दोसाँधको घाममा डुङ्गा चढेर तमोर खोलै खोला

- डा . के . आर . खम्बू

प्रसिद्ध साहित्यिक हस्ति पुण्यप्रसाद खरेल ज्यूद्वारा लिखित ‘दोसाँधको घाम’ भित्रका भावनाका डुङ्गा चढेर काबेली र तमोरको दोभान हुँदैकहिले वल्लो किनार कहिले पल्लो किनार हेलिँदै र बग्दै त्रिवेणी पुग्दा झसङ्ग भइन्छ । त्यहाँ पुगिन्जेलमा तम्मरको तरङ्गले कैयौँ पल्ट मुटु हल्लाउँछ । छालले निथ्रुक्क भिज्दा मन खल्लो हुन्छ । अनि सम्झिन्छु, यो पुस्तकको हरेक पन्नाहरू सजीव चलचित्रको बद्लि रहने दृश्यहरू हुन; जसले कहिले रुवाउँछ त कहिले हँसाउँछ ।‘
त्यसपछि मलाई लाग्छ, स्रष्टा खरेलज्यूलाई यस्तो भावना र कर्तव्यले भरिएको साहित्य सिर्जना गर्नुभएकोमा कुन शब्दमा बधाइ दिउँ ? अनि एउटा वास्तविक धरातलमा आधारित क्रान्तिकारी इतिहास र सामाजिक जनजीवनको प्रतिबिम्ब उतार्नुभएकोमा कति पटक अभिवादन गरूँ !
जुहीको करिब एक हप्ते साहित्यिक यात्रामा विभिन्न साहित्रय र साहित्यकारहरू बारे चर्चा चलेका बेला यो उपन्यास पनि खुब चर्चामा आएको थियो । विशेषगरी, यस पुस्तकमा लेखकले निकै सरल र सहज तरिकाले तत्कालीन निर्दलीय पञ्चायती अवस्थालाई जस्ताको तस्तै साहित्यिक रूपमा वर्णन गर्नु भएको छ भन्ने कुरा भएको थियो । तसर्थ जब भ्रमण सकी भद्रपुर फर्किन्छ, तब उक्त पुस्तक पढ्न मनमा औडाहा चलेको कुरा शुभलाई कहन्छु । उनीपनि मेरो इच्छा बुझेर त्यो पुस्तक खोजेर ल्याउने बचन दिन्छिन् । म ढुक्क हुन्छु ।
लेखकसँगको सामिप्यता म मेची क्याम्पसमा आएपछिको हो । उहाँका लेख रचनाहरू पुस्तक तथा पत्रपत्रिकाहरूमा प्रकाशित भैरहन्थ्ये । त्यसबेला पार्टीका विशेष प्रशिक्षणहरूमा उहाँसँग भेट पनि हुन्थ्यो, हात पनि मिलाइन्थ्यो, भलाकुसारी पनि गरिन्थ्यो, बस त्यति नै । तर साहित्य सम्बन्धमा कुराकानी भएको थाहा छैन । यो पुस्तक निकै समय खोजे पछि भेटाएर ल्याइन् र आज पढेर पनि सिध्याइयो । समयमा नै पढ्न नपाएकोमा ठूलो पश्चाताप पनि लाग्यो । ढिलो भए पनि आज पढी सिध्याएकोमा आफू सन्तुष्ट भएँ । यति राम्रो भावनालाई समेटेर तयार पार्नुभएकोमा उहाँप्रति झन् सम्मान जागेर आयो । उहाँलाई सलाम ठोक्न मन लाग्यो, अभिवादन गर्न मन लाग्यो । उहाँको पुस्तक सुन्न थालेपछि सुनेको सुनेकै भएछु । तर म त सुन्ने मात्र थिएँ, तर पढेर सुनाउने काम शुभले गरिन् । उनी पनि साहित्यप्रति चाख राख्ने भएकीले एकोहोरिएर पढ्न थालिन् । म सुनेको सुनेकै भएँ । यो काम दुई दिनसम्म लगातार चल्यो र सकियो ।
यसलाई पढिसकेपछि केही लेख्न मन लाग्यो ।
