शारदा छेत्रीका कथामा अनुभूतिको स्वर र समयचेतनाको पीडा

- डा. राजकुमार छेत्री

समकालीन भारतीय नेपाली कथालेखन क्षेत्रमा नारी लेखकहरूको उपस्थिति संख्यात्मक दृष्टिले त्यति सम्पन्न नदेखिए पनि गुणात्मक आधारमा भने त्यी सर्जक र उनीहरूबाट सिर्जित कथाकृतिहरू निकै खाइलाग्दा, निर्भरयोग्य र प्रतिनिधिमूलक समेत देखापर्छन्। कथालेखनमा हात बसाइसकेका केही अग्रज कथाकारहरूदेखि लिएर साहित्य लेखनमा भर्खरै उदाएका नवोदित स्रष्टासम्मको निकै लोभलाग्दो सहभागिता रहेको भेटिन्छ। प्रस्तुत कथासङ्ग्रहका कथाकार श्रीमती शारदा छेत्रीज्यूका फूटकर रूपमा पूर्वप्रकाशित कथाहरूको एउटा पुलिन्दा कथाकार श्री विजय सुवेदी र चित्रकार-साहित्यप्रेमी श्री सुवास छेत्रीज्यूमार्फत एक बिहान मेरो हातमा आइपुग्छ। बेलुकी कलेजबाट घर फर्किएपछि बिहान सुवास दाइले थमाइ राख्नुभएको कथाहरूको बिटो खोलेर हेरें, त्यस पुलिन्दामा कम्प्युटर टाइप गरिएका समसामयिक विविध साहित्यिक पत्र-पत्रिका-(शुभकामना, बाडुली, निर्माण)-मा समयसमयमा प्रकाशित भएका जम्मा सातवटा मझौला आकारका कथाहरू समाविष्ट रहेछन्। कथाहरू एकपछि अर्को पढ्दै गएँ, कथाकार शारदा छेत्रीज्यूलाई पनि चिन्दै गएँ अनि त्यसपछि भने यी कथाहरूले मलाई केही बोल्न र लेख्नमा अग्रसर समेत गरायो। स्नातकको विद्यार्थी छँदानै छेत्रीज्यूको जासुसी उपन्यास शेषपर्व प्रथमपल्ट पढ्ने सौभाग्य पाएको थिएँ यसको साथै बाडुली,निर्माण र केही स्थानीय दैनिक नेपाली समाचार पत्रिकाहरूमा तर अर्चना केही बोलिन, प्रवाह र पति-परमेश्वर शीर्षक कथाहरू पढेको धमिलो भए पनि सम्झना छ। तर आज यतिका वर्षको अन्तरालपछि कथाकार-उपन्यासकार श्रीमती शारदा छेत्रीज्यूका एकमुष्ट सात कथाहरू पढ्ने सौभाग्य पाएका छौं। उहाँको यस्तो उत्साहवर्द्धक कदमको हामी मुग्धकण्ठले स्वागत र सम्मान गर्दछौं।
यता भारततिरबाट केही दशक अघिसम्म देवकुमारी सिन्हा(थापा), राधिका राया, मायादेवी सुब्बा, हर्कमणि थापा, विनिता सिंह, सावित्री सुन्दास, माया ठकुरी, सानुमती राई, सरिता प्रधान,आशारानी राई, मटिल्डा राई प्रभृति नारी कथाकारहरूले रोमान्सेली लेखनप्रवृत्तिलाई आत्मसात गर्दै प्रशस्त कथाहरू लेखे। त्यी कथाकारहरू कति आज कालकलवित भइसके भने कतिपय कथाकारहरू आज पनि यदाकदा कथा लेखिरहेकै छन् । त्यस कालमा देखा परेका कथाकृतिहरूमा कथाकार सिन्हाका एकादशी-१९५४, झझल्को-१९५८, मायादेवी योञ्जनको विलौना-१९६४, राधिका रायाका तिमी नभएको भए-१९६६, उनी गएको गोरेटो-वि.सं.२०६०, माया ठकुरीका नजुरेको जोडी-१९७४, गमलाको फूल-१९७६, साँघु तरेपछि-१९८२, माया ठकुरीका कथाहरू-१९९१, आमा जानुहोस्-२००७, सरिता प्रधानको यौवनको संघारमा-१९७६, मटिल्डा राईको टोटलाको फूल-१९७६, माई ड्याडी-२००५, हर्कमणि थापाको मौन स्वरहरू-१९६९ आदि कथाकृतिको प्रकाशनले रोमान्टिक कथालेखन यात्रालाई अझ समृद्ध बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। यी कथाकारहरू सँगसँगै र केही अघिपछि परेर कथालेखनमा सक्रिय रूपमा देखा परेका सशक्त नारी कथाकारहरूमा कमला खप्तावली(क्रमशः एउटा दिन जन्मन्छ-१९८३), लक्खीदेवी सुन्दास(आहत अनुभूति-१९९८), विन्द्या सुब्बा(कथाक्रम-१९८४, हस्पिस-२००३, शीतलहर-२०१३),सरला राई (सलबलाउने मन-१९८७), मायादेवी योञ्जन(मन्दा-१९९२),कमला राई 'आसुँ'(सेतो गुलाफ-१९९५, ममताको छालभित्र-१९९६, आफ्नै माटोको सुगन्ध-२०००, मीमांसा-२००६), सम्पूर्णा राई(नाभो-१९९६), सुधा राई(समाधानहीन पाइलाहरू-१९९८),इन्द्रमणि दर्नाल(म्याडम र अन्य कथाहरू-१९९९), आशारानी राई(यम द्वितीया-१९९९) प्रभृति कथाकारहरूको नाम सगर्व लिन सकिन्छ। सन् २०००को दशकदेखि यता अझ केही नयाँ र नाम चलेका केही पुराना नारी कथालेखकहरू कथालेखनमा सक्रिय रूपमा देखापरेका कथाकारहरूमा लक्ष्मी कालिकोटे(मोहभ्रान्त-२०००), शान्ति छेत्री(मायाजाल-२०००),अनामिका(बादलपारिको आह्वान-२००२),गीता लिम्बु(बूढा बा'को छाता-२००३), चन्द्रकला नेवार( साँघुरो धरातल-२००५), गीता उपाध्याय( कथाञ्जली-२००५), शान्ति थापा(आवर्त्तन-२००७), साङ्मूर लेप्चा(पैयूँ फेरि फुल्ने आशामा-२००७, अव्यक्त कथाहरू-२०१०), रत्नकुमारी 'जलन'ठकुरी(सम्पा. मोहन ठकुरी, जलनका कथाहरू-२००४), रिजु देवी( औंशीको चन्द्रमा-२००७) नीना राई(अन्तर्दृष्टिका रङ्गहरू-२००९), सुमित्रा अविरल(स्मृतिको पछ्यौरीभित्र-२००६), सरयू राई( कल्पवृक्ष-२००९), नीता राई(फिलिङ्गो-२००९), कल्पना त्रिपाठी(छाँगो-२०११), रेणुका विष्ट(परिचय मेरो-सन् २०१३), कौशल्या मुखिया(दृष्टि-२०१४) प्रभृति कथाकार र कथाकृतिहरू मुख्यरूपमा देखा पर्छन्। अब यसै परिप्रेक्ष्यमा कथाकार शारदा छत्री र उहाँको प्रस्तुत कथा सङ्ग्रह एक अनौठो भेट लाई सगर्व अन्तर्भुक्त गर्न सकिन्छ।
कथाकार शारदा छेत्रीका प्रस्तुत कथा सङ्ग्रहमा शान्त बाइक चढ्छे, तर अर्चना केही बोलिन, प्रवाह, सी. आर. पी.को बकवास, एक अनौठो भेट, पति-परमेश्वर र चट्याङ शीर्षकका सातवटा समाजसचेत कथाहरू समाविष्ट रहेका छन्। शान्ता बाइक चढ्छे –कथाकी शान्ता, उसको लोग्ने रमेश र रमेशको सहकर्मी बन्धु धर्म तीनै पात्रहरू शिक्षित र नकरीजीवि नै छन् । कथाकी मुख्य चरित्र शान्ताले आफ्नो जीवनलाई पनि काँचको ग्लासलाई जस्तै जीवन र भाग्यको प्रतीकात्मक अर्थमा बोध गरेकी छ। तर अर्चना केही बोलिन-शीर्षक कथामा रङ्ग र जातभात जस्तो सामाजिक रूढीवादी विचारधारालाई समयानुसार बदलाउन सक्नुपर्छ र जातभात-उचनिचको भेदभावलाई त्यागेर समभाव राख्नुपर्छ भन्ने विचारलाई अर्चनाले सुचीकारसँग भागेर वैवाहिक जीवनमा बाँधिनुले पनि धेरै हतसम्म समर्थन गरेको छ। यस्तै प्रवाह शीर्षक कथामा पनि समाजमा जातपात र धनी-गरीबको भेदभाव त्याग्नु पर्ने नैतिक सन्देशका साथसाथै नैसर्गिक प्रेमको मूल्य र महत्वलाई मुख्य रूपमा दर्शाइएको छ। संसारमा प्रेम-भावनाले नै एकार्कालाई जोडेको छ, प्रेमभन्दा ठूलो शक्ति अरू केही छैन तर आजको युवापिँढी यसैको शिकार भएर आफ्नो कर्तव्यपथ र पारिवारिक मान-मर्यादालाई लत्याएर आफू खुसी गरी हिँडेको आजको जल्दोबल्दो स्थितिलाई कथामा कथ्य-वस्तुको रूपमा प्रयोग गरिएको छ।
प्रस्तुत कथा सङ्ग्रहमा सामाजिक विसङ्गति र विडम्बनापूर्ण कथाको रूपमा सी. आर. पी.को बकबास शीर्षक कथालाई दृष्टान्तको रूपमा लिन सकिन्छ। यस कथामा कथाको प्रमुख फौजी पात्रको दुःख र विसङ्गतिपूर्ण जीवनकथा-व्यथालाई कथ्यविषय बनाइएको छ। रातदिन सैनिक जवानहरू गन र पिस्तोलसँग खेल्नु परेको कारण उनीहरूको हृदय पनि कठोर र जड भइसकेको बुझिन्छ। वास्तवमा यस्ता सिपाहीहरू आफ्ना हाकिमका आदेश पालन गर्ने निमित्त पात्र मात्र हुन भन्ने कुरा देखाएका छन्। तर प्रस्तुत कथाको प्रमुख पात्र निर्दोष आफ्नै दाजुभाइ-दिदीबहिनीहरूमाथि अनाहकमा गोली चलाउन मान्दैन, जसको फलस्वरूप हाकिम र सरकारको आदेशल पालन नगरेको आरोपमा उसलाई पाँचवर्षको जेल सजाय हुन्छ। यस्तो कानुन र देशको परिस्थितिलाई विडम्बना नै मान्नुपर्छ। यो विसङ्गतिबोधक कथा हो। एक अनौठो भेट शीर्षक कथालाई प्रस्तुत सङ्ग्रहकै सबैभन्दा उत्कृष्ट कथाको रूपमा लिन सकिन्छ। यो कथा अन्य कथाको तुलनामा निकै कौतुहलपूर्ण, रोचक, प्रभावकारी तथा त्रासदमय वातावरणको सिर्जना गर्नमा सफल बनेको छ। पति-परमेश्वर कथामा बाल विवाह जस्तो कानुनी अपराध र घिनलाग्दो अस्वभाविक विवाह-परम्पराको उल्लेख गरिएको छ भने चट्याङ शीर्षक कथामा आर्थिक विपन्न अवस्थाको मारले थिचिएको-मिचिएको भएपनि त्यहाँका निर्दोष बालबालिका र किशोरहरूमा ज्ञान प्राप्तिको तिर्सना, जिज्ञासु स्वभावको यथार्थ चित्रण गरिएको छ। प्रस्तुत कथामा बाल मानसिकताको चित्रण गरिएकाले यसमा बालमनोविज्ञानको स्पर्श भेटिन्छ। अन्य धेरै कुराहरू यी सात कथाहरूले भन्ने नै छ। यसबारे धेर बोलेर सुधी-पाठकको कथा पढ्ने अभिरूचिलाई बाधा दिन चाहन्न। कथाको कथन शैलीबारै केही भन्ने लोभलाई यहाँ आज यतिकै थाँतीमा राखेर प्रस्तुत सङ्ग्रहमा समाविष्ठ कथाका कथ्य र त्यसको नेपथ्यबारे सामान्य रूपमा केही प्रकाश पार्ने घृष्टता गरेको छु।
कथाकार शारदा छेत्री एकजना नारी लेखिका भएको हुनाले उनको कथालेखनमा नारीसुलभ कोमलता र भावुकताको मात्रा अधिक भेटिन्छ। उनको कथामा पात्र-प्रयोगको विविधता पाइने हुनाले एउटा पात्रको स्वभाव प्रायः अर्को पात्रसित मिल्दैन अर्थात् साम्य रहेको पाइँदैन। कथामा विविध स्वभाव, वृत्ति, रूचि र व्यवहार भएका नयाँ नयाँ सोंच र चरित्र भएका पात्रहरू सिर्जना गर्नु उनको कथाकारिताको महत्त्वपूर्ण पक्ष तथा उनको कथालेखनगत मूल वैशिष्ठ्य रहेको देखिन्छ। उनका प्रायः सबैजसो कथामा समाजभित्रकै प्रेम-घृणा, मिलन-बिछोड, आस्था-अनास्था, हाँसो-रोदन, हर्ष-विस्मय आदि जस्ता कथ्यविषयहरू मुख्य रूपमा भेटिन्छ। अतः कथाकार छेत्रीका अधिकांश कथाले सामाजिक-यथार्थिक, सांस्कृतिक-नैतिक, वैचारिक-मानसिक पृष्टभूमिलाई आधार बनाउन खोजेका छन्।
सङ्ग्रहका प्रायः सबैजसो कथाको कथानक-योजना क्रमिक ढङ्गमा विकसित भएको पाइन्छ। कथानक-योजना र पात्र-विन्यासको सापेक्षतामा परिवेश चित्रण र प्रकृति-प्रयोग सुहाउँदिलो किसिमले गरिएको भेटिन्छ। कथामा सहभागी पुरूष पात्रहरूमध्ये रमेश, धर्म, पूरण, जीवनाथ, किशोर, राजेश, गणेश, दीपक, तथा नारी सहभागीहरूमा शान्त, गरिमा, अर्चना, मनिला, सुमन, कान्छी विष्टेनी, ज्योति आदिलाई प्रमुख पात्रका रूपमा लिन सकिन्छ। रमेश, शान्ता, गरिमा, पूरण, अर्चना, सुमन, राजेश, दीपक प्रभृति सहभागीहरूले कथामा प्रमुख कार्यकारी भूमिका निर्वाह गरेका छन् भने ज्योति,जसबहादुर(जसे),धर्म, जीवनाथ, मनिला, किशोर आदि जस्ता चरित्रहरूले कथालाई सही दिशातर्फ डोहोर्याोउनमा प्रमुख सहयोगी पात्रका रूपमा कार्यकारी भूमिका निर्वाह गरेका छन्। पात्रको व्यक्तिवाचक नामसँग उसको काम,गुण, स्वभाव, चरित्र, व्यवहारलाई पनि मिल्दोजुल्दो प्रकारले प्रयोग गरिएको भेटिन्छ। कथाकारले यस किसिमको सामञ्जस्यमूलक व्यक्तिवाचक नामहरूको प्रयोजनपरक र सार्थक प्रयोग शान्ता, धर्म, गरिमा, दीपक र ज्योति आदि चरित्र मार्फत सफल प्रयोग गरेका छन्। यसका अतिरिक्त विरोधमूलक, प्रतीकात्मक, सङ्केतात्मक, बलात्मक, व्युत्पतिमूलक, भावात्मक, गुणद्योतक, रूढ़ तथा प्रयोजनपरक नामका आधारमा पनि यस सङ्ग्रहका प्रयुक्त पात्र-चरित्रहरूलाई अध्ययन-अनुशीलन गर्न सकिन्छ। कथामा प्रयुक्त पात्रहरूका चारित्रिक विभेदक अभिलक्षणहरूका आधारहरूबाट अवलोकन गर्दा अधिकांश पात्रहरू युवा, जोशिला, आशावादी सोंच भएका, भावुक, गम्भीर, आदर्शवादी, शिक्षित, मानवतावादी, सहानुभूतिशील, संवेदनशील, अस्थिर, विविश, हठी, स्वाभिमानी र दृढ़ प्रकृतिका देखापर्छन् भने केही पात्रहरू चाहीँ विवश, निरूपाय, कपटी, क्षुद्र, कुटिल, अशिष्ट, अविवेकी प्रकृतिका पनि देखिन्छन्।
कथाकार छेत्रीको प्रायः सबैजसो कथाहरू सूक्ष्म दृश्यात्मक अवलोकन पद्धतिमा लेखिएको छ। कतिपय कथाले भने प्रतीकात्मक तथा अन्योक्तिमूलक अर्थ ग्रहण नगरेर अभिधात्मक अर्थमै कथ्यवस्तुलाई कलात्मकताका साथ यथार्थ ढङ्गमा प्रस्तुत गर्न सफल बनेक छन्। अतः उनका कथाले भन्न खोजेको सामाजिक वास्तविकता लाक्षणिक तथा ध्वन्यात्मक आधारमा नभइ सरल अभिधात्मक अर्थमा नै केन्द्रित रहेको देखिन्छ। उनका कथाहरूलाई भावपरिमण्डलका दृष्टिबाट अध्ययन-अनुशीलन गर्दा त्यी सातवटै कथाहरू मानवीय सम्वेदनासँग सम्बन्धित रहेका देखिन्छन्। सङ्ग्रहका सातैवटा कथाले जीवन-जगत्कोत भोगाइ र जीवानुभूतिलाई सकेसम्म समेट्न खोजेको भेटिन्छ। नारीप्रेम, नारीजातिको विविध समस्या, सामाजिक-सांस्कृतिक, वैचारिक-मानसिक आलोडन-विलोडनका साथसाथै कथामा प्रेम भावनाको आधिक्य, अभिव्यक्तिमा अनुभूतिको सशक्तता उनका कथामा पाइने विशिष्ट गुण हुन्। उनको कथागत भाषाप्रयोगमा सरल,सहज सरस तथा कोमलता र सुन्दरता, शिल्प-शैलीमा आफ्नोपन र रोचकता, कथ्यवस्तु ग्रहण र संयोजनमा सम्वेदनशीलता, परिवेश योजनामा स्वभाविकता तथा कताकता आञ्चलिकताको आभास पाइने हुनाले यसलाई उनको कथालेखनकारिताको मूलभूत विशेषता मान्न सकिन्छ।
कथाकार शारदा छेत्रीज्यूका प्रस्तुत सङ्ग्रहका सातैवटा कथामा जीवनदृष्टि पात्रका विविध समस्या र विविध पक्षमा केन्द्रित रहेको देखिन्छ। यी समाजपरक कथाहरूमा सामाजिक यथार्थता, समय र समाजसापेक्ष जीवनानुभूतिको चोखो र यथार्थ अभिव्यक्ति पाइन्छन्। उनका कथाहरूले सामाजिक यथार्थवादी प्रवृत्ति तथा स्वच्छन्दतावादी प्रवृत्तिलाई अङ्गालेको पाइन्छ। उनका कथाले नेपाली समाजभित्रकै आर्थिक-नैतिक,सामाजिक-सांस्कृतिक,वैचारिक-मानसिक आदि जस्ता विविध पक्ष र परिवेशलाई कथाको रूचिक्षेत्रभित्र समेट्न खोजेको देखिन्छ। कथाका पात्र-चरित्रहरू जीवनप्रति त्यति निराशावादी नभई आशावादी प्रकृति बनेका छन्। उनका कथाहरूमा अचाँहिदो आडम्बर र तडकभडक केही पनि पाइँदैन। सरल-सहज र दैनन्दिन जीवनसित सरोकार राख्ने सामाजिक विषय र कथ्यवस्तुलाई टिपेर सकेसम्म जीवन्त र मार्मिक बनाउने अभीष्ट राखेको भेटिन्छ। वस्तुतः उनका प्रस्तुत सङ्ग्रहमा सङ्ग्रृहीत सातवटै कथामा जीवन-जगतको यथार्थ अनुभूति, समयचेतनाको पीडा तथा सामाजिक यथार्थता अत्यन्त कोमल र मार्मिक ढङ्गमा अङ्कन भएको पाइन्छ। कथामा प्रयुक्त पात्रको आन्तरिक चरित्राङ्कन, अभिप्रेरणा र मनोरचनाका दृष्टिकोणबाट पनि कथाकार छेत्रीका यी सङ्कलित कथाहरू सफल नै देखापर्छन्। कथाकार शारदा छेत्रीज्यूबाट आउँदा दिनहरूमा पनि यस्तै लोभलाग्दो कृतिहरू हामी साहित्यका पाठकले पाउने लोभ गरेका छौं, त्यी प्रतीक्षित रमाइला दिनहरू पनि एकदिन आउने नै हो। हामी पाठकहरू रमाइला आशा र विश्वासमा बाँच्न रमाउने प्राणीहरू नै हौं आखिर । यसै आशा र भरोशामा कथाकार छेत्रीज्यूमा म आन्तरिक हृदयबाटै अशेष शुभकामना प्रकट गर्दछु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 श्रावण, 2072

लेखकका अन्य रचनाहरु