विश्व तिम्रा चरणमा कथाको विपठन

- बासुदेव पुलामी

विश्व तिम्रा चरणमा कथाकार इन्द्रबहादुर राईको लीलावादी कथा हुन्। कथाकार राईको कठपुतलीको मनभित्रका यस कथाको लेखनशिल्पभित्र पनि यथार्थकै अन्तर्रूप भने प्रतिपादित देखिन्छ। विश्व तिम्रा चरणमा कथाको शीर्षक सङ्केतपरक छ। कथामा लीलालेखनलाई विपठन गरिन सकिने अवकाश राखिदिएका छन् उनले। यस कथाको टुङ्गाइ पनि खुल्ला (open ended) किसिमको छ। साहित्य समाजबाट सर्वथा मूक्त हुन सक्तैन र त्यसले कुनै न कुनै ढङ्गबाट (समाज, जाति, वर्ग, युग र त्यसका स-साना संस्कारहरूबाट) केही ग्रहण गर्ने र नयाँ विचार दिने द्वन्द्वात्मक क्रिया चलाइराखेको हुन्छ। कथाकारले टिपेका पात्र, परिवेश, देशकालपरिस्थितिले कथानकलाई गति दिएका हुन्छन्। यस कथामा प्रयुक्त कथाकारको लीलावादी लेखनलाई यस लेखमा विपठन गरिएको छ।
कथाकार इन्द्रबहादुर राईले आफ्ना पुस्तक कठपुतलीको मनमा कृतिमा लीलालेखनगत आधार शीर्षक दिएर बीसवटा बुँदाहरू राखेका छन्। त्यसमध्ये तेस्रो बुँदामा भनिएकोछ – औपनिषदिक माया, वौद्ध शून्य, जैन स्यादवाद्, भौतिक विज्ञानिक सापेक्षवाद, मनोविश्लेषणात्मक फ्रायडवाद, गेस्टाल्ट मनोविज्ञान, मार्क्सवादीय आइडियोलजीको सिद्धान्त, व्यवहारवाद (प्र्याग्माटिज्म), समालोचनात्मक पाठकीय प्राप्ति सिद्धान्त, विनिर्माणवाद आदिबाट आधार र सकार लीलालेखनलाई प्राप्त। क्वान्टम फिजिक्स पनि। अनि लोकवत्तु लीलाकैवल्यम् । यी आधारहरूबाट पाठकलाई समाज, वर्ग, मान्छे, जाति, संस्कृति र अन्य थोकलाई पनि हेरिन सकिने अवकाश स्पष्ट गरेका छन् उनले। कथाका सैद्धानतिक सूत्रहरू पुस्तकभित्रै दिएका छन्। कथाकारहरू समाजमा कतै न कतै, कुनै न कुनै बिन्दुमा उभिएरै कथा भनिरहेका हुन्छन्। कथाकारद्वारा भनिएको कथामा तथा भाषाले भनिने माध्यममा कथाकार एवं लेखक कतै न कतै भाषाद्वारा नै नियन्त्रित भइरहेका हुन्छन्। राईद्वारा वाचित यस कथामा भाषाले उनलाई पनि समातेका छन्। भाषाद्वारा निर्णित उनका लीलावादी यस कथाभित्र यथार्थका अनेक रूपहरू देख्न सकिन्छ। इन्द्रबहादुर राईका यस कथाभित्र भेटिएका व्याख्यात्मक विवरणमा भाषिक खेल मात्र पनि छैनन् यसभित्र छन् समाज र सामाजिक कथाका पत्रैपत्र कथ्यहरू अनेक। त्यसलाई पनि विन्यासक्रमिक (Syntagmatic) र सहचारक्रमिक (Paradigmatic) ध्रुवमा राखेर हेरिन सकिने सन्दर्भ उनले तिनै लीलालेखनगत आधार तेह्रमा पनि बताइदिएका छन्। कथाभित्र देखिन र फेरिन सकिने अर्थगत सम्भावनाका सूत्रहरू धेरै हुनसक्छन्।लीलालेखनकै सन्दर्भमा अझ अर्को ठाउँ उनले भनेका छन्, पाठकहरूले अनेक अर्थ्याइँ गर्न पाउने फाँटहरू लेखनमा धेरै राखिनुपर्ने। पठनलीलालाई।
विश्व तिम्रा चरणमा कथालाई समकालीक सन्दर्भबाट हेरिँदा यसका लीलावादी दर्शनको विपठन हुँदछ। ईश्वीको बीसौं शताब्दीलाई एकप्रकारले साहित्य, कला, दर्शन, विज्ञान, समाजशास्त्र, अर्थनीति, राजनीति, सञ्चारमाध्यम आदिदेखि लिएर शासनतन्त्र र व्यापार-वाणिज्यसम्म जीवनका प्रत्येक क्षेत्रमा उथुल पुथुल भएको पाइन्छ। कथाकार राईले तिनै प्रभाव र प्रक्षेपणहरूदेखि प्रभावित मान्छे, जाति, वर्ग, धर्म, नश्ल, समुदाय, गोष्ठीजस्ता सम्प्रदायलाई विश्व तिम्रा चरणमा कथामा एकैचोटी स्पर्श गरेका छन्। यस कथामा पनि समकालीन सन्दर्भबाटै सत्तरको दशकमा आइपुगेको साम्राज्यावादी उपनिवेशवाद तथा उत्तरउपनिवेशवादी अवधारणाबाट विकसित उपभोक्तावादी दर्शनबाट पनि उनले कथागत वातावरणलाई टिपेका छन्। संसारमा उपभोक्तावादी संस्कृतिले समकालीन समयचेतलाई अझ भूमण्डलीकरणको युग भनेका छन्। आजको मानिस आफूलाई विश्वग्राम (Global Village) का वासिन्दा सम्झन्छ अथवा सम्झन उसको वाध्यता पनि भएको छ। तसर्थ कुनै पनि राष्ट्र आज एक्लै र तटस्थ रहन सकेको छैन। प्राय: जसो सम्पूर्ण देशहरूमा नै विश्वव्यापार चलेको पाइन्छ, जसले हाम्रो समाजव्यवस्था, अर्थव्यवस्था, सांस्कृतिक बहुलता, संस्थानहरूको निजीकरण, जातीय, भाषिक र धार्मिक फुटको व्यापक सिर्जना, एनजीओ संस्कृति, साइबर संस्कृति, डलरको खेती र व्यक्तिवादको चरम विकास भएर गएको देखिन्छ। एकैरातमा मानिस कडोड पति, एकै रातमा मानिस गरीब र सडकमा उत्रन सक्छन्। सम्भावना सक्यताहरू(इबराको भाषामा) देखिन्छन् लीला आधारमा राखेर हेरिँदा उनका दृष्टिबाट, तर सम्भावित सत्य अरू नै लाग्न सक्छ सामान्य पाठकलाई तथा गम्भीर पाठकलाई।
कथाको आरम्भमा कथावाचकले भनेका छन् –
यति विसाल, यस्तो सुन्दर बिल्डिङ्ग
सुपरमार्केट ?
यहाँ ??
पुरानै पुरानो घरहरू, होचो र कति भत्केको, माझमा यो बिल्डिङ्ग उप्जेछ कैले ? कति नौ तला ?
उपनिवेशकहरू रातारात बिल्डिङग ठड्याउँछन्। विश्वग्रामका बासिन्दा कथावाचक सामाजिक र आर्थिक हैसियतले निम्नमध्यम वर्गीय छ। तसर्थ सुपरमार्केटको नौ तला निकै उठेका देखेका छन् उनले। उपनिवेशकहरू जहाँ बसे पनि तिनीहरूले आफ्ना हैकम चलाउँछन्। कुनै हालतमा पनि उपनिवेशकहरूका उपभोक्तावादी दर्शनले मानिस तथा उपनिवेशितहरूलाई मूक्त हुनै दिँदैनन्। तसर्थ कथावाचकले भनेका छन्, कालो सङ्गमर्मर बिछ्याएको...राजारानीलाई भन्दा कम स्वागत छैन । उपभोक्तावादको (लीला ?) जादु समाजमा निम्न मध्यम वर्ग र मध्यम वर्गीय समाजमा धेर भएको पाइन्छ।
कथावाचकलाई सुपरमार्केटभित्रका हरेक वस्तुले आकृष्ट गरेको छ। झ्यालमा प्रदर्शित बुट्टेदार कचौराहरू, थालहरू देखेपछि कथावाचक छक्क पर्छ। आफूभित्रको एउटा विरोधिता बोल्छ,
खानु पातमा खाँदा पनि हुन्छ, होइन ? हातमा खाँदा, ढुङ्गामा खाँदा, त्यो होला खास खानु। निख्खर । थाल सुनकोमा बुट्टैबुट्टमा खानु ?
मान्छेले सभ्य हुन थालेको देखि यता आरम्भमा पात मै खाए, बिस्तारै टपरी, थालमा खान सिके। जति सभ्यतासित नयाँ वस्तु सिक्दै गए उ अझै उपभोक्तावादी लीलामा फसिँदै फसिँदै गए। आज आएर काँसाको थालसम्म पुगेका छन् हाम्रा समाज। सुनको थालमा खान पुग्न पाए हुन्थ्यो भन्ने सोंच नपलाउँदो होला र हाम्रा अवचेतनमा ? उपनिवेशवादी भनौं पुञ्जीवादी उपभोक्तावादले हाम्रा खास खानुलाई पनि खोसिदिन खोजेका छन्। माध्यम मात्र राखिदिएको छ। थाल सुनकोमा बुट्टैबुट्टामा खानु ? विरोधाभास देखिन्छ सभ्यता र उपभोक्तावादी संस्कृतिबिच। अयथार्थ पनि होइन यथार्थमा नै उपनिवेशवादका उपभोक्तावादी दर्शनले मान्छेलाई सभ्यतातिरै लाँदैछ कि कतातिर लाँदैछ। तर पनि मान्छे तत्पर छ जानुमा। अघि बढ्नुमा रोक्न सक्तैनन् कसैले। यसलाई आजको सन्दर्भमा लीला लाग्न सक्छन् पाठकलाई।
सभ्यता र संस्कृतिबिचको विरोधाभासलाई अझ अर्को ठाउँमा भनेका छन्,
“मनपर्दा र रिसउठ्दो पनि एक थोक (बैठक सजाउने थोक देख्छु) सब चम्किने चाँदीको। खरले छाएको छाप्रो (चाँदीको) पिडीमा बसेका बुढा (चाँदीको), हलो चाँदीकै त्यहीनेर ठड्याएका आगनमा मकैका घोगाहरू (चाँदीको), सुकाएको थाङ्गनो, पर गोठमा चाँदीकै गाई र बाछा, पनेराबाट गाग्रीमा पानी बोकेर गइरहेका चाँदीका ती नन्द भाउजू हुनसक्छन्।“
वैश्वीकरणको अर्को प्रभाव सांस्कृतिक समरूपता मानिन्छ। जसको कारण आज विभिन्न देसका क्षेत्रीय, जातीय सांस्कृतिक सम्पदाहरू कृतिमतामा परिणत हुँदैछन्। आधुनिक जगतको सुपरमार्केटभित्रको बजारमा कथावाचकले स्वजाति, स्वपरम्परा, स्वसंस्कृति लोप भएको देख्छन्। बैठक सजाउने थोकमा परिणत बजार विक्रयालयमा संस्कृतिको विलयनलाई कथाकारले देखाएका छन्। अथवा भनौ कथाकारले वैश्वीकरणको अतिक्रमणप्रति सचेतता राख्दै सांस्कृतिक विलोपिकरणको भविश्यतर्फ प्रसस्तै इङ्गित गर्न चाहेको बुझिन्छ। फ्रान्सिस फुकियामाले भनेका छन्, समाज भूमण्डलीकरणमा विलयन भएर जाँदैछ। नवीनताको दौडमा पुरानो संस्कृतिको समाप्त भएर सांस्कृतिक मूल्यरूपको वैश्वीकरण हुँदैछ। सांस्कृतिक एकीकरण एवम् परस्पर निर्भरताको नवीन दिक्कालले सीमाहरूलाई समाप्त गर्दैछन्। साइबर स्पेस अनि समयका कारणले मानिस आफ्ना सनातन स्मृतिबाट वञ्चित हुँदैछ। हामी आफ्नो सामूहिक अवचेतन तथा कालवोध औ सारा सांस्कृतिक स्रोतहरूलाई भूमण्डलीय समरूपताको युगमा कसरी सुरक्षित राख्न सक्छौं यो चिन्तनीय कुरा छ। अर्थात वैश्वीकरणको यस मोडमा विभिन्न देसका स्थानिक जातीय संस्कृतिका स्वरूप र सोपानहरूले आफ्नो मौलिक पहिचान हराउँदै गएको देखिन्छ। यतिसम्म देखिन्छ पश्चिमका कतिपय अग्रगामी समाज र राज्यले लिङ्गभेदको स्त्री-पुरूष भनिने द्विभिन्न मान्यता तोडेर समलैङ्गिकताको वैधानिकीकरणद्वारा बहुलैङ्गिकताको स्थापनामा जोड दिइरहेका छन्। भर्खरै नेपाल राष्ट्रले पनि यसलाई मान्यता दिएका छन्। यस स्थितिमा मानिसभित्रको जाति, समाज, संस्कृति, वर्ग, देश सबै नै पुञ्जीवादी साम्राज्यावादीहरूका हातबाट नियन्त्रित र सञ्चालित छौं भन्ने कुरातर्फ ज्ञात हुँदा हुँदै पनि त्यसबाट बिमुख हुन नसकिरहेको स्थितितर्फ इङ्गित गरिएको छ।
कथामा अर्का ठाउँ भनेका छऩ्,
मानिसले मानिसलाई मार्नलाई कति क्रुरतासितको हतियारहरू बनाएको छ। मानिसको हीनता, उसको भय, उसको बाँच्ने बल उसको हतियारहरूमा प्रष्टिदोरहेछ क ?
पुञ्जीवादी भौतिकवादको साम्राज्यवादी आफूले अर्जन गरेको सभ्यताको विकासमूलक लाभहरूलाई सबैलाई फायदा होस् भन्दछन्। सबैको उपयोगी, हित र उपकार चाहनेहरू वास्तवमा आफ्ना जाति, धर्म, संस्कृति र आर्थिक सम्पन्नता हतियार (परमाणु?) को धाक र फुइँ उपनिवेशितहरूमाथि जहिले पनि पिट्ने वा देखाउने धुर्त तरिका मात्र गर्दछन्। कथाकारले वर्तमान विश्वमा नै शक्तिशाली राष्ट्रहरू पनि आफ्नो अस्त्र-शस्त्रको बलमा मात्र बाँचेको कुरा स्पष्ट पारेका छन्। तसर्थ उपनिवेशवादी भौतिकवादप्रति एउटा व्यङ्ग्यको प्रहार गर्दै कथावाचकले भनेका छन्,
“ब्ड्यांग एक! खतम काम ! भने
सोधें – छैन ?
उग्रवादी ढर्रा गर्दोरहेछ सोचेछ कि, उ बोल्दैन।
‘सुपरमार्केट उडाइदिनु ।’ मैले थपें ।
सपना पलाउँदोरहेछ हतियारहरूमा। ”
साम्राज्यवादको विस्तारवादी नीतिलाई कथावाचकले यसरी व्यङ्ग्यको माध्यमद्वारा देखाइदिएको छ। यस कथामा कथाकारले बजारको बजारीकरण दिनोदिन बढ्दो मानिसको अभिरूचि अनेक देखाएका छन। मानिसमा विच्छिन्न प्रकारका इच्छाहरू जागृत हुन थालेको देखिन्छ। बजारका वस्तुहरूले ती इच्छाहरूको बेग्लै संसार बनाइदिएका छन्। कथावाचक सुपरमार्केटभित्रका वस्तुहरू एकएकवटा हेर्दै बढिरहेका छन्। घरका सामानहरू, मेचहरू, बत्तीदानीहरू, चौकीहरू, गलैंचाहरू, दराज, सोफा इत्यादि हेर्दै जाँदा बजारले भन्छ,
“दामको कुरो ठुलो होइन! हजुरको सेवा गर्न पाऊँ। हजुरकै निम्ति दोकान छ।”
उपनिवेशहरूका यस उपभोक्तावादी मनोवैज्ञानिक जालमा उपभोक्ताहरू सहजै फँसिन पुगेको देखिन्छ। फेरि उपभोक्तावादी समाजमा वस्तुहरू बाहिर एकप्रकारका हुन्छन् भने भित्र अर्को प्रकारका। प्रत्यक्ष रूप सत्य नहुन सक्छ पनि। यसैले मखुण्डोहरूको संसार हो भनिन्छ उपभोक्तावाद। कथाकारले आजको जीवन उपभोगबिना कुनै मानिसको जीवन सम्भव छैन भन्ने कुरा पनि देखाइदिएका छन्। उसलाई भोजन, वस्त्र, आवास, उपचार तथा आधुनिक जीवनलाई सुविस्ता र आरामदायक तुल्याउन अरू विभिन्न प्रकारका वस्तुहरूको आवश्यक्ता पर्दछन्। यसरी उपभोग्यका क्रममा मानिस वस्तुहरूका सङ्कलनमा लागिपर्छन्। अत: उसको सम्बन्ध उपभोग्य वस्तुसित मात्रै रहन्छ। उपभोग्य वस्तुको सीमा छैन। यस स्थितिमा उपभोक्ताको सामाजिकता संस्कृति बढी कृतिम हुन्छ। पुञ्जीवादी भौतिकवादले मानिसलाई सुखवाद र ऐस मनोरञ्जनतर्फ नै बढी आकृष्ट गरेको पाइन्छ। तब कुन संस्कृति, कुन संस्कार, कुन राष्ट्रियता, कुन परम्परा र कुन मौलिकताको कुरा गर्नु ? त्यसैले आजको सामाजिक वैश्वीकरणको समाजमा सामासिक संस्कृति हुर्किएर जाने स्थितिको प्रबलता देखिन्छ। वास्तवमा सामासिक संस्कृतिको मूल प्रभाव बेलायती उपनिवेशहरूले छाडिराखेको एउटा जड हो। त्यसैले कथामा एकठाउँ भनिएको छ,
इंगलिस चीज सब। यहाँ छात्तीमा, यहाँ कुममा डाँडा-डाँडीमा एउटा उठ्दैन।
देस स्वतन्त्रता त गरिदिए तर देसको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनैतिक हरेक क्षेत्रमा उपनिवेशवादी प्रभाव आज पनि प्रत्यक्ष देखिन्छ। हाम्रा अवचेतनमा उपनिवेशित विचार अझ दह्रिलो गरी जरा गाडिएको छ। विश्व तिम्रा चरणमा कथाकै सन्दर्भमा एउटा अन्तर्वातामा भनेका छन् उनले,
पुञ्जीवादीले भन्छ, यो संसार, यो देस तिमीहरू कै हो, यस देसका सबै कुरा तिमीहरू पाउन सक्छौ, यस देसको ठुलोभन्दा ठुलो पदमा पनि तिमीहरू पुग्न सक्छौं। तर साँच्चै नै पुग्छौ ?? स्वतन्त्रता छ पुग्ने तर त्यहाँ पुग्न नपाइने परतन्त्रता पनि छ। दोकानभरि चिजबिजहरू छ, जसले पनि, जे पनि किन्न सक्ने। तर त्यो गरीबले जसको गोजीमा दुई रूपियाँ मात्र छ त्यो ठुलो क्यामेरा किन्न सक्तैन फेरि मानव जीवन नै पनि यस्तो छ। यो जीवनमा हामी पायौं, यो जीवनमा हामी के हुन सक्तैनौं ? के गर्न सक्तैनौं होला ? जे पनि गर्न सक्ने खुलासा हामीलाई प्राप्त छ तर पनि हामी ठुलो काम केही गर्दैनौं त। हाम्रो तथाकथित स्वतन्त्रता र अनुमानित शक्यता कति रित्ता छन्। लीलातिर बाटो छमाइ छ यो। विसङ्गति जाँच्दै।
कथामा लीलावादी दर्शन अभीष्ट छ। यद्यपि पुँजीवादी भौतिकवादको उपभोक्तावादी मनोविज्ञानलाई लीलाको एउटा माध्यम बनाएको बुझिन्छ। अर्थात् उपनिवेशितहरू जहिले पनि उपनिवेशकहरूको बजारवादमा भ्रमित छन् भन्ने कुरा कथाकारले यसरी देखाएका छन्,
सब हाम्रो निम्ति ? तर छ हाम्रो निम्ति ?
संविधानमा सब हक छ हाम्रो तर छ हाम्रो ?
कुनै पनि देसको संविधानले पारित गरेका जम्मै कुराहरू जनताले कहिले पाउन सक्दैनन्। पाउन सकिने व्यवस्था हुँदा हुँदै पनि पाउन सक्दैनन्। स्वधीनतापछि भारतीय संविधानले समाजमा हेपिएका र थिचिएका एवम समाज र राष्ट्रबाट उपान्तमा राखिएका सामाजिक जातीय समूललाई मूलधारामा ल्याउनका निम्ति आरक्षणको नीति अँगालेको पाइन्छ। तर के अहिलेसम्म पनि हाम्रा जाति पनि राष्ट्रको मूलस्रोतमा आइपुग्न सक्यो र ? सकिने सम्भावनाहरू छन्, सकिएला अथवा नसकिएला र ? यी धारणा र विचारहरूलाई लीलावादी दर्शन भनिए तापनि यसभित्र सबाल्टर्न समूहप्रति सम्वेदना पाइन्छ। जो उत्तरऔपनिवेशितवादको अवधारणाभित्र पर्ने एउटा सङ्कथन हो।
कथाको अन्तमा कथावाचक सुपर मार्केटभित्रबाट एउटा लेस मात्र किनेर फर्कन्छ। चाहिने जिनिसहरू अरू नै बहुमूल्य देखिए तापनि कथावाचकलाई लेस विशेष प्रकारको लाग्छ। चाहिँदो आफै तन्केर र चाहिँदो खुम्चेर सुनियोजित बनेको लेस कथावाचकलाई अरूभन्दा पनि विशेष लाग्छ। धेरै परेको होस् दाम भन्ने सङ्कल्प राख्दै सय रूपियाँ दाम तिरेर फिर्ता पाएको पैसा गन्दै नगनी बाहिर निस्कन्छ। बाहिर निस्किएर पनि अझ केही लिऊँ भन्ने पात्रको विचारसँगै कथा टुङ्गिएको देखाइएको छ। तर कथामा अन्तिममा आएर अनेक विरोधिता आफूभित्र देखिए तापनि साधरण सामान्य लेसको माध्यम कथावाचक उपभोक्तावादको सिकार बनेको छ। यसप्रकार कुनै न कुनै बाटो भएर उपनिवेशवादी उपभोक्तावाद जादु ( लीला ?) मानिसको आत्मपहिचान मेटाउन तल्लीन रहेको देखिन्छ। धर्मनिरपेक्ष होस, साम्प्रादायिक होस, धनी होस्, वा गरीब होस् यसको चपेटबाट आज कोही बाँच्दैनन भन्ने कुराको इङ्गित कथाको टुङ्गाइएबाट थाह लाग्दछ। यसप्रकार कथाकार राईको लीलावादी कथा विश्व तिम्रा चरणमा कथाको एककिसिमको विपठन हो यो, अरू अझै बेग्लै पठन हुन सक्छन्।

कालिपद घोष तराई महाविद्यालय, बागडोगरा, दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु