मनस्थिति

- राजु “हिमांशु”

बेलुकी सधैं यो रेस्टुराँको केबिनभित्र बसेर मात्नु मेरो जिन्दगीको रूटीनमा परेको एउटा पीरियड हो । अफिसबाट थाकेर आएपछि मेरो थकावट यहीं रेस्टुराँभित्र हराउँछ केही क्षण । तर केबिनभित्र म एक्लै मात्छु । सायद अरुहरु साथीहरुसित मात्छन् । मलाई केबिनभित्र रक्सीको बोतल अघि राखेर देशको कल्याणको कुरा गरेको पटक्कै मन पर्दैन । साथीहरूसित त्यस्ता कुरा सम्भव
हुन्छ । यसैले म एक्लै हुन्छु । एक्लै पिउनुमा जति मजा हुन्छ त्यति मजा दल बाँधेर पिउनुमा
हुँदैन । सायद अरुहरु भन्लान् - दल बाँधेर पिउनुमा जति मजा हुन्छ त्यति एक्लै पिउनुमा हुँदैन । विचार नमिल्नु त स्वाभाविक कुरो हो । तर विचार नमिल्दा व्यक्तित्व नै विवादग्रस्त भएको चाहिँ मलाई मन पर्दैन । अचेल वाद-विवादमा हात छोड़िन्छ ,लात छोड़िन्छ अनि बद्ख्वाइँ गरिन्छ । तर साँचो विषयको ठोस निर्णय हुँदैन । विकास मरेर जान्छ । अचेल फेरि रक्सीको रन्कामा मात्र राजनीतिक ,सामाजिक ,आर्थिक ,राष्ट्रीय ,अन्तर्राष्ट्रीय विकाससापेक्ष कुराहरु निस्किन्छन् । दार्शनिक गनथन त्यही जोसमा हुन्छ । पारिवारिक क्रन्दन त्यसैको नशामा हुन्छ । अभावग्रस्तता परिभाषित हुन्छ । समस्या तिख्रिन्छ । उपदेश कराउँछ । कल्याण चिचाउँछ । ठूला ठूला आदर्शहरुले कान खान्छन् रक्सीको रन्कामा । तर्क गर्दा मुड्की टेबलमाथि थचार्दा लडेका रक्सीका बोतल र गिलासहरु केबिनभित्र एक क्षण उत्थान र पतनका बहसहरु सुनेर ट्वा पर्छन् । तर एक दुई पल्ट वान्ता गरेपछि उत्थानको खुट्टा भाँचिन्छ । पारिवारिक ,आर्थिक ,सामाजिक ,राजनीतिक ,साहित्यिक विकासका हातहरु भाँचिन्छन् । यसैले दल बाँधेर म रक्सी पिउँदिनँ । पिउँछु त एक्लै । साथीहरुलाई पिलाउनु पर्छ भनेर मैले एक्लै पिएको होइन । वास्तवमा अचेल म एक्लोपनलाई माया गर्ने भएको छु । यद्यपि म एकलों छैन । दुई छोरी, दुई छोरा र स्वास्नी छन् । वृद्धा आमा छिन् । एउटा घर छ ।
घर ! बाहिरबाट हेर्दा सुनका हृदयहरुले बुनिएको तर भित्र रित्तो । ठूलो छोरोले बिहे गरेर एउटै घरलाई दुई फ्याँक पारेको छ । ठूली छोरीले बिहे गरेर पनि लोग्नेसित पारपाचुके गरेकी दुई वर्ष भइसक्यो । त्यो मेरै घरमा छे । सानो छोरो स्नातक भएर पनि बेकार छ । सानी छोरी कलेज पढ्दै छे । स्वास्नी समस्याले खङ्ग्रङ्ग भएर गार्हस्थ्य जीवन घिसार्दैछिन् । आमा मृत्युकै प्रतीक्षामा छिन् । घर चल्दै छ जसोतसो । सायद यसैलाई घर भनिन्छ कि क्या हो ! अफिसबाट सोझै घर जान मलाई मन लाग्दैन अचेल । पच्चीस वर्ष अघि त्यही घर कहिले पुगूँ पुगूँ हुन्थ्यो । सुनौलो संसार लाग्थ्यो मेरो घर । अचेल त मरेका जिनिसहरुले भरिएका अजायबघर जस्तो लाग्छ मेरै घर । समयको परिवर्तनशील फाँटमा सिङ्गो घर बेग्लिँदै जाँदरहेछ ,टुक्रिँदै जाँदरहेछ । घरको खोक्रो अस्तित्वको ज्ञान छ मलाई । तलबले पुगेको छैन घरलाई । खर्च मासिक बजटभन्दा अति धेरै हुँदैछ । छोरा-छोरीका सपनाहरु साकार पार्न सकिएको छैन । सानी छोरीको किताब किन्नै छ । सानो छोरोको नोकरीको निम्ति घुस दिने हात खाली छ । बिहे भएर पनि बाबुको घर कुर्ने ,लोग्नेसित पारपाचुके गरेकी छोरीलाई त लाजै छैन । ठूलो छोरा –बुहारीको त संसार अलग्गै छ । तिनीहरुको वास्ता पनि छैन । श्रीमती नाना भाँतिका रोगले थलिएकी छिन् । आमाको आयु पनि रित्तिँदै छ । यी कुराहरुले मेरो मन पोल्छ ,छाती डड़छ । म रक्सी पिउँछु । कति वटा खर्च टाल्ने पैसा रक्सीमै खर्च गर्दैछु ।
जब रेस्टुराँको केबिनभित्र एक्लै रक्सीको रन्कोमा म एक क्षण मदहोश भएको हुन्छु;तब त्यो रेस्टुराँमा काम गर्ने केटीसित गफ गर्छु । त्यसले पनि आफूले भोगेका दु:खेसोहरु सुनाउँछे । आफ्नो जिन्दगीको मानचित्रमा आफ्नो भाग्य खोटो भएको चित्र देखाउँछे मलाई । समस्याग्रस्त त्यसको ज़िन्दगीका पीड़ाहरु मेरो ज़िन्दगीसित मेल खाने किसिमका देखिन्छन्। त्योसित म धेरै झ्याम्मिएको छु । मसित त्यो पनि निकै झ्याम्मिएकी छे । त्यसको मनभित्रको पीडाको अव्यक्त कथाहरु म मात्रै बुझ्छु सायद । कसले पढ़ने र त्यसको कथा? व्यस्त संसारमा त्यस्तो ज़िन्दगीको कथा पढ़ने फुर्सद नै कहाँ?कहिले काही त्यो रुन्छे । जसरी म पनि कहिलेकाहीं कमजोर भएर रुन्छु । त्यसको आँखाको आँसुले मेरी श्रीमतीको आँसु सम्झाउँछ। तब म त्यतिखेर हतारिन्छु घर जान । घर पुग्दा साँच्चै अश्रुपूर्ण हुन्छन् मेरी श्रीमतीका आँखाहरु । राति ओछ्यानमा पल्टिए पछि श्रीमतीले समस्या र अभावहरु ,पीड़ा र रोगहरु एक एक गरी मलाई सुनाउँछिन्। मेरो छातीमा लुटुपुटु भएर हृदय खोलेर रुन्छिन्। मेरा हातका औंलाहरु उसको आँसु पुछ्दा थाकिसकेका हुन्छन्। उसको प्रत्येक हिक्काले सपनाहरु टुक्रिएका सङ्केत दिन्छ मलाई । म उसलाई मन बलियो बनाउने सान्त्वना दिन्छु। सहानुभूतिका शब्दहरु समर्पित गर्छु ऊप्रति ।उसलाई सम्झाउँदा सम्झाउँदै मेरो भक्कानो फुटेर आउँछ। म उसलाई अँगालेर रुन विवश हुन्छु। ऊ झन मन थाम्न सक्दिन । हामी रातभरि रोइरहन्छौँ एक अर्कालाई अँगालेर। यसरी माया रुन्छ। यसरी कति रातहरु बिते, बित्छन्,बित्नेछन् । बिहान आमा–बाबाका राता आँखाहरु देखेर सानी छोरी पनि भित्रभित्रै रुँदी हो। सानो छोरों पनि रुँदो हो । यसरी मेरो परिवारले आँखाहरुबाट आँसु चुहाएर ज़िन्दगीको परिभाषा बनाउन खोज्छन्। तर यस्तो परिभाषा बुझ्ने को छ यहाँ? सबै आ-आफ्नो ज़िन्दगीको परिभाषा बुझ्न नै व्यस्त छन्। अरुको ज़िन्दगीको परिभाषा बुझ्ने फुर्सद कहाँ?
हातमा बाँधेको घड़ीले समयलाई बाँधेर राख्न सकेन । समय चिप्लियो । त्यो
लड़ेन। तर जिन्दगीलाई लड़ायो।
श्रीमती ओछ्यान परेकी छिन्। दवाई गरिँदैछ । सरकारी अस्पतालमा राम्रो दवाई पाइँदैन। किन्नुपर्छ बजारमा । मैले पनि किनें । सानी छोरी कलेज गएकी छैन । सानो छोरो कामको लागि नेपाल गएको छ । एकजना मान्छे नर्सरी स्कूलको लागि शिक्षक खोज्दै आएको थियो । त्यो मान्छेसित मेरो स्नातक छोरो गएको तीन हप्ता भइसक्यो । मैले त्यसलाई रोक्न पनि सकिनँ। कारण यहाँ त्यसले बेरोजगारीको मखुण्डो लगाएर समाजलाई तर्साएको धेरै भएको थियो । त्यसकी आमा त्यो गएको बेलुकीदेखि थला परिन् । ठूली छोरी अर्को मान्छेसित भागेर गएकी पनि महिना दिन भयो । अब त त्यो पनि ठेगान लाग्छे की भन्छु । बूढ़ी आमा बुहारीको सिकिस्त हालत देखेर झन बूढ़ी हुँदै गएकी लाग्छ मलाई । ठूलो छोरा-बुहारी ससुरालीतिरै छन् अचेल । ससुरा खसेदेखि त्यो ससुरालीमा जरा गाढ़ेर बसेको छ । आफ्नो घरको त त्यसलाई वास्ता पनि छैन जस्तो छ । त्यसको पनि वास्ता थिएन मलाई । तर अस्तिदेखि श्रीमतीले त्यसको अनुहार हेर्ने रहर गरेकीले मैले त्यसको वास्ता गर्न कर लाग्यो ।यसर्थ त्यसलाई खबर गरेको छु । आउँछ भन्ने विश्वास चाहिँ कुन्नि किन यो बाबुको मनमा अटाउन सकिनँ।
हिजो मात्र बड़ा हाकिमको खै सुन्नु प-यो। गलती मेरै थियो । आफिसको काममा मेरो भूल भएछ । सानो सानो गलतीमा पनि स्पष्टीकरण माग्ने बड़ा हाकिमको स्वभावदेखि सबै कर्मचारी त्रस्त छन्। तर मेरो प्रथम चोटिको गलतीले गर्दा होला मलाई बड़ा हाकिमले स्पष्टीकरण मागेनन्। यद्यपि खै चाहिँ गरे । म चुपचाप सुनिबसें । यसरी अचेल मेरो काममा पनि भूल हुँदैछ । हुन त मान्छेको मनस्थितिमा नै भूल भएपछि के लाग्छ ? मनस्थिति असन्तुलित हुँदा नै त्यो भूल भएछ कि क्या हो ?
बिहान श्रीमतीको अवस्था अझ सोचनीय भएको देखेर आफिस जान मन लागेको थिएन । तर तलबको दिन हुनाले तथा श्रीमतीको निम्ति दवाई पनि ल्याउन पर्ने हुनाले अफिस जान विवश भएँ। श्रीमतीको अवस्था,आमा,सानी छोरी र सानो छोरोको विषयमा मनभरि कुरा खेलाउँदै
थिएँ । आफिसको कामकाजपट्टि मन थिएन । सानो छोरोबाट कुनै खबर नआउँदा मन चिन्तित थियो । त्यहीमाथि श्रीमतीले सानो छोरोलाई बिहान सोध्दै थिई । ठूलो छोरोबाट पनि कुनै खबर आएको थिएन । ठूली छोरीलाई पनि खबर गरेको छु ।
दिउँसोको दुई बजेर दस मिनट गएको थियो । म आफिसमा नै थिएँ । फोन आयो । फोन सानी छोरीले गरेकी थिइछ। फोनमा श्रीमती सिकिस्त भएकी खबर थियो । म हतारिएर घर
पुगें । घरमा एक दुई छिमेकी, मेरी आमा,ठूलो छोरो,बुहारी ,ठूली छोरी,ज्वाइँ,सानी छोरी श्रीमतीको छेउछाउमा नै थिए । त्यहाँ थिएन त मेरो सानो छोरो । ठूली छोरी- ज्वाइँ, र ठूलो छोरो-बुहारीलाई देख्दा भाँचिएको मनमा केही खुसी लाग्यो । ठूली छोरीलाई देख्दा पनि त्यस्तै भयो । म श्रीमतीको छेउमा गएँ । श्रीमतीले मलाई हेरेर खाल्डा जस्ता आँखाहरुबाट आँसु खसाइन् । मेरो मन ढुङ्गाले किचिएको जस्तो भयो । श्रीमतीलाई जीवनभरि खुसी कम आँसु मात्र धेरै दिन सकेछु मैले । भक्कानो फूटिसकेको थियो मनभित्र । आँसु खस्यो आँखाबाट ।
श्रीमती बोलिन्-“नरुनुहोस् । मलाई केही हुँदैन”।
यो मप्रतिको सहानुभूति र माया थियो श्रीमतीको । लोग्नेको आँखामा आँसु हेर्न नसक्ने स्वास्नीको माया थियो यो । मेरो मन झन रोयो ।आँसुहरु लगातार खसिरहे ।
श्रीमतीले आँसु चुहाउँदै सोधिन्-“राजेश आएन ?”
मेरो सानो छोरोको नाम राजेश हो । म बोल्नै सकिनँ। सबै अवाक् थिए । सानी छोरीको आँखाबाट आँसु भने चुपचाप बग्दै थियो । कोठा नै उदासिलो बन्यो ।
श्रीमतीले फेरि त्यही प्रश्न दोहोराइन् । त्यसपछि सदालाई आँखा चिम्म गरिन् । मेरी श्रीमतीको मृत्यु भयो । अभागी लोग्नेको अभागिनी स्वास्नीको मृत्यु भयो । सायद यस्तो मृत्यु धेरैको हुन्छ कि यो परिवेशमा ?

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 11 फागुन, 2071

लेखकका अन्य रचनाहरु