अविरल बग्दछ इन्द्रवतीमा वर्गीय द्वन्द्व १

- लालमणि पोख्रेल

अविरल बग्दछ इन्द्रवतीमा वर्गीय द्वन्द्व
लालमणि पोख्रेल

रमेश विकलको जीवनवृत्त
१. प्राक्कथन
रमेश विकल नेपाली साहित्यका सुप्रसिद्ध स्रष्टा हुन् । विशेष गरी नेपाली आख्यानका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका विकल काठमाडौं गोकर्ण आरुबारीमा सम्पन्न परिवारमा जन्मेर, हुर्केर पनि निम्न वर्गप्रति सहानुभूतिशील बन्दै साहित्य सिर्जना गर्ने व्यक्तित्व हुन् । वि. सं.२००६ सालमा शारदा पत्रिकामा ‘गरिब’ कथा प्रकाशित गरी सार्वजनिक वा औपचारिक साहित्ययात्राको थालनी गरेका विकलले छ दशक लामो साहित्यिक यात्रा गरेका छन् । विकलले आफ्नो साहित्यिक यात्राको दौडानमा लेखनीलाई नेपाली साहित्यका उपन्यास, कथा, नाटक, एकाङ्की, निबन्ध, बालसाहित्य र संस्मरणका क्षेत्रमा गति दिएका छन् । विकलले एकाध कविताहरू समेत रचना गरेको पाइए पनि यिनी मुख्यतः गद्य विधा र त्यसमा पनि आख्यान नै रुचाउने सर्जक हुन् । उनका कथासङ्ग्रह–७, उपन्यास – ४, नाटक–एकाङ्की – ५, यात्रासाहित्य – २, आत्मसंस्मारण – २ , व्यङ्ग्यनिबन्ध सङग्रह – १, बालसाहित्य सङ्ग्रह – २३ र अनुदित –७ गरी जम्मा ५१ वटा कृतिहरू रहेका छन् (पौडेल,२०६७ः१) । यसका अतिरिक्त उनका विभिन्न पत्रपत्रिकामा छरिएर रहेका सङ्कलन गर्न बाँकी रचनाहरू समेत छन् ।
औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तहको उपाधि हासिल गरेका विकल सामाजिक, शैक्षिक र सरकारी सेवामा संलग्न रहेको पाइन्छ । विकल सरकारी कर्मचारी, शिक्षक, प्राध्यापक, समाजसेवी र प्राज्ञ समेत हुन् । यिनले नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएवापत विभिन्न पुरस्कार तथा सम्मान समेत पाएका
छन् । विकलका कृतिहरू नेपाली पाठयक्रममा तलदेखि माथिसम्म अध्ययन अध्यापन
हुन्छन् । यिनका कृतिहरू देश विदेशका विभिन्न भाषाहरूमा समेत अनुवाद रुपान्तरण हुन थालेका छन् । नेपालमा विकलका सम्बन्धमा विश्वविद्यालय र स्वतन्त्र ढङ्गका अध्ययन अनुसन्धान हुन थालेका छन् ।
रमेश विकलले नेपाली आख्यान क्षेत्रमा समाजवादी यथार्थलाई भिœयाउन महŒवपूर्ण भूमिका खेलेका छन् । नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रुपमा सुपरिचित विराट् स्रष्टा विकलको संक्षिप्त पारिचयात्मक प्रस्तुति उनका संस्मरण र पूर्व कार्यबाट प्राप्त विवरण अनुसार तल गरिएको छ् ।

१.१ जन्म, जन्मस्थान र बाल्यकाल
रमेश विकलको जन्म वि.सं.१९८५ साल कार्तिक २९ गते भाइटीकाका दिन तत्कालीन काठामाडौंको गोकर्ण आरुबारी वा हालको जोरपारी गा.वि.स. वडा नं. ९ मा पिता चन्द्रशेखर उपाध्याय र माता छायादेवी चालिसेका ज्येष्ठ सुपुत्रका रुपमा भएको हो ।
विकलको जन्म खानदानी वा उच्च वर्गको परिवारमा भएको हो । विकलका हजुरबा घननाथ उपाध्याय संस्कृतका विद्वान्, सनातनी, नैष्ठिक ब्राहम्ण थिए भने बुबा चन्द्रशेखर आधुनिक शिक्षा प्राप्त गरेका सरकारी जागिरे थिए (ऐ.) । विकल जन्मदा नेपालमा निरङ्कुश राणाशासनको चर्को दबदबा थियो । रमेश विकलको न्वारानको नाम इन्दुशेखर, गाउँघरमा बोलाउने नाम रामबाबु र प्रमाणपत्रको नाम रामेश्वर चालिसे हो (ऐ. ३) । यिनले रवि चालिसेका नामबाट चित्रकला र इन्दुशेखरका नामबाट कविता सिर्जना गरेको पाइन्छ । नेपाली गद्य आख्यानमा यिनी रमेश विकलकै नामबाट सुपरिचित र प्रसिद्ध समेत हुन पुगे । रमेश विकलका तीनवटी आमा थिए । तीमध्ये यिनी माहिली छायादेवीका कोखबाट जन्मिएका हुन् । आफ्नी आमाको कान्छो छोराको जन्मसँगै साल झर्न नसकेर मृत्यु भएका कारण विकलले दुई वर्षको नहँुदै मातृवियोग सहनुप¥यो । आफ्ना सौतेनी आमापट्टिका छोराछोरीहरू सबैको मृत्यु भएको तथा जेठीआमा पट्टिकी छोरी सानैमा विधवा भई छेत्रीसँग बात लागी काशीवास गराइएकाले विकल आफ्ना पिताका एक्ला सन्तान बन्न पुगे । सानैमा आमाको मृत्यु भए पनि हजुरआमा (देवकुमारी), जेठीआमा र हजुरबुबाले अत्यन्तै प्यारो मान्ने हँुदा विकललाई मातृवियोगको पीडा त्यति साह्रै कष्टकर बनेन । आफूलाई अति माया गर्ने हजुरआमाको वि.सं.१९९० सालमा, हजुरबुबाको वि.सं.२००४ सालमा र पिताको २००६ सालमा मृत्यु भएपछि विकल अत्यन्त दुःखी मात्र बन्न पुगेनन् सानै उमेरमा पारिवारिक जिम्मेवारी समेत वहन गर्नु पर्दा निकै मर्माहत समेत भए ।
विकल सम्पन्न परिवारमा जन्मेका हुर्केका थिए । यिनले सानैमा आफ्नो घरमा राखिएका नोकर–चाकर तथा करियाहरूमाथि ठूलाबडाले अत्याचार तथा उत्पीडन गरेको देख्थे । यस्ता दृश्यहरू विकललाई साह्रै नमीठा लाग्थे । यिनका हजुरबाको नोकर–चाकर तथा गाउँलेहरू बीच ठूलो हैकम थियो । त्यस्तै बुबा राणा शासकहरूका चाकरिया थिए । विकलले आफू जान्ने भएपछि बुबा तथा हजुरबाका यस्ता व्यवहारहरू मन पराउन छाडे । आफन्तजनहरूको एकपछि अर्को गर्दै मृत्यु हुनु , वि.सं १९९० सालको महाभूकम्पको विनास आफ्नै आखाँले देख्नु तथा बेहोर्नु जस्ता घटनाले विकलको बाल्यवय तथा किशोरकाल सम्पन्नतामा बिते पनि त्यति सुखद् र व्यवस्थित हुन सकेन ।

१.२. शिक्षादीक्षा तथा साहित्यिक यात्राको प्रारम्भ
रमेश विकलका हजुरबुबा पण्डित घननाथ उपाध्याय संस्कृत शिक्षा आर्जन गरेका व्यक्ति थिए । आफू संस्कृतज्ञ पण्डित तथा नैष्ठिक ब्राहमण भएकाले यिनी आफ्नो एक्लो नाती विकललाई आफू जस्तै संस्कृतज्ञ बनाउन चाहन्थे । अर्कातर्फ विकलका पिता आधुनिक शिक्षाको अध्ययन गरी राजाहरूलाई रिझाउन सफल भएका र सरकारी जागिर समेत हात पारिसकेकाले यिनी आफ्ना छोरालाई अङ्ग्रेजी पढाउन चाहन्थे । हजुरबुबा र पिताको यसै द्वन्द्व बीच विकलले ६ वर्षको उमेरमा विमातृपट्टिकी दिदी सीताबाट वसन्तपञ्चमीका दिन अक्षरारम्भ गरी ८ वर्षको उमेरमा ब्रतबन्धपश्चात् हजुरबुबाबाट संस्कृत स्त्रोत, रुद्री र चण्डी पढे । पछि यिनी नौ वर्षको हुँदा वि.सं १९९४ सालमा घरपरिवारसहित आरुबारीबाट चाबहिल सरेपछि देउपाटन भाषा पाठशाालामा संस्कृत व्याकरण कौमुदी पढे । त्यस्तै बुबाको इच्छाबमोजिम केशवराज पौडेल र बमभोलासँग अङ्ग्रेजी पढे । भाषा पाठशालामा पढ्दा पढ्दै बुबाको १९९७ सालमा विराटनगर र त्यसपछि दार्चुला सरुवा हुँदा उनी उतै गई पढे । बुबाको पुनः काठमाडौंमै सरुवा भएपछि यिनी काठमाडौं आए । काठमाडौं फर्केपछि हजुरबुबा र बुबाको कार्यव्यस्तता तथा उचित रेखदेखको अभावमा यिनी खराब केटाहरूसँगको सङ्गतमा लागी पढाई समेत छोडे । साथीहरूको लहैलहैमा लागी वि.सं २००३ सालमा घरबाट भागी यिनी कलकत्ता पुगे । कलकत्तामा अनेक हन्डर खाई घर फर्केका विकललाई एकपल्ट यिनका पिताले चोरीको आरोप लगाई नराम्रोसँग हपारे । यी सबै खराब सङ्गतका परिणति थिए । दुर्जनहरूको सङ्गतबाट धेरैै हन्डर खाएपछि अन्ततः यिनी सुध्रिएर रचनात्मक कार्यमा लागे । यसैको परिणामस्वरुप यिनले २००५ सालमा निजामती स्रेस्ताको एघार परीक्षा पास गरे ।
युवा अवस्थामा प्रवेश गरेका विकल श्यामप्रसाद शर्मासँगको सम्पर्कमा पुगे । श्यामप्रसाद शर्मा प्रसिद्ध प्रगतिशील विचारक तथा साहित्यिक स्रष्टा थिए । उनैको राजनीतिक विचार र साहित्य साधनाबाट प्रभावित भई विकलले त्यहीँ विचारधारा राख्दै साहित्य सिर्जनातर्फ पनि अग्रसर हुन थाले । श्यामप्रसाद शर्मा विकलका साहित्यिक र राजनीतिक गुरु हुन् । यिनैसँगको सान्निध्यमा विकलले २००५÷०६ सालतिर श्यामप्रसादकै नेतृत्वमा प्रकाशन प्रारम्भ भएको हस्तलिखित मासिक पत्रिका सन्देशको सम्पादन गर्दै पाँचभाइ नामक गोप्य सङ्गठनमा पनि आफूलाई क्रियाशील गराए । यसै बखत पक्राउ पनि परेकाले विकलको जीवनले अर्कै मोड लियो ।
हजुरबुबा, हजुरआमा, माता, पिता सबैको मृत्यु भई अभिभावकविहीन बनेका विकल २००८ सालमा चाबहिलको घर बेची पुनः आरुबारीमै फर्के । प्रशस्त जग्गाजमिन भए पनि विकलको नियमित आयस्रोतको माध्यम केही थिएन यसै व्यावहारिक कठिनाई झेलेर भए पनि विकल साहित्यिक र राजनीतिक कार्यमा तल्लीन भैरहे । यसै क्रममा विकलले २०११ सालमा प्राइभेट विद्यार्थीका रुपमा द्वितीय श्रेणीमा एस.एल्.सी.उत्तीर्ण गरे । त्यसपछि आइ.ए.नपढी सिधै स्नातक तहमा भर्ना भई यिनी २०१६ सालमा लाजिम्पाटस्थित कलेज अफ एजुकेशनबाट शिक्षाशास्त्रमा चारवर्षे बी.एड्. उत्तीर्ण गरे । यसपछि विकलको औपचारिक अध्ययनको अन्त्य भयो । पछि २०२५ सालमा जागिरे अवस्थामा सम्पादकको तालिमका लागि अमेरिकाको फ्लोरिडामा गई एक वर्ष अध्ययन गर्ने अवसर मिले पनि यो अनौपचारिक प्रकृतिको अध्ययन थियो ।
विकलले साहित्य सिर्जनाका लागि श्यामप्रसाद शर्माबाट प्रेरणा प्राप्त गरेका
हुन् । यसका अतिरिक्त यिनले घर परिवार तथा समाजमा आफ्ना अग्रजहरूबाट सुनेका लोक तथा दन्त्यकथाले पनि यिनलाई साहित्य सिर्जना गर्न उत्प्रेरित गरेको पाइन्छ । मधुमालतीको कथाजस्ता यिनका साहित्यिक कृतिले यसै कुराको सङ्केत गर्छन् । यिनमा प्रगतिवादी चिन्तनको विकास हुनुका पछाडि श्यामप्रसाद शर्माको सान्निध्य तथा यिनको सम्भ्रान्त पारिवारिक वातावरणमा उच्चवर्गका मानिसले घरमा राखिएका नोकर चाकर तथा करियाहरूमाथि गरिने अभद्र तथा शोषणमूलक परिवेशले सघाएको पाइन्छ । यिनलाई माक्र्सेली सौन्दर्यशास्त्रतर्फ अग्रसर गराउन गोविन्दप्रसाद लोहनीको माक्र्सवादी कक्षाले थप सघाएको देखिन्छ ।
विकलको सङ्गीततर्फ पनि रुचि थियो । यिनले सङ्गीततर्फ लाग्ने प्रेरणा आफ्ना बाबुबाट पाएका हुन् । आफ्ना पिताले घरमा हार्मोनियम र तबला बजाई भजन गाउँदा विकल साह्रै उत्साहित हुन्थे र आफू पनि सङ्गीतज्ञ बन्ने इच्छा राख्थे । सङ्गीत सिकी रेडियो नेपालमा स्वर परीक्षा समेत दिई असफल भएको घटनाले यसै कुराको पुष्टि गर्छ ।
विकल चित्रकलाका पनि पारखी थिए । यिनले थुप्रै चित्रहरूको पनि रचना गरेका छन् । यनले कलाकार आनन्दमुनि शाक्य र चन्द्रमानसिंह मास्केसँग चित्रकलाको आधारभूत शिक्षा लिएका थिए (ऐ. ७) । यिनले आमाका, हजुरबुबाका, कवि, कलाकार र वैज्ञानिकहरूका स्केचहरू खिची कलाकारिताको तिर्खा मेटाएका छन् ।
विकल नेपाली साहित्यका मूर्धन्य आख्यानकार हुन् । यिनले नेपाली साहित्यमा आफ्नै किसिमको उचाइ निर्माण गरेका छन् । साहित्य सिर्जनामा यिनले लक्ष्मीप्रसाद देवकोटा बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, गुरुप्रसाद मैनाली, गोपालप्रसाद रिमाल, गोविन्द गोठाले, विजय मल्ल दौलतविक्रम बिष्ट, पारिजात आदिबाट समेत प्रेरणा लिएका छन् । विकलले जर्मनेली, यूरोपेली, फ्रान्सेली, भारतीय, बङ्गगाली, अंग्रेजी आदि थुप्रै विदेशी साहित्य तथा साहित्यकारलाई पढी प्रभाव तथा प्रेरणा ग्रहण गरेका थिए । यिनमा माक्सिम, गोर्र्की अस्त्रोभस्की, एन्टन चेखव, लियो टाल्सटाय, अनरे द बाल्जाक, भिक्टर ह्युगो, ज्याक लण्डन, अर्नेष्ट हेमिङ्गवे, प्रेमचन्द हरिशङ्कर प्रसाई, विमल मित्र आदिका कृतिहरूको गहन अध्ययन देखिन्छ ।

१.३ वैवाहिक तथा पारिवारिक जीवन
रमेश विकलको विवाह उनको इच्छा विपरित बाह्र वर्षको उमेरमा वि.स.१९९७ सालमा काभ्रेपलाञ्चोक जिल्ला मण्डलनिवासी टङ्कनाथ नेपालकी सात वर्षीया कन्या सुशीला
(प्रेमकुमारी) सँग भएको हो । विकलले दन्त्यकथामा सुन्ने गरेका सुनकेस्रा मैयाँ र मधुमालताीजस्ता राजकुमारीझँै आफ्नी श्रीमती पनि त्यस्तै हओस् भन्ने परिकल्पना गरी बसेका थिए । तर एकैदिन विहे गरेका कान्छी आमापट्टिका दाजु भीमबहादुरकी झैँ आफ्नी श्रीमतीको जीउडाल र अनुहार नपरेकाले उनी दःुखित हुन पुगे । त्यति मात्र होइन आफ्नी श्रीमती अपठित समेत भएकोले विकल मानंिसक संकटमा पर्दा उनको दाम्पत्य जीवन लामो समयसम्म सफल रहन सकेन । विकलकी श्रीमती आफ्ना पति तथा छोराछोरीको हेरविचार गर्न र घर व्यवहार चलाउन पोख्त नै थिइन् । एक आपसको मनमुटाव वा मनोमालिन्यले विकलको दाम्पत्य जीवनले धन्नै पारपाचुकेको स्थिति समेत सिर्जना गरेन । विकलमा आफ्ना बाबु बाजेको हैकमी तथा रबाफी प्रकृतिको पनि अमिट छाप थियो छोराछोरी तथा स्वास्नीलाई पछिसम्मै पनि आफ्नो निकट नराख्नुले विकलको त्यही स्वाभावलाई इङ्गित
गर्दछ ।
विकलका जम्मा दश सन्तान जन्मेको पाइन्छ । यिनका ३ छोरा र सात छोरी जन्मिएका भए पनि २०२५ सालमा पौडी खेल्ने क्रममा माहिलो छोरो शेखरको र माहिली छोरी तथा अन्य दुई छोरीको समेत मृत्यु भएकाले हाल यिनका ५ सन्तान जीवित छन् । यिनका जेठा छोरा विजय चालिसे नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा प्रतिष्ठित बनेका छन् । कान्छा महेन्द्र चालिसे गैरसरकारी संस्थाका साथै समाजसेवामा संलग्न छन्, भने छोरीहरू दुर्गा अर्याल, अम्बिका पोखरेल, तारा पौडेल र शशी अधिकारी विहेवारी भई घरजम गरी बसिसकेका छन् । विकलले वि.सं. २०१९ सालमा भगवतविहालमा होटल गरी बस्ने नेवार कन्या चन्द्रमायासँग विवाह गरेको पनि देखिन्छ । यी महिला विकलसँग तीन महिना बिताएर हिँडेको पाइन्छ । विकलकी श्रीमती शुशीलाको मृत्यु २०५७ साल असार १७ गते भएको हो ।
१.४ पेसागत संलग्नता
विकलको जागिरे जीवन २००५ सालबाट प्रारम्भ भएको देखिन्छ । निजामती सेवा परीक्षा उत्र्तीण गरी भन्सारको नौसिन्दा पदबाट यिनको जागिरे जीवनले गति लिए पनि २००५ सालमा पाँचभाइ काण्डमा श्यामप्रसाद शर्मासँग पक्राउ परेपछि जागिर गुम्छ । यसपछि विकलले २००८÷०९ सालतिर चाबहिलको विनायक मिडिल स्कूल, अरुणोदय प्रा.वि. आरुबारी, सहयोगी मा.वि.गोकर्ण, चामुण्डा मा.वि. जोरपाटी आदि विद्यालयमा पढाउने काम गरे । विकलले २०१६ सालमा बी.एड्. उत्तीर्ण गरेपछि २०१८ सालमा प्रचार विभाग (हालको सूचना विभाग)मा सहायक सम्पादक भए भने २०२० सालमा उक्त जागिर छोडी नेपाल लेखक संघका सचिव भए । यसपछि २०२१ सालमा शिक्षा सामग्री केन्द्र
(हालको जनक शिक्षा सामग्री केन्द्र) मा अधिकृत स्तरको जागिरमा नियुक्त भई यसै पदमा २०३४ सालसम्म सेवा गरे । यसपछि उनले २०३४ सालदेखि २०३६ सालसम्म शिक्षा मन्त्रालय अन्र्तगतकै परीक्षा नियन्त्रण कार्यालयमा सरुवा भई कार्य गरे (ऐजनः १०) । २०३६ सालमा शाखा अधिकृत पद पनि छोडी २०४१ सालदेखि २०४५ सालसम्म यिनले प्राथमिक शिक्षा परियोजनामा करार सेवामा रही सम्पादक पद सम्हाले । यसपूर्व २०३९ देखि २०४० सालसम्म ने.रा.प्र.प्र. बाट विद्वतवृति पाई ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास रचना गरे भने २०४६ देखि २०५१ सालसम्म त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा उपप्राध्यापक पदमा करार सेवामा रही प्राध्यापन समेत गरे । यसपछि २०५१ सालदेखि २०५६ सालसम्म उनी नेराप्रप्रको प्राज्ञ परिषद् सदस्य पनि भए (ऐजनः११) । यसपश्चात् भने विकल स्वतन्त्र अध्ययन लेखन र समाजसेवामा आवद्ध भई जीवन व्यतित गरे ।
सरकारी जागीरका अतिरिक्त विकल विभिन्न साहित्यिक, सामाजिक एवम् शैक्षिक संघ–संस्थाहरूमा आबद्ध रहेका देखिन्छन् । यिनले असहाय पुनस्थापना समाजको सल्लाहकार, नेपाल बालसाहित्य समाजको अध्यक्ष तथा आजीवन सदस्य, भैरव पुरस्कार गुठीको संस्थापक अध्यक्ष साझा प्रकाशनको सञ्चालक सदस्य, प्रगतिशील लेखक संघको अध्यक्ष र सल्लाहकार, संयुक्त विद्यार्थी युनियनको सल्लाहकार (०१४÷१५) र साहित्य सदन नेपालको संस्थापक उपाध्यक्ष र अध्यक्ष भई कार्य गरेका छन् । विकलले रचना, बालकोपिला, गतिविधि, उत्साह, प्रज्ञा, समकालीन साहित्य, कविता आदि पत्रिकाको पनि सम्पादक गरेका छन् ।
विकलले चावहिलको विनायक मिडिल स्कूलको स्थापना (२००५÷०६), चावहिलमै मित्रमण्डलको स्थापना, आरुबारीमा अरुणोदय प्राविको स्थापना, जोरपाटिमा चामुण्डा मा.वि.को स्थापना, आरुबारीमा बन्धुमण्डल क्लबको स्थापना गर्नमा पनि महŒवपूर्ण भूमिका खेलेका छन् । विकलले आफू शिक्षा मन्त्रालयको मातहतमा रही कार्य गर्दा नेपाली विषयको पाठ्यक्रम निर्माण उपसमितिको सदस्य रहेर पनि काम गरेका छन् ।

१.५ राजनीतिक संलग्नता
विकलका पिता राजाहरूका जागिरे थिए । बुबा राजाहरूका जागिरे भएका कारण विकल राजाहरूलाई आफ्ना अन्नदाता, मालिक सम्झन्थे । विकललाई सुरुसुरुमा राजाहरूको अत्याचार, उत्पीडन र निरङ्कुशता बारे जानकारी थिएन । वि.सं. २००४ सालमा ‘जयतु संस्कृतम्’ आन्दोलन भयो । यस आन्दोलनलाई राजाहरूले चर्को दमन गरे । विकलले पनि राजाहरू आफ्ना अन्नदाता सम्झी आन्दोलनकारीहरूलाई देशद्रोही ठान्न पुगे । विकलमा निहित अज्ञानताको यो कालो बादल धेरै समयसम्म टिकेन । पछि उनलाई राजाहरूको व्यवहार र नीति पत्ता लाग्दै गयो र त्यसपछि मोहन समसेर नेपालका प्रधानमन्त्री वा श्री ३ हुनुपुगे । उनको सिन्दुर जात्रा हुँदा इन्द्रचोकमा हुलदङ्गा तथा भीडन्त भयो उक्त भीडन्तमा रमेश विकल पनि परे र उनलाई दशदिनसम्म हनुमान ढोकामा लगेरथुनियो । रमेश विकलको यो प्रथम जेलजीवनको अनुभूती थियो । दश दिनसम्म जेलमा बस्दा उनको रामहरि शर्मा र टंकप्रसाद आचार्यसँग साक्षात्कार भयो । यी दुईजनाबाट विकलले राजनीतिक प्रशिक्षण पाए जसले यिनको जीवनमा महŒवपूर्ण मोड ल्यायो । विकल यसपूर्व नै २००३ सालमा भागेर कलकत्ता जाँदा त्यहाँ उनले महात्मा गान्धीद्वारा सञ्चालित अगे्रजविरोधी ‘भारत छोडो’ नामक स्वत्रन्त्र सङ्ग्राम देखेका थिए । महात्मा गान्धीका सारगर्भित भाषण सुनेका थिए । यिनै प्रभावका कारण विकलले ‘जयतु संस्कृतम्’ आन्दोलनका प्रवर्तक बलराम श्रमजीवीसँगको सम्पर्कबाट आन्दोलनका पर्चा र पम्पलेट बाँड्ने काम समेत गरे । विकलको राजनीतिक जीवनमा श्यामप्रसाद शर्मासँगको सानिध्यले ठूलै परिवर्तन ल्याएको देखिन्छ । वि.सं. २००५ सालमा राजनीतिक कारणले वीरगञ्जबाट नजरबन्दमा काठमाडौं ल्याइएका श्यामप्रसादसँग विकलको भेट भयो । श्यामप्रसाद प्रगतिशील चिन्तक थिए । उनकै प्रभावका कारण विकलले चावहिलबाट हस्तलिखित मासिक पत्रिका ‘सन्देश’ को सम्पादन र प्रकाशन प्रारम्भ गरे । यो पत्रिकाको मुख्य उद्देश्य नेपालमा प्रजातन्त्रको स्थापना थियो । यसै पत्रिकामा विकलको पहिलोपल्ट कविता पनि छापियो । यसैबखत श्यामप्रसादको नेतृत्वमा ‘पाँचभाइ’ नामक राजाविरोधी गोप्य सङ्गठन पनि खोलियो ।
यसमा प्रजापरिषद्का नेता रामहरि शर्माकी श्रीमती सीता नेपाल, विशु अधिकार, रमेश विकल, श्यामप्रसाद शर्मा लगायतका व्यक्तिहरू थिए (ऐजनः१२) । यस सङ्गठनले राजनीतिक बन्दीहरूसँग नियमित भेट्ने र खबरको आदानप्रदान गर्ने कार्य गथ्र्यो ।
श्यामप्रसाद शर्मासँगको सम्पर्कले विकलको जीवनमा आमूल परिवर्तन आएको देखिन्छ । शर्मा विकलका साहित्यिक र राजनीतिक गुरु पनि हुन् । यिनकेै माध्यमबाट विकलको गोविन्दबहादुर मल्ल ‘गोठाले’ सँग चिनजान भई ‘गरीब’ कथा वि.सं. २००६ सालको शारदामा प्रकाशित भएको पाइन्छ । विकलको साहित्यिक यात्राको थालनी यसै कथा मार्फत् भएको हो । यसै बखत सुरक्षा कानुनअन्तर्गत विकल केही दिन जेल पनि परे ।
वि.सं. २००६ सालपछि रमेश विकल भूमिगत नेपाल कम्युनिस्ट पार्टीका विभिन्न मोर्चामा रही काम गर्न थाले । यसपछि यिनी पार्टीका नामबाट खुलेका अध्ययन मण्डल, पुस्तकालय, वाचनालय आदिमा गई माक्र्सवादी पुस्तक पढ्ने तथा छलफलमा भाग लिने पनि गर्न थाले । यसका साथै विकलले माक्र्सवादका वरिष्ट ज्ञाता गोविन्दप्रसाद लोहनीबाट माक्र्सवादी कक्षा पनि लिए । यसबाट उनी माक्र्सवादका पक्षधर बनी लेखनमा समेत यो प्रवृत्तिलाई अपनाउन थाले । वि.सं. २००७ सालमा देशमा प्रजातन्त्र आए पनि कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो । त्यसबखत विकलले चाबहिललाई केन्द्र बनाएर भूमिगत ढङ्गले पार्टीका गतिविधिहरू सञ्चालन गरे । यो क्रम २०१५ सालसम्म जारी रह्यो । त्यसबखत विकलको पाटी सेल चावहिल एरियामा शक्ति लम्साल, भक्तबहादुर, शेरबहादुर मिश्र, अमिरबहादुर, रामबहादुर आदि थिए ।
विकल २००९ सालमा न्यून वैतनिक कर्मचारीको आन्दोलनमा सामेल हँुदा नयाँ सडकमा पक्राउ परी दुई दिनसम्म हनुमान ढोकामा राखिई पछि भद्रगोल जेल चलान भए । यसबखत यिनले निकै कुटाइ पनि खाए । जेलबाट छुटेर आएपछि विकल झनै सशक्त रुपमा लेखन–प्रकाशन, सभा–समारोह, नारा–जुलुस, राजनीतिक सम्मेलन र सङ्गठनमा व्यस्त रहे । विकलले सङ्गठनमा खारिई, माक्र्सवादको सैद्धान्तिक र व्यवहारिक ज्ञान आर्जन गरी २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए । विकल २०११ सालमै नेकपाले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सरकारबिरुद्ध काठमाडौंमा प्रदर्शित विशाल जुलुसमा सामेल भएका कारण इन्द्रचोकबाट पक्राउ परी नख्खु जेलमा पु¥याइए । त्यहाँ उनको रुपचन्द्र विष्ट, कमल कोइराला र मदन रेग्मीसँग भेट भयो । केही समयसम्म त्यहाँ बसेपछि प्रधानमन्त्री मातृकाका सुपुत्र कमल कोइराला र शिक्षामन्त्री डिल्लीराम रेग्मीका छोरा मदन रेग्मीको आफूहरूसँग रहेका सम्पूर्ण बन्दीलाई छाडे मात्र आफूहरू छुट्ने अन्यथा नछुट्ने भन्ने सर्तका कारण विकल पनि छुटे । यसरी विकलले छोटो– छोटो समय भए पनि पटक–पटक जेल जीवन भोगेको देखिन्छ ।
विकल २०१७ सालपछि निरङ्कुश पञ्चायती व्यवस्था हावी भएपछि तथा कम्युनिष्ट पार्टीमा देखिएका अनेकौं विभाजन, फुट र गलत कार्यदिशाका कारण असन्तुष्ट भई सक्रिय राजनीतिबाट सन्यास लिए । यसपछि यिनले कुनै पनि राजनीतिक आन्दोलनमा सक्रिय भई भाग लिएनन् । यतिसम्म कि उनले २०४६ को जनआन्दोलनलाई पनि समर्थन गरेनन् । तर २०४८ सालमा भएको आमनिर्वाचनमा मदन भण्डारीलाई भने खुलेर स्वागत गरे । विकलले ०६२÷०६३ सालको आन्दोलनलाई पनि नेताका लागि नभई जनताका लागि भनेर बल्लतल्ल समर्थन गरेका थिए । यसरी विकल प्रारम्भमा सक्रिय र पछि निस्क्रिय भई राजनीतिमा संलग्न भएको पाइन्छ । विकलको राजनीति जीवनको यो प्रभाव उनका कृतिमा पनि
देखिन्छ ।

१.६. सम्मान तथा पुरस्कार
रमेश विकलले नेपाली भाषा तथा साहित्यको श्रीबृद्धिमा पु¥याएको योगदान कदर गर्दै उनलाई विभिन्न सम्मान पुरस्कार तथा पदकहरूले विभूषण गरिएको छ । विकलले सर्वप्रथम २०१८ सालमा नयाँ सडकको गीत (२०१९) कथासङ्ग्रहका लागि २०१८ सालको गद्य साहित्यतर्फको मदन पुरस्कार प्राप्त गरे । यसपछि यिनको समग्र साहित्यिक योगदानको मूल्याङ्कन गर्दै २०३८ सालमा महेन्द्र प्रज्ञा पुरस्कारद्वारा सम्मान गरियो । २०४७ सालमा यिनलाई दोस्रो राष्ट्रिय फोटो प्रदर्शनी पुरस्कार, २०५२ सालमा नेपाल बालसाहित्य पुरस्कार, २०५७ सालमा नूरगङ्गा स्मृति पुरस्कार, २०५८ सालमा कृष्णमणि साहित्य पुरस्कार, २०५९ सालमा युद्धप्रसाद मिश्र स्मृति पुरस्कार र २०५९ सालमै साझा पुरस्कारद्वारा विभूषित गरियो ।
विकललाई विभिन्न संघ, संस्थाद्वारा पनि सम्मान तथा मानपदवी प्राप्त भएको छ । विकलले २०३१ सालमा शुभराज्याभिषेक पदक, २०५१ मा गोरखा दक्षिणबाहु, २०५१ देखि २०५६ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, २०५१ मै नेपाली आख्यान समाजबाट अभिनन्दन, २०५२ मा नेपाली साहित्य कला निकेतन गुवाहाटीबाट सम्मान, २०५२ मै देवकोटा स्मारक साहित्य समाज कलैया बराबाट अभिनन्दन, २०५२ मै आह्वान समूह परिवार र बूढानिलकण्ठ स्कुलबाट अभिनन्दन, २०५६ मा रेडियो नेपालबाट रेडियो प्रसार सेवा विकास सम्मान, २०५६ मै कविताराम बालसाहित्य सम्मान, २०५७ मा अरुणोदय मा.वि आरुबारीबाट अभिनन्दन, २०५८ मा राष्ट्रिय बाल सृजना कार्यशाला गोष्टीबाट अभिनन्दन, २०५९ मा क्रमशः प्रलेस, रक्तकाली उ.मा.वि., आँखाको नानी विद्यालय जोरपाटी, अभिनव साहित्य समाज साहित्यिक पत्रकार संघद्वारा सम्मान, २०६० मा क्रमशः वनीता साहित्यिक प्रकाशन संघ विराटनगर, सयपत्री युवाक्लब, गोपाल स्मृति कोष गोरखा, निर्माण प्रकाशन विद्या सदन विद्यालय, काठमाडौं पूर्वी क्षेत्रका जनताको हीरक उत्सवका अवसरमा सम्मान, निर्माण प्रकाशन, सयपत्री युवाक्लब काभ्रेद्वारा अभिनन्दन, २०६१ सालमा क्रमशः नयाँ बस्ती युवा क्लब जोरपाटी, केटाकेटी मासिक गण्डकी साहित्य सङ्गम, ह्वाइट फिल उच्च मा.वि., नेपाल राष्ट्र रेयूकाई बौद्धद्वारा सम्मान तथा अभिनन्दन, २०६२ सालमा क्रमशः लिटिल एन्जेल्स स्कुल, पहलमानसिंह स्वाँर स्मृति प्रतिष्ठान, शारदा नन्दन स्मृति प्रतिष्ठान, शारदा नन्दन स्मृति पाठक पारितोषिक, साहित्य कुञ्ज कीर्तिपुर, बाल सिर्जनालय आवासीय मा.वि.र यज्ञेश्वरी नवदुर्गा भवानी मन्दिर, गोरखापत्र संस्थानद्वारा सम्मान तथा अभिनन्दन, २०६३ सालमा क्रमशः पानी पोखरी युवा क्लब बौद्ध महाँकाल, बगर फाउन्डेसन, केटाकेटी प्रा.लि., सूर्योदय आवासीय मा.वि.द्वारा सम्मान तथा अभिनन्दन, २०६४ सालमा क्रमशः अरुणिमा शैक्षिक प्रतिष्ठान, साहित्य सन्ध्या, सांस्कृतिक जागरण अभियानद्वारा सम्मान तथा अभिनन्दन र २०६५ सालमा नेपाल स्रष्टा समाज र नेपाल मेडिकल कलेजद्वारा सम्मान तथा अभिनन्दन प्राप्त गरे ।
विकलले माथि उल्लेख गरिएका बाहेक अन्य साहित्यिक सम्मेलन, विभिन्न संघ–संस्था र विद्यालयबाट सम्मान प्राप्त गरेका छन् । विकल साहित्य सिर्जनाबाट प्रशस्त पुरस्कार आर्जन गर्ने थोरै नेपाली साहित्यकारहरूमध्ये पर्दछन् ।

१.७ साहित्यिक लेखन र प्रकाशन
रमेश विकलको सर्वाधिक सफलताको विधा आख्यान भए पनि उनले साहित्यिक यात्राको थालनी कविता विधाबाट गरेका छन् । उनको २००५ सालमा श्यामप्रसाद शर्मासँगको सहकार्यमा ‘सन्देश’ नामक पत्रिकामा प्रकाशित प्रथम कविताको अंश निम्नअनुसारको छ ।
कुखुराको अब शंख फुके
रजनीचर वृन्द समस्त उठे
नवजागृतिको छ बखत् सबको
उठ जाग युवा सुप्रभात भयो ।
(ऐजनः१६)
विकलको सार्वजनिक रुपमा साहित्यिक यात्राको थालनी २००६ सालमा शारदा पत्रिकामा प्रकाशित ‘गरिब’ कथाबाट भएको हो । यस कथापछि विकलले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाए । रमेश विकलले रचना गरेका कृतिहरूको विवरण निम्नानुसारको छ ।
क) कथासङ्ग्रहहरूः
विरानो देशमा (२०१६) नयाँ सडकको गीत (२०१९), आजफेरि अर्को तन्ना फेरिन्छ
(२०२४), एउटा बूढो भ्वााइलिन आशाबारीको धुनमा (२०२५) उर्मिला भाउजू (२०३५), शव सालिक र सहस बुद्ध (२०४३), हराएका कथाहरू (२०५५)
ख) उपन्यासहरूः
सुनौली (२०३१), अविरल बग्दछ इन्द्रावती (२०४०), सागर उर्लिन्छ सगरमाथा छुन
(२०५२) ।
ग) नाटक तथा एकाङ्की सङ्ग्रहहरू
सात थँुगा (२०३७ बालएकाङ्की), मिल्किएको मणि (२०४२ पूणाङ्की), मानिस, वैभव र मृत्यु (२०५६ एकाङ्की ) ।

घ) यात्रा साहित्य
सात सूर्य एक फन्को (२०३४), निलगिरिको छायामा (२०४०)

ङ) आत्मसंस्मरण
मेरो अविरल जीवन गीत (२०६० पुर्वाद्र्ध), मेरो अविरल जीवन गीत (उत्तराद्र्ध, प्रकाशोन्मुख)

च) व्यङ्ग्य निबन्ध सङ्ग्रह
अब अगाडि बढनु छ अझ अगाडि बढनु छ (२०५०)

छ) बालसाहित्य
तेह्र रमाइला कथाहरू (२०१९), एक्काइस रमाइला कथा (२०२३) पञ्चतन्त्रका कथाहरू (२०२२), अगेनाको डिलमा (२०२३), कथा कुसुम (२०२५) विक्रम र नौलो ग्रह
(२०३९, उपन्यास) म र मेरो घर (२०४२, चित्रकथा) म र मेरो छिमेक (२०४३, चित्रकथा), बाह्र महिनाको गति (२०४३, चित्र कविता), दिलमाया (२०४४, चित्रकथा), केही मूर्खहरूको कथा (२०४५), हिउँदे छुट्टी (२०४९), गौथलीको घर (२०५०, चित्रकथा), बुद्धरामले कुरा बुझ्यो (२०५१ चित्रकथा), सङ्गत गुनाको बुद्धि (२०५७), मान्छे, भैसी र मुरी चामलको भात
(२०५७, चित्रकथा), दुष्ट भँगेरो र गौथलीहरू (२०६०, चित्रकथा), एउटा कथा भन्नु न हजुरआमा (२०६१), बुद्धिको घैंटोमा घाम (२०६३), मलाई किताब मन पर्छ (२०६३), रमेश विकलका उत्कृष्ट बाल कथाहरू (२०६३), हराएको चिठी (२०६४, बाल नाटक सङ्ग्रह) हजुरआमाको कथा, गौतम बुद्ध र पानीको संस्कार
माथि उल्लिखित कृतिमध्ये कोष्ठकमा सङ्केत गरिएका बाहेक अन्य बाल कथासङ्ग्रह हुन् । विकलका बाल साहित्यिक कृति मध्ये एउटालाई फोरी दुई वा सोभन्दा बढी पारिएको र, एक अर्का कृति मिलाई छुट्टै सङ्ग्रह समेत बनाइएकाले बाल साहित्यिक कृतिको संख्या थपघट हुने सम्भावना पनि छ ।

ज) अनुवाद
पिटर ब्वासो (२०५८, सचित्र कथा), समुद्री हँुडार (२०६३, उपन्यास) भस्मासुर
(उपन्यास), विश्वप्रसिद्ध बालकथाहरू (२०५९), विश्वप्रसिद्ध बालकथाहरू (२०६०), अनुदित कथाहरू ।
माथि उल्लेख गरिएका बाहेक विकलका अन्य सङ्कलन हुन बाँकी रहेका कृतिहरू समेत छन् ।

१.८ देहावसान
विकल नेपाली साहित्यका महान् साधक हुन् । यिनले नेपाली आख्यान साहित्यमा पु¥याएको योगदान प्रशंसनीय तथा बन्दनीय छ । ‘म लेख्दा लेख्दै मर्छु, मैलै लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ’ भन्ने विकल जीवनका अन्तिम अवस्थामा पनि साहित्यिक सिर्जना (ऐजनः२०) मै तल्लनि रहे । यिनले आफ्नो जीवनावधिभर प्रकाशित ५० र प्रकाशोन्मुख १ गरी ५१ वटा कृतिहरू दिई नेपाली साहित्यको भण्डारलाई फराकिलो पारिदिएका छन् । विकल आफ्नो जीवनको सान्ध्य प्रहरमा पनि साहित्य सदन, घरपरिवार, लेखन र साहित्यिक कार्यक्रममा व्यस्त थिए । विकल मधुमेह, उच्च रक्तचाप र मुटुको रोगी थिए । यिनलाई रोगले भित्रभित्रै गलाइसकेको थियो । यस्तैमा यिनी २०६५ साल मङ्सिरको अन्तिम साता विरामी परे । उपचारार्थ यिनलाई जोरपाटी अत्तरखेलास्थित नेपाल मेडिकल कलेजमा भर्ना गरियो । यिनलाई यसबखत निमोनियाले पनि समाती सकेको रहेछ । डाक्टरहरूको अथक प्रयास हुँदाहँुदै विकल २०६५ पुस २ गते ८१ वर्षको उमेरमा सदाका लागि निदाए ।
विकल भौतिक रुपमा संसारबाटै अस्ताए पनि उनी आफ्ना अमूल्य सिर्जनामार्फत जीवित छन् । विकल जीवित छँदै उनका परिवारजन र उनलाई मनपराउने साहित्यकर्मीहरूको प्रयत्नमा रमेश विकल साहित्य प्रतिष्ठान गठन गरिएको थियो । विकलले आफ्ना नाममा स्थापित प्रतिष्ठानलाई आफ्ना सम्पूर्ण कृतिहरू सुम्पेका छन् । यिनको देहावसान पछि आरुबारी क्लब र प्रतिष्ठानको पहलमा आरुबारीमा विकलको अद्र्धकदको प्रतिमा स्थापना गरिएको छ । नेपाल सरकारले पनि यिनलाई स्मरण गर्दै यिनको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन (२०६६) गरेको छ । विकललाई चिरस्मरणीय बनाउन शब्द संयोजन, राशी, अन्तर्दृष्टि, मधुपर्क, नारीस्वर आदि पत्रपत्रिकाले रमेश विकल विशेषाङ्क प्रकाशन गरेका छन् । विकल प्रतिष्ठानले रमेश विकल वाङ्मय पुरस्कार र सुशील–रमेश विकल समाजसेवा पुरस्कार स्थापना गरी यिनलाई जीवित तुल्याउने प्रयत्न गरेका छन् ।



२. प्रगतिवादी चेतना र विकल
२.१ प्रगतिवाद
सामाजपरक समालोचनाको माक्र्सवादी प्रकार वा रुप नै प्रगतिवाद हो । यस चिन्तनले माक्र्सवादबाट प्रेरणा प्राप्त गरेको छ भने यसको आत्मा साम्यवादमा अडेको ठानिन्छ । साहित्य तथा समालोचनाका क्षेत्रमा प्रगतिवादको थालनी सन् १९३० तिर भएको हो । (शर्मा ः १५६) साहित्यि गतिशीलताको उद्घाटन गर्दै सचेत रुपमा समाजलाई आमूल परिवर्तन गर्ने ध्येय राखी साहित्य सिर्जनातर्फ डो¥याउने समाजशास्त्रीय दृष्टिकोणलाई माक्र्सवादी समालोचना वा प्रगतिवादी चिन्तन भनिन्छ । सामाजिक यथार्थवादको शाखाअन्तर्गत देखापरेको प्रगतिवादी चिन्तनले जीवन जगत्को यथार्थ तथा वस्तुपरक ढङ्गले चित्रण गर्ने प्रवृत्ति अँगाल्छ । यस साहित्यिक वादको लक्ष्य वर्गसङ्घर्षको साम्यवादी विचारधारा र नवमानव समुदायको परिकल्पना हो । यस साहित्यिक अवधारणाले कोरा भावुकता र आदर्शको उपेक्षा गर्छ । मान्छे–मान्छे बीचका यावत् सीमा वा बाँधहरू भत्काउदै समुन्नत, सिर्जनशील, समतामूलक र उध्र्वगामी समाज विकासको सोच यस धाराको केन्द्रमा हुन्छ । यस मान्यताले मानव समाजका पतनशील, घृणित तथा कुत्सित प्रवृत्तिहरूलाई सिस्नो पानी लगाउँदै सर्वहारा वर्गलाई माथि उठाउने कार्य गर्छ । प्रगतिवादी साहित्यकारले साहित्य सिर्जनालाई समाजमा विद्यमान वर्गीय विभेदको खाडलाई पुर्ने सशक्त तथा प्रभावकारी माध्यम बनाउँछ । यसमा लेखकको साहित्यिक अभिव्यक्ति उसको वैयक्तिक अभिव्यक्ति मात्र नभई प्रगतिशील विचार, क्रान्तिकारी धारणा र वर्गीय प्रचारको वाणी समेत बन्दछ । यो साहित्य सर्वहारा वर्गको पक्षमा लेखिन्छ । त्यसो भएकाले यसलाई जनमुखी साहित्य भन्ने प्रचलन पनि छ ।
प्रगतिवादी चेतना माक्र्सको समाजवादी दर्शनमा आधारित छ । यसले साहित्यिका सामाजिक सम्बन्धका तŒव वा उपकरणहरूलाई महत्ता प्रदान गर्दै मानव हकहितका निम्ति वर्गहीन, शोषणरहित तथा सीमाहीन समाजको स्थापनालाई जोड दिन्छ । साहित्यको लोकमङ्गलजन्य प्रयोजनलाई शीर्ष स्थानमा राख्दै यसले भौतिक उपयोगितावादी मूल्यलाई महत्व दिन्छ र त्यसैमा साहित्यको सार्थकता देख्छ । साहित्य, व्यक्ति र समाजको घनिष्ठ सम्बन्ध कायम गरी तिनका बीच समझदारीपूर्वक सौहाद्र्र सम्बन्ध स्थापना गर्ने यस मान्यताले मानिस–मानिस बीचका जाति, वर्ण वर्ग, धर्म, सम्प्रदाय, लिङ्ग, भूगोल आदि कुनैको मतभेद स्वीकार्दैन । यस चिन्तनको केन्द्रमा सीमाहीन र स्वतन्त्र मानव समुदायको निर्माण गर्ने परिकल्पनाको अठोट हुन्छ । यसले समाजको आमूल परिवर्तनका लागि साहित्यलाई माध्यम बनाउँछ । समाजको रुपान्तरण, शोषणहीन समाजको निर्माण प्रगतिवादी साहित्यको हेतु वा कारक हुने गर्छ । यो मान्यताले भविष्यप्रति अपूर्ण आस्था, विश्वास र आशा राख्दछ ।
प्रगतिवादको जग द्वन्द्वात्मक भौतिकवादमा अडेको हुन्छ । यस चिन्तनले सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद अधिनायबवाद, अवसरवाद, उपनिवेशवाद आदिको पनि कडा शब्दमा आलोचना गर्दछ । प्रगतिवादले समाजका पिछडिएका, पछि पारिएका, उत्पीडित, दमन, शोषण र अत्याचार थोपरिएका, राज्यका स्रोत र संसाधनबाट पूर्णरुपमा बहिष्कृत भएका निम्नवर्गीय हली, खेतला, किसान दलित मजदुर श्रमजीवी तथा उत्पीडित वर्गको पक्षमा वकालत गर्दै लेखनीलाई गति दिन्छ । यस चिन्तनले पूँजीपति वर्ग भूमाफिया तथा भूमिपति सामन्तवर्ग, सम्भ्रान्तवर्ग र आफूलाई राज्यको शासक तथा मालिक ठान्ने वर्गको पनि घोर भत्र्सना र विरोध गर्दछ । यिनीहरूमा साहित्यलाई समाज परिर्वतनको हतियार बनाउने मोह हुन्छ । सामाजिक परिर्वतनका लागि सामाजिक तथासांस्कृतिक क्रान्तिको अपरिहार्य ठान्ने प्रगतिवाद साहित्यलाई परिवर्तनको सेवाहक बनाउँछ । प्रगतिवाद वर्गीय हिसावले निम्नवर्गका प्रति सहानुभूतिशील बन्दै उच्चवर्गको कडाइका साथ आलोचना
गर्दछ । यो वर्गीय दृष्टिले मध्यम, निम्न मध्यम र त्यसभन्दा बढी निम्नवर्गप्रति आग्रहशील बन्ने साहित्यक अवधारणा हो ।
प्रगतिवाद परिवर्तनका लागि क्रान्तिको अपरिहार्यता देख्छ । क्रान्तिविना जनमुखी तथा जनताप्रति उत्तरदायी समाज तथा राज्यव्यवस्था असम्भव छ भन्ने मान्यता राख्ने प्रगतिवादले “क्रान्ति कहिल्यै अर्डरले हुँदैन, यस क्षणका लागि त्यसको समय निश्चित हुँदैन तर यो ऐतिहासिक विकासको प्रकृयामा परिपक्क हुन्छ तथा अनेक आन्तरिक र बाहिरी कारणहरूको समुच्ययद्वारा निर्धारित क्षणमा घट्दछ ।” (सेत्र्सोवा र अन्यः १९८८ः७ ) । भन्ने लेनिनको मान्यतालाई उजागर गर्छ । लेनिन भन्छन् क्रान्ति तब हुन्छ जब करोडौं मानिसहरू अब यसरी जिउँन असम्भव छ भन्ने निष्कर्षमा पुग्छन् । क्रान्तिको निर्यात असम्भव र निरर्थक हुन्छ (ऐजन) । प्रत्येक देशका जनताको सामाजिक र राष्ट्रिय मुक्तिका लागि संघर्षमा क्रान्तिको जरुरत पर्दछ । यहीं क्रान्तिकारी जरुरतिको बहस प्रगतिवादी साहित्यमा हुन्छ ।
प्रगतिवादको लेखनीमा ऊर्जा हुन्छ । समाज र राज्यव्यवस्थालाई उल्टाइदिने ताकत हुन्छ । यो चिन्तन निकै बलिदान र त्यागी भावनाले खारिएको हुन्छ । यो अवधारणले खुनको माग गर्छ । जनताको अधिकार खोसेर मात्र पाइन्छ भन्ने दर्शनमा यो अडिएको हुन्छ । यो त्यस्तो लवस्तरो र पानीमरुवा चिन्तन पनि होइन । परेका बखत खुनको बदला खुन लिने धारिलो चिन्तन यसभित्र हुन्छ । यसभित्र गर्विलो विचार, दृढसङ्कल्प, बलिदान र त्यागको भाव तथा गहन खालको विचार हुन्छ ।
प्रगतिवाद विश्वमै व्याप्त हुन पुगेको एउटा सशक्त साहित्यिक आन्दोलन हो (शर्मा ः २०६१; १५७) । यसको यथार्थवादसँग घनिष्ट सम्बन्ध रहेको हुन्छ । यथार्थवाद जीवन जगत्को वस्तुपरक तथा फोटोग्राफिक चित्रण गर्ने चिन्तन हो । यसले कोरा भावुकता, अतिशय कल्पना, अतीतोन्मुख शैली तथा रूमानी प्रवृतिको घोर आलोचना गर्छ । प्रगतिवादी चिन्तन पनि रहस्यात्मकता, रोमान्स, आदर्श, अतिरञ्जना आदिबाट निकै टाढा हुन्छ । यसले आफूलाई निम्नवर्गको पक्षधरका रुपमा उभ्याउँछ । समग्रमा सर्वहारावादी साहित्य तथा समालोचनाको नाम हो प्रगतिवाद ।

२.२ थालनी र विकास
प्रगतिवादका सम्बन्धमा माथि सामान्य चर्चा गरियो । विश्व साहित्यमा यस चिन्तनको प्रारम्भ कहिले र कहाँबाट भयो त्यसका बारे प्रकाश पारौं ।
प्रगतिवाद वा माक्र्सवादी साहित्य चिन्तनको प्रारम्भ ईशाको बीसौं शताब्दीको तेस्रो, चौथो दशकमा भएको हो । माक्र्सवादी समालोचना मूलत ः लेनिनबाट (त्रिपाठीः२०५८, १५४) थालनी भएको मानिन्छ । माक्र्सवादी सिद्धान्तका आधारमा साहित्यिक कृतिको समाजपरक विश्लेषण गर्ने ब्यक्ति जि.वी .प्लेखानोभ हुन् (शर्मा ः २०६१, १२७) । माक्र्सवादी समालोचनाको खास जग बसाउने श्रेय (लेखानोबोलाइ छ । त्रिपाठीः २०५८; १५७) महान क्रान्तिकारी नेता लेलिनका पुवेपर्ति प्लेखानोबले कलालाई वर्ग दृष्टिको अभिव्यक्ति मान्दछन् उनका विचारमा समालोचना भनेको यसै वर्ग दृष्टिको विश्लेषण वा वर्ग विश्लेषण हो । कलाकार साहित्यकारलाई सर्वहारावर्गको स्वर स्वीकार्न रुसी जन क्रान्तिका सन्दर्भमा लेनिनले आह्वान गरेपछि सन् १९०५ तिर माक्र्सवादी समालोचनाको आधार बस्यो (ऐजन) लेनिनका दृष्टिमा साहित्यको प्रयोजन “जनताका भावना, विचार र सङ्कल्पलाई एकीकृत र उन्नत पार्नु” (ऐजन) हो । उनी साहित्यलाई सर्वहारा वर्गको हतियार ठान्छन् । लेनिन सन् १००५ मा ‘दलको सङ्गठन र साहित्यंका माध्यमबाट स्पष्ट भन्छन् “साहित्य दलीय साहित्य हुनुपर्छ” (ऐजन)ं ।
माक्र्सवादी समालोचनाले २० औं शताव्दीको तेस्रो चौथो दशकदेखि नै विश्वव्यापी प्रभाव पार्ने थालेको हो । सन् १९३५ मा पेरिसमा अन्तराष्ट्रिय प्रगतिशलि लेखक सङ्घको स्थापना भएपछि यो अभियान व्यापक बन्न (ऐजन) लागेको हो । प्रथम विश्वयुद्धपछि यस प्रणालीले प्रभावकारी भूमिका खेल्न थालेको हो । पाश्चात्य समालोचनामा प्रगतिवादी चिन्तनले द्वितिय महासमरपछि कम प्रभाव पादै बरू तेसा्रे बिश्व (एशिया, अफ्रिका, ल्याटिन अमेरिका) मा प्रभावशाली हुन थालेको देखिन्छ ।
माक्र्सवादी वा प्रगतिवादी चिन्तनका क्षेत्रमा देखा परेका कैयाँै व्यक्तित्वहरूले दार्शनिक परिधिभित्र रही साहित्यको व्याख्या तथा विश्लेषण गर्दछन् । माक्र्सवादी समालोचनाका क्षेत्रमा साहित्यिक तŒवका सम्बन्धमा मौलिक र गम्भीर बहस गर्ने व्यक्तित्वहरूका रुपमा लुना चास्र्की, क्रिष्टोफर कडवेल, जार्ज लुकाच र राल्फ फक्स देखापरेका छन् । जार्ज थमसन, आर्नोल्ड क्याटिल, ग्रैरो, एरिक हर्टले, भी.एफ्, कल्भर्टन, मेर्नोन पारिङ्गटन, माइकेल्ड गोल्ड, ग्रानिभिल हिक्स प्रभृतिको भूमिकाले पनि माक्र्सवादी साहित्य चिन्तनमा गतिशीलता थपेको छ (पूर्ववत्ः १५९) ।
माक्र्सवाद वा प्रगतिवादका सम्वन्धमा विश्वका महान् समालोचक, राजनेता तथा दार्शनिकहरूले दिएका केही मतहरूको चर्चा गरौं ।
माक्र्सका पूर्ववर्ती रुसी समालोचक बेलेन्स्की र चेरिन्स्कीले कलामा समाजिक अङ्कन हुने तथा यसमा समाजलाई प्रभाव पार्न सक्ने शक्ति रहने कुरा बताएका छन् । त्यस्तै माक्र्स एञ्जेल्सकै समकालका हर्जनले वर्गद्वन्द्वको आधारमा साहित्य मूल्यको (पूवर्वत्ः १५०) निरुपण गर्नु पर्ने बताएका छन् । चर्नीशेब्स्कीले मनोरञ्जनभन्दा यथार्थको पुनरङ्कनलाई साहित्य मान्नुपर्ने बताउँछन् । प्लेखानोबले कलालाई वर्गदृष्टिको अभिव्यक्ति ठान्दै समालोचनालाई सामाजिक वर्गीय विश्लेषणको आधार मान्छन् । लेनिनले साहित्य र साहित्यकार सर्वहारा सङ्घर्षको एक अस्त्र हो भन्छन् । उनले साहित्यमा व्यक्तित्व वा वयक्तिकताको छाप पर्न नहुने कुरा बताउँदै असाम्यवादी साहित्यको भन्र्सना र साम्यवादी साहित्यको आह्वान गर्छन् । सामाजिक आदर्शतर्फ उन्मुख यथार्थवादका द्रष्टा बेलिन्स्की र उनका अनुयायी चेरिन्स्कीले साहित्यद्वारा समाज सुधार हुनुपर्ने मत राख्छन् । उनीहरू साहित्यलाई सामाजिक क्रान्तिमा सहायक हुने सम्भावित साधन पनि ठान्छन् । माक्र्सवादी साहित्य चिन्तनको खास सूत्रपात गर्ने एन्जेल्सले “साहित्यमा सामाजिक यथार्थ हुन्छ र सो यथार्थ राजनैतिक, आर्थिक र साँस्कृतिक वर्गद्वन्द हो ः यो वर्गद्वन्द कृतिमा जति अन्तर्निहित रहन्छ त्यति उच्च हुन्छ
(पूर्ववत ः १५५) भन्छन् । माक्र्स र एन्जेल्सकै समवर्ती चर्निैसेब्स्की अझ अघि बढेर कला मनोरञ्जन नभई सामाजिक यथार्थको पुनरङ्कन हो अनि कल्पनामाभन्दा यथार्थमा सौन्दर्य छ र यथार्थ भनेको वर्ग सङ्घर्ष हो (ऐजन) भन्ने मत अघि सार्छन् । त्यस्तै द्रोबोल्युबोबको श्रमजीवी सौन्दर्यका सन्दर्भमा अभिव्यक्त धारणा पनि उल्लेख्य छ । उनी भन्छन् “साहित्यको विषय जनता हो, साहित्यको उद्देश्य जनता हो, साहित्यको कसी जनता हो (ऐजन) । साहित्यका सन्दर्भमा यिनी जनवादीका रुपमा देखापरेको तथ्य माथिको कथनले स्पष्ट पार्छ । लेनिनका समकालीन महान् विश्व प्रगतिशील प्रतिभा माक्सिम गोर्की पनि माक्र्सवादी समाज दर्शनलाई आफ्ना सृजनशीलताका मुटुमा ग्रहण गर्छन् । फ्रान्सेली प्रकृतिवादी यथार्थका घोर विरोधी गोर्कीले समाजप्रति व्यक्तिकलाकारको उत्तरदायित्व र त्यसलाई पूर्ण गर्ने प्रवल इच्छाशक्ति हुनुपर्ने मत राखेको देखिन्छ । उनी जनताको नयाँ समाजवादी युगको थालनी गर्ने साहित्यिक प्रवक्ता पनि हुन् । प्रसिद्ध माक्र्सवादी समालोचक क्रिष्टोफर कडवेल साहित्य वा कलाका सम्बन्धमा निम्नानुसारको मत प्रकट गर्छन् ः
‘कलाकृतिको अस्तित्व सामाजिक संसारमा हुन्छ । त्यसको निर्मिति सामाजिक सन्दर्भ भएका वस्तुहरूबाट हुन्छ । त्यसको निर्माण केवल ध्वनिहरूबाट हुँदैन, व्यवस्थित शब्दहरूबाट छानिएका शब्दहरूबाट हुन्छ, यस्ता शब्द संयोगजन्य नादबाट नभएर समाजबाट स्वीकृत स्वरग्रामबाट निश्चित ध्वनिद्वारा र अर्थयुक्त निश्चित रुपद्वारा हुन्छ । यी सबै वस्तुहरू संवेगात्मक वा भावात्मक सम्बन्धले युक्त रहने हँुदा सामाजिक हुन्छन् ।
(शर्माः२०६१, १५२)
कडवेल कला वा साहित्य सर्वहारावर्गको हितमा हुनुपर्ने धारणा व्यक्त गर्छन् । यस सन्दर्भमा उनी थप बोल्छन्ः “कला सर्वहारा कला होस् भन्नाले मुख्य आशय त्यो रुढिवादी ढङ्गमा माक्र्सवादी शब्दावलीलाई आफ्ना कलामा लागू गरुन् भन्ने होइन, यसो गर्नु बुर्जुवा तरिका हो । हाम्रो आशय के मात्र हो भने कलाकारहरू नयाँ विचारहरूका संसारमा बाचून् र आफ्ना आत्मालाई अतीतको बन्धकी नबनाऊन्, कलाकारको मूल्य उसको कलाकार आत्माका सन्दर्भमा र जबसम्म उसको कला बुर्जुवा कला रहन्छ, तबसम्म उसको कलाकार आत्मा नवनी विचारका संसारमा रहन सक्दैन । जुन दिन कलाकारको कला वास्तविक जीवनसँग एकाकार हुन्छ, त्यस दिन हामी उसको आत्मा नवनी विचारको संसारमा अवतरित भएको ठान्ने छौँ अनि मात्र उसको कलाले सर्वहार वर्गको कलाको दर्जा प्राप्त गर्नछ । यस्तो भएपछि हामी तिनका कलाको आलोचना बन्द गर्नेछौं ।
(ऐजन)
बेलायतका माक्र्सवादी कार्यकर्ता, लेखक र विचारक राल्फ फक्स उपन्यासलाई पूँजीवादी युगको वर्गद्वन्द्वको अभिव्यक्ति ठान्छन् । उनी विकसित महाकाव्यलाई वर्गभेदरहित आदिम साम्यवादी युगको अखण्ड मानवीयताको प्राप्तिका साथै भोलिको वर्गभेदविलीन समग्रं मानवताको पनि अभिव्यञ्जक विराट् साहित्यिक विधा मान्छन् । (त्रिपाठीः २०५८, १६१) रुसको सोभियत कलाका ग्लाइडकोदैब, स्मिर्न र ग्रीबहरूले साहित्यलाई सामाजिक नव–निर्माण र नव–संस्कारको सशक्त औजारका रुपमा लिन्छन् । त्यस्तै साहित्य र कला सम्बन्धी येनान–गोष्ठीमा सन् १९४२ मे ४मा प्रवचन दिने क्रममा चीनका माओत्सेतुङ्ग भन्छन् ः–
“संसारमा आज सबै संस्कृति, सबै साहित्य र कला विशेष वर्गहरूका अधीनमा छन् र विशेष राजनैतिक दिशातिर हाँकिएका हुन्छन् । वास्तवमा कला कलाको निम्ति, वर्गहरू भन्दा माथिको कला, राजनीतिबाट अलग वा स्वतन्त्र कला
भन्ने कुरा केही छैन । सर्वहाराबादी साहित्य र कला सम्पूर्ण सर्वहारावादी क्रान्तिकारी उद्देश्यका एक भाग हुन्ः लेनिनले भन्नुभए झैं ती सम्पूर्ण क्रान्तिकारी मेशिनका ‘दाँती र पेच–किला’ हुन् ।
(अध्यक्ष माओत्सेतुङ्गका उद्धृत उक्तिहरूः १९७)
उनी साहित्य र कलाका सन्दर्भमा थप बोल्छन् ः
हाम्रो सबै साहित्य र कला जन–समुदायका निम्ति हुन् र सर्वप्रथम मजदूर, किसान र सिपाहीहरूको निम्ति हुनः ती मजदूर किसान र सिपाहीहरूको निम्ति सृजिएका हुन् उनीहरूकै उपयोगका लागि हुन् ।
(पूर्ववत्ः १९८)
चिनिया सर्वहारावादी नेता अभ्यक्ष माओत्सेतुङ्ग सर्वहारावादी साहित्यका पक्षमा छन् । उनी कलाकार तथा साहित्यकारले आफ्नो पुरातन अडानलाई छाडनुृपर्ने बताउँछन् । उनी लेखक तथा कलाकार बहुसंङ्ख्यक मजदूर, किसान र सिपाहीहरूको पक्षमा, सर्वहाराको पक्षमा, उनीहरूद्वारा सञ्चालित वर्गद्वन्द्व वा वर्ग संघर्षका पक्षमा लाग्न अनुरोध गर्छन् । उनका मतमा मजदूर, किसान र सिपाहीहरूका निम्ति रचिएको साहित्य नै साँच्चैको सर्वहारावादी, जनवादी साहित्य हो । उनी साहित्य तथा कलालाई क्रान्तिकारी मेसिनको आंशिक भागका रुपमा लिन्छन् । उनी अघि बढी थप भन्छन् “कला तथा साहित्यले जनतालाई एक पार्ने तथा शिक्षा दिने र शत्रुलाई आक्रमण गर्ने र नष्ट पार्ने शक्तिशाली हतियारको काम गर्नुपर्छ । यसले जनतालाई तन मनले शत्रुसँग जुध्ने आँट दिनुपर्छ ।” माओ प्रगतिवादी तथा जनवादी साहित्यका नाममा पोष्टर तथा नारावाजी शैलीको साहित्यका पक्षमा छैनन् । उनी राजनैतिक दृष्टिले ठीक भए पनि कलात्मक शक्ति नभएका साहित्यका पक्षमा नभएको बताउँछन् ।
हङ्गेरीमा जन्मिएका प्रखर माक्र्सेली दार्शनिक तथा माक्र्सवादी समालोचक जर्ज लुकाच बुर्जुवा साहित्यमा निराशा, पलायन, विकृति र कुष्ठा देखिने कुरा बताँउदै उत्तम कला साहित्य यथार्थको विशिष्ट र सार्वभैमिक तथा दृष्टिगोचर र भावगोचर दुवैको समन्वयबाट सृजित हुन्छ भन्छन् । माक्र्सवादी सौन्दर्यशास्त्रका जन्मदाता तथा माक्र्सवादका सर्वाधिक प्रमाणिक व्याख्याता लुकाचले दैनिक जीवनमा देख्न नसकिने गतिशीलता, ऐतिहासिक क्रम र भविष्यको आवाज साहित्यकलामा समाविष्ट हुने बताउँछन् । उनी सुन्दरताको रचना समाजको वास्तविक रुप र त्यसबाट प्रेरित मानसिक प्रतिक्रियाहरूको चित्रबाट हुने ठान्छन् । उनी कला साहित्यले मानव विकासको इतिहासलाई समग्रतामा प्रर्दशन गर्ने बताउँछन् । नेपाली राजनीतिका प्रसिद्ध वाममार्गी राजनेता तथा माक्र्सवादी समीक्षक मोहन वैद्य ‘किरण’ ‘साहित्य र कला वर्गसङ्घर्षमा संलग्न जनता र जनयोद्धाहरूका सामूहिक मनोभावनाका प्रतिबिम्ब नै हुन्, जसको मूल काम वर्गीय सम्वेदनालाई अधिक प्रखर, प्रभाव र घनीभूत ढङ्गले अभिव्यक्ति दिनु हुन्छ । यसको उद्देश्य जनता र क्रान्तिको सेवा गर्नुहुन्छ” (चैतन्यः दोस्रो२०६४ः २४) भन्छन् । उनी अझै अघि बढेर आफ्ना मत यसरी प्रकट गर्छन्ः–
“क्रान्तिकारी साहित्य कलामा अभिव्यक्त भावधारा कुनै पनि व्यक्तिपरक भावधारा नभई सामूहिक भावधारा हुन्छ । भावको साधारणीकरण वा पारुपीकरण जनताको मनोभावनाको एउटै भावधारामा सामान्यीकरण हुन पुग्छ । त्यो बेला हजारौं, करोडौं दिल–दिमागहरूले दुश्मनप्रति घृणा र मित्रहरूप्रति प्रेम गर्न थाल्छन् । जनतामा भित्री हृदयदेखि नै वर्गचेतना जागृत भएर आउँछ । यो स्थ्तििमा जनताले आफ्नो जीवनको मूल्यबोध गर्दछ । ऊ केवल तटस्थ प्रेक्षक वा द्रष्टा भएर बस्तैन, समाजकै रुपान्तरण र उदात्त आर्दशका लागि सचेत एवं क्रियाशील बनेर वर्ग दुश्मनका विरुद्ध सङ्घर्षमा भिड्दछ । मुक्ति–सङ्घर्षको योद्धा बन्नुलाई उसले गौरवको विषय ठान्दछ र त्यसैमा आनन्दानुभूति प्राप्त गर्दछ । यसरी जनताको रुचि, संस्कार र भावनामा रुपान्तरण हँुदै जान्छ । क्रान्तिमा साहित्य र कलाले ठीक यसै भूमिकाको निर्वाह गर्दछन् ।
(पूर्ववतः२५)
नेपाली साहित्यका प्रसिद्ध माक्र्सवादी समालोचक निनु चापागाई ‘साहित्य संस्कृति समाजको आमूल परिवर्तनको साधन बन्नुपर्छ (चापागाई ः १४२) भन्ने धारणा राख्छन् । उनी थप अघि बढी भन्छन्– “प्रगतिवादले साहित्यलाई खाली जीवन र समाजको व्याख्या एवं आलोचनाका रुपमा हेर्ने दृष्टिकोणलाई अपर्याप्त ठान्छन् । यसले साहित्यलाई यथार्थलाई र यथार्थ र चेतनाको सम्बन्धलाई बोध गराउने साधनका अतिरिक्त सामाजिक चेतनाको निर्माण र सामाजिक जीवनको परिवर्तनको माध्यम पनि मान्दछ” (पूर्ववत् ः १४५) । नेपाली साहित्यकै अर्का प्रसिद्ध माक्र्सवादी समालोचक डा. ऋषिराज बराल भन्छन्ः ‘शोषण, अन्याय, अत्याचारको विरोध गर्नु देशप्रेम जगाउनु, विस्तारवाद र प्रभुत्ववादको विरोध गर्नु र जनताका हरेक सङ्घर्षको गीत गाउनु प्रगतिवादी काव्यआन्दोलनको उद्देश्य र सार हो ” (बराल २०६४ः१२९) ।
माक्र्सवादी वा प्रगतिवादी साहित्य चिन्तनका सम्बन्धमा विभिन्न विद्वानहरूले अभिव्यक्ती धारणाको चर्चा पछि यस चिन्तनको आरम्भ र विकासका सन्दर्भमा चर्चा गरौं ।
विश्व साहित्यमा सामाजिक दृष्टिको थालनी ईशाका १८औं शताब्दीमा विकोले होमरका कृतिको अभ्ययनका आधारमा ग्रीक समाजको विवेचना गरेदेखि नै (त्रिपाठी २०५८ः१४९) थालनी भएको हो । पाश्चिमा समाजपरक समालोचनाको सूत्रपात १९औं शताब्दीमा हेर्डरले प्राचीन ग्रीक नाटककारहरू र पुनजीगरणकालीन बेलायती नाटककार शेक्सपियरका सामाजिक र जातीय पर्यावरणमा रहेको भिन्नताबाट उब्जेको नाट्याभिन्नतातर्फ औल्याउँदै साहित्यिक स्रष्टा आफ्नो समाज जाति एवं समाजको संचेतनाबाट प्रभावित हुन्छ र उसको लेखन त्यसैबाट प्रभावित भएर गरिएको हुन्छ भन्ने धारणा राखेपछि भएको हो । यस दिशामा अझै गहकिलो डेग उन्नाइसौं शताब्दीका फ्रान्सेली समालोचक एच. ए. टेनले चालेका छन् । (शर्मा २०६१ः १२७) उनले ज्ष्कतयचथ या भ्लनष्किज ीष्तभचबतगचभ नामक पुस्तकमा जाति, पर्यावरण र क्षण भन्ने प्रसिद्ध सिद्धान्तको प्रतिपादन गदै समालोचनामा सामाजिक दृष्टिकोणलाई फराकिलो तुल्याएका छन् (ऐजन) । टेनलाई समाजपरक समालोचनाका प्रथम उल्लेख्य प्रयोक्ता पनि मानिन्छ ।
समाजपरक समालोचनाको वास्तविक विकास बीसौं शताब्दीमा भएको हो । यो चिन्तन विख्यात चिन्तक कार्ल माक्र्स (सन् १८१८–१८८३) को राजनीतिक एवं आर्थिक दर्शन तथा दृष्टिकोणमा आधारित छ । माक्र्सले आफ्ना घनिष्ठ मित्र एङ्गेल्ससँग मिलेर माक्र्सवादी साहित्यिक दृष्टिकोणको बिवेचना गरेका छन् । यी दुईलाई माक्र्शवादी साहित्य चिन्तनको विचारक एवं प्रवर्तक मानिन्छ ।
माक्र्सवादी सिद्धान्तका आधारमा साहित्यिक कृतिको समाजपरक व्याख्या गर्ने व्यक्तित्व प्लेखानोब हुन् । माक्र्सवादी चिन्तनलाई व्यवहारमा उतार्ने तथा माक्र्सवादी समालोचनाको शुभारम्भ गर्ने व्यक्ति लेनिन हुन् । माक्र्सवादी साहित्याचिन्तनले ईश्वीको बीसौं शताब्दीको तेस्रो–चौथो दशकबाट विश्वव्यापी प्रभाव पार्न थालेको छ । ‘सन् १९३५ मा पेरिसमा अन्तर्राष्ट्रिय प्रगतिशील लेखक संघको स्थापना भएपछि यस चिन्तनले व्यापकता प्रदान गरेको हो । माक्र्सवादी साहित्य चिन्तनले दोस्रोविश्वयुद्ध अघि पाश्चात्य जगत्मा व्यापक प्रभाव पार्न थालेको देखिन्छ ।
द्वितीय विश्वयुद्धपछि शक्तिशाली राष्ट्रहरू क्षीण बन्दै गएपछि यसको प्रभाव पनि घट्दै गएको देखिन्छ । यस चिन्तनले दोस्रो महासमरपछि पाश्चात्य जगत्मा कम र एशिया, अफ्रिका,ल्याटिन अमेरिकाजस्ता तेस्रो विश्वमा व्यापक प्रभाव पारेको भेटिन्छ ।
माक्र्सवादी वा प्रगतिवादी साहित्य चिन्तनले चीनमा माओत्सेतुङ्गको ‘येनान व्याख्यान’ (सन् १९४२ मे ४) पछि विशेष प्रभाव पार्न थालेको देखिन्छ । नेपाली साहित्यमा यस चिन्तनको सूत्रपात वि.सं. २००४ सालमा सामान्य रुपमा तथा वि.सं. २००८–२०१७ सालका बीच प्रगतिशील वा प्रगतिवादी समालोचनाका नामले विशेष रुपले फस्टाएको देखिन्छ । नेपाली साहित्य तथा समालोचनाका क्षेत्रमा यो चिन्तनलाई रमेश विकल हृदयचन्द्रसिंह प्रधान, डी.पी. अधिकारी, श्यामप्रसाद शर्मा, कृष्णचन्द्रसिंह प्रधान, सरिता ढकाल, गणेशलाल सुब्बा, आनन्ददेव भट्ट, गोविन्द भट्ट तथा ताना शर्मा आदिले अग्रणी प्रतिभाको रुपमा प्रयोग गरेका छन् । नेपाली साहित्यमा वि. सं.२००७ सालपछि मूर्तरुपमा देखापरेको यो चिन्तन आजसम्म विभिन्न आरोह अवरोध पार गरी विकसित भैरहेको छ । यो चिन्तनले नेपाली साहित्यमा वि.संस २०३६ पछि निकै उच्चता समेत हासिल गरिसकेको छ ।
२.३ विकलको साहित्यिक प्रवृत्ति
रमेश विकल नेपाली साहित्यका प्रतिष्ठित प्रगतिवादी साहित्यकार हुन् । वि.सं. २००६ सालको ‘गरीब’ कथामार्फत् सार्वजनिक साहित्ययात्राको थालनी गरेका विकलले करिब ६ दशक लामो साहित्यिक यात्रा तय गरेका छन् । विकलले नेपाली साहित्यको आख्यान विधामा आफूलाई निकै सफल तुल्याएका छन् ।
विकल साहित्य लेखनको प्रारम्भमै माक्र्सवादी चिन्तनबाट प्रभावित भएका हुन् । यिनी साहित्यिक यात्राको थालनी गर्दै रहँदा माक्र्सवादी विचारबाट अति प्रभावित हुँदै त्यही विचारको जगमा आफूलाई दह्रिलो तुल्याउँदै र त्यसै विचारको प्रसार–प्रसार र जनमानसमा घनीभूत रुपले छाप छोड्न तत्पर रहँदै आएका व्यक्तित्व पनि हुन् । विकलले आफूलाई माक्र्सवादी चिन्तनमा खारेर कम्युनिष्ट पार्टीको सदस्यता लिई भूमिगत रुपमा कम्युनिष्ट विचारलाई जनमानससम्म सञ्चार गर्न लागेका व्यक्ति पनि हुन् । साहित्य यात्राको सुरुमै माक्र्सवादको अध्ययन गरी त्यही विचारमा हिडेका विकलले पछि आएर (वि.सं. २०१७ पछि) आफूलाई राजनीतिबाट अलग राखे पनि यो विचारले उनलाई जीवनभर पछ्याइरहेको कुरा यिनका कृतिहरूको अध्ययन र विश्लेषणले जनाउँछन् । विकलको प्रथम कथा गरीबमै साहूले किर्ते कागज बनाई मानबहादुर जस्तो गरीब र निमुखा पात्रको घर आफ्नो बनाएको कथ्य प्रस्तुत गरिएको छ । किर्ते कागज बनाउनु, गरिब तथा निमुखाहरूमाथि एकछत्र ढङ्गले शोषण तथा उत्पीडन थोपर्नु, जालसाचीका व्यवहार गर्नु उच्च वर्गीय अह्म र दृष्प्रवृत्ति हुन् । यिनै दृष्प्रवृत्ति तथा सामाजिक अव्यवस्थाका कुरा विकलले आफ्नो प्रथम रचनामा गरी नेपाली समाजमा व्याप्त वर्गीय विभेहलाई उदाङ्गो पार्ने यत्न गरेका छन् । विकलले निम्नवर्गप्रति सहानुभुतिशील बन्दै उच्च वर्गीय अहम् र दम्भको चिरफार गर्ने प्रयत्न प्रथम चरणकै ‘गरीब’ कथामा गरेका छन् ।
रमेश विकल नेपाली साहित्यका प्रतीष्ठित व्यक्तित्व हुन् । यिनले नेपाली साहित्यका कथा, उपन्यास, निबन्ध, नाटक, एकाङ्की र बालसाहित्यका विधामा कलम चलाई तत्तत् विधामा आफूलाई सफल समेत बनाएका छन् । अब विकलको साहित्यिक व्यक्तित्वलाई विधागत रुपमा छलफल गरौं ।
२.४ विकलको कथाकारिता ः
विकलको साहित्यिक यात्राको प्रारम्भ कथा विधाबाट भएको कुरा माथि नै सङ्केत गरियो । कथा विधामा विकलको विशेष प्रशिद्धि समेत स्थापित भैसकेको छ । वि.सं.२००६ सालको शारदामा प्रकाशित ‘गरीब’ शीर्षक कथाका माध्यमबाट यस क्षेत्रमा देखापरेका विकलका सातवटा कथासङ्ग्रह प्रकाशित छन् । यी सङ्ग्रहका अतिरिक्त विकलका कथाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।
सामाजिक चिन्तनका सेरोफेरोभित्र आबद्ध भई कथाको कलेवर तयार गर्ने विकल प्रगतिशील विचारधाराप्रति प्रतिबद्ध प्रतिभाशाली कथाशिल्पी हुन् । समाजका जटिल आर्थिक एवं मानवीय स्वरुपको पर्यवेक्षण गर्दै गतिशील सामाजिक मूल्यमा आस्था राख्ने विकलका कथाका पात्रहरू सङ्कीर्ण रुढिवादी संस्कार बोकेका हुन्छन् । विकलले आफ्ना कथामा रुढिग्रस्त समाजलाई तथा सङ्कीर्ण रुढ मानसिकता बोकेका पात्रहरूलाई आलोचनात्मक ढङ्गले हेरी तिनको विरोध गर्दै नव मान्यता र नयाँ परम्पराको स्थापना गर्न इच्छाउँछन् ।
विकलले २००६ देखि २०६५ सम्म लगभग ६ दशक लामो कथायात्रा तय गरेका छन् । विकलको यति लामो कथायात्रामा उनी वि.सं.२०२० पूर्व र २०३६ साल उत्तर सामाजिक यथार्थवादी धारामा केन्द्रित देखिन्छन् भने वि.सं. २०२१ देखि २०३६ सम्मको बीचको अवधिमा मनोवैज्ञानिक यथार्थवादी कथाकारका रुपमा देखापर्छन् । विकलले आफ्ना सामाजिक यथार्थवादी कथामा समाजमा विद्यमान आर्थिक असमानता, सामाजिक भेदभाव, वर्गीय विभेद, अन्धविश्वास र रुढिको चित्रण गरेका छन् । यिनी समाजमा विद्यमान यावत् समस्याको जड आर्थिक विषमता हो र यसैले नै समाजमा विविध समस्या निकाल्छ भन्दै यसको समूल अन्त्य गरी समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिन्छन् । यिनका सामाजिक यथार्थवादी कथामा वर्गीय विभेद र आर्थिक विषमताले सिर्जना गरेका सामाजिक समस्याको चिरफार गरेको पाइन्छ । विकलले आफ्ना सामाजिक यथार्थवादी कथामा उच्च वर्गीय सामन्तवर्गप्रति घृणा र निम्न तथा निमुखावर्गप्रति सहानुभूति व्यक्त गरेका हुन्छन् । यिनी बहुसङ्ख्यक शोषित, पीडित मजदूर तथा सर्वहारावर्गको पक्षमा लेखनीलाई गति दिने स्रष्टा हुन् ।
विकलका सामाजिक यथार्थवादी कथाभन्दा पृथक् खालका मनोविश्लेषणवादी कथा पनि छन् । यिनले आफ्ना मनोवैज्ञानिक कथामा मानवीय यौनजन्य कामवासना, रतिराग तथा बालमनलाई विषयवस्तु बनाएका छन् । यसर्थ यिनका मनोवैज्ञानिक कथाहरू बालमनोविज्ञान र यौनमनोवैविज्ञानमा आधारित छन् (लुँइटेल;२०६७;२६) । विकलका मनोवैज्ञानिक कथाहरूमा यौनमनोवैज्ञानिकभन्दा बालमनोवैज्ञानिक कथा सशक्त छन् । विकलका ‘मेरो प्रथम सम्भोग, नगर्न गरिएको पाप जस्ता कथाहरू यौनमनोविज्ञासँग सम्बद्ध छन् भने मेरी सानी भतिजी प्रतिमा, फुटपाथ मिनिष्टर्स, मधुमालतीको कथा जस्ता केही कथाहरू बालमनोवैज्ञानमा आधारित छन् । विकलका मनोवैज्ञानिक कथामा पनि समाजको यथार्थपरक प्रस्तुति पाइने हुँदा यिनलाई सामाजिक यथार्थवादी कथाकार नै मान्नु पर्दछ ।
रमेश विकलका कथामा घटना र चरित्र दुवैलाई महत्ता प्रदान गरिएको पाइन्छ । यिनी पात्रको चरित्राङ्कनमा विशेष अभिरुचि राख्ने स्रष्टा हुन् । विकलका कथाहरू घटनाप्रधान र चरित्रप्रधान दुवै खालका छन् । विकलले आफ्ना सामाजिक कथामा वर्गीय चरित्रलाई र मनोवैज्ञानिक कथामा व्यक्ति चरित्रलाई विशेष महŒव दिन्छन् । विकल आफ्ना कथामा निम्न वर्गीय पात्रलाई अनुकूल र उच्च वर्गीय पात्रलाई प्रतिकूल पात्रका रुपमा अघि सार्छन् । यिनी मानवेतर पात्रको प्रयोग गर्न पनि रुचाउने सजक हुन् । लाहुरी भैसी सिँगारी बाख्रो जस्ता कथामा यिनले मानवेतर पात्रको प्रयोग गरेका छन् ।
विकलका कथामा परिवेश अनुकूल कथानकको चयन गरेको देखीन्छ । यिनी विशेषतः काठमाडौं र त्यस वरपरको परिवेशमा केन्द्रित रही कथा रच्छन् र आफ्ना कथामा परिवेश अनुकूल पात्रको चयन समेत गर्दछन् । विकलका कथामा द्वन्द्वको पनि सघन उपस्थिति देखिन्छ । यिनका कथामा कथ्य अनुरुप आन्तरिक र बाह्य दुवै खालको द्वन्द्व प्रयोग गरेको पाइन्छ । यिनका सामाजिक र मनोवैज्ञानिक दुवै कथामा आन्तरिक र बाह्यमध्ये आन्तरिक द्वन्द्वको सघन उपस्थिति देखिन्छ । अनुकूल, प्रतिकूल, सत् असत्जस्ता परस्परविरोधी पात्र या भावहरूको आपसी सम्बन्ध देखाउने क्रममा विकलका सामाजिक यथार्थवादी कथामा पनि विरोधी पात्रका बीचमा हुने बाह्य द्वन्द्वभन्दा एउटै पात्रको मनभित्रका विरोधी भावहरूका बीचमा हुने आन्तरिक द्वन्द्वको सशक्तता पाइनु यिनको छुट्टै विशेषता हो (ऐजन) । विकल प्रायः तृतीय पुरुषीय दृष्टिबिन्दुमा कथाको संरचना तयार पार्छन् र आफ्ना कथामा समाजका शोषित, पीडित वर्गको पक्ष लिंदै शोषक वा उत्पीडक वर्गको विरोध गर्छन् ।
विकल सरल र सहज भाषाशैलीय विन्यास मा कथाको संरचना तयार पार्दै पात्रानुकूल स्तरीय तथा कथ्य भाषाको समेत स्वभाविक प्रयोग गर्छन् । कथाको वस्तु, परिवेश, प्रसङ्ग अनुकूल भाषिक प्रयोग पाइने विकलका कतिपय कथामा विविध बिम्ब र प्रतीकको पनि स्वभाविक तथा सार्थक प्रयोग देखिन्छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक आदि समस्याद्वारा ग्रसित नेपाली समाजका समस्यालाई मार्मिक ढङ्गमा अभिव्यक्त गर्ने विकलले आफ्नो जीवन भोगाइका पीडालाई पनि साधारणीकरण गरेर समेत कथाको कलेवर तयार गर्छन् । विकल मुख्यतः सामाजिक यथार्थवाद र आलोचनात्मक यथार्थवादमा केन्द्रित रही प्रगतिवादी दृष्टिकोणका साथ कथाको रचना गर्ने उल्लेख्य कथाकार हुन् । सामाजिक, आर्थिक विषमता र विपन्नता, वर्गीय भेदभाव र असमानता, परम्परित अन्धविश्वास र रुढिजस्ता विषयको चयन, वर्गीय पात्रको प्रयोग, द्वन्द्वविधानमा सघनता र तीव्रता, वैचारिक चिन्तनको प्रस्तुति, सरल, सरस र बोधगम्य भाषशैलीको प्रयोग, सोद्देश्यमूलक कथा लेखन आदि कथाकार विकलका मूलभूत वैैशिष्ट्रय हुन् (ऐजन) ।
२.५ उपन्यासकार रमेश विकल
रमेश विकलका सुनौली (२०३१), अविरल बग्दछ इन्द्रावती (२०४०) र सागर उर्लन्छ सगरमाथा छुन (२०५२) गरी तीनवटा उपन्यास प्रकाशित छन् । लगभग एक÷एक दशकको अन्तरालमा प्रकाशित यिनका उपन्यासमा मुलतः सामाजिक यथार्थवादी चिन्तन देखिन्छ । विकल औपन्यासिक लेखनको प्रारम्भमा सुनौली उपन्यासमार्फत रोमान्टिक र अनुत्तरदायी उपन्यासकारका रुपमा झुल्किए । कथा विधामा राम्रैगरी स्थापित भइसककेका विकललाई उपन्यास लेखनको प्रारम्भिक यात्राले यिनको कलागत मूल्य र औपन्यासिक चिन्तनप्रति नै ठूलो प्रश्न सिर्जना गरिदियो । ‘जब २०४० सालमा उनको दोस्रो उपन्यास अविरल बग्दछ इन्द्रावती प्रकाशनमा आयो अनि मात्र उपन्यासकार विकलको पहिचान कायम भयो (सुवेदी, दोस्रो २०६४,४७०) । यस उपन्यासले तत्कालीन नेपालको राष्ट्रिय, क्षेत्रीय र स्थानीय परिधिका विसङ्गतिभित्रका विद्रुप अनुहारका विरुद्ध लड्ने हिम्मत जगाइदियो । यसै उपन्यासमार्फत् विकलमा निहित वर्गीय चेत तथा वर्गसङ्घर्षका कुरा बाहिर आए । विकलको २०४७ सालमा विक्रम र नौलो ग्रह नामक बालोपयोगी उपन्यास पनि आयो । यसले बालसाहित्यका क्षेत्रमा उच्च महत्व राख्न पनि सफल भयो । विकलको सागर उर्लन्छ सगरमाथा छुन (२०५२) भन्ने कृतिले शिल्पको नवीन सौन्दर्य उद्घाटन गर्न तथा नेपालभित्रका भ्रष्ट अभिजातको उग्र दुष्कृति र नेपालबाहिरबाट देखिने स्वच्छ र पवित्र सुकृतिलाई नेपालभित्रकै परिवेशबाट संयोजन, निर्माण र चित्रण गर्न सफल भयो । विकलका यिनै उपन्यासभित्र प्रक्षेपित शिल्प, सौन्दर्य र कलागत चेतनाका आधारमा यिनको औपन्यासिक व्यक्तित्व पहिल्याउन सजिलो हुन्छ ।
रमेश विकलको प्रथम उपन्यास सुनौली हो । यस उपन्यासमा सहर पसेकी इन्द्रावती नदी छेउकी माझीकी छोरीका माध्यमबाट नारीलाई यौनसन्तुष्टिको साधनका रपमा लिने गरिएको तत्कालीन वस्तुसत्यलाई अगि सारिएको छ (लुइँटेल, पूर्ववत्ः २९) । एउटी ग्रामीण समाजमा हुर्किएकी सरल स्वभावकी युवतीको जीवनलाई सहरिया भनाउँदाहरूले क्षतविक्षत, तहसनहस र अस्तव्यस्त पारिदिएको कुरालाई यस कृतिले उदाङ्गो पारिदिएको छ । यस कृतिमा सहरिया सभ्यताभित्रका कुत्सित, अराजक र नाङ्गा दृश्यहरूको उद्घाटन छ । यो कृति वस्तुविन्यास र शिल्पसंरचनामा शिथिल देखिनुका साथै सामाजिक यथार्थभन्दा पर यौन उन्मादबाट ग्रसित देखिन्छ ।
रमेश विकललाई उपन्यास लेखनका क्षेत्रमा सर्वाधिक सफल तुल्याउने कृति अविरल बग्दछ इन्द्रावती हो । यो कृति रमेश विकलको पर्याय नै बन्न पुगेको छ । इन्द्रावती नदी किनारमा दुःखजिलो गरी बाँच्दै आएका शोषित, पीडित तथा असहाय माझीहरूको जीवनवृत्तमा आधारित अविरल बग्दछ इन्द्रावती कृतिले नेपाली समाजमा जागृत हुँदै गरेको वर्गीय चेत तथा वर्गीय अन्र्तसङ्घर्षलाई घनीभूत रुपमा उजागर गर्ने यत्न गरेको छ । कृतिले इन्द्रावती नदी किनारका माझीहरूप्रति त्यस भेगको स्वघोषित राजाका काजीखलकले गर्दै आएको उत्पीडन र थिचोमिचोलाई सघन रुपमा उतार्ने प्रयास गरेको छ । यस कृतिमा नेपाली समाजमा व्याप्त उत्पीडन र शोषणका घटनाहरू इन्द्रावतीको प्रवाहझैं तीव्र वा मन्द जे भए पनि एक न एक दिन त्यसको अन्त्य भई समुन्नत, सिर्जनशील, समतामूलक र उध्र्वगामी नेपाली समाजको सिर्जना हुनेछ भन्ने ध्वन्यात्मक अर्थ सङ्केतित गरेको छ । यस कृतिमा उच्चवर्गीय अह्म र दम्भको अन्त्यका लागि आम शोषित, पीडित सर्वहारावर्ग एकजुट हुनुपर्ने वस्तुसत्यलाई घटना प्रस्तुतिकै क्रममा अघि सारिएको छ । कृतिमा माझीसमुदायका रहनसहन, चिन्तन र जीवनशैलीका कुरा छन् । उच्चवर्गीय दम्भ र ध्वाँसका कुरा छन् । प्रशासनको आडमा श्वेतआतङ्क मच्चाउने सामन्तवादी हर्कत र अभिमानका दृश्य छन् । कृति वैचारिक, भाषिक तथा शैल्पिक हर ढङ्गले सफल देखिन्छ । कृतिकारले यस कृतिमार्फत् वर्गविहीन, शोषणरहित नेपाली समाजको निमार्ण गर्ने ध्येय राखेका छन् ।
रमेश विकलको तेस्रो औपन्यासिक कृति सागर उर्लन्छ सगरमाथा छुनमा २०३० र २०४० को दशकमा नेपाली जनतामा अविर्भाव हँुदै गरेको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाप्रतिको अभिरुचिलाई सफल ढङ्गले चित्रण गरिएको छ । यसमा तत्कालीन पञ्चायती व्यवस्थाका आडमा हुने गरेका विसङ्गति र विकृतिलाई उदाङ्गो पारेर देखाइएको छ (ऐजन) । कृतिमा अभिजात वर्गले देशको राजनीति अर्थतन्त्र एवं प्राकृतिक स्रोत र संसाधन आफ्नो मुठ्ठीमा लिई त्यसको कसरी एकलौटी उपयोग गर्छन् भन्ने वस्तुसत्यलाई उद्घाटन गरिएको छ । यस उपन्यासमा लागूपदार्थ ओसारप्रसार, मूर्ति चोरी, सुन तस्करी जस्ता अवैध कारोबारका कुरा छन् र यिनै कारणले देश कसरी डुबेको छ भन्ने तथ्य पनि छ । यस्ता अवैधधन्दामा दरबारको समेत हात रहने दृश्य देखाइएकाले देशको भयावह तस्वीर उभ्याउने यत्न यस कृतिमा भएको छ । कुतिमा स्वदेशी तथा विदेशी पात्रहरूको संयोजन गरी नेपालका होटेल र अन्यस्थलमा विदेशीप्रति गरिने दुव्र्यवहार, होटेलमा हुने वेश्यावृत्ति एवं यौनदुराचार, देशमा व्याप्त मण्लेवृतिको जगजगीजस्ता प्रसङ्ग पनि उद्घाटित छन् ।
रमेश विकल सरल र सहज भाषाशैलीका उपन्यासकार हुन् । यिनी सामाजिक वस्तुयर्थाको धरातलमा रही औपन्यासिक शिल्प भर्दछन् । विकल माक्र्सेली सौन्दर्यशास्त्रको आलोकमा रही औपन्यासिक कलेवर तयार गर्ने स्रष्टा समेत भएकाले यिनमा माक्र्सको द्वन्द्वात्मक भौतिकवादी चिन्तनको राम्रो प्रभाव देखिन्छ । यिनी आफ्ना उपन्यासमा समाजवादी चिन्तनका कुरा गर्छन् । सामाजिक विद्रुपता, अव्यवस्था, शोषण, दमन, उत्पीडन र अराजक संस्कृतिले निम्त्याएका भयावह तथा कहालिलाग्दा दृश्यहरूलाई यिनले उपन्यासमा राम्रै गरी विचरण गर्न दिन्छन् । विकलका औपन्यासिक पात्रहरू निम्नवर्गीय गरिब, निमुखा तथा श्रामिकहरू हुने गर्छन् र यिनले यही वर्गको उत्थानका लागि लेखनीलाई गति दिन्छन् । विकलका उपन्यासमा वर्गीय अन्तद्र्वन्द्व तथा वर्गसङ्घर्षका कुरा समेत हुन्छन् । सामाजिक सुधार, मानवीय मूल्यको खोजी, वर्गीय विभेदको अन्त्य आदि चाह राख्दै रचना गरिएका विकलका उपन्यासहरूमा यिनका कथाकाझैं कलागत मूल्य र सौन्दर्य अलि शिथिल देखिन्छ । विकल उपन्यासभन्दा कथा विधाकै सफल व्यक्तित्व हुन् ।
२.६ निबन्धकार रमेश विकल
रमेश विकलका सात सूर्य एक फन्को (२०३५) नीलगिरीको छायामा (२०५०) अव अगाडि बढ्नु छ अझ अगाडि (२०५०), मेरो अविरल जीवनगीत (२०६०) गरी चारवटा निबन्ध सङ्ग्रहहरू प्रकाशित छन् । यिनका अतिरिक्त विकलका अन्य छरिएर रहेका निबन्धात्मक कृति पनि छन् । विकलका प्रस्तुत कृतिमध्ये प्रथम दुई यात्रावृत्तमा आधारित संस्मरणात्मक रचना हुन् ।
विकलको सात सूर्य एक फन्को २०३२ साल साउन २९ गते देखि भदौ ४ गतेसम्म गरिएको गोसाइँकुण्डको सातदिने यात्रा विवरणको प्रस्तुतिमा आधारित संस्मरणात्मक निबन्ध सङ्ग्रह हो । यस कृतिको प्रारम्भ “तयारीः एउटा सानो सांग्रिलाको” शीर्षकबाट गरी “टुङ्गो एउटा सानो सांग्रिलाको” शीर्षकबाट अन्त्य गरिएको छ । यस कृतिमा पहिलोबासदेखि सातौं बाससम्मका पृथक् पृथक् शीर्षक छन् । यस कृतिमा प्रत्येक शीर्षकमा त्यस दिनका प्रमुख घटना, त्यहाको सामाजिक तथा सांस्कृतिक परिवेश, रहनसहन, जनजीवन, जीवनशैली, दिनचर्या, त्यहाँको प्रकृति र त्यहाँभित्र देखापर्ने विकृतिको समेत कथात्मक प्रस्तुति गरिएको छ । यसमा भौगोलिक विकटतामा यात्रीहरूले भोग्नुपर्ने कष्टहरूको समेत जीवन्त चित्रण पाइन्छ । आत्मपरक ढाँचाको प्रस्तुत कृति रोचक र बोधगम्य समेत छ ।
नीलगिरिको छायामा ‘२०३७ साल चैत्र २३ गतेदेखि गरिएको काठमाडौं मुक्तिनाथको पन्ध्रदिने यात्रावृत्तान्तमा आधारित छ । कृतिमा ‘मान्छे भौतारिन्छ सपनामा’, ‘जाउँन हरर पोखरा बसैमा’ ‘माछापुच्छे« हाँस्छ, आफ्नो भव्यता लिएर’, यहाँ त छैन ऊ त्यहाँ पाइन्छ बास’, ‘के भूपिशेरचनको घर त्यही हो ? “नीलगिरिको काखैकाख’, ‘जोमसोमको एकारात’, ‘काम्लो लैजा–गलैंचा लैजा’, ‘हरहर गङ्गे’ र ‘प्रतियात्रा’ गरी दश शीर्षक छन् । यस कृतिमा काठमाडौं–मुक्तिनाथ यात्रा गरिंदाँको पन्ध्रदिने क्षण मात्र नभएर यात्रा प्रारम्भका घटना, यात्रा थाल्नुपूर्वका योजना, यात्रा अवधिका क्षण तथा यात्रानुभूति कुराहरू छन् । औपन्यासिक संरचनामा आबद्ध प्रस्तुत कृति सहज र स्वभाविक छ ।
रमेश विकलको ‘अब अगाडि बढ्नु छ, अझ अगाडि बढ्नु छ’ सत्रवटा निबन्धहरू समावेश गरिएको हास्यव्यङ्ग्यात्मक कृति हो । यसमा सङ्कलित निबन्धहरूमा कृतिकारले नेपाल र नेपाली जनजीवनका सामाजिक, राजनीतिक आदि क्षेत्रमा व्याप्त अन्याय, अत्याचार, विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेका छन् । यसमा सङ्कलित कतिपय हास्यव्यङ्ग्यात्मक निबन्धमा स्रष्टाको सामाजिक यथार्थवादी स्वर मुखरिन भएको छ ।
विकलको चौथो निबन्धात्मक कृति ‘मेरो अविरल जीवनगीत हो’ । यो स्रष्टाको आत्मकथामा आधारित कृति समेत हो । यसमा स्रष्टाका जीवनभोगाइगत अनुभव र अनुभूतिका कुरा छन् । जीवनका आरोह–अवरोहका अनुभूतिहरूले भरिएको यो कृतिमा भावुक, उत्तेजानत्मक र शिथिल खालका प्रसङ्गहरू पनि छन्. ।
समग्रमा विकलका निबन्धलाई हेर्दा यिनी नियात्रामूलक, हास्यव्यङ्ग्यातमक र आत्मसंस्मरणात्मक निबन्धकारका रुपमा देखापर्छन् । विकल हास्यव्यङ्ग्यात्मक र आत्मसंस्मरणात्मक निबन्धमा भन्दा नियात्रामूलक निबन्धमा अलि बढी सफल देखिन्छन् । रमेश विकलले यात्रावृत्तलाई स्तरीय नेपाली भाषा र स्थानीय कथ्य भाषाको यथोचित प्रयोग गरी वर्णनात्मक, संवादात्मक र आत्मकथात्मक शैलीमा प्रस्तुत गरेका छन् (लुँइटेल, पूर्ववत्ः ३३) ।
२.७ नाटक ÷एकाङ्कीकार रमेश विकल
वि.सं. २०१३ सालमा ‘हरिशरणम्’ र्शीषकको रेडियो नाटकका माध्यमबाट नेपाली नाटकका क्षेत्रमा प्रवेश गरेका रमेश विकलका सरदार भक्ति थापा (२०४०) र मिल्किएको मणि (२०४८) नाटक र सप्तरङ्ग (२०३९) एकाङ्की प्रकाशित छन् । यसका अक्तिरिक्त विकलका अन्य एकाङ्कीहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । विकल बालनाटक र एकाङ्कीहरू समेत रचना गर्ने स्रष्टा हुन् ।
विकलले ऐतिहासिक, पौराणिक, सामाजिक, धार्मिक, आर्थिक आदि विषयवस्तुमा एकाङ्कीको रचना गरेका छन् । यिनले प्रस्तुत विभिन्न विषयक्षेत्रमा देखापरेका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक ढङ्गले टिप्पणी गरेका छन् । विकलले ऐतिहासिक पात्रलाई लिएर त्यसमा काल्पनिकता र सामाजिक यथार्थलाई प्रशस्त खेल्न दिएका छन् । यिनी देशभक्त, राष्ट्रवादी र स्वाभिमानी पात्रको चरित्राङ्कनमा विशेष अभिरुचि राख्ने स्रष्टा हुन् ।
विकल सरल, सरस र स्वभाविक भाषाशैलीमा एकाङ्की रचना गर्ने व्यक्तित्व हुन् । शिल्पसज्जागत सरलताका कारण यिनका नाटक तथा एकाङ्कीमा पनि सामाजिक यथार्थवादी चिन्तनलाई नै प्रशस्त विचरण गर्ने मौका दिएका छन् ।
२.८बालसाहित्यकार रमेश विकुल
बालबालिकाको रुचि र स्वभावलाई निक्र्योल गरी उनीहरूको स्तर अनुकूल हुने गरी रचना गरिएका साहित्यिक कृतिहरूलाई बालसाहित्य मानिन्छ । विकल नेपाली साहित्यका कुशल बालसाहित्यकार हुन् । यिनले बालसाहित्यसँग सम्बद्ध कथा, उपन्यास, एकाङ्की कविता जस्ता विधामा कलम चलाएका छन् ।
बालसाहित्यकारका रुपमा रमेश विकलको चर्चा गर्दा यिनी तेह्र रमाइला कथा (२०२२), अँगेनाको डिलमा (२०२३), एक्काईस रमाइला कथाहरू (२०२३) पञ्चतन्त्रका कथाहरू (२०२३), हिउँदे छुट्टीमा (२०४९) आदि मार्फत् बालककथाकार, विक्रम र नौलो ग्रह (२०३९) र्शीषकको उपन्यासबाट बालउपन्यासकार, सातथुँगा (२०३७) मार्फत बालएकाङ्कीकार र बाह्रमहिनाका गीत (२०४३) मार्फत् बालकविका रुपमा परिचित देखिन्छन् । विकलका बालसाहित्यिक कृतिहरूमा बालबालिकालाई नेपाली भाषाप्रतिको मोह जगाइदिने, शिक्षा दिने, मनोञ्जन प्रदान गर्ने, नैतिक शिक्षा दिने, विज्ञान र प्रविधिप्रति कौतुहल जगाइदिने, मौसम या प्रकृतिसम्बन्धी जानकारी दिने उद्देश्य राखेको देखिन्छ । यिनका बालसाहित्यिक कृतिहरू सरल, सहज र स्वभाविक भाषाशैलीमा रचना गरिनुको साथै बालबालिकाको रुचि र स्वभावलाई विशेष ध्यान पु¥याएको पनि पाइन्छ । विकल नेपाली साहित्यका उत्कृष्ट बालसाहित्यकार हुन् । यिनका बालसाहित्यिक कृतिमा पनि सामाजिक यथार्थवादी चिन्तन यो वा त्यो रुपमा प्रकट भएको पाइन्छ ।
समग्रमा रमेश विकल नेपाली साहित्यका कथा, उपन्यास, निबन्ध, नाटक÷एकाङ्की, बालसाहित्य आदि विधामा कलम चलाउने व्यक्तित्व हुन् । यिनका हरेकजसो रचनामा सामाजिक यथार्थवादी चिन्तनको प्रभाव कुनै न कुनै रुपमा देखिन्छ । विकलले नेपाली साहित्यका माथि उल्लिेखत विभिन्न विधामा कलम चलाए पनि यिनी मूलतः कथाकार हुन् र यिनले यसै विधामा आफ्नो साहित्यिक व्यक्तित्वलाई स्थापित समेत गराएका छन् । विकल सामाजिक यथार्थवादी धरातलाभित्र रही साहित्यिक कृतिको रचना गर्ने र नेपाली समाजको वर्गीय अन्तसङ्घर्ष वा वर्गीय भेदको झलक प्रस्तुत गर्ने स्रष्टा समेत हुन् । यिनमा माक्र्सेली सौन्दर्यशास्त्रको प्रभाव निकै नै बलियो रुपमा दखिन्छ ।




३.अविरल बग्दछ इन्द्रवतीमा वर्गीय चेतना
३.१ पृष्ठभूमि
अविरल बग्दछ इन्द्रवती रमेश विकलको साहित्यिक यात्राको तेस्रो चरणमा प्रकाशित औपन्यासिक कृति हो वि.सं. २०४० सालमा प्रकाशन गरिएको प्रस्तुत कृतिपूर्व रमेश विकलका सुनौली (२०३१) र विक्रम र नौलो ग्रह (२०३९, बाल उपन्यास) उपन्यासहरू आइसकेका छन् । यस कृतिपश्चात् रमेश विकलको सागर उर्लन्छ सगरमाथा छुन (२०५२) आए पनि यस उपन्यासले अविरल बग्दछ इन्द्रवतीको साहित्यिक मूल्य र ओजलाई चुम्न सकेको छैन । त्यसो त अविरल बग्दछ इन्द्रवती रमेश विकलको उत्कृष्ट औपन्यासिक कृति हुँदै हो । यसको उचाइलाई विकलका अन्य उपन्यासले भेटाउन सकेका छैनन् । त्यसैले विवेच्य कृति अविरल बग्दछ इन्द्रवतीको साहित्यिक गरिमा स्वत ः छर्लङ्गिन्छ ।
अविरल बग्दछ इन्द्रवती ४२ परिच्छेद वा खण्डमा संरचित छ । २४८ पृष्ठ (साझा प्रकाशनः २०५७ दोस्रो संस्करण) मा फैलिएको यसको आख्यान सिन्धुपाल्चोक जिल्लाको इन्दा्रवती नदी किनारमा बस्ने माझिसमुदायको दैनन्दिनीमा आधारित छ । यस उपन्यासमा उपन्यासको कलेवर निर्माणका लागि आवश्यक सबै अवयवहरूको संयोजनमा पनि विकलले निकै होश पु¥याएका छन् । कृतिमा परम्परित शिल्पप्रविधिको प्रशस्तै उपयोग गरिएको पाइए पनि यसमा उपन्यासकारले वर्णनात्मक पद्धतिका साथै विशिष्ट शिल्पप्रविधिको पनि प्रयोग गरेको देखिन्छ । घटनाको विवृत्तिविवरण र पात्रको चरित्राङ्कनका सन्दर्भमा कहीं स्मृतिश्रृङ्खलाको प्रयोग कतै पात्रका मनोगत काल्पनिक बिम्बको सृष्टि, कही सजीव वातावरणको उपस्थापन र घटनाको नाटकीकरणका लागि संवादकलाको प्रयोग कही उपन्यासकारका विश्लेषणात्मक टिप्पणी र कथात्मक वर्णनजस्ता विभिन अभिव्यक्ति सिप र शैलीको उपयोग गरिएको छ (पौडेल, २०६७ः२३८) । कृतिमा प्रयोग गरिएको स्मृतिशृङ्खला र पात्रका मनोगत दिवास्वप्नको प्रत्यक्षीकृत बिम्बले पनि कथानकको विकासमा गतिशीलता ल्याउन र पात्रका सूक्ष्म मनोवृत्तिको उद्घाटनमा महत्तम भूमिका खेलेको दखिन्छ । उपन्यासकारको प्रकृतिचित्रणको सजीवताले कृतिमा स्थानीय प्राकृतिक दृश्यावलीलाई मूर्त र जीवन्त तुल्याउन सघाउ पुगेको छ । उपन्यासका कतिपय पङ्क्तिहरूमा प्रतीक र बिम्बविधानका माध्ययबाट उपमा, उत्प्रेक्षा, रुपक आदि अलङ्कारको सृष्टि गर्दै अभिव्यक्तिलाई थप कलात्मक, सुरुचिपूर्ण र सौन्दर्यात्मक बनाउन समेत विकल पछि हटेका छैनन् । प्रस्तुत नमूनाले पनि त्यही कुरा पुष्टि गर्छन् “देखिस् हरे । तैंले यी सुँगुरका पाठाहरूको हिम्मत ? .... पख त यिनका उड्न खौज्ने पखेटा नकाटी .... ।”
(पृष्ठ–५२) इन्द्रवतीको किनारका यी बाह्रबीस माझी दनुवार गाउँको अनुहार सोभिते फर्केपछि यसरी चम्कनेछ त्यसका अगाडि साना काजीको त्यो अन्य हबेलीको रङ फुङ्ग उडेको उदास र रोएझँै लाग्नेछ (उपमा, पृष्ट २४८) । कवितात्मक अनुभूतिले रङ्गिएका यस्ता पङ्क्तिहरूमा भाषिक विचलन र विशिष्ट पदक्रमको प्रयोग देखिन्छ । उपन्यासमा परिमार्जित र प्राञ्जल भाषिक शैलीको प्रयोग गरिएको छ भने पात्रका पारस्परिक संवादमा स्थानीय भाषिकाका शब्द र चलनचल्तीका उखानहरूको यथास्थान उपयोग समेत गरिएको छ जसले उपन्यासलाई थप आकर्षक र बलशाली बनाएका छन् ।
अविरल बग्दछ इन्द्रवती प्रगतिवादी चिन्तनमा रचिएको कृति हो । यहाँ इन्द्रावती किनारमा सदियांैदेखिमा माछा मारेर जीवीकोपार्जन गर्ने दीनहीन माझी दनुवारहरूको दुःखद् जिन्दगीलाई उद्घाटन गरिएको छ । कृतिमा माझीहरूमाथि शोषण र उत्पीडन थोपर्ने काजी खलकको कु प्रवृत्तिको राम्रो चित्रण गरिएको छ । माझी समुदाय आफ्नै पौरखमा बाँच्ने वर्ग
हो । यो वर्ग गाँउको मुठ्ठीभर सामन्त चतुर्भुज काजी र त्रिलोचन काजीको सिकार बन्दै आएको छ । आफूलाई जन्मजात माझी समुदायको मालिक ठान्ने काजी खलक अति क्रूर कुत्सित र पाखण्ड प्रवृतिको छ । कृतिमा उपन्यासकारले निम्नवर्गप्रति गरिने शोषणको घोर भत्र्सना र आलोचना गरेका छन् । लेखकमा आफूलाई मालिक ठान्ने वर्गप्रति घोर असन्तुष्टि छ । उनी समाजमा हुने यस्तो शोषण र दमननीतिका कट्टर विरोधीका रुपमा देखा परेका छन् । लेखक कृति पढ्दै जाँदा माझी समूदायको हक, हित र उत्थानका पक्षमा देखिन्छन् । उनी निम्नवर्गीय गरिव, किसान, हली, खेतला र मजदूरको अधिकारका निमित्त उनीहरूको स्वतन्त्रता समानता र उन्नतिका निम्ति लेखनका माध्यमले सशक्त किसिमको आवाज बुलन्द गरिरहेझँै देखिन्छन् । कृतिकारले उच्च वर्गीय अहम् आडम्बर र शक्तिको धङ्धङीलाई पटक्कै रुचाएका छैनन् । बहुसङ्ख्यक मानिसहरूलाई गरिबीको नरकमा सडाउने यो वर्गप्रति लेखकको घोर असन्तुष्टि र आपत्ति छ । त्यसैले कृतिलाई प्रगतिवादी भनेको, अब कृतिमा निहित वर्गीय चेतको छिनोफानो गराँै ।
अविरल बग्दछ इन्द्रवतीमा वर्गीय अन्तद्र्वन्द्वका कुरा छन् । यहाँ प्रमुख रुपमा उच्च वर्ग र निम्न वर्गका बीचको वर्ग संघर्षले औपन्यासिक कलेवर प्राप्त गरेको छ । कृतिमा समाजमा निहित दुई वर्ग बीचको आपसी मनमुटाव, खिचातानी, बिग्रह वा फाँटोको दरिलो उपस्थिति देखिन्छ । यसमा उच्च वर्गको नेतृत्व गर्दै काजीखलक देखापरेको छ भने निम्नवर्गको भूमिकामा माझी समुदाय देखिन्छ । कृतिमा समाज व्यवस्थामा परिर्वतन आएको कुरा पनि छ । समाजले नयाँ व्यवस्था पाए पनि शोषण प्रवृृतिमा कुनै परिवर्तन आएको छैन । शोषणको मात्रा उही छ केवल रुपमा मात्र सामान्य हेरफेर देखिन्छ । शोषक वर्गका हिमायती चतुर्भुज र त्रिलोचन बाबु छोरा मात्र नभएर दुई पुस्ता र दुई व्यवस्थाका शोषक पवृत्तिमा संलग्न मतियार हुन् । यी दुईको शोषणवृत्ति अघिल्लोमा भन्दा पछिल्लोमा झन् बढी सशक्त र बलशाली देखिन्छ । चतुर्भुज र त्रिलोचन पूँजीपति युगको हिमायती जस्तो लाग्छ । यी दुई चरणमा शोषणवृत्ति झनै मौलाएर गएको देखिन्छ । बाबुको पालामा पेटपाल्नसम्म जेनतेन पाएका माझी दनुवारहरू छोराका पालामा अनेक रोग, भोग र कष्ट झेल्न विवश देखिन्छन् । कृतिले भोलिको आशा देखाएर पनि त्यो छिट्टै र सजिलै सम्पन्न हुने सम्भावना तत्काललाई देखा पर्दैन । यिनै कुराहरूको चिरफार गर्दै अविरल बग्दछ इन्द्रवतीमा वर्गीय चेतलाई नियाल्नु आवश्यक देखिन्छ ।

३.२. आख्यान सन्दर्भ
अविरल बग्दछ इन्द्रवतीमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारमा जेनतेन जीविकोर्पाजन गरी आएका माझी समुदाय र तिनको शोषण गरी मोटाइआएको सामन्तवर्ग काजी खानदान बीचको सम्बन्धको कथाव्यथासँग सम्बन्धित आख्यान छ । दनुवार माझीहरू इन्द्रावती बगरदेखि अलिक माथिको भिरालो पाखालाई आवाद गरी इन्द्रवतीमा माछा मारेर जीवन धान्दै आइरहेका छन् । उनीहरूलाई दास बनाई तिनकै श्रमका आडमा सुखी सम्पन्न जीवन यापन गर्ने काजी खलक पनि त्यही छ । माझीहरूकै श्रम शोषण गरी आफ्नो सम्पन्नताको हवेली र हैकम खडा गर्ने काजी खलक तिनलाई आफूले आश्रय दिएको र माया गरेको स्वाङ रच्दै तिनबाट श्रमको सुविधा पछिसम्म अविरल लिइरहने धृष्टता गर्दछ । माझी समुदायको पुरानो पुस्ता भुमा मिजार लगायत अन्यमा दास मनोवृत्ति र सामन्ती संस्कारप्रति अगाध श्रद्धा र भक्ति छ । तर यो भक्तिभाव र बुढाकाजी चत्रुर्भुजसम्म मात्र रहन्छ । शोषणवृत्ति निरन्तर चलिरहे पनि समयको परिवर्तनसँगै त्यसको रुपमा परिर्वतन आउँछ तर सार एउटै नै हुन्छ । माझी समुदायको पुरानो पुस्ता काजीखलकको अनन्य भक्त भए पनि नयाँ पुस्ता परम्परित सामन्ती संस्कार, शोषण, दमन र उत्पीडतको विरुद्धमा क्रमशः विद्रोहको मोर्चामा लामबद्ध हुन थालिसकेको छ । आफूहरूमाथि काजी खलकद्वारा शोषण गरिएको छ भन्ने कुराको महसुुस पनि नगर्ने जन्मजात आफूहरूलाई काजीखानदानको रैती ठान्ने माझी युवापुस्तामा गिरी मास्टरको रात्रीकालीन कक्षाले आँखा उघार्ने र त्यसका विरुद्ध जुँध्नका निम्ति अदम्य शाहस र हिम्मत समेत मिचाहा प्रवृत्तिलाई पुरानो माझी पुस्ताले काजीखानदानको हेपाहा र मिचाह प्रवृत्तिलाई सहे पनि नयाँ पुस्तामा चेतनाको आविर्भाव भई त्यसका बिरुद्ध जँुध्ने योजनाबद्ध कार्यहरू समेत शुभारम्भ हुने सङ्केत मिलिरहेका छन् । जसलाई कार्यरुपमा परिणत गर्ने काम शोभिते, भीमे र जैमानेहरूले गरेका छन् । यता सामन्त वर्गको नयाँ पुस्ताको प्रतिनिधि त्रिलोचनसिंहले पूँजीवादी संस्कारलाई अवलम्वन गरिसकेको छ । ऊ आफ्ना रैतिहरूलाई बाबु चतुर्भुजसिंहले झँै माया गरेको ढोँग र लोलोपोतो गरेर नभई सोझै रवाफ देखाएर कजाउन तथा आफ्नो सेवामा लगाउन थाल्छ । उसमा चालीसको दशकमा देखापरेको मण्डले मनोवृत्ति देखिन्छ ।
पुस्तैदेखि आफूहरूमाथि थोपरिएको शोषण र दमनको कालो बादललाई पन्छाउन मुस्किल छ भन्ने जानेर पनि शोभितेको नेतृत्वमा माझी समुदायको युवा पुस्ता सामन्त काजी खलकका विपक्षमा उभिन्छ । उनीहरूको विद्रोह कुनै विचार र सिद्धान्तबाट प्रेरित छैन । आफूहरूमाथि थोपरिएको उत्पीडनका बिरुद्ध उठेको विद्रोह भुसको आगोझँै विस्तार –विस्तार माझी समुदायबीच फैलिदै जान्छ । सुरु सुरुमा माझी युवा पुस्तामा सञ्चारभैरहेको विद्रोहको ज्वालालाई पुरानो पुस्ताका भुमा माझी लगायतकाले बनाउन प्रयत्न गरे पनि लालगेडीमाथि सानोकाजीले बलत्कारको प्रयत्न गरेपछि र माझी समुदायले बर्षौदेखि उपभोग गर्दै आएको काभ्रेपाटोमाँसेर हवेली निर्माण गर्ने सानोकाजीको योजना र त्यसकार्यलाई सम्पन्न तुल्याउनका निम्ति माझी समुदायलाई श्रमदान गर्ने उर्दी जारी गरिएपछि अत्यन्तै बेगिलो ढङ्गले अगाडि बढ्न थाल्छ । सानोकाजीद्धारा माझीहरूकै श्रमदानबाट हवेली निर्माण गराउने योजनामा पुराना पुस्ताका माझीहरू विना रहर र इच्छाबमोजिम उक्त योजनामा सरिक हुन मञ्जूर हुन्छन् । युवा पुस्तामा यस घटनाले घ्यूमा आगो थप्ने काम गर्छ । बूढो भुमा मिजार हवेली निर्माणको योजना रोक्नया अन्यत्रै बनाउन भनी बुढाकाजीसँग विन्तीभाउ विसाउँछ तर बन्दुके छोराको योजनामाथि बुढाकाजी हस्तक्षेप गर्न असफल हुन्छन् । रैतीको त्यसरी मन दुःखाएर काम अगाडि बढाउन बुढाकाजीको मनले पनि मानेको हुन्न तर छोराको उन्माद र शक्तिको घङ्घङीका अघि बुढाकाजीको केही जोर चल्दैन । अन्त्यतः हवेली निर्माणको टुङ्गो लागी कार्यको थालनी हुने दिन नाजिकिन्छ । हबेली निर्माणमा युवा पुस्ताले पूरै असमर्थन गर्ने योजना बनाएकाले बुढ्यौली पुस्ता अनिष्टको घडी नजिकिएको अनुभव गर्छ । माझी युवापुस्तामा सलबलाएको काजी खलकप्रतिको विद्रोही भावनाको मौका छोपी काजी खानदानलाई तारो बनाउने र आफू नयाँ काजीमा रुपान्तरण हुने दाउ खेदी हबेली निर्माण गर्ने स्थानमा पुगेर सानोकाजीको हवेली निर्माणको उद्घाटन कार्यलाई विफल तुल्याउन माझी समुदायलाई उक्साइरहेको तथा सानोकाजीलाई माझीहरूको बलमा चुनौती दिन आँटेको देबू पनेरुलाई एक्कासी उत्तेजना र भावेगमा आई सानोकाजीले बन्दुकको निसानी बनाउँछ । देवू पनेरुको हत्याले गाउँमा एक किसिमको सनसनी र सन्त्रास सिर्जना गर्छ । देवूपनेरुको प्राणपखेरु उडाइसकेपछि सानोकाजी सहर पसी सत्ताको आडमा प्रहरी प्रशासनलाई गाउँ पठाएर माझी समुदायका सोभिते लगायतका युवाहरूलाई पक्राउ गर्न लगाई जेलमा जकाउँछ भने लालगेडीलाई यौन शोषणको महाचक्रमा फसाउँछ । यसबखत यसले लालगेडीसँग बदला लिई निर्धक्क ढङ्गले यौन आनन्द लिन्छ । सानोकाजीको यस क्रियाकलापले माझी गाँउ सुनसान र उराठ बन्छ । बुढापाकाहरू बगरतिर झर्छन् । हेर्ने हुने खालका माझी युवतीहरू सानोकाजी एण्ड कम्पनीका ओछ्यान बन्छन् । कति दिल्ली र बम्बइतिर बेचिन्छन् त कति मुग्लान खेदिन्छन् । गाउँमा भव्य हवेली खडा हुन्छ । सानोकाजीको हैकम झनै चुलिएर जान्छ ।
विद्रोहले माझी समुदाय तत्कालका लागि तहसनहस र छिन्न–भिन्न हुन्छ तर त्यसले सामन्ती सत्तालाई ध्वस्त पार्न संगठित जनशक्तिको अपरिहार्यता छ भन्ने चेतना सञ्चार गर्छ । यस विद्रोहले सामन्तवादको अन्त्यका लागि सामन्तवाद विरोधी सङघर्षको पूर्व तयारी र निम्नवर्गबीचको एकतालाई मजबुत तुल्याउनु पर्ने आवश्यकतालाई देखाएको छ । विद्रोह विचार र सङ्गठनबाट मात्र निर्देशित हुनुपर्छ भन्ने कुरा पनि यसले सङ्केत गरेको छ । यसै कुराको मनन गरी जेलबाट छुटेको सोभिते गाँउको हविगत र लालगेडीको अज्ञात अवस्थाबाट झनै उत्तेजित भई सामन्तवादसँग धावा बोल्ने अन्तिम तयारीका लागि विद्रोहलाई घनिभूत बनाउन इन्द्रवती किनारबाट बाहिरी दुनियाँमा कदम चलाउँछ । भोलिको सुनौलो र रक्तिम दिनको सपना बोकी उपन्यास अन्त्य हुन्छ ।
प्रस्तुत कृतिले २०४० साल पूर्वको मुलुकको राजनीतिक पृष्ठभूमिलाई चिरफार गर्ने यत्न गरेको छ । चालीसको दशकमा पाइला टेकेर सामन्तवादको विरुद्धमा लेखनीका माध्यमले यत्रो ठूलो धावा बोल्नु आफैमा हाँक र चुनौतीको विषय हो । विकलले यस कृतिमार्फत् नेपाली जनमानसमा सामन्तवाद विरोधी भावना सञ्चार गर्ने लक्ष्य राखेको देखिन्छ । विकलको यो आँटलाई तल्कालीन परिवेशमा महत्तम मान्नुपर्छ ।

३.३ वर्गीय द्वन्द्व र वर्ग संघर्ष
रमेश विकल नेपाली साहित्यका मूर्धन्य प्रगतिवादी उपन्यासकार हुन् । यिनले माक्र्सेली सौन्दर्य शास्त्रको उपयोग गर्दै उत्कृष्ट खालका साहित्यिक कृतिहरू रचना गरेका छन् । विकल प्रगतिवादी सर्जक भए पनि यिनले साहित्यको कलागत मूल्य र सौन्दर्यको उपेक्षा पटक्कै गर्दैनन् । प्रगतिशील चिन्तनलाई महŒव दिने नाममा यिनी सस्तो नाराबाजी प्रस्तुत गर्ने र कलाको अन्तर्वस्तुलाई तिरस्कार गर्ने प्रवृत्ति पनि अँगाल्दैनन् । यिनले यस्तो प्रवृत्तिलाई आफ्ना आख्यानहरू मार्फत् सिद्ध गरिदिएका पनि छन् । विकलले मानवीय संवेदना र जीवनदायी मूल्यहरूको पक्षपोषण गर्न रुचि राख्छन् । यिनी आफ्ना आख्यानहरूमा सामाजिक यथार्थ र मानसिक उद्वेलनका मार्मिक पक्षहरूको सौन्दर्यात्मक प्रस्फुटन गर्छन् । यसैको उत्कृष्ट साक्ष हो ‘अविरल बज्दछ इन्द्रावती’ । अब यस कृतिमा प्रस्फुटित वर्गीय द्वन्द्व तथा वर्ग संघर्षका कुराहरूतर्फ लागौैं ।
अविरल बग्दछ इन्द्रावतीमा मुख्यतः नेपाली समाजका दुई वर्ग (शोषक र शोषित) बीचको वर्गीय द्वन्द्व वा अन्तर्विरोधलाई गम्भीर रुपमा उभ्याउने यत्न गरिएको छ । कृतिमा शासित वा शोषक वर्गको प्रतिनिधित्व गर्दै इन्द्रावती किनारमा सम्भ्रान्तीय जीवनशैली र विलासी आचरणलाई आत्मसात् गर्दै आएको चतुर्भुज सिंह र उसको छोरो त्रिलोचनसिंह आएको छ । यी दुईजना व्यक्ति बाबु छोरा मात्र नभएर दुई भिन्न–भिन्न समय (युग) र दुई भिन्न समाज व्यवस्थाका मतियार पनि हुन् । कृतिमा शोषित वर्गका रुपमा इन्द्रवती किनारमा पुस्तौंदेखि बस्दै आएका माझी दनुवार समुदाय आएको छ । उपन्यासमा नेपाली समाजका यी दुई वर्ग बीचको विपरित जीवनस्थिति र तिनका बीचको अन्तर्विरोध तथा संघर्षलाई गम्भीर बोधकासाथ प्रस्तुत गर्ने कार्य वैचारिक सचेतताका साथ गरिएको पाइन्छ ।
उपन्यासमा विराट् जनजीवन र व्यापक–प्रकृति तथा जीवनका बहुध्वनि र रुपहरू सम्प्रेषण गर्न सकिन्छ । यसको आख्यानले समग्र जिन्दगीको महाननदीलाई आफूमा अन्तर्भाव गर्न सक्छ । जीवनका बहुविध रुपहरूको सपाट प्रस्तुति गरिने उपन्यासमा जीवन–जगत्का अनेकविधि रङ र ध्वनिहरूले पनि प्रशस्त खेल्ने अवसर पाउँछन् । युगजीवनका सत्यतथ्य ध्वनि, सामाजिक परिवेशका बहुरङ तथा व्यक्ति जीवनका जटिलताहरूको गम्भीर पर्यवेक्षण गर्दै मान्छेका रोग, भोग, यौन, प्रेम, विवेक, मूर्खता, महŒवकाङ्क्षा र आदर्शहरूको बहुआयामिक स्वरुपहरू प्रस्तुत गर्न पनि सर्वाधिक उपयोगी हुने साहित्यिक विधा पनि हो उपन्यास । यसमा युगजीवनका आन्तरिक र बाह्य रुपहरूको प्रस्फुटन समेत हुन्छ । भूत, वर्तमान र भविष्यत् कालका त्रि–आयामिक चेतना र बहुल जीवनको वर्णनात्मक विवेचना गर्ने गरी भाषा सौन्दर्यात्मक सामथ्र्य बोक्ने उपन्यासले घटनाहरूको श्रृङ्खलित संयोजन, चरित्रहरूको प्रतिनिधिमूलक चित्रण, परिवेशको विश्वसनीय आयोजना र विचारको बौद्धिक समायोजनका माध्यमबाट मानव समाजको बहुआयामिक कलाध्ययन प्रस्तुत गर्दछ । (ज्ञवाली, २०६७ ः २८३) रमेश विकलको अविरल बग्दछ इन्द्रावतीमा यस्तै कलाको निर्वाह गरी नेपाली समाजको वर्गीय स्वरुप र वर्ग द्वन्द्वको यथातथ्यलाई उद्घाटन गर्ने जमर्काे गरिएको छ । अब अविरल बग्दछ इन्द्रावतीमा निहित वर्गीय द्वन्द्व तथा अन्तसंङ्घर्षलाई केलाउन कृतिको कथावस्तु, पात्र, परिवेश र वैचारिकतालाई मूल आधार मानी अघि बढौं ।्
क्रमश:....

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 भाद्र, 2071

लेखकका अन्य रचनाहरु