मान्ठा डराएको युग तिरको यात्रा

- डा . के . आर . खम्बू

यस पल्टको दसैमा वरिष्ठ वातावरण पत्रकार तथा आधुनिक नियात्रा साहित्यकार मोहन मैनालीजीसँग ‘मान्ठा डराएको युग’तिर यात्रा गर्न निस्कन्छु । लेखक मोहनजीले सङ्खुवासभाको खाँदबारी देखि धादिङको जोगिमारा हुँदै बाजुराको अङ्गउपानीसम्म यात्रा गराउँछन् । यात्रा साँच्चै नै लामो र कठिन मात्र होइन जोखिम-पूर्ण पनि हुन्छ । तर अति अनुभवी पत्रकार यात्राको अगुवा भएको हुनाले निसासिएको सपना जस्तो युगलाई पनि एक फन्को मारीयात्रासकुशल टुङ्गिन्छ ।यसरी मान्ठा डराएको युग भित्र घुमेर घर फर्किँदा दसै पनि सकिएछ ।
वरिष्ठ वातावरण पत्रकार लेखकले मलाई देखाएका र घुमाएका शील-शिला यस्तो हुन्छ- यात्रा प्रारम्भ भएको स्थान खाँदबारी (सङ्खुवासभा) मा केही समय घुमाउँछन् । हुरी चल्नु अघि पात हल्लिन्छ भने झैँ माओवादी जनयुद्ध पूर्वको त्यस जिल्लामा पनि सुरु हुन थालेको हुनाले कर्फ्यू लागेको हुन्छ । बेलुकी देखि बिहानसम्म कर्फ्यूले गर्दा सुनसान हुन्छ । सहरका मुख्य गौडाहरू सेना र प्रहरिको अधिनमा हुन्छन् । माओवादीको बारबिसे सम्मेलनमा गएको भनी सीताराम नाम गरेका एक जना शिक्षकलाई नाङ्गै बनाई कठोर यातना दिएको रिपोर्ट लेख्छन् । सेना, प्रहरि र सिडियोले समाचार टिपोट गरेकोमा र्याखर्याख्ति पार्न थाल्छन् । सङ्कटकालले थिलथिलो पारेको खाँदबारीमा धेरै दिन टिक्न नसकि काठमाडौं फिर्न बाध्य हुन्छन् ।
काठमाडौं पुगेर के चुप लागेर बस्थे र ? त्यसपछि तुरुन्त धादिङको जोगीमारा पुर्याउछन् । राजधानीको नजिक भएर पनि बत्ति मुनिको अँध्यारो जस्तो परेको त्यो ठाउँमा, भोक, रोग र अशिक्षाले आघात पारेको हुन्छ । उक्त विकट पहाडी गाउँमाप्राय क्षेत्री तथा चेपाङ समुदाय मात्र बसोबास गरेका हुन्छन् । त्यो गाउँको एउटै साझा समस्या हुन्छ गरिबी र अभाव । लेखकले त्यहाँ पुर्याउँदा सारा गाउँ रोइ रहेको हुन्छ । त्यो कोकोहोलो रोदन वा चित्कार वारी-पारीका डाँडा पाखामा प्रतिध्वनित हुँदा सुन्न नसकेर कान थुन्न पर्ने, आफन्तको वियोगमा बेहाल भएर आँगन र दलानमा वेदनाले छटपटिएको देख्दा कसले पो मन थाम्न सक्छ ! कि आँखा छोप्न परो कि भक्कानिनु पर्ने हुन्छ । उफ ! त्यो दारुण दृश्यको यहाँ वर्णन गरेर साध्य छैन ।स्वयम् लेखक त्यस्तो दृश्यले बेहाल बनिदा क्यामरा पनि चलाउन नसक्ने स्थितिमा पुग्छन् । तर भित्र भित्रै भकानिदै भएपनि आफ्नो कर्तव्य सम्झेर जसोतसो काम फत्ते गर्छन् ।
कुरा के रहेछ भने त्यहाँका करिब १४ वर्षका किशोर देखि ६० वर्ष सम्मका मानिसहरू केही कमाउन सकिएला र घरको गारो-खाँचोटारुँला भनेर कालिकोट जिल्लाकोकोटवाडा एयरपोर्ट बनाउने कामको लागि मजदुर भएर गएका रहेछन् । क़िनभने त्यो एयरपोर्ट बनाउने ठेकेदार यही गाउँका मानिससँग काम गरिसकेका कुमार नाम भएका व्यक्ति रहेछन् । यसर्थ यहाँका कामदार लग्दा काम चाडै सकिएला भन्ने उनको सोचाई रहेछ । तर एकै दिन शाही सेनाले माओवादी भनी घेराउ हालेर ३५ जनालाई गोली हानेर एकै चिहान बनाउँदा यस गाउँका पनि १७ जना कामदारहरूत्यही समूहमा मारिएछन् । यस्तो आम हत्या भएको घटनाले गर्दा जोगीमारा शोकाकुल बन्छ । यही हाल त्यहाँ पुगेर लेखकले हेर्दा आफै छटपटाउँछन्, पिल्सिन्छन्, र त्यो आम हत्या कसरी भयो भन्ने कुरा अध्ययन अनुसन्धान गर्ने अठोट गर्छन् ।
यस्ता एक दृढ अठोट बोकेका युवा साहित्यकारको त्यसपछिको यात्रा मध्य-पश्चिमाञ्चलको बाजुरा, बझाङ, मुगु, कालिकोट, हुम्ला, अछामतिर सोझिन्छ । यस क्षेत्रको यात्रा अति जोखिमपूर्ण हुन्छ । अगाडीबाटपनि बन्दुकले ताकेको, पछिल्तिरबाट पनि बन्दुकले ताकेको माझमा हिँड्नु पर्छ । अर्कोतिर, उँभो हेर्दा नाङ्गा चिल्लो पहाड, तलतिर कर्णालीको उर्लिँदो छाल ! हिमाली नदी ! कति वेगवान हुन्छ ? अलिकति पनि धैर्य गुमाए सिधै तल खसेर ज्यान जाने खतरा । यस्तै अकल्पनीय स्वपनील तर वास्तविक यात्रा हुन्छ त्यो ।
नेपालगन्जदेखि पश्चिम लागेपछि चेकपोस्टै चेकपोस्ट सुरु हुन्छ । बल्ल-बल्ल अत्तरिया पुगेर उत्तर लाग्दा डोटी जिल्ला हुँदै डडेलधुरा पुगी पुनः पूर्व लागेर डोटीको सदरमुकाम सिलगडी पुगिन्छ । तर त्यहाँ पुग्न अघि अनेकौ सेनाको चेकपोस्टमा जाँचिनु पर्थ्यो ।अछाम,बाजुरा, हुम्ला, मुगु आदिका मानिसहरू पनि यही बाटो हिँड्नु पर्ने भएकोले निकै चल्ती देखिन्थ्यो ।त्यहाँको बास बसाइ पछि साफेबगर पुगिएला कि भनी धुले बाटो भएर यात्रा सुरु हुन्छ ।तर बाटोको खराबीले गर्दा साजघाट भन्दा पर जान सक्दैनन् । गाडी यहाँसम्म मात्र चलेकोले भोलि पल्टदेखि पैदल यात्रा गर्दै बल्ल-बल्ल साफेबगर पुग्छन् । बुढी गङ्गाले बनाएको बेसीमा अवस्थित साफेबगर प्राकृतिक रूपमा रमाइलो देखिन्छ । यसको सिधा माथि डाँडोमा भने अछामको सदरमुकाम मङ्गलसेन हाँसी रहेको हुन्छ । यहीबाट माओवादीको आधार क्षेत्र सुरु हुँदो रहेछ । यसर्थ शाही सेनाको अति कडा सुरक्षा जाँच सुरु हुन्छ । यसको सामरिक महत्त्व भनेको मुगु र कालिकोट जाने मूल नाकायही भएकोले यहाँ थप कडा सुरक्षा जाँच गर्छन् । तैपनि मोहन जस्ता अति अनुभवी र चलाख पत्रकार नै अगुवा भएकोले यस्ता अति संवेदनशील नाकाहरू पनि कुशलता पूर्वक कटाउँदै अघि लग्छन् ।त्यहाँबाट यो यात्रा उत्तर पूर्व पर्ने बाजुरा तिर लाग्छ ।
भौगोलिक रूपमा बुढी गङ्गाको तीरमा तथा पाखातिर गहूँ तथा धान टल्कि रहेको देखिन्छ ।त्यहाँबाट पनि यात्रा कोल्टीतिर बढ्छ । बाटो बिकट, भरिया पनि पाउन मुस्किल । टिभि पत्रकार टोली भएकोले मुभी तथा स्टिल क्यामराहरू, क्यामराको ट्रिपोड स्ट्याण्ड, ठूलो ब्याटरी चार्जर आदि धेरै सामाग्रीहरू त्यस्तो विकट बाटोमा हिँडाउनु पर्ने । शाही सेना र लाल सेनाबाट हरेक चेक पोस्टमा जँचाउनु पर्ने । यात्रा सजिलो थिएन ।
संयोगवस कोल्टिको साहु भेटिएकोले मार्तडीतिरको यात्रा सम्भव बन्छ ।जडगङ्गासम्म बाटो सजिलै भए तापनि त्यहाँबाट नाक ठोकिने उकालो भीर सुरु हुन्छ ।कतै बिसाउँदै, कतै खाजा पानी (दही-मोही) खोजेर खाँदै, बाजुराको सदरमुकाम मार्तडी पुग्छन् । त्यहाँ जानुको मुख्य कारण सरकार र माओवादीको प्रत्यक्ष लडाई चलेको असरले खाद्यान्न भित्राउन रोक लगाइएको खबर सुनिएकोले सोही सत्य र तथ्य कुरो पत्तो लगाउन त्यहाँ पुगेका हुन्छन् ।बजार घुमि सक्नु हुँदैन । माओवादीहरूले सदरमुकामका सबै कार्यालयलाई क्षति पुर्याएका हुन्छन् । सूचना टावर ध्वस्त भएकोले कुनै सञ्चार चालू हुँदैन । कसैले कसैलाई न चिन्छन्, नबोलाउँछन् । एक अर्का प्रति सङ्का र त्रासदिको आँखाले हेरा हेर मात्र गर्छन् । सोधे पनि कसैले सही जबाफ दिँदैनन् । निशेध आज्ञाले थर्कमान भएका जनता । यस्तै विभत्स थियो मान्ठा डराउने युग ।
मार्तडीदेखि कोल्टितिर जाने बाटो एक दिन लामो हुन्छ । बाटै भरी माओवादी र सरकारी सेनाले मारिएका निर्दोष जनताका लासहरू भेटिन्छन् । वेदना, क्रन्दन, रोदन आदि त त्योयुगको पर्यायवाची नै भइ सकेको हुन्छ । युद्ध भूमि सुरु भइ सकेको हुँदा गतिलो त के देख्न पाइन्थ्यो र ? यसको अतिरिक्त त्यस ठाउँको रुन्चे हाँसोको रूपमा कहि-कहि मानिस सामाजिक प्राणी भएको कुरा त्यहीको मौलिक भाषा, संस्कार तथा संस्कृतिले झल्काउँथ्यो । पत्रकार टोली अगाडी बढी रहेको बाटोको पुलमा स्थानीय युवतीहरूले आफ्नो मुजेत्रो ओछ्याएर बाटो मुनी लुक्दा रहेछन् । बटुवाले त्यसमाथि केही पैसा राखी दिनु पर्ने चलन रहेछ । यसरी नै अघि बढ्दै जाँदा कही भने उरन्ठेउले गोठालाले स्थानीय भाषामा ढुङ्गा लडाइ दिउँ भनेको नबुझ्दा झन्डै धरापमा पर्छन् । कति वटा बाधा अडचनको सामना पनि गर्नु र ! राजनैतिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक आदि आदि । जब कोल्टी बजार पुग्छन्, त्यहाँको विभत्स रूपको बखान गरेर साध्य हुँदैन । लाग्छ त्यो हत्या गरिएका मानिसहरूका सामूहिक चिहान हो । कहालि-लाग्दो श्मसान घाट हो । बाटो माथि, बाटो मुनी, हवाइ मैदानको छेउ-छाउ चारैतिर लाश मात्र गाडिएका ! के हेरी सक्नु छ र ?यहाँ कसको शासन छ ? नेपाल सरकारको कि माओवादीको ? भन्ने कसैको साहस छैन ।
कोल्टी देखि पाण्डुसेन जाँदा बाटातिर अनेक मलिला उब्जाउ भूमिहरू देखा पर्दा त्रसित मनस्थितिलाई केही सान्त्वना दिन्छ । खेत बारीमा स्थानीय जनताहरू काम गरी रहेका हुन्छन् । यस्तै खेत बारीमा पनि कहिले सेनाले त कहिले माओवादीले छानी-छानी कसैलाई सुराकी, कसैलाई अपराधी बनाउँदै मेसिन गनले भुटेर मारी लास अलपत्र लडाएर जाने गर्छन् । यसर्थ नयाँ मान्छे देखिन साथ किसानहरू डरले थर्कमान हुन्छन् । यतिसम्म कि पत्रकार महोदयले खेतमा काम गरी रहेको फोटो खिच्न ट्रिपोड माथि क्यामरा राख्दा एक जना जोत्दै गरेको किसान मेसिन गन चलायो भन्ने ठानीबेहोस हुँदै भाग्छन् ।बिउँ छर्नेहरू पनि मुठीका बिउँ फालेर डरले काम्दै भागाभाग हुन्छन् । कति आतङ्कित हुन्छ त्यो ठाउँ !! निकै बेरपछि लेखकले बल्ल-बल्ल एक जना मान्छेलाई आफू शाही सेना वा लाल सेना कुनै पनि नभएको कुरा विश्वास दिलाउँछन् । आतङ्कित किसानको मन शान्त भएपछि त्यस ठाउँको सारा आँखोदेखा हाल लेखकलेउनीबाट थाहा पाउँछन् । अनि अन्तमा ती किसानले भन्छन्- ‘यही त हो हजुर मान्ठा देखि मान्ठा डराएको युग’ । यसरी उनले आफ्नो मनको बह सबै बताइ दिन्छन् । मान्छे देखि मान्छे डराउने (भन्ने वाक्यलाई स्थानीय खस नेपाली भाषाम मान्ठा देखि मान्ठा डराउने) भन्दा रहेछन् भन्ने कुरा पनि लेखकले बुझ्छन् । यस्तै देख्छन् पान्डुसेनको त्यो यात्राभरी !!
यसरी त्यहाँको लाल सेना, काल सेना र शाही सेनाको चङ्गुलबाट फुत्केर पुनः नेपालगन्ज फर्किँदै अर्को यात्रा सुरु गर्छन् । थकाइ मार्ने कुरै हुँदैन । त्यहाँबाट पनि डोल्पाको जुफाल विमान स्थलतिर लाग्छन् ।यस क्षेत्रको भ्रमण अवधि तीन हप्ते हुन्छ ।साथमा अनुभवी क्यामरा म्यान मोहन केसी रअशोक योगी सह-यात्री हुन्छन् । उनीहरूको भ्रमणको उद्देश्य थियो युद्धले पारेको असरको भिडियो डकुमेन्ट्री बनाउने । युद्ध क्षेत्रमा यस्तो काम गर्नु चुनौती पूर्ण र जोखिम पूर्ण दुबै थियो ।
जस्तो जोखिम पूर्ण काम भए पनि पत्रकार मैनालीको लागि सहजै गर्न सक्ने आँट र साहस दुबै थियो । विमान स्थलमा उत्रन साथ माओवादीबाट लथालिङ्ग भएको बजार देख्छन् । सेनाको कडा सुरक्षा जाँचले पहिलो स्वागत गर्छ । त्यहाँबाट भने पैदल दुनाई (डोल्पाको सदरमुकाम) जानु थियो ।युद्ध विरामको अवधि भए तापनि यात्रुहरूलाई सरकारी र माओवादी दुबै पक्षले सोधपुछ देखि जाने अनुमति दिने वा नदिने सम्मका निर्णय गर्थे । त्यसपछिको यात्रा भेरी नदी तिरै तिर अघि बढ्छ ।पर्यावरणीय केहीविशेषताहरू पनि लेखकको आँखाबाट विमुख हुँदैनन् । त्यहाँको भूस्वरूप अवलोकन गर्दै निकै टाढा पुगेपछि खोलाको पुछारबाट सीरतिर हावा चल्न थाल्छ । हावा वेग-वान भएर चल्न थाल्छ । त्यस्ता नियमित चल्ने हावालाई स्थानीय भाषामा फुइकी भनीदो रहेछ ।त्यो फुइकीले लेखकको टिमलाई झन्डै खोलातिर हुत्याइ दिन्छ । खोलै खोलाको बाटो पनि कहाँ सजिलो छ र ?अलिक ध्यान पुगेन भने भेरीमा झ्वाम्म ! जसोतसो डोल्पाको सदरमुकाम दुनाइ पुग्छन् । त्यहाँ पनि सेनाको चेकपोस्टले स्वागत गर्छ ।यो बजार भेरी नदीको किनारमा उत्तर दक्षिण भइ फैलिएको रहेछ ।उक्त बजार पनि माओवादी युद्धको प्रहारको तारो बनिएकोले सातो हराएको जस्तो उजाड देखिन्छ ।‘जोगि देखि भैँसी डर, भैँसी देखि जोगि डर’भने झैँ शाही सेनादेखि लालसेना डर, र लाल सेनादेखि शाही सेना डर भएको अति आतङ्कित वातावरण हुन्छ । त्यहाँको अवलोकन पछि यात्रा कर्णाली नदीको किनारै किनार कालिकोट तिर लाग्छ । तर कदम कदममा शाही सेना र लाल सेनाको केरकारमा तामिल हुन पर्छ । बाटामा पर्ने डरलाग्दो रेङ्गील पुल बल्ल-बल्ल पार गरेर खलङ्गा पुग्छन् । त्यहाँबाट कालिकोटतिर जानको लागि मालसमान बोक्ने डोको किन्न खोज्छन् । तर सबै डोको माओवादी लडाकुहरूले घाइते ओसार्न लगी सकेका हुन्छन् । जता ततै बन्दुकका कुरा,मारेको र मारिएको कुरा ! अनि बन्दुक समात्ने जति नै सरिफ देखिए तापनि राक्षेशी आदेश । खपी सक्नु हुँदैन, तर पनि लेखक अति सहनशील हुँदै निराश हुँदैनन् । अनेक उपाय रचेर उनीहरूको लागि विश्वासिलो जबाफ दिँदै अगाडी बढ्दै जान्छन् । उनीहरूको तकाई कालिकोटको सदरमुकाम मान्मा हुँदै नरसंहार भएको ठाउँ कोटवाडा पुग्नु हुन्छ । हरेक गौडामा जनसरकारको अनुमति लीन पनि झन्झट मान्दैनन् ।मान्मा पुगे पछि अन्तिम गन्तव्य स्थान कोटवाडा जाने बन्दो-बस्ती मिलाउन थाल्छन् । तर मान्मा बजारमा निकै झन्झटमा पर्छन् । हिँडडुल गर्न पनि डरमर्दो । ‘वारी जङ्गबहादुर, पारी जङ्गबहादुर’ भन्ने भनाइ यहाँको उखान भइ सकेको हुन्छ । सदरमुकाममा सेनाको बन्दूके जङ्गबहादुर र गाउँ लाग्दा अर्को माओवादी बन्दूके जङ्गबहादुरको सामना गर्नु पर्ने । कति भयावह, कति आतङ्कित त्यो समय ?
मान्माबाट त्यसबेला भेरी कर्णाली स्वायत् क्षेत्र जन सरकारद्वारा शासित क्षेत्र सुरु भएको रहेछ । यसर्थ त्यो ठाउँ प्रवेश द्वार जस्तो बनेको हुन्छ । कोटवाडा जानको लागि माओवादी जन सरकारको आदेश निकै बेर कुर्नु पर्छ । बल्ल-बल्ल आदेश पाउँदा पनि एक जना हेरालु सँगै पठाउँछन् । तिनले पनि सेरीजिउलागाउँसम्म पुर्याएर अर्को माओवादी लडाकुको जिम्मा लगाएर अर्कैतिर जान्छ । त्यहाँ पुग्दा मात्र लेखकले थाहा पाउँछन् कि आफू थाहै नपाई माओवादीहरूका कब्जामा परि सकेका रहेछन् । एउटा घरको कोठामा कसैसँग बोल्न नदिइ २४ घण्टा थुनिन्छन् । अन्तमा आदेश आउँछ र अर्का हेरालु लडाकुको साथ लगाएर कोटवाडा डाँडोतिर लग्छन् । उक्त डाडो पारी कोटवडा विमानस्थल पुग्नु अघि सातो पुत्लो उडाउने अँधेरी भीरको बाटो लग्छन् । त्यो भीरको माझमा पुर्याएर भेरी कर्णाली स्वायत प्रदेशका जन-सरकार प्रमुख प्रकाण्डले स्तरीय भाषामा सोधपुछ गर्छन् । सोधपुछमा तलमाथि परे यही भीरबाट हुत्याइ दिने सजाय रहेछ । तर त्यस्ता व्यक्ति उनीहरूको आँखामा घोर प्रतिक्रियावादी दुश्मन ठहरिनु पर्ने रहेछ । उदाहरण स्वरूप यस भीरको यही ठाउँबाट कालिकोटको डिएसपि लगायत निकै प्रहरीहरूलाई खसाली सकेका रहेछन् । सुन्दैमा आङ सिरिङ्ग हुने ! त्यसपछि भने महिला लाल सेनाको जिम्मा लगाएर कोटवाडा गाउँतिर पठाउँछन् ।कोटवाडा गाउँ नजिक पुग्न साथ हेरालु लाल सेनालेअर्को मान्छे नआइन्जेल यही पर्खनु भनी अलप हुन्छिन् । अहो कस्तो भूमिगत शैली ! करिब ४ घण्टाको अधैर्य पर्खाइ पछि बल्ल-बल्ल साँझ पर्न लाग्दा स्थानीय जन सरकारकाजिम्मेवार कामरेड आएर लेखकको टोलीलाई कोटवाडा बस्तीमा प्रवेश गराउँछन् । धैर्यता नगुमाउने अति सिपालु पत्रकार भएकाले आफुले त्यहाँ सम्पर्क गर्नु पर्ने व्यक्तिको नाम सोध्छन् । काग ताली भने झैँ उक्त सोधिएका मान बहादुर भन्ने व्यक्ति उनै हुन्छन् । दुबै एकछिन् दङ्ग पर्छन् । सामान्य ‌औपचारिक कुरा गर्दै उनले एयरपोर्टको नजिकको एउटा तीन तले निर्जन घर भित्र राखेर अर्को आदेश नआइन्जेल पर्खनु होला भन्दै हिँड्छन् । माओ ल्याण्डमा पत्रकारको बेहाल ! अकल्पनीय युद्ध भूमिमाअकल्पनीय यात्रा ।
स्यावास् मोहनजी, आफ्नो दृढ विश्वास सहित यो साहसिलो यात्रामा आफ्नो तकाईको अन्तिम बिन्दुमा पुगेकोमा न्यानो सलाम !! यो भनेको तेन्जिङले अथक प्रयास गरी सगरमाथाको टुप्पोमा पुगी विश्व कीर्तिमान राखे जस्तै उनको यो लक्ष प्राप्तिको अन्तिम विजय बन्छ ।
भोलि पल्ट एक जना स्थानीय लडाकू आएर लेखकलाई करिब दुई वर्ष अघि भएको धादिङका १७ जना मजदुर सहित पैतीस जना एकै चिहान भएको आँखो देखा खबर सुनाउँछन् । उनी भन्दै जान्छन्- त्यसबेला(२०५८ तिर) विमान स्थल लाल सेनाको कब्जामा हुन्छ । यो थाहाँ पाएर शाही सेनाको हेलिकेप्टर यहाँ बस्न खोज्दा लाल सेनाले जबाफी प्रहार गर्दै बस्न दिँदैनन् । भोलि पल्ट शाही सेना सशक्त भएर आउँछन् भनेर लाल सेना राति अर्कै ठाउँतिर लाग्छन् । एक जना महिला सेना अलमलिएर त्यही हुन्छिन् । भोलि पल्ट आफ्ना साथी खोज्न विमान स्थल पुग्दा शाही सेनाको हेलिकेप्टर तयारीका साथ पुनः त्यहाँ आइ पुग्छ । ती एक्ली आतिएकी महिला सेनाले त्यो हेलिकेप्टरतिर गोली प्रहार गर्दै भाग्छिन् । तर सेनाहरू केही पर डाडोमा ओर्लेर पैदल त्यो विमान स्थलमा आइ घेराउ गर्छ । त्यहाँ कोही पनि नभेट्टाएपछि गाउँको घर घरमा पसेर बाहिर निकाल्दै गोली ठोक्न थाल्छ । धादिङका १७ जना मजदुरहरू पनि लेखक बसेकै घरमा बसेका हुन्छन् । उनीहरूलाई बाहिर निकाली शाही सेनाले एसएलआरको पर्राले ध्वस्त पार्छ । एकैछिनमा कोटवाडाको सानो गाउँमा रगतको खोला बग्छ, लाशहरू अलपत्र भइ जताततै लडेका हुन्छन् । उफ!!! कस्तो विभत्स दृश्य थियो होला ? सपनामा पनि नदेखियोस् त्यस्तो दारुण दृश्य !!
संयोग भनौं वा तर्साउने उपन्यास(होरोर नोभल) पढे झैँ भनौं, लेखकको टोली जुन कोठामा सुतेका थिए त्यही कोठा भएको घर उनले अनुसन्धान गर्न आएका जोगिमाराका १७ जना मजदुरहरू बस्ने घर पनि हुन्छ । यसरी थाहै नपाई एक रात बिताइ सकेका लेखक ट्वाल्ल पर्छन् । यो दारुण कथा वाचक पथप्रदर्शकले उक्त टोलीलाई जोगीमाराका मारिएका निर्दोष मजदुरहरू पुरिएका सामूहिक चिहान देखाउन पनि लग्छ ।उनले कुमार भन्ने ठेकेदारको चिहान चाहिँ उनको भाइले पैसा दिएर छुट्टै बनाउन लगाएको ठाउँ पनि देखाउँछ । जोगिमाराका मजदुरले विमान स्थलको ठूलो पर्खाल लगाएको जस्ताको तस्तै देखिन्छ, तर यसको किनारा भरी चिहान मात्र बनिएका हुन्छन् । यी सारा कुरा पत्रकार मैनालीजीले घाँटी सम्म टम्म आउने गरी मन मस्तिष्कमा टिप्छन् । फोटो खिच्न वा चलदृश्य बनाउने अनुमति जन सरकारबाट पाउँदैनन् तर चलाख पत्रकार भएकाले चाहिने जति दृश्यहरू गोप्यसँग क्यामरामा कैद गरी सकेका हुन्छन् ।
त्यसपछि पुनः लाल सेनाको अगुवाईमा त्यहाँबाट कोटवाडाको डाँडोसम्म अड्डा सार गरे जस्तै गरी ल्याइन्छ । त्यहाँबाट अर्का हेरालुले मान्मातिर ओराल्छन् । अब भने यात्रा टोली त्यहाँबाट सुर्खेत हुँदै हुम्लाको सिमिकोट एयरपोर्ट पुग्छन् । त्यहाँ पुग्दा तीन हप्ते भ्रमणले गर्दा बिचरो मोहनको शरीरको पानी सुकेर प्रेसर अति लो हुन्छ । त्यहाँको स्वास्थ चौकीमा उपचार गराएर फर्किँदा जुँगे हल्दारको खपी नसक्नुको हप्काइ भ्रमणको मैझारो स्वरूप खान्छन् । त्यहाँ केही तरान लागेपछि भने नेपालगन्ज उड्छन्, अनि त्यहाँ बाट काठमाडौं फर्किन्छन् । त्यसपछि पनि दुई वर्ष र पाँच वर्ष पछि तीनै ठाउँहरूमा द्वन्द पछिको अवस्था अध्ययन गर्न भ्रमण गर्छन् । तर मान्ठा डराएको युगको अवधि अर्थात् द्वन्द काल जस्तो आतङ्कै आतङ्कले ढाकिएको अवस्था पाउँदैनन् । यसरी मोहन मैनालीजीको ‘मान्ठा डराएको युग’ भित्रको यात्रा सकिन्छ, मेरो दसै पनि सकिन्छ ।
वास्तवमा यो पुस्तक मैले दुई महिना अघि नै हात पारेको हुन्छु तर व्यस्तताले गर्दा दसै बिदामा पढौला भनी साँचेर राखेको थिए । यस पल्टको दसैलाई मैले यही पुस्तक पढेर सदुपयोग गरेँ । यो भन्दा अघि पनि यही लेखकका 'उपल्लो थलो’ नामक पुस्तक पढेको हुन्छु । उक्त पुस्तकमा जनताको आधारभूत आवश्यकता पूरा हुन नसक्दा कसरी माओवादीहरू गाउँ-गाउँ फैलिन थालेको छन् भन्ने कुरा पश्चिमाञ्चलको पहाडी क्षेत्रलाई पृष्ठभूमि बनाइ चित्रण गरिएको हुन्छ । तर यसमा त्यो भन्दा विकसित युद्ध काल कसरी बित्दैछ साथै युद्ध विराम पछि के कस्तो अवस्था सिर्जना भएको छ भन्ने कुरा प्रष्ट देखाएको छ ।
यी पुस्तकहरू भन्दा अघि पनि मैले माओवादी जनयुद्ध कै पृष्ठभूमिमा लेखिएका तीन पुस्तकहरू पढी सकेको छु । पहिलो पुस्तक थियो वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल द्वारा लिखित ‘त्रिवेणी आमा’ उपन्यास । यस उपन्यासले पूर्वाञ्चलको लिम्बु समाजमा माओवादी द्वन्दको असर बारे सूक्ष्म तरिकाले वर्णन गरिएको छ । यसका अतिरिक्तउक्त क्षेत्रमा लिम्बु नेपाली भाषिका साथै स्थानीय संस्कार संस्कृति बारे पनि लेखकले उदाहरण सहित प्रस्टाइएको छ । त्यस्तै दोस्रो पढेको पुस्तक हो, युवा साहित्यकार राजन मुकारुङद्वारा लिखित ‘दमिनी भीर’ नामक उपन्यास । यो पुस्तक पनि पूर्वाञ्चलको राई समाजमा माओवादी द्वन्द कसरी सल्कियो र कस्तो असर पार्यो भन्ने कुरालाई कुशलता पूर्वक चित्रण गरिएको छ । यसमा पनि लेखकले राई वान्तवा नेपाली भाषिकासाथै समाजमा चली रहेको संस्कार संस्कृति पनि वर्णन गरेर मौलिकता थपेका छन् । तेस्रो पुस्तक हो वरिष्ठ डाइस्फोरिक लेखक कृष्ण बजगाईद्वारा लिखित ‘कमरेड भाउजू’ कथा सङ्ग्रह । यस पुस्तकमा भने माओवादी जनयुद्धको असर देशमा मात्र नभएर विदेशमा पनि कस्तो परेको छ भन्ने कुरा स्पष्टसँग देखाइएको छ । भरखरै पढिएका दूई पुस्तकले पनि मध्य नेपालको गुरुङ मगर समाज, मध्य पश्चिमाञ्चलको खस क्षेत्री समाज र सुदूर पश्चिमाञ्चलको डोट्याली कुमाउनी समाजको भाषिक तथा सामाजिक चित्रण गरिएको छ । यसर्थ यी पुस्तकहरू राजनैतिक विवरण मात्र होइन भाषिक तथा सामाजिक ऐना पनि बनेका छन् ।
यद्यपि, नियात्रा साहित्यकार मोहनजीको यात्रा संस्मरण पुस्तकहरू कोरा कल्पनाको आधारमा लेखिएका उपन्यास वा कथा सङ्ग्रह जस्ता पुस्तकहरू होइनन्, तर स्थलगत भ्रमण गरी अवलोकन साथै प्रश्नावलीको आधारमा सङ्कलन गरिएको तथ्याङ्कसहित लेखिएका हुनाले आफ्नै विशेषता बोकेका छन् । यसर्थ यस पुस्तकलाई वैज्ञानिक पद्धतिमा आधारित साँचो प्रतिवेदन पनि ठान्छु । किनभने, आँखाले जे देख्यो त्यही उतारेका छन् । निधार खुम्चाएर रातारात तयार पारिएको काल्पनिक उपन्यास जस्तो यो छैन । जम्मा २३५ पृष्ठ भएको यस पुस्तकलाई छ खण्डमा बाडिएको छ । ती हरेक खण्ड भित्र उप-शीर्षकहरू छन् । यस्ता उप-शीर्षक जम्मा ५८ वटा छन् । यो पुस्तकको प्रकाशक फाइनप्रिन्ट्स, काठमाडौं हो र प्रकाशित वर्ष २०७१ हो । अर्थात् यो पुस्तक नयाँ कृती भित्र नै पर्छ । पुस्तक लामो जस्तो देखिए तापनि हरेक खुडकिला एकसेएक घटना प्रधान भएकोले नसकि उठ्न मन लाग्दैन ।भाषा सरलतथा जन-जिब्रे छ । तिथि मिति पनि दिएको हुनाले सूक्ष्म इतिहास केलाउन सहयोग पुग्न सक्छ । यस्तै विशेषताले भरिएको यो पुस्तकमलाई लाग्यो ।
विशेषगरी, उक्त मुख्य युद्ध काल(२०५९-६०) अवधि भरी म विद्यावारिधिको शोध-ग्रन्थ तयार पार्न युरोपमा व्यस्त रहेकोले देश भित्रको यस्तो भीषण युद्ध हेर्न परेनछ ।तर अहिले यो पुस्तक पढ्दा उक्त आतङ्कित अवधिमा आफ्नै गाउँ घरमा थिएँ कि जस्तो अनुभूति भयो । पढी सक्दा मलाई त्यस्तो भयावह अवस्था पनि के नेपालमा साँच्चै थियो र जस्तो लाग्छ । किनभने अहिले हामीहरू शान्ति स्थापित भए पछिको नेपालमा धेरै अगाडीको फड्को मारी सकेका रहेछौं ।
यसर्थ पनि म यो पुस्तक मैनालीजीको एक अमर कीर्ति ठानेको छु ।उनको कडा परिश्रमले पसिना बगाइ-बगाइ यस्तो अद्वितीय पुस्तक तयार पारेकाले नै उनले भरखरै ‘पद्म श्री साहित्य सम्मान’ले विभुषित भइ नेपाली साहित्य जगतमा आफ्नो छुट्टै परिचय कायम गरेका छन् । यसको लागि उनलाई मुरी-मुरी बधाई तथा शुभकामना !
यसरी नै तथ्यबाट सत्य खोजेर तयार पारिएका अन्यअझ गतिला पुस्तक पनि पढ्न पाइयोस्, अनेकौं चुनौति र हन्डर खाएर पनि यस्तो अजङ्गको किर्ति तयार पार्ने जिउँदो साहस बाँची रहोस्, लेखकलाई पुनः बधाई दिँदै उत्तरोत्तर सफलताको हार्दिक कामना पनि गर्दछु ।

भद्रपुर- १०, क्याम्पस मोड, झापा ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु