राजीनामा एउटा भुल

- रामकुमार पण्डित क्षेत्री

कहिले कसले कहिले कसले, ‘लौन मेरो कृतिको समीक्षा गरिदिनु प¥यो पण्डित जी’ भनेपछि उनीहरूको आग्रहलाई टार्न सकेको थिइनँ । जसरी नि सुलेखलाई एउटा समीक्षा चाहिहाल्छ भनेर गरिदिन्थेँ । तर यसपाली अरू नै गह्रौँ पुस्तक पढ्दै थिएँ, मैले समीक्षाको लागि पढेको थिइनँ । अच्युतजीले पनि एकजनाले गरेको कविताको समीक्षा हालेर नयाँ सुरुवात गर्ने भन्नु भयो । मैले ठीकै मानेँ । तर फेरि उनले निर्णय फिर्ता लिएर अहिलेसम्म कविताको समीक्षा नराखेकोले नराखौँ, तपाईँ लेख्नुस् भन्न थाल्नु भो । दुई दिनभित्र समीक्षा लेख्नु पर्ने भयो । थोरै पेज भएको पुस्तक खोज्दा भैरव अर्यालको यो राजीनामा फेला प¥यो । सात महिनादेखि मेरो कोठाको कुनामा बसेर मलाई चिहाइरहेको थियो यसले । बल्ल मौका परेर पढी हेरेको त यो समयमै नपढ्नु मेरो भुल ठानेँ । हो, आजका भौतिक उमेरका टीनएजले जो महँगो प्रेमको सस्तो पुस्तक खोजी हिँड्छन् उनीहरूलाई यो पुस्तक त्यति चाखलाग्दो नहोला तर साहित्यका टीनएजले यो पुस्तकबाट धेरै पाउने ठाउँ छन् ।
यस पुस्तकमा प्रशिद्घ हाँस्यव्यङ्ग्यकार स्व. भैरव अर्यालका प्रकाशनमा नआएका २१ वटा रचनाहरू समेटिएका छन् । जसमा केही हाँस्यव्यङ्य निबन्ध, केही गम्भिरमय निबन्ध, केही नियात्रा र केही समालोचनाहरू छन् । ‘आत्मकथा’ शीर्षकको निबन्धमा उनको कविता लेख्ने कालको जीवनगाथा रहेको छ । उनका कविता त्यतिबेला छाप्दिन्छु भनेर लगी अरूकै नाममा छापिन्थे रे । एकपटक जाँच दिनको लागि पैसा नभएपछि तत्कालीन युवराज महेन्द्रलाई कविता बनाएर आफ्नो समस्या लेखी पठाएका थिए रे । सो पढेर युवराजले उनको परीक्षा शुल्क तिर्ने व्यवस्था मिलाइदिएका थिए रे । अलिपछि उनी गोरखापत्रमा जागिर खान थालेपछि उनले लेखेर अरु नै पत्रिकामा छपाइसकेका कविता अरु मान्छेहरूले गोरखापत्रमा छपाउनको लागि त्यही कविता पठाउँथे रे । तीनमध्ये केही त अहिले ख्याती कमाएका मान्छे पनि छन् । ‘केही उखान र केही बुढी’ शीर्षकको हाँस्यव्यङ्ग्य बेजोडको छ । जसले व्यङ्ग्यकासाथ मोरीमोरी हाँसो उठाउँछ । ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बुढी’ भन्ने पुरानो गीतबाट प्रभावित भएर उनले यो निबन्ध लेखेका हुन् । ‘सराद्घेको सालो तिहारको ज्वाइँ, जाडाको लठ्ठी बुढीको म्वाई’ जस्ता व्यङ्ग्यात्मक उखानहरूले पाठकको मनलाई खिच्दछन् । ‘हाम्रा चाडपर्व’ शीर्षकको निबन्ध चाडपर्वको विषयमा छ । ‘ह्रृदयचन्द्रका केही कथाहरू’ विषयमा शीर्षक सुहाउँदो समालोचना छ । ‘भाषा एउटी नारी’ शीर्षकको छोटो निबन्धले अफिसको टेबल र घरको खाट, जुन दिन र रातमा फरक तरिकाले प्रयोगमा आउँछन् भन्ने कुरा रोचक भावमा उत्रिएको छ । ‘सब्ल्याँटो गति’ शीर्षकको निबन्ध गम्भिर भावमा छ, जसले राजनीतिक, सामाजिक, आर्थिक तथा वैज्ञानिक विकासले विनास पनि निम्त्याको छ भन्ने कुरा खुलस्त पारेको छ । ‘कथा गुरु–गुरुप्रसाद मैनाली’ शीर्षकमा मैनालीका कथा प्रवित्तीमाथि समालोचना पाइन्छ । ‘साहित्यमा कला पक्ष’ निबन्ध अर्को गम्भिर भाव बोकेको निबन्ध हो । यसले कुनै पनि रचना कला र भावले बराबर मात्रामा मिलेको छ भने त्यसको प्रभाव चीर काल सम्महुने लेखकको प्रष्ट्याइँ छ । त्यस्तैगरी ‘पत्रकार जगतका प्रथम ज्योती–मोती’ ले मोतीराम भट्टलाई प्रगाढ उज्यालो पार्दछ । ‘मनोस्थिति’ शीर्षकको निबन्धमा मध्यम वर्गीय पुरुषको उदाएचलदेखि अस्ताएचलसम्मका विवरणहरू व्यङ्ग्यात्मक ढाँचामा आएका छन् । चन्द्रमामा मान्छेले टेकेपछि चन्द्रमाको बारेमा मान्छेहरूले तत्काल व्यक्त गरेका प्रतिक्रृयाहरू ‘चन्द्रमामा चार पाइला पर्दा’ शीर्षक निबन्धमा गम्भिर भाव पाइन्छ । ‘आइतवार’ शीर्षकको नियात्रा रोचक छ । ‘संगीत र शिक्षा’ निबन्धले संगीतले शिक्षामा पार्ने सकारात्मक प्रभाव वारे गम्भिर भएर बोल्दछ । ‘विविधाङ्गी जीवनका बेढङ्गी कथाकार लक्ष्मीप्रसाद देवकोटा’ शीर्षकको समालोचनाले देवकोटालाई फरक धारको बिर्सनै नमिल्ने कथाकारको रूपमा उभ्याउँछ । ‘केही नेपाली काव्यमा प्रणय सरिताको कलकल’ समालोचनामा प्रेमको अद्भुत चिन्तन गरेको पाएर मनै प्रफुल्लित भयो । प्रेमको विषयमा जान्न चाहने जो कोहीलाई यो समालोचना अत्यन्तै उपयोगी हुनेछ । ‘नेपाली वाङ्मयको विकासमा मदन पुरस्कार’ शीर्षकको गम्भिर निबन्धले पूर्वाग्राही नराखीकन मदन पुरस्कारले नेपाली भाषा, विज्ञान र समाजसास्त्रमा उल्लेख्य प्रवद्र्घन गरेको र अझै गर्न सक्ने ठाउँ छन् भनी उनले चिन्तन मनन गरेका छन् । ‘सम्पादकलाई चिठी’ शीर्षकमा सम्पादकह पाठकमुखी नभएर नाम चलेका लेखकमुखी भएको कुरा व्यङ्ग्यमा उतारिएको छ । पाठकहरू पनि स्तरीय रचनालाई छान्नुको सट्टा नाम चलेका लेखकहरू कै सूचि हेर्ने गरेका कुरालाई झटारो हानेका छन् । यो विषय अहिले पनि उत्तिकै सान्र्दभिक छ । ‘एम. ए. नगरी त्यतापट्टि हेर्दै हेर्दिन’ शीर्षकको व्यङ्ग्यात्मक बालकथाले कमजोर पात्र बुद्घीमानको जीवन चित्रण गर्दछ । बुद्घीमानलाई पहिले सबैले हेप्छन् । यही हेपाइले उसले पढाइलाई अगाडि बढाउन सकेको थिएन पछि बिस्तारै बुद्घी पलाएपछि ऊ एम. ए. गर्नेसम्म पुग्दछ । ‘लोकभक्त भानुभक्त’मा भानु सम्बन्धी समालोचनाले फेरि एक पटक भानुलाई सकारात्मक ढङ्गले बुझ्न सकिन्छ । ‘अभ्युत्थानको मङ्गलाचरण’ शीर्षकमा स्व. राजा महेन्द्रले राष्ट्र निर्माणमा चालेका सकारात्मक र प्रभावकारी पाइलाहरूको सुक्ष्म ढङ्गले गम्भिर निबन्ध पढ्न पाइन्छ । यस निबन्ध पढेर आजका राष्ट्रवादी भन्नेहरूले आफू कुन ठाउँमा छु भनी आत्म मुल्याङ्कन गर्न सक्दछन् ।
अन्त्यमा उनको ‘राजीनामा’ पत्र छ । यो राजीनामाले गोरखापत्रको जागिरमात्रै छोड्ने सङ्केत नगरिकन संसारै छोड्ने सङ्केत गरेको छ । उनीजस्ता शब्दवाण चलाउने महारथीले यति कमजोर निर्णय गरिनु नेपाली साहित्य र समाजको लागि दुर्भाग्यपूर्ण भुल थियो । समाज त त्यतिबेला भन्दा आज झन् भ्रष्ट भएको छ । त्यसो भन्दैमा सज्जनहरूले उनकै पदछाप पछ्याउन मिल्दैन । यदि पाँचजना मुर्खहरूले राज गरेका छन् भने त्यहाँ पन्चानब्बे जना सज्जनहरू मौन बसेर नै सम्भव हुने गरेका छन् । उनको आत्महत्यापछि नेपाली समाजमा झनझन विकृति मौलाएकोले पन्चानब्बे स्थान ओगट्ने सज्जनवृन्दहरूलाई मौन बस्न नहुने शिक्षा, त्यस घटनाले मिलेको छ ।
यस सङ्ग्रहले भैरव अर्याललाई सफल समालोचक, गम्भिर निबन्धकार, हाँस्य बालकथाकारको रुपमा प्रष्ट उतारेको छ । हाँस्य निबन्धमा ‘जयभुँडी’माजस्तै मजाले हाँस्न पाउने छन् । पुस्तक पठनीय एबं सङ्ग्रहणीय छ ।

पुस्तक ः राजीनामा
लेखक ः भैरव अर्याल
सङ्कलक तथा सम्पादक ः शिव रेग्मी
प्रकाशक ः साहित्य सङ्गम मकवानपुर
प्रथम मुद्रण ः २०७१ असोज
मूल्य ः रु २०० (व्यक्तिगत) रु ५०० (संस्थागत)
पृष्ठ ः ९४ (भूमीकाहरु वाहेक)

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु