भारतीय नेपाली समालोचनाको पृष्ठभूमि, स्वरूप र विकास प्रक्रियाको सर्वेक्षण

- बासुदेव पुलामी

१. भारतेली नेपाली समालोचनाको पृष्ठभूमि
भारतमा नेपाली भाषा-साहित्यको प्रारम्भ र विकास भएको लगभग दुई-अढाइसय वर्षको इतिहास पाइन्छ। लोक सवाई, भोटको सवाई, लहरी काव्य, भक्तिलहरी, प्रेमलहरी, ढ्वाङ्ग तान्दा गाइने गीत, चियापत्ती टिप्ता गाइने गीत, टुङ्ना भजन तथा निर्गुण सन्तभजन आदि भारतीय नेपाली साहित्यको पृष्ठभूमिमा राख्न सकिन्छ। लोककाव्य एवं लोकसाहित्य परम्पराको ऐतिहासिक तथ्य पाउन गाह्रो भए जस्तै भारतीय नेपालीभाषी समाजमा साहित्यको प्रारम्भिक इतिहास लोक जनजीवन जत्तिकै पुरानो हुन सक्छ, यसको खोज र अनुसन्धानको अर्को पाटो छदैँछ।
भारतीय नेपाली समाजमा लोककाव्यको पृष्ठभूमिमा एकातिर ज्ञानदिल दासले निर्गुण काव्यपरम्परा लिएर अघि आए भने अर्कातिर व्रिटीस मिसनरीहरू अङ्ग्रेजी धर्म, शिक्षा, र व्यापार लिएर आएका थिए। भारतमा नेपालीहरूका केन्द्र दार्जिलिङमा अङ्ग्रेजहरूले जग नै बसाए। त्यसताक दुवै पन्थीले एउटा राम्रो काम गरे, त्यो काम नेपालीभाषी समाजमा शिक्षाको प्रचार थियो। यसरी भारतेली नेपालीभाषी समाज साहित्य र शिक्षाको क्षेत्रमा द्रुत गति पक्रेर अघि बढेको थाह पाइन्छ। ब्रिटीस आगमनको प्रारम्भसितै भित्रिएका विचारका नयाँ क्षितीजले नेपालीभाषी समाजमा ठुलै परिवर्तन ल्याइदिएको पाइन्छ। भारत स्वतन्त्रपूर्वकालीन व्रिटीस उपनिवेशको प्रभाव र उन्नाइसौं शताब्दीको दुईवटा विश्वयुद्धको प्रभावले भारतेली नेपालीभाषी समाजलाई विशेष गरेर नयाँ चेतना मिलेको देखिन्छ। यसरी हेर्दा भारतमा राम्ररी नेपाली भाषा-साहित्य लेखी नसकेको इतिहास पाइन्छ भारतेली नेपाली समालोचनाको पृष्ठभूमिमा।
२. भारतेली नेपाली समालोचनाको स्वरूप
कुनै पनि भाषाका साहित्यमा कविता, कथा, उपन्यास, नाटक, निबन्ध, जीवनी आदि जस्ता मौलिक कृतिहरू सिर्जना भएपछि त्यस कृतिको रसास्वादन गरेर पाठक तथा सामाजिकले निश्चित मूल्यबोधका आधारमा कृतिबारे केही प्रतिक्रिया गरिँदा नै समालोचनाको जन्म हुन्छ। हुन त प्रत्येक मानवमा केही न केही समालोचना चेत हुन्छ। यस चेतको आधार भनेको रूचि-अरूचि, आकर्षण-विकर्षण, लोभ-त्याग, स्वकीय-परकीयजस्ता भावको प्रभाव हो र आलोचना यिनै क्रियाको प्रतिक्रिया हो। साहित्यिक कृतिको अनुभूतिगत प्रभाव र प्रतिक्रियालाई, अध्ययन, चिन्तन्, मनन गर्दै त्यसबारे आफ्नो मत वा विचार राखिँदा समालोचनाको सामान्य स्वरूप तयारी हुन्छ। यसरी अरूका सिर्जनात्मक एवं रचनात्मक लेखनबाट पोषकतत्त्व ग्रहण गरेर आफू बाँच्ने परजीवी(प्यारासाइट) विधाको रूपमा पनि समालोचनालाई चिनिन्छ। नेपाली भाषामा समालोचनाको पर्यायवाची शब्दको रूपमा प्रतिक्रिया, विवेचन, अवलोकन, पर्यावलोकन, पर्यवेक्षण, आलोचना, टिप्पणी, निरीक्षण, निरूपण, सिंहावलोकन, समीक्षण, मीमांसा आदि जस्ता नाम पनि प्रचलित छन्।
समालोचनाको परम्परा हेर्दै जाँदा प्रारम्भमा पूर्वमा संस्कृत साहित्यका भरतका नाट्यशास्त्र र राजशेखरको काव्यमीमांसाबाट भएको मानिन्छ भने पाश्चात्य साहित्यमा पाँचौं शताब्दीको ई. पू. देखि युनानका एरिस्टोफेन्स, सोक्रेटज, प्लेटो, एरिस्टोटलजस्ता विद्वान् विचारकहरूका समयदेखि भएको मानिन्छ। पूर्वमा भरत, अभिनव गुप्त, भामह, दण्डी, कुन्तक, वामन, आनन्दवर्धन आदि समीक्षकहरूका काव्यसिद्धान्त र काव्यदर्शनले परवर्ती समयसम्म भारतीय साहित्य र समीक्षामा प्रभाव पारेको देखिन्छ भने पाश्चात्य साहित्यमा एरिस्टोटलको पोएटिक्सबाट प्रेरणा ग्रहण गरेर सिसेरो, होरेस, क्विन्टिलिएन, लोन्जाइनस आदिका चिन्तनप्रक्रिया र हब्स, कान्ट, शोपेन्हावर, हिगेल, क्रोचे, आदिका दार्शनिक विचारहरूबाट काव्यशास्त्रको निर्माण भएको पाइन्छ। संस्कृतमा प्रतिपादित रस, अलङ्कार, ध्वनि, छन्द, वक्रोक्तिहरू काव्यादि मूल्याङ्कणका सुनिश्चित मानदण्ड बनेर साहित्यलाई अन्तर्निष्ठ वस्तुको रूपमा हेरिएको पाइन्छ। तर पाश्चात्य समालोचनामा साहित्य समीक्षाको मानदण्ड भनेकै सौन्दर्यविज्ञान रह्यो र विस्तारै विविध चिन्तन, पद्धति र मूल्यहरूमा रूपान्तारित बन्दै समृद्ध र फराकिलो हुँदै गएको देखिन्छ। फलस्वरूप पाश्चात्य समालोचनामा अभिजात्यवाद, आदर्शवाद, स्वच्छन्दतावाद, प्रभाववाद, यथार्थवाद, प्रकृतवाद, मार्क्सवाद, प्रगतिवाद, अस्तित्ववादजस्ता अनेकन् मूल्य निर्णायक पद्धतिहरूको विकास भएको देखिन्छ। यसप्रकार पाश्चात्य समालोचनाले साहित्यलाई अधिक बहिर्निष्ठ दृष्टिबाट अध्ययन गरेको देखिन्छ। पाश्चात्य समालोचनाले युगानुकुल विकास, परिवर्तन् र सम्बर्दन गर्दै अघि बढेको देखिन्छ भने पूर्वीय समालोचनामा आज पनि उनै मूल्य र मान्यता रहिआएको देखिन्छ। यद्यपि पूर्वीय समालोचना पद्धत्तिको आफ्नै किसिमको मानदण्ड रहेकाले आज पनि अनुकरणीय र आफैंमा समृद्ध छ। आज आएर पाश्चात्य साहित्यकै मानदण्डअनुसार साहित्यको समालोचना गरिने प्रकियालाई आधुनिक तथा उत्तरआधुनिक समालोचना मानिएको पाइन्छ। तर समालोचनाको क्षेत्रमा पूर्वीय र पाश्चात्य दुवैतिरका काव्यदर्शन र काव्यचिन्तनको अध्ययन हुन आवश्यक देखिन्छ। वास्तवमा आज प्रचलित पाश्चात्य समालोचनाले धेरै विचारहरू पूर्वीय आचार्यहरूबाट ग्रहण गरेको भेटिन्छ। यस सन्दर्भमा इन्द्रबहादुर राई लेख्छन् – पूर्वीय शास्त्रमा शब्दका जति सामर्थ्य बताइएका छन् (अभिधा, तात्पर्य, लक्षणा, व्यञ्जना, ध्वनि, स्वभावोक्ति, वक्रोक्ति) समान्तरीय विश्लेषणहरू र साहित्यिक मतहरू पाइन्छन् पश्चिममा। रिचर्ड्सको referential meaning अभिधा हो, emotive meaning व्यञ्जना हो वेलेकको structure को मत ध्वनि हो। ब्रुक्सको paradox, जेम्सको irony, इलियटको wit, एम्पसनको ambiguity, ऱ्यान्समको texture को मत (extension शाब्दिक अर्थ, intention रूपकीय अर्थ) अभिधा र लक्षणा बिचको तनाउ र सन्तुलन हो। पूर्वीयको साधरणीकरण पश्चिमीय Reader Reception एवं Reader Response सिद्धान्तसित दाँजेर हेर्न सकिन्छ। पूर्वीय आचार्य भरतको विभाव, अनुभाव र व्यभिचारिभाव संयोगबाट रसनिष्पतिको सन्दर्भ इलियटको objective correlative सित धेरैले दाँजेको चर्चा उनले गरेका छन्। यसप्रकार तुलना गरेर समालोचक राईले साहित्य अध्ययनमा पूर्वीय र पाश्चात्य समालोचना साहित्यको समानताबारे देखाएका छन्। यद्यपि पूर्वीय र पाश्चात्य समालोचना सिद्धान्तमा भिन्नताहरू पनि धेरै भेटिन्छ। पूर्वीय समालोचना सिद्धान्त रूपवादी देखिन्छ भने पाश्चात्य समालोचना सिद्धान्त वस्तु (विषय)वादी रहेको देखिन्छ।
यसप्रकार हेरिँदा भारतेली नेपाली समालोचनाले पूर्वीय र पाश्चात्य दुवैतिरका काव्यदर्शन र काव्यसिद्धान्तका मान्यताहरूलाई अङ्गिकार गरेको देखिन्छ। समालोचक इन्द्रबहादुर यस दिशातर्फ बढेका एकजना सचेष्ट भारतेली नेपाली समालोचक हुन्, जसले साहित्यको आलोचना गर्ने सैद्धान्तिक मान्यता तयार पारेर नेपाली साहित्यमा आयामेली सिद्धान्त र लीलालेखनको प्रारम्भ गरेका छन्। उनले यसदिशामा पूर्वीय र पाश्चात्य दुवैतिरका काव्यमर्मज्ञहरूका काव्यदर्शनबारे अध्ययन गरेर त्यसको प्रयोगसम्म गरेका छन्। आज आएर यिनै पृष्ठभूमिबाट उठेर भारतेली नेपाली समालोचना अघि बढिरहेको पाइन्छ। नेपाली भाषा भारतीय आधुनिक आर्य भाषाहरू मध्ये एउटा हो। यस भाषाको लेख्य परम्परा, भाषा विस्तार, लोक साहित्य, साहित्य लेखनको प्रारम्भ आदि पनि समालोचनाको पृष्ठभूमिमा महत्त्वपूर्ण पक्ष हो। नेपाली भाषाले आधुनिक परम्परा (पन्ध्रौं शताब्दीदेखि यता)मा आइपुग्दा सम्म साहित्य राम्ररी लेखि सकिएकै थिएन। नेपाली भाषा आधुनिक आर्य भाषा भएका हुनाले नेपाली समालोचना सामू ती प्राच्य र पाश्चात्य समालोचनाका प्राचीन तथा आधुनिक सिद्धान्तहरू, मान्यताहरू, मानदण्डहरू र विधिहरूको पूर्वनिर्मित परम्परा बसिसकेको थियो। यसरी हेर्दा नेपाली समालोचना तथा भारतेली नेपाली समालोचनाले पूर्वीय र पाश्चात्य दुवै काव्यदर्शन र काव्यचिन्तकहरूबाट प्रभाव र प्रेरणा ग्रहण गरी सैद्धान्तिक स्वरूप स्थापित गर्न खोजेको देखिन्छ।

३. भारतीय नेपाली समालोचनाको विकास प्रक्रिया
भारतमा बनारस भाषा-साहित्यको एउटा यस्तो केन्द्रस्थल बन्यो जहाँबाट नेपालीभाषी समाजले शिक्षा र साहित्य दुवैलाई अघि बढाउने प्रेरणा प्राप्त गरेको थियो। भारतको बनारसमा शिक्षादिक्षा लिएका मोतिराम भट्ट नेपाली साहित्यमा पहिलो समालोचक मानिन्छ। सचेत रूपमा उनले समालोचना नै नलेखेका भए तापनि उनमा समालोचकीय दृष्टिकोण पाइन्छ। यसैले नेपाली समालोचनाको सन्दर्भ उठ्दा मोतीराम भट्टलाई नसम्झिकन अघि बढ्नु ऐतिहासिक तथ्यप्रति अदेखा गर्नु हुन्छ।
नेपाली साहित्यमा भानुभक्त आचार्यको जीवनचरित्र लेखेर मोतिराम भट्टले पहिलो पटक भानुभक्त आचार्यलाई चिनाउने काम सँगसँगै समालोचनाको आधारभूमि तयार गरिदिए। यस कृतिभित्र उनले नेपाली कविहरूका श्रेणी छुट्याएर कृतिम कवि र सजह कविबारे चर्चा गरेका छन्। यसबाट मोतिराम भट्टको समालोचनात्मक प्रवृत्तिको परिचय पाइन्छ। यस अवधिमा समालोचनाको निम्ति प्रशस्त मौलिक कृतिहरूको रचनाको अभाव पनि रहेको देखिन्छ। तथापि प्रारम्भिककालमा पुस्तकको सामान्य परिचय दिनु, कवि प्रतिभाको परिचय गराउनु, जीवनवृत्त प्रस्तुत गर्नु जस्ता कुरा नै नेपाली समालोचना प्रारम्भिक प्रवृत्ति रहेको देखिन्छ।
भारतेली नेपाली समालोचनामा मोतिराम भट्टपछि झन्नै ३१ वर्षको अन्तरालमा सूर्यविक्रम ज्ञवाली देखा परेका हुन्। नेपाली साहित्य र समाजमा मौलिक कृति लेखनको क्रम विस्तारै बढ्दै गइरहेको समयमा देखापरेका सूर्यविक्रम ज्ञवाली (सन् )ले नैवेद्यको समालोचना लेखे। यसमा उनले समाजमा व्याप्त नैतिक आचरण र समाजोपयोगी विचार अघि राखेको देखिन्छ। यसर्थ ज्ञवालीले नीतिवादी आलोचना पद्धतिबाटै भए पनि व्यक्ति सँगसँगै कृतिलाई पनि महत्व दिएर आलोचना गरेको पाइन्छ। यसप्रकार समालोचनाले व्यक्तिदेखि कृतितिर लम्किएको छनक ज्ञवालीको समालोचनाबाट थाह पाइन्छ।
आधुनिककालको प्रादुर्भाव विस्तारै फैलिँदै गएपछि भारतीय नेपाली समालोचनामा प्रशंसामूलक, गुणगानपूर्ण, नीतिमूलक, भावपरक समीक्षाहरूका साटो कृतिपरक, गुणदोष विवेचनापरक र वस्तुपरक समालोचनाहरू लेखिन प्रारम्भ गरे। यसमा रामकृष्ण शर्मा (सन् १९२१-८६) सबैभन्दा अग्रणी रूपमा देखापरे। शर्माले नेपाली समालोचनाको बाटोमा एउटा निकै ठुलो मोड ल्याएको देखिन्छ। उनले अङ्ग्रेजी साहित्यको प्रभाव शीर्षकमा समालोचना लेखेर नेपाली समालोचना क्षेत्रमा नै निर्भिक्क समालोचकको रूपमा आफुलाई चिनाए। उनलाई यसै समालोचनाले नेपाली साहित्यमा समालोचकको रूपमा स्थापित गराएका हुन्। कवि भानुभक्तको विषयमा, कविको धन, नाटक सम्भन्धी छोटो लेख, साहित्यिक रूचिको प्रौढता, समाज र साहित्य इत्यादि समालोचनात्मक लेखमा रामकृष्ण शर्मालाई प्रखर समालोचकको रूपमा चिनिन्छ। यिनका समालोचनामा गुण-दोष, असल-खराब, सत्य-असत्यजस्ता विषयलाई स्पष्ट पार्ने निर्भिक्कपन देखिन्छ। यिनकै समालोचना देखि भारतीय नेपाली समालोचनामा गम्भीरता आएको देखिन्छ। यिनका समालोचनात्मक पुस्तक सप्तशारदीय (सन् १९६७), दस गोर्खा (सन्१९६९) टेबिल गफ नौ बैठक (सन् ) आदि प्रकाशित छन्।
यसै कालमा देखापरेका कवि, निबन्धकार, समीक्षक तथा सामाजिक र शैक्षिक विषयमा केन्द्रित खोज र अन्वेषण गर्ने अर्का समालोचक पारसमणि प्रधान हुन्। उनका भाषा प्रवेश नेपाली व्याकरण, पाँच पौरखी पुरूष रत्न, अमरजीवनी, रोचक संस्मरणका दुई खण्ड, काँठे झाक्री, नेपाली भाषाको उत्त्पति र विकास, टिपन-टापन आदि पुस्तक प्रकाशित छन्।
यस समयका अन्य भारतेली समालोचकहरूमा ईश्वर बराल, भाइचन्द्र प्रधान पनि मुख्य देखिन्छ। ईश्वर बरालका समालोचनात्मक कृतिहरूमा आख्यानको उद्भव (सन्१९८२), लक्ष्मीप्रसाद देवकोटा र उनका काव्य (सन्१९९८), सुवानन्ददेखि शम्भुप्रसादसम्म (सन्१९९८), रूपनारायण सिँहका व्यक्तित्व र कृतित्व (सन्१९९८), छरिएका समीक्षा (सन् १९९८), बालकृष्ण सम: व्यक्ति र कृति (सन् १९९१) आदि। उनले ऐतिहासिक, वस्तु तथ्यात्मक र समीक्षात्मक पद्धत्तिको अवलम्बन गरी समालोचना गरेको पाइन्छ। नेपाली समालोचनामा कृतिपरक अध्ययनलाई विशेष महत्व दिएर त्यसबाट कृतिकारको परिचय दिएको कुरो उनको समालोचनात्मक कृतिको नामकरणबाट पनि थाह पाउन सकिन्छ। भाइचन्द्र प्रधानको समालोचनात्मक लेखहरू आदिकवि भानुभक्त आचार्य, नेपाली जीवनमा रामायणको प्रभाव, भानुभक्तको छन्द चुनाई, पुराना कविहरू र छन्दहरू जस्ता लेखबाट उनलाई अन्वेषणात्मक पद्धति अवलम्बन गर्ने समालोचकको रूपमा चिनाउन सकिन्छ।
भारतेली नेपाली समालोचनाका लागि अझ उर्वर मलिलो काम स्वतन्त्र्योत्तर कालमा आएर भएको देखिन्छ। यस कालमा प्रशस्त मात्रमा मौलिक कृतिको प्रकाशन भएका छन्। यसका साथै साहित्यमा नयाँ नयाँ सिद्धान्तको उद्घाटन, प्रयोग र विस्तारले गर्दा भारतेली नेपाली साहित्यमा पाश्चात्य साहित्यका विभिन्न प्रभावहरू रहेको देखिन्छ। यस कालमा आएर नेपाली समालोचनाले जीवनीमा आधारित गुणगानपूर्ण आलोचनालाई तिलाञ्जली दिएर त्यसको ठाउँमा कृति-केन्द्रित, वस्तुतथ्यात्मक, सिद्धान्तमा आधारित वस्तुपरक, तुलनात्मक अनि व्यवहारिक समालोचनाको विकास गरेको देखिन्छ। यस कालमा आएर देखापरेका प्रमुख समालोचकहरूमा इन्द्रबहादुर राई, गणेशलाल सुब्बा, डिल्लीराम तिम्सिना, राजनारायण प्रधान, गुमानसिंह चाम्लिङ, चन्द्रेश्वर दुबे, लक्खीदेवी सुन्दास, कुमार प्रधान, कमला सांकृत्यायन, महानन्द पौड्याल, जगत् छेत्री, शरद् छेत्री, गोकुल सिन्हा आदि देखिन्छ ।
इन्द्रबहादुर राई आफ्ना समालोचनाको प्रारम्भमा तथ्यान्वेषकको रूपमा देखापरेको देखिन्छ। त्यसपछि उनले नेपाली समालोचनालाई अधिक वस्तुपरक, वैज्ञानिक र व्यवहारिक रूप दिए। पाठको केन्द्रमा भएको वैचारिकतालाई केलाउँदै आफ्ना तर्क, दृष्टान्त र निष्कर्षहरू दिँदै वस्तुनिष्ठ किसिमले आलोचना गर्नु राईको समालोचनात्मक प्रवृत्ति रहेको देखिन्छ। उनका समालोचनात्मक कृतिहरू टिपेका टिप्पणीहरू (सन् १९६६), कथास्था (१९७२), नेपाली उपन्यासका आधारहरू (सन् १९७४), सन्दर्भमा ईश्वर बल्लभका कविताहरू (सन् १९७६), साहित्यको अपहरण: मार्क्सवादिक प्रतिबद्धता (सन् १९९४), दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४), अर्थहरूको पछिल्तिर (सन् १९९४) आदि हुन्। यी समालोचनाका कृतिका साथै विभिन्न पत्र-पत्रिकामा पनि उनका आलोचनात्मक लेखहरू प्रकाशित छन्। पूर्वीय र पाश्चात्य काव्यदर्शनका विचारले बुनिएका उनका आलोचनात्मक दृष्टिकोण प्रयोगशील देखिन्छ। राईको समालोचनात्मक प्रवृत्तिमा आयामेली, लीलालेखन हुँदै पछिल्ला चरणमा आएर प्रयोगपरक र विनिर्माणवादी आलोचनात्मक दृष्टिकोणको विकास भएको देखिन्छ। समालोचक कृष्ण गौतमले इन्द्रबहादुर राई लाई नेपाली समीक्षाको रोलाँ बार्थ नै भनेका छऩ्।
गणेशलाल सुब्बाका केही फुटकर समालोचनात्मक लेखहरू प्रकाशित पाइन्छन्। उनले मार्क्सवादी वैचारिक अवधारणा लिएर आफ्ना आलोचनात्मक दृष्टि राखेको देखिन्छ। मुना मदन एक यथार्थवादी समालोचना, कलामा यथार्थवाद र प्रकृतवाद, विद्रोही कवि लक्ष्मीप्रसाद देवकोटा, कला र राजनीति जस्ता आलोचनात्मक लेखहरू प्रकाशित छन्। नेपाली साहित्यमा प्रगतिवादी साहित्य, मार्क्सवादी साहित्यका अध्येताका रूपमा उनलाई चिनिन्छ।
डिल्लीराम तिम्सिना मूलत: प्राचीन पूर्वीय काव्यशास्त्र र दर्शनको अध्ययनबाट कृतिको वस्तुपरक, तुलनात्मक र ऐतिहासिक दृष्टि राखी लेख्ने समालोचक हुन्। उनले सरल, सहज भाषामा आफ्ना आलोचनात्मक अभिमत प्रस्तुत गरेको देखिन्छ। उनका प्रकाशित कृतिहरू , बसिँबियालो, भाषा र साहित्य, ज्ञान विज्ञानको दिशा, काव्यमिमांशा आदि हुन्।
राजनारायण प्रधानको समालोचनात्मक प्रवृत्ति प्रभाववादी रहेको देखिन्छ। उनले कुनै पनि कृतिको आलोचना गर्दा शिष्ट र भव्य भाषाको प्रयोग गरेर गम्भीर विषयलाई पनि सरलतापूर्वक विश्लेषण गरिदिएका हुन्छन्। उनका प्रकाशित कृतिहरू नौ नामी नेता, पैंतीस प्रसिद्ध पुरूष, पन्ध्र प्रशिद्ध पुरूष, ठट्टै ठट्टा, दार्जिलिङ डायरी, केही कृति : केही स्मृति आदि हुन्। उनका समालोचना कृतिहरूमा ऐतिहासिक, तुलनात्मक र व्यवहारिक समालोचनात्मक दृष्टि रहेको देखिन्छ।
भारतेली नेपाली साहित्यमा कवि, कथाकार र समालोचक रूपमा लक्खीदेवी सुन्दास परिचित छन्। उनले सम्मेलन कथासङ्ग्रह, सम्मेलन कवितासङ्ग्रह, अकादमी निबन्धावली सम्पादन गरेकी छन् भने समय समीक्षणा उनका समालोचनात्मक कृति हो। उनका समालोचनामा पनि प्रभाववादी रहेको देखिन्छ। यद्यपि एकाध समालोचनामा उनले उत्तरआधुनिकतावादी अवधारणा प्रस्तुत गर्दै आलोचना गरेको पाइन्छ।
नारी समालोचककै रूपमा देखापरिकी अर्की समालोचक हुन् कमला सांस्कृत्यायन। उनका विचार र विवेचना (सन् १९८१) नामक समालोचना कृति पाइन्छ। नेपाली र हिन्दी भाषाका ज्ञाता सांस्कृत्यायनमा तुलनात्मक र विवेचनपरक समालोचकीय दृष्टि रहेको पाइन्छ।
गुमानसिंह चामलिङले पूर्वीय र पाश्चात्य साहित्यसिद्धान्तको आधारमा आफ्ना आलोचनात्मक आधारशीला निर्माण गरेको देखिन्छ। ग्रीक र ल्याटिन भाषाका पनि ज्ञाता चामलिङले रामकृष्ण शर्मा झै आफुलाई लागेको कुरा निर्भिक्क रूपमा प्रस्तुत गरेको देखिन्छ। नेपाली साहित्यमा कविका रूपमा पनि परिचित चामलिङका मौलो (सन् १९७९), एरिस्टोटलका काव्यशास्त्र आदि कृति प्रकाशित छन्।
समालोचक कुमार प्रधानले धेरै समालोचना नलेखे तापनि उनको आलोचनामा प्राज्ञिक गम्भीरता र तथ्यपरक ऐतिहासिक दृष्टिचेत पाइन्छ। यस अतिरिक्त उनी पूर्वीय र पाश्चात्य समालोचना शास्त्रका गम्भीर अध्येयता पनि हुन्। उनका समालोचनात्मक कृति वार्ताहरू (सन्१९७१), पहिलोपहर (सन्१९८२), अधीति केही (सन् २००५) आदि प्रकाशित छन्।
प्रभाववादी र टिप्पणीमूलक समालोचना लेख्ने रामलाल अधिकारीको नेपाली एकाङ्की यात्रा, नेपाली कथा यात्रा, नेपाली निबन्ध यात्रा र रसिक रचनावली जस्ता आलोचनात्मक र समीक्षात्मक कृति प्रकाशित पाइन्छ। यसकालमा देखापरेका अन्य समालोचकहरूमा नरबहादुर दाहाल, भीमकान्त उपाध्याय, शिवराज शर्मा, सुर्यकला थापा, छविलाल उपाध्याय, लक्ष्मीप्रसाद पराजुली, विद्यापति दाहाल, एस. एन. छेत्री, शान्तिराज शर्मा, असीत राई, बद्रीनारायण प्रधान, शरद् छेत्री, बी. योञ्जन, नन्द हाङ्खिम, एम. बी. राई, कितापसिंह राई, एम. पथिक, सुर्यकुमार सुब्बा, डी. के. श्रेष्ठ, प्रेम थुलुङ, कुमार छेत्री, डिल्लीप्रसाद अधिकारी, नगेन्द्रमणि प्रधान, कृष्ण गिरी, डी. कुमार परियार, चन्द्र शर्मा, हरेन आले, हस्त नेचाली आदि देखिन्छ।
यसप्रकार विवेचनात्मक, समीक्षात्मक, प्रगतिवादी, प्रभाववादी, तुलनात्मक, अन्वेषणपरक, ऐतिहासिक र केही मात्रामा सैद्धान्तिक समालोचनाको विकासले भारतेली नेपाली समालोचनामा नयाँ नयाँ प्रवृत्तिहरू भित्रिएका थिए। तर पछिल्ला दसकमा आएर साहित्यका विभिन्न विधा कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदिमा नवीन किसिमका रचना देखिन थालेपछि नवीन प्रवृत्ति र विशेषताले युक्त त्यस्ता रचनाहरूको विश्लेषणका लागि परम्परित सौन्दर्यचिन्तन तथा समालोचना पद्धत्तिहरू अपर्याप्त देखिन थाले। विशुद्ध साहित्यशास्त्र र सिद्धान्तका आधारमा मात्र हुने समालोचनाको सम्भावना विस्तारै झिनो हुँदै गएको देखिन्छ। साहित्यको समीक्षणका लागि साहित्येतर सिद्धान्तबाट पनि हेरिनु पर्ने मान्यता प्रारम्भ भएपछि उत्तरवर्ती भारतेली समालोचनाले पनि नयाँ सैद्धान्तिक मान्यतातिर लम्किएको देखिन्छ। यसका आवश्यकताबोध गरेर समालोचना लेख्ने भारतेली नेपील समालोचकहरूमा इन्द्रबहादुर राई, घनश्याम नेपाल, पेम्पा तामाङ, मोहन पी. दाहाल, राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, हर्कबहादुर छेत्री, वत्सगोपाल प्रतापचन्द्र प्रधान, जीवन नाम्दुङ, जस योञ्जन प्यासी, नरेशचन्द्र खाती, रत्न बान्तवा, गुप्त प्रधान, पुष्प शर्मा, कृष्णराज घतानी, दिवाकर प्रधान, कविता लामा, राजकुमारी दाहाल, राधा शर्मा, शान्ति छेत्री, सञ्जय वान्तवा, पुष्कर पराजुली, जय क्याक्टस, सुधीर छेत्री, राजु हिमांसु प्रधान, आनन्द खड्का, दिल श्रेष्ठ, राजकुमार छेत्री, नवीन पौड्याल, हिरा छेत्री, दीपक तिवारी, सपन प्रधान आदि देखिन्छ।
यस चरणमा समालोचक इन्द्रबहादुर राईको अर्थहरूको पछिल्तिर प्रकाशित भएको देखिन्छ। जसअन्तर्गत उनले उत्तरसंरचनावादी विचार र मिथकबारे विवेचनात्मक अध्ययन प्रस्तुत गरेको देखिन्छ। यसै पद्धत्तिलाई अवलम्बन गर्ने अर्का समालोचकका रूपमा घनश्याम नेपाल रहेको देखिन्छ। उनका आख्यानका कुरा(सन् १९८६), शैलीविज्ञान(सन् १९९२), नेपाली साहित्यको परिचयात्मक इतिहास(सन् १९९२), रूप र रेखाहरू(सन् १९९६) आदि प्रकाशित छन्। उनले वस्तुनिष्ठ, पाठकेन्द्री, रूपपरक तथा शैलीपरक अध्ययन गरेर नेपाली समालोचना क्षेत्रलाई अद्यवधिक अघि बढाएको पाइऩ्छ।
समालोचक प्रतापचन्द्र प्रधानको माध्यमिक कालीन नेपाली कवितामा शृङ्गार(सन् १९९०), नेपाली उपन्यास : पृष्ठभूमि र परम्परा (१९८३), कथावलोकन(१९८३), आदि प्रकाशित छन्। उनको समालोचनाले सैद्धान्तिक, व्यवहारिक र कृतिपरक मान्यतालाई अङ्गिकार गरेको देखिन्छ।
समालोचक मोहन पी. दाहालका लेख प्रलेख (सन् १९९२), आधुनिक नेपाली उपन्यास (सन् १९९३), गणेशलाल सुब्बाका साहित्यिक समालोचना र अन्य लेखहरू (सम्पा. २०००), दार्जिलिङका नेपाली उपन्यास : परम्परा र प्रवृत्ति (सन् २००१) आदि समालोचना कृति प्रकाशित पाइन्छ। उनका आलोचनामा ऐतिहासिक, तुलनात्मक, समाजशास्त्रीय र व्यवहारिक समालोचनाको प्रवृत्ति पाइन्छ।
समालोचक जीवन नामदुङका नेपाली साहित्यका भौंप्वालहरू (सन् १९७८), हरिभक्त कटुवल (सन् १९९०), पर्यवेक्षण (सन् १९९३), समकालीन नेपाली समालोचना (सम्पा. सन् २०००), उल्लेख (सन् २००६), अगमसिँह गिरीका कविताको अध्ययन र आधार (सन् २०००) मितेरी साइनो (स् २००२)स्वतन्त्रोत्तरकालका नेपाली कथाहरू (सन् २००७), शिवकुमार राईका नाटकहरू (सम्पा, सन् २०१२)आदि प्रकाशित छन्। नामदुङका समालोचनामा अधिक प्रभाववादी, कृतिपरक र व्यवहारिक समालोचनात्मक प्रवृत्ति पाइन्छ।
जस योञ्जन प्यासीका प्यासीका केही समालोचना (सन् १९८३), डा. पारसमणी प्रधानका कृति कैरन, परख, आदि प्रकाशित छन्। यिनका समालोचनामा ऐतिहासिक, तुलनात्मक, प्रगतिवादी आलोचनात्मक दृष्टिचेत पाइन्छ।
नरेशचन्द्र खातीका अध्ययन नेपाली समालोचना (सन् २००७), अध्ययन नेपाली निबन्ध(सन् २००७) आदि।उनले वस्तुपरक र कृतिपरक आलोचना गरेको पाइन्छ। हर्कबहादुर छेत्रीका भारतीय नेपाली कविताको परिप्रेक्ष्यमा चामलिङको कविता : एक अध्ययन (सन् १९९६) एउटै मात्र समालोचना प्रकाशित छन्।
राजेन्द्र भण्डारी अनि मनप्रसाद सुब्बाका समालोचना ग्रन्थ प्रकाशित नपाए तापनि फुटकट रूपमा प्रकाशित समलोचनाले भारतेली नेपाली समालोचनालाई अघि बढाएका छन्।
पेम्पा तामाङका आख्यानदेखि पराख्यानसम्म (सन् २००५) एउटा मात्रै समालोचना कृति प्रकाशित छन्। यद्यपि उनका समालोचनामा पनि उत्तरआधुनिकतावादी दृष्टिचेतलाई आत्मासात गरेर आलोचना गरेको पाइन्छ। उनी पाठपरक, वस्तुनिष्ठ आलोचना गर्न रूचाएको देखिन्छ।
यसकालका अन्य प्रतिनिधि समालोचकहरूमा गुप्त प्रधानका धुमिल पृष्ठहरू, केही विषय : केही विशेषता, हिरा छेत्रीका भारतेली नेपाली पत्र-पत्रिकाको शताब्दी १८८७-१९८६, कविता लामाका भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन (सन् २००२) दिदृक्षा (सन् २००५), अनुशीलन (सन् २०१०), दिवाकर प्रधानका कविताका कुरा(सन् २०१३), राजकुमारी दाहालका अनुवाद विमर्श(सन् २०१०), आञ्चलिक उपन्यास (सन् २०११), दिल श्रेष्ठको आञ्चलिक नेपाली उपन्यास ( ), राजकुमार छेत्रीका सिर्जनाको समावलोकन(सन् २०१०), अवलोकन अववोधन (सन् २०१०) कृति कैरन, नवीन पौड्यालका आख्यान अनुशीलन, (सन् १९९३) , सपन प्रधानका कृति कीर्ति(सन् २०११) दीपक तिवारीका सिक्किमका साहित्यिक इतिहास पृष्ठभूमि र परम्परा (सन् २०१३), प्रकाशित छन्।
निष्कर्ष:
जीवनीपरक समालोचनाबाट प्रारम्भ भएको नेपाली समालोचनाले पूर्वीय र पाश्चात्य समालोचनाका सिद्धान्तबाटै प्रभाव ग्रहण गरेर अघि बढेको पाइन्छ। भारतीय नेपाली भाषा-साहित्यको प्रारम्भ र पृष्ठभूमिलाई केलाएर हेरिँदा सुरूमा मोतिराम भट्टमा पूर्वीय आलोचना दृष्टिचेत देखिए तापनि आधुनिक युगमा प्रवेश गरेपछि भारतेली नेपाली समालोचना पाश्चात्य आलोचनातिरै ज्यादा लहसिएको देखिन्छ। यसका मूलकारण पाश्चात्य शिक्षा र संस्कृतिको विस्तारवादी नीतिले गर्दा पनि भएको कुरो स्वीकार्न सकिन्छ। पूर्वीय समालोचनाको सैद्धान्तिक परिपाटिको तुलनामा पाश्चात्य समालोचनाको सैद्धन्तिक मूल्य र मान्यतालाई नै धेर महत्व दिएर आलोचना गर्ने प्रवृत्ति भारतेली भाषाहरूमा नै परेको एउटा ठुलो प्रभाव हो भन्न सकिन्छ। यसबाट भारतेली नेपाली भाषा-साहित्य पनि अछुत रहेन। वास्तवमा पूर्वीय समालोचना सिद्धान्तमा प्राचीन, उपयोगी र वैज्ञानिक पद्धत्तिको सम्यक दृष्टिचेत पाइन्छ। आज आएर भारतीय भाषाहरूमा पूर्वीय समालोचना सिद्धान्त र पाश्चात्य समालोचना सिद्धान्तबारे तुलनात्मक अध्ययन गरेर आफ्ना काव्यशास्त्रीय दृष्टिकोण विकास गर्न पट्टि लागेको देखिन्छ। तसर्थ नेपाली समालोचकहरूले पनि पाश्चात्य दृष्टिचेत सँगसँगै पूर्वतिर फर्केर नेपाली समालोचनाको नयाँ नयाँ सम्भावनाहरूको अध्ययन-अन्वेषण गर्न आवश्यक रहेको देखिन्छ। भारतेली नेपाली समालोचनामा आज आएर आधुनिकता देखि उत्तरआधुनिकतावादी विभिन्न दृष्टिचेतको प्रभाव पाइए तापनि हाम्रा समाजमा त्यस्ता मान्यताहरू कतिको सापेक्षिक छन् अथवा छैनन् जस्ता कुरालाई पनि ध्यानमा ऱाखेर अध्ययन गरिनु पर्छ। अन्यथा त्यस किसिमका आलोचनाले, समालोचनाको नाममा सापटि विचारको थुप्रो मात्रै हुनजान्छ। आज आएर भारतेली नेपाली समालोचनाले पनि उत्तरसंस्कृतिवादी अवधारणाअन्तर्गत विनिर्माणवाद, उत्तरऔपनिवेशवाद, उत्तरसंरचनावाद, नारीवाद, परिवेशविमर्श जस्ता आलोचनालाई पनि अङ्गिकार गरेर अघि बढिरहेको पाइन्छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 1 जेठ, 2071

लेखकका अन्य रचनाहरु