कवि मनप्रसाद सुब्बा र भुइँफुट्टा शब्दहरू

- बासुदेव पुलामी

▪ समकालीन नेपाली कविता परम्परामा एउटा ठुलो अवकास ओगटेर बसेको नाम हो मनप्रसाद सुब्बा। उनीबारे अथवा उनका कविताहरूबारे बोल्नु भनेको त्यो अवकासभित्र प्रवेश गर्नु पनि हो, म जस्ता साधरण पाठकबाट त्यो निश्चय सम्भव छैन अथवा भनुँ यो मेरो एउटा दुस्साहस पनि हुन सक्छ । यसैले यसपल्ट कविताहरूका एकजना सुधीजन पाठकको हैसियतमा दुईचार कुरा राख्ने प्रचेष्टामा मात्र छु म।
कवि र कविताबारे लेल्नु साह्रै जोखिम कार्य हो। कवि र कविताको मापदण्ड के हो र कति हुन सक्छ ? भन्ने प्रश्न धेरै पुरानो हो, आज पनि त्यस प्रश्नको सठिक उत्तर मिल्न सकेको छैन। कविता आफैमा एउटा भाषाको माध्यमले भनिने कला हो। भाषा आफैमा रूपकात्मक हुन्छ, यसले भन्न खोजेका सम्भावनाहरू थुप्रै अर्थहरूतिर सङ्केतित हुन्छ। कविताको भाषा त यसै पनि आलङ्कारिक(रेटोरिक), प्रतीकात्मक, विम्बमय, अन्तर्लययुक्त भइदिँदा त्यो भाषिक सम्भावनाको खेल अझ झ्याङ्गिएर गएको हुन्छ। भाषाका माध्यम कविताले ओगटेका अवकास र रिक्तताहरूबाट पाठकहरूले घरिघरि अर्थका पत्र-पत्र उप्काइ रहन्छन्। कविता पढदा कवितामा पाठकले कसलाई खोज्छन् ? कवि(लेखक)लाई कि आफैलाई ? यो एउटा अर्को जटील प्रश्न छ। यस्ता जटीलता र जोखिमता बिचमा उभिएर कविताबारे बोल्नु आफैलाई कठघरामा उभ्याउनु सरह हुन्छ कि(?)। आजका सिर्जनामा लेखक र पाठक दुवैको दायित्व बराबर रहेको देखिन्छ। किन कि जुनसुकै सिर्जनाको पनि पाठ अवलोकन नगरूञ्जेल त्यसको अस्तित्व अघि आउन सक्तैनन्। त्यसमा पाठकको अहम भूमिका हुनै पर्छ। तसर्थ सर्जक र पाठकको जिम्मेवारी बराबर देखिन्छ। अब त पाठकले पनि पाठको सतही पठन र उपभोक्ताका रूपमा मात्रै अंशग्रहण गर्नु चाहिँ सर्जकको लेखनप्रति खेलाँची गर्नु हुन्छ, पाठक आफै अनुत्तरदायी हुनु पनि हुन्छ। तसर्थ पाठमा सर्जकले छाडेका रिक्तताहरूलाई खोज्दै अघि बढ्नु पाठकको धर्म हुन्छ। आजका लेखनमा पाठकको ठुलै विश्वास गरिन्छ। तर कतिपय पाठक साह्रै अल्छे हुन्छन् । आज आएर सर्जकले पाठकलाई स्वतन्त्र रूपमा बोल्न सक्ने प्रशस्त अवकासहरू दिएका छन्।
बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरूदेखि भुँइफुट्टाशब्दहरूसम्मको काव्यिक यात्रामा कवि मनप्रसाद सुब्बाको कवित्व शक्ति अझ प्राञ्जल र तिख्खर हुनु भनेको उनीभित्र भएको भाषाको कला शक्तिले गर्दा नै हो। नवनव उन्मेषशालिनी प्रतिभा भेट्छौं कवि सुब्बाका प्रत्येकपल्टका कविताकृतिहरूमा। उनलाई पढदा/सुन्दा प्रत्येक पल्टको लेखनमा नयाँ नै भेट्छौं। कवि केवलचन्द्र लामाले कवि मनप्रसाद सुब्बालाई युवाकवि त्यसै भनेको होइन रहेछ। समयचेत कवि सुब्बाको स्थायी स्वर हो। आफ्ना अघिका सङ्क्रमणशील समयलाई हेर्न सक्ने कवि सुब्बा यसैले पनि युवा हुन्। लगभग चार दशकदेखि लगातार रूपमा लेखनमा लागेका कवि सुब्बाका कविताहरू सँधै ताजापन (freshness)लिएर देखापर्छन्। बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू,उष्मा, बुख्याँचाहरूको देशमा, आदिम बस्ती, ऋतु क्यानभसमा रेखाहरू, अक्षर अर्केस्टा, किनाराका आवाजहरू,(सह-लेखन) एकपछि अर्को भिन्न भिन्न (कथ्य) विषयलाई टिपेर लेखिएका कृतिहरू हुन्। यसरी समय सङ्क्रमणको क्षितीजलाई दुरगामी दृष्टि राखी लेख्न सक्ने कविहरू बिरलै हुन्छन्। यसमा कवि सुब्बा सफल रहेको देखिन्छ।
▪ भुँइफुट्टा शब्दहरू कविता सङ्ग्रहका नामकरणमा लोकविम्बको एउटा ध्वनि अघि आउँछ। भुँइ अर्थात् धरती, माटो, पृथ्वी अनि त्यस भन्दा अझमाथि सृष्टिजस्ता अर्थहरूतिर प्रशस्त सङ्केत गरिएको भेटिन्छ। त्यसभन्दा अझ माथि आमा, जगतजननी सृष्टिकर्ता आदि अर्थतिर सङ्केतित हुँदै बढेको छ। कविले यस सङ्ग्रहका कविताहरूमा यिनै विषयहरूलाई विशेष रूपले सम्बोधन गरेको भेटिन्छ। भुँइफुट्टाको शाब्दिक अर्थ हुन्छ भुँइ फोरेर बाहिर निस्किएको, अकृतिम आफै उम्रिएको, अस्वाभाविक रूपमा एक्कासी उदय भएको, कुनै आफन्त नभएको, गुरूबिना आफै मन्त्र सिद्धि प्राप्त गरेको आदि। कवि सुब्बाका कविताहरूलाई धेरैवटा बिन्दुहरूबाट हेर्न सकिन्छ। भुँइफुट्टा शब्दहरू कविता सङ्ग्रहका कविताहरू काव्यिक अर्थमा अकृतिम, स्वाभाविक, जस्ताको तस्तै अथवा सक्तो अलङ्कारविहीन, अभिधामा स्फुरन भएको भाव विम्बलाई भन्न खोजिएको हो भन्ने कुरो यस कविता सङ्ग्रहको भूमिकामा भनेका छन्। यद्यपि कलामा कृतिमता पनि हुन्छ नै। रोमन ज्याकोब्सनले एकठाउँ भनेका छन् – कविता सामान्य बोलीमा प्रहार गरिने व्यवस्थित हिंसा हो (organized violence committed on ordinary speech)। तर कविताको भाषा साधारण सामान्य बोली मात्रै नभएर असाधरण किसिमको सामान्य हुन्छ। त्यही नै कविको भाषिक कला शक्ति पनि हो। कविता यसैले भाषाको माध्यमले भनिने कला। भाषा आफैमा रूपकात्मक भए पछि त दर्शन, विज्ञान, इतिहास र अर्थशास्त्रको भाषा पनि आलङ्कारिक हुन्छ भन्ने कुरो पनि उत्तरसंरचनावादी र भाषाकेन्द्री आलोचनाले भनेकै छ। तर कविता त आफैमा सुन्दर हुन्छ, भाषा त एउटा माध्यम मात्रै भइदिन्छ भन्नेहरू पनि छदैँछन्। आजको कविताले आजकै भाषामा स्वाभाविक र अकृतिम भाषाले सम्बोधन गर्न चाहन्छ कवि सुब्बा। तर त्यसो भन्दैमा भाषाका अन्य प्रयोग र बोलचालको भाषामा कविता भनिँदैन। उत्तरआधुनिक विसङ्गठनवादीहरूले बोल्ने भाषामा पनि अलङ्कार हुन्छ भने तापनि। बोलचालको भाषा भन्दा भिन्न भएर नै त्यसले आफ्नो निजस्व प्राप्त गर्दछ। कुनै पनि शब्द आफैमा कलात्मक र अकलात्मक हुँदैन। शब्दमा आन्तरिक सौन्दर्य हुँदैन, सौन्दर्य त तिनीहरूको संयोजनमा हुन्छ। कविले कसरी संयोजित र व्यवस्थित गरेको हुन्छ, त्यसमा निर्भर रहन्छ। वास्तवमा कवि सुब्बाका प्रत्येक कवितामा शैलीगत र शब्दचयनमा अपरिचितिकरण(डिफमिलिऱ्याइजेसन)को चमत्कारले गर्दा नै हामीलाई नयाँ लाग्छ। नेपाली समाजमा भुत्ते भएर हराउँदै गएको लिम्बुसंस्कृतिका लोकमिथक, प्रतीकात्मक इतिवृत्त(Symbolic narratives), मौखिक परम्पराका(oral speech), मौखिक कला (Verbal art) जस्ता विषयले अझ प्रशस्त नयाँ विम्बको निर्माण भएको लाग्छ। अनुपस्थितलाई उपस्थित गराएर लेखेको हुनाले पनि पाठकलाई नयाँ लाग्छ।
▪ कवि सुब्बाका कवितामा के (विषय/वस्तु) र कसरी (रूप/शैली) लेखिएको छ भनेर खोज्नेहरूका निम्ति मनग्गे ठाउँ बनाइदिएको पाइन्छ। सुरूमा आधुनिकतावादी आयामेलीहरूका शैलीगत प्रभावको प्रक्षेपनहरू पाइए तापनि पछि आएर उनी आफ्नै वाग्धराले बोल्ने भएर आयामेलीहरू भन्दा धेरै सम्प्रेषणीय हुँदै गए। विषयगत सन्दर्भमा सुरूमा जीवन दर्शनका सूक्ष्म विषयदेखि मानव र मानवेत्तर चरित्र अनि मानवीय आदिम संस्कृतिका विषयलाई पनि काव्यको वस्तु चयन गर्दै अघि बढेको पाइन्छ। अघिल्ला चरणका कविताहरूमा जीवन जगत नै केन्द्रमा रहिआए तापनि पछिल्ला कविता सङ्ग्रहहरूमा सृष्टि र प्रकृतिप्रति ज्यादै आकृष्ट भएर ऋतु क्यानभसमा रेखाहरू लेखे। सुब्बाको यस कविता सङ्ग्रहलाई काव्ययात्रा कै एक उत्कृष्ठ कृति मान्न सकिन्छ। एकजना तपस्वी कविको साधनाबाट प्राप्त भएको कृति लाग्छ। यसलाई आज आएर इकोराइटिङ्सका रूपमा समालोचक कृष्ण गौतमले पनि उल्लेख गरिसकेका छन्। पछिल्ला चरणका कविताहरूमा कवि सुब्बामा उत्तरसंस्कृतिवाद र उत्तरउपनिवेवादी अवधारणा, सर्वसमावेशीकरणको सैद्धान्तिक मान्यतालाई सचेतता पूर्वक प्रयोग गर्दै आएका छन्।
▪ कवि मनप्रसाद सुब्बाका कवितालाई केलाउन द्विचरविरोधी विषयबाट हेर्न सकिन्छ। उनका कवितामा प्रकृति/संस्कृति, स्थानिक/वैश्विक, नास्तिक/आस्तिक, सृष्टि/बिनाश, केन्द्र/किनारा आदिको युग्मक र भिन्नताबाट अध्ययन हुनसक्ने सम्भावना धेर देखिन्छ। संरचनावाद देखि उत्तर संरचनावाद, तथा सङ्केतविज्ञानदेखि उत्तर सङ्केतविज्ञानीहरूले अर्थको यिनै भिन्नता र रिक्तताहरूबाट बहुलअर्थको प्रतिपादन गरेको भेटिन्छ। सुब्बाका कविताहरूलाई यस दृष्टिले बहुलअर्थी रहेको देखिन्छ। यसैबाट पनि उनका कविताहरूलाई धेरैवटा दृष्टिकोणले हेर्न सकिन्छ भनिएको हो।
▪ भुइँफुट्टा शब्दहरूभित्र, प्रकृति र संस्कृतिसित सन्दर्भित कविता पृथ्वी दिवस, धरती-२, धरती-१, पृथ्वी अनि म, मान्छे माटो गन्हाउँछ, खेतमाथि आक्रमण केही भिडियो क्लिपिङ्ग्स, काफल पाक्यो?, बर पिपलको बिहे, कञ्चनजङ्गा र हामी आदि। प्रकृतिसित हामी कति नजीक छौं मान्छे माटो गन्हाउँछ घ्राण विम्बले गर्दा शिर्षक आफैमा कविता छ। बर पिपलको विवाह हाम्रा संस्कृति। प्रकृतिपुजक हामी र हाम्रा पुर्खाहरू पर्यावरणप्रति कति सचेतक थिएछन् कविताले बताउँछ। हाम्रा समाजमा बर पिपलको पुजा गरिन्छ। नेपाली समाज कै नेवारी जातिमा कन्याको बिहे बेलसित गरिन्छ। यसबाट थाह लाग्छ कि हामी प्रकृतिसित कति नजीकमा छौं । कविले यसलाई सचेत रूपमा लेखेको लाग्छ । आज विश्वमा नै विज्ञान र प्रौधोगिकिकरणले पर्यावरण सङ्कटको भयावह स्थिति भएको समयमा प्रकृतिलेखन एउटा अभियानकै रूपमा पश्चिमि जगतमा सन् १९७० को दशकमा इकोराइटिङ्ग्स सुरू भएको छ। यस दृष्टिले उनका कविताहरूलाई पनि इकोराइटिङ्ग्सको रूपमा अध्ययन गर्न सकिन्छ। यसरी संस्कृति र प्रकृतिबिचको यस भिन्नताबाट पनि उनका कवितालाई हेर्न सकिन्छ।
▪ कवि सुब्बाले आफ्ना कवितामा स्थानिक र वैश्विक सन्दर्भ दुवैलाई उत्तिकै प्रभावकारी ढङ्गमा लेख्न सकेका छन्। स्थानिक भन्नाले आफ्ना समाजका भूगोल, भूराजनैतिक परिवेश, त्यसभित्र पनि नेपालीभाषी समाजभित्र कै लिम्बु किराँत संस्कृतिबाट टिपिएका लोकसंस्कारगत शब्द, प्रतीक र मिथकहरू चलाएर समसामयिक सन्दर्भको विम्ब उतार्न उनी सफल भएका छन्। मेरी किराँती आमा, मुक्त उन्मुक्त मेरी आमा, आकाशवाणी नसुनेर, एक धुपौरो रातो अंगार, प्रश्न चिह्न अग्लो उठाएर आदि कवितामा प्रयुक्त विम्ब र प्रतीकहरू लिम्बु लोकसंस्कृतिबाट टिपेका हुन्। यस किसिमका विम्ब लेखनबाट इथ्निक चेतना तथा उनीहरूले भोग्दै आएका विभिन्न वञ्चना, दुख-सुख, हर्ष-अमर्षले जनजातीय अनुभूति, संवेदनाका कुराहरू प्रकाशमा आउँछन्। विशिष्ट संस्कृतिदेखि टाडिएका यस्ता जनजातीय चेतनाका परिचयले अन्तर्जातीय सहिष्णुता र साम्प्रादायिक सद्भावना कायम राख्छ। नेपाली भाषामा अन्य भाषाका आगान्तुक शब्दहरूका सट्टा यस्ता हाम्रै समाजका जनजातीय अनुभूति र लोकजीवनबाट टिपिएका शब्दहरूको प्रयोग गरिनु आवश्यक छ। यस्ता शब्द र लोकविम्बले पनि वैश्विक वातावरणमा बाँच्न पाउन पर्छ भन्ने आग्रह पनि कतै न कतै कवि सुब्बाको रहेको पाइन्छ।
▪ कवि सुब्बाका प्राय: जसो सबै काव्यकृतिहरूमा आस्तिक-नास्तिक, अर्थात् ईश्वर र ईश्वरत्वप्रति लेखिएको कम्तिमा पनि एउटा-दुइटा कविताहरू पाउँदै आएका छौं। यसपटक भुँइफुट्टा शब्दहरू-भित्र बुद्धमाथि लेखिएको म कहिले बुद्ध हुनु, सिद्धार्थ उर्फ सिद्धे, यसोधराको अदालतमा सिद्धार्थ, वैशाख पूर्णिमा – ई. २००४ आदि चारवटा र अन्य कविता अचेल ऊ, अस्वतन्त्रता आदि पाएका छौं। समालोचक कृष्ण गौतमले एउटा ठाउँमा कोड गरेका छन्, सुब्बा र ईश्वरको झगडा निकै पुरानो हो। सुब्बा ईश्वरलाई छाड्दैनन्, ईश्वर सुब्बालाई छाड्दैनन्। दुवै आफ्नो लीलामा एकाअर्कोलाई खेलाउँछन्, नचाउँछन्। अज्ञान, रहस्य, देवता, अन्य महाशुन्य, मानवातित अव्याख्येय, ईश्वर आदि पराभाषिक तहको उत्कन्ठाका साथ अस्तित्ववादी, विसङ्गतिवादी रङ्ग छेपेर आभासिक वा मानवीय तहको समीक्षा गर्ने सुब्बा दार्शनिक तहसम्म आफुलाई सुल्झाउँदै अन्य समानधर्मी कविहरूलाई उछिन्छन्।
उनी लेख्छन्,
तिमी जस्तै सप्पै मान्छेहरू यदि
सांसारिकताबाट यसरी भागे भने
संसार कसरी चल्छ ?
सांसारिक मान्छेहरूबिना संसार कहाँ रहन्छ, सिद्धार्थ ? (यसोधराको अदालतमा सिद्धार्थ, पृ २६)
यसप्रकार कवि सुब्बाको द्विचर विरोधी स्वर यस कवितामा पनि पाइन्छ। ईश्वरत्व छ कि छैन भन्ने प्रश्नको तर्कमा आस्था र अनास्था प्रस्तुत गर्दै उत्तरआधुनिक अनिश्चिततातर्फ सङ्केत गरेको पाइन्छ। ईश्वर, आस्था, भक्ति र विश्वासजस्ता ठुला ठुला महाख्यानहरूको केन्द्र विघटन गर्दै त्यसमा प्रश्नचिह्न राख्दै कवि सुब्बाले मान्छेको सङ्घर्ष, बाँच्ने चाहना, अपराजेय भाव, अवरोध, सङ्कट , असामाञ्जस्यता जस्ता महत् आख्यानको उल्लेख गर्दै मानवीय अपूर्णताको चर्चा गरेको पाइन्छ। सांसारिकताबाट मान्छेले मुक्तिको चाहना राख्न सक्छ तर मुक्त हुन सक्तैनन्।ईश्वरत्वको भावनादेखि पनि मान्छे मूक्त छैन। यसैले ईश्वरत्व भन्ने भावना पनि मानवइतर कुरा हुन् भन्ने निष्कर्षमा कवि सुब्बा पुगेको देखिन्छ।
▪ कवि सुब्बाका कवितामा मानव सभ्यताको सृष्टि र विनास सन्दर्भलाई पनि देखाएका छन्, त्यो हठात् हराएको हिरोसिमा, बिचरा आगो, आदमको विन्ति र सिमोन द बोभाहरू, आदि। साहित्य-कलाका क्षेत्रमा सिर्जना र अनुसन्धानका नयाँ क्षितिजहरू उघ्रिन थालेका छन्। पर्यावरण लेखनसितै इथ्निक लेखन, साइबर जगत, युद्ध लेखनजस्ता कुराहरू साहित्यमा लेखिन थालेका छन्। युद्ध लेखनमा अझ विश्वयुद्धले उत्पन्न गरेका पूर्णाहुति र तिनमा आधारित आख्यानबाट सिर्जना भएको अभिघात आदिले मानव समाजलाई नै त्रस्त पारेका छन्। हाम्रा जाति संसारमा युद्धसित मुछिएको भए तापनि साहित्यमा युद्ध लेखन(war writings)को अभाव रहेको देखिन्छ। मानव समाजमा सृष्टि र विनासको द्वन्द्वमा मानिसलाई नै अभिघात (ट्रौमा) भइरहेको स्थिति र त्यसले मानिसको शारीरिक क्षति मात्रै नभएर मानसिक आघातदेखि लिएर सार्वजानिक जीवनसम्म त्रस्त बनाएको पाइन्छ। तसर्थ आज आएर यस उत्तरसंस्कृतिवादी लेखनमा अभिघात सिद्धान्तबाट पनि साहित्यको अध्ययन थालिएको पाइन्छ। सुब्बाका अघिल्ला काव्य कृतिभित्रका कविताहरूलाई यस दृष्टिले पनि हेर्न सकिन्छ। यसलाई उनले भुँइफुट्टा शब्दहरूमा पनि ठाउँ ठाउँमा लेखेका छन्।
▪ कविसुब्बा काव्यलेखनको यस दशकमा आइपुग्दा समसामयिक विषय र उत्तरऔपनिवेशिकतावादी अवधारणाबाट केन्द्र र किनाराको द्विचर विरोधलाई प्रकाशमा ल्याएको देखिन्छ। स्थानिक एवं आञ्चलिक समाज र जातिसत्ताले भोग्दै ल्याएका अनेकौं सामाजिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक, शैक्षिक, राजनैतिक, पर्यावरणीय विभेदलाई प्रकाश पारेर किनारीय तथा सीमान्तकृत लेखनलाई महत्त्व दिएको पाइन्छ। भारतीय समाजमा नेपालीहरू बाह्य मुलुकका जातिबाट मात्रै उपनिवेशित भएनन् आफ्नै देशबाट आन्तरिक उपनिवेशित हुन परेको तीब्र सत्यलाई पनि कवितामार्फत घोषणा गरेरै किनारीकृत लेखन / सबाल्टर्न लेखनबारे कवि मनप्रसाद सुब्बा अनि कवि रेमिका थापाले चर्चा चलाएको पाइन्छ। यसलाई अझ व्यापक अर्थमा हेरिँदा संसारका कुनै पनि किनारीकृत जनसमुदाय र तिनीहरूका भाषिक, सांस्कृति, राजनैतिक, सामाजिक, धार्मिक विभेदको निम्ति उठाइको आवाज स्वरूप पनि हेर्न सकिन्छ। भुँइफुट्टा शब्दहरूभित्र मूलधारा र म, मेरो स्पेस, शिवलिङ्ग अनि बगरका ढुङ्गाहरू, जङ्गलको कुरा, ती जङ्गलकाहरू, नाममा के छ र ?, अशिवलिङ्गम, खेतमाथि आक्रमण केही भिडियो क्लिपिङ्स, ओ आङ् सान सु ची, थोप्लो अर्थात् डट, अध्यारो खोज्दै आदि कविताहरूमा किनारीय अवधारणा र विचारलाई लिएर केन्द्रवादी हैकमलाई चित्रण गरेका छन्। किनाराका आवाजहरू (सन् २००८) र किनारा विमर्श (सन् २०११) भित्र कवि सुब्बाले केन्द्र र किनाराको अवधारणालाई स्पष्ट पारिसकेका छन्। समकालीन नेपाली कवितामा सचेत रूपमा उत्तरऔपनिवेशवादी विचार र अवधारणाबारे चर्चा गर्दै कवि मनप्रसाद सुब्बा अनि कवि रेमिका थापा अघि आएका छन्।
अन्तमा भुँइफुट्टा शब्दहरूका अन्य कविताहरूमा मेरो शब्द, अक्षर, शब्द अनि संवेदना, मुक्त शब्दहरू, हिउँदमा शिरीषको रूख, सपना, ? !, भ्यालेन्टाइन्स डे, आदि अधिभाषिक सन्दर्भका कविता छन्। यस मध्ये हिउँदमा शिरीषको रूख शब्दकेन्द्रवाद प्रसङ्गलाई राम्ररी दर्साएका कविता हो। विनिर्माणवादी डेरिडीय विचारानुसार शब्द केवल अर्थलाई देखाउने माध्यम वा चिह्न मात्रै हुँदै आएको छ भन्ने पाइन्छ। त्यो पनि तर निश्चित अर्थ, उपस्थित अर्थ, वा निश्चित विम्बलाई देखाउँदैन। यसप्रकार हिउँदमा शिरीषको रूख कवितामा एड इन्फिनिटम् भनेर कविले अर्थको अपसरणप्रति प्रसस्त सङ्केत गरेको भेटिन्छ। यस कविता सङ्ग्रहका कतिपय कविताको कथ्य (रिपिटेसन) दोहोरो किसिमका पनि भएका छन्। तर त्यसलाई शैली र शिल्पगत सौन्दर्यले छोपिदिएका छन्। लिम्बु लोकजीवन र अनुभूतिका प्रसङ्गमा चलाएका धेरै मिथक, विम्बहरूको पनि रिपिटेसन भएको लाग्छ। तर अघिल्ला चरणका कविताहरूमा चलाएका पाश्चात्य ग्रीक मिथक, पूर्वीय मिथकहरूका साटो आफ्नै लोकजीवन र जनजातीय संस्कृतिका मुन्धुम, बुद्धसित सम्बन्धित मिथहरूको प्रयोगले गर्दा केही बेग्लै स्वाद भने निश्चय थपेका छन्। यसबाट पनि उनका कविताहरूमा सबाल्टर्न संस्कृति र किनारीय स्वरका विचारहरू घरिघरि अर्थ ध्वनित भएको पाइन्छ। समग्रमा भुँइफुट्टा शब्दहरू कविता सङ्ग्रहमा कवि मनप्रसाद सुब्बाले यसपटक थुप्रै स्वादका कविताहरू पस्किदिएका छन्।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 जेठ, 2071

लेखकका अन्य रचनाहरु