नारी सङ्घर्षको कथा: गोल्डेन गेट

- रामकुमार पण्डित क्षेत्री

चित्रकथा, कथा, मुक्तक, बालकथा आदिका विभिन्न सङ्ग्रहहरू पाठकमाझ पस्किसकेकी लेखक सिर्जना शर्माको पहिलो उपन्यास हो, ‘गोल्डेन गेट’ । अड्तीसवटा विभिन्न शीर्षकहरूमा रहेका उपन्यासका घटनाक्रमहरू वास्तविक जीवनसँग मेल खान्छन् । ती प्रत्येक घटनाहरू कोही न कोही मान्छेको वास्तविक जीवनमा ठोक्किएर अघि बढेका हुन् । तर यस उपन्यासमा भने ती धेरै घटनाहरूको पत्थरले एउटै पात्रको जीवनमा ठोक्काएर पत्थरको सिङ्गो मन्दिर बनाउन सफल भएकी छिन् लेखक । सुरुवात आत्मकथा जस्तो भएर गए पनि अन्त्य भने बेग्लै किसिमले भएको छ । यहाँ देखापरेका प्रमुख पात्रहरूको मनोविज्ञान केलाउनु परेकोले यस्तो हुन गएको हो । सबै पात्रहरूलाई पाठक सामु खुलाउन लेखक सक्षम छिन् ।
यो उपन्यास नारी सङ्घर्षको कथाले भरिएको छ । पुरुष सङ्घर्षका कथा पढेर वाक्क भएका पाठकलाई यस पुस्तकले नयाँ स्वाद दिन सक्षम छ । उपन्यासकी नायिकाले आफ्ना पति र पुत्रपुत्रीको कल्याणको लागि सङ्घर्ष गरेकी छे । स्कुल जीवनमा कुनै पुरुषले मन पराएकी नायिका महिमालाई कलेज पढ्दापढ्दै अर्कै केटा प्रणयले मागी बिहे गर्छ । अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न जाने सपना चकनाचुर भएपछि आइ.ए. पढ्दापढ्दै डि.भी. भर्दछे । आइ.ए. सकिएपछि बिहे गर्छे । बिहे गरेको दुई वर्षमा जुम्ल्याहा बच्चा जन्माउँछे । अनि त्यति नै बेला उसलाई साथीमार्फत् डिभी परेको खबर आउँछ । स्मरण रहोस्, उसले डिभी आइए पढ्दाखेरि भरेकी थिई । उपन्यासमा यहीँ एक ठाउँमा प्राविधिक त्रुटि देखिन्छ । किनभने डिभीको नतिजा एक वर्षभित्रै आउँछ । त्यो पनि विगत केही वर्षदेखि एक जनालाई परेको डिभी अर्कोले थाहा पाउन कठिन हुन्छ । जसको लागि पहिले फर्म भर्दा पाएको कोड नं. जान्नु आवश्यक हुन्छ । यहाँ तीन चार वर्षपछि डिभीको नतिजा खुलेको देखाइएको छ । यस्तो सानो त्रुटिलाई पाण्डुलिपि पढेर सुझाव दिने सात सातजना अग्रजहरूले समेत बेवास्ता गरेको देखिन्छ । खैर, यो भूललाई छोडेर बाँकी भाग सशक्त भएर गएको पाइन्छ । डिभी परेपछि उसको लोग्ने लगायत सारा परिवार खुसी हुन्छन् । उसलाई अमेरिका पठाउन हतार गर्छन् । बिहे अगाडि भरेको डिभी परेकोले ऊ एक्लै गएर परिवारलाई तान्नु उसको टाउकोमा आएको हुन्छ । एयरपोर्टभित्र छिरेदेखि उसको सङ्घर्षका कथाहरू सुरु हुन्छन् । सुरुमै आफ्नै बाबु सरहको नेपाली पुरुषले बैङ्ककको ट्रान्जिटमा उसको नारी अस्मिता लुट्ने असफल प्रयास गर्छ । त्यस्तो परिस्थितिमा आफूलाई बचाउन उसलाई हम्मेहम्मे परेको थियो । अमेरिकाको एयरपोर्टमा पुगेपछि आफन्त भेट्न, घरमा बस्न, काम खोज्नलाई फलामको चिउरा चपाएको भन्दा बढ्दा भएको छ । अमेरिकामा पुगेपछि स्वर्गै पुगेजस्तो हुन्छ भन्ने नेपाली मानसिकतालाई यस्ता घटनाहरूले उल्ट्याएका छन् । हातमा सीप नभएको मान्छेलाई त्यहाँ सुरुका महिनाहरूमा काम पाउन अत्यन्तै गाह्रो हुन्छ । अमेरिकामा पनि गाउँघरहरू छन् र त्यहाँको गाउँले जीवनमा दुःख छ । सहरमा सुख छ तर त्यो सुख भेट्नलाई आफ्नै हाड घोट्नुपर्ने बाध्यता छ । कोही पाहुनालाई कसैले पनि एक दुई दिन पाल्नु भनेको हात्ती पाले सरह अनुभूति हुन्छ । डिभी परेर अमेरिका पुग्नासाथ ज्वाइँलाई मेजमानी टक्रयाएजस्तो त्यहाँ गाँस, बास र कपास टक््रयाइँदैन । ती सबै पाउनलाई आफ्नै परिश्रमको पसिनाले आफूलाई सिञ्चनु पर्दछ । यहाँ सुख सयलमा राजभोग गरेका मान्छेहरू पनि त्यहाँ गएर अत्यन्तै कष्ट झेलेका हुन्छन् । अमेरिकामा यस्तै परिश्रम गर्छन् र त, त्यहाँ कृत्रिम स्वर्ग पनि छ । व्यस्त जीवन, गगनचुम्बी सुन्दर महलहरू, झिलिमिली सहर, पैसा तिरेपछि घरमै पाइने हरेक किसिमका सुविधाहरूका कारणले नै मान्छेले स्वर्गीय अनुभूति गरेको हुन्छ । यी सबै दुःखसुखका घटनाहरू महिमा स्वयं आफैले देखेकी र भोगेकी छे । उसले पनि सुरुमा केही महिना आफ्नै आफन्तको बच्चा हेर्ने काम गर्दछे । त्यसपछि बल्लतल्ल आफन्तैले उसलाई सपिङ सेन्टरमा काम मिलाइदिन्छ । ग्राहकलाई सामान देखाउनु, ग्राहकले हेरेर छरपस्ट पारेका सामग्री यथास्थानमा मिलाउने काम उसले पाउँदछे (पृ. ५७) । भाडाको कोठामा बस्छे । महँगो हुनाले साथी–साथी मिलेर एउटै कोठामा बस्नुपर्ने बाध्यता छ । केटी भनेर सँगसँगै बसेको उसको कोठाकी साथी त तेस्रो लिङ्गी पो रहेछ । त्यो वास्तविकता बुझेपछि उसले नरमाइलो मान्दछे । केटी बनेर उसको अङ्ग–प्रत्यंगमा धावा बोलेको घटनाप्रति पश्चात्ताप गर्छे । अझ नेपाली मान्छेले नै उसलाई पूर्वको बाटो सोद्धा पश्चिमतिर पु¥याइदिएको घटनाले नेपाली सोचमाथि खेद गर्दछे । अत्यन्तै कष्टकर जीवन, अनि घरपरिवारको झलझली सम्झना, डरलाग्दा सपना, आदिले उसलाई अमेरिकी जीवन नरमाइलो लाग्दछ । त्यसैले एक वर्षपछि ऊ नेपाल फर्कन्छे । नेपाल फर्किएपछि पनि उसलाई अमेरिकाले पिछा गर्न छोड्दैन । नातागोता, छरछिमेक आदिले गर्ने मनोवैज्ञानिक व्यवहार र उसकै लोग्नेको करले ऊ फेरि अमेरिका जान बाध्य हुन्छे । आफन्तकै सहयोगले काम पाएपछि बयानब्बे वर्षे बूढो रडको घरमा, एउटा सानो कोठामा ऊ भाडामा बस्दछे (पृ. १४०) । बूढो रडको सूक्ष्म यौन दुव्र्यवहारलाई उसले पन्छाउनुपर्ने बाध्यता आउँछ । अन्तत ऊ अर्कै कोठामा सर्छे । त्यो घर मालिक भारतीय हुन्छ । उसको प्रेमपूर्ण सहयोगको कारणले महिमा आफ्नो जीवन सरल भएको महसुस गर्दछे । उसको आत्मीय सहयोग र सद्भावकै कारण एक रात ऊ निसङ्कोच उसको प्रेममा डुब्दछे ।
यसरी अमेरिकी जीवनका धेरै हण्डर र गोता खाएपछि बल्ल ऊ स्वतन्त्र जीवन जिउन सक्षम हुन्छे । एउटा पूर्ण र आत्मनिर्भर मान्छे बन्छे । यस्तैमा उसको लोग्नेसहित बालबच्चाहरू पनि अमेरिका आइपुग्छन् । लोग्नेलाई पिएचडी पढाउनु र बच्चाहरूलाई निःशुल्क अध्यापन गराउने उसको सपना साकार हुन्छ । तर भारतीयसँगको उसको विगतको प्रेमबारे गाइँगुइँ हल्ला सुनेपछि उसको लोग्ने ऊसँग झगडा गर्छ । अनेक मनोविवेचना र अमेरिकी परिस्थितिलाई ध्यान दिएर अन्तत उसले महिमासँग सम्झौता गर्दछ ।
प्रस्तुत उपन्यासमा नारीको सङ्घर्षलाई सशक्त रूपमा उतारिएको पाइन्छ । डिभी पर्नु ठूलो कुरो होइन भन्ने सन्देश पनि पाउन सकिन्छ । डिभी परेपछि अमेरिकामा स्थापित हुन गर्नुपर्ने सङ्घर्षहरू केस्राकेस्रामा वर्णन भएका छन् । अमेरिकामा बसेर पाइने सुविधा र त्यो सुविधा पाउनलाई मान्छेले भोग्नै पर्ने दुविधाहरूको स्पष्ट वर्णन भएका छन् । अमेरिकामा पैसैको बोट छ भने जस्तो गरी सोचिने गलत सोचाइहरू खुलेका छन् । त्यहाँ गर्ने जस्तो दुःख, यहीँ गरे सुख मिल्छ भन्ने भावहरू पनि झल्किन्छन् । उपन्यासमा फाट्टफुट्ट मुद्रा राक्षस छिरेको पनि पाइन्छ । जे होस्, यो उपन्यास पाठकहरूले पढ्न सुरु गरेपछि पढी नसकी यसै छोड्न सक्दैनन् । पात्र, वातावरण, उद्देश्य, विषयवस्तु आदि उपन्यासको सैद्धान्तिक दृष्टिकोणले समेत उपन्यास अब्बल ठहरिन्छ ।
पुस्तक ः गोल्डेन गेट
लेखक ः सिर्जना शर्मा
विधा ः उपन्यास
प्रकाशक ः अक्षर क्रियसन्स नेपाल
पृष्ठ ः २१२
मूल्य ः रु.२९०।–

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2071

लेखकका अन्य रचनाहरु