पुस्तकको पहिलो खण्डमा ताप्लेजुङको कावेली र तम्मरबिचको प्राकृतिक दृश्यको वर्णनभित्र रमाइयो । पहाडी भू–स्वरूप, खोलानाला, मूल, जलाधार, छहरा, छाँङा, गाउँघर आदिको सजीव चित्रण पाइयो । लेखकले उपन्यासको पृष्ठभूमिलाई ताप्लेजुङको दक्षिणपट्टि कावेलीदेखि उत्तरपट्टि अवस्थित एक सुन्दर पहाडी गाउँ, थेचम्बुलाई लिनु भएको छ । यो कुरा भौगोलिक अवस्थितिलाई त्यहाँबाट चारैतिर पर्ने अग्लाअग्ला पहाडी श्रृङ्खलालाई सङ्केत गरेर प्रष्ट पार्नुभएको छ । यसभित्रका पात्रहरू एउटा कालखण्डका चरित्रहरूको प्रतिनिधित्व गर्छन् । मुख्य पात्र गणेशकुमार हुन् । अन्य पात्रहरूमा शशी लिम्बु, प्रदीप शर्मा, तिलहाङ, कुलराज आदि पुरुष पात्र हुन् भने सकुन अथवा सकुन्तला लिम्बु, ओमु अथवा ओमकुमारी गुरुङ नारीपात्र हुन् । यसै गरी परिवार जनमा गणेशकी एक जना दिदी, एक जना बहिनी, एक जना दाजु, एक कान्छो भाइ, बुबा (बाक्थरे जेठा) आमा आदि हुन् । एक आदर्श राजनीतिक पात्रको रूपमा राजेश देखिन्छन् ।
उपन्यासमा गणेशको बाल्यावस्थादेखि युवा अवस्थाको उत्तरार्धसम्मको मनोवैज्ञानिक, सामाजिक तथा राजनीतिक अवस्थालाई सूक्ष्मसँग वर्णन गरिएको छ । एक पुस्ताबाट अर्को पुस्तासँग हुने प्रतिस्पर्धा अनि वर्तमान परिवर्तन वैचारिक रूपमा उल्लेख गर्नुभएको छ । गणेशको बाल्यावस्था शायद संसदीय व्यवस्थाको अन्त्यतिर र पन्चायत व्यवस्थाको सुरुतिर पर्छ होला । उनको युवा अवस्थामा क्रमश: झापा आन्दोलन ३५/३६को विद्यार्थी आन्दोलन, जनमतसंग्रह, तथा ४५/४६को जनआन्दोलन पर्छ । यो आन्दोलन देशभरि आ–आफ्ना ठाउँमा सशक्त रूपमा चलेको थियो । उपन्यासको प्रौढ अथवा बृद्ध अवस्थाको प्रतिनिधित्व पिता पुस्ताले गरेको छ । गणेशको मश्तिष्कमा परेको वैचारिक द्वन्द्व र विकास गुरुको पाठशालाबाट शुरु हुन्छ । गाउँको पाठशाला छिचोलेपछि जेठा दाजुसँग स्कुल जान्छन् । दाजुसँग जान पाएकोमा स्कुले जिन्दगीमा नयाँ वातावरणले पार्ने असरलाई सहजीकरण गरेको देखिन्छ । आँखा खोल्न बिद्यालय जानुपर्ने रहेछ भन्ने मनोविज्ञान बोकेका गणेशले हरेक कुरालाई बु‰न आतुर भएको देखिन्छ । उनको तीखो बुद्धिले गर्दा सहपाठीहरूलाई उछिन्दै जानु उनको मनोविज्ञान दोब्बर बढेको देखिन्छ ।
उनको स्कुले जीवनको पहिलो अव्यक्त प्रेम सहपाठी शकुनसँग भएको प्रसङ्ग चाखलाग्दो छ । रबर उफ्रेर गालामा लाग्दाको प्रसङ्गदेखि एसएलसी पास गरेसम्म पनि अगाध प्रेम रहेको देखिन्छ । तर त्यो एकोहोरो प्रेम झल्किन्छ । यहाँनेर मैले प्रशिद्ध रुसी साहित्यकार पुस्किनको “लाई ...“ भन्ने कवितालाई सम्झें । यो कविता पुस्किनले एउटी महिलालाई दुई पल्ट हेर्दैमा मोहित भएर लेखेका थिए । तर ती महिलाले पुस्किनले आफूलाई माया गरेको पुस्किन बाँचुन्जेल थाहै पाइनन् । दिसेम्बरवादी आन्दोलन (जारविरोधी बुद्धिजीवीहरूको आन्दोलन)को समर्थक भएको थाहा पाएपछि जारले २६ वर्षको युवाअवस्थामा उनको हत्या गर्यो । उनको मृत्युपछि अन्नाक्रेनले आफूलाई माया गरेको थाहा पाइन् । तिनको मृत्युपछि उनको कविता तिनको समाधिको शीलामा लेखिएको आज पनि लेनिनग्रादमा हेर्न पाइन्छ भन्ने कुरा मेरा पुराना साथी जंगब चौहानले बताएका थिए । यो प्रसङ्ग ठ्याक्कै नमिले पनि शकुनशकुनको बीचमा अन्तरजातीय प्रेम भएको देखाउनु तथा ती दुईको बीचमा सफल हुन नसके पनि अर्को अन्तरजातीय महिला ओमुसँग सफल भएको देखाउनु भएको छ । यस उपन्यासमा ओमुुको आदर्शलाई पनि कदर गर्नु नै पर्छ । तिनी सुनैसुनको पलङमा सुत्न चाहिनन् । तिनले विदेशी डलर र पौंडको सिरक बनाएर ओड्न चाहिनन् । बरु, सम्पत्तिकी मालिक्नी होइन तर आफ्नै विचारधारा, योग्यता र पेशासँग मिल्दोजुल्दो संघर्षशील युवासँग विवाह गरेर स्वतन्त्र भई बाँच्न चाहिन् । जातिपातीको कुनै सरोकार राखिनन् । ब्राह्मण पुत्रसँग बिवाह गरी नौलो परिवारसँग घुलमिल हुन राजी भईन् । के यो पनि त्यागको भावना होइन त ? त्यो दशकमा ओमु र गणेशको जस्तो भूमिगत विवाह प्रगतिशील तथा वामपन्थी पार्टी–पङ्क्तिमा काम गर्नेहरूमा प्रचलन थियो भन्ने देखाउनु यस उपन्यासको अर्को विषयवस्तु हो । यसले हाम्रो जस्तो बहुजातीय देशमा साम्प्रदायिक सद्भावना स्थापना गर्ने पाठ सिकाएको छ । जातीय द्वन्द्वलाई युवाहरूको अपसी प्रेम र सद्भावले शिथिल बनाउन धेरै सहयोग गर्नेछ । सामाजीकरण हुनु भन्नु नै यसैगरी एउटा जाति अर्को जातिसँग डिफ्यूज (सरलबाट सघनतिर मिल्ने प्रक्रिया) सम्मिलन हुँदै एउटै वर्ग र समाज बन्ने प्रक्रिया पनि हो । कुसंस्कार, कुरीति र अन्धविश्वासको जालो च्यातेर सबै प्रकारको भेदभाव तथा छुवाछूत रहित सभ्य वैज्ञानिक समाजको निर्माण गर्नु पनि हो ।
यस उपन्यासमा बाक्थरे बा–आमाको पनि कम आदर्श भूमिका देखिंदैन ! उनीहरू निम्न मध्यम वर्गीय परिवारका किसान थिए । उनीहरू पहिले बसेको स्थानबाट स्थानान्तरण भएको घटना बडो दु:ख लाग्दो छ । तीन भाइ छोरा र दुई बहिनी छोरीका पिता, बाक्थरे बा दैनिक घरायसी समस्याले ब्यस्त भएका हुन्छन् । जेठो छोरो र जेठी छोरीको बिवाह पश्चात् दुबै आफूसँग हुँदैनन् । एउटी धर्मपत्नी, माइलो छोरो गणेश, कान्छी छोरी र कान्छो छोरो गरी पाँच जना अहिलेको बाक्थरे खायलमा हुन्छन् । त्यो घरको हरेक साँझको खाना खाइसकेपछि पारिवारिक चुलो बैठक बसी घर सल्लाह गर्ने चलन मननयोग्य छ । यहाँनेर पनि गोर्कीको आमा उपन्यासको पनरावृत्ति भएको जस्तै लाग्छ । किनभने जसरी आमाले आफ्नो छोरो पावेलको राजनीतिवारे शुरुमा पटक्कै मन पराउँदैन थिइन्, बरु विरोध मात्र गर्थिन् । तर छोरालाई क्रान्तिका कठिन दिनमा बचाउँदै जान्थिन् । विस्तारै छोराको मायाले भय र त्रासबाट बचाउन सहयोगी हुँदै जाँदा पछि सच्चा कम्नीस्ट भएको थाहै पाउँदिनन् । त्यसैगरी गणेशको पिता पनि छोराको राजनैतिक विचारधारा पटक्कै मन पराउँदैन थे । आमा मौन थिइन् । भाइ र बैनीलाई वास्ता थिएन । तिनीहरूको त स्कुल जाने मात्र काम थियो । तर रहँदै बस्तै जाँदा छोराको चित्त नदुखाउने सोचले बाबुआमा विरोध गर्न छोड्छन् । गणेश र राजेशको घनिष्टतासँगै घरको वातावरण पनि परिवर्तन भएको देखिन्छ । विरोध गर्ने बुबा परिवर्तन हुन थाल्छन् । आमा खुलेरै सहयोग गर्छिन् । छोरो जेल गएको, राजनीतिक पार्टीमा लागेको अप्रत्यक्ष रूपमा पचाएकै देखिन्छ । जात नमिल्ने बुहारीलाई बिस्तारै चुलामा चलाउन पनि हिच्किचाउँदैनन् । राजेशको मृत्युमा सबभन्दा शोकाकुल परिवार त्यही नै हुन्छ । यसरी त्यो घरपरिवार थाहै नपाई क्रान्तिकारी समर्थक परिवार भैसकेको हुन्छ ।
अब गणेशको राजनीतिक धरातलतिर जाउँ । तीक्ष्ण बुद्धि र कोरा राजनीतिक विचारधारा बोकेर स्कुल पुगेका गणेशकुमार तत्कालीन तानाशाही पन्चायती व्यवस्थाको बर्बर दमन वारे केही महसुस गरे जस्तो त देखिन्छन्, तर त्यसको विरोध गर्न सकिने कुरामा कल्पना पनि गर्न सकेको हुँदैन । घरायसी समस्याले पढाइको अन्तिम लक्ष्य कहाँसम्म हुने हो उनलाई थाहा हुँदैन । विद्यालयमा शशी लिम्बू हेडमास्टर हुनु र माथिल्लो कक्षा खोलिँदै जानु, उनको योग्यता बढाउँदै जाने अवसर देखिन्छ । शशशीर प्रगतिशील विचारको पनि हुनु र तत्कालीन झापा आन्दोलनको प्रभाव त्यहाँसम्म पनि पुग्नु, तथा भित्रभित्रै राजनीतिक वातावरण तयार हुनु उनको लागि वैचारिक पक्ष खारिनु थियो । गाउँमा भएको अन्याय अत्याचारको विरोध गर्नुपर्छ भन्नेकुरा राम्रो हो भन्नेसम्म बु‰न पुगेको देखिन्छ गणेशको चेतना त्यतिबेला । एसएलसी परीक्षा दिन गाउँबाट धरान जाँदाको वर्णन अनि रमझम र स्वार्थी किशोरीहरूको वर्णन कम रोमान्टिक छैन । धरानबाट फर्केर आइ आफ्नै स्कुलमा पढाउन थाल्छन् । केही समयपछि पढाउन छाडेर आइए पढ्न विराटनगर मोरङ क्याम्पसमा आउँछन् । अध्ययनको क्रममा नेपाल–भारत बीचको असमान पारवहन सन्धीको विरोधमा निकालिएको जुलुसमा सहभागी हुँदा केही राजनीति वारे सचेत हुनुपर्ने कुरा बु‰न पुग्छन् । तत्कालीन स्वतन्त्र विद्यार्थी युनियनको चुनाउमा प्रगतिशील विद्याथीर्ै र प्रजातान्त्रिक विद्यार्थी समूहबीच प्रतिस्पर्धा हुन्छ । आफ्नो मन प्रगतिशील पक्षधर भएता पनि एक जना प्रजातान्त्रिक पक्षधर उम्मेदवारलाई मतदान गरेको देख्ता वैचारिक पक्षमा त्यतिबेलासम्म ठोस ज्ञान प्राप्त नगरेको बुझिन्छ । तर पढाइ सकेर फेरि आफू पढेकै स्कुलमा शिक्षक भएदेखि भने, वैचारिक द्वद्वलाई बु‰दै सच्चा कम्नीस्ट समर्थक शिक्षक बन्न पुगेको देखिन्छ । यसको पूर्वाधार तयार गर्न प्रधानाध्यापक शशी लिम्बु र अर्का एक शिक्षक प्रदीप सर्माको महत्त्वपूर्ण भूमिका देखिन्छ ।
सोही वातावरणमा अध्यापन गर्दै जाँदा जब एक दिन गोप्य बैठकमा बोलाइन्छ अनि एक जना भूमिगत नेताले झापा आन्दोलन वारे समीक्षा तीन बुँदामा गर्न लगाइन्छ अनि मात्र उनी थाहै नपाईकन तत्कालीन पार्टी सङ्गठनसँग सम्पर्क भएको थाहा लाग्छ । त्यस भूमिगत वैठकमा उपस्थित नेताको उपनाम राजेश थियो । गणेश त्यसरी कमरेड राजेशको सम्पर्कमा आएपछि मात्र गणेशको वैचारिक द्वन्द्वले वास्तविक धरातललाई छुन्छ । बिस्तारै ऊ पार्टीको सदस्य बन्छ र औपचारिक रूपमा पार्टीको जिम्मेवारी बहन गर्छ । झन् पन्चायती दमन तीब्र हुँदै जाँदा क्रान्तिकारी नक्सलाईट दमन गर्ने वहानामा गाउँघरको वातावरण भयावह बन्छ । फावाखोलामा भएको हत्या प्रकरणमा फँसाउन जब शशी, गणेश र प्रदीपलाई पुलिसले अमिनीको हिरासतमा राख्छ, तब अझ क्रान्तिकारी लक्ष्यको निर्धारण सुरु हुन्छ । शशी त्यो धारबाट विचलित हुन्छ तर गणेश झन् स्पातिलो भई पार्टी काममा सशक्त हुन्छ । …क्रान्ति भनेको रिले रेस जस्तो हो, निश्चित खेलाडी निश्चित बिन्दुसम्म मात्र पुग्छ । अनि अर्कोले निरन्तरता दिनुपर्छ,, भन्ने राजेशको भनाइ उसको लागि सङ्गठन सन्चालन गर्ने गाइडलाइन बन्छ । जिम्मेवारी बढ्दै जाँदा ऊ जिल्ला कमिटि सम्म पुग्छ । पन्चायती दमनको चरमचुलीको अवस्था थियो त्यो । सुखानीका सहिदहरू (नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, विरेन राजवन्शी आदि) तथा इलामका सहिद रत्नकुमार वान्तवाहरूको वलिदानले देशमा नयाँ परिवर्तनको वातावरण सृजना भैरहेको थियो । एक दिन राती लामो छलफलपछि मध्यरातमा उनले राजेशलाई विदाइ गर्छन् । त्यसपछि राजेशसँग उनको कहिल्यै भेट हुँदैन । केही समयपछि आफ्नै सहयात्री मित्रबाट एउटा अप्रिय खवर सुन्छन् राजेशको हत्याको । उनलाई हुनसम्मको आघात पर्छ । उनका घरका सबै परिवार मात्र होइन गाउँघर, जिल्ला सबै शोकाकुल बन्छन् । पार्टीले राजेशलाई सहिद घोषणा गर्छ, उनको अपूरो क्रान्तिलाई पुरा गर्ने प्रण सबैले गर्छन् । गणेश झन् गम्भीर हुँदै जान्छ । ऊ एक जना तर जिम्मेवारी धेरै थपिँदै जान्छ । विद्यालयमा पढाउने, घरायसी काम देखरेख गर्ने, वैवाहिक जीवन हेर्ने, पार्टी सन्चालन गर्ने, शिक्षक संगठनको अध्यक्षका हैसियतको काम सम्हाल्ने आदिआदि । पार्टीप्रतिको निष्ठा र प्रतिवद्धताले गर्दा राजेशको स्थानमा ऊनी जिल्ला पार्टीको सचिव बन्छन् । अब जिल्लाको नेतृत्व गणेशको हातमा आउँछ । पन्चायती व्यवस्थाको विरोध देशव्यापी रूपमा बढेर चरम अवस्थामा आइपुग्छ । ०३५/३६को विद्यार्थी आन्दोलनले निकै गतिलो धक्का दिएकाले जनमत संग्रहको घोषणा गरेर पंचायतलाई जिताई काम्रो बाँधेर हिडाउने गरिँदै भएपनि ०४५/०४६ को आन्दोलनले अर्को दरो धक्का दिन्छ । फलस्वरूप पार्टीमाथिको प्रतिबन्ध तथा जनसंगठन संचालन गर्न नपाउने प्रतिबन्ध हट्छ । जताततै विजय जुलुसहरू निस्कन्छन् । ठुलाठुला आमसभाहरू हुन्छन् । ताप्लेजुङ्को रङ्गशालामा पनि ठुलो आमसभा हुन्छ । त्यहाँ सहिद राजेशका पिता चहकनाथको सम्मान गर्ने कार्यक्रम हुन्छ । त्यहाँ अविर, माला, दोसल्ला तथा खाममा राखिएको केही रूपैयाँले उनको सम्मान गरिन्छ । सहिद पिताले खामको पैसा स्वीकार्नु भनेको आफ्नो छोराको मूल्य लिएर छोराको अपमान गर्नु जस्तो ठानेर रूपैयाँ चाहिँ आयोजकलाई फिर्
ता गर्छन् । लेखक पुण्यप्रसाद खरेलले त्यो परिवेशको भावविभोर हुँदै मुटुको कुनाकुनालाई हल्लाउने गरी लेख्नुभएको छ । उपन्यास टुङ्गिने बेलामा सायदै पाठकले मन थाम्न सक्लान् !
उपन्यासकार खरेलको यो कृति नेपालको जन संघर्षको पृष्ठभूमिदेखि पहिलो जनआन्दोलन सम्मको वास्तविक तथ्यमा आधारित दस्तावेज जस्तै भएकोले अमर छ । सबै घटनाक्रमहरू वास्तविक भए पनि पात्रहरू काल्पनिक हुन् । त्यसैले यो उपन्यास भएछ । नभए यो इतिहास हुन्थ्यो होला । यसभित्र धेरै कुरा लुकेका छन् । ती कुराहरू वारे जान्न बु‰न धेरैजसो पाठकहरूलाई जिज्ञासा जाग्छ । घटनाक्रमहरू सत्य थिए । तर के ती भुमिका खेल्ने पात्रहरू औपन्यासिक उपनामहरू जस्तै काल्पनिक होलान् ? वा राजेशवाहेक अन्य पात्रहरू साँचो नाममा अन्य कतै प्रकट हुन सक्लान् ? आदि आदि । जे होस्, रहस्यमै छन् र त उपन्यास बन्यो । लेखकका …पुनर्वहाली (कथा सङ्ग्रह), मताने साइँलो (कथा सङ्ग्रह), द्वन्द्व र धूवाँ(कथा सङ्ग्रह), तथा …घुमीफिरी रुम्जैटार (यात्रा निबन्ध), …रोकिन्न कावेली, (कविता सङालो) जस्ता अन्य कृतिहरू पनि छन् । तीमध्ये कविता संग्रह …रोकिन्न कावेली, पढेको छु । …त्रिवेणी आमा, अर्को उपन्यास साझा प्रकाशनले प्रकाशित गरेको छ अरे, धेरैको मुखबाट सुनेको छु । तर पढ्न पाएको छुइन । मैले पढेका पुस्तकहरूमध्ये यो उपन्यास …दोसाँधको घाम,लाई मैले धेरै मन पराएँ । यहाँ वर्णन गरिएका घटनाक्रमहरूसँग म सम्वेदनशील बनेको छु । हुनसक्छ कहीं कतै यस्तै आँधी–हुरीमा म पनि पात भएर पछ्याएको थिएँ कि ? जस्तो लाग्छ मलाई । समग्रमा यो उपन्यास कठोर निरङ्कुश दमनको विरोधमा उठेको संघर्षको जिउँदो लेखोट हो । यो उपन्यासका एक आदर्श पात्र …राजेश, त्यो कालो निरङ्कुश कालखण्ड र राजनीतिक व्यवस्था परिवर्तनको दोसाँधको घाम हुन सफल हुनु भएको छ । यसर्थ यो …दोसाँधको घाम, शीर्षक सार्थक भएको मलाई लाग्छ ।
लेखकबाट यस्तै राम्राराम्रा अन्य कृतिहरूको पनि म अपेक्षा गर्दछु । अन्तमा पुस्तक वारे तीन हरफे कविता कोर्दै लेखकलाई पुन: वधाइ तथा सुभकामना दिन चाहन्छु-
“सजीव चित्र
दो साँधको घाममा
जन सङ्घर्ष!”
भद्रपुर–५, झापा

(कृतज्ञता- यो पुस्तक मेरो मन पर्ने पुस्तक मध्य पहिलो पुस्तक हो । यो पढेपछि यस बारे केही लेख्ने मन लाग्यो र रोमन अङ्ग्रेजीमा भएपनि जबरजस्त लेख्न थालेँ । संयोगजस्तै यस्तै बेला बरिष्ठ इन्जिनियर हिमप्रसाद गौतमज्यू खानेपानीको नव निर्मित ट्याङ्की उद्घाटन गर्ने क्रममा विर्तामोड, झापा आउनु हुन्छ । सोही अवसरमा केही समय निकाली मेरो घरमा आइ मेरो दृष्टी अपाङ्गता बारे बुझ्नु हुन्छ । जब मेरो छटपटिएको अवस्था देख्नु हुन्छ तव मलाई सान्त्वना दिँदै उहाँले आफै खोज गरी निर्माण गर्नु भएको यन्त्र प्राण (सफ्टवेर) ‘दृष्टिवाणी’मेरो कम्प्युटरमा भित्राइ दिनु भई प्रयोग गर्ने विधि पनि सिकाउनु हुन्छ । सोही दिन देखि मेरो युनिकोड वर्णमालाका गुरु हिम सरले भने अनुसार अभ्यास गर्दै जान्छु । सोही ‘दृष्टिवाणी प्रयोग गरी सर्ब प्रथम तयार पारेको यो आलेख हो । यसर्थ यसमा थुप्रै व्याकरणीय अशुद्धीहरू थिए । ती अशुद्धिहरूलाई सम्पादन गर्न सहयोग दिनुहुने सहप्राध्यापक होम सुवेदी हुनु हुन्छ भने यसको अन्तिम आलेखलाई लेखक स्वयम्ले पनि हेरी दिनु भएको छ । यसर्थ उहाँहरू तीनै जनालाई सर्वप्रथम हार्दिक धन्यवाद दिन चाहन्छु । यसैगरी, यो पुस्तक समीक्षालाई प्रकाशित हुने मौका दिनुहुने ‘समकालीन साहित्यिक प्रतिष्ठानका सम्पादक कृष्ण बजगाईज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु ।) भदौ ३०)२०७२

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु