"त्रिवेणी आमा"का बलिन्द्र आँसुका तीन धारा !

- डा . के . आर . खम्बू

त्रिवेणी आमा नामक उपन्यास पौष १२ गते, २०६९ मा दृष्टि-वाचकको सहायताले पढेर सिध्याएँ । साहित्यकार स्रष्टा पुण्यप्रसाद खरेलद्वारा लिखित यो उपन्यास २२६ पृष्टको रहेछ । आजको व्यस्त जीवन भएको युगमा छेउमा बसेर यति लामो पुस्तक पढेर सुनाउने साथी सधैँ पाउन अ-सम्भव हुन्छ । हुन त यस अघि पनि केही ख्याति प्राप्त लेखकहरूद्वारा लिखित पुस्तकहरू क्रमशः यही पुस्तक लेखक ज्यूको ‘दोसाँधको घाम’, सरण राईको ’मानव संसार’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, कमला पौड्यालको ‘काँडा घारीको यात्रा’, गौरा प्रसाईको ‘मेरो जीवन कथा’, तथा आनी छिरिङ डोल्माको ‘फुलको आँखामा’ आदि पुस्तकहरू आद्योपान्त जीवन सँगी शुभले पढेर सुनाएकी थिइन । तर यस्तो पढि दिने फुर्सत सधैँ उनीलाई पनि उपलब्ध हुने कुरा भएन । यस्तो अप्ठ्यारो परिस्थितिमा मैले धेरै दिन छटपटिएर बिताउनु पर्छ । तर संयोग भनौं वा भाग्य, आफै पढ्न पनि सक्ने अन्तर आँखो पनि हुने खबर एक जना घनिष्ठ मित्रद्वारा अचानक पाउँछु । अन्ततः यस्तो आँखा वरिष्ठ इन्जिनियर हिमप्रसाद गौतमद्वारा प्रतिपादित दृष्टिवाचक सफ्टवेरभन्ने यन्त्र प्राण रहेछ । यो मेरो समस्या उहाँ स्वयम्ले थाहा पाएर झापा आउँदा मेरो कल्पयन्त्रमा पनि भित्राइ प्रयोग विधि समेत अभ्यास गराएर फर्किनु हुन्छ । त्यसपछि, प्रथम अभ्यासको रूपमा यसलाई प्रयोग गरेर यो पुस्तक पढ्न थालेको हुन्छु । हरेक ६ मिनट प्रति पृष्ठका दरले पढ्दा यो पुस्तक छिचोल्न निकै दिन लाग्छ । जीवनको उत्तरार्ध तिरको न्यून-दृष्टि कालमा पहिलो पल्ट दृष्टि-वाचक यन्त्र-प्राण प्रयोग गरी यो उपन्यास आद्योपान्त पढि सक्दा मैले ठूलो लडाई जिते जस्तो लाग्छ । पढि सक्दाको धङ्धङती मेटाउन उर्लेका भावनाहरू लेखेर राख्न मन लाग्छ । त्यसैले, यस्ता कुतकुतीहरूलाई लिपी बद्ध गर्न पनि उही वरिष्ठ इन्जिनियर गौतमद्वारा निर्मित ‘वर्णमाला’ नामक नेपाली युनिकोड लिपी नै प्रयोग गरेर लेख्न बस्छु । यसभन्दा अघि मैले ‘जावज र निभ्डा’ नामक अङ्ग्रेजी पढ्ने यन्त्र-प्राण (स्क्रिन रिडर) प्रयोग गरेर पाउलो कोहोलोद्वारा लिखित ९९ पृष्टको ‘द अलकेमिष्ट’, रबिन शर्माद्वारा लिखित ‘द मोङ्क हु सोल्ड हिज फरारी’ ) १६३ पृष्ट); जोहन उड द्वारा लिखित ‘लिभिङ् माइक्रोसफ्ट टु चेन्ज द वर्लड (२६५ पृष्ट) र जोहन मिल्टनको ‘प्याराडाइस लस्ट )२०१ पृष्ट पढि सकेको छु । दृष्टि-वाचकद्वारा पहिलो चोटि पढेको लामो पुस्तक ‘त्रिवेणी आमा’ नै हो । यसैले पनि आज यो पुस्तक पढी सक्दा म आफूलाई आफैले गौरव पनि ठानेको छु ।
विशुद्ध सामाजिक उपन्यास राजनैतिक घटनाक्रमको फ्रेममा सजिएको नारी प्रधानतालाई प्रक्षेपण गरिएको यस पुस्तकका लेखक पुण्यप्रसाद खरेलज्यूलाई सर्वप्रथम हृदयदेखि नै बधाई साथै धन्यवाद टक्राउँछु । यसैगरी, यसरी पुस्तकलाई न्यून दृष्टि र दृष्टि अपाङ्गले पनि आफै पढ्न सक्ने ‘दृष्टि-वाचक’ सफ्टवेर जस्तो भित्री चक्षु उपहार दिनु हुने उदार-कर्ता हिमप्रसाद गौतमजीलाई पनि हृदयबाट लाख-लाख आभार ।
मैले यो पुस्तक सामन्ती समाजको पारिवारिक कलह र सशस्त्र क्रान्तिभित्र हुने अन्तर्दन्दको प्रतिबिम्ब देखाउने एक सफा ऐनाको रूपमा लिएको छु । यस उपन्यासको विशेषता भनेको मुख्य पात्रहरू महिला हुनु हो साथै मुख्य पात्र सुमैनाको जीवन वृतान्त कथा वस्तु हुनु, अन्य सहायक पात्रहरू पनि अधिकांश महिलाहरू नै हुनु, जस्तै- क्रमशः मिना, साइँली सुब्बेनी, प्रतिमा र शशि आदि । तर पुरुष पात्रहरू भने डिल्ली, भुवन, घिमिरे गुरु, तिलाहाङ आदि मात्र देखा पर्छन् । उपन्यासले ओगटेका स्थानहरू मुख्य गरी सुनटापु गाउँ, सुर्के खेत, औँसी हाट, इलाम बजार, पश्चिम दाङ, हिले, बसन्तपुर, धरान र झापा-खयरबारी आदि देखिन्छन् । उपन्यास भित्र प्रवेश गरेपछि भावनाका तरेलीहरू यसरी बिछ्याइन्छन् कि एकपछि अर्को माखेसाङ्लो परेको डोरी झैँ तानिँदै ढोकामा नपुगी बिट मारिन्न । यसको माखे-साङ्ले डोरी यस्तो हुन्छ -
कन्चनजङ्घाको फेदमा अवस्थित एक सुन्दर लिम्बु गाउँनेर बनिएको एक मध्यम वर्गीय ब्राह्मण परिवारको घर । परम्परागत संस्कार युक्त संयुक्त परिवारमा हुर्केका छोरो डिल्ली विवाह गरेको केही वर्ष पनि न बित्दै धन कमाउन विदेश (आसाम) जान बाध्य हुन्छ । विदेश गएका आफ्नो लोग्ने सकुशल फिर्नु त कता हो कता, धागोले बाँधेको चिठी मात्र फिर्दा सगोलमा बसेकी बुहारी सुमैनाको हुन सम्मको बेहाल हुन्छ; मूल घरको सामन्ती चिन्तन भित्रको अवहेलना साथै कचकच सहन नसकि नारीत्व जगाएर सुमैना काखको छोरो (डिल्ली) बोकी सुनटापुमा छुटेर आफै बस्छिन् । केही महिना पछि अर्को पनि छोरो (भुवन) जन्मिन्छ । दुई भाइ छोरा हुर्काउँदै लग्दा जेठो छोरो डिल्ली प्रहरीमा जागिर खाइ इलाममा बस्न थाल्छ । बाउ नभए पनि कान्छो भाइ भुवनलाई पढाउने अभिभावकीय जिम्मा आफै लिँदै उच्च शिक्षा इलाम क्याम्पसमा पढाउँछन् । माओवादी आन्दोलन सुरु भइ सकेको हुनाले विद्यार्थी राजनीतिले भाइलाई आकर्षित गर्छ । यतिकैमा दाइ डिल्ली असइमा पदोन्नति हुँदै माओवादी प्रभावित पश्चिम दाङ देउखुरी तिर सरुवा हुन्छन् । त्यहाँ उनको काम राम्रो भएकोले अझ पदोन्नति हुँदै जान्छ । यता भाइ ... बिस्तारो माओवादी विद्यार्थी सङ्गठनमा सङ्गठित हुँदै गइ पार्टीसँग पनि सम्पर्कित हुन पुग्छन् । यतिकैमा डिल्लि घर आइ बिहा गर्छ र आमा सुमैनालाई बुहारी छोडेर जान्छ । एक वर्ष भित्र सुमैनाको नाति जन्मन्छ । यतिकैमा कान्छोले पनि आफ्नो पढाइ सकेर माओवादीको कार्यकर्ता भइ गाउँ फर्की स्कूलमा पढाउन थाल्छन् । माओवादी द्वन्द्वको ज्वाला मेची अञ्चलका पहाडी जिल्लाहरूमा पनि सल्किन थाल्छ । यस्तै मौकामा डिल्ली होल्लोरी काण्डमा मारिन्छन् । उनको लास हेलिकेप्टरबाट गृह जिल्ला (ताप्लेजुङ ?) मा ल्याइ सरकारी मर्यादा अनुसार अन्तिम संस्कार गरिन्छ । अब दाजु र भाइ मार्ने र मारिने दुई विपरीत राजनैतिक ध्रुवमा पर्ने भएकोले दाइ मारिएको आरोप माओवादी भाइलाई आइ लाग्छ । यस आरोपले राम लक्ष्मण जस्तै मिलेका दाजुभाइको सम्बन्धमा दरार पैदा हुन्छ । गाउँ घरमा बस्न नसकि पूर्णकालीन माओवादी कार्यकर्ता भइ पश्चिम नेपालको द्वन्द्व क्षेत्रतिर लाग्छ । यतिकैमा, सासू बुहारी पनि धेरै दिन सुनटापुमा बस्न नसकि सुनमाया आफन्त माइत खोज्दै झापाको खयरबारी (सुरुङ्गा)मा आइ बस्छिन् । भुवन पनि पश्चिम कमाण्डमा खटिएर काम गर्दा दिक्क भइ पुनः पूर्वाञ्चलको जिम्मा लिइ आफ्नै गृह क्षेत्र आउँछन् । यही क्षेत्रमा काम गर्दै जाँदा लाल सेनाका उपचारिकासँग प्रेम विवाह गर्छन् । तर उनको यस्तो सम्बन्ध पार्टीले अनुमोदन गर्दैन । माओवादी युद्धको अन्त्यतिर उनी पनि वराहक्षेत्र-धनकुटाको गौडामा धराप (एम्बुस) थाप्दा सरकारी भिडन्तमा परी मारिन्छन् । त्यसपछि केही दिन भित्रै युद्ध दिल्ली सम्झौतामा टुङ्गिन्छ । देश भरी युद्ध विराम भएर शान्ति कायम हुन सुरु हुन्छ ।
सुनटापुकी बुहारी पनि छोरो पढाउन भनी सासु खोज्दै खयरबारी, कनकाई आउँछिन् । अर्कोतिर कान्छी बुहारी पनि गर्भिणी अवस्थामा सासू खोज्दै सुमैना बसेको ठाउँ खयरबारीमै आइ पुग्छिन् । अनि केही समय पछि छोरो जन्माउछिन् । यसरी सुनटापुदेखि खयरबारीसम्म पुग्दा सुमैना एक स्वाभिमान बुहारीबाट दुइ नातीहरुकी हजूरआमा भइसकेकी हुन्छिन तर काखभने रित्तै ।
पुस्तकको अन्त्यमा सुमैनाले आफूले छोरी बनाएर पालेकी मिनाको बिहा हातमा फुलको थुँगोहरू राखि आशीर्वाद र शुभकामना दिँदै गरी दिन्छिन् । तिनले आफ्नै छोरी झैँ दुख सुखको साथी बनाएकी मिनालाई जुवाइँको हातमा अन्भाउन हम्मे परेको बेला कान्छी बुहारी प्रतिमाले मिनाको ठाउँमा हामी छौं, अब बिदा दिनुहोस् भनेपछि मात्र बिदा दिन्छिन् । यसरी कथा बस्तु टुङ्गिन्छ । दुई एकल महिला बुहारी र आफूपनि एकल महिला सासू गरी तिन नारीहरूको संगम स्थल खयरबारी (कनकाइ नदी) नै ‘त्रिबेणी-आमा बन्छ । उनको यो लामो जीवन यात्रासँगै आँसु, वेदना, छटपटी, आक्रोश, कर्तव्य, दायित्व, सङ्घर्ष आदिको लामो फेहरिस्त भएर तीन नदीको सङ्गम बिन्दु बनेको छ त्रिवेणी-आमा । यो उपन्यासको पाइला पिच्छे आक्रोश र विद्रोह दन्केको छ साथै जति पढ्दै गयो हरेक पाठकले पनि सहानुभूति मात्र होइन केही थोपो आँसु र मुटुको धडकन समेत ती तीन आमाहरूलाई भेटी स्वरूप चढाउन पर्ने स्थिति आइ पर्छ ।
यसरी पुस्तकलाई सरसरती समीक्षा गर्दा यो एउटा सजीव चित्रण भएको सामाजिक उपन्यास हो भन्न सकिन्छ । किनभने यस पुस्तकमा हाम्रो गाउ समाजमा प्रयोग भइरहेको विविध जाति र जनजातिको राष्ट्रिय भाषालाई उच्चारण गर्ने लबजहरू मध्य लिम्बु जातिको नेपाली लबजलाई जस्ताको त्यस्तै लेखकले लिपिबद्ध गर्नु भएको छ । सामान्य रूपमा चलिरहेको समाजमा द्वन्द्व आतङ्क फैलिँदा कस्तो भयावह स्थिति पैदा हुन्छ भन्ने कुरा यसमा चलचित्र झैँ नै झल्काइएको छ । जन युद्ध ताका लड्ने लडाकूको अवस्था र युद्धलाई शान्ति पार्न सुरक्षाको नाममा दमन चलाऊने सरकारी पक्षको भित्रि बाहिरि स्वरूपको झल्कोहरू यहाँ उल्लेख गरिएको छ । एक कर्मठ नारी सुमैनाको दुईटै छोरा दुई विपरीत मोर्चामा इमानदारी पूर्वक कर्तव्यनिष्ठ हुन्छन् तरपनि दुबै आलोचित र सशङ्कित रूपमा मृत्यु वरण गर्न पर्छ । तसर्थ यी दुबैलाई असफल पात्रहरू भन्न कर लाग्छ । दुबैको भाग्य दाजु सुरक्षाकर्मी हुनु र भाइ लडाकू हुनुले शहीदको लाइनमा पुगेको देखिन्छ । दुबै ठाउँमा टाठा-बाठाहरूकै बोलवाला हुने र उनीहरूकै नेतृत्व स्विकार गर्नु पर्ने तथा मान पदवी र सम्मानित नेता उनीहरूनै हुने तीतो सत्य यस पुस्तकमा प्रस्टसँग उल्लेख गरिएको छ । सरकारी कार्यालयको हाकिम भएपछि र कुनै पार्टीको माथिल्लो तहको नेता भएपछि उसलाई कुनै सामाजिक नियम वा नैतिक नियम लाग्दैन । उनीहरूले आफ्नो स्वार्थ अनुसार संस्था वा सङ्गठनलाई चलाई रहेको कटु सत्य यहाँ दुई दाजुभाइले पाएको तिरस्कारबाट प्रमाणित हुन्छ । यहाँनेरी भुवन र प्रतिमाको बीचको सम्बन्ध पार्टीलाई पच्दैन र दुबै सतर्क हुनु पर्नेमा अझ चुनौती दिन खोजे जस्तो तातो-तातो चित्रण बसन्तपुरमा लेखकले प्रस्तुत गर्नु भएको छ । यसले गर्दा कुन सहि थियो होला भन्ने प्रश्न भुवनको मृत्युसँगै रहस्य बनेर जान्छ ।
यसको अर्को विशेषता भनेको हाम्रो बहु-जातीय र बहुभाषिक समाजमा विद्यमान भेदभावलाई साम्प्रदायिक सहिष्णुता कायम गर्ने र समायोजन गर्न आवस्यक पर्ने अन्तर्जातीय विवाहलाई प्रोत्साहन दिनु पनि हो । यसैको उदाहरण यस पुस्तकमा ब्राह्मण पुत्र भुवनले लिम्बुकी छोरी प्रतिमासँग बिहा गर्छ र सन्तानपनि हुन्छ । त्यसैगरी लिम्बु पुत्र तिलाहाङको बिहा नेवारकी छोरी मिनासँग सम्पन्न हुनु लेखकको यस विषय प्रति निकै संवेदनशीलता रहेको प्रस्टिन्छ । यसभन्दा अघि प्रकाशित उहाँको ‘दोसाँधको घाम’ मापनि जातीय मामलोलाई कसरी अन्तर्जातीय विवाह पद्धतिद्वारा समायोजन गर्न सकिन्छ भन्ने दृष्टान्त प्रस्ट्याउनु भएको छ ।
यसको अर्को विशेषता भनेको नेपाली नारीहरूको परम्परागत चरित्र चित्रण पनि हो । परी आउँदा सुमैना जस्तो महिला अनेकौ बाधा र हन्डर खाएर पनि समाजमा बाच्न सक्छन् तथा त्यस्तै संयुक्त परिवार भित्रको चूला-चौकाभित्र बिताउने नारीहरूको फुर्सदलाई अरूका खिसी-त्यूरी गरेर बिताउने नराम्रो पक्षलाई पनि दर्साएको छ । महिलाहरूको हिंसा पुरुषबाट मात्र होइन महिलाबाटै अझ बढी रूपमा हुने भएको कुरा लेखकले सार्है सटीक ढङ्गले उल्लेख गर्नु भएको छ । नारी भित्र कसरी प्रेम, घृणा, इर्श्या, डाही, स्वार्थीपन, अहम्त्ता, घमन्ड, भेदभाव आदि कुराहरू लुकेर बसेका हुन्छन् भन्ने कुरा सुमैनाको जीवन यात्रा पढ्दा छर्लङ्ग भइन्छ । समग्रमा यो उपन्यास सुमैनाको मुटूका तीनवटा शूलहरूका एउटा रूप नै त्रिवेणी भएको हुन सक्छ । जस्तै- पहिलो शूल आफ्नो लक्का जवान लोग्ने मर्नु, दोस्रो शूल जेठो छोरो जो आसाको तारा थियो उ पनि मारिनु र तेस्रो शूल भनेको कान्छो छोरो आसाको सानो दियोको रूपमा भएको पनि भिडन्तमा मारिनु आदि । यी सबै परि घटनाले बाकी खयरबारीमा ती तीनै जनाका विध्वीहरूका सङ्गम स्थल हुनु यो पुस्तकको शीर्षक सार्थक हुनु हो । जे होस्, काबेली, मावा वा तावा र तवरको काखकी सुमैना कनकाई माईको किनारामा आई वेदनाको बलिन्द्र आँसुको धारा बगाउँछिन् ।
यस्तै वेदना र आक्रोश जस्ताको त्यस्तै औपन्यासिक धरातलमा उतारेर पुस्तक लेख्नु हुने सफल उपन्यासकार श्री पुण्यप्रसाद खरेलज्यूलाई आभार तथा हार्दिक धन्यवाद ।

भद्रपुर- ५, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु