इमली कथा सङ्ग्रह भित्र घोत्लीदा

- डा . के . आर . खम्बू

मेरो अति नजिक रहेर मलाई सधैँ सरसल्लाह, सुझाउ तथा प्रोत्साहन दिनु हुने एक घनिष्ठ मित्र तथा साहित्यिक व्यक्तित्व हुन शारदा कोइराला । आफ्नो प्रारम्भिक जीवन कालदेखि नै उहाँ आफ्नो गहिरो अध्ययनका साथ अति संवेदनशील भएर आफ्ना मन भित्रका भावनाहरूलाई शब्दमा परिणत गर्दै साहित्य लेखन कार्यलाई अघि बढाउँदै आउनु भएको छ । उहाँले धेरै पुस्तकहरू लेखिसक्नु भएको छ । उहाँको भरखर मात्र प्रकाशित भएको कृति हो इमली कथा सङ्ग्रह ।
यो पुस्तक भन्दा अघिल्लो प्रकाशित पुस्तक हो ‘निहाउँ’ । उक्त पुस्तक मित्रराष्ट्र चीन जाँदा प्रत्यक्ष प्राप्त गरेका अनुभूतिहरू लिपिबद्ध गरिएको नियात्रा साहित्यिक कृति थियो । तर यो पुस्तक उहाँले अहिलेसम्मका जीवनका अनेकौँ खुडकिलामा भोगिएका तिता पीरा घटनालाई सँगाल्दै लेखिएका कथाहरूको अनुपम सङ्ग्रह रहेछ ।
उहाँ र मेरो घनिष्ठता युनिभर्सिटी पढ्दा कान्ति छात्रावासमा बस्दादेखि हो । पुर्ख्यौली जन्म थलो पहिल्याउँदै जाँदा एउटै जिल्ला खोटाङको सावा खोलाको एकैतिरको पाटोमा पर्ने गाउँमा बस्ने रहेछौं । अर्थात उहाँ खुटाली म चुमलुङ्गे । पहिलो भेटदेखि नै उहाँको नरम स्वभाव, मृदुभाषी तथा मिलनसार व्यवहारबाट म प्रभावित भएको थिएँ । त्यो बेला छात्रावास तथा विश्वविद्यालय क्याम्पसका साहित्यिक समितिहरूमा पनि बसी साहित्य लेखन तथा प्रकाशन गर्ने गहन जिम्मेवारी बहन गर्नु भएको थियो । कथा, कविता, हास्य वा प्रहसन आदि विधाहरूमा उहाँले माथिल्लो स्थान ओगट्नु भएको थियो । त्यस पछिको उहाँको व्यावहारिक जागिरे जीवन कालमा पनि उहाँको कलम बन्द भएन । बरु एक पछि अर्को कृतिहरू सिर्जना गर्दै जानु भयो । समग्रमा उहाँको जीवन नै साहित्य, र साहित्य नै उहाँको जीवन बनेको छ । अहिले पनि उहाँ दूधको दूध पानीको पानी छुटाउनु पर्ने न्याय मूर्तिको जिम्मेवारी पूर्ण स्थानमा हुनुहुन्छ । तैपनि हृदयको कुना कन्दराबाट कोमल साहित्यिक भावनाहरू तँछाड-मछाड गर्दै निस्किरहेका छन् । कतै अव्यक्त र अतृप्त यौवनका तरङ्गहरू, कहि उदेक लाग्दा रहस्य बनेका आविष्कारहरू, कतै डढेलोमा सल्किएका जिन्दगीहरू, कतै भने मायालु परिवार स्वार्थले टुक्रा-टुक्रा भएका परि-दृश्यहरू ! यस्तै-यस्तै धेरै पृष्ठभूमिमा नयाँ सिर्जनाहरू कोरिएका छन् ।
केही हप्ता अघि मात्र उहाँ आफ्नो घर भद्रपुर आउँदा म कहाँ निस्किनु भएको थियो । यस पल्ट पनि उहाँ खाली हात आउनु भएको रहेनछ । किनभने यो भन्दा अघि सायद तिहारतिर आउँदा मलाई सम्झेर उहाँको ‘निहाउँ’ नामक नया कृती ल्याइ दिनु भएको थियो । यस पल्ट पनि नयाँ भर-खर मात्र मोदनाथ प्रश्रित साहित्य प्रतिष्ठान पूर्वाञ्चल शाखा, इटहरीबाट प्रकाशित र विमोचित पुस्तक ‘इमली’ ल्याइ दिनु भएको रहेछ । नयाँ पुस्तक मेरो हातमा राखी दिँदा म अति हर्षित हुन्छु अनि हार्दिक आभार व्यक्त गर्छु ।
दुई पुराना साथीहरू भेट भएपछि एकछिन भएपनि भलाकुसारी नचल्ने कुरै थिएन । पुस्तकको शीर्षक सुन्दा अलिक अलमलिएछु र पुन सोध्छु । अघिल्लो पुस्तकको नाउँ बारे पनि मैले यसै गरी दोहोर्याई –दोहोर्याई सोधेको थिएँ । जब नेपाली शब्दकोषमा नपाइने ‘निहाउँ’ को अर्थ चीनीया भाषामा ‘नमस्ते’ हुने भनेर उहाँले बुझाउँनु हुँदा खुसीले दङ्ग परेको थिएँ ।पछि उक्त पुस्तक पढ्दै जाँदा त झन् उक्त निहाउ (अभिवादन) शब्द प्रष्ट बुझेको थिएँ । यस पल्ट पनि अचम्मको नाम जस्तो लागेर सोधेको हुन्छु । यस पल्ट मेरो सोधाइको उत्तर केही बिलम्ब गरेर दिनु हुन्छ । उक्त रिक्त समयमा मैले इमलीको दुई तीनवटा उदाहरण दिन पछि पर्दिन । जस्तै- एक प्रकारको अमिलो फल, तित्री अर्थात इमली ! शीर्षकको अर्थ बारे म छटपटिएर अध्यर्य भएको देखेर हाँस्दै फल फूल केही होइन एक युवतीको नाउँ हो’ भन्नु हुन्छ । अझ चित्त बुझ्दैन र सोध्छु नेपाली युवतीको त्यस्तो नाउँ हुन्छ र ! भन्न पुग्छु । आफ्नो मनको खुलदुली आफै पढेर मेटाउन उहाँले सल्लाह दिनुहुन्छ । उक्त पुस्तकको प्रतिनीधि कथा भएकोले सायद यसो भनेको हुनु पर्छ ।
उहाँ फर्किनु भएको करिब एक महिना पछि होला यो पुस्तक जीवन सँगी शुभलाई आफ्नु फुर्सद मिलाएर पढ्ने अनुरोध गर्छु । उहाँले पनि आफ्नो फुर्सद मिलाएर डालीको फूल निकाल्दै माला उने झैँ इमली पुस्तकमा रहेका कथाहरूलाई, दिनको एउटा कथाका दरले पढ्दै जानुहुन्छ । म हरेक कथालाई कान थापेर सुन्दै जान्छु । अनि यो पुस्तक समीक्षा लेख्ने चेष्टा गरेको छु ।
इमली कथाले मलाई बेलायती निजामती सेवारतकर्मचारी नेलसनको परिवारमा पुर्याउछ ।मौशमि परिवर्तन जस्तै बदलि रहने बेलायती पारिवारिक जीवन बाँची रहेको एकल बाउ नेल्सन र एक छोरो जर्जको जीवन गाथा सुरु हुन्छ । त्यसपछि लोग्नेले एउटा आमा भएको टुहुरो छोरो लिएर बस्छ भने स्वास्नी बाउ भएको टुहुरो छोरो लिएर छुट्टिएर बस्छे । उफ ! क्या मजाकको जिन्दगी अनि क्या मजाकको समाज ! नेल्सन सेवा गर्ने क्रममा आफ्नो देश बेलायत छोडेर दक्षिणी गोलार्धको पपुवा न्यूगिनि जाने निर्णय गर्छ । उ उक्त जागिर खाने देशमा जाँदा छोरो साथमै लिएर जान्छ । उसको लागि त्यो ठाउँ अति अनजान हुन्छ । उ त्यहाँको न भाषा, न संस्कार, न संस्कृति नै बुझ्न सक्छ । निकै वर्षसम्म त्यहाँ बसी काम गर्ने भएकोले छोरोलाई सोही ठाउँको स्कूलमा भर्ना गर्न लग्छन् । त्यहाँ स्कूल पढ्न जाँदा अनिवार्य रूपमा केटोको केटी र केटीको केटो साथी हुन पर्ने नियम हुन्छ । कानोको देशमा आँखा चिम्लनु भने झैँ आफ्नो छोरोको पढाइ नबिग्रोस भनी रङ्गभेद नगरी इमली नामक एक आदिवासी बालिका साथी बनाइ दिने प्रिन्सिपलको प्रस्तावलाई मन्जुर गर्छन् ।इमली पनि राजधानी भन्दा निकै टाढा एकान्तमा पर्ने टोब्रियन नामक टापुमा एक आदिवासी(एबओरिजिन) नेग्रो परिवारमा जन्मी त्यहाँ पढ्न आएकी हुन्छे । अब कालो र सेतो जातीका दुई प्राणी बीच सहपाठी जीवन सुरु हुन्छ । आयो गयो माया मोह, आएन गएन कोहो-कोहो’ भन्ने उखान जस्तै साँच्चै दिनानुदिन भेट्ने क्रमले माया मोह बढ्दै गएको देखिन्छ । ती दुईको करिब सात वर्षसम्मको स्कूले सहवासले आपसमा दुबैको संस्कार संस्कृति बिर्सिँदै जान्छन् । आपसमा खुलस्त हुँदै जाँदा आधुनिक संस्कार संस्कृति सिक्दै जान्छन् । किशोरी अवस्थाको सुरुमै दुबै माया पिर्तीमा मात्र होइन शारीरिक आकर्षणले आकृष्ट हुँदै गएको देखिन्छ । केटो विज्ञान र प्रविधिको उच्च विकसित भएको सभ्य समाजमा जन्मिएको प्रतिनिधि पात्र हुन्छ भने केटी प्राचीन नर-वध गर्ने परम्परा भएको टापुमा बस्ने कबिला(ट्राइबल) समाजमा जन्मेकी हुन्छे । तर आपसमा दुबैको परम्परा एक अर्कासँग अनौठो देखिए तापनि ती अ
स्वभाविक कुरालाई बिर्सेर घनिष्ठ मित्र बनेका हुन्छन् । यस्तो संयोगलाई अनौठो होइन अनुपम मान्न पर्ने देखिन्छ । तर जागिरे जीवन । त्यहाँ बसी रहने कुरै थिएन । आफ्नो कार्यकाल सकिए पछि नेल्सन बेलायत फर्किन्छन् छोरो सहित । तर छोरोले मनभरी आफ्नी युवती साथी ‘इमली’ लाई पनि लिएर आएको हुन्छ । अन्ततोगत्वा ती दुई चखेवा चखेवी जस्ता प्रेमी प्रेमिका भइ सकेका जोडी पनि भौतिक रूपमा टाढा हुन बाध्य हुन्छन् । तर भावनामा दुबै नजिक भइ रहन्छन् । अनि इमली बन्छिन् पुस्तकको शीर्ष कथा । यद्यपि, दुई प्रेमीको वियोगान्त अन्त्यसँगै कथावस्तु समापन हुँदैन । जब लेखकले सूत्रधार र कथाकार बीच संवाद सुरु गराउँदै निरन्तरता दिन्छन्, तब तीनछक परिन्छ । सूत्रधारले भन्ने र लेखकले लेख्ने परिवेश भित्र हुलेर बेलायत र पपुवा न्यू गिनीको परिवेशलाई उछाल्दै अर्कै दुनीयातिर लगे जस्तो लाग्छ । त्यसो हो भने उल्लेखित धरातल कता पर्यो भनेर निधार खुम्चाउने परिस्थितिमा पुर्याइएको छ । तर युरोप र अस्ट्रेलियाको पृष्ठभूमि कतै एसिया र अफ्रिकातिरको पृष्ठभूमि त होइन भन्ने शङ्का पनि उठ्न खोज्छ । जे होस, यो विद्यमान अर्ध सामन्ती समाजमा खिसिट्यूरीको पात्रबाट बच्न वास्तविकतालाई कल्पना (फ्यान्टासी वा किम्बदन्ती) बनाइएको हो कि जस्तो लाग्छ । समग्रमा समाजशास्त्रको दृष्टिकोणबाट हेर्दा यसले प्राचिन मध्य युगिन कविला समाज देखि वर्तमान अत्याधुनिक विद्यूतिय युग बीचको तुलनात्मक जीवन पद्दति यहाँ परेको छसुख सुविधाको लागि प्रविधिको विकास मात्र होइन यसबाट हुने प्रकृति विनाशलाई पनि मध्यनजर राख्दै संरक्षण पनि गर्नु पर्छ भन्ने यस कथाको सन्देशहुनसक्छ । यस्तो दुई संस्कार, संस्कृति र सभ्यतालाई जोड्ने सेतु बनेको छ ‘इमली’ ।
साहित्यिक स्रष्टा शारदाज्यूले, आफ्नो विश्वविद्यालय जीवन कालदेखि अहिलेको राष्ट्र सेवक जीवन अवधिका विभिन्न समयमा घटेका स्मरणीय घटनाहरूको आधारमा लेखिएका कथाहरू यस पुस्तकमा राखिएका छन् । ती कथाहरू भावनात्मक वा कल्पनात्मक जस्तो देखिए तापनि सबै जीवनमा आफै भोगिएका वा सुनिएका वा प्रत्यक्ष साक्षी भइएका छन् । कथा वस्तु एउटा सानो प्रसङ्गबाट सुरु भए तापनि त्यस बेलाको सामाजिक क्रियाकलापको वास्तविक चित्रण गरिएका छन् । हरेक वाक्यहरू छोटा र रहर लाग्दा छन् । यसैले कथाहरू पढ्दा वा सुन्दा निमेषमा नै सकिए झैँ लाग्छ । सायद यही हुनु पर्छ उहाँको अनुभवी लेखन शैलीको विशेषता ।
उहाँ र मेरो विद्यार्थी काल साँच्चै नै अर्ध सामन्ती अर्थतन्त्र भएको काल थियो । त्यस बेला सामन्त मनोवृत्ति भएको समाजमा वर्गहरूको संरचना कस्तो थियो भन्ने कुरो ‘डल्ले’ नामक कथाले देखाउँछ । त्यस बेला सामन्तीहरूले किसान तथा गरिबहरूका श्रम शोषण गर्ने जन्मसिद्ध अधिकार हो भन्ने न्ठान्छन् । डल्ले सर-सुहाउँदो हुँदा सबैले फुर्काएर बढी भन्दा बढी काम लिन्छन् । तर जब बिरामी पर्छ कसैले हेर्दैन । कति मतलबी छ समाज । उता जन बन वा कृषि मजदुरी गर्ने महिलाहरू पनि जमिनदारको दुष्ट आँखाबाट कहाँ बच्थे र ? रोपाइँ गर्दा पनि खेतको आलीमा बसेको मालिकको निगरानीमा पेलिनु पर्छ । कोही त पेलिन मात्र होइन मनोरञ्जनको वस्तु बनिन बाध्य हुन्छन् । काममा बढी जोताउने तर ज्याला वा सुविधा भने कम दिने गर्छ । दमन हुँदा प्रतिरौध पनि जन्मिन्छ भने झैँ रोपाहार्नी कान्छी मगर्नी जस्ता साहसी महिला सामन्तको दबाबलाई ठाडै प्रतिकार गर्छिन् । त्यति मात्र होइन कामै छोडेर बिमारी परी मर्न लागेको एकलो बिचरो डल्लेलाई स्याहार्न पुग्छिन् । यसरी यस कथामा प्रस्टसँग गरिबको साथी गरिब नै हुन्छ भन्ने वर्गीय प्रेम देखाइएको छ । यसर्थ यो कथा त्यो सामन्ती अर्थतन्त्र काल खण्डको एक अनुपम प्रतिनिधि कथा मलाई लाग्छ । किनभने यो कथाको लेखन काल पनि २०३८ भन्दा अघितिर हो । त्यस बेला हामी दुबै कान्ति छात्रावासमा हुन्छौं । मलाई अहिले याद आउँछ , सायद यो कथा त्यस बेला छात्रावासबाट प्रकाशित हुने ‘सङ्कलन’ नामक वार्षिक पत्रिकामा प्रकाशित भएको थियो ।
उक्त कथा लेखिएको करिब २० वर्ष पछि अर्को कथा तयार हुन्छ ‘अनि के भो त ?’ भन्ने । दुई दशक पछि हाम्रो समाज परिवर्तन हुँदै अर्ध सामन्ती अर्थतन्त्रबाट अर्ध पूजिवादी अर्थतन्त्र तिर फड्को मार्दा सामाजिक संरचना कस्तो हुन पुग्छ भन्ने आशय यो कथाबाट आभास पाइन्छ । गोरु वा राँगो गाडी र साइकल चलाउने सामन्ती अर्थतन्त्रे जीवन पद्धतिबाट स्कुटर, मोटरसाइकल वा कार चलाउने अर्ध-पुँजीवादी जीवन पद्धतितिर उन्मुख भएको समाज यस कथा पढ्दा थाहा हुन्छ । स्कूलका शिक्षक हुन् वा क्याम्पसका लेक्चरर । स्कूल वा क्याम्पसमा तोकिएको कार्यभार भन्दा ज्यादा काम गर्न अवसर नमिलिन्जेल फुर्सद पायो कि गफ राजनीति गर्ने वा तास खेलेर बिताउने वा खाना-पिनामा डुब्ने परिस्थिति थियो । तर जब देशमा खुल्ला अर्थतन्त्र (फ्रिमारकेट सिस्टम( अर्थात अर्ध-पुँजीवादी प्रतिस्पर्धी आर्थिक नीति अपनाइन्छ, तव कम्पेटिसन मारकेट भएको पुजिवादी अर्थ व्यवस्था भित्रिन्छ । परिणाम स्वरूप, अनेकन् निजी कम्पनी वा शैक्षिक संस्थाहरू खोलिन्छन् । नया सङ्घ संस्था खौलिए पछि अतिरिक्त काम गर्ने र कमाउने दुबै अवसर आइ पुग्छ । जति काम गर्यो उति कमाइने र कमाइ अनुसार जीवन स्तर पनि उकास्न सकिने हुन्छ । अनि त हिजो पैदल वा साइकल चढेर पढाउने शिक्षकहरू, आज स्कुटर वा मोटर साइकल वा कार चढेर स्कूल वा क्याम्पस पढाउन आउने हैसियत बनिन्छ । त्यसपछि हिजोका समय दुरुपयोग गर्ने शिक्षकहरू आज भ्याए जति ठाउँमा अतिरिक्त काम गरी व्यस्त जीवन यापन गर्न थाल्छन् । अब यस्तै परिवेश भित्र एउटा क्याम्पसको म्याडम पनि दुर्घटनामा पर्नु हुन्छ । दुर्घटना भनेको आफ्नो वशको कुरो कहाँ हुन्थ्यो र ? कुनै दुर्घटना घट्दा त्यसको चेन रिआक्सन अर्थात् ‘लहरो तान्दा पहरो थर्किन्छ’ भन्ने उखान जस्तैसानो दुर्घटनाले कति ठाउँ असर पर्छ भन्ने कुरो यो कथा पढ्दा सहजै अनुमान लगाउन सकिन्छ । कथाको शीर्षक नै अनुत्तरित प्रश्न ‘अनि के भो ?’राखिएको छ । कथा वस्तु यसरी कुद्छ-एक स्थानीय क्याम्पस पढाउने म्याडेम, खुल्ला अर्थतन्त्र स्थापना हुँदै गरेको बजारको प्रतिस्पर्धामा खोलिएका स्थानीय निजी कलेजहरूमा र आफ्नो मुख्य क्याम्पसमा कार्य तालिका मिलाई दिन प्रति दिन प्राध्यापनमा कार्यरत हुनुहुन्छ । दुई तीन वटामा पढाउन भ्याइ नभ्याइ भएकोले स्कूटर किन्नु हुन्छ । त्यसपछि त सजिलै सबै ठाउँ भ्याउनु थाल्नुहुन्छ । तर एक दिन अचानक एउटा सडकको घुम्तीमा दुर्घटनामा परेर अस्पताल भर्ना हुन पर्छ । गालामा निकै चोट लागेकोले उपचार अवधि पनि दुई हप्ता जति लाग्छ । दुर्घटना भएको दिन देखी अस्पताल बस्नु पर्ने वाध्यता आउँछ । उपचारको क्रममा अस्पतालको वास्तविक चित्र देख्नु मात्र होइन भोग्न थाल्नु हुन्छ । खुल्ला बजार नीतिले त्यहाँ पनि आक्रान्त पारेको देखिन्छ । डाक्टरहरू सरकारी सेवालाई दाइजोमा पाइएको सम्झिने र आफ्नो निजी क्लिनिक चलाउन मुख्य कर्तव्य भएको झलझली देख्नु हुन्छ । ढुङ्गाहरूको बगरमा देउता भेटे झैँ उहाँको उपचार गर्ने डाक्टर निजी क्लिनिक नभएका हुन्छन् । तर इमानदार भइ सरकारी सेवामा समर्पित डाक्टर अन्य स्वार्थिहरूका आँखाका कसिङ्गर बनेर टिक्न गारो परी रहेको हुन्छन् । अस्पतालको उपचार सकिए पछि घरमा आराम गर्दै बाँकी उपचार सुरु हुन्छ । त्यसपछि आफ्नै क्याम्पसका सहकर्मीहरू, आफन्तहरू, छरछिमेकहरू भेट्न आउने र सहानुभूति देँदै सुस्वास्थ्यको कामना दिने लहर चल्छ । भेट्न आउने हरेक शुभचिन्तक, आफन्त तथा मित्रहरूका अन्तिमको वाक्य एउटै ‘अनि के भो त !’ भन्ने हुन्छ । बिमारी म्याडेम त्यही प्रश्नको उत्तर दुई हप्तासम्म दिँदा दिक्क भएको कुरो यस कथामा उल्लेख छ । यसका अतिरिक्त मानिसहरू कुरा कोट्याउन कति सिपालु हुन्छन्; आफ्नै सहकर्मी साथी कुर्सीमा बस्दा कस्तो व्यवहार देखाउँछन् भन्ने तीतो सत्य पनि यहाँ उल्लेख छ । स्वास्थ्य सेवा जस्तो पवित्र ठानिने संस्थामा पनि खुलायम भ्रष्टाचार भएको दुखेसो यहाँ पोखिएको छ ।
देशकै कलङ्क र दीर्घ रोगको रूपमा रहेको चेलीबेटी बेच-बिखन बारे एक तथ्य घटनामा आधारित भएर लेखिएको एउटा कथा हो ‘ओछ्यान’ । यस कथामा हाम्रा देशको कुना कन्दरातिर बस्ने निमुखा बालिकाहरू कसरी अपरिचित वा परिचित वा आफन्तको बहकाउ र लालचमा फसी विदेशी भूमि पुर्याएर बेचिन्छन् भन्ने कुरो न्यायालयको फैसलासँगै खुलस्त हुन्छ । अहिलेको अधकल्चे समाज अर्थात् सामन्तवादी प्रथाको अन्त्य र अर्धपुजीवादी समाज हुँदै पुजिवादी समाजतिर सङ्क्रमण हुने क्रम भएकोले हरेक वस्तु किनबेच गरिन्छ । यति सम्म कि मानवको अङ्ग प्रत्यङ्ग देखि शरीर नै पनि बेचिन थालेको छ । मानव अधिकारवादी चिन्तन्मा यस्ता कुरा अपराधिक कार्य भनिन्छ, तर खुला बजार भएको पुजिवादी संस्कारमा भने सामान्य आवश्यक्ता मानिन्छ । यसर्थ नै होला यो चेलिबेटि बेचबिखन समस्या निदान हुने होइन, बरु एक पछि अर्को रूपमा रुपान्तरित हुँदै अझ फस्ताउने गरेको देखिन्छयस्तै वास्तविकतालाई लेखकले यहाँ प्रस्तुत गर्नु भएको छ । ।
अर्को कथा महिला मैत्री कथा छ । यस कथा भित्र पनि एक शिक्षित परिवारमा हुर्केकी चेलीले संस्कार संस्कृतिको नाममा कसरी आफूले आत्मासमर्पण गर्नु पर्छ भन्ने कुरा देखाईएको छ । अहिलेको हाम्रो समाज निल्ने न उकेल्नेको समाज बनेको छ । अर्थात् सामन्ती संस्कारको अवशेष अझ बाँकी रहेकोले हाम्रो समाजका घर परिवार अझै अर्ध-अन्धविश्वासले ग्रस्त छ । अत्याधुनिक प्रविधिक युगमा भएपनि पारिवारिक परम्परालाई न त चट्ट छोडीहाल्न सकेका छन नत आधुनिक नयाँ सभ्यतालाई पूर्ण स्विकार गर्न नै । त्यसैले पढे लेखेका सचेत महिलाहरू पनि कन्या दान हुँदै पति परमेश्वरको शौभाग्यवती बनेर रुन्चे हाँसो हासेका छन् । यसरी घर परिवार, अभिभावक र समाजको इजत बचाँएको नाममा इच्छा विरुद्धकै लोग्ने भए पनि स्वीकार्छन् । तर जब तीनि आफ्नो इच्छा विरुद्ध जँड्याहा पतिको कामुक नङ्ग्राबाट लुछिन्छिन् तब जीवनलाई नै धिक्कार्दै अस्तित्वको खोजी गर्न थाल्छिन् । पराइ घरभित्र चौखुरिएर लोग्नेको खेलौना बनेर बस्नु आफू तलव बिनाको दासत्व स्वीकार गर्नु भन्ने कुरो महसुस गर्छिन् । त्यसपछि, मन मस्तिष्कमा विद्रोहको राँको सल्किन्छ । अनि बन्दी झैँ बनाइएकी नारी सामाजिक संस्कारको जालो चिर्दै अस्तित्वको खोजीमा सङ्घर्षको मैदानमा उत्रन्छिन् । यस्तै भावनाले अभिप्रेरित छ कथा ‘अस्तित्वको खोजिमा’ । समग्रमा यस कथामा महिलाहरू आफ्नो योग्यता, क्षमता तथा सीपलाई पुरुषको यौन सन्तुष्टिको वस्तु मात्र बनाउन चाहदैनन्, अपितु आत्मा निर्भर भइ जिउन चाहन्छन् । पुरुष सरह आर्थिक उत्पादनमा सहभागी बन्दै स्वतन्त्र भएर बाँच्न चाहन्छन्, भन्ने यस कथाको सार रूप हो ।
यस पुस्तकको सबभन्दा लामो तर भर-खरै लेखिएको तथा अन्तिम कथा हो ‘अनन्त यात्रा’ । यो पढ्दा साँच्चै कथाको प्रसङ्ग अनन्त भएर जान्छ । यस भित्र तीन काल खण्डको परिकल्पना गरिएको छ । तर अन्त्य भने टाढा । यसमा २६/।२७ सालदेखि ७१/।७२ साल बीचका क्रान्तिकारी परिवर्तन र त्यसबाट परेका सामाजिक असरहरू बारे नाटकीय तरिकाले प्रस्तुत गरिएको छ । कथाको पृष्ठभूमि झापा भद्रपुर हुँदै राजधानी काठमाडौं सम्म पुगेको छ । कथा आद्योपान्त पढ्दा भौतिकवादी परिवर्तनलाई अध्यात्मवादी साँचोमा ढालेर अहिलेको समाजलाई घुमाउन खोजेको जस्तो लाग्छ । यसैले त यस कथा भित्र एक खानदानी बुज्रुक एस-आरामको जीवनमा डुबेको व्यक्तिको जीवन चर्चा गरिएको छ । कथाको सुरुमा, सुरा सुन्दरीमा डुब्ने खानदानी सामन्त परिवारको प्रतिनिधि पात्रको अचानक बेहोस वा प्राण गएको प्रसङ्ग देखाइएको छ । ‘आफू मरे पो स्वर्ग देखिन्छ’ भन्ने उखान झैँ सामन्ती सुख सुविधामा जीवन बिताएको एक भुक्त भोगी, आफै मर्दा के-के हुन सक्ला भन्नेपरिकल्पना यहाँ उल्लेख गरिएको छ कथा वस्तु यस्तो छ-सामन्त परिवारमा विलासी जीवन आफूले बिताए तापनि छोरा बुहारी, नातानातिनी सबै पूजिवादि संस्कृतिभित्र हुर्केका हुन्छन् । त्यसैले बाउ मर्नु साथ शोकमा डुब्ने त परै जावस्, पितृ धन हात पार्ने होडबाजी चल्छ । काठमाडौं देखि अमेरिकासम्म फैलिएका सन्तानले अन्तिम दाह-संस्कार तथा चलन अनुसारको काज क्रिया गर्न पनि भाडामा लगाइन्छ । सन्तानबाट आफूमाथि गरेको यस्तो कुकर्म हेर्न नसकेर लेखकले उनलाई प्रेतआत्मा बनाई टेलिभिजनको सिसि क्यामरा झैँ घरको भित्तामा झुण्डाइ दिन्छन् ।त्यसपछि भने पारिवारिक सदस्यहरूले जे-जे गर्छन् सिसि क्याम्राले खिचेर लेखकको टिभीको मोनिटरमा छर्लङ्ग देखा पर्छन् । सोही आँखोदेखा कुरा यस कथामा फटाफड् टिपेर राख्नु भएको छ । त्यसपछि सिसि क्यामरा रूपी मृतकले आफ्नी पत्नीहरू साथै छोरा बुहारीहरूको क्रियाकलाप हेर्दै छक्क पर्छ । उसलाई माया गर्ने जेठी पत्नी बाहेक अरू हुँदैनन् ।एकछिनको लागि क्रितिम रोदन देखा पर्छ । चल अचल सम्पत्तिको लालचाले सबैको मन छटपटाउन थाल्छ । कसले धेर हात पार्ने भनी आपसम षडयन्त्र सुरु हुन्छ । उनको एक विश्वासिलो वकिल पुत्रले त झन् काँचो कागजमा मृत बाउको औठाको ल्याप्चे लगाएर अचल सम्पत्ति आफ्नो बनाइ निर्धक्क हुन्छ । अन्तिम दाहसंस्कार गर्न आर्यघाटमा भाडामा लगाउछन्; अनि घरमा आइ दुई हप्ता लामो क्रिया विधिलाई तीन दिनमा झार्छन् । बाँकी समय अंश वण्डाको वाक युद्धमा खर्चिन्छन् । अनि कथा भित्र स्वर्ग, नर्क, पापी, धर्मी आदिको बखान भएको गरुड पुराणका प्रसङ्गहरू सुरु हुन्छन् । उक्तस्याटेलाईट क्यामरा झापातिर सोझ्याइन्छ । त्यसपछि, झापाको २०२६ देखि २९ साल सम्मकोकृषि क्रान्तिको ऐतिहासिक फ्लासब्याक बृतचित्र देखाउन थाल्छ । बृतचित्र भित्र भद्रपुरको त्यस बेलाको सहरी रूप देखा पर्छ । त्यसबेलाका गन्यमान्य व्यक्ति, शासकहरू, उद्योग व्यपारीहरू, नेताहरू, शिक्षा प्रेमीहरू, साहित्यिक व्यक्तित्वहरू, नामुद वकिल बुद्धिजीविहरू, जागिरे कर्मचारीहरू, विद्यार्थीहरू आदि एक पछि अर्को गरी पर्दामा देखिँदै हराउँछन् । त्यसपछि बिस्तारी सेटेलाइट क्यामरा ३६ साले, ४६ साले, ६२-६३ साले परिवर्तनहरूको फ्लाशव्याक गर्दै काठमाडौं पुग्छ । त्यसपछि उक्त क्यामरा पृथ्वीबाट पुनः अन्तरिक्षतिर मोडिन्छ । अनि कथा अन्त्य हुन्छ । यसर्थ मलाई लाग्छ यो कथा वास्तविकता भित्रको फ्यान्टासी कथा हो । यस कथा भित्र कथाकारले यति धेरै कुरा भन्न खोज्नु भएको छ कि त्यो सजिलै व्याख्या विश्लेषण गर्न गारो पर्छ । उहाँको तिखो कल्पना भूत, वर्तमान र भविष्य गरी त्रिकाल दर्शी बनेका छन् । कैयन भन्न नसकिएका अन्तर मनका कुराहरू यहाँ प्रतिकात्मक रूपमा भन्ने कोसिस गरिएको मलाई लागेको छ ।
अन्य कथा वस्तुहरू यस प्रकार छन् ।
विज्ञान र प्रविधिले मानव कल्याणको लागि समर्पित भइ अनेकौँ आविष्कारहरू भए । कुनै पनि आविष्कारकहरूले आफ्नो आविष्कार मानव संहारको हतियार नहोस् भन्ने भावना हुन्छ । आइन्सटाइनले पनि पृथ्वीमा उर्जा शक्ति सङ्कट आउने खतरा देखेर वैकल्पिक शक्तिको लागि पारमाणविक शक्ति आविष्कार गरे. तर त्यो शक्तिलाई महा शकति देशले आफ्नो साम्राज्यकायम राख्न विश्वयुद्धमा दुरुपयोग गर्छन् । आफ्नो आविष्कार मानव कल्याणको लागि नभएर संहारको लागि प्रयोग भएको देखेर वैज्ञानिक मुटु मिचेर दुखित हुन्छन् । तर दुरुपयोग गर्ने सत्तासीनहरूले भने थोरै संहार गर्दा धेरैको कल्याण हुन्छ भने त्यो पनि ‘सापेक्षवादको सिद्धान्तको नै सदुपयोग हो भन्ने बाठो जबाफ दिई वैज्ञानिकको चित्त बुझाइ दिने कोसिस गर्छन् । यस्तै देखिन्छ अन्य आविष्कारकहरूका जिन्दगी पनि । उनीहरूले मानवको आधारभूत आवश्यकता पुरा गर्न अनेक दुख कष्ट सहेर अनुसन्धान गर्दै नयाँ मानव कल्याणकारी आविष्कारहरू दिन्छन् ।तर त्यस आविष्कारलाई बहु राष्ट्रिय निगमहरूले व्यवसायिकरण गरी कमाइको प्रमुख श्रोत बनाउँछन् । मानव जनसङ्ख्या बढ्दै जाँदा, खाद्य वस्तुको परिमाण घट्दै जानु सार्वभौम कुरा हो । सीमित उत्पादनले आवश्यकता पूर्ति नहुने भएकोले अन्न बालीलाई धेरै र चाडै फलाउन कृत्रिम गर्भादान प्रक्रिया वैज्ञानिकहरुले अनुसन्दान गरेर निकाल्छन् । दुई भिन्न गुण भएका भाले पोथी बिरुवा बीच क्रस गराई हाइब्रिड (ठिमाहा) सन्तान उत्पादन गरिन्छ । यस भन्दा अझ विकसित अर्को विधि हो बिरुवाको कुनै एक अङ्ग वा भागलाई टिस्यूकल्चर विधिबाट सन्तान उत्पादन गर्नु । यो टिस्यूकल्चर प्रजनन विधि वनस्पतिबाट जन्तुमा परीक्षण गर्न थालिन्छ । सुरुमा गन्योला, साङ्ला, हुँदै भ्यागुतो, मूसो मा प्रयोग गरिँदै अन्त्यमा मानवमा नै सिधै प्रयोग गर्न थालिन्छ । सुरुमा अङ्ग प्रतिस्थापन परिक्षण सम्मसीमित हुन्छ । त्यसपछि, बिस्तारी बाझोपनको उपचार टेस्ट्युब बेबी प्रजनन प्रथा सुरु गरिन्छ । टेस्ट्यूब प्रजनन भन्दा पनि अझ अगाडी सन्तान उत्पादनको लागि पुरुष र महिलाको जरुरी नपर्ने विधि प्रयोग गर्न थालिन्छ । यो विधि भनेको कुनै अङ्ग वा कोषको क्रोमोजोमबाट डिएनए निकालेर सिधैँ क्लोनिङ्ग गरी प्रतिलिपि सन्तान जन्माउने उदेक लाग्दो विधि सुरु हुन्छ । तर यस्ता अत्याधुनिक समाजकोलागि चाहिने कुरालाई अनुसन्धान परीक्षण गर्न सबभन्दा अविकसितअझ
सङ्गलमा नै बस्ने मानव प्रजातिलाई छानिन्छ । यसरी परीक्षण गर्दा कैयन निर्दोष मानवहरूले ज्यान गुमाउछन् । यस्तो विकासको नाममा विनाश भएको मानव अधिकार विरूद्धको परीक्षण संयुक्त राष्ट्रले प्रतिबन्ध पनि लगाउन पर्छ । यसरी प्रविधिको विकासले सुख सुविधा ल्याए पनि अर्को पाटो आदिवासी जन समुदायको विनासको कारण बनेको जल्दो बल्दो विश्व समस्यालाई मध्य नजर राखेर लेखकले यो कथा यामा इमा न Z ६१९६ कथा लेख्नु भएको देखिन्छ । यो कथा इमा र हेनरी बीचको प्रेम प्रसङ्गबाट सुरु हुन्छ । इमा साच्चे राम्री छे । सुन्दरी, कलकलाउँदी हुन्छे । मानव वंश परिक्षण गर्ने क्रममा संसारको लोपोन्मुख जाति मध्य एक प्रतिनिधि हुन्छ हेनरी । अर्कोतिर, इमा क्लोनिङ गरिएकी यन्त्र मानव हुन्छे र उसँग योजना बद्ध माया पिर्ति लगाउँछे । विवाह पछि इमाले , थ्रीडि प्रिन्ट प्रक्रियाबाट दुई सन्तान जन्माउछे । उनिहरूको संसारमा बाउ, आमा, छोरा, छोरी कसैले पनि खाई रहने जरुरी पर्दैन । निश्चित समयावधिको लागि क्याप्सुल खाँदा पुग्छ । यसर्थ यस्ता आधारभूत आवश्यक्ता पुर्ति गर्न सङ्घर्षको जरुरी पनि पर्न छाड्छ । मानव प्रजाति लोप हुने खतराबाट सधैको लागि जोगिन्छ । परम्परावादी समाजमा हुने अपराधहरूमा पाठेघरको भ्रूण पहिचान र छोरी भए हत्या गर्ने, निसन्तानको उपचार गर्न विवाह वा जागिरको वहनामा लगी भाडाको कोख धारण गर्न लगाउनेआदि हुन् ।यस्ता अपराधहरू जब क्लोनिङ विधिद्वारा सन्तान उत्पादन गर्न थालिन्छ, स्वतः हराएर जान्छ । अबको अत्याधुनिक समाजमा प्राकृतिक मानवको यौन आवश्यकता, डमी नारी वा यौन पुतलीहरूबाट प्राप्त गर्न पर्ने, पुरुष र महिला दुई जाति मात्र बाँकी रहने, धार्मिक र जातीय लडाइ सधैँको लागि अन्त्य हुने, खाद्य वस्तुको आवश्यकता नपर्ने, क्लोनिङ ठिमाहा मानवको कार्यक्षेत्र बेड रुमबाट प्रयोगशाला सम्म मात्र हुने आदि फ्यान्टासी जस्ता वाक्यहरू प्रस्तुत गर्नु भएको छ । ‘जहा पुग्दैन रवि, त्यहाँ पुग्छ कवि’ भने झैँ केही पुस्ता पछि हुने मानव चाल चलन लेखकले अहिलै भविष्यवाणी गरेका छन् । यसरी लेखकले बडो रमाइलो पाराले यो कथा हिजो, आज र भोलिका आविष्कारहरुलेकल्याणकारी वा संहारकारी कस्तो भूमिका खेल्यो वा खेल्दैछ वा खेल्ला भन्ने तुलनात्मक सम्भावनाहरू प्रस्तुत गरिएका छन् ।
यसैगरी अन्य कथाहरू क्रमशः ‘रुमलिएका क्षणहरू’मा मन नमिल्दा पारिवारिक सङ्कट आइ आफ्नी स्वास्नी खलासीसँग भाग्न राम्रो ठानिए प्रसङ्ग छ भने कथा ‘बिटुलिएका सपना’मा किशोरी मनको लहडहरू कति बेगवान हुन्छन् भन्ने कुरा देखाइएको छ । अन्धविश्वासले समाजमा कस्तो असर पार्छ भन्ने कुरा ‘यात्रामा किचकन्या’ भन्ने कथामा देखाइएकोछ भने जिम्मेवारीपूर्ण स्थानमा बस्दा तर्क वितर्क भइ निर्दोष आँखाकै अगाडी अन्यायमा रेको हेर्नु पर्ने बाध्यता’मलाइ माफ गर’ भन्ने कथामा छ । यसैगरी, ‘हराएको सूचना’ र ‘संत्राश’ भन्ने कथाहरूमामाओवादी युद्ध कालमा सेना र लडाकु बीचको द्वन्दले समाजमा फैलिएकोआतङ्क बारे प्रकाश पारिएको छ । अर्काको पसिनामा बाचेको शोषक सधैँ विलासी हुने तर अनवरत परिश्रम गरेर खाने श्रमिक जन्मे देखि मर्ने बेलासम्म उस्तै रहने नियती बारे ‘फुटपाथतिर हराउदा’मा उल्लेख गरिएको छ भने ‘वातावरण भित्र ढुन्मुनिदा’मा नाटकमा झैँ दृश्यहरुको बदलिदो स्वरुप प्रस्तुत गरी कथालाई दृश्यात्मक पद्धतिमा पुर्याइएको छ । एवम् क्रमले
भ्रष्टचारी व्यवशायीहरू समाजमा मात्र मोज-मस्ती गर्ने होइन राजनैतिक पार्टी भित्र पनि नव प्रवेशी वा चैते नेता भइ उस्तै हालीमुहाली गर्छ भन्ने तीतो सत्य ‘आलु गुट र भालु गुट’ कथामा व्यङ्गात्मक तरिकाले प्रस्तुत गर्नु भएको छ ।
समग्रमा यस पुस्तकमा जम्मा १६ वटा कथाहरू रहेछन् । ती कथाहरू सबै देश काल परिस्थितिमा घटेका वास्तविक घटनाहरूलाई आधार बनाएर लेखिएका कुरा पढ्दा प्रस्ट हुन्छन् । समाजशास्त्र देखि मानवशास्त्र सम्म, अन्धविश्वास देखि विज्ञान र प्रविधिसम्म, मिथक देखि मनोविज्ञानसम्म, सामन्तवाददेखि पूजिवादसम्म, परिवारवाददेखि नारीवादसम्म साथै मनोरञ्जन देखि फ्यान्टासी सम्म आदि सबै पक्षलाई यस पुस्तकले समावेश गरेको छ । मलाई लाग्छ यो पुस्तक इमली रङ्गी बिरङ्गी फुलका थुँगाहरूले भरिएको एउटा डाली हो । यस इमलीको डालीमा अनुपम कथाहरूले भर्नु हुने साहित्यिक स्रष्टा श्री शारदा कोइरालाज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । यस्तै अन्य कृती तयार पार्ने दैनिकी कायम नै रहोस, तथा फेरी पनि यस्ता कृति पढ्न पाइ रहोस् भन्ने आशा सहित उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको हार्दिक शुभकामना!


भद्रपुर-१०, भद्रशिवा टोल

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 भाद्र, 2072

लेखकका अन्य रचनाहरु