त रुने प्रतिस्पर्धा नै हुन्थ्यो । को राम्रो रुने भनेर उनीहरू प्रतिस्पर्धा नै गर्ने गर्थे । आजभोलि त आधुनिकतासँगै यो हराउँदै छ ।
रोइला गीत मूलतः थकाली समुदायको मौलिक संस्कृति भए पनि मगर तथा कतै कतै गुरुङ समुदायमा पनि यो गीत प्रचलित छ । मगर समुदायको अध्ययन गरेर डा.कुसुमाकर न्यौपानेले प्रस्तुत गरेको गोपीचन लोकनाटककोे रोदना पनि एक प्रकारको रोइला गीत हो जसको नमुना यस्तो छ ः–
रानी ः सोना हो रे सोना हो रे, पञ्च भेदी लोक
राजाज्यू त सोरगे पो भए ...
जनता ः सोना हो सोना हो रे, रानी ज्यूलाई रोदना वैराग
काँकरीको चिरो जैसो थियो हाम्रो राजा
अब त सोरगे पो भयो । (न्यौपाने, २०६५ ः ५९)
गोपीचन लोकनाटकमा राजा मणीचनको मृत्यु भएपछि रानी मैनावती शोकाकूल स्थितिमा अफालिँदै यस खालको गीत गाउँछिन् । रुँदै र फलाक्दै गाइने रोदना भएकोले यसप्रकारको गीतलाई रोइला अन्तर्गत राखेर अध्ययन गर्न सकिन्छ ।
त्यसैगरी घाटुगीत र नाचमा जीवनको अस्तित्व, जन्मेदेखि मर्ने बेलासम्मका सम्पूर्ण कार्यको झझल्को हुनुपर्दछ भन्ने मान्यताअनुरुप घाँस काट्ने, रोपाइँ गर्ने, माछा मार्ने, ढुङ्गा काट्ने, विवाह गर्ने, सिकार खेल्ने , लडार्इँ गर्ने, मर्ने, सती जाने आदि विविध पक्षको चित्रण पाइन्छ । बाग्लुङ गलकोट क्षेत्रमा प्रचलित घाटुनाच सतीघाटुसँग सम्बन्धित भएको हुँदा राजा प्रश्रामुले रुकुम–पर्वत राजासँगको युद्धमा जीवनलीला समाप्त गरेको प्रसङ्ग पाइन्छ । यसै दुःखद घटनामा चारवटी रानी सती गएका थिए भन्ने ऐतिहासिक प्रसङ्गलाई आधार मानेर गाउने नाच्ने गरिन्छ । यसरी रुँदै नाच्ने सतीघाटुलाई उनीहरू रैला वा रोइला भन्ने गर्दछन् (खत्री, २०५८ ः४० ) । जस्तै एक उदाहरण ः
सुन–सुन धाइआमा सुन–सुन धाइआमा !
हाम्रा बाला कृष्णलाई तिमरे पिछा है ।
भोक लागे बाललाई भात खुवाइ दे,
तिरखै लागे बाललाई पानी खुवाइ दे
हामी जान्छौँ स्वामीजीको सती, जाती चिनिदेऊ,
हामी जान्छौँ स्वामीजीको सती, सोलै चिनिदेऊ ।
पाँचै लोक जम्मा भई सर्दाम जुटाइदेऊ,
उलेनीको झुलै पारी आगो सल्काइदेऊ ।
(खत्री, २०५८ ः४२ )
राजा प्रश्रामु लडाइँमा वाण लागेर मरेपछि उनका चारवटी रानी सती जान लाग्दा गाएको गीतको नमूना हो यो । यहाँ चारवटी रानीले आफ्नो छोरा बालकृष्णलाई धाई आमाको जिम्मा लगाएर सती जान लागेको दृश्यलाई गीतमा देखाउने प्रयास गरिएको छ । रानीहरू रुँदै यस्तो गीत गाउँछन् । त्यसैले उनीहरू यस्ता गीतलाई रैला वा रोइला भन्ने गर्दछन् ।
४. खेली गीत र रोइला गीत बीचको अन्तर
थकाली जातिको मृत्युसंस्कारको प्रत्यक्ष अवलोकन, घाटु नाच र गीतसँग सम्बन्धित सामग्रीहरूको अध्ययन र खेली गीतका गायक गायिकाहरू र थकाली समुदायका मानसिहरूसँगको प्रत्यक्ष भेटघाटका आधारमा खेली गीत र रोइला गीत अलग–अलग प्रकृतिका गीत हुन् भन्ने कुरा प्रमाणित हुन्छ । त्यही प्रमाणका आधारमा खेली गीत र रोइला गीतका भिन्नतालाई यसप्रकार देखाउन सकिन्छ ः
खेली गीत रोइला गीत
१. ख्यालख्यालमा, खेल्दै गाइन्छ । मृत्युसंस्कारमा रुँदै गाइन्छ ।
२.मनोरन्जनसँग सम्बन्धित छ । रुवाइ वा शोकसँग सम्बन्धित छ ।
३.ब्राह्मण, क्षेत्री समुदायमा विशेष प्रचलित छ । थकाली समुदाय र कतै कतै मगर, गुरुङ समुदायमा पनि प्रचलित छ ।
४. भजन, गीत र चुड्काका रूपमा गाउन सकिन्छ । रुवाइसँग सम्बन्धित भएकाले खेलीको जस्तो निश्चित संरचना हुँदैन ।
५. एकोहोरी र दोहोरी दुवै रूपमा गाउन सकिन्छ । एकोहोरो फलाक्दै रुँदै गाइन्छ ।
६. महिला, पुरुष दुवैले गाउन सक्छन् । महिलाले सुरु गरेर पुरुषलाई समेत रुवाउँछन् ।
७. जुनसुकैबेला पनि गाउन सकिन्छ ।
मृत्युसंस्कारमा मात्र गाइन्छ ।


४. निष्कर्ष
नेपाली लोकगीतको इतिहासमा देखा परेका खेली गीत र रोइला गीत के हुन् र तिनका बीचमा के भिन्नता छ भनी पहिल्याउनका निम्ति स्थलगत अध्ययन र पुस्तकालयीय अध्ययन पद्धति अपनाई तयार पारिएको यस गोष्ठीपत्रको निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ ।
ख्याल ख्यालमा, सजिलै, सहज रूपमा गाइने बाह्रमासे गीत खेली गीत हो । यसलाई कतिपय ठाउँमा ख्याली पनि भनिएको पाइएको छ । यसमा गायनका साथसाथै वाद्यवादन र नृत्यको पनि भूमिका हुन्छ । यसका आफ्नै प्रकारका निश्चित लय, संरचना छन् । विशेष गरी ब्राह्मण तथा क्षेत्री जातिमा प्रचलित यो गीत भजन र चुड्काको रूपमा समेत गाइन्छ । जसले पनि जुनसुकै समयमा गाउन सकिने यो गीत नेपालको पश्चिमाञ्चल विकासक्षेत्रका कास्की, स्याङ्जा, पाल्पा, पर्वत, गुल्मी, तनहुँ र नवलपरासी जिल्लामा बढी प्रचलित छ ।
रोइला गीत मृत्युसंस्कारमा रुँदै गाइने संस्कार गीत हो । नेपालका थकाली जातिमा बढी प्रचलित यो गीत मगर र गुरुङ समुदायमा पनि गाइन्छ । यो गीत शोकसँग सम्बन्धित छ । यसलाई एकोहोरो फलाक्दै गाइन्छ । थकाली समुदायको मृत्युसंस्कार, मगर समुदायको गोपीचन लोक नाटक र गुरुङ समुदायको सती घाटुमा रोइला गीत गाइन्छ । यस गीतमा बाजाको प्रयोग नभए पनि पृष्ठभूमिमा संगीत बजेको सुनिन्छ । यस गीतको कुनै निश्चित संरचना नभए पनि लयात्मक रूपमा फलाकेर गाइन्छ । नेपालका कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, मुस्ताङ आदि जिल्लामा यो गीत गाइन्छ ।
यिनै भिन्नता भएका कारणले खेली गीत र रोइला गीत नेपाली लोक गीतका भिन्न विधा हुन् । नेपाली लोक गीतमा यी दुवै गीतका आ–आफ्नै विशेषता रहेका छन् । यी दुवै गीतले फरक –फरक महत्व बोकेका छन् । विभिन्न लेखक तथा अग्रज अनुसन्धानकर्ताहरूले खेली गीतलाई कतै–कतै रोइला भनेर सम्बोधन गर्ने गरेको पनि पाइन्छ । हरेक शब्दमा एउटा सार्थक अर्थ रहने भएकोले खेल्दै र रमाइलो गर्दै गाइने मनोरञ्जनमुलक गीतलाई रोइला भन्दा त्यो आफैमा सार्थक रहदैन । त्यसैले खेलेर रमाइलोमा गाइने गीत खेली हुन् भने रोएर शोकमा गाइने गीत रोइला हुन् । गायक गायिकहरूसँगको प्रत्यक्ष कुराकानीबाट पनि यही तथ्य फेला पारिएको छ । जसलाई माथि प्रस्तुत गरिएका उदाहरणहरूले पुष्टि गर्दछन् । यी गीतलाई यसरी नै सम्बोधन गर्दा तथ्यपूर्ण, सान्दर्भिक र अर्थपूर्ण देखिन्छ ।

(लेखक नेपाली लोकगीतमा पिएच.डी. अनुसन्धानरत छन् । )

सन्दर्भ सामग्री
खनाल, तुलसीराम (२०६९), खेलीगीतका प्रभावक्षेत्र र लयगत विविधता(नेपाली लोकसाहित्य दोस्रो
राष्ट्रिय संगोष्ठीमा प्रस्तुत गोष्ठीपत्र), भैरहवा ः नेपाल प्रज्ञा प्रतिष्ठान र भैरहवा बहुमुखी क्याम्पस, भैरहवा ।
खत्री, देवेन्द्रबहादुर (२०५८) गलकोट खुवाक्षेत्रमा प्रचलित लोकगीतहरूको सर्वेक्षण र अध्ययन(
स्नातकोत्तर शोधपत्र) काठमाडौं ः नेपाली केन्द्रीय विभाग ।
थापा, धर्मराज र सुबेदी हंसपुरे (२०४१), नेपाली लोकगीतको विवेचना, काठमाडौँ ः पा.वि.के,
त्रि.वि. ।
......................................(२०३०), गण्डकीका सुसेली, काठमाडौँ ः ने.रा.प्र.प्र. ।
तिवारी शोभा (२०६०), लोकसङ्गीतार्पण, काठमाडौँ ः साझा प्रकाशन ।
न्यौपाने, कुसुमाकर (२०६६), पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको अध्ययन(
विद्यावारिधी शोधपत्र) काठमाडौं ः त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र संकाय ।
......................... (२०६५), गोपीचन लोकनाटक, काठमाडौं ः लेखक स्वयम् ।
पोखरेल, बालकृष्ण(नि.)(२०५५), नेपाली बृहत् शब्दकोश, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा
प्रतिष्ठान ।
प्रवास, तुलसी (२०६८), आँधीखोले लोकगीतको विश्लेषण, स्याङ्जा ः गीता खनाल ।
.......... (२०६८), खेलीगीतका बारेमा देखापरेका भ्रम र यथार्थको खोजी (नेपाली लोकसाहित्य राष्ट्रिय
संगोष्ठीमा प्रस्तुत गोष्ठीपत्र), पोखरा ः नेपाल प्रज्ञा प्रतिष्ठान र पृथ्वीनारायण
क्याम्पस ।
..........तुलसीराम (२०६८), नेपाली खेलीगीतमा अलङ्कार विधान (चौथो अन्तर्राष्ट्रिय लोक वार्ता
तथा संस्कृति सम्मेलनमा प्रस्तुत गोष्ठीपत्र), काठमाडौं ः नेपाली लोकवार्ता तथा संस्कृति
समाज ।
.................(२०७०), कथनपद्धतिका आधारमा कस्केली खेलीगीतको अध्ययन (लघु अनुसन्धान),
काठमाडौं ः नेपाली सांस्कृतिक प्रतिष्ठान ।
बन्धु, चुडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौँ ः एकता बुक्स ।
लामिछाने, कपिलदेव (२०६८), नेपाली लोकगीतको अध्ययन, काठमाडौँ ः विवेक सिर्जनशील
प्रकाशन ।
क्षेत्री, गोमबहादुर (२०६९), मौलिकताका दृष्टिबाट खेलीगीतहरूको अध्ययन (नेपाली लोकसाहित्य दोस्रो
राष्ट्रिय संगोष्ठीमा प्रस्तुत गोष्ठीपत्र),भैरहवा ः नेपाल प्रज्ञा प्रतिष्ठान र भैरहवा बहुमुखी क्याम्पस ।

(नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय सङ्गोष्ठी (२०७० कार्तिक ४ देखि ११) धनगढीमा प्रस्तुत गोष्ठीपत्र)

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 6 पौष, 2070

लेखकका अन्य रचनाहरु