सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण

- डा. राजकुमार छेत्री

नेपाली काव्यलेखनमा निर्गुण भक्तिधाराका केन्द्रबिन्दु मानिने जोसमनी सन्तकविहरूमा धिर्जेलदिलदास र शशिधरपछि अगमदिल दास, अखड्दिल दास तथा ज्ञानदिल दास आदि प्रमुख मानिन्छन् । यसका अतिरिक्त यस सम्प्रदायमा आजसम्म परम्परागत रुपले उल्लेख भएका सन्त कविहरूमा श्यामदिलदास, अचलदिल दास, धर्मदिल दास, सतदिल दास, प्रेमदिल दास, धरणीदास, मलदास, मङ्गल दास, कृष्णदास, सन्तदिल दास तथा हरिभक्त, हरिश्चन्द्र, मोक्षमण्डल, निर्वाणान्द. अभयान्द, सीताराम आदिको नामहरू पनि भेटिन्छ । सन्तलाई हामी साधारणतः श्रद्धासाथ ईश्वर अर्थात् देवताको उपासना गर्ने, सांसारिक विषयहरूमा नअल्झेर धर्मकर्ममा एकचित्त भइ लागेका सज्जन व्यक्तिलाई महात्मा, साधु -सन्यासी वा भक्तको रूपमा बुझ्ने गर्छौं । यस सन्दर्भमा डा. दिवाकर प्रधानको विचार उल्लेखनीय रहेको देखिन्छ-"फराकिलो अर्थमा हेर्नु हो भने विषयवासनाबाट निरप्रेक्ष रहने, सत्कर्म गर्ने र कसैसँग वैरभाव नराख्ने निसङ्ग र निष्काम व्यक्तिलाई सन्त भनिन्छ । सन्तको यो विराट् स्वरूप-लक्षण हो । यस दृष्टिले सबै किसिमका साधु, महात्मा, भक्त सन्तभित्र पर्दछन् । कालान्तरमा सन्त शब्दको अर्थ-सङ्कोच भएर केवल निर्गुण धाराका अनुयायीलाई जनाइने भयो । यसरी सन्त शब्द निराकर ब्रह्मको उपासना गर्ने भक्तका अर्थमा रूढ़ भएको देखिन्छ।
भारतको सांस्कृतिक वैभव जागृत हुनमा सन्तहरूका साधना र तपश्चर्याले आधारभूत महत्व राखेको पाइन्छ । हिमवत्खण्डको जनजीवनमा व्याप्त उदात्त भावनाका दुइ प्रेरक तत्त्व छन्-(१) शास्त्र, पुराण तथा उच्च ग्रन्थादि, (२) सन्त-वाणी । शास्त्रादिको अध्ययन सबैले गर्न सक्दैनन् । जनजीवनमा सजिलो वाणी दिने काम सन्तहरूले दिने गर्जछन् । नेपाली साहित्यमा विशेष रूपले प्रभाव प्रने सन्तहरू हुन् जोसमनी सन्तहरू । जोसमनी सन्तहरूको सम्प्रदायले मौलिक परम्परा नै बसाएको पाइन्छ । हिमाली क्षेत्रमा मात्र हेर्नु हो भने ३६ वटा जति सन्तमत र सन्तसम्प्रदाय रहेको जानकारी पाइन्छ । यी सबै मत वा सम्प्रदाय निर्गुण पन्थलाई मान्ने निर्गुण भक्तहरूका हुन्छन् । सन्तकाव्यका दृष्टिले नेपालीमा जोसमनी सन्तहरूकै मात्र कविता उपलब्ध छन्। अरूको शोध हुन बाँकी नै छ ।"
जोसमनी शब्दबारेमा विद्वानहरूको मन-मतान्तर रहेको भेटिन्छ । तर त्यी मतहरूको कुनै प्रामाणिक आधार भने प्राप्त हुन सकेको छैन । कसैले जोसमनी शब्दको व्युत्पत्तिगत अर्थ खोज्ने प्रयासमा ज्योतिर्मणि>जोतिर्मनी>ज्योतिष्मनी>जोस्मनी> जोसमनी भएको बताइएको पाइन्छ भने कतिले जोसमनी कुनै एकजना प्रवर्तकको नाम थियो भनिएको छ । तर आजसम्मको शोध-अनुसन्धानानुसार जोसमनी सन्त परम्परामा जोसमनी नाम गरेका कुनै पनि सन्त भेटिएको भने छैन । यसैले यो मत पनि अनुमानकै भरमा गरिएको लाग्छ । केही अन्वेषकहरूको अध्ययन-अनुसन्धान अनुसार जोसमनी वा जोसमनि, जसमुनि र मुनि यी तीन एकै सम्प्रदायका साझा नाम हुन् अनि पौड़ी भन्ने स्थानमा केही समय अघिसम्म पनि मुनि प्रचलनमा थियो । पौड़ीमा रहुञ्जेल यस मतका एक साधक शशीधर ब्रह्मचारी, नैष्टिक र सिद्ध-साधु पुरुष थिए तर पछि नेपालमा भित्रिएपछि भने बिवाह बन्धनमा बाँधिए । यसरी बिहा गरेकाले आफू आफ्नो सम्प्रदाय र समाज अघि अपमान हुन पर्छ कि भनेर मुनिअघि जस थपे भन्ने मत पनि अघि आएको देखिन्छ ।
जोसमनी शब्द र सम्प्रदायबारे यसप्रकार विभिन्न मतभेद देखिए पनि नेपाली साहित्यमा यी सन्तहरूले जनमानसलाई सचेत तुल्याउने महत् उद्धेश्य राखी सिर्जना गरेका अध्यात्मपरक साहित्यलेखनले निकै ठूलो खाडल पुर्ने काम गरेको छ । अतः सन्त कविहरूमध्ये ज्ञानदिल दासले जनसाधारणलाई सचेत तुल्याउन आध्यात्मिक जागरणको अभियानमा साहित्यलाई प्रमुख माध्यम बनाए ।यस सन्दर्भमा समालोचक डा. प्रधानको शोध-अध्ययन अझ चासोपर्दो र उल्लेखयोग्य ठहरिन्छ - भारतका अलग जातिहरुको संस्कृतिमा हुर्केका मानिसलाई एउटै मानवीय सूत्रमा बाँध्ने कार्य सन्तहरूले गरेका छन् । दक्षिणमा सन्त ज्ञानेश्वररले, पश्चिम-पश्चिमोत्तरमा गुरुनानक, प्राणनाथ स्वामी र दयानन्द सरस्वतीले अनि उत्तर र पूर्वी भारतमा सन्त तुलसीदास, विवेकान्द आदिले सामाजिक असमानताको विरोध गरी साहित्यरचना गरेका थिए । उत्तर भारतमा सन्त कबीरदासले जसले समाजमा व्यास रुढ़िवाद, जातिगत सङ्कीर्णता, छुवाछुत र धार्मिक आडम्बरको खण्डन गरेर स्वस्थ्य समाजको निर्माणमा वाणीद्वारा सहयोग गरेका थिए , ठीक त्यस्तै सहयोग गरे जोसमनी सन्तहरूले । समाजमा विभिन्न सम्प्रदायका सन्तहरू थिए र छन् अनि तिनीहरूले पनि जनमानसलाई सचेत बनाएर मानवीय गुणयुक्त विधान प्रतिपादित गरेका थिए । तर साहित्यरचनामा पनि उद्यत रहने कार्य चाहिँ जोसमनी सन्तहरूले गरेका छन् । उनीहरूमध्ये पनि नेपाली साहित्यविशेषमा ठाँउ ओगट्ने र साहित्यिक मर्यादा पाउने सन्तकविहरू दुईजनाको नाम लिन सकिन्छ, सन्तकवि शशिधर र सन्तकवि ज्ञानदिल दास ।
ज्ञानदिल दास जोसमनी धार्मिक-आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा पूर्वी नेपालको इलाम जिल्लाको फिक्कल भन्ने ठाँउमा लामिछाने थर भएको उपाध्याय ब्राह्मण परिवारमा भएको अनि मृत्यु सन् १८८३ मा पश्चिम सिक्किमको गेलिङमा भएको जानकारी पाइन्छ । उनी तीक्ष्ण बुद्धि भएका हुनाले सानैदेखि वेद, पुराण तथा रामायण-महाभारत आदि जस्ता धर्म-अध्यात्मचेतनामूलक शास्त्रहरूको गहन-अनुशीलनमा लागेका थिए । आफ्ना अग्रज तथा गुरु सन्त श्यामदिल दासबाट दीक्षित भएपछि यिनी जोसमनी बनेका हुन् । नेपालमा जन्मेर भारत आई आफ्नो इहलीला शेष गर्ने जोसमनी सन्त सम्प्रदायका सबैभन्दा प्रभावशाली र चर्चित सन्तको रूपमा हामी ज्ञानदिलदासलाई भेट्छौं । हालसम्म प्राप्त यिनका अध्यात्मचेतनामूलक साहित्यिक कृतिहरूमा उदयलहरी र भजन सङ्ग्रह मुख्य छन्, जसमा ६० वटा भजन छन् । भजन सङ्ग्रहमा झ्याउरे लयमा र तामाङ सेलोको लयमा लेखिएका विशेष दुई किसिमका भजनहरू छन् यसलाई झ्याउरे र टुङ्गना भजन भन्ने गरिएको छ । उदयलहरी-ले यिनको साहित्यिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सफल बनेको छ । यो कृति १०९ श्लोिकमा संरचित रहेको छ । अन्य कृति र अन्य सन्त कविहरूको तुलनामा यिनको भाषाशैली रसिलो र सजिलो पनि छ । ज्ञानदिलदासका कृतिहरू सरल र ठेट नेपाली भाषामा सामाजिक-धार्मिक अन्धविश्वास , कुरीति र विसङ्गतिप्रति गम्भीर दार्शनिक एवम् आध्यात्मिक विचारहरूको अभिव्यक्ति व्याङ्गात्मक र आलोचनात्मक स्वर-शैलीमा रचिएका छन् । यिनका काव्य रचनाहरू नितान्त मौलिक, सुबोध एवम् अभिव्यञ्जनापूर्ण शैलीमा प्रभावकारी ढङ्गा लेखिएका छन् । यसैले उनलाई सन्त काव्यधाराको एकजना अत्यन्त प्रतिभाशाली र प्रभावशाली तथा चेतनाशील प्रतिनिधि कविको रूपमा प्रतिष्ठित रहेका छन्। ज्ञानदिलदास मिष्टभाषी, निर्भीक र ठट्यौला स्वभावका सबैका प्रिय व्यक्ति थिए । उनले वास्तवमा आफ्नो साहित्यिक व्यक्तित्वको अभिवृद्धिको निमित्त रचना गरेका थिएनन् तर समाज सुधार गर्ने अनि जनमानसमा धार्मिक आस्थाको विकास गर्ने अभिष्ट राखेर साहित्यलाई यसको माध्यम बनाएका मात्र थिए । अतः जनमानसमा आफ्ना लेखनीद्वारा ज्ञान, भक्ति र वैराग्यको मन्त्र फुकी ब्रह्मानन्द प्राप्तिको सहज उपाय बताउनु नै उनको महत् उद्धेश्य रहेको देखिन्छ । यस किसिमको अभिष्ट सिद्धिका निम्ति सन्त आध्यात्मिक रहस्यलाई सम्झाउन-बुझाउन उनले सामाजिक वृत्ति तथा विविध लौकिक उपमाहरूलाई पनि आत्मसात् गरेका छन् । यसका साथै तत्कालिन नेपाली समाजको सामाजिक-सांस्कृतिक, धार्मिक-आध्यात्मिक, शैक्षिक र नैतिक तथा राजनैतिक-आर्थिक पाखण्ड, पीडा र जातीय सङ्कीर्णताप्रति सक्दो विरोधभाव व्यक्त गरिएको पाइन्छ ।
जोसमनी सन्त परम्परालाई नेपाली समाजमा एउटा मौलिक परम्पराको रूपमा लिइन्छ । यस सम्प्रदायका सन्तकविहरूले निर्गुण चेतनायुक्त काव्य सिर्जना गरेर नेपाली साहित्य र समाजमा महत्त्वपूर्ण योगदान पुर्यािएका छन् । सन्त परम्पराका उल्लेख योग्य कविको रूपमा शशिधर, ज्ञानदिलदास, अगमदिलदास, अखडदिलदास र गोविन्ददास प्रभृति सन्तहरूको नाम सगर्व लिइन्छ । शशिधर र अगमदिलदासले विशेषतः हिन्दी मिश्रित सधुक्कडीमा केही पद्य र भजनहरू सिर्जना गरेको पाइन्छ । शशिधरको तुलनामा अगमदिलदासको रचनामा नेपाली भाषाका धेरै शब्दहरू भएको पाइन्छन् सङ्लो नेपाली भाषामा रचना गर्ने सन्त कविहरूमा अखडदिलदास नै पहिलो हुन् । यिनले लेखेको रचनाहरूमध्ये एउटा चार पंक्तिको पद्य प्राप्त भएको छ, यसमा काव्यात्मकता पर्याप्त रहेको पाइन्छ ।

सन्त ज्ञानदिल दासले नेपाल, सिक्किम र दार्जिलिङ अञ्चलका कतिपय गाउँ-ठाउँमा डुलेर जनसाधारणलाई धार्मिक-आध्यात्मिक दर्शनतिर प्रेरित गर्ने-गराउने काम गरेका थिए । यिनको मत प्रचार-प्रसारको प्रमुख क्षेत्र दार्जिलिङ र सिक्किम नै मुख्य रहेको देखिन्छ । उनलाई जीवनशील धर्मको संस्थापकको रूपमा समेत मूल्याङ्कन गरिएको पाइन्छ । सन्तकविहरूमा सबैभन्दा जेठो कविको रूपमा चिनिएका शशिधरले विशेष गरी गद्यद्वारा अनि ज्ञानदिलदासले पद्यद्वारा नेपाली सन्तसाहित्यको सम्बर्द्धन र विकासमा महत्त्वपूर्ण काम गरेका छन् । कवि ज्ञानदिलले नेपाली समादमा जोसमनी मतको प्रचार-प्रसार तथा यस सम्प्रदायको विकास गर्ने सिलशिलामा तत्कालिन नेपाली समाजमा देखा परेका सामाजिक विसङ्गति र विकृति, जातिगत छुवाछुतको भाव र विचारमा सङ्कीर्णता तथा धार्मिक आडम्बरप्रति विद्रोह समेत गरेका थिए । सिक्किम र दार्जिलिङका विभिन्न स्थानहरूमा जोसमनी मत प्रसारको क्रममा धेरैवटा सन्त मठ वा धामहरूको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामहरूको सगर्व नामोल्लेख गर्न सकिन्छ । नेपालमा लखन थापा र अरू कतिपयले निरङ्कुश र अत्याचारी राणा शासनका अभनेता जङ्गबहादुर राणाको विरुद्धमा गुप्त सङ्गठनहरू खोली जनचेतना फैलाउने प्रयास गरिरहेको समय कवि ज्ञानदिल भने आफ्ना जोसमनी सन्तहरूलाई एकजुट बनाइ धार्मिक-आध्यात्मिक चेतना अर्थात् सन्तमतको प्रचार-प्रसारको अभियानलाई तिब्ररूपमा अघि बढाइरहेका थिए । विरोधी राजनैतिक सङ्गठन र राजनैतिक गतिविधि सम्झेर जङ्गबहादुर राणाले उनलाई पनि पक्रेर ६ महिनासम्म जेलखानामा थुनेर राख्यो । तर उनको अभियान राजनैतिक सत्ता कब्जा गर्नु नभएर जनमानसमा सन्तमत फैलाउनु मात्र रहेको बुझेपछि धर्म प्रचारकै निम्ति उनलाई दार्जिलिङ र सिक्किम प्रवेश गराउने काम भएको जानकारी पाइन्छ ।
सन्त ज्ञानदिल दासले आफ्ना रचनाहरू र मत प्रचारको क्रममा ब्रह्माणवाद, धार्मिक आडम्बर र रूढ़ीवादप्रति सक्दो विरोध जनाएका छन् । सन्तमत प्रचारकै माध्यमबाट उनी नेपाली समाज सुधारको महत् अभियानमा लागेका थिए । उनी तार्किक स्वभावका थिए र उनमा शास्त्रको राम्रो ज्ञान समेत थियो । यसैले एकपल्ट पाद्ररी टर्नबुलसँग धर्म विषयमा निकै गम्भीर तर्क भएको र जो यस तर्कमा पराजित हुन्छ उसको धर्मग्रन्थ जलाइने सर्त राखिएको अनि त्यस तर्कमा पाद्ररी टर्नबुल पराजित भएको उनको बाइबल जलाइएको अनि त्यस दिन जलाइएको बाइबलको खरानीबाट कण्ठी बनाइ आफ्ना सन्तचेलाहरूलाई लगाइदिएका थिए भन्ने घटना निकै लोभलाग्दो र रोचक पनि छ । अर्को घटना अझ यस्तो छ सिक्किममा ब्राह्माणले ब्राह्मणेत्तर साधुहरूको गोड़ा ढोगेमा त्यस ब्राह्माणलाई जातबाटै काड्ने, जातत्यूत गर्ने शासकीय धम्की दिँदा ज्ञानदिल दासले सिङ्गला बजारमा मध्येदिनमा हातमा बिशाल राँको लिएर जात खोज्दै हिँडेका घटनाहरू पनि साह्रै पुरानो भएको छैन । यसप्रकार आफ्नो प्रभावशाली व्यक्तित्व र अनुकरणीय कार्यले तत्कालिन शासक, जाति र समाजका सबै वर्गलाई प्रभाव पार्न सफल भएका हुनाले उनी चाँडै लोकप्रिय पनि भए । अतः जोसमनी सम्प्रदायलाई प्रभावशाली र प्रभावकारी ढ़ङ्गमा विस्तार गर्ने कार्य ज्ञानदिल दासबाटै भएको तथ्य कसैबाट लुक्ने कुरा होइन ।
भारतीय नेपाली काव्यलेखनको सन्दर्भमा सन्तकवि ज्ञानदिल दास नै प्रथम र एकजना सफल समाज सुधारक कविका रूपमा देखा पर्छन् । कवि भानुभक्तका झैं सरस, सहज र चोखो नेपाली भाषामा रचिएका उनका काव्य रचनाहरूले सर्वसाधारणको मनमा छाप बसाउन सक्यो । भानुभक्तका रचनाहरू झैं उनका काव्यरचनाहरू पनि नेपाली समाजका कुना-काप्चा, भीर-पहारा, लेक-बेँसी सबैतिर फूल्न-खेल्न-रमाउन सक्यो। यी दुवै कवि प्रतिभाहरू एकै युग र समान सामाजिक स्थितिमा जन्मे-हुर्केका र सनातनी हिन्दु दार्शनिक चेतनाका श्रेष्ठ उत्पादन थिए । तर यतिका समान प्रवृत्तिहरू हुँदाहुँदै पनि दुवै कवि-साधकहरूका मानसिक विकास भिन्न-भिन्न सामाजिक संरचनाको फलस्वरूप भिन्न-भिन्न धार्मिक विश्वास ग्रहण गरेकाले एकार्काका विरोधी जस्तो देखिने मतवादका प्रभावशाली पुरोहित भएर समाजमा प्रतिष्ठित बने । भानुभक्तले संस्कृतको शास्त्रीय छन्दलाई आत्मसात् गरी काव्य रचना गरे भने ज्ञानदिल दासले नेपाली लोकछन्दलाई आफ्ना काव्यरचनामा प्रयोग गरेका थिए । समाजमुखी साहित्यसिर्जनाका परिप्रेक्ष्यमा हेर्दा सन्तकवि ज्ञानदिल दासलाई कवि भानुभक्तभन्दा धेरै फराकिला र उदात्त प्रकृतिको रहेको भेटिन्छ ।
भारतीय नेपाली कविताको विकासका सन्दर्भमा भानुभक्तीय रामायणको विशेष अवदानलाई महत्त्वपूर्ण मानिन्छ । सामाजिक-सांस्कृतिक र साहित्यिक-आध्यात्मिक मूल्यका दृष्टिले पनि भारतीय नेपाली समाजमा भानुभक्तीय रामायण सर्वाधिक चर्चित र प्रसिद्ध रह्यो । तथापि व्यक्तित्वको प्रभावको दृष्टिकोणबाट हेर्दा भने भानुभक्तभन्दा सन्तकवि ज्ञानदिलदास नै अधिक महत्त्वपूर्ण र प्रभावशाली कविको रूपमा देखापर्छन् । भानुभक्तीय काव्यको पृष्टभूमि ज्ञानदिल दासको भन्दा विस्तार र फराकिलो रहेको छ तथापि काव्यगत मौलिकता र युगचेतनाका दृष्टिले भने दुवै कविमा उत्तिकै प्रखर चेतना र सम्भावना गहेको देखिन्छ । काव्यलेखनमा आलोचनात्मक दृष्टि र युग चेतनाका सन्दर्भमा भन्ने हो भने भानुभक्तका तुलनामा ज्ञानदिलदास निकै विद्रोही, प्रगतिशील , यथार्थवादी र आधुनिक चिन्तकका रूपमा देखा पर्छन् । यस प्रकार भारतीय नेपाली कविता लेखनको मिरमिरे कालमा सन्त कविको रूपमा ज्ञानदिलदासले भानुभक्तको शास्त्रीय आदर्शवादको सापेक्ष आफ्नै युगको नवआदर्श तथा नवीन काव्यिक-मानदण्डको स्थापना गर्ने दिशातर्फ निकै सफल समेत बनेका छन् । भानुभक्तीय प्रसिद्धिको आरोह-अवरोहकै क्रममा ज्ञानदिलदास र उनको काव्यिक योगदानको पनि महत्व बढ्दै गएको देखिन्छ । यस प्रसङ्गमा डा. दिवाकर प्रधानले यी दुइ कविको तुलनात्मक अनुशीलन यसप्रकार गरेका छन् –भानुभक्त सनातन धर्मका अन्धानुयायी र कर्मकाण्डवादी थिए भने ज्ञानदिल सनातनधर्मका आलोचक, कर्मकाण्डवादका विरोधी र धर्मसुधारक थिए । ज्ञानदिलमा एउटा समाजसुधारकमा हुनुपर्ने सत्यनिष्ठा, धैर्य सङ्घर्षशीलता, लगन, उत्साह, बौद्धिकता र पाण्डित्य थियो भने कुशल कविमा हुनुपर्ने रसमयता, सरलता र ध्वन्यात्मकता पनि थियो । जोसमनी मत प्रचार-प्रसार गर्ने क्रममा यिनी दार्जिलिङ र सिक्किमका कुना-काप्चा, कमान-बस्ती, हाट-बजार क्षेत्रतिर घुम्दा-डुल्दा नेपाली समाजको विभिन्न अवस्थाबारे राम्रो अध्ययन गरेकाले आफ्ना अधिकांश काव्यरचनाहरूमा पनि त्यसै अनुरूप सामाजिक संङ्गति-विसङ्गति, ढोङ र सङ्कीर्ण मनोवृतिमाथि कोमल-कठोर शब्दहरूमा विरोधभाव जनाएइको भेटिन्छ । समाजमा धर्मका ठेकेदार र हिंसात्मक वृति अप्नाएका विषयवासनामा रातदिन डुबेका तथाकथित पाखण्डी पुरोहित बाहुनबाजेहरूलाई ढ़ाड खुस्किञ्जेल व्यङ्ग्य प्रहार गरेका छन् । कवि ज्ञानदिल दासका काव्यात्मक शैलीमा रचिएका उदयलहरी, झ्याउरे भजन र टुङ्ना भजन रचनाहरूमा त्यस समयको सामाजिक-सांस्कृतिक, राजनैतिक-प्रशासनिक, आर्थिक-वैचारिक, धार्मिक-आध्यात्मिक जस्ता विविध पक्षहरूलाई अङ्कन गरिएको पाइन्छ ।
कवि ज्ञानदिल दासले नेपालमै लेख्न सुरु गरेको भएपनि दार्जिलिङको रङ्गबुलमा धामको स्थापना गरि बस्दा सन् १८७७ सालतिर लोकछन्दमा एकसय नौ श्लोिकको उदयलहरी रचना गरेको जानकारी पाइन्छ । यी जम्मै श्लोाकहरू लोकलयमा संरचित रहेको पाइन्छ । कर्मकाण्ड, हिंसा, घुस, गरिबी र मानिसको पाखण्डीपनप्रति विद्रोह मचाएका छन् । ज्ञान र भक्तिको निम्ति साधु भएर गृहत्याग गर्नु, तीर्थ जानु आवश्याक छैन, व्यर्थ हो, घरै बसेर पनि चोखो मनले योग साधना गरे ज्ञान-भक्ति र मुक्ति पाइन्छ ।अतः यी सबै कुरा गृहस्थ धर्ममा रहेर पनि हासिल गर्न सकिन्छ भन्ने विचारका पक्षधर थिए । उनी ब्राह्मनन्द प्राप्तिमा दृढ़ विश्वा।स राख्थे । वेद, पुराणको निन्दा पनि गर्दैनथिए तर त्यसको मूलमर्म नबुझीकन अनेक प्रकारका रूढ़ी-आडम्बर रचेर दुनियाँलाई ठग्ने, धुत्ने, लुट्ने ब्राह्मण पुरोहितहरूप्रति उनको सधैँ विद्रोह भाव थियो ।उनले आफ्ना चेलाहरूलाई भक्तिको मार्गदर्शन गर्दै भक्ति-योग साधनाको पक्षबाट ब्रह्म प्राप्तिको उपासना गर्दथे । ब्रह्मनन्द प्राप्तिको निमित्त सन्त आध्यात्मिक रहस्यलाई बुझाउन कवि ज्ञानदिल दासले आफ्ना रचनाहरूमा कहिले सामाजिक वृत्तिलाई त कहिले लौकिक उपमानहरूको सहयोग लिएका छन् । दृष्टान्तका निम्ति केही पंक्तिहरू टिपौं-

१. धन जन भन्छन् देवीमाई भाक्छन्
पशुघात भयो भन्या धर्म कहाँ राष छन्
गरिपमारा पशुघात जो कोही गर्छन्
नर्क तलाउ भासमा सहजगै पर्छन् ।।११।।

देवीमाई पत्थर जो पुजि जान्छन्
सतलोक धाममा ती कहाँ जान्छन्
धाम चिन सतलोक जमुनाका तीर
लोभ पाप छोड़ी हरी तिर फीर ।।१२।।

२. ब्रह्म हुँ भन्या ब्रह्म न चिनन्या ।
वैलि बाख्री कता छन् बसि षोजि किन्या ।।
छेदन्ने धागड़को पकाइहालुँ रक्ती ।
तेस्तै कन भन्नू यमराजको भक्ति ।।
ज्ञानदिलदास हिंसाका विरोधी र अहिंसाका पुजारी थिए । हिंसा गरी मांस भरण गर्ने मानिसहरूलाई अधर्मी होइन तर अज्ञानी ठान्थे । आजको मानव समाजमा छुवाछुत जस्तो घृणित प्रथा हटाउनु पर्छ । मानवमा जातको होइन तर कर्मको मात्र मूल्य र महत्व हुन्छ भन्ने कुरामा विश्वाजस राख्थे । यस काव्यमा अर्न्तचेतना कसिलो संयोजन भएको पाइन्छ । काव्यमा माधुर्य गुण, रस परिपाकका दृष्टिले पनि अब्बल अनि लयात्मक र रसात्मक गुणले ओजपूर्ण भएको पाइन्छ । काव्यमा प्रयुक्त भाषा-शैली सरल,सरस र रसिलो हुनका साथसाथै आलङ्कारिक पनि भएको छ । भाषिक शिल्प-शैली एवम् काव्यगत विशेषताले उदयलहरीलाई जोसमनी सन्त साहित्यको सर्वश्रेष्ठ र प्रतिनिधि रचनाको रूपमा सगर्व प्रस्तुत गर्न सकिन्छ । साहित्येतिहासकार डा. कुमार प्रधानले उदयलहरीलाई नै भारतमा लेखिएको नेपाली काव्य-साहित्यको प्रथम कृति(रचना) स्वीकारेका छन् ।
ज्ञानदिलदासले ब्रह्मज्ञानलाई नै ज्ञानहरूमा सर्वोत्कृष्ट मान्दथे । ज्योतिषीहरूलाई पनि उनी कर्मकाण्डी ब्राह्मण पुरोहित झैं रूढ़ीवादी संस्कारको पृष्ठपोषक, आडम्बरी, धूर्त र फटाहा जति मात्र मान्दथे । यस्ता पाखण्डी-फटाहाहरूमा धार्मिक-आध्यात्मिक चेतना वा साँचो ज्ञान हुँदैन भन्ने विश्वास उनको मनमा थियो भन्ने कुरा यी कविता पंक्तिहरू प्रष्ट पार्दछ-
१.ग्रह गोचरको जाप् गर भन्छन् ।
सुझ-न-बुझ अम्ला मात्रै गन्छन् ।।...
२.क्या गर्छौ ज्योतिषी हो अभागे तालो ।
देषछौ त भन्छौ नजर्माथि जालो ।।
ज्ञानदिल दास जातमा होइन तर कर्ममा गहिरो विश्वानस राख्थे । सानो जात-ठूलो जात भनेर कहिल्यै छुवाछुतको भेदभाव राख्दैनथे । समानताको भावले आफू समाजमा निकै लोकप्रिय भएको सन्तोष भाव कवितामा यसप्रकार अभिव्यक्त गरेका छन् –
१.यो रूम्जाटारको कोदाको पीठो-
निर्गुणको दाउन ।
धर्म र कर्म गुरुङले गर्योो-
छक् पर्यो बाहून ।
उनको अर्को कृति झ्याउरे भजन झ्याउरे लयको आठ श्लो‍कमा संरचित छ । कविले यस कवितमा नेपाली धर्म, संस्कार र संस्कृतिका विविध पक्षबाट सामग्री टिपि टिपोट गरेका छन् । यो भजनमा सांसारिक वस्तुको नाशवान प्रवृत्ति र त्यसको क्षणभङ्गुरताबारे अवगत गराउँदै आध्यात्मिक प्रवृत्तिको विकास गरी पारलौकिक बन्न प्रेरणा दिने सन्त परम्पराको यो एउटा सफल दृष्टान्त हो । सन्त सम्प्रदायमा शक्तिलाई शून्यमा हेरिएको भेटिन्छ । त्यसैले जोगी-सन्यासी(फकिर)-हरू आफ्ना गुरुहरूबाट पाएको आध्यात्मिक ज्ञानको प्रचार-प्रसार गर्दै पूर्वी नेपालका विभिन्न स्थानहरूमा घुमेको-डुलेको तथा उनीहरूले गरेका विविन्न कार्यकलापबारे यस भजनमा संक्षेपमा प्रकाश पारिएको छ । प्रस्तुत भजनमा नौव बीसे भेडा भड्खला परेपछि नोगिनी भएको र गुरुले ज्ञान दिएको प्रसङ्ग उल्लेख छ । यसको साथै रुम्जाटारका बाहुनले धर्म र कर्म छोड़्दै गएका अनि सन्त सम्प्रदायको प्रभावको फलस्वरूप गुरुङहरूले धर्म-कर्ममा ध्यान दिएको र बाहुनहरू छक्क परेको प्रसङ्ग उल्लेख गरिएको छ । अतः यिनै धार्मिक-आध्यात्मिक, आर्थिक, सामाजिक-सांस्कृतिक विषयवस्तुलाई यस भजनमा प्रस्तुत गरिएको छ । प्रस्तुत भजन ५,५,६ गरी लोक लयमा रचिएको छ । कविले यस भजनलाई रसिलो, आकर्षक र साङ्गीतिक बनाउन अन्तर अनुप्रास र अन्त्यानुप्रासको लोभलाग्दो तरिकाले समायोजन गरेका छन् । थेगोको रूपमा हिराको दर्बार सुन गरिपर्वरलाई पुनरावृत्ति गरी भावलाई क्रमिक रूपमा विकास गर्दै लगेका छन् भने चलनचल्तीका तत्सम तथा नेपाली ठेट (झर्रा) शब्दको प्रयोग गरेर भजनलाई कर्ण प्रिय बनाएका छन् । नेपाली समाजमा भएको विसङ्गति र विकृतिको चित्रण गरेर सामाजिक र धार्मिक सुधार गर्नु नै प्रस्तुत भजनको मूल अभिष्ट रहेको देखिन्छ। यस भजनमा आध्यात्मिक वस्तुको शाश्वलतता अनि सांसारिक वस्तुको क्षणभङ्गुरता देखाउँदै मानव स्वभावमा सुधार ल्याउन धर्म-कर्म गरेर मनलाई पवित्र राख्ने लक्ष्य राखिएको छ ।
सन्तकविहरूले काव्यरचनाको समय शिल्प-सौन्दर्यमा भन्दा भावविधानमा बढ़ी ध्यान दिएको देखिन्छ । कविता र भजनहरूमा बाह्य वस्तुको चित्रणमा भन्दा आफ्नै जीवनको आन्तरिक अनुभूतिको सग्लो अभिव्यक्ति दिइएको पाइन्छ । यसर्थ यी रचनाहरूलाई भावप्रधान मान्न सकिन्छ । समग्रमा हेर्दा नेपाली साहित्यमा सन्तकविहरूले सिर्जना गरेको सन्तसाहित्यको मूल अभिष्ट वा मूलमन्त्रको रुपमा कुनै धर्मविशेषको आदर्शलाई मात्र मान्यता नदिएर सामाजिक समानता र व्यवहारिक उदात्ततालाई यथार्थरूपमा दर्शाउनु नै मुख्य रहेको देखिन्छ । जोसमनी सन्त सम्प्रदायका सन्तकविहरू निर्गुणवादी भनिएका भए पनि यिनका काव्य-सिर्जनामा सगुण र निर्गुण दुवैप्रतिको आस्था अभिव्यक्त भएको पाइन्छ ।एकातिर यी कविहरू निर्गुण निराकार स्वरूप साधनाका कुरा गर्छन् भने अर्कातिर भगवान शिव, विष्णु, राम, कृष्ण, हरि आदिको आराधना गरेको हुँदा यिनीहरू सगुणका उपासक पनि हुन भन्ने स्पष्ट बुझिन्छ । यसर्थ यिनीहरूका काव्य रचनालाई निर्गुण काव्यका रूपमा मात्र मूल्याङ्कन गर्न मिल्दैन ।

उप-प्रध्यापक
दार्जिलिङ राजकीय महाविद्यालय

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु