भारतमा लेखिएका नेपाली कथामा लोक-सांस्क़ृतिक सन्दर्भ

- डा. राजकुमार छेत्री

१.परिचय-
मानिस सामाजिक प्राणी हो। समाजमा उसको आफ्नै किसिमको जातीय संस्कृति, सभ्यता र परम्परा रहेको हुन्छ। मानिस सांस्कृतिक परिवेशमा बाँधिएको हुनाले त्यसभन्दा पृथक भएर बस्न सक्तैन। मानिस सांस्कृतिक परिवेश बोकेको समाजमा जन्मन्छ, हुर्कन्छ, र त्यही परिवेशमा उसले जीवन बिताउँछ। मानिस जन्मेको दिनदेखि नै उसको सांस्कृतिक जीवन सुरू भइहाल्छ र मरिसके पछि पनि उसको अन्त्येष्टि त्यही समाज र जातिको सांस्कृतिक परम्पराका आधारमा हुन्छ। संस्कृति कुनै पनि समाज, जातिको आस्था-विश्वाुस र परम्पराको मानदण्ड पनि हो। हाम्रा सामाजिक रीतिथितिहरू घरको बनोट-बुनोट, भाँडाकुँडा, वास्तुकला, विचार र दैनिक व्यवहारका अनेक विधाहरूमा रचनात्मक माध्यम पाएर यी कुराहरू अभिव्यक्ति भएका हुन्छन्। उसले जीवनमा कुनै न कुनै रूपमा सांस्कृतिक मूल्य-मान्यता, आस्था, विश्वालस र परम्परालाई अँगालेकै हुन्छ। संस्कति युग-युगको संस्कारबाट विकसित हुन्छ र सामाजिक बनोटबाट निर्मित लोकसंस्कृति व्यवहारमा देखापर्छ। अतः संस्कृतिभित्र समाज र जातिका कला, सङ्गीत, धर्म-दर्शन, विचार-चिन्तन, वेष-भूषा, रहन-सहन, भाषा-भाका, रीति-थिती, मूल्य-मान्यताहरू बलियोसँग गाँसिएका हुन्छन् यसैले लोकव्यवहारमा संस्कृतिले प्रवेश पाएको हुन्छ। अतः प्रत्येक जातिको आ-आफ्नै किसिमको मौलिक र जीवन्त रीति-थिति, रहन-सहन, चाल-चलन, आचार-विचार, धर्म-कर्म, कला-साहित्य हुन्छ, यी सबैको समष्टी रूप नै संस्कृति हो।

संस्कारबाट विकसित जीवन पद्धतिको नाम नै वास्तवमा संस्कृति हो। जीवनका आस्था–विश्वावस, चिन्तन-धारणा-दर्शन, धर्म-परम्परा र आनुवंशिक क्रियाकलापमा मानिसको संस्कार जीवित रहेको हुन्छ। संस्कार भनेको मानव हितको निम्ति ग्रहण गरिने वा अप्नाइने रीतिरिवाज हो, यसैको समष्टि रूपलाई हामी छोटोमा संस्कृति भनेर बुझ्छौं। संस्कारगत पृष्ठभूमिभित्रै संस्कृतिले जन्म लिने हुनाले संस्कार र संस्कृतबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। संस्कृतिलाई जीवन्त राख्नेि अन्य महत्त्पूर्ण पक्षहरूमा परम्परागत नाचगान, गीत-संङ्गीत, चाडपर्व मनाउने तौर-तरिका, जीवन बाँच्ने शैली र पद्धति तथा परम्परागत रीति-रिवाज, आचार-विचार नै मुख्य आधारका रूपमा देखापर्छन्। विश्विका कुनै पनि देशका बासिन्दाहरूको जीवनशैली, आचार-विचारमा त्यस देशको जातीय संस्कृतिको झलक पाइन्छ। एउटै देशभित्र पनि अनेक जात-जातिहरू बसोबासो गर्छन् र उनीहरूका आ-आफ्नै किसिमका सामाजिक-परम्परा, मूल्य-मान्यता र आस्था-विश्वांस रहेका हुन्छन्। भारतीय संस्कृतिभित्र विभिन्न भाषा, जाति र धर्म रहे पनि कतिपय सांस्कृतिक पक्षहरूले तिनलाई एक-अर्कामा बलियोसँग बाँधेर राखेको हुन्छ। रामायण, महाभारत, पुराण आदि जस्ता धार्मिक र अध्यात्मचेतनामूलक ग्रन्थहरू नै वास्तवमा भारतीय साहित्य र संस्कृतिका साझा स्रोतहरू हुन्। शान्ति, अहिंसा, आतिथ्य अनेकतामा एकता, सामूहिक हित र मानवताको महत्त्व भारतीय राष्ट्रिय संस्कृतिका विशेषताहरू हुन्। यसै भारतीय राष्ट्रिय संस्कृतिको छहारीभित्र नेपाली संस्कृतिले पनि फल्ने-फूल्ने सौभाग्य पाएको छ । नेपालीद्वारा निर्मित वास्तु-शिल्प कलार साहित्य, गाँउ-घरमा अनुष्ठित पूजाआजा, चाडपर्व, नाचगान, मेला-उत्सव आदि प्रत्यक्ष देखिने भेटिने थोकहरू मात्र नेपाली संस्कृति होइनन् तर वीरता, धीरता, मूर्खता, सहिष्णुता र अस्पृश्यता आदि जस्ता गुण-अवगुणहरू पनि नेपाली संस्कृतिकै परोक्ष रूपमा देखापर्ने पक्षहरू हुन्।


नेपाली लोक-संस्कृतिमा धार्मिक-अध्यात्मिक संस्कृतिले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ। भिन्नभिन्न जाति र सम्प्रदायका आफ्नै किसिमका समाज-सांस्कृतिक परम्परा र धरोहरहरू रहेका हुन्छन्। भौगोलिक परिवेशले सांस्कृतिक परिचालनमा फरक पार्दछ। यसैले एउटै जाति-गोष्ठीका सम्प्रदायभित्र पनि स्थानविशेषले गर्दा प्रचलित लोकसंस्कृतिमा विविधता रहेको पाइन्छ। अतः यस प्रकार लोक सांस्कृतिक विविधता नै वास्तवमा मानव समाजको निम्ति मौलिक संस्कृति र वैशिष्ट्यको परिचायक पनि हो। रीति-थिती, वंश-परम्परा, धार्मिक मूल्य-मान्यताबाट प्रचलित प्रथाहरू नै संस्कृतिका अभिन्न अङ्ग बनेका हुन्छन्।


२. लोकसंस्कृति र नेपाली लोकसांस्कृतिक विविध पक्षहरू-

लोकसंस्कृतिको परिचय र परिभाषा एउटा वाक्यमा दिन सकिँदैन, किनभने लोकसंस्कृतिको क्षेत्र अत्यन्त व्यापक, फराकिलो र गहन छ। वास्तवमा लोकले परापूर्वकालदेखि जातीय संस्कारको रूपमा ग्रहण गर्दै आएको धर्म-कर्म, रीति-रिवाज, कला-कौशल, वेश-भूषा, आचार-व्यवहार, गीत-सङ्गीत आदिको समष्टिरूपलाई नै हामी लोकसंस्कृतिको रूपमा मान्छौँ। भारतीय लोकसंस्कृति विश्वकका अन्य राष्ट्रहरूको तुलनामा नानाविध मात्र नभएर अत्यन्त सम्पन्नव र समृद्घ पनि छ। अतः भारतीय लोकसंस्कृतिमा एउटै जातिको मात्र विशेष योगदान र सांस्कृतिक वैशिष्ट्यप नरहेर देशभित्र रहने विभिन्ना जातिअन्तर्गतका जात-जातका संस्कृतिले समेत महत्त्वपूर्ण अवदान दिएको छ। वैभवशाली भारतीय लोक संस्कृतिभित्रै नेपाली लोकसंस्कृतिले पनि फस्टाउने सौभाग्य पाएको छ। यस परिप्रेक्ष्यमा हेर्दा भारतको नेपाली लोकसांस्कृतिक परम्परा पनि स्वयममा समृद्घ र गौरवशाली छ। यस नेपाली लोकसंस्कृतिभित्र अरू थुप्रै मौलिक विशेषता बोकेका संस्कृतिहरू पनि छन्। नेपाली जातिअन्तर्गतका विभिन्न जातहरूका लोकवाद्य वा बाजागाजा तथा लोकगीतहरूमध्ये छेत्री-बाहुनहरूको खैंजड़ी र बालन गीत र नाच, मगरहरूको मादले गीत र मारूनी नाच, तमु(गुरूङ) र शेर्पाहरूको टुङना गीत र नाच, दमाईहरूको नौमती वा पञ्चै बाजा र नाच, लिम्बुहरूको च्याब्रुङ गीत र नाच तथा तामाङहरूको डम्फू गीत र नाच आदिले नेपाली लोक संस्कृतिलाई धनी तुल्याउँदै भारतीय लोकसंस्कृतिलाई सम्पन्नू तुल्याउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसर्थ लोककला, लोकविश्वाास, लोकपरम्परा आदिको समष्टि रूपमा नेपाली लोकसंस्कृतिले व्यापकता पाएको देखिन्छ। वास्तवमा ग्रामीण जनजीवनमा प्रचलित लोकविश्वाकस, लोकपरम्परा, आत्मा-परमात्मा, शकुन-अपशकुन, जादू-टुना-मुना सम्बन्धित धारणा, लोककला (चित्रकला,सङ्गीत कला, साहित्य कला) तथा लोकगीत, लोककथा, उखान र लोकोक्तिहरू नै लोकजीवन र लोकसंस्कृतिका भरपर्दा सम्पत्तिहरू हुन्। यसैले उखान-लोकोक्तिहरू लोकजीवन तथा लोकसंस्कृतिका महत्वपूर्ण श्रोतका रूपमा मान्नक सकिन्छ।

नेपाली लोकसंस्कृति भन्नाले ग्रामीण नेपाली जन-जीवनले अपनाउँदै आएको जातीय संस्कार-संस्कृतिलाई बुझ्न सकिन्छ। अन्य भाषा साहित्य झैं सुरूमा नेपाली भाषामा लेख्य साहित्य थिएन, कथ्य वा लोकसाहित्य नै थियो। यहीँ नेपाली लोकसाहित्यभित्र नेपाली लोकसंस्कृति पनि बाँचेको छ। नेपाली लोकसंस्कृति पनि एकैचोटीको प्रचेष्टामा निर्मित बनेको अवश्यैक होइन। नेपाली संस्कृतिको स्रोत पहिल्याउने क्रममा आर्य वैदिक स्रोत र आर्येतर किरात स्रोतलाई मुख्य पृष्टभूमिको रूपमा रहेको भेट्छौं। अतः नेपाली संस्कृतिमा आर्य र आर्येतर संस्कृतिको समन्वित रूप भेटिन्छ। नेपाली संस्कृतिमा भोगवादी र योगवादी, भौतिकवादी र अध्यात्मवादी, आत्मवादी र अनात्वादी, विज्ञानवादी र ज्ञानवादी सबै किसिमको जीवनवादी सिद्धान्तको सम्मिश्रित प्रभाव परेको पाइन्छ नेपालीहरूले आत्मामा विश्वाोस गर्नु, कर्मवादी हुनु, त्याग र तपस्याको भावना राख्नुि, श्रृङ्गारप्रियता हुनु र धार्मिक सहिष्णुताको भाव राख्नु नेपाली जातीको जातीय सांस्कृतिक गुण हुन् ।

संस्कृति सर्वथा आन्तरिक र आध्यात्मिक हुन्छ, यसको गति र स्थिति, शाश्वुत र विशुद्ध हुन्छ । सांस्कृतिक सन्दर्भलाई कथामा प्रस्तुत गर्दा कथाले नयाँ ऊर्जा प्राप्त गर्छ, जुन ऊर्जाले कथालाई आकर्षक र मनमोहक तुल्याउनका साथै पाठकलाई आकर्षित पनि गर्दछ। बौध धर्म तथा रामायण र स्वस्थानी व्रतकथाका आख्यानहरू नेपाली समाजमा सस्कृति जतिकै आफ्नो बनिसकेको छ। हाम्रो जातीय लोकसंस्कृतिको निर्माणमा कुनै एक विशेष जाति वा पक्षको मात्र विशिष्ट योगदान रहेको नभइ विभिन्न जात-जातिहरूको साझा सम्मिश्रण छ, सामुहिक योगदान र भूमिका रहेको छ। ब्राह्मण-क्षत्रीहरूको बौद्धिकता, नेवारहरूको कलाप्रेम र मगर-गुरूङहरूको सरलताका साथै विभिन्न जातिहरूको संयुक्त मिलनसारितामा नेपाली संस्कृति हुर्कने, मौलाउने र फस्टाउने मौका पाएको छ। नेपाली लोकसंस्कृतिमा आध्यात्मिक संस्कतिले समेत अग्रणी भूमिका निर्वाह गरेको छ। अतिथिसेवा र परोपकारको भावना, ईश्वतरप्रतिको आस्था र भक्तिभावना हुनु, कलात्मक ढङ्गमा मन्दिर र देवालयहरूको निर्माण गरिनु, आदर्शभाव, आत्मसन्तोषी आनीबानी र व्यवहार देखा पर्नु आध्यात्मिक संस्कृतिका उज्ज्वल पक्षहरू हुन्। नेपाली लोकसंस्कृतिको जग यसैमा खडा भएको हुनाले हाम्रा लोकगीत-सङ्गीत, लोककथा-गाथा तथा पर्वगीतहरूमा लोकसंस्कृतिका यस्ता धेरै धेरै अमूल्य पक्षहरू उनिएर बसेका छन्।


३.भारतमा लेखिएका नेपाली कथामा लोक-सांस्क़ृतिक सन्दर्भ एंव लोकतत्त्वगत वैशिष्ट्य-

भारतमा लेखिएका नेपाली कथाको लोकसांस्कृतिक सन्दर्भबारे गहिरो अध्ययन-अनुशीलन गर्दा यसमा विविधता रहेको पाइन्छ । लोकसँग सम्बन्धित लोकजीवन, लोककला, लोकतत्त्व, लोकदृष्टि, लोकमत, लोकभाषा, लोकविश्वाैस, लोकबाजा, लोकव्यवहार आदि जस्ता शब्दहरूले समष्टि जनसामान्यका प्रवाहशील स्वस्फूर्त सम्वेदनालाई अभिव्यक्ति दिइरहेका हुन्छन्। अतः आञ्चलिकताले स्पर्श पाएको आख्यानहरूमा समेत कथ्य अञ्चलको लोकसंस्कृति, लोकजीवन, लोकव्यवहार, रहन-सहन, भेष-भूषा, धार्मिक आस्था-विश्वाोस, चाड़पर्व, मेलाजात्रा, लोकसङ्गीत-लोकनृत्य, स्थानीय भाषिक-व्यवहार, लोकोक्ति, परम्परागत रूढ़ीवादी संस्कार आदि तत्त्वहरूको उल्लेख रहेको पाइन्छ।

यस कार्यपत्रमा भारतमा लेखिएका नेपाली कथामा लोकसांस्कृतिक सन्दर्भको निम्ति विशेष गरी कथाकार शिवकुमार राई, एम.एम. गुरूङ, हायमनदास राई‘किरात’, इन्द्रबहादुर राई, सानु लामा, लीलबहादुर क्षत्री, बि.बि. लकान्द्री, असीत राई, सि.बि. प्रधान, वीरविक्रम गुरुङ, आइ.के सिंह, त्रिलोक राई, लक्खीदेवी सुन्दास, पूर्ण राई, ज्ञान सुतार, नन्द हाङखिम, गुप्त प्रधान, शरद् छेत्री, प्रेम गुरूङ, उदय थुलुङ, सञ्जय विष्टका कथाहरूबाट आधार सामाग्री ग्रहण गरिएको छ साथै यी कथाहरूमा लोकसांस्कृतिक सन्दर्भको अनुशीलन गर्ने धृष्टता गरिएको छ। अतः, यी कथाकारको कथामा प्रयुक्त समाज-सांस्कृतिक परम्परा धार्मिक संस्कार, आस्था विश्वास मूल्य मान्यतालाई आधार मानी लोकसांस्कृतिक सन्दर्भ केलाउन खोजिएको छ।

कथाकार शिवकुमार राई नेपाली समाज-संस्कृति सचेत कथाकार हुन्। राईका अधिकांश कथामा लोकजीवन, लोकविश्वाास र लोकसंस्कृतिका विविध तथ्याङ्कहरू पाइन्छन्। ग्रामीण सामाजिक जन-जीवनका रीतिथिति, चलन-चाँजो, लोक-व्यवहार, लोकभाषा, लोकसंस्कार-संस्कृति, लोकविश्वालस र लोकमान्यतालाई यथार्थ प्रस्तुति दिन खोजेका छन्। राईका कथाहरूमध्ये टीका, सिन्दुर पोते, बाबु-छोरा, मानिस, प्रेमलालको बिहे, पञ्चामृत, पुत्लो, स्मृति-चिन्ह, मसिनीको संसार, आज आमा आउँदिन त, त्यस रात, जरजेटको सारी आदि कथाहरुमा नेपाली गाउँ-बस्तीमा सामाजिक परम्परा अनुसार धामी-झाँक्री, ओझा-बिजुवा लगाउने, बोक्सी धपाउने, नाङ्ले भूत र बनको बुढेनी धपाउने, चामल गनेर, पानी-खरानी फुकेर शरीरमा लागेको लागोभागो पन्साउने, रात-बिरात हिँड्दा सिहें-सिण्डे, बोक्सी-डाइनी, भूतप्रेत आदि लागोभाव लाग्ने भन्ने किसिमका परम्परादेखि मान्दै र गर्दै ल्याएका सामाजिक विश्वाखस तथा अन्ध-विश्वादसहरूको उल्लेख उनका कथामा प्रशस्त पाइन्छन्। साहित्यिक र स्मृति-चिन्ह कथामा सोझो र अपठित गाँउले मानिसहरूमा धामी-झाँक्री, ओझा-विजुवाको झारफूकको कै प्रभाव अधिक रहेको देखिन्छ। सिन्दुर पोते, टीका, प्रेमलालको बिहे, बाबु-छोरा, ज्यानमारा शीर्षक कथाहरूमा दशैँको टीका, मारूनी नाचेको, मालसिरी गाएको, देउसी-भैलो खेलेको, ठूलाबडाले निधारमा चामलको टीका लगाइदिइ आर्शीवाद दिएको उल्लेख पाइन्छ भने अर्कोतिर मरौपरौ, बिहेबटुलो, बिहेको निम्ति बैनाबट्टा गरेको र झैंझगडा हुँदा गाँउपञ्च बसेर कुरा मिलाएको घटनाको प्रसङ्ग पनि आएको छ।

नेपाली जातिको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड दसैंमा परिवारका सदस्यहरू भेला हुने, ठूलाबडाबाट सानाहरूले आर्शीवाद ग्रहण गर्ने, नयाँ लुगा लगाउने र मिठो मसिनो खाने परम्परा आजसम्म पनि यथावत् रहेको छ। हाम्रा जातीय मुख्य चाडपर्वहरूमा दसैंका अतिरिक्त चैते दसैं, तीज, तिहार, माघे संक्रान्ति आदिलाई लिन सकिन्छ। दशैंको रमाइलो रामरमिता सकिएको लगत्तै तिहार आइपुगिहाल्छ। तिहारको रमझमले अझ नेपाली गाँउले जनजीवनमा हरियाली ल्याँउछ। तिहारका यी पाँचदिन-(कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरूतिहार र भाइतिहार) अर्थात् यमपञ्चकको तेस्रो दिनलाई गाईतिहारे औंसी वा दिपावलीको दिन बिहान गाई पुजेर साँझमा धनकी देवी लक्ष्मीको पूजा-अर्चना गर्ने गरिन्छ। यस कालरात्रीमा महालक्ष्मी पूजन गरी हाम्रा संस्कृतिप्रेमी दाजु-भाइहरू मादल, डम्फू, खैंजड़े गीत र नाच प्रस्तुत गर्छन्। एवंरीतले हाम्रा चेलीबेटीहरू पनि बाह्र महिनापछि फर्केर आउने यस रमाइलो औंसीको रातलाई कलापूर्ण ढङ्गले मनाउन भैलेनी(भैलो) गीत गाँउदै गाँउ-घरलाई उज्यालो पार्ने गर्छन् ।


टीका नेपाली जातीय सांस्कृतिक पहिचानको एउटा सफल उदाहरण हो। कथाकार राईको टीका कथामा हाम्रो सांस्कृतिक चाड दशैँको टीकाले हर्कबढाइ र खुशीयाली मात्र होइन तर मनको रागद्वेष, शत्रुताको नाश र सद्भाशवनाको कहिल्यै नमक्किने सेतु निर्माणको काम समेत गर्दछ भन्ने कुरो इङ्गित गरिएको छ। हिन्दु नेपाली समाजमा सिन्दुर पोतेलाई एउटा महत्वपूर्ण सांस्कृतिक प्रतीकको रूपमा मानिन्छ। नेपाली लोक परम्परा र जातीय लोकसंस्कृतिको एक पक्षको रूपमा सिन्दुर पोतेको महत्त्व र गरिमा दर्शाएर नेपाली जातीय संस्कृतिको साँचो परिचय दिएका छन्। नेपाली संस्कृतिमा सिन्दुरको एउटा विशिष्ट अर्थ र स्थान रहिआएको छ। हिन्दु संस्कृतिमा बिहे गर्दा एउटी कन्यालाई धार्मिक-सांस्कृतिक विधि-विधानपूर्वक सिन्दुर हाली पत्नी को रूपमा स्वीकार गरिन्छ। सिन्दुर पोतेको बन्धनले बाँधिएको दाम्पत्य जीवनमा यदि दैवसंयोगले पति पत्नीछभन्दा अघि मृत्युवरण गर्न पुगेमा आफ्नो सम्पूर्ण रक्षा खातिर पतिद्वारा लगाइएको सिउँदोको सिन्दुर पुछिन्छ, चुरा फुटाइन्छ र पोते चुडाइन्छ । यस प्रकार सुख दुःखमा सधैँ साथ र हात दिने हाम्रा जातीय लोकसंस्कृतिहरू हाम्रो समाजमा विद्यमान छन्।

सिन्दुर पोते कथामा नेपाली जाति गोष्ठीकै तामाङ सम्प्रदायका जातीय सांस्कृतिक परम्परा तथा रीतिरिवाजको पनि उल्लेख पाइन्छ। राईका प्रायः सबै जसो कथामा ग्रामीण नेपाली समाज र सांस्कृतिक सन्दर्भमा आउने भाँडावर्तन, भेषभूषा, खाद्यपदार्थ, चाडपर्व, मेला-उत्सव, लोकसङ्गीत तथा लोकसांस्कृतिक बाजागाजाहरूको पनि उल्लेख पाइन्छ। यसका साथै उनका कथामा ढिकी-जाँतो, फापरको पीठोको फुलौरो, लामा पढाउनु, तोर्मा मन्साउनु, तथा काँसो-ताँबाको गाग्रो, डबका, आमखोरा, ठेकी, गबुवा एवम् नेपाली जातीय सांस्कृतिक चाड़पर्वहरूमा नौरथा, तीज, दशैँ-तिहार, माघे संक्रान्ति, बिहेमा कन्यादानको प्रसङ्गको विशेष उल्लेख पाइन्छ। माघे संक्रान्तिको दिन विभिन्न किसिमका कन्दमूल र पकवानहरू छरछिमेकमा साटासाट गरी खाएको, नौरथा शुरू भएदेखि प्रत्येक नेपालीको घरघरमा मालसिरी गाउन थालेको, देउसी-भैलीको हूलहूल घरघर घुम्दै झिलीमिली देउसुरे भट्याँउदै, भैलेनी गीत गाउँदै प्रत्येक घर आँगनमा पुगेको तथा बिहेमा कन्येदानको शुभमुहूर्तमा सिलोकेहरूले सिलोक हालेको, डम्फू बजेको, मादल घन्केको आदि जस्ता नेपाली जातीय सांस्कृतिक प्रसङ्गको विशेष उल्लेख भएको भेटिन्छ।

लोकविश्वाोस र लोकव्यवहारलाई यस दृष्टान्तले स्पष्ट पार्न सहयोग गर्छ- यो नानीलाई तल पाँचथुम्कीका मसानको नजर परेछ। खोइ अलिकति खरानी झारिराखौं...(स्मृतिचिह्न)। भोलिपल्ट गजो-ढ्याङ्ग्रो, सामा सर्जाम र दुई धुपौरेका साथ झाँक्री आइपुग्यो। उसले चारैतिर सेउला गाड़ेर विवाह मण्डप जस्तो बनाई थान सिङ्गार्योत र बेतले बुनेको डेलीबाट कालो चिल्लो अण्डाकार ढुङ्गाहरू निकाली चामलमा गाड्यो।...जामा, फेटा, रूद्राक्ष र रिट्ठाको मालाले आफैलाई सिँगारेपछि गजले ढ्याङ्ग्रो ठोक्दै देवी-देवता, सिमे-भूमे, नाग-नगिनी सबैलाई पुकार्न थाल्यो ...(साहित्यिक)। त्यसरात र जरजेटको सारी शीर्षक कथामा पनि गाँउघरमा कोही मानिस विरामी भएपछि देवीदेवता, भूतप्रेत,बोक्सी-डाइनीको खेलले गर्दा यस्तो हुन पुगेको हो भन्ने अन्धविश्वा सको आधारमा उसको रोग निको पार्ने प्रयासमा झाँक्रीले चिन्ता बस्ने, खड्गो काट्ने, लामा पढाउने, तोर्मा मन्साउने, पुत्ला बनाएर पन्साउने-मन्साउने प्रथाको चित्रण-वर्णन पाइन्छ।

नेपाली लोकसाहित्य र संस्कृतिका वरिष्ठ पृष्टपोषक कथाकार एम.एम.गुरूङका अधिकांश कथाहरूमा ग्रामीण नेपाली समाजमा प्रचलित विविध लोक-संस्कार, रहन-सहन, रीतिरिवाज, चाडपर्व र धर्म-कर्मका यथार्थ प्रस्तुतिका साथै ग्राम्य लोकगीतहरू जस्तो सेलो, रोपाहारे, हाकपारे, दोहोरी आदि नेपाली लोकसांङ्गीतिक झाँकीहरूको उल्लेख पाइन्छ। यसका अतितिक्त ग्रामीण नेपाली समाजमा प्रचलनमा आएका विविध लोकव्यवहार, लोकसंस्कारगत चलन-चाँजोहरू जस्तो कलियाहरू केटी माग्न आएका, केटाले केटी भगाएर लैजाँदा भलापञ्च (पञ्चायत) बसेर कुरो मिलाएको, गाँउ-घरमा मरौ पर्दा रात कटनीका निम्ति रामायण पाठ गर्ने, चाड-पर्वहरूमा काग तिहार, कुकुर तिहार, गाई र भाइतिहार (यमपञ्चक) आदि लोकसांस्कृतिक सन्दर्भको उल्लेख उनको गाइने, जीवनयात्रा, चेली, धरतीले डाक्यो, ठूली आमा, माइती पूजा, एक रात दुइ भङ्गाला शीर्षक कथाहरूलाई दृष्टान्तस्वरूप प्रस्तुत गर्न सकिन्छ। कथाकार गुरूङले आफ्ना कथामा विविध प्रकारका लोकगीहरू प्रयोग गरेका छन्। एउटा गीतको पंक्ति दृष्टान्तको रूपमा टिपौं- माने-डाँडा स्वास्थ्य केन्द्र-मा डल्ले झाँक्री डम्फुको तालमा नाँच्दै यस प्रकार गीत गाँउछ-
‘शिव शिव मण्डल गाँउ ठुलो
खानु त के छ नाँउ ठुलो ।’

‘मार्योछ चेङबाले मार्योझ
नक्कल पारी मार्योो
आँखा फर्काइ मार्योच
जुल्फी खर्काइ मार्यो
कम्मर मर्काइ मार्योच
मार्योम चेङबाले मार्योर’

एवमरीतले प्रेम गुरूङको हाम्रो संस्कृतिको परिवेशभित्र...कथामा एकजना पात्र अशोक मादल बजाउँदै- शशी गीत गाउँदै नाच्छ। उनको मादले गीतले भन्छ-

‘छतिवनको रूखै ढाली
चतुरे दाइले खोपी खोपी
हो मेरो शशी ढुंग्रो बनायौ,
हिमालचुली पर्वत कामधेनु गाईको
छाला पनि तनाई मथुरा बनायौ
मेरो शशी मादल बनायौ
सरस्वती गोपेनीको नाचै रचायौ ।’

‘हा.....हा......हा......राम र लक्ष्मण
ए लै लै थिए दाज्यू-भाई शिवै
हा........हा.........हा..........
कोरी बाटी चुलेठी तिम्रो भाइ कसले बाटेकी
हा........हा.........हा.........
कोरी बाटी चुलेठी मेरो दिदैले बाटेकी...।’


सामाजिक कथाकारको रूपमा परिचित हायमनदास राई ‘किरात’का प्रायः सबैजसो कथाको भावभूमि विशेष गरी हामी बसेको समाज र हाम्रै जातीय सामाजिकता रहेको देखिन्छ। ग्रामीण परिवेशमा सिर्जित उनका धेरजसो कथाको कथ्यवस्तु र सहभागीहरूले त्यहींको सामाजिक संस्कार-संस्कृति, रीतिरिवाज, लोकपरम्परा र लोकविश्वासस-मान्यातालाई कथाको पृष्टाधार बनाएका छन्। किरातले ग्रामीण नेपाली जनजीवनलाई पृष्टभूमि बनाइ त्यहाँका लोकसांस्कृतिक विविध सन्दर्भलाई विभिन्न ढङ्गमा प्रस्तुत गरेका छन्। किरातका धिताल बाजे, संस्कार, साँध, आँधी बेहरी, जुनेली, मेरी घरकी, सुख आदि कथामा सामाजिक संस्कार, विवाह र मृत्यु- संस्कारका विभिन्न भाँतीहरू तथा छुवाछुत प्रथाको प्रत्यक्ष र परोक्ष विरोधभाव, सामाजिक रूढिवाद र अन्ध-विश्वाीसजस्ता विषयलाई कथ्य-विषय बनाइ कथा लेखिएको छ। अतः किरातका अधिकांश कथामा परम्परागत सामाजिक रूढ़ीवादी तथा नेपाली जातीय संस्कृतिको यथार्थ अङ्कन गरिएको पाइन्छ।

कथाकार इन्द्रबहादुर राईका अघिल्ला चरणका (विपना कतिपयकालीन) अधिकांश कथाहरूले नेपाली समाजभित्रकै सामाजिक-सांस्कृतिक विविध पक्ष र परिवेशलाई कथाको रूचिक्षेत्रभित्र समेट्न खोजेको भेटिन्छ। उनको रातभरी हुरी चल्यो, जारः भएकै एउटा कथा, चपरासी, छुट्याइयो शीर्षक कथाहरूमा नेपाली ग्रामीण जनजीवनको सामाजिक-सांस्कृतिक बिम्बहरूको प्रस्तुति, नेपाली जातीय चाडपर्वको महिमा र महत्त्वलाई केन्द्रिय पृष्टभूमिमा राखेर कथ्यसंयोजन गरिएको छ। सामाजिक-सांस्कृतिक चिन्तन बोकेका राईका कथाहरूमध्ये जारः भएकै एउटा कथा सर्वश्रेष्ट रहेको देखिन्छ, यस कथामा जारलाई ठाडै काट्न पाइन्छ भन्ने उक्ति र सन्दर्भलाई केन्द्रिय पृष्टभूमिमा राखेर देवी र मैतीले मित लाएको उल्लेख, मित (मितेरी साइनोले बाँधिएपछि) लाएपछि एक-अर्का एउटै घरको परिवारको सदस्यसरह हुने, बिहेबारी नचल्ने र मर्दा जुठो लाग्ने, मितेरी साइनो मिची बिहे गरेमा हाडफोरा होइने, गाँउमा बिहे कार्य र झैं-झगडा मिलाउन गाउँ-पञ्च (पञ्चायत<पञ्चेत) बसेर कुरा मिलाएको प्रसङ्गको उल्लेख पाइन्छ। छुट्याइयो कथामा लोग्ने-स्वास्नी छुट्‍‍‍टानामको निम्ति गाउँमा भलापञ्च बसेर मिलाएको घटना प्रसङ्गको उल्लेख पाइन्छ।

कथाकार बि.बि. लकान्द्रीका दशैँका टीका, गमबहादुरको कथा, आमा घर फर्किनन्, उनी मरेका छैनन् शीर्षक कथाहरूमा नेपाली समाजमा परम्परागत रूपमा मनाइने चाडपर्व, रूग्ण सामाजिक रूढीवादी संस्कार, अन्ध-विश्वापस, जातीय भेदभाव तथा लोकजीवन र लोकव्यवहारसँग सन्दर्भित लोकोक्तिहरूको प्रयोगले ग्रामीण नेपाली समाजको लोकसांस्कृतिक विशिष्टता झल्किएको पाइन्छ। उपरोक्त कथाहरूमा दशैँ-तिहारमा नेपाली पारामा मादल घन्केको, माघे-संक्रान्तिको दिन मकर नुहाएको, घरमा मरौ पर्दा मलामीहरूलाई गौंत-सगुनपानीले चोख्याएको, बिहे-बटुलोको प्रसङ्गको मागी बिहेमा चरापेरोङ्गो, दही-ठेकी, साइमुन्द्री, जन्तेबाख्रो आदिको पनि उल्लेख भएको पाइन्छ। सानु लामाका स्वास्नी मान्छे, पाहुना आदि सामाजिक-संस्कृतिपरक कथामा ग्रामीण नेपाली जनजीवनमा मनाइने चाडपर्व, उत्सव-जात्रामा मादल बजाइ नाचेको-गाएको, घरेलु रक्सी-जाँड खाएर रमाइलो मनाएको, नेपाली जातीय खानपान तथा अतिथि(-देव भव) सत्कारको विशेष प्रसङ्ग उल्लेख छ।

पूर्ण राईका फुलेको तोरीबारीमा मातेको मान्छेलाई, एउटा अर्को निर्माण, सिमलको भूवा, तह नमिलेको जिन्दगी, अनन्त एउटा प्रश्ना, टिस्टा-रङ्गीतको एउटा अर्को कथा, देखेको यो कथा, हिजोका कुराहरू, जिन्दगीः तुवाँले पाखा शीर्षक कथाहरूमा अलिखित सामाजिक नियम-नीति, अन्धविश्वारस, रूढीवादी मूल्य-मान्यता, लोक-कौशल र भौतिक संस्कृतिको चिह्नारी, लोक-प्रचलनअनुसार गरिने लौकिक न्याय-निसाफ प्रणाली जस्तो गाँउ प्रमुख वा मण्डलको घरको आँगन-(दलान)मा पञ्चायत बस्नु, बिहेमा नौमती बाजा-गाजा बजाउँदै भाले-पोथी सहनाई बजाउँदै रमाइलो गर्दै जन्ती बेहुलीको घरमा जाने, सिलोक हाल्ने, बिहे भएको तीन दिनमा दुरान फर्काउन जाने प्रचलन नेपाली लोकजीवनका परम्परागत नियम र व्यवहारिकता नै बनिसकेको देखिन्छ। मगनी विहेको प्रसङ्गमा उल्लेख गरिएको घटनालाई दृष्टान्त यस प्रकार प्रस्तुत गर्न सकिन्छ। यस कथामा केटी हेर्न वा केटी माग्न जाँदा गरिने परम्परागत कुराकानीको झल्को दिने प्रसङ्ग उल्लेख छ- ढुङ्गामुनि साँप होला रिसानीमा माफ माफ होला हजूर, हामी परदेसी होइनौ, खोलापारीका हौं, चोर डाकुको कुरा गरौं भने हजुर झन् चोर डाकु हुँदै होइनौं, नत्र त हामी हजुरको बघैंचाको फुल टप्प चोरेर लानेथ्यौं अब कुरामा कुरा चियामा चिउरा हजुर फुल फुलेपछि बास्ना चल्छ, बास्ना चलेपछि भमरा-मौरी आउँछ, परकिर्तीको यो कुरा हजुर जान्नुहुन्छ भनेदेखिलाई हामीचाहिँ हजुरको दलानमा भिच्छे माङ्न आएको झोली-तुम्बी, चिम्टा नभएको साधु-सन्यासी जस्तै हौं, हामीलाई रूपे-पैसा चाहिएन, दाल-चामल परेन तर हजुर यो हाम्रो केटोको लागि हजुरकी कान्छी छोरीको हात चाहियो।


असीत राईका गाँउले कलाकारको कथा, प्रश्न सधैँका, आफ्नै आकाशको खोज र कुवाको धमिलो पानी शीर्षक कथामा गाउँले नेपाली समाजमा हुने बिहेमा नौमती बाजा बजेको, सोह्रश्राद्धदेखि नै गाउँ घरमा मादल बज्न र मालश्रीको राग घरघरमा गुञ्जिन थालेको तथा दिपावलीको रात देउसी-भैलो खेलेर रमाइलो मनाएको, भाइटीकाको दिन चेलीको हातबाट माइती राजाले टीका थापेको, परम्परादेखि चलिआएको रूढीवादी संस्कार तथा अन्ध-विश्वाजसले ग्रस्त र त्रस्त बनेको नेपाली समाजको अङ्कन पाइन्छ। लोकसंस्कृति र लोकसंस्कारको आस्तित्त्विक सङ्कटप्रति कठोर व्यङ्ग्यप्रहार गरी त्यसप्रति चेतना जगाउन उन्मुख शरद् छेत्रीको अतिथि कलाकार, सञ्जय विष्टको भविष्यवाणी, नन्द हाङखिमका अन्तिम संस्कार र अर्को साँढ , कालुसिहं रनपहेंलीका स्वतन्त्रता, दशैँ टार्नु छ यसपाली पनि, मर्यादाको रक्षार्थ, डा.त्रिलोक राईको घुम्ती घर- काइँली, प्रेम गुरूङको हाम्रो संस्कृतिको परिवेशभित्र..., ज्ञान सुतारको सूतक परेको घर, सि.बि.प्रधानको पहाडे र मधिशे आदि कथाहरूमा लोकसंस्कारगत चलन-चाँजो, रीतिथिति, रहनसहन, अन्धविश्वाैस र रूढीवादी परम्परा, ब्रत-पूजाको विधि-विधान, बिहे र मृत्युसंस्कारका प्रक्रियाहरू, नेपाली समाजिक र लोकसांस्कृतिक बिम्बहरूको सफल प्रस्तुतिले कथाहरू जीवन्त बन्न पुगेका छन्। यी कथाकारहरूले सामाजिक-धार्मिक तथा लोकसांस्कृतिक बिम्ब-प्रतीकका माध्यमबाट कथालाई अझ सशक्त तुल्याएका छन्।

यी कथाहरूमा ग्रामीण नेपाली समाजमा लोक-विधिद्वारा उपचार गर्ने-गराउने, धामी-झाँक्री, ओझा-विजुवा, वैदाङ- जनापा लगाइ झार-फूक गर्ने, माघे संक्रान्तिमा मकर स्नान गर्ने आदि प्रसङ्गले अझ लोकसंस्कृतितिर नजिक्याएको छ। खानपान, भेषभूषा-पहिरन, चाडपर्व, वास्तुकला, लोकशिल्प, गरगहना, भाँडाकुँडा वा सरसमान, हातहतियार-औजार, बाजागाजा, लौकिक गीत-सङ्गीत, न्याय-निसाफ तथा उपचारका लोक-प्रविधिहरू नै भौतिक वा लौकिक संस्कृतिहरू हुन्। अतः लोकसंस्कृतिअन्तर्गत लोकोक्ति वा मौखिक भाषिक अभिव्याक्ति मात्र पर्दैनन् तर यसभित्र लोकमान्यता, सम्पूर्ण रीतिरिवाज, जीवनचक्रका विविध पूजाआजा र अनुष्ठानहरू, लोकौषधौचार, परम्परागत ज्ञान र प्रविधिहरू पर्छन्, यसैले यसको परिधि फराकिलो छ।

लोकोक्ति लोकजीवनकाजीवित शास्त्रो हुन् र ती लोकजीवनमा व्यावहारिक अनुभवबाट खारिएर निस्केका सूत्रात्मक, ज्ञानवर्द्धक र सारगर्भित अभिव्यक्ति हुन्। सामाजिक जनजीवनका विविध रीतिथिति, चाडपर्व, धर्म-संस्कृति र जीवन-दर्शन प्रस्तुत गरिरहेका हुन्छन्। लोकसंस्कृति, लोकधर्म र लोकजीवनलाई प्रस्तुति दिने सफल उखान र लोकोक्तिहरूमा शिवकुमार राईका कथाहरूबाट खाईसार कि लाईसार, मरेपछि लम्पासार (जरजेटको सारी), आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि (चुनारगढकी बन्धिनी), छोराछोरी जन्मियो हर्कमान, छोराछोरी बढ्यो आमा-बाबु थर्कमान (पुत्लो), लक्खीदेवी सुन्दासको कथाबाट छोरा-छोरी कुजात,लोग्ने मान्छे जात टाडा़ भयो कि घर विरानो (पर्खालहरू), एम.एम. गुरूङको कथामा प्रयुक्त भाग्यमानीको भूतै कमारा (धरतीले डाक्यो)पूर्ण राईका कथाबाट नेपाल जाउ कपालसँगै बर्मा जाउ कर्मसँगै(एउटा अर्को निर्वाण), नाँच्न जान्दैन आँगन टेढो(जय-विजय), मनको बह कसैलाई नकह(मेआइ कम इन), जुन गोरूको सिङ छैन त्यसकै नाँउ तिखे(देखेको यो कथा), नपाउनेले केरा पायो बोक्रैसित खायो(तरल दिनहरू) आदि दृष्टान्तका रूपमा प्रस्तुत गर्न सकिन्छ।

नेपाली सांस्कृतिक चाडपर्व, मेला-उत्सवहरूको पृष्टभूमिमा समेत धार्मिक आस्था-विश्वासस, मूल्य-मान्यताले निकै ठूलो प्रभाव पारेको देखिन्छ। दीघार्युको कामना, सुख-समृद्धिको चाहना र कामना तथा अदृश्य शक्तिको आराधना-उपासमा गर्ने प्रचलन- परम्परा हाम्रो नेपाली समाज-संस्कृतिमा पाइन्छ। यसर्थ धार्मिक आस्था-विश्वाछस, आध्यात्मिक मूल्य-मान्यता नेपाली लोकसंस्कृतिको प्राण हो भन्न सकिन्छ। नेपाली समाजमा विशेष गरी बोक्सी-डाइनी, भूतप्रेत तथा मसान, तन्त्रमन्त्र र योगप्रतिको विश्वाीस रहेको पाइन्छ। लोकविश्वाेस लोकआस्थाको प्रतीक पनि हो। रीतिरिवाज, आस्था, निष्ठा, भविष्यवाणी, भाग्य, श्राप, नियम-निषेध र समाज सम्वन्धित लोकविश्वाोसहरू पनि लोकसंस्कृतिका महत्त्वपूर्ण आधारहरू भएका हुनाले यसको आफ्नै र बेग्लै किसिमको स्थान रहेको छ।


४. निष्कर्ष एवं मूल्याङ्कन-

आज दिनप्रतिदिन जटिल बन्दै गएको जीवन-पद्धतिमा परा-पूर्वकालदेखि परम्पराका रूपमा चल्दै आएको नेपाली लोकसंस्कृतिको जगेर्ना गर्ने, संरक्षण र विकास गर्ने, प्राचीनता र परम्पराको सम्भरण गर्ने, संस्कारगत मूल्य-मान्यताको पहिचान गर्ने दिशातर्फ हाम्रो प्रचेष्टा कम हुँदै गए जस्तो देखिन्छ। बढ्दो वैज्ञानिक प्रभाव र भौतिकवादको विश्वषव्यापीकरणले पनि यसमा केही हदसम्म प्रभाव र असर पारेकै छ। आजको शिक्षित युवावर्गको अधिकांश समय र श्रम कम्पुटर र इन्टरनेटले खाइदिएको छ। आजको युवावर्ग आफूलाई सकेसम्म युगसापेक्ष, समयसापेक्ष तुल्याउन सक्रिय रूपमा ज्ञानको खोजीमा दिनरात लागिपरेका छन्, किनभने यसैमा संसारका सम्पूर्ण ज्ञान र सूचनाको केन्द्र छ, जिज्ञासा र सम्भावनाहरूको समाधान छ। थोरै समय र श्रममा पनि धेरै काम र ज्ञानार्जन गर्न सकिने फराकिलो गोरेटो छ। यसमा उमेर, भाषा, जाति-वर्ण-धर्म, कूल-वंश-परम्परा र बुढो अनुभवको कुनै बन्देज छैन, बाधा-अडचन छैन, विधि-विधान केही पनि छैन। यस परिप्रेक्ष्यमा कम्पुटर-इन्टरनेटको तुलनामा अन्य परम्परागत ढाँचाका कुराहरू स्वाभाविकै केही पछि परेका छन्। अतः कम्पुटर, इन्टरनेट र विभिन्न भौतिक साधन-सुविधाको बढ्दो प्रभावको कारणले गर्दा हाम्रो कतिपय लोकसांस्कृति सम्पदाहरू, लोकसंस्कृतिगत मूल्य-मान्यता र चिह्नारीहरू दिनप्रतिदिन ओझेलमा परिसकेको कटुसत्य पनि दृष्टिगोचर हुन आँउछ। कतिपय अवस्थामा हाम्रा लोकसांस्कृतिक सम्पदा र धरोहरहरू, मूल्य-मान्यता, आस्था-विश्वाससहरू साइबर संस्कृतिको बढ्दो प्रभावले तहसनहस स्थितिमा बाँच्नलाई निकै सङ्घर्ष गर्नु परिरहेको स्थिति छ।

भौतिक दृष्टिले मानिस जतिसुकै सम्पन्न भए पनि मानिस बाँच्नलाई समाज चाहिन्छ, शान्ति चाहिन्छ, धार्मिक-आध्यात्मिक आस्था-विश्वानस पनि चाहिन्छ। यस प्रकार समयक्रमसँगै समन्वयात्मक रूपमा नेपाली लोकसंस्कृति अघि बढेको छ। नेपाली लोकसंस्कृति विश्व मा छरिएर बसेका नेपाली भाषी र संस्कृतिप्रेमी जातिको साझा जीवनशैली हो। पुस्तौंदेखि खारिएर र माझिएर आएको नेपाली भाषी जातिको जीवनप्रणाली पनि हो । नेपाली लोकसंस्कृतिमा नेपाली जातिभित्रैका विभिन्न धर्म र जातगत संस्कार-संस्कृतिका बीच एक-अर्कामा पारस्परिक सौहार्द र भातृत्वको भावना बढाउने र समन्वय ल्याउने आदि जस्ता महत्वपूर्ण विशेषताहरू र भूमिका निर्वाह भएको पाइन्छ। राष्ट्रिय चेतना , जातिप्रेम र देशभक्ति भावनामा अढेसो लागेर मौलाएको नेपाली लोकसंस्कृतिमा जुनसुकै धर्मावलम्बी भए पनि पारस्परिक सहयोगको भावना लिइ नेपाली समाजमा इज्जतसाथ बाँचेका छन्। दुःख-सुखमा साथ र हात दिने प्रवृत्ति नेपाली जातीय संस्कृतिको आफ्नो मौलिक विशेषता पनि हो।

सन्दर्भ विवरण-
१.अमित कुमार शर्मा, भारतीय संस्कृति का स्वरूप, कौटिल्य प्रकाशन (दिल्ली, सन् २००६)
२.हंसपुरे सुवेदी, नेपाली लोकजीवनः लोकविश्वापस, साझा प्रकाशन (काठमाडौं, वि.सं २०५५)
३.एस. एम. वाइवा, परम्परागत नेपाली लोकगीत- लोकसंस्कृति, निर्माण प्रकाशन (नाम्ची, सन् २००८)
४.सत्यमोहन जोशी, हाम्रो लोकसंस्कृति, रत्नप पुस्तक भण्डार, (काठमाण्डौं, वि. सं. २०१४)
५.गोपीकृष्ण शर्मा, नेपाली निबन्ध परिचय, रत्न‍ पुस्तक भण्डार (काठमा़डौं, वि.सं २०६४, दो.सं)
६.माधवप्रसाद सापकोटा, लोकसाहित्यको परिचय र लोककथाको समाजशास्त्री य अध्ययन, सुजाता प्रकाशन ( काठमाडौं, वि.सं २०६६,)
७.जीवेन्द्रदेव गिरी, लोकसाहित्यको अवलोकन, एकता प्रकाशन ( काठमाडौं, वि.सं २०५७,)
८.राजकुमार छेत्री, सिर्जनाको समावलोकन, गामा प्रकाशन ( दार्जिलिङ, सन् २००९)
९.पेशल दाहाल र सोमप्रसाद खतिवडा, नेपाली समाज र संस्कृतिको परिचय, एम. के. पब्लिशर्स ( काठमाडौं, वि.सं. २०६०)
१०.काजीमान कन्दङ्वा, नेपाली जन-साहित्य, रायल नेपाल एकेडेमी (काठमाडौं, वि.सं २०२०)
११.चूडामणि बन्धु, नेपाली लोकसाहित्य, एकता बुक्स डिस्ट्रिब्युटर्स (काठमाडौं, वि.सं २०५८)
१२.राजकुमारी दाहाल, नेपाली आञ्चलिक उपन्यास, लेखक स्वयम (सिलगढी, सन् २०११)
१३.राधा शर्मा, नेपाली उखानको सामाजिक पक्ष, सन्त जोसेफ्स् कलेज ( दार्जिलिङ, सन् २०१०)
१४.डी.बी सिंह, लोक-लवज, स्म़ति सिंह उप्रेती र ज्योति सिंह, (दार्जीलिङ,२०११)
१५.अविनाश श्रेष्ठ (सम्पा.),आधुनिक भारतीय नेपाली कथा,साझा प्रकाशन, (काठमाडौ, वि.सं.२०६४)

शोध-पत्रिका र साहित्यिक पत्र-पत्रिकाहरू-

१.पवन चामलिङ (सम्पा.), निर्माण संस्कृति विशेषाङ्क (वर्ष-१९, अङ्क-३४, अप्रेल १९९९, निर्माण प्रकाशन, नाम्ची, सिक्किम)
२.रामलाल अधिकारी (सम्पा.), दियालो वाङमय विशेषाङ्क ( वर्ष-२२, अङ्क-१००, अप्रेल १९८४,नेपाली साहित्य सम्मेलन, दार्जिलिङ)
३.घनश्याम नेपाल (सम्पा.), अभिज्ञान (वर्ष-१, अङ्क-२,जुलाई-दिसम्बर-२०१०, नेपाली विभाग, उत्तरबङ्ग विश्वविद्यालय, राजाराममोहनपुर, दार्जिलिङ)

उप-प्राध्यापक,
स्नातकोत्तर नेपाली विभाग
दार्जिलिङ सरकारी महाविद्यालय,दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 बैशाख, 2071

लेखकका अन्य रचनाहरु