सिन्दूर

- युवा बराल ‘अनन्त’

म लर्खरिंदै निस्किएँ बाहिर । उसको छड़के आँखाले देखेर पनि नदेखे झैं गरेको मैले देखें। सिस्नुले पोलेको अनुभव थ्यो त्यो । शान्त मन मथिङ्गललाई कुनै ठूलै रिक्टर स्केलको भूईंचालोले हल्लाएको भान भो । म विचलित बनें- ‘के मान्छेलाई सपनाले पनि कुनै पूर्व संकेत दिन्छ ? के सपनाले मान्छेलाई विपनामा पनि प्रभावित पार्छ ? जीवनको कुनै भूत, वर्तमान या भविष्यको पक्षलाई सपनाले यसरी एकाएक जिस्क्याउन सक्छ ?’ विचारले निकाश खोज्दै थियो…



त्यो दिन । म आमण्त्रित पाहुना भएर गएको थिएँ त्यहाँ । बजार जस्तै बनिसकेको गाँउको एक छेउ । मेरो साथी नरेन्द्रको छोरीको बिहे थियो । हामी सपरिवार निम्तो मान्न पुगेका थियौं । सपरिवारमा मेरी श्रीमती, छोरो अनि म । नौमति बाजा बजिरहेको थियो । दमाहा घन्किरहेको थियो । नबिर्साउनलाई परम्परा, दमाइबाजा टाड़ाबाट भएता पनि मगाएर खोजेर ल्याइकन बजाउने चलन चलेको छ आजकल । माइकमा आधुनिक प्रचलनका हिन्दि सिनेगीत गुञ्जिरहेको थियो । पाहुना-पातहरु आउ-जाउ गरिरहेका माझ हामी पनि पुग्यौं त्यहाँ ।



हाम्रो पर्दार्पणलाई विशेष महत्व दिंदै सोझै भित्र वैठक कोठामा लगियो जहाँ अगावै निकै ठूला कदका पाहुनाहरु विराजमान थिए । म भित्रिएपछि ती सबै उठेर मेरो स्वागत जनाए । मेरी श्रीमतीलाई चिन्ने नचिन्ने सबैले ‘नमस्कार गुरामा !’ भन्दै अभिवादन टक्र्याउँदै थिए । म त मपाईं थिएँ नै उनी पनि गजक्क भइन् । छोरोले अगि नै टेबलमा सजाइएको सेलरोटी टिपेर हसुर्दै रैछ । श्रीमतीले खुस्रुक्क तेसको कानमा हपार्ने कुरा बोल्दै थइन् । म अनुहारले मात्र हाँस्दै थिएँ । सबै यसै गर्छन् । अभिनय मात्र ।



चिया चमेनाले भरिंदै गयो हाम्रो अगाड़िको टेबल । औपचारिकता निर्वाह गर्न मेरो साथी नरेन्द्र कुनै नेता जस्तो मुखाकृतिमा ‘ चिया लिनोस्न ! स्न्याक्स लिनोस्न !’ भन्दै टेबलभरि सजाइएको सेल रोटी, फिने रोटी, प्याजी, खाब्जे, जेराऊ, दाल्मूठ, भूजा, फ्रेन्च फ्राई आदि देखाउँदै हात जोड़ेर अनुनयन गर्दैथिए । यतिकैमा एक हूल पाहुना भित्रिए कोठाभित्र । बस्ने खालि जग्गा पर्याप्त थिएन । मेरी श्रीमतीले स्थितिलाई सम्झिएर जुरुक्क उठ्दै भनिन्- ‘ हामी निस्कम है?’

‘होइन होइन काँ हुन्छ ; च्च… च्च… बस्नोस्न बस्नोस्न… म अर्को चौकी मगाउँछु’। नरेन्द्रलाई अप्ठयारो लागेको थियो । तर उठिसकेकी मेरी श्रीमती फेरि बस्न मानिनन् । मलाई पनि उठ्न करै लाग्यो ।



यसरी बाहिरिने भित्रिने क्रममा मेरो नजर यस्तो ठाउँमा पुगेर ठोकियो कि म झण्डै झण्डै लड़ने अवस्थामा पुगें । त्यो दृश्याकृति कसैको सिंउदो थियो । सपक्क मिलाएर कोरिएको । खोला बगेको बगाई । नागबेली सिउँदो । कालो सपाट केशको दुई किनार । बग्दै बग्दै आइपुगेको पुछारमा डेल्टा जस्तो दियो आकारको रातो सिन्दूर ! अनि अलिक मुन्तिरको त्यो चिर-परिचित अनुहार – मेरी भूतपूर्व प्रेमिका – निशा !!

………………………………………………………………………………। मौन क्षण ।

म लर्खरिंदै निस्किएँ बाहिर । मन र मश्तिष्क भङ्गालिएको अवस्था थियो त्यो । उसको छड़के आँखाले देखेर पनि नदेखे झैं गरेको मैले तर देखें । सिस्नुले झ्याम्म पोलेको अनुभव थ्यो त्यो । शान्त मन मथिङ्गललाई कुनै ठूलै रिक्टर स्केलको भूईंचालोले हल्लाएको भान भो । म विचलित बनें- ‘के मान्छेलाई सपनाले पनि कुनै पूर्व संकेत दिन्छ ? के सपनाले मान्छेलाई विपनामा पनि प्रभावित गर्छ ? जीवनको कुनै भूत, वर्तमान या भविष्यको पक्षलाई सपनाले यसरी जिस्क्याउन सक्छ ?’ विचारले निकाश खोज्दै थियो…



-X-

कुन्नि के नमिल्दा हाम्रो प्रेमको सम्बन्ध विच्छेद भएको थियो । मैले जिद्दि गर्दापनि उनले नै मलाई अलग्याउँदै भनेकी थिइन् – ‘ हाम्रो प्रेममा चोखोपन छ भने यो जूनीमा होइन अर्को जुनीमा भेटौंला… नट दिज टाइम … नेक्स्ट टाइम… ओके… वाई’…।

म उनलाई अझ पनि माया गर्छु । त्यो रहस्य ममात्र जान्दछु । यो मेरो व्यक्तिगत संवेग हो । म दुख्छु त्यो पिड़ाले । मलाई उनको यादले सताउँछ । ती कुराहरु मेरी भावनालाई आभास छैन । उनी मलाई फर्स्ट ह्याण्ड सम्झिन्छिन् । मैले यति सचेतना अपनाएको छु ।

हिज मात्र मैले उनको सम्झना गरेको थिएँ । जब उनको प्रगाड़ याद आउँछ; म विचलित बन्छु एक तमासले । त्यो घड़ी असह्य बन्छ कोई कोई बेला । त्यतिबेला म उनको फोटो जो मैले कहिले कसैले नदेख्ने ठाँउमा लुकाइराखेको छु, अनि हाम्रो प्रेमलाई अन्तिम तिलाञ्जली दिंइदै लेखिएको उनको त्यो अन्तिम चिठ्ठी - खोलेर हेर्छु अनि पढ़छु । प्रेमले साँच्चै आँशु पगार्छ कि । म निथ्रुक्कै हुन्छु । यस्ता क्रमहरु चलिनैरहेकाछन् धेरै वर्ष अघिदेखिन् । स्वयंलाई धिक्कार्छु पनि तर यो मन कस्तो पितुर्के अनि हठी छ कि मेरो अधिनमा बस्नै मान्दैन या म यसलाई ऐंठ्याउँनै सक्दिन ।

पत्रमा समावेश विषयहरु सबै साधरण रहेता पनि एउटा अठोट उनले गरेकी थिइन् यसरी –“ समयको भुमरीले हाम्रो घर क्षत-विक्षत बनाइदियो । हाम्रो प्रेम पवित्र छ त्यो म जान्दछु । जबसम्म हाम्रो देहमा प्राण रहन्छ तबसम्म हामी यो प्रेमको पवित्रतालाई बनाई राख्ने प्रण गरौं । अनि समयले डो-याएर पुन: हामीलाई मिलाएछ भने त्यो हाम्रो प्रेमको जीत हुनेछ । अँ एउटा कुरा – त्यो के भने नि जब पनि म मेरो सिउँदोमा सिन्दूर भर्छु त्यो तिम्रो बाहेक अरु कसैको हुनेछैन । यो मेरो वाचा हो”।



बिहे घरको आँगनमा बनाइएको थियो जग्गे अनि पूजा मण्डप । छेवैमा बेहुला बेहुलीलाई टिका आशिर्वाद अनि गिफ्ट हस्तान्तरण गर्ने सजिसजाऊ स्टेज । भावनाले मलाई ‘ज़ौं टिको टालो गरिहालौं’ भन्दै त्यतातिर डो-याइन् । मेरो आँखाले यतिबेला केही देखिनरहेको स्थिति छ । सबै तिरमिर तिरमिर । मन अनि मश्तिष्क दुवै बेकाम । त्यहाँ उपस्थित चिनेजाने अनि आफन्तजनहरु नमस्ते गर्दै थिए कि कसो श्रीमतीले कोटको फेर तान्दै खुसखुसाएर भनिन्-‘ओउ उ: ‘नमस्ते सर!’ रे, थाप्नोस्न’ । मैले हतपत कस्को नमस्ते अर्कै कसकोबाट थापें, बिनासुद्दिमा । तर ठूलो मान्छेको गल्तिमा सानो मान्छे हाँसिदिन हुन्न भन्ने कुरा जानेका मान्छेहरु रहेछन् ती । कोही चटपटाएन । उल्टा सबै उठेर भकाभक इज्जत खन्याइरहेका थिए । अलिक सचेत बनेपछि एकै फन्कोमा सबैको सत्कार फर्काइदिएँ दुई हात उठाएर आशिर्वाद दिए जसरी ।

स्टेजमा विराजमान बेहुला बेहुलीलाई कोइ टिका लगाइदिंदै छन्, कोइ खादा पहिराइदिंदैछन्, कोइ गिफ्ट दिंदैछन् भने कोइ फोटो खिंच्न-खिचाउन व्यस्त छन् । हामीलाई देख्ने बित्तिक्कै बेहुली आफैं उठेर नमस्कारको मुद्रामा उभिई । साथीकी छोरी, मेरो पनि छोरी जतिकै । एउटा नयाँ जीवन शुरुगर्न तत्पर । अञ्जान बाटोको यात्रामा निस्किएकी एउटी बटुवा । साथमा त्यो बाबा-आमाले रोजिदिएको जीवन साथी । हेर्दा मिलेकै जोड़ा । नमन गर्छु भगवानको लिलालाई अनि सलाम गर्छु ती बेहुलीको त्यो स्वभाविक आँटलाई ।

हाम्रो आशिर्वाद पर्खिएर बसिरहेकी बेहुली रानीलाई श्रीमतीले टिका लगाइदिने निर्देश दिइन् – ‘तपाईं टिका लाइदिनोस म यो खादा लाइदिन्छु’। मन खाली छ यतिबेला । आशिर्वादका शब्दहरु छैनन् दिमागमा । विचलित मनस्थितिमा म थालमा मुछिएको रातो टिका उठाउँछु अनि अरुले झैं टाँसिदिन्छु बेहुला बेहुलीको निधारमा । अन्तमा मेरो एकाएक वाक्के फुट्छ- ‘राम्रो घर गरिखानु । कहिले नछुटिनु, मिलेर बस्नु’। श्रीमतीले मलाई छ्ड़के दिंदै थुप्रै कुरा बर्बराउँदै थिइन् । यतिबेला झल्याँस्स मेरो नजर बेहुलीको सिउँदोमा पुग्छ । बिजुलीको करेण्ट जस्तो झट्का त्यो रक्तिम दृश्यको । मर्माहत अनुभूतियॉ ! फेरि कतिबेला त्यो रमझमदेखि माथि उठेर कल्पनाको आकाशमा पुगेकोछु । पुराना घटनाहरुको परिदृश्यहरु दोहोरिन्छन् एकाएक :-



मायाले प्रुफ मगेको दिन ।



प्रेमले गवाही खोजेको अवस्था थ्यो त्यो । म निशाको निम्ति जे पनि गर्नसक्ने अवस्थामा थिएँ । उनले मागेको भए प्राण पनि दिन तत्पर । उनको हात सुम्सुम्याएर म प्रेम माप्दै थिएँ । उनी मेरो मनसायलाई नबुझे झैं गर्दै मेरो खिल्लि उड़ाउँदै थिइन् । मेरो प्रेममाथि शंका गर्दै थिइन् । म कसम खाँदै थिएँ, कसम दिंदैथिएँ । तर ती मेरा बेवकुफी क्रियाकलापले उनलाई केवल हँसाइरहेको थियो । खितखिताएर हाँदै थिइन् उनी । मेरो प्रेमलाई हल्का सम्झिरहेकी थिइन् । मेरो उपहास झैं थियो त्यो । एउटा भद्दा मजाक ।

म आवेशमा आउँदै थिएँ । मेरो मथिङ्गलले काम गरिरहेको थिएन । बिजुलीको चमक जस्तो छिटो मैले टेबलमा फल काट्न राखिएको छुरी उठाएँ अनि एक निमेषमा दाहिने हातको बूढ़ी औंला चिरें । औंलाबाट रातो रगत बग्न थाल्यो । त्यो बग्दै गरेको रातो रगत त्यही औंलाले उनको त्यो बाँझो सिंउदोमा रक्ताम्मे घसिदिएँ । उनको सिंउदोबाट मेरो रगत निधारसम्म बगिआई ढक्क जम्यो । उनी अवाक हेरेको हे-यै भइन् । किन हो उनले एकैचोटि अंघालो हालिन् । हामी एकार्काको अंघालोमा धेरैबेर बाँधिइरह्यौं । छुटिंदा दुवैको आँखा भेजेका थिए । औंलाबाट बगेको रगतले उनको सेतो कुर्ता छिर्के-मिर्के बनेको थियो । यतिबेला उनले मेरो औंला तानेर रगतसरिको चोटलाई आफ्नो ओंठले नरम स्पर्श गर्दै मायाले चुमेकी थिइन् । म भाव विभोर थिएँ । ओठबाट सहसा फुत्किएको नि:श्वास थियो – ‘आइ लव यु !’

‘बाबा! खाना खान जानु रे !’ भुण्टे छोरोले मलाई तन्द्राबाट एकाएक ब्युँझायो । अज्ञात चोटले घायल मृग जस्तो म जुरुक्क उठें अनि सरासर डाइनिङ्ग हलतिर दगुरें । त्यो नुन नलागेको जस्तो खल्लो खाना अलिकति खाएपछि हामी विदा मागेर घर फर्कि आयौं ।

एउटै बाटो, एउटै लक्ष्य, एउटै उद्देश्य अनि गन्तव्य लिएर हिंड़ेको हामी उनी सकुशल घर आईपुगिन् म क्षत-विक्षत ।

OOO

“अनि अब तपाईंले हिजो देखेको सपना बारेमा भन्नोस्न” उत्सुक्ताकासाथ भावना विवेकको छात्तीमा कान राखी उसको मुटुको ढुकढुकी बढ़दै घट्दै गरेको सुनिरहेकी थिई । उ घरी आफूलाई निशा बनाउँथी, घरी उ निशाको सौता बन्थी अनि घरी विवेकलाई जित्न सफल एउटी खिलाड़ी ।

कुन सपना ?

जो देखेर तपाईं झस्किनु भाथ्यो अनि “अहो ! कस्तो सपना !!” भनेर अर्धनिद्रामा बर्बराउनुहुँदैथ्यो ।

त्यो सपना थियो, ऐले बिर्सें ।

मलाई थाहा छ।

के ?

तपाईंले देखेको सपना ।

कसरी सम्भव हुन्छ ?

म तपाईंकी अर्धाङ्गिनी । अनि एउटै ओछ्यानमा सुतेर तपाईंले देखेको सपना जान्न नसक्नु यो भन्दा ठूलो अचम्भको कुरा के हुन सक्छ ?

सपना नितान्त आफ्नो हुन्छ । व्यक्तिगत । नप्त्याउने कुरा नगरन !

अनि म तपाईंको अर्धाङ्गिनी कसरी भएँ ?

त्यो सब म जान्दिन । हामी एकलै जम्यौं एक्लै बाँच्छौं अनि एकलै मर्छौं।

ठिकै भन्नुभो । तपाईंलाई त्यसै निशाले छोड़ेको होइन ! मतलबी !

को निशा ? भावु ! तिमी यो के भन्दैछौ ?

अगि बिहेमा रातो सिन्दूरमा सजिएकी युवती …तपाईंकी भूतपूर्व प्रेमिका …निशा !

ओहो भावना ! जिस्क्याउन पनि कति जानेकी ?

होइन भन्न सक्नुहुन्न ?

होइन कहाँ भनेको छु र ! अनि सुन्छौ नै भने सुन – ‘मैले सपनामा पनि उही निशालाई सिन्दूर पहि-याउँदै थिएँ । आश्चर्य !! तर तिमी उसलाई चिन्छौ ? ………… कसरी ???

सिन्दूरसंग तपाईंको गहिरो नाता छ त्यो म जान्दछु । त्यो कुनै नयाँ कुरा थिएन ।

अनि विपनामा उसलाई उही सिन्दूरले सजीएकी देख्नु चैं ? यो झन अर्को आश्चर्यको कुरा भएन र ?

त्यो संयोग मात्र हो । यति सम्झनोस कि उ अब अन्य कसैकी भइसकी । त्यो त एउटा वैवाहित स्त्रीको चिन्ह

मात्र हो सौभाग्यको । हाम्रो संस्कारले थेगिल्याएको परम्परा । त्यो तपाईंले लगाएको सिन्दूर थोड़ी हो !

सपनामा देखेको कुरा विपनामा पनि देख्नु के संयोग मात्र हो र !

म मान्छु… त्यो हाम्रो सोचभन्दा बाहिरको विषय हो । वैज्ञानिकहरुले अनुसन्धान गर्दैहोलान । त्यो पराभौतिक हो । अलौकिक ।

‘तिमी निशा भएको भए के गर्थ्यौ ?’

भावना जुरुक्क उठेर केही पनि नसोची बोली – ‘ मारिदिन्थें तपाईंलाई’।

किन ?

धोका दिनुभयो एउटी अबला नारीलाई ?

मैले दिएकै होइन !

उ पनि यसै भन्छे !

कसरी थाहा पायौ ?

एकदिन म तिम्रो किताब मिलाउँदै थिएँ । तिम्रो त्यो पढ़दै गरेको उपन्यासबाट एउटा कागजको टुक्रा भुईंमा झ-यो । के रहेछ भनेर उठाएर हेरें । त्यो कुनै निशा नाम गेरेकी केटीले लेखेको ‘लास्ट लव लेटर’ रहेछ । खोलेर पढ़ें । कति सजिलोसंग प्रेमको धागो चुटाउने प्रस्ताव थियो त्यो । प्रस्ताव होइन घोषणा थियो । कुनै धारिलो हतियारले चट्टै छिनाएको सम्बन्ध । त्यो तिम्रो किताबभित्र थ्यो तर तिमीलाई भनेर लेखिएको नहुन सक्छ सम्झें । अनि त्यहाँ सम्वोधनमा ‘ मेरो राजा !’ मात्र लेखिएको हुँदा मैले तिमीमाथि सोझै शंका गर्न सकिन । कसै अरुको किताब थियो त्यो त्यसैले पनि त्यो कागज अरु कसैको निम्ति हुनसक्ने सम्भावनालाई नकार्न सक्दिन थिएँ । तर मन भने विचलित बनिरह्यो । हृदयले जवाब खोजिरह्यो । त्यो ‘निशा’ को हुन सक्छे भन्ने प्रश्नले बिझाइरह्यो ।

अनि म उसको खोजमा निस्कें –

संसार सानो छ । गोलो पनि छ । यहाँ कुनै न कुनै दिन आफूले खोजेको वस्तु भेटिने सम्भावना एकदमै प्रबल छ । उ एउटी व्यक्तिवाचक संज्ञा थिई । सनाम थिई । उ सस्तित्व थिई । ठोस वस्तु थिई। उ भेटिन सक्ने थिई ।

मैले भेटें तिम्रो निशालाई । सोधें उसलाई । मेरो अधिकार थियो त्यो । नि:संकोच बिना हिच्किचाहट/ कुनै पश्चताप विहीन भन्दै थिई उ –

“ हो मैले छोड़ेको हो विवेकलाई । त्यो मान्छे मेरो निम्ति उपयुक्त थिएन । सबभन्दा महत्वपूर्ण कुरा उ निर्धन थियो । त्यसकोमा घर-बार धन-सम्पत्ति फुटिकौड़ी थिएन । त्यो नितान्त एकलो अनि असफल थियो । भनौ त्योबाट आशालाग्दो केही पनि थिएन । केवल चोखो प्रेम गर्न जान्दथ्यो त्यो । सपना देखाउन खप्पिस थियो । सपनाले मात्र मलाई पुगेन ।’’

“……… म विपनामा बाँच्न चाहन्थें । थुप्रै वाचा बन्धनले बाँधिराखौं भन्थ्यो हाम्रो सम्बन्धलाई । आफ्नो स्वामित्व जनाउन चाहन्थ्यो । म कैदमा बाँच्न चाहन्न थिएँ । पिञ्जड़ाको आभास थियो उसंगको संसर्ग । अनि त्यो थुप्रै कोणबाट कम्जोर पनि थियो जो म तिमीलाई भन्न सक्दिन । चाहेको जति पाएको थिइन मैले त्योबाट । प्रताड़ना मात्र थियो । अन्तत: मैले उन्मुक्ति रोजें । मेरो गन्तव्य खुला आकाश थियो । म उड़ें आजाद । ई यसरी……… हा हा हा ।’’

“हो मैले नै ब्रेक दिएको हो त्यसलाई !!”



-“यो मान्छे के त्यही विवेक हो जो कि त्यो कसैले छोड़ेको गाँस !!” भवना कड़किएर बोलेकी थिइ ।



क्षणिक आवेशमा चिच्याएता पनि पुन: नम्र लवजमा बोलेकी थिइ– ‘मलाई प्रेम गर्नोस भन्दिन म तपाईंलाई । मलाई विश्वास छ तपाईंमाथि । तपाईंको योग्यतामाथि । तपाईंको संरक्षणमाथि । वस ! यति भए पुग्छ हामीलाई । माया त आफै पग्रिने कुरा हो । यो जबर्जस्तिले हुन्न अनि दीगो रहन्न पनि ।’

विवेक अरकच्च प-यो । उसका गोप्य कुराहरु अचानक यसरी पर्दाफाश हुँदा अनि आफ्नै श्रीमतीले वृतान्त केलाउँदा कुनै अप्रिय घटना घट्न जाला कि भन्ने त्राश मनमा पल्हाएको थियो… तर उसकी विवेकी धर्मपत्नीले उसका कर्तुतहरुलाई सहजै माफ गरिसकेको उसले बुझिसकेको थियो । अब उ निश्चिन्त मजाक गर्ने मूडमा उत्रिएको थियो ।



-अगि त मैले धोखा दिएको भन्दैथ्यौ त ?



-मलाई पनि शंका थियो । तर उसलाई भेटेर निवारण भयो । मन शान्त भयो । अतीत कसको हुँदैन र ! मेरो पनि छ । तर विगतलाई व्युँझाएर वर्तमानलाई बिथोल्न चैं हुन्न नि फेरि ! भन्दिएको छु ।

………………………………………।

- खै खै तपाईंको त्यो बूढ़ी औंला हेरौं?

- यो औला म काटेर फालिदिऊँ भन्दैछु ।’ गहिरो खत देखाउँदै बोल्यो विवेक ।

-किन ?

-अपराध गरेको छ यसले ।

-कसरी आँट गर्नुभो ?

-के ?

-सिन्दूर पहि-याउन ।

- सपनामा ?

- लाटा…… !!



कम्जोर !

म कम्जोर !!

कसरी कमजोर !!!

“तिमी स्वीकार्न सक्छौ मेरो कमजोरीपन ?’’ विवेक एकाएक आवेशमा बोलिपठायो ।

‘म के जान्नु । तपाईंकै निशा’लाई सोध्नोस्न, मसंग व्यर्थै बिच्कनुभन्दा ।’ भावना कर्कशा जस्तो लवजमा अभिनयपूर्ण भतभताई ।

“ यो त मेरो सरासर अपमान हो । तिमीले यस्तो कुरा कसरी लुकाएर राख्न सक्यौ यतिञ्जेल ? के तिमीले पनि मेरो सक्षमता माथि प्रश्न त ठड़ियाइरहेकी छैनौ ?”

‘ त्यो सब म जान्दिन । म कुनै पुरुषको तागद अनि कमजोरी चाख्दै हिंड़ने जस्तो लाग्छ तपाईंलाई ? उसले त्यसरी भन्नुमा कुनै गहन रहस्य अवस्य छ जो तपाईं भन्न सक्नुहुन्न मलाई लाग्छ । अनि जान्ने इच्छा पनि छैन । सायद जानिसकेको पनि छु ! तर यति चैं अवस्य हो कि त्यो निशाले मागेको र खोजेको जति तपाईंले दिनसक्नु भएको थिएन । अनि तपाईंलाई थाहा पनि भयो या भएन कि उसले मागेको के थियो भनेर । तपाईंलाई उसको इच्छापुर्तिको ज्ञात नहुनु नै तपाईंको ठूलो कमजोरी हुनसक्छ । बस यति नै !’

यतिबेला विवेक कुनै अग्लो छाँगाबाट तल तल झर्दै थियो । भावना हल्का भूवा जस्तो निरुद्देश्य माथि माथि उड़दै थिई ।

कस्तो प्रहार त्यो… विवेकलाई असह्य दुखिरहेको थियो ।

त्यो सिन्दूर ! साँच्चै, रगत जस्तो रातो… आगो जस्तो तातो …!!

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 भाद्र, 2072

लेखकका अन्य रचनाहरु