दृष्टि-छायामा परेको ‘उपल्लो थलो’!

- डा . के . आर . खम्बू

वरिष्ठ वातावरण पत्रकार मोहन मैनाली ज्यूको ‘उपल्लो थलो’ नामक यात्रा संस्मरण पुस्तक आज असार ३१ गते, २०७२ मा आद्योपान्त अध्ययन गरेँ । मेरा पुराना परिचित साथी गुरु मैनालीजीले फेस बुक मार्फत मेरो इमेल माग्दै ‘एउटा तपाइलाई मन पर्ने युनिकोड नेपालीमा लेखिएको पुस्तक पठाइ दिउँला’ भन्नु भएको थियो । पुस्तकको मृद्दू प्रति (सफ्ट कपी) पाउने आशामा तुरुन्त इमेल ठेगाना पठाइ दिएँ । केही दिन भित्रै पुस्तकका लेखक श्री मोहन मैनाली ज्यूले मेरो इमेलमा यो पुस्तक पठाइ दिनु भएछ । उक्त पुस्तक तुरुन्त डाउनलोड गरेर पढ्नको लागि कल्पयन्त्र (कम्प्युटर)को डेस्कटपमा राखेँ । लेखकको नाम सुन्दा धेरै पल्ट सुनेको परिचित नाम जस्तो लाग्यो । धेरै वर्ष अघितिर सुरुङ्गा एफएमका सञ्चालकयही नाम गरेका व्यक्ति थिए । उक्त एफएमको प्रारम्भिक काल भएकोले मैले पनि शुभकामना दिएको जस्तो लाग्छ । तर यकिन भने गर्न सकिन । यस्ता मनोतर्कना गर्न भन्दा पुस्तकको प्रारम्भिक पानाहरू पल्टाउँदै पढ्न थालेँ ।
पुस्तकको आयतन निकै ठूलो जस्तो लाग्यो । विषयसूची पल्टाएर हेरेँ । जम्मा चार खण्डमा विभाजित रहेछ । पहिलोमा १५, दोस्रोमा २१, तेस्रोमा १६ र चौथोमा जम्मा ११ उपशीर्षकहरूमा लेखिएको नियात्रा संस्मरणले जम्मा ४५१ पृष्ट ओगटेको थियो । पुस्तकको अग्र भाग विभिन्न पाठक विद्वानहरूका प्रतिक्रियाहरूले भरिएका थिए । पुस्तकको विषय वस्तु सुरु हुन अघि विभिन्न बुद्धिजीविहरूका तथा पत्र पत्रिकाका प्रतिक्रिया दिइएको रहेछ । मुख्यतय पत्रकार महासङ्घका महासचिव खेम गुरुङले त यस पुस्तकको साररूप नै उतारी दिएको रहेछ । यस्ता प्रतिक्रिया पढ्दा पढ्न ढिलो गर्नु नहुने महसुस गरेँ; अनि सुरु गरी हालेँ ।
उपल्लो थलो- अहा हिमाल पारीको संसार ! कति सजीव चित्रण !! जुन ठाउँहरू, मैले पनि मेरो जीवन कालमा घुमौला भनेर थाती राखेको थिएँ र ती चाहानाहरू मबाट धेरै टाढा पुगी सकेका थिए । सपनाको के कुरा कल्पनामा पनि आउन छाडी सकेका थिए । तर कुशल वातावरण पत्रकार मोहनजीको यो पुस्तकले मेरा ती अधूरो चाहनाहरूलाई पुरा गरी दियो । यसको लागि सर्वप्रथम लेखकलाई आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।
त्यसपछि, यो पुस्तक पढ्दा मैले आर्जन गरेको केही अनुभूतिहरूलाई पनि सम्झे अनुसार समीक्षा गर्न चाहन्छु ।
सर्वप्रथम ‘उपल्लो थलो’ र ‘मेरो अनुसन्धान यात्रा’ लाई तुलना गर्न मन लाग्यो । यी दुबै पुस्तकको उदेश्य एउटै थियो ‘अनुसन्धान’ । अघिल्लोको अनुसन्धान गर्ने विषय वस्तु थियो मानवीय क्रियाकलापले प्राकृतिक स्रोतमाथि भएको अतिक्रमण र त्यसको दुरुपयोग (चोरी, तस्करी) । पछिल्लो पुस्तकको अनुसन्धान वस्तु ‘हर्पेटोफाउना (उभयचर तथा सरीसृप)को वर्गीकरण, वितरण तथा तिनिहरू माथि पर्ने वातावरणीय प्रभाव थियो । अघिल्लोको अध्ययन क्षेत्र उच्च पहाडी तथा हिमाली भूभाग छ भने पछिल्लो क्षेत्र हिमाली, पहाडी र तराइभूभाग पर्छन् । अर्को एउटा ताजुब लाग्ने कुरा के छ भने दुबै लेखकका भ्रमण अवधि २०५६ देखि २०५९ सम्मको नै छ वा भनौं ‘माओवादी युद्ध काल’ । यो संयोग भनौं वा वास्तविकता ‍!
अनुसन्धान भनेको इमानदारीका साथ तकाइ बनाइएको विषय वस्तुको खोज गर्नु साथै सही तरिकाले अवलोकन गर्दै सत्य र तथ्यमा आधारित विवरण तयार पार्नु हो । यस माम्लामा उपल्लो थलोका लेखक मोहन मैनाली अति सफल भएका छन् । गोर्खा जिल्ला भएर बग्ने बुढी गण्डकीको पूर्वी पाटो (सिञ्चित क्षेत्र) र पश्चिम पाटो (जुन हिमाल पारी चीनको सीमा सम्म पर्छ) को साङ्गो पाङ्गो भू-धरातलीय स्वरूप, वन्य जन्तु, रहनसहन, जीवन स्तर, शिक्षा, स्वास्थ्य आदिका सजीव वर्णन यस पुस्तकमा गरिएका छन् । बुढी गण्डकीको पूर्वी पाटो जाँदा त्यस क्षेत्रका जनताका जनजीवन, सामाजिक संरचना, शिक्षा र स्वास्थ्यको अवस्था साथै चीनसँगको सीमावर्ती इलाकाबाट हुने चोरी तस्करी बारे अध्ययन अनुसन्धान गरेको पाइन्छ, भने पश्चिमी पाटोतिर जाँदा पुङ्गेन हिमाल (मनास्लु हिमाल) क्षेत्रबाट अनुयन्त्रित रूपमा हुने वन विनाश, काठको र जडीबुटीको तस्करी बारे तथ्य कुरा पत्ता लगाउने उद्देश्य देखिन्छ । यसैगरी चौथो खण्डको मानसरोवर यात्राको उद्देश्य पनि दार्चुला नाका र टिप्तला नाकाबाट हुने चिरुको उन, भेडाको उन र बाघको हड्डी र दारा, नङ्ग्रा आदि चोरी तस्करी बारे तथ्य र सत्य पत्तो लगाउने रहेको देखिन्छ । यस्ता अति नै जटिल र जोखिम पूर्ण कुरा पत्तो लगाउन दृढ भएर लागेका एक युवक पत्रकारले ती ठाउँहरूमा जाँदा वा फर्किँदा बाटा भरी पाएका अनेकन् हन्डरहरू साथै रमाइला क्षणहरूले यो पुस्तक सिँगारिएको छ ।
यस पुस्तकमा म पनि उनि सँगै बुढी गण्डकीको तिरै-तिर फिलिम जाँदा बाटोमा पर्ने सिकचेपमा बिजुली बालेर स्थानीय मानिसलाई तीन-छक पारेको देख्छु; गोर्खा जिल्लाको उत्तर क्षेत्रको सबभन्दा विकसित मानिएको ठाउँ छेकमपार्क पुगेर विद्यालय तथा स्वास्थ्य चौकी घुम्छु; एकजना शिक्षकले पाँचैवटा कक्षा लीन पर्ने देखि कार्यालय सहयोगीले स्वास्थ्य चौकी चलाएको देख्दा दङ्ग पर्छु; नानीहरूलाई पोलियो थोपो खुवाउन सोही ठाउँ सदरमुकामबाट हिँडेका हाकिम डाक्टर साहेबहरू र उनका एक हञ्जा सुसारेहरू बुढी गण्डकीको गडतिर तिरै बिलाउँछन् । पोलिय थोपो खाने दिन हिमाली भेगका कलिला नानीहरू मुख बाउँदै घर फर्किन्छन् । यो अखण्ड नेपालको हिमालले छेकिएको भू-भाग राज्यको दृष्टि-छाया पर्दा कोमल कोपिला झैँ बालबालिकाहरूका भाग्य नै छेकिन्छ । यो कस्तो विडम्बना हो ! यस पुस्तकले दुनियाँ सामु यही वास्तविकतालाई वृत्त-चित्र जस्तै देखाइ दिएको छ ।
छेकमपार्कको भू-अवस्थितिले गर्दा जनतालाई आफ्नै जिल्ला गोर्खाको सदरमुकाम आउनु भन्दा चीन-तिब्बत बजार पुग्नु नजिक पर्छ । तर त्यहाँ जान पनि कहाँ सजिलो छ र ? तर त्यता जाने नाका ताप्लाक र याङलाङ भन्ज्याङ काट्न नसके चुला बल्देन । अर्को नाका भनेको बुढी गण्डकीको पश्चिमीभागमा पर्ने सामा गाउँबाट तिब्बत छिर्ने ग्याला र यामलाङ भन्ज्याङहरू हुन्, तर ती पनि उस्तै जोखिम पूर्ण ।
बुढी गण्डकीको पश्चिमतिरको अति मनमोहक स्वर्ग झैँ स्थान पुग्ने यमद्वारको स्वर्ग पुग्ने सिँढी झैँ लार्के भन्ज्याङ पर्छ । यही करिब ४५०० मिटर उचाइ भएको डाँडो काट्दा लेक लागी बिरामी पर्दा पाइएको असह्य पीडा लेखकले आफ्ना सारा बल-बुता लगाएर अभिव्यक्त गरेका छन् । उहाँ त्यो भन्ज्याङ पार गर्दा धेरै पल्ट मर्दै र बौरिँदै गर्नु भएको पढ्दा मनै खिन्न हुन्छ, तर बाघ बुढा स्याल तन्नेरी’ भने झैँ यात्रा टोलीको पाको सह-यात्री भैरव रिसालजीको साहसिलो निर्देशनले बिकटबाट बच्ने मात्र होइन उदार पनि गरेको देख्दा उहाँलाई प्रशंसा गर्न मन लाग्छ । उहाँलाई मैले पनि इलाम जिल्लाको माइपोखरीलाई रामसार साइट सिमसार क्षेत्रमा घोषणा गराउन पूर्वाधार अध्ययन गर्ने क्रममा सोही स्थानमा २०६५ तिर खगेन्द्र सङ्गम र डा. तीर्थबहादुर श्रेष्ठसँगै भेटेको थिएँ । वरिष्ठ बाली विशेषज्ञ रिसालजी कति मिलनसार तथा फुर्तिला थिए भन्ने मैले सम्झना गरेँ ।
जब त्यो असह्य कष्ट सहेर भएपनि पुङ्गेन हिमाल (मनास्लु हि माल) को काखमा अवस्थित सामा तथा बिही गाउँ पुग्दा त्यहाँको प्राकृतिक सुन्दरता देखेर बाटोको सबै कष्टकर अनुभूति बिर्सिन्छन् ।
यसैगरी, क्वाकको झरना, शेराङ हिमाल मुनिको गुम्बा, त्यस भित्रका लामा अनि आनीहरू प्रकृतिसँगै मुस्काइ रहेका देखाउँछन् । यसरी सुन्दरता हेर्दा हेर्दै त्यहाँबाट बिहीतिर जाने ज्यानमारा बाटोको बयानले मन सिरिङ्ग पार्छ । घामपानी, घामपानी भने झैँ फेरी सुन्दर उपत्यकातिर ओराल्छन्, जहाँबाट प्रसिद्ध पुङ्गेन (मनास्लु) हिमाल दक्षिण दिशातिर देखिन्छ । सोही हिमाललाई पृष्ठभूमि बनाइ पुङ्गेन गुम्बा, पल्याटी कसेर बसेको दृश्य, । अलिक पर हिमाली श्रृङ्खला प्रतिबिम्बित गर्ने दूध पोखरी, त्यस मुनी रमाइलो टारमा बसेको शेर्पा बस्ती सामा गाउँ आदि कुशल चित्रकारले चित्र कोरेर देखाए जस्तै क्यानभासमा देखाउँछन् ।
कहिले उनले कराङ-कुरुङ (डोमिसाइल क्रेन)का बथानका बथान डोरी जस्तो लमतन्न भएर आकाशै ढाकी कावा खाँदै उड्दै बसाइ सर्नको लागि लार्के र पुङ्गेन हिमाल नाघ्दै गरेका देख्छन् । कहिले पाखा भन्ज्याङ, बाटोको छेउ-छाउ सबैतिर रङ्गीबिरङ्गी फूलहरू फुली रहेका देख्छन् । यसरी डाँडाकाँडा नै ढाकेर फुलेका विभिन्न हिमाली फूलहरू (पामेन्दू) मैले पनि सगरमाथा राष्ट्रिय निकुञ्ज जाँदा फाप्लु सल्लेरी देखि ताक्सिन्दू भन्ज्याङसम्म हिँड्दा बाटै भरी देखेको छु । यस पुस्तकले त्यस्तै अनुपम कल्पनीय सुन्दर संसार सम्झना गरायो ।
तरपनि लेखक यस्ता सुन्दरतामा रमेर आफ्नो उद्देश्य कहाँ भुल्छन् र ? बरु
त्यहाँबाट काठको तस्करी तिब्बततिर कसरी हुन्छ र जडि-बुटीको व्यापार भारततिर कसरी गरिन्छ भन्ने कुरा खोजी गर्न थाली हाल्छन् । सामा गाउँ, साला गाउँ, भोट खोला आदिका स्थानीय जनताले वन विनाश गरेको देख्दा आक्रोशित् हुन्छन्, तर पनि गरिबीको घन-चक्र सम्झेर मौन हुन्छन् । प्रकृतिको सुन्दरताको बखानले मात्र भोको जनताको पेट नभर्ने रहेछ भन्ने कुरो महसुस गर्छन् । राज्यको विकासको मूल फुटाउने नाराबाट विमुख भएको त्यो क्षेत्र कागुनो, जुनेलो र फापरले मात्र जीवन गुजार्न गारो पर्दो रहेछ, चौँरीलाई बोकाएर टिब्बत पुर्याएर बेचेको पैसाले एक झोला अन्न किन्न पनि पुग्दोरहेनछ भन्ने कुरा थाहा पाउँछन् । यस्तै हबिगत देखाइएको छ पुस्तकमा ।
उहियाको लेकमा स्थानीय शेर्पासँग पुगी उनी एक वनस्पति शास्त्री भइ जडीबुटीको अध्ययन अनुसन्धान गर्छन् । शेर्पाको परम्परागत ज्ञान सिकेर हरेक प्रजाति पहिचान गर्न सक्ने हुन्छन् । गरिबी र अशिक्षाबाट सिर्जीएका अन्धविश्वाशलाई चिर्न अनेकौ वैज्ञानिक तर्कहरू प्रस्तुत गरेकाछन् । शेर्पा जनजीवन र संस्कृतिसँग अति निकट रहेर आफ्नो अनुसन्धान कार्य सम्पन्न गरेका छन् । उनका शेर्पा सहयोगी तुलाराम, वर्केन,पेमा आदिका सहयोग र माया पाएको कुरा मात्र होइन जति क्षेत्र घुमेका थिए, त्यति ठाउँमा पाइएको तत्कालीन माओवादीको जगजगी र त्रासदी पनि लेख्न बिर्सेका छैनन् ।
यस पुस्तकले मैले पनि हिमाली जिल्ला घुम्दा अनुभव गरिएको केही कुराहरूलाई सम्झना गरायो । यसमा भएको ‘पाठाको ठाउँमा मान्छे’ भन्ने र ‘हिमाल भन्दा अग्लो चौरी गोठमा’ भन्ने उप-शीर्षकहरू पढ्दा तुलना गर्न मन लाग्छ । जब म पनि आफ्नो अनुसन्धानको क्रममा मकालु वरूण राष्ट्रिय निकुञ्ज भित्रको खोङ्मा भन्ज्ञाङको चौरी गोठमा बास बसेको थिएँ त्यहाँ बिहान उठेर हेर्दा मेरो ठाउँमा चौँरीको बाछो र उसको ठाउँमा म सुतेको रहेछु । यसैगरी जब म सगरमाथा राष्ट्रिय निकुञ्जको खम्बुजुङ नजिको छुरिअप्पा डाँडोमा पुगेँ त्यहाँबाट विश्व प्रसिद्ध सागरमाथा तथा यसको पूर्वी र पश्चिमी सबै श्रृङ्खलाहरू धेरै होचा देखिएका थिए । यस्तो दृष्टि भ्रम हुने कारण पृथ्वीको गोलो भू-स्वरूप हुनु हो भन्ने कुरा थाहा पाएपछि म दङ्ग परेको थिएँ । यस्तै कुरा लेखक मैनालीजीले पनि चौँरी गोठबाट मनास्लु हिमचुलीहरूलाई घुमी-घुमी हेर्दा देख्नु भएछ भन्ने मलाई लाग्यो ।
अन्तिमको खण्डले मानसरोवरको सेरोफेरो पुर्याउँछ । तर त्यहाँ लेखक र उनका सहयोगी मङ्गलमानसँग यात्रा गर्दा हाँसुँ कि, रुनु कि, आसर्जेमा परूँ कि, कि रमाऊ जस्तो लाग्छ । कहि समाजशास्त्री बनेर कुमाउनीहरूका रहन, सहन, भाषा, संस्कृतिलाई प्रस्ट्याउनु हुन्छ, घरी विदेशी भूमि भएर हिँड्दा पाइएको तिरस्कारको तीतो पोख्नु हुन्छ । कहि भने अन्तर्राष्ट्रिय भावनाले ओतप्रोत भएर मर्न लागेको सर्भिस (भारतीय फौजि जवान)लाई मह र घिउ खुवाएर बचाउनु हुन्छ । उनको मानसरोवर यात्रा कुनै तीर्थ व्रत गर्न भने थिएन तर आफ्नै अनुसन्धानको विषयवस्तु थियो ‘बाघको नङ्ग्रा र चिरूको उन चोरी निकासी र तस्करी पत्तो लगाउने । अन्तर्राष्ट्रिय सीमा इलाकामा यस्तो कुरो खोज्नु कम चुनौती र जोखिम थिएन । तर लेखक अति तिक्ष्म मस्तिष्क वाल खोज कर्ता भएका हुनाले साथीसँग दार्चुलादेखि गफ गर्दै छागु, टिङ्कर र चीनको सीमा नजिकको लिपु लेक काट्दा नकाट्दै तस्करीको वृतान्त रहस्य थाहा पाइ सक्छन् । धन्य वातावरण पत्रकार विशेषज्ञज्यू ! सलाम छतपाइको खोज गर्ने क्षमता र प्रविधिलाई !! ।
यो पुस्तक पढेर मलाई मेरो नेपाल भ्रमणको बाँकी भाग पुरा गर्ने मौका मिल्यो । आज भन्दा करिब १४ वर्ष अघि मैले पूर्वाञ्चल सबै, मध्यमाञ्चलको तातोपानी कोदारीसम्म, पश्चिमाञ्चलको गोर्खाको मनकामना र पोखरासम्म, मध्य-पश्चिमाञ्चलको दाङ, डडेलधुरा-डोटीसम्म र सुदूर पश्चिमाञ्चलको बैतडी र दार्चुलाको दक्षिणी भागसम्म मात्र पुगेको थिएँ । तर यस पुस्तकले मलाई गोर्खा, लमजुङ र मनाङ साथै दार्चुला जिल्लाहरूका उत्तरतिर पर्ने रमणीय क्षेत्रको भ्रमण गरायो ।
वास्तवमा यो पुस्तक एउटा गतिलो वातावरण नियात्रा साहित्य भएको पाएँ ।यस पुस्तकको हरेक अनुच्छेद, वाक्य र शब्दले वृत्तचित्रले भन्दा पनि अझ प्रष्ट हिमाली प्राकृतिक सम्पदा, जलवायु, जैविक विविधता र स्थानीय जनताका सामाजिक जनजीवन, शिक्षा, स्वास्थ्य आदिलाई अभिव्यक्त गरेको छ । वर्तमान संविधान निर्माणको अन्तिम चरणमा यहाँका नेता तथा योजना विदहरूले यो पुस्तक पढ्न जरुरी छ । अहिलेको नयाँ संविधानमा पनि समान विकासको धारा उप-धाराबाट यी ठाउँहरू दृष्टि छायामा पर्ने हो भने ती क्षेत्रहरू आधुनिक विज्ञान तथा प्रविधिको संसारबाट सधैँको लागि अलग्गिने छन् । यसर्थ राज्यका जिम्मेवार व्यक्तिहरूले यो वास्तविकतालाई बुझी दिनु पर्यो ।
अन्त्यमा, यस्तो अनुपम कृती तयार पारेर लाखौँ पाठकहरूलाई सु-सूचित् हुने अवसर दिलाउनु भएकोमा लेखक श्री मोहन मैनालीजीलाई पुन बधाई दिँदै माया गरी मलाई पनि पठाइ पढ्ने अवसर दिनु भएकोमा हृदयदेखि नै मुरी-मुरी धन्यवाद । यहाँको दृढताका साथ उद्देश्य प्राप्तिको लागि अघि बढ्ने जोस र जाँगर दोबर हुँदै जावस् साथै नियात्रा साहित्यको ढुकुटीमा यस्तै कृतीहरू अझ थप्दै जान सफलता मिलोस् भन्ने हार्दिक शुभकामना !!
-
भद्रपुर-१०, क्याम्पसमोड (झापा)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 श्रावण, 2072

लेखकका अन्य रचनाहरु