जुत्ता र मोजाहरू

- सन्तोष लामिछाने

भोक र भित्ताहरूको मात्र किन

आज

जुत्ता र मोजाहरूको कथा पनि सुन



जुत्ता जसले कुल्चन्छ

हर चिज चाट्न बाध्य हुन्छ

मोजा जो प्रायः थुनिन्छ, निसासिन्छ

हो आज तिनै

जुत्ता अनि मोजाका कुरा गर्दैछु



जुत्ता सहयात्री हो

शान पनि हो

जुत्ता सार्है खट्छ

दौडन्छ बारम्बार

जुत्ताले जोगाउँछ

काँडाहरू पनि आफैले कुल्चेर



मोजा आफू मैलिएर

खुट्टालाई सफा राख्छ

आफू निसास्सिएर पनि

आफ्नो कार्य पूरा गर्छ

खुट्टा र जुत्ताको मिलन

सहज बनाउँछ



के तिमी बुझ्छौ , जुत्ताको मर्म ,

मोजाको मर्म !



तिमी त

घोट्छौ घोट्छौ

अनि

मिल्काइदिन्छौ जुत्ता

जथाभावी कुल्चिदिन्छौ

तिम्रो के जान्छ ?

बाहिरै थन्क्याइदिन्छौ जुत्ता



तिमी लाउँछौ, लाउँछौ

अनि प्वाल परेपछि फ्याँकिदिन्छौ मोजा

दिनहुँ जुत्ताभित्र निर्मम कोचिराखेर

गनाउँने बनाइदिन्छौ

तिमीलाई के मतलव छ र

सार्है भयो भने जुत्ता नै खोल्दैनौ



सोच त !

के तिमी जुत्ता जस्तो हुन सक्छौ ?

के तिमी मोजा जस्तो हुन सक्छौ ?

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु