प्रगतिवादी साहित्यमा विचारधाराको पक्ष

- प्रा.डा. यदु नन्दन उपाध्याय

लेखसार
(प्रस्तुत लेखमा कुनै पनि साहित्यिक रचनामा रचनाकारको विचार प्रस्तुत हुने र त्यस विचारलाई जीवन भोगाइका मार्मिक, संवेदनशील एवं हार्दिक पक्षसँग सम्बन्धित गरी कलापूर्ण बनाएर मात्र प्रस्तुत गरिने तथ्यलाई विभिन्न प्रगतिवादी एवं गैरप्रगतिवादी साहित्य चिन्तकहरूका अभिमत समेतका आधारमा प्रस्तुत गरिएको छ । त्यस्तै साहित्यमा समाज परिवर्तनको गहन विचारलाई महत्त्व दिइने तर कोरा विचार नभई साहित्यिक विधाका धर्म र मर्मका परिधिमा रहेर नै कुनै पनि रचना पाठकीय आकर्षणको केन्द्र बन्न सक्ने प्रगतिवादी मान्यता रहेको निष्कर्ष पनि प्रस्तुत गरिएको छ ।)
विषय प्रवेश
प्रगतिवादी साहित्यमा कोरा विचार प्रस्तुत गरिने र त्यसमा पनि एउटै ढर्रामा धनी गरिबको द्वन्द्व देखाएर धनी वर्गमाथि घृणा तथा गरिब वर्गप्रति सहानुभूति देखाउँदै शोषक वर्गको पराजय तथा गरिब र शोषित वर्गको विजय देखाउने गरी विचारको विधान गर्ने प्रवृत्ति रहेको आरोप लाग्ने गरेको पाइन्छ । यस्ता आरोप वा प्रश्न गैरप्रगतिवादी चिन्तकहरूबाट बढी नै र प्रगतिवादी सिर्जन एवं चिन्तन क्षेत्रबाट पनि केही हदसम्म उठ्ने गरेका छन् र यिनमा केही सत्यता नभएको पनि होइन । वस्तुतः कुनै पनि साहित्य सिर्जनाको निश्चित उद्देश्य वा विचार रहेको हुन्छ । सो उद्देश्य वा विचारलाई समाज जीवनका समृद्ध अनुभवका प्रसङ्ग र तिनको उचित संयोजनको कुशलताबाट पाठकलाई घत पर्ने गरी प्रस्तुत गर्नु आवश्यक मानिन्छ । यसो हुन नसकेमा कुनै पनि साहित्य कोरा प्रचार बन्न जाने कुरा निश्चित छ । यो कुरा केही हदसम्म समग्र नेपाली साहित्यमै पनि पाइन्छ । यस सन्दर्भमा प्रगतिवादी साहित्य चिन्तकहरूले कहिँ कतै पनि विचारलाई मात्र प्रस्तुत गर्नमा केन्द्रित भई साहित्यिक रूप पक्षको उपेक्षा गरेको पाइँदैन । उनीहरूले बरु साहित्यिक स्वायत्ततालाई चिनेको र त्यसको मर्म विपरीत जान नहुने मान्यता पनि प्रस्तुत गरेकै देखिन्छ । यसै परिप्रेक्ष्यमा प्रस्तुत लेखमा प्रगतिवादी दृष्टिकोणका आधारमा साहित्यमा विचार र कलाको स्थितिबारे चर्चा गरिएको छ । यस लेखबाट प्रगतिवादी साहित्यमा कोरा विचार वा राजनीतिलाई मात्र महत्त्व दिइन्छ भन्ने प्रचार गलत रहेको कुरो विभिन्न साहित्य चिन्तकका विचारहरूबाटै सिद्ध गर्न खोजिएको छ । पुस्तकालयीय अध्ययन विधि मार्फत सामग्री सङ्कलन गरी निर्माण गरिएको यस लेखका प्रमुख पक्ष निम्नानुसार छन् ।
साहित्यमा विचार
साहित्यिक रचनामा विचारधाराको स्वरूप सम्बन्धमा विभिन्न मतमतान्तर रहेका छन् । समाज दर्शनको माक्र्सवादी मान्यतालाई साहित्यमा अभिव्यक्त गर्ने प्रगतिवादी साहित्यमा विचारको अभिव्यक्तिलाई ज्यादै महत्त्वका साथ हेरिन्छ । गैरप्रगतिवादी साहित्य चिन्तकहरू पनि साहित्यलाई विचार विहीन वा प्रयोजन विहीन रचना मान्दैनन् । यस सन्दर्भमा पूर्वीय साहित्य चिन्तकहरूले धर्म, अर्थ, काम, मोेक्ष जस्ता चार पुरुषार्थका अतिरिक्त कीर्ति, व्यवहार कुशलता, लोकप्रियता र रोगादिको नाश (थापा, २०४७ ः २०–२१) जस्ता साहित्य प्रयोजन बताएका छन् । त्यस्तै पाश्चात्य साहित्यमा पनि लोक मङ्गल, आनन्द प्राप्ति, शिक्षा तथा नीति सापेक्ष आनन्द (शर्मा, २०५५ ः ५८१) लाई साहित्यका उद्देश्य मानिएको पाइन्छ । उक्त साहित्यको उद्देश्य वा प्रयोजनसँग कुनै न कुनै रूपले विचार धाराको सन्दर्भ जोडिएकै छ । यसका साथै खास कुनै गन्तव्यबिना विशुद्ध मनोरञ्जनात्मक साहित्यको पनि भित्री उद्देश्य त मानिसलाई आनन्दमा रनभुल्ल पारेर सामाजिक सचेतता, उत्तर दायित्व र गतिशीलताबाट विमुख पार्ने परोक्ष उद्देश्य नै लुकेको हुन्छ र यस्ता साहित्यमा यथास्थितिवादी विचारलाई लुकाएर प्रस्तुत गरिएको हुन्छ । यद्यपि यस्ता यथास्थितिवादी विचार व्यक्त गर्ने स्रष्टाको उद्देश्य समाजलाई रमाइलो अनुभूति नै पस्कन्छु भन्ने होला तर उसको सृजनाले मानिसलाई रनभुल्ल पारेर अलमल्याउने कार्यलाई फाइदा पुगेको हुन्छ । प्रगतिवादी साहित्य चिन्तकहरू भने साहित्यिक कृतिहरू यथार्थ जगत्लाई प्रतिबिम्बित गर्ने निश्चेष्ट साधन मात्र नभई वस्तु जगत् (मानव समाज) लाई राम्ररी अवलोकन गर्ने, बुझ्ने र मानवीय आवश्यकता अनुकूल बदल्ने प्रभावकारी उपकरण हुन् भन्दछन् (भट्ट, २०५५क ः ५५) । यस प्रकारका अवधारणाले साहित्य सृजन निरुद्देश्य वा निरर्थक कर्म नभई उद्देश्यमूलक वैचारिक कार्य हो भन्ने कुरा स्पष्ट हुन्छ ।
साहित्यमा विचार प्रवेशको कुरो स्वीकृत जस्तै भए पनि त्यसमा साहित्यिकता र वैचारिकताको स्थिति कस्तो हुने भन्ने कुरा ज्यादै महत्त्वपूर्ण र विवादास्पद पनि छ । प्रगतिवादी चिन्तकहरू साहित्यमा अन्तर्वस्तुको प्रमुख भूमिका रहने र अन्तर्वस्तुभित्र केन्द्रीय विचारको शीर्ष भूमिका रहने उल्लेख गर्दछन् (तिमल्सेना, २०६४ ः ९७) । स्वयं माक्र्स र एङ्गेल्सको साहित्यमा विचारबारेको सारांश के मानिन्छ भने साहित्य केवल विचारहरूको धारा मात्र होइन त्यसमा विचार, आस्था, विश्वास र मूल्य चेतनाको पनि योग हुन्छ (पाण्डेय, सन् १९९७ ः १३) । माक्र्सवादी समीक्षक सिदोरोव (सन् १९८७ ः १०–११) ले कला होस् वा साहित्य प्रत्येक रचनामा सौन्दर्यको शक्ति पनि हुन्छ साथसाथै वैचारिक सार पनि हुनु आवश्यक छ भनेका छन् । अब्नेर जिस (सन् १९८५ ः १७) पनि वास्तविक कला दार्शनिक हुन्छ भनी विचार प्रबलताको पक्ष पोषण गर्दछन् । लेनिनले जन समुदायलाई आत्मिक रूपबाट सम्पन्न बनाउनु, उनीहरूको सांस्कृतिक स्तर उठाउनु र उनीहरूमा समाजवादी मानसिकता विकसित गर्नु साहित्यको काम हो भनेका छन् (चापागाईं, २०५४ ः ७) । माओ (२०५७ ः ६३) ले पनि साहित्यमा विचारलाई मुख्य महत्त्व दिई त्यस अन्तर्गत साहित्य रहनु पर्ने मान्यता अघि सारेका छन् । प्रगतिवादी चिन्तकका यी अभिमतले साहित्यमा विचार प्रवेशको अनिवार्यतालाई मुखरित गरेको बुझिन्छ ।
प्रगतिवादी साहित्यमा विचारलाई केन्द्रीय महत्त्व दिइएको हुन्छ भन्ने कुरा प्रस्ट भइ सकेको छ भने त्यसमा सही र वैज्ञानिक विचार के हो भन्ने कुरो पनि महत्त्वको हुन्छ । यस क्रममा प्रगतिवादी साहित्यका विचारमा पुराना एवं पतनशील, संस्कृति, रहनसहन, संस्कार आदि कुराहरूको निषेध गरी जीवनशील बानी व्यवहारलाई प्रोत्साहित गर्ने कुरालाई मुख्य मानिन्छ । यस क्रममा माक्र्सवादी विचार धारालाई सबैभन्दा बढी वैज्ञानिक मानिएको र धार्मिक विचार धारालाई सबैभन्दा अवैज्ञानिक मानिएको पाइन्छ (शर्मा, २०६५ ः ४९) । पुराना धार्मिक मान्यता र पारलौकिक विचारले मानिसलाई अहिलेको वास्तविक जीवनबाट टाढा पु¥याउँछन् । विद्यमान जीवनलाई समुन्नत बनाउन त्यस्ता हावादारी कुरामा विश्वास गर्नु हुन्न भन्ने कुरालाई प्रगतिवादी साहित्यले महत्त्वका साथ प्रस्तुत गर्दछ । यसले समाजको विकासमा आर्थिक, भौतिक उत्पादनको मुख्य भूमिका रहने मानी त्यसका मूल उत्पादक शक्तिहरू श्रमिकहरू र सर्वहारा भएकाले आफ्ना रचनामा तिनै शक्तिहरूलाई भविष्यका क्रान्तिकारी शक्तिका रूपमा चित्रित गर्नु पर्ने मान्यता प्रस्तुत गर्दछ । यसले श्रमको शोषण गरि रहेका समाजका सामन्त, पुँजीपति वा विदेशी शक्तिहरूको अवसान हुन्छ र त्यसका लागि श्रमजीवी वर्गले सङ्घर्ष गर्नु पर्छ भन्ने चेतना छर्ने गर्दछ । यसले मान्छेको महत्त्वलाई बढाउने, मानवलाई अझ बढी मानवीय बनाउने कार्य गर्दछ । यसले व्यक्ति ‘म’लाई समाजिक ‘हामी’मा मिलाई उसका व्यक्तिगत आशा र आकाङ्क्षालाई पनि प्रतिनिधि घटना, समस्या, चरित्र, परिस्थिति आदिका माध्यमबाट प्रकट गर्दछ । यसले निष्क्रिय र निराश जीवन व्यतीत गरि रहेका मानिसलाई भन्दा आफ्नो जीवनलाई अझ उन्नत, उज्ज्वल, सुन्दर र वैज्ञानिक बनाउन यत्न गरि रहेका मान्छेलाई चित्रित गर्न चाहन्छ । आज मानवले दुनिया बदल्नु परेको छ, सभ्यताको रक्षा गर्नु परेको छ, पुँजीवादी अराजकतालाई खतम गर्नु परेको छ भने त्यसका निम्ति सङ्घर्षशील चरित्रको मानव चाहिएको छ भन्ने यसको मान्यता छ (फक्स, सन् १९८० ः ९४) । प्रगतिवादी चिन्तकहरूका यस्ता अभिमतबाट साहित्यिक निजत्वबारे गहिरो चासो राख्दै विचार पक्षलाई पनि निकै महत्त्व दिन खोजेको बुझिन्छ ।
कस्तो विचार सही हो ?
संसारमा अनेक थरि विचार छन् तर सही विचार कुन हो भनेर कसरी छुट्याउने भन्ने कुरा पनि महत्त्वपूर्ण नै हो । यस क्रममा सही विचारले मानिसलाई कमजोर र शक्तिहीन पार्ने होइन आत्मबल र ऊर्जा भर्न सक्नु पर्छ । मान्छेको यथार्थ जीवन सुखदुखमय छ र अझ भन्दा बढी दुखमय नै हुन सक्छ । सो दुखमय जीवनबारे शोक व्यक्त गर्नु र रोइ कराइ गर्नुको कुनै अर्थ छैन पनि । निराश बनेको मान्छेलाई थप निराशामा डुबाएर कमजोर, आत्मबलहीन बनाउनु भन्दा आशा र उमङ्गका किरण छर्नु निस्सन्देह उचित कुरा हो । त्यस प्रकारको दुखी र अनिच्छित जीवन भोगाइबाट सुखद जीवनका निम्ति प्रयत्न गर्नु र मानिसलाई निराश, हतास र मृत्युन्मुख बनाउनु भन्दा जाँगरिलो, जोसिलो र आशावादी बनाउनु उचित हुन्छ । मान्छेको मनलाई निराश बनाउने पनि वास्तविक भौतिक परिवेश हो । समाजप्रति उत्तरदायित्व बोकेको सचेत स्रष्टाले मान्छेलाई निराश र हतास हुन प्रेरित गर्नु किमार्थ ठिक हुन सक्तैन । फेरि जोसिलो र जाँगरिलो बनाउने नाममा असम्भव सपना बाँडेर काल्पनिक दुनियामा पार्न खोज्नु पनि वस्तुसम्मत हुन सक्तैन । वस्तुवादी विचारको दावी गर्ने प्रगतिवादले सम्भव कुरालाई नै पाठक समक्ष पस्केर यथार्थ बोध गराउन चाहन्छ ।
प्रगतिवादले रातदिन मिहेनत गरेर पसिना वगाउने श्रमिक गरिबलाई विजयी बनाउने र बसी बसी श्रममाथि शोषण गरि रहने धनी र शोषकलाई पराजयी बनाउने मान्यता प्रस्तुत गर्दछ र यसमा पनि श्रमिक समूहलाई उत्साहित बनाउने आशावाद नै लुकेको पाइन्छ । के कुरा साँचो हो र सबैले मान्नु पर्छ भने संसार गरि खानेको मात्र हो र भविष्य पनि तिनै श्रमिक गरि खानेकै हुन्छ । बाबुबाजेले विभिन्न तरिकाले जम्मा गरि दिएको सम्पति सन्ततिले केही नगरि बसे बिस्तारै समाप्त हुन्छ । त्यसैले कुनै न कुनै कर्ममा संलग्न हुनु मानवका लागि अनिवार्य छ । प्रगतिवादले यही श्रमलाई र कर्मशीलतालाई केन्द्र मानेर समाज निर्माणको आधारशिला बुनेको हुन्छ । प्रगतिवादले मान्छेका लागि परिस्थिति कहिलेकाहीँ प्रतिकूल हुन सक्छ तर त्यस प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काममा श्रम मार्फत सक्रियतापूर्वक लाग्न अभिप्रेरित गर्दछ । यसले मनभित्र ऊर्जा र आत्मबल भएको उत्साही एवं जीवित मान्छेलाई साहित्यको चरित्र बनाउने गर्दछ । यसले समाजलाई पनि बदल्ने तथा आफू पनि बदलिने चरित्रको निर्माण गर्दछ । यसले साहित्यबाट सामाजिक परिवर्तनको प्रक्रियालाई बुझ्न सकिने मान्दछ र साहित्यले जन चेतना जगाई श्रमजीवी वर्गलाई सङ्गठित गर्न सघाउने पनि ठान्दछ । यसले निम्न वर्गका जनतालाई सङ्गठित हुन र परिवर्तनको वैज्ञानिक विचारमा प्रतिबद्ध हुन प्रेरित गर्दछ । प्रगतिवादको यस साहित्य चिन्तनले श्रम विभाजन र निजी सम्पत्तिको सञ्चयका कारण समाजमा भेदभाव सुरु भएको र त्यसले मानव समाजलाई विखण्डित पारेको मान्दछ । यसले जाति, क्षेत्र, वर्ग, लिङ्ग आदि भेदभावबाट असमान हुन पुगेको मानव समाजलाई समानतामा मिलाउने प्रयत्न गर्दछ र पूर्ण मानवको निर्माण गर्न चाहन्छ । प्रगतिवादका यी मान्यताहरू दासयुग, सामन्तीयुग एवं पुँजीवादी युगको ऐतिहासिक विकास प्रक्रियाका सन्दर्भमा तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आलोकमा परिभाषित गरिएका हुनाले वैज्ञानिक मानिन्छन् ।
साहित्यमा विचारलाई कसरी प्रस्तुत गर्ने
समाज र संसार परिवर्तन गर्ने विचारलाई साहित्यमा सजाएर व्यक्त गर्ने कुरो सजिलो छैन । एङ्गेल्सले लेखकको दृष्टिकोण जति बढी लुकेको हुन्छ कलाकृतिको लागि त्यो कुरा त्यत्तिकै लाभदायक पनि हुन्छ (माक्र्स र एङ्गेल्स, २०६३ ः ९५) भनेका छन् । यस सन्दर्भमा माओले राजनीतिक दृष्टिले जतिसुकै प्रगतिशील भए पनि कलात्मक गुण नभएका कलाकृतिहरूमा कुनै ज्यान हुँदैन भन्दै त्यस्ता “पोस्टरे र नारावादी शैली”तर्फ झुक्ने मनोवृत्तिको विरोध गरेका छन् (माओत्सेतुङ, २०५७ ः ६५) । समाजवाद निर्माणका खातिर साहित्य सर्वहारा वर्गको अस्त्र हो भनी उद्घोष गर्ने लेनिनले पनि “साहित्यमा यान्त्रिक समीकरण र समतलन” नहुने बताउँदै त्यसमा व्यक्तिगत पहल र वैयक्तिक झुकाव अनुसार खुला वातावरणलाई स्वीकृति दिनु पर्ने धारणा व्यक्त गरी (लेनिन, सन् १९८१ ः ६४) साहित्यिक विशिष्टतालाई हृदयङ्गम गरेका छन् । समीक्षक राम विलास शर्माले माक्र्सवाद वा गान्धीवादले मात्र कसैलाई कलाकार बनाउँदैन, कलाकार बन्नका निम्ति त जीवन दर्शनभन्दा बढी मार्मिक सहानुभूति आवश्यक पर्छ अनि दृष्टिकोणभन्दा त्यस्तो दृष्टि आवश्यक पर्छ जसले जीवनका प्रत्येक क्षणहरूलाई देख्न सकोस्, सामाजिक जीवनको बोध छैन भने विचरा दृष्टिकोण के गर्छ भन्ने प्रश्न गरेका छन् (शर्मा, सन् १९८० ः ७) । शर्माको यस भनाइले कलात्मक मूल्य र महत्त्वलाई निकै जोड दिएको छ । निनु चापागाईं साहित्यमा राजनीतिक विचारलाई जबर्दस्ती थोपर्ने कुरालाई जडसूत्रवादी मान्दै त्यसले कलात्मक संज्ञानमा ह्रास ल्याउने, कलाको सामाजिक प्रभावकारितामा क्षति पु¥याउने, विचार धारात्मक सङ्घर्षमा कलाको महत्त्वलाई तिरष्कार गर्ने र जनताको सौन्दर्यात्मक प्रगतिमा बाधा पु¥याउने मान्दछन् (चापागाईं, २०५४ ः ६) । प्रगतिवादी चिन्तकका यी भनाइले उनीहरूले कलात्मक उच्चतालाई गम्भीर रूपमा बुझेको र महत्त्व दिएको प्रस्टै देखिन्छ । साथै कलात्मक महत्त्वमा ध्यान नदिँदा साहित्यिक कृति कला विहीन सामग्रीमा परिणत भई लेनिन र माओले भने झैँ जनताको चेतनाको स्तर उठाउने होइन बरु साहित्यप्रति उल्टै विकर्षण पैदा गर्ने खतरा रहने कुराप्रति पनि सचेत रहेको देखिन्छ । यस्तो स्थिति प्रगतिवादी सिर्जन क्षेत्रमा पनि देखिने गरेको छ र नै कला बिहीनताको आरोपमा केही सत्यता देखिने स्थिति पनि बनेको छ । यस कुराबाट सर्जकमा सचेतता बढ्नु पनि जरुरी छ ।
प्रगतिवादी साहित्य निश्चित दार्शनिक मान्यताका आलोकमा सचेततापूर्वक गरिने सिर्जना भए पनि त्यसमा कोरा विचार नभई कलात्मक सौष्ठव झल्किनु पर्ने मान्यता र रचनाविधि पनि प्रस्तुत गरिएको पाइन्छ । साहित्यको निजी चरित्र र स्वायत्तता रहन्छ भन्ने कुरा माक्र्स, एङ्गेल्स, लेनिनका साथै पछिल्ला सबै चिन्तकहरूले स्वीकार गरेका छन् । साँचो अर्थमा साहित्यमा प्रत्यक्षतः जन जीवनको बिम्बात्मक अभिव्यक्ति नै हुन्छ । कुनै कविता, नाटक, कथा, उपन्यास पढ्ने पाठकले त्यहाँ जीवनका मर्मस्पर्शी संवेदनाहरूकै खोजी गर्नु स्वाभाविकै हुन्छ । मान्छेको जीवनका स्पन्दन र संवेदनात्मक क्षणहरू के कति हुन्छन् भनेर गन्न र भन्न पनि सकिन्न । साहित्यमा रचनाकारले जीवनका सुखदुख, मेलापात, खेतीपाती, श्रम, पसिना, रहनसहन, बोली व्यवहार, उकाली ओराली, दयामाया, सङ्घर्ष, एकता, घर, परिवार, समाज, राष्ट्र आदिका कुनै पनि कुरालाई समाविष्ट गरेको हुन्छ । त्यस्ता कुराहरूमा राजनीति, अर्थतन्त्र, नैतिकता, धर्म आदि विविध र असीमित कुराहरू पनि पर्दछन् । अझ समस्त मानव जीवनका मूर्त अमूर्त, दृश्य अदृश्य सम्पूर्ण क्रियाकलाप र भावहरू साहित्यका विषय बन्न सक्छन् । एउटा सामान्य क्षण विशेषको प्रभावबाट पनि साहित्य सिर्जना हुन सक्ने कुरालाई दृष्टिगत गर्दा सिर्जन सामग्रीको अपरिमितताको बोध गर्न सकिन्छ । जीवनका यिनै सन्दर्भमध्ये कुनै विषयबाट साहित्यकारले आफ्ना वैचारिक मान्यताहरू प्रस्तुत गर्न सक्छ ।
विचार प्रस्तुतिलाई परोक्ष ढङ्गले प्रस्तुत गर्ने महत्त्वपूर्ण विधि पक्षमा प्रारूपीकरणको प्रगतिवादी मान्यता पनि महत्त्वपूर्ण छ । यसलाई सुरुमा एङ्गेल्सले प्रस्तुत गरेका हुन् र पछि गोर्की लगायतका चिन्तकहरूले अघि बढाएका देखिन्छन् । यसलाई सामान्यीकरण वा प्रतिनिधि पात्रको निर्माण पनि भनिन्छ । यसमा एउटा वर्गका कुनै एउटा पात्रमा मिल्दा खालका धेरै पात्रहरूका विशेषतालाई सारभूत रूपमा प्रस्तुत गरिन्छ (गोर्की, २०६५ ः २४) । यस प्रकारको प्रारूपीकरण वा सामान्यीकरण गर्दा पात्रका चारित्रिक विशेषता र कामहरू स्वाभाविक रूपमा बिस, पचास वा सय व्यक्ति मजदुरहरू, व्यक्ति किसानहरू, व्यक्ति सामन्तहरू, व्यक्ति पुँजीपतिहरूबाट बटुलिन्छन् अनि मजदुर, किसान, सामन्त र पुँजीपतिको सिङ्गो एउटा व्यक्तिमा सामान्यीकरण गरिन्छ र प्रतिनिधि पात्रको निर्माण गरिन्छ (चापागाईं, २०५१ ः १५५) । यस्तो चित्रणका निम्ति गोेर्कीले भनेझँैं लेखकको निरीक्षणको परिधि र उसको समृद्ध जीवनानुभवले शक्ति प्रदान गर्दछ (गोर्की, २०६५ ः १४) । यस्तो समृद्ध अनुभवका निम्ति जन जीवनका निकटस्थ हुनु र सिर्जनात्मक साधना र धैर्यशील कल्पना आवश्यक रहेको प्रगतिवादी मान्यता पाइन्छ । यसरी जन जीवनबाट चयन गरिएका प्रतिनिधि पात्रले स्रष्टाको विचार बहन गरेका हुन्छन् र तिनमा पनि जबर्दस्ती विचार थोपर्न हँुदैन भन्ने मान्यता प्रगतिवादको पाइन्छ ।
समीक्षकहरू साहित्यमा समाजको यथार्थसँग सम्बन्धित वस्तुगत पक्ष र रचनाकारको विश्व दृष्टिसँग सम्बन्धित आत्मगत पक्षको सुन्दर संयोजन हुनु पर्ने मान्यता प्रस्तुत गर्दछन् । समीक्षक निनु चापागाईका विचारमा वस्तुगत पक्षमा जीवनका दृश्य, पात्र, परिस्थिति, द्वन्द्व, पात्रको आन्तरिक जीवन पर्दछन् भने आत्मगत पक्षमा रचनाकारको विश्वदृष्टिद्वारा निर्धारित विचारधारात्मक, सौन्दर्यात्मक तथा रचनात्मक कार्यकलाप पर्दछन् (चापागाईं, २०५४ ः १५०) । जीवन सन्दर्भका कुनै विषय चयन गरी आफ्नो विचार अनुकूल त्यसको निर्माण गर्ने काम सर्जकले गर्दछ । त्यसमा एउटै विषयबाट पनि सर्जकको आत्मगत पक्षको भिन्नताले दुई भिन्न सर्जकका विपरीत खालका वैचारिक निष्कर्षहरू प्रस्तुत हुन सक्छन् । श्रीमद्भगवत्को विषय एउटै भए पनि मूलमा राधाकृष्णको सम्बन्धलाई आध्यात्मिक कोणबाट प्रस्तुत गरिएको छ भने त्यसै विषयलाई कृष्ण धरावासीले नारीवादी कोणबाट भिन्न विचारका साथ प्रस्तुत गरेका छन् । यसरी साहित्यमा जुन कोणको भए पनि विचारको मुख्य महत्त्व हुन्छ तर त्यसले विभिन्न कलात्मक उपकरणका सहायतामा अप्रत्यक्ष अभिव्यक्ति पाएको देखिन्छ ।
प्रगतिवादी समीक्षकहरूले साहित्यिक सिर्जनामा कल्पना, अनुभव, संवेदना, भावना जस्ता स्रष्टाका मनसँग निकटस्थ पक्षहरूको उपयोग गरेर विचारलाई भावमय बनाउन सकिने कुरा औँल्याएका छन् । लेनिनले साहित्यकारले सपना देख्नु पर्ने भनेको सन्दर्भ (सिदोरोव, सन् १९८७ ः ९९) का साथै गोर्कीले पटक पटक साहित्यमा कल्पना र जीवनानुभवको महत्त्व दर्शाएको (गोर्की, २०६५ ः २७) सन्दर्भले पनि यी तत्त्वको बढी उपयोग प्रगतिवादी साहित्यमा पनि हुने कुरो बुझिन्छ । यसका अतिरिक्त साहित्यिक रूपतत्त्वका बिम्ब, प्रतीक, अलङ्कार, प्रकृति वा अन्य कलात्मक सौन्दर्य सामग्रीको निर्माणमा पनि कल्पना अनुभव आदिको उपयोग गरी साहित्यिक सौन्दर्यको अभिवृद्धि गरिएको हुन्छ । यसो भन्दाभन्दै पनि के कुरामा सचेत हुनै पर्छ भने प्रगतिवाद भौतिकवादी द्वन्द्ववादी मान्यतामा आधारित सिद्धान्त भएकाले वस्तु जगत्को यथार्थबाट धेरै टाढा हुन कहिल्यै सक्तैन । मैनेजर पाण्डेय के भन्छन् भने भावुकताका भावहरू प्रतिगामी हुन्छन्, अनुभूति अवैज्ञानिक हुन्छ र त्यसमा यथार्थबोधको अभाव रहन्छ (सन् १९९७ ः ९५) । त्यसैले उनी साहित्यमा भावुकता र बौद्धिकताको द्वन्द्व हुने उल्लेख गर्दछन् । समीक्षक मुक्तिबोध पनि भावना, कल्पना र बुद्धितत्त्वका साथै सृजन प्रक्रियामा संवेदनात्मक उद्देश्यको समान महत्त्व रहने उल्लेख गर्दछन् (मुक्तिबोध, सन् २००० ः ५१) । यी सबै तथ्यहरूले प्रगतिवादी साहित्यमा विचारधाराको अन्तर्प्रवेश अनिवार्य हुन्छ तर त्यसमा सौन्दर्यात्मक उच्चताको सुन्दर सन्तुलन कायम गरिएको हुनु पर्छ भन्ने निचोड निस्कन्छ ।
निष्कर्ष
पूर्वीय एवं पाश्चात्य विभिन्न साहित्य चिन्तकहरूले साहित्य सिर्जनामा कुनै न कुनै रूपमा विचार अभिव्यक्त हुने कुरा औँल्याएका छन् । त्यस्तो विचार सोझै नभई कलापूर्ण वा घुमाउरो किसिमले साहित्यमा प्रकट हुनु आवश्यक रहेको कुरो पनि तिनीहरूले प्रकट गरेका छन् । प्रगतिवाद समाज यथार्थको चित्रण गर्ने मात्र नभई समाजलाई बदल्ने विचार पनि बोकेको साहित्य सिद्धान्त हो । यस्तो समाजको चित्रण गर्ने र समाजलाई बदल्ने विचारलाई मानवीय जीवन पद्धतिका मार्मिक, हार्दिक एवं संवेदनशील प्रसङ्गमा घुलमिल बनाएर प्रस्तुत गर्नु पर्ने हुन्छ । साहित्यकारमा रहेको व्यापक एवं समृद्ध जीवनानुभव तथा ती अनुभवलाई पाठकलाई मन पर्ने बनाएर प्रस्तुत गर्ने कुशलताबाट नै रचना प्रभावकारी एवं हृदय संवेद्य बन्न सक्छ । साहित्य स्रष्टाले एकातिर साहित्यका विधागत धर्ममा अडिनु पर्ने हुन्छ भने अर्कातिर आफ्नो सिर्जनामा पाठकीय रुचिलाई सँगसँगै हिँडाउनु पर्ने दायित्व पनि बहन गर्नु पर्ने हुन्छ । यही साहित्यिक कला र विचारको तालमेलबाट उत्कृष्ट सिर्जना जन्मन सक्छ । यस प्रकारको तालमेल हुन नसके लेखन कोरा उपदेश मात्र हुन सक्ने यथार्थतर्फ पनि विभिन्न प्रगतिवादी साहित्य चिन्तकहरू सचेत रहेको पाइन्छ । यसरी विभिन्न चिन्तकहरूका अभिमतलाई सारमा ग्रहण गर्दा साहित्यमा कलात्मक मूल्य सहित विचारको अभिव्यक्ति हुनु पर्ने निष्कर्ष निकाल्न सकिन्छ ।
सन्दर्भ सामग्री
गोर्की, म्याक्सिम (२०६५), छानिएका वैचारिक रचनाहरू, सम्पा. तथा अनु. निनु चापागाईं, काठमाडौं ः
खोजी प्रकाशन गृह ।
चापागार्इं, निनु (२०५१), यथार्थवादी रचना दृष्टि र विवेचना, काठमाडौं ः दिलवरदान महिम चापागाईं ।
(२०५४), माक्र्सवादी चिन्तनमा सौन्दर्य, ललितपुर ः मृदुल महिम चापागार्इं ।
जिस, अब्नेर (सन् १९८५), कला के वैचारिक और सौन्दयात्मक पहलु, अनु. बुद्धि प्रसाद भट्ट, सोभियत
सङ्घ ः रादुगा प्रकाशन ।
तिमल्सेना, पशुपति नाथ (२०६४), प्रगतिवादी कविता मान्यता र प्रवृत्ति, पोखरा ः ओजन बुक्स ।
थापा, हिमांशु (२०४७), साहित्य परिचय, काठमाडौंः साझा प्रकाशन ।
पाण्डेय, मैनेजर (सन् १९९७), शब्द और कर्म, परिवद्र्धित सं., नयी दिल्ली ः वाणी प्रकाशन ।
फक्स, राल्फ (सन् १९८०), उपन्यास और लोक जीवन, तृ.सं., अनु. नरोत्तम नागर, नई दिल्ली ः पिपुल्स
पब्लिसिङ्ग हाउस (प्रा) लि. ।
भट्ट, गोविन्द (२०५५), गोविन्द भट्टका समालोचना, सम्पा. रविलाल अधिकारी, नेपाल ः बगर फाउण्डेसन ।
माओत्सेतुङ (२०५७), सङ्कलित रचना (भाग३), दो.सं., अनु. खगेन्द्र सङ्ग्रौला, काठमाडौं ः विवेक सिजनशील प्रकाशन ।
माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (२०६३), साहित्य र कला, दो.सं., अनुः राजेन्द्र मास्के, सूर्य प्रसाद पौडेल, काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।
मुक्तिबोध, गजानन माधव (सन् २०००), “कविता की सर्जन प्रक्रिया में बुद्धि की भूमिका”, दर्शन साहित्य और समाज, नयी दिल्ली ः वाणी प्रकाशन ।
लेनिन (सन् १९८१), सङ्कलित रचना (भाग १), अनु. राजेन्द्र मास्के, मस्को ः प्रगति प्रकाशन ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
(२०६५), “विचारधारा, दृष्टिबिन्दु र भिखारी”, भृकुटी, (वर्ष १, अङ्क २, चैत–जेठ), पृ. ४९–५४ ।
शर्मा, राम विलास (सन् १९८०), “भूमिका”, उपन्यास और लोक जीवन, तृ.सं., नई दिल्ली ः पिपुल्स
पब्लिसिङ्ग हाउस (प्रा) लि.।
सिदोरोव, ये. (सन् १९८७), साहित्य और सौन्दर्यशास्त्र (बीसवीं शताब्दीका साहित्य १), मस्को ः रादुगा प्रकाशन ।

पृथ्वी नारायण क्याम्पस, पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु