मोह

- राजु “हिमांशु”

सी.एफ.एल.को बल्बबाट हाम फालेर
आत्महत्या गरी एउटी मथले
सम्मोहनले बिग्रिएकी थिई ऊ ।

कस्तो नेता बन्यो बल्ब !?
भाषण सुन्न थुप्रिए
असङ्ख्य कीटपतङ्ग !

उज्यालोको उजेलीमा देखिएन
देखियो त अकाट्य सत्य भएर
अँध्यारोकै उज्यालोमा मोह !

उड़नेहरु उड़े असङ्ख्य
झर्नेहरु झरे असङ्ख्य
मर्नेहरु मरे असङ्ख्य

यो कस्तो मोह
विकर्षण चुम्ने
चुम्बकीय आकर्षणमा जस्तो ?

मथहरुले बुझेनन्
कीटपतङ्गहरुले बुझेनन्
मैले पनि बुझिनँ

तर जल्ने / उड़ने / झर्ने / मर्ने
क्रम भने
यथावत रह्यो ।

डाउहिल, खरसाङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 बैशाख, 2071

लेखकका अन्य रचनाहरु