चामल खानेहरू र चौलानी पिउनेहरूमा जीवनबोध र सकारात्मक सोचका कविता छन्

- डा. रामप्रसाद ज्ञवाली

जनमत प्रकाशन काभ्रेबाट प्रकाशित सन्तोष लामिछानेका कविताहरूको कम्प्युटराइज्ड सामग्री हात परेपछि सबैभन्दा पहिले मेरा आँखा गए किताबको नाममा— ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ । शीर्षक पढ्नासाथ मेरो मनमा दुई वर्गका बिम्बहरू उपस्थित भए— हुनेखाने वर्ग र हुँदा खाने वर्ग । हुनेखाने वर्गको बिम्बमा चामल खानेहरू र हुँदा खाने वर्गको बिम्बमा चौलानी पिउनेहरूलाई देखेँ । यी बिम्बले प्रतीकात्मक अर्थ सम्प्रेषण गरे जस्तो लाग्योस नेपाली समाजको वर्गीय स्वरूपतिर सङ्केत गरे जस्तो लाग्यो । कविता सङ्ग्रहको शीर्षक ध्वन्यात्मक प्रकृतिको हुनु उचित नै हो किनभने साहित्यका अन्य विधाको भाषाशैलीभन्दा कविताको भाषाशैली अलि बेग्लै हुन्छ— लयात्मक, बिम्बात्मक, प्रतीकात्मक, आलङ्कारिक र ध्वन्यात्मक । नामकरणमा मैले त्यस्तै भाषाशैली भेटेँ । त्यसैले कविताहरू पढ्न बाँकी नै भए पनि प्रारम्भिक अनुमान गरेँ— यसभित्रका कविताहरू वर्गीय भिन्नतालाई सम्बोधन गर्ने खालक होलान्स कलात्मक भाषाशैलीमा तयार पारिएका होलान् ।
विषयगत विविधता र सम्प्रेषणगत कठिनता पाएँ
युवाकवि सन्तोषका कविताहरू विषय चयनका विविध छन् भने सम्प्रेषणीयताका दृष्टिले जटिल प्रकृतिका छन् । ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ कविता सङ्ग्रहका कविताहरू पढ्दै जाँदा मलाई केही बुझेँ बुझेँ जस्तो लाग्दै गयो भने केही बुझिनँ बुझिनँ जस्तो पनि लाग्दै गयो । जब ‘जुत्ता र मोजाहरू’ शीर्षकको कविता पढेँ तब मात्र मभित्रको पाठक तृप्त भयो । यसमा भावसम्पन्न पद पदावलीको कलात्मक संयोजन छ । वास्तवमा उत्कृष्ट कविताको रचना मन र मस्तिष्क दुवै मिलेर गर्छन् । यस कविताको रचना त्यसरी नै भएको पाएँ । यस कवितामा व्यक्त भएको विचार मलाई मेरै बुझाइअनुरूपको लाग्योस मेरै विचारधाराको लाग्यो । यद्यपि कृतिको नामकरण ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ शीर्षकको कविताबाट गरिएको रहेछ तापनि मलाई लाग्यो— यस कृतिको नामकरणलाई सबैभन्दा बढी सार्थक ‘जुत्ता र मोजाहरू’ शीर्षकको कविताले बनाएको छ । मैले सबै कविताहरू रुचिपूर्वक नै पढेँ । केही सामान्य लागे, तिनले मनलाई छोएनन् । केही दुर्बोध्य लागेस तिनलाई राम्ररी बुझिनँ, नबुझेपछि तिनले पनि मन छुने कुरै भएन । केही राम्रा लागे, तिनले हृदयलाई स्पर्श गरे । मलाई लाग्छ— हृदयलाई स्पर्श गर्ने ‘जुत्ता र मोजाहरू’ जस्ता कविताहरू नै यस कविता सङ्ग्रहका उपलब्धि हुन्, यस्ता कविताले नै कविकर्मलाई सार्थक तुल्याउँछन् ।
‘चामल खानेहरू र चौलानी पिउनेहरू’ का कविताहरू पढिसकेपछि थाहा पाएँ— यो कृति विभिन्न विषयलाई ग्रहण गरेका कविताहरूको सङ्ग्रह हो । यसमा मूलतः सामाजिक, राजनीतिक तथा आर्थिक विषयका कविताहरू रहेका छन् भने केही सङ्ख्यामा प्रेम, पारिवारिक मोह, प्रकृति, प्राकृतिक वातारण र मानवतालाई विषय बनाइएका कविता छन् । केही कवितामा जीवन र समाजका बारेमा गम्भीर विमर्श गर्ने प्रयत्न गरिएको छ भने धेरैजसो कवितामा जीवनका जटिलताहरूको बोध गर्ने प्रयत्न गरिएको छ । तर पाठकले यी कविताको बोध र यिनमा गरिएको जीवनगत विश्लेषणलाई सहजै बुझ्न सक्दैन । त्यसैले यस सङ्ग्रहका कवितामा मैले विषयगत विविधता र सम्प्रेषणगत कठिनता पाएँ ।
जीवनबोध मुख्य उपलब्धि बनेको छ
जीवनका विभिन्न आयाम र जटिलताहरूको बोध यस सङ्ग्रहका कविताहरूको मुख्य विशेषता हो । यिनमा बाह्य यथार्थको पहिचान वस्तुपरक ढङ्गले गरिएको पाइन्छ भने ऐतिहासिक तथा दार्शनिक दृष्टिले यथार्थका कारणहरूको विश्लेषण चाहिँ सामान्य मात्र छ । जीवन र समाजमा देखिने विसङ्गत यथार्थतिर सङ्केत गर्दै विश्वभरि फैलिँदै गएको अराजकतालाई पनि केही कविताले विषय बनाएका छन् । कवि क्षणक्षणमा जोखिम मोल्न बाध्य जीवन स्थिति, पलपलमा युद्ध गर्न विवश जीवन यात्रा र बारम्बार जटिल परिस्थितिहरूको सामना गर्नुपर्ने कठिन अवस्थासँग परिचित देखिन्छन् । आधुनिकताले उत्पन्न गरेको पुस्ता पुस्ताबिचको दुरी र घट्दो आत्मीयताको ज्ञान पनि कविलाई छ । मौलिकता गुमाउँदै गएको मान्छे र ह्रासोन्मुख हुँदै गएको मानवता अनि यान्त्रिक भौतिकवादको सिकार बन्दै गएको समाजको बोध पनि कविमा छ भने केही कविताले उनलाई जिज्ञासु वा प्रश्नशील कविका रूपमा पनि चिनाउँछन् । यथार्थमा मान्छे के हो ? उसको जीवन के हो ? स्पष्ट उत्तर नपाउनाले कविमनमा अलमल छ । सोही अलमलले सम्प्रेषित कवि प्रकृति र जीवनप्रति प्रश्नशील बनेर प्रस्तुत हुन्छन् । तलको अभिव्यक्तिमा कविभित्रको यही अलमल प्रकट भएको देखिन्छ :
एउटा बालक जन्मेकै वेलामा
एउटा लास घाटतिर गइरहेछ । (खोज)
सन्तोष लामिछानेका कविताहरू विभिन्न अनुभूति र बहुल जीवनबोधका कविता हुन् । ‘कोलाहलमा हराएको आवाज’ निरन्तर पतनोन्मुख यात्रामा रहेको एउटा बस्ती देखेर चिन्ता व्यक्त गरिएको कविता हो । यसमा ह्रासोन्मुख मानवता, मृत्यून्मुख जीवन, विसङ्गतिउन्मुख समाज र पतनोन्मुख संस्कृतिको बोध गर्दै विपरीत दिशामा हिँडिरहेको जीवन र विकृत बन्दै गएको समाजमाथि व्यङ्ग्य गरिएको छ । भिडमा रहेर पनि मान्छे झन् झन् एक्लिँदै गएको बोध ‘एक्लो पथिक’ शीर्षकको कवितामा गरिएको छ । देशको काँचुली फेर्न भनी बारम्बार अनेक प्रयत्न भएका तर देशले कहिल्यै काँचुली फेर्न नसकेको बोध गर्दै रचिएको कविता ‘खेर गएका बलिदान’ मा नेपाली राजनीतिमा प्रजातन्त्रका अनेक अभ्यास भए पनि तिनले नेपाली जीवन र समाजमा रूपान्तरण हुन नसकेको तथा नेपाली जीवन मुक्त हुन नसकेको बोध गरिएको छ :
जनमकुण्डली धेरैपटक बने
बनाउन खोजिए
तर जननीको कायापलट भएन ।
‘चामल खानेहरू र चौलानी पिउनेहरू’ भित्रका केही कविताहरूमा सामाजिक तथा आर्थिक बन्धनहरूले निस्सासिएकाहरू तथा प्रताडनाहरूले छट्पटिएकाहरू मुक्तिको खोजमा भएको यथार्थबोध गरिएको छ । ‘मुक्तिको पर्खाइ’ लगायतका केही कवितामा यस प्रकृतिको बोध पाइन्छ । बाहिरबाट हेर्दा स्वतन्त्र जस्तो देखिने मान्छे भित्र भित्र परतन्त्रताले छट्पटिएको बोध कविले गरेका छन् । ‘कैदी’ लगायतका केही कवितामा आजको मान्छे अनेक अतृप्त चाहना, अपूर्ण स्वप्न, अनेक आदर्श, अनेक महत्त्वाकाङ्क्षा आदिको कैदी बनेर बाँचिरहेको बुझाइ प्रस्तुत गरिएको छ भने ‘भावना पोख्न नसक्दा’ शीर्षकको कवितामा इर्ष्या, द्वेष, घृणा, मोह, अहङ्कारबाट मुक्त हुनुपर्नेमा उल्टै मानिसलाई आदिम मनोवेगहरूले झन् झन् उकुसमुकुस बनाइरहेको बोध गरिएको छ । आदिम आवेगहरूको चापका कारण नै संसारमा र खास गरी मानव जीवनमा निःस्वार्थ भन्ने कुनै कुरा नभएको र जुन कुरा वा गुणलाई निःस्वार्थी भन्ने गरिन्छ, यथार्थमा ती पनि कुनै न कुनै रूपमा स्वार्थ नै भएको बोध यस्ता कवितामा व्यक्त गरिएको पाइन्छ । ‘अक्सिजन’ जस्ता केही कवितामा बाहिरबाट हेर्दा सामान्य लाग्ने तर जीवनका लागि मूल्यवान् रहेका सूक्ष्म कुराको उद्घाटन गरिएको छ भने ‘बहुरुपी मान्छे’ शीर्षकको कवितामा मान्छेका विभिन्न स्वरूपहरूको पहिचान गर्ने प्रयत्न गरिएको छ । त्यसैले जीवनबोध यस कविता सङ्ग्रहको मुख्य उपलब्धि बनेको छ ।
जीवन र समाजका बारेमा केही विमर्श पनि पाइन्छ
‘चामल खानेहरू र चौलानी पिउनेहरू’ भित्रका कविताहरूको अर्को महत्त्वपूर्ण पक्ष भनेको मान्छे र जीवनका बारेमा गर्न खोजिएको विमर्श हो । मान्छे के हो ? जीवन के हो ? भन्ने विषयमा कविले कतै जिज्ञासा व्यक्त गरेका छन् भने कतै आफ्नो बुझाइ प्रस्तुत गरेका छन् । निजी बुझाइ प्रस्तुत गरिएको अभिव्यक्तिमा कविको वैचारिकता मुखरित भएको छ । मान्छेको जीवन, उसको विचार र मानव समाज समयानकूल परिवर्तन भइरहन्छन् भन्ने बुझाइ व्यक्त गर्दै ‘परिवर्तन’ शीर्षकको कवितामा कवि लेख्छन् :
उसलाई अब थाहा छ
समय परिवर्तित भइरहन्छ
आकृतिहरू परिवर्तित भइरहन्छन्
अनि अनुभूतिहरू परिवर्तित भइरहन्छन्
ऊ त केवल
परिवर्तनको साक्षी बस्न सक्छ ।
यस सङ्ग्रहका कविताहरूमा एकातिर चारैतिर बढिरहेको विसङ्गतिलाई लिएर निराशा व्यक्त गरिएको छ भने अर्कातिर जीवन भनेको सार्थक रूपमा बाँच्नका लागि र केही राम्रो गर्नका लागि हो भन्दै आशावादी स्वर प्रस्तुत गरिएको छ । निराशावादी अनुभूति व्यक्त गरिएका कवितामा कविको कुण्ठा पनि अभिव्यक्त भएको छ । कुनै कुनै कवितामा ‘मान्छे त छ तर मानवता छैन’ भन्ने आशयको अभिव्यक्ति पाइन्छ जुन निराशावादी विचारको परिणाम देखिन्छ । आशावादी विचार व्यक्त गर्ने कविताहरूमा ‘परिवेश’, ‘खोट’ ‘देशको खबर’, ‘नववर्ष’, ‘तारा’ ‘ज्ञान’ लगायतका अनेक कविता छन् । ‘देशको खबर’ शीर्षकको कवितामा व्यक्त गरिएको तलको अभिव्यक्तिले आशावादी स्वरको प्रतिनिधित्व गर्छ :
म सम्भावनाका क्यानभासमा
आशा मिसाउँदै
रङहरू पोत्दै जान्छु
खबरहरू अनवरत रङ दिँदै जान्छन्
रङहरू बृहत् आभास दिँदै जान्छन्
परिवेशका बकसपत्रहरूले खबरहरू थप्दै जान्छन्
चित्रका खातहरू अग्लिँदै जान्छन् ।
आशावादी स्वर व्यक्त गरिएका कवितामा समाज र मानव मनका विकृति फाल्नुपर्ने सन्देश र फाल्न सकिने विश्वास पाइन्छ भने मान्छेको मानस वा अन्तर्यमा उज्यालो भर्नुपर्ने सन्देश र भर्न सकिने विश्वास पाइन्छ । यीमध्ये केही कविताले ज्ञानको आराधना गर्दै सिपको खोजीतर्फ पाठकलाई अभिप्रेरित गर्ने लक्ष्य लिएको देखिन्छ भने केही कविताले सकारात्मक सोचतर्फ अभिप्रेरित गर्न खोजेको पाइन्छ । ‘नववर्ष’ शीर्षकको कविताका निम्न लिखित पङ्क्तिहरूमा यस्तै सकारात्मक सोच पाइन्छ :
आशा छ अब आउने नववर्ष
समस्याहरू सुल्झाएर आउनेछ
घाउहरू नबल्झाई आउनेछ
म त्यो नववर्षको प्रतीक्षामा छु ।
यसै गरी ‘तारा’ शीर्षकको कवितामा सकारात्मक सोच यसरी व्यक्त गरिएको छ :
अहो ! कस्तो निश्छल उद्देश्य
कति मिठो विश्वास
अन्धकारमा उज्यालो मात्रै हेर्न खोज्ने
अहो ! ऊ कति सकारात्मक
ऊ तारा गन्दै जान्छ
ताराहरू उज्यालो छर्कंदै जान्छन् ।
देशप्रतिको भक्ति, धर्तीप्रतिको प्रेम, राष्ट्रियताप्रतिको अनुराग र बलिदानप्रतिको श्रद्धाभावको अभिव्यक्तिका माध्यमबाट पनि कविको सकारात्मक सोच प्रकट भएको छ । ‘वीर’ शीर्षकको कवितामा वीर पुर्खाले देशको अस्तित्व रक्षाका लागि गरेको त्याग, देखाएको वीरता र दिएको बलिदानको स्मरण गर्दै तिनीहरूप्रति श्रद्धा र सम्मानभाव व्यक्त गरिएको छ भने ‘माटोको संसार’ शीर्षकको कावितामा धर्ती तथा आफू जन्मेहुर्केको माटोप्रतिको प्रेम प्रकट गरिएको छ ।
प्रस्तुत सङ्ग्रहका केही कवितामा वर्गीय पक्षधरताको स्वर पनि पाइन्छ । यस्ता कवितामा खास गरी उत्पीडित वर्गका व्यथाप्रति सहानुभूति प्रकट गर्दै परतन्त्रताका विरुद्धमा मुक्तिकामी स्वर तथा श्रमजीवी र उत्पीडित वर्गप्रतिको पक्षधरता पाइन्छ । स्वतन्त्रताको माग, वर्गीय उत्पीडनको विरोध र मुक्तिको आकाङ्क्षा व्यक्त गर्ने यस्ता कवितामा नारी, मजदुर र किसानका सकारात्मक कर्मको उदात्तीकरण गरिएको पाइन्छ । ‘किसान’ शीर्षकको कवितामा किसानका श्रमपूर्ण र सिर्जनशील कर्मको तथा ‘अर्थ’ तथा ‘जुत्ता र मोजाहरू’ शीर्षकका कवितामा वर्गीय उत्पीडन र आर्थिक असमनाताको चित्रण गर्दै सम्पन्न वर्ग र विपन्न वर्गका विपरीत जीवन स्थितिको उद्घाटन गरिएको छ भने पुस्तकको नामकरण गरिएको शीर्ष कविता ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ मा पनि यही वर्गीय पक्षधरताको अभिव्यक्ति दिइएको छ ।
‘जुत्ता र मोजाहरू’ प्रतीकात्मक दृष्टिले निकै राम्रो कविता हो । यस कवितामा प्रतिनिधिमूलक प्रारूपीकरण गरिएका शब्द ‘खुट्टा, ‘जुत्ता’ र ‘मोजाहरू’ले वर्गीय उत्पीडनको यथार्थलाई प्रतीकात्मक रूपमा व्यक्त गर्छन्स मालिक र मजदुरको भिन्नता बुझाउँछन्स मजदुर वा श्रमजीवीका सत्कर्मको उदात्तीकरण गर्छन् । जुत्ताले आफू खिइएर पनि खुट्टालाई बचाउँछस मोजाले आफू मैलिएर पनि खुट्टालाई सफा राख्छ । दुवैले आफू निसास्सिएर पनि खुट्टाको रक्षा गर्छन् तर खुट्टालाई मोजा र जुत्ताको मतलब छैन । मोजा वा जुत्ता च्यातिए ऊ फालिदिन्छ र अरू मोजा र जुत्ता लगाउँछ । यसरी बिम्ब र प्रतीकको भाषामा रचिएको यो कविता उत्पीडित वर्ग र उत्पीडक वर्गको सामाजिक तथा मानसिक यथार्थको विश्लेषण गर्न सक्षम भएकाले र कलात्मक पनि भएकाले उत्कृष्ट छ ।
प्रस्तुत कविता सङ्ग्रहका केही कविता नारीका विषयमा लेखिएका छन् । नारी विषयक यस्ता कवितामा कविको प्रगतिशील विचार व्यक्त भएको पाइन्छ । यस्ता कवितामा अनेक उत्पीडन खपेर पनि समाज र परिवारका लागि त्याग गरिरहने आदर्श पात्रका रूपमा नारीको उच्च मूल्याङ्कन गरिएको छ । नारी भनेका दुखको जङ्गलमा पनि आनन्दको प्रकाश छर्ने त्यागी र समर्पित व्यक्तित्व हुन् भन्ने बुझाइ कविको छ । तर तिनै नारी समाजमा नराम्रा बन्धनहरूले बाँधिएका छन् भन्दै ‘मुक्ति’ शीर्षकको कवितामा उनी नारीमुक्तिका लागि उद्घोष गर्छन् । नारी जागृत भएमा सारा नराम्रा बन्धन तोडिने र उल्टै उत्पीडकहरू नै बन्धनमा पर्ने विश्वास यसमा व्यक्त गरिएको छ ।
यसरी हेर्दा युवाकवि सन्तोष लामिछानेका अनेक कवितामा विचार तत्त्वको उपस्थिति पनि राम्रै पाइन्छ तापनि यी कविता वैचारिकताका दृष्टिले स्पष्ट भने छैनन् किनभने यिनमा दार्शनिक स्पष्टताको अभाव देखिन्छ । कवि लामिछाने दार्शनिक रूपमा कुन धाराका हुन् ? आध्यात्मवादी हुन् ? भौतिकवादी हुन् ? रहस्यवादी हुन् ? यथार्थवादी हुन् ? के हुन् ? यी प्रश्नका स्पष्ट उत्तर यी कविताले दिँदैनन् । केही कविता यस्ता छन् जसमा ईश्वर र धर्ममाथि अविश्वास व्यक्त गरिएको पाइन्छ भने अनेक कविता यस्ता छन् जसमा धर्म र ईश्वरप्रति विश्वास व्यक्त गरिएको पाइन्छ । केही कविता यस्ता छन् जसमा रहस्यवादको प्रभाव पनि उत्तिकै पाइन्छ । ‘म को हुँ ?’, ‘सराप’ लगायतका केही कविताहरूमा ईश्वरवादी रहस्यवादले ठाउँ पाएको छ । विचारधारात्मक दृष्टिले हेर्दा आपसमा नै विरोधाभाससहित आएका कविताहरू भएकाले कवि सन्तोष लामिछाने कुनै निश्चित विचारविशेषले निर्देशित भएर नभई तात्क्षणिक अनुभूतिको प्रभावमा परी आत्मिक प्रतिक्रियाका रूपमा कविता लेख्ने कवि देखिन्छन् । आत्मपरकता बढी भए पनि यहाँका कविताहरूमा जीवन र समाजका बारेमा केही विमर्श पनि पाइन्छ ।
भाषाशैलीका दृष्टिले पनि केही कविता उल्लेखनीय छन्
भाषाशैलीका दृष्टिले हेर्दा ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ का केही कविता उल्लेखनीय छन् । केही कविता यस्ता छन् जसमा बिम्बप्रतीकको उपस्थिति बाक्लो छ, केहीमा सादृश्य विधान व्यापक छ भने केहीमा रूपक अलङ्कारको आधिक्य पाइन्छ । कवि जताततै आत्मोक्तिको शैलीमा उपस्थित हुनाले प्रथम पुरुष दृष्टिविन्दुको आधिक्य छ । यस्ता कवितामा प्रकृतिका सादृश्य वस्तु र प्रतीकहरूका माध्यमबाट कथ्यको अभिव्यक्ति दिइएको छ । यस क्रममा केही कवितामा कविले मौलिक शैली निर्माण निर्माण गर्ने प्रयत्न गरेका छन् । मौलिक शैली निर्माणको प्रयत्नका दृष्टिले ‘परिवेश’, ‘जुत्ता र मोजाहरू’, ‘शून्य शताब्दी’, ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ लगायत केही कविता महत्त्वपूर्ण छन् ।
व्यङ्ग्यशैलीमा रचिएका कवितामध्ये ‘शून्य शताब्दी’ र ‘अर्थ’ शीर्षकका कवितामा वर्तमान विश्व र महान् मानिएका वैज्ञानिकहरूमाथि रोचक व्यङ्ग्य पाइन्छ । विकसित मानिस तथा वैज्ञानिकमाथि गरिएका प्रश्नहरू गम्भीर प्रकृतिका छन् । आज विश्वमा एकातिर विकासका अद्भुत उडानहरू चलिरहेका छन्, मान्छे चन्द्रमा र मङ्गल ग्रहसम्म पुगेको छ र धर्तीमा आश्चर्यजनक आविष्कारहरू भइरहेका छन् तर अर्कातिर विकसित र वैज्ञानिक मान्छेकै सामु लाखौँ करोडौँ दाजुभाइ दिदी बहिनीहरू भोकैनाङ्गै बाँच्न र उत्पीडन भोग्न विवश छन् । आफूलाई विकसित र सभ्य ठान्ने तथा प्रकृतिमाथि विजय गरेँ भन्नेहरूका लागि योभन्दा ठुलो व्यङ्ग्य अरू के हुन सक्छ ? आफ्नै जातलाई खान, लगाउन, बस्न र न्याय दिन नसक्नेहरूले विकास र विज्ञानको के फुर्ती गर्नु ? उनीहरूले घमन्ड गर्नुको औचित्य के छ ? यस्तै गम्भीर प्रश्न तेस्र्याउँछन् व्यङ्ग्यशैलीका केही कविताले । प्रयोगवादी शैलीका कविताहरू शैलीगत जटिलताका कारणले दुर्बोध्य बनेको अवस्था छ । दुर्बोध्यता र बौद्धिकताका कारण यस्ता कविताहरू सामान्य पाठक मनमा सम्प्रेषण नहुने स्थिति देखिन्छ । ‘पिटाइ’ ‘म मरेको छैन’ लगायतका यस्ता कविताहरूमा कसले कसलाई के भन्न खोजेको हो भन्ने कुरा ठम्याउन कठिन छ । अर्थ ठम्याउन नसकेर पाठक रनभुल्लमा पर्छ । यति हुँदाहुँदै पनि भाषाशैलीका दृष्टिले यहाँका केही कविता उल्लेखनीय छन् ।
बधाई र शुभ कामना छ
समग्रमा हेर्दा ‘चामल खानेहरू र चौलानी पिउनेहरू’मा सङ्कलित यी कविताहरूले मान्छेका भोगाइ, स्वभाव, रुचि, प्रवृत्ति, सपना, महत्त्वाकाङ्क्षा, अतृप्ति, अभाव, गुण आदिको सरसरती अवलोकन गर्नुका साथै तीमाथि केही विमर्श पनि गर्दछन् । यिनले मान्छे आज पनि आदिम आवेग तथा पाशविक मनोवेगबाट मुक्त हुन नसकेको बुझाइ प्रस्तुत गर्छन् । मान्छे, उसको जीवन, समाज व्यवस्था, राजनीति आदि सबै सबै कुराहरू साइकलको चक्का झैँ घुमिरहन्छन्, बदलिइरहन्छन् । आजको धनी भोलि कङ्गाल बन्छ भने आजको कङ्गाल भोलि धनी बन्छ । सत्तामा पनि यसरी नै परिवर्तन भइरहन्छ । व्यक्तिको जीवनमा पनि सुखदुःखात्मक परिवर्तन भइरहन्छन् भन्ने बुझाइलाई यी कविताले विभिन्न तरिकाले प्रस्तुत गर्छन् । एकातिर विसङ्गतिहरूले रन्थनिएको बोध र अर्कातिर आशा र विश्वासले आश्वस्त बन्दै गएको सोचका कविताका रूपमा पनि यी कवितालाई लिन सकिन्छ । आशा र निराशाको द्वन्द्वमा फसेको जटिल मानसिकताको अभिव्यक्तिका रूपमा पनि यस कविता सङ्ग्रहलाई लिन सकिन्छ । यति धेरै कुराहरू हुँदाहुँदै पनि पाठकीय सम्प्रेषणको सङ्कट र वैचारिक विरोधाभास यी कविताका मुख्य सीमा देखिन्छन् ।
युवाकवि सन्तोष लामिछानेलाई यस कविता सङ्ग्रहको प्रकाशनका लागि हार्दिक बधाई दिन्छु । अमेरिकामा गएर पनि देश नबिर्सेकोमा, पैसाका निम्तिमात्र काम नगरी काव्यिक सिर्जनाको साधना गरेकोमा र कवितालार्ई केवल मनोरञ्जनको विषय नठानी मान्छेका व्यथाहरूप्रति संवेदनशील भएर प्रस्तुत भएकोमा कविलाई साधुवाद छ । युवाकवि सन्तोष लामिछानेको सकारात्मक कविता यात्रा चलिरहोस्, कविमा विश्वासको ज्योति बलिरहोस् र मानवीय मूल्यको उदात्तीकरण गर्ने ‘जुत्ता र मोजाहरू’जस्ता सिर्जनाको खेती फलिरहोस्स शुभ कामना छ ।

काठमाडौँ, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु