प्रगतिवादी कविताको स्वरूप

- प्रा.डा. यदु नन्दन उपाध्याय

(प्रगतिवादी कविता चिन्तनमा अन्तर्वस्तु र रूपको चर्चा निकै गरिए पनि त्यसभित्रका उपकरणबारे बेग्लाबेग्लै र गहिरो व्याख्या गरिएको पाइन्न । प्रस्तुत लेखमा कविताका प्रमुख घटक मानिएका अन्तर्वस्तुमा मूलतः के भनिएको छ भन्ने प्रश्नको खोजी गरिएको हुने तथा रूपतत्त्वमा कसरी भनिएको छ भन्ने कुरा प्रस्तुत गरिने कुरालाई पनि भिन्न भिन्न उपघटक मार्फत परिचित तुल्याउने प्रयत्न गरिएको छ । मूलतः पुस्तकालयीय गहन पठन एवं अनुशीलन विधिको उपयोग गरी गरिएको यस अध्ययनबाट कविता रचना र विश्लेषणको प्रगतिवादी पद्धति गैरप्रगतिवादी पद्धतिभन्दा कतिपय कुरामा मौलिक, भिन्न र पूर्ण पनि छ भन्ने कुरा प्रस्ट पारिएको छ ।)
१. विषय प्रवेश
कविता साहित्यको एउटा विधा हो र यसको समग्र स्वरूपबारे जानकारी राख्न त्यसका विविध रूपहरू तथा तिनको निर्माणमा प्रयुक्त घटक उपघटकबारे गहिरो परख गर्नु जरुरी छ । कविताको आस्वादन गर्दा त्यसका प्रत्येक घटकको बोध नगरी समष्टि संरचना वा अङ्गीत्वको सौन्दर्यबोध नै गरिन्छ भने विश्लेषणका निम्ति त्यसका आङ्गिक घटकहरूलाई छुट्याउने गरिन्छ । संरचनात्मक रूपमा प्रत्येक घटक एकअर्कामा आश्रित तथा अविभाज्य रहेका हुन्छन् तापनि कविताको अङ्गी संरचनाको सौन्दर्यको वर्धकका रूपमा तिनको पृथक् भूमिका र महत्त्व रहेको कुरा तिनको विश्लेषण गर्दा थाहा पाइन्छ । कविताका त्यस्ता संरचक तत्त्वहरूका बारेमा प्रगतिवादी साहित्य शास्त्रमा पनि विमर्श गरिएको पाइन्छ । प्रगतिवादका अनुसार कुनै पनि कला र साहित्यका प्रमुख संरचक अङ्ग अन्तर्वस्तु र रूप हुन् (पाण्डेय, २०५६ ः ३३) । पूर्वीय संस्कृत साहित्य शास्त्रमा रस, ध्वनि, अलङ्कार, रीति, वक्रोक्ति आदि तथा पश्चिमी साहित्यमा विषयवस्तु, भाषाशैली, छन्द, लय, बिम्ब, प्रतीक आदिलाई कविताका आत्मा, शरीर जस्ता घटक मानेको देखिन्छ । विचार विधानमा बढी महत्त्व दिने प्रगतिवादी कवितामा पनि ती तत्त्वहरू रहन्छन् नै तर तीमध्ये कुनलाई बढी र कुनलाई घटी महत्त्व दिने भन्ने कुरा मात्र फरक रहन्छ । प्रस्तुत आलेखमा कविताका अन्तर्वस्तु र रूप जस्ता घटकका साथै त्यस अन्तर्गत पर्ने अन्य उपघटकका बारेमा पनि विचार विमर्श गर्ने जमर्को गरिएको छ ।
२. कविताका घटक
प्रगतिवादले कविताका निम्ति अन्तर्वस्तुलाई प्रमुख तथा रूपलाई सहायक महत्त्व दिए पनि यी दबैका बिचको सन्तुलनबाट उत्कृष्ट र सुन्दर कविता रचिने दृष्टिकोण स्थापित गरेको छ । कविताका अन्तर्वस्तु र रूप जस्ता दुुई मुख्य तत्त्व वा घटकबारे तल जानकारी दिइएको छ ।
२.१ अन्तर्वस्तु
अन्तर्वस्तुलाई वस्तुतत्त्व, विषय, विषयवस्तु, कथ्य, विचार, भाव आदि विभिन्न शब्द र सन्दर्भहरूमा अथ्र्याउने गरिएको छ । यसलाई प्रस्ट्याउने क्रममा गौतम (२०४९ ः १२९) ले “वस्तुतत्त्व (अन्तर्वस्तु) भनेको केन्द्रीय विचार, बाहिरी सामग्री तथा तिनको सौन्दर्यात्मक मूल्याङ्कन आदिको जैविक समग्रता हो” भनेका छन् । त्यस्तै चापागाईं (२०५४ ः ४१)ले अन्तर्वस्तुभित्र तिन वटा सङ्घटक तत्त्व रहेको उल्लेख गरेका छन् र ती हुन् ः (१) रचनाकारलाई रचनाका निम्ति उत्प्रेरित गर्ने विचार, (२) रचनामा समावेश गरिएको विषय र (३) चित्रित सङ्घटनाको भावनात्मक र सौन्दर्यात्मक मूल्याङ्कन । यसरी विचार गर्दा कवितामा केही न केही विषय हुन्छ नै जसलाई बाहिरी सामग्री पनि भनिन्छ । त्यस विषयलाई कविले आफ्नो जीवन र जगत् सम्बन्धी दृष्टि अनुरूपको विचारमा सजाएर प्रस्तुत गरेको हुन्छ । त्यसलाई सजाउनमा कल्पना, भावना, संवेदना आदि तत्त्वको उपयोग सूक्ष्म तरिकाले गर्दछ । त्यसमा मानवीय जीवनका विविध भावसंवेदनाका पक्षको विशिष्ट भूमिका रहन्छ । तिनै पक्षले कवितालाई हृदय संवेद्य, मार्मिक र रमणीय बनाएका हुन्छन् । साथै यसै अन्तर्वस्तुमा कुन विचार लिए जीवन सुखमय हुने र कुन विचार लिए जीवन दुखमय हुन सक्ने भन्ने कुराको मूल्य निरूपण पनि गरिएको हुन्छ । यसरी समग्रमा प्रगतिवादी कविताभित्र पर्ने विचार, विषय तथा ती विचार र विषयको सौन्दर्य मूल्यको कुरो पनि अनुस्युत बनेर आउने देखिन्छ जसलाई तल थप प्रस्ट पारिएको छ ।
२.१.१ विचार
प्रगतिवादले अन्तर्वस्तुको निर्माणमा विचारधाराको अथवा विश्वदृष्टिको प्राथमिक महत्त्व रहने कुरो स्वीकार गरेको छ (पाण्डेय, २०५६ ः ३५) । कवितामा विचार सोझै वा प्रत्यक्ष नभई कलात्मक बिम्बमा सजिएर अभिव्यक्त हुन्छ । प्रगतिवाद माक्र्सवादी दर्शनको साहित्यिक रूप भएकाले यसमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सम्मत वैचारिक मन्यतालाई प्रस्तुत गरिएको हुन्छ । प्रगतिवादी कविताका वैचारिक प्रवृत्तिहरूमा वर्ग सङ्घर्ष र निम्न वर्गीय श्रमिक पक्षधरता, शोषणका विरुद्धको चेतना, उपेक्षित, उत्पीडित वर्गप्रतिको समभाव, द्वन्द्ववादी वैज्ञानिक दृष्टि, सङ्घर्षशीलता र आमूल परिवर्तनको आशावादी अभिव्यञ्जना आदि कुराहरू नै पर्दछन् । त्यस्तै साहित्य र समाजको अभिन्न सम्बन्ध, श्रम र साहित्यको अभिन्न सम्बन्ध, धर्म, जात, लिङ्ग आदि सम्बन्धी अवैज्ञानिक मान्यताको विरोध, सर्वहारा मानवतावाद र अन्तर्राष्ट्रियतावादी चेतना आदि लाई मानिन्छ । भनाइको तात्पर्य के हो भने प्रगतिवादी कविता उपर्युक्त मूलभूत विचारधाराद्वारा निर्देशित र आलोकित रहेर समाज यथार्थको स्वाभाविक एवं सौन्दर्यमूलक प्रस्तुतिमा केन्द्रित रहन्छ । कला होस् वा साहित्य प्रत्येक रचनामा सौन्दर्यको शक्ति पनि हुन्छ र वैचारिक सार पनि हुनु आवश्यक छ भन्ने सिदोरोव (सन् १९८७ ः १०–११) को भनाइले पनि साहित्यमा विचारको महत्त्वलाई झल्काउँछ । साहित्यिक विधामध्ये पनि अधिकतम सौन्दर्यानुभूति पाइने कविता विधामा यस्ता विचारहरू जीवन यथार्थका मार्मिक एवं संवेदनात्मक पक्षहरूका साथ अन्तर्घुलित भएर प्रस्तुत भएका हुन्छन् ।
२.१.२ विषय
अन्तर्वस्तुको निर्माण गर्ने अर्को महत्त्वपूर्ण घटक विषय हो । एङ्गेल्सले लेखकको दृष्टिकोण जति बढी लुकेको हुन्छ कलाकृतिका लागि त्यो कुरा त्यत्तिकै लाभदायक हुन्छ (माक्र्स–एङ्गेल्स, २०६३ ः ९५) भनेका छन् र दृष्टिकोणलाई त्यसरी लुकाएर प्रस्तुत गर्ने माध्यम चाहिँ विषय नै हो । प्रगतिवादी साहित्यको विषय मूलतः मानवीय जीवन पद्धति हो । यसलाई समाजरूपी सिपीबाट उत्पन्न मोती मानिन्छ (कडवेल, सन् १९९० ः ११) । यो कुनै दैवीशक्तिबाट प्राप्त भएको आकाश कुसुम नभएर वास्तविक धरतीका मानिसका श्रम प्रक्रियाकै उपलब्धि हो (मिश्र, सन् १९७३ ः १२४) । मानव समाज पनि विभिन्न वर्ग, समूह र क्षेत्रमा असमान रूपले बाँडिएको छ । प्रगतिवादले श्रमलाई साहित्य सिर्जनाको केन्द्रीय विषय मान्दछ । यसले मानव समाजको विद्यमान उन्नति र भौतिक सभ्यताको निर्माणमा कुनै राजा महाराजाको नभई श्रमिक जनको मूलभूत योगदान रहेको मान्दछ । यसको उद्देश्य नै तिनै श्रमिक जनताको सम्मान र सुन्दर जीवनको निर्माण हो । त्यति मात्र होइन, समाज विभिन्न जाति, क्षेत्रका रूप र तहमा विभाजित छ र त्यसमध्ये प्रगतिवादको अभिरुचि निम्न वर्ग, उपेक्षित दलित जाति, दुर्गम अविकसित क्षेत्र र तहका मानिसको जीवन प्रक्रियालाई सकारात्मक रूपमा प्रस्तुत गर्नमा बढी केन्द्रित रहेको हुन्छ । यथार्थ र सतही जीवनमा ती क्षेत्रका चरित्र सकारात्मक नहुन पनि सक्छन् तर तिनलाई नकारात्मकताबाट सकारात्मकतातर्फ अभिप्रेरित गर्नु प्रगतिवादको आग्रह रहन्छ । जे होस् कविताको असीमित र अनन्त विषय क्षेत्रलाई सीमाङ्कन गर्न सकिँदैन र त्यो सम्भव पनि छैन तर पनि प्रगतिवादी कविताले अभिव्यक्त गर्न खोजेको कथ्यको रूचि त्यतातिर ढल्केको पाइन्छ । यसले पौराणिक, ऐतिहासिक वा अलौकिक विषय ग्रहण गरे पनि त्यसलाई कवितामा अभिव्यक्त गर्दा युगीनता र समसामयिकता दिनु पर्छ भन्ने आग्रह लिन्छ ।
प्रगतिवादी कविले आफ्नो रुचि अनुसार विचार विधान गर्नका निम्ति अनुकूल खालका विषयको चयन गर्न सक्छ र त्यसलाई अन्तर्वस्तुका तहमा उठाउने कौशल देखाउँछ । यस सन्दर्भमा एउटै विषयलाई पनि प्रगतिवादी कवि र गैरप्रगतिवादी कविले भिन्न रूपमा अभिव्यक्त गर्न सक्ने देखिन्छ । किसान र जमिनदारको विषयलाई प्रगतिवादी स्रष्टाले किसानमाथि भएको चर्को शोषण र त्यस विरुद्ध जन चेतना जगाउने गरी प्रस्तुत गर्न सक्छ भने गैरप्रगतिवादी स्रष्टाले जमिनदारकै उदारता र मानवताको झलक दिने तहमा अन्तर्वस्तुको निर्माण गर्न पनि सक्छ । स्रष्टाले संसार जस्तो छ त्यस्तै ग्रहण गर्दैन अपितु व्यवहारमा, चिन्तनमा र अनुभूतिमा गर्दछ र यथार्थसँग कलाको सोझो होइन सौन्दर्यात्मक सम्बन्ध हुन्छ । यसैले विषय आफैमा विचार होइन बरु विषयमा कविको जीवनदृष्टि अनुरूपको विचार विधान गरी अन्तर्वस्तुको निर्माण कसरी गरिएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यसैले नै अन्तर्वस्तुलाई विषय वा कथ्यभन्दा दाँज्नै नसकिने गरी विस्तृत मानिन्छ (चापागाईं, २०५४ ः ४०) । यसो भएकाले विषयलाई हेर्ने र त्यसलाई अन्तर्वस्तुको आयोजनामा सङगठित गर्ने प्रक्रियामा रचनाकारका जीवन दृष्टिको अहम् भूमिका रहने देखिन्छ ।
विषय कविता रचनाको कच्चा सामग्री हो । त्यसलाई कविताको रूप दिँदा विचारसूत्र उन्ने मात्र होइन मानवीय सम्बन्धका सूक्ष्म संवेदनात्मक, आवेगात्मक र सौन्दर्यात्मक भावहरूले भरिपूर्ण तुल्याउनु पर्छ । त्यसमा कविले जीवन भोगाइका अनुभूतिमय भावहरूलाई व्यवस्थित पार्ने खुबी र धैर्य पनि देखाउनु पर्छ । प्रगतिवादी कविता स्वच्छन्दतावादी कविता जस्तो सहज, स्वस्फूर्त अभिव्यक्ति नभई सचेत आयोजन पनि हो र विषयको विस्तारसँग त्यसको बुनोट एवं बनोटको व्यवस्थापन पनि सही तरिकाले हुनु आवश्यक छ । लघुतम कवितामा भावको स्फुरण मात्र र लघु कवितामा भाव वा विचारको एक प्रक्षेप हुँदा कवितामा आख्यानको अपरिहार्यता नरहे पनि मध्यम र खास गरी बृहत् एवं बृहत्तम कवितामा आख्यान निर्विकल्प रहने देखिन्छ । स्वाभाविक रूपमा आख्यान आउनासाथ व्यवस्थित कथानकको बनोट र बुनोटको कुशल व्यवस्थापन हुनु पर्ने देखिन्छ । त्यस अन्तर्गत विषयलाई कार्यकारण सम्बन्धमा विकसित गर्ने, भावलाई चक्रीय वा वर्तुलित संरचनामा अभिव्यक्त गर्ने, चरित्रको प्रारूपीकरण मार्फत क्रियाव्यापार र द्वन्द्वको निर्माण गर्ने, विषयलाई क्रमिक वा व्यतिक्रमिक गतिमा सुव्यवस्थित गर्ने, विषय र चरित्रको विश्वसनीय धरातल निर्माणका निम्ति स्थानिक एवं कालिक परिवेशको स्वाभाविकता सिर्जना गर्ने आदि कुराहरूको उचित विन्यास गरिएको हुन्छ । विषय अनुकूल चरित्र तथा त्यसको स्वाभाविकता निर्माण गर्ने वातावरणको आयोजनामा कविको विशेष सजगता रहनु पर्ने मानिन्छ । यसबाट अन्तर्वस्तुमा विषयका साथै रचनाकारको रचनात्मक कुशलता र जीवनगत भोगाइका पक्षसँग सम्बन्धित विषयलाई भावमय बनाउने सिपको भूमिका उल्लेख्य रहन्छ । यसरी अन्तर्वस्तुमा वस्तुगत यथार्थले विषयलाई प्रतिनिधित्व गर्दछ भने रचनाकारको बौद्धिक एवं सिर्जनात्मक व्यवस्था सहित प्रस्तुत गरिएको यथार्थले मनोगत पक्षलाई प्रतिनिधित्व गर्दछ (चापागाईं, २०५४ ः ४०) । यस्ता वस्तुगत र मनोगत सिर्जनात्मक कुरा जुनसुकै सहित्यमा पनि रहेका हुन्छन् ।
२.१.३ सौन्दर्यात्मक मूल्याङ्कन
अन्तर्वस्तु अन्तर्गतकै अर्को महत्त्वपूर्ण निष्कर्षात्मक पक्ष सौन्दर्यात्मक मूल्याङ्कन हो । प्रगतिवादी साहित्य मूल्याङ्कनका आफ्नै सौन्दर्यशास्त्रीय मापदण्डहरू छन् । यसले सुन्दरलाई निरपेक्ष रूपमा नभई जीवनोपयोगितासँग जोडेर हेर्दछ । एउटा भरियाले तप्प तप्प पसिना चुहाउँदै गरुङ्गो मानी–मानी बोकिरहेको भारीबाट मेरा भोकाएका केटाकेटीले अघाउन्जेल खाएर आनन्दित हुने छन् भन्ने किसिमको सौन्दर्य देखेको हुन्छ भने एउटा धनीमानी व्यक्तिले त्यस्ता भारीमा नभई विभिन्न परिधानले सजिएका भवन वा अन्य विलासी वस्तुमा मात्र सौन्दर्य देख्न सक्छ । यसो भएकाले सौन्दर्य व्यक्ति र परिस्थिति सापेक्ष हुन्छ । श्रममा सौन्दर्य देख्ने प्रगतिवादले आवेग प्रधान उन्मादी, अवैज्ञानिक, अन्ध मान्यतालाई तिरोहित गर्दै स्वस्थ, श्रममय र सङ्घर्षमय आशावादलाई रचनाको सारवस्तुका रूपमा प्रस्तुत गर्न चाहन्छ । अर्थात् प्रगतिवादी साहित्यमा कार्यका सकारात्मक परिणामको सङ्केत गरिएको हुन्छ । यस्तो सङ्केत सोझै प्रकट भएमा त्यसले सौन्दर्यात्मक मूल्य र महत्त्व प्राप्त गर्न सम्भव रहन्न । यसलाई विषयभित्र उनिएका विचार एवं भावका उपयुक्त, स्वाभाविक एवं प्रभावकारी बुनोटका साथ निष्कर्षमा पु¥याइएको हुन्छ । यस क्रममा कवितामा रचनाकारको विवेकका साथै आवेगको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । प्रगतिवादी सिर्जनामा निम्न वर्गीय पक्षधरताको निष्कर्ष त रहन्छस तर माक्र्स र एङ्गेल्स दुवैले कृतिभित्र कुत्सित पक्षधरताको भने कडा विरोध गर्दै एकल्काँटे नीति, प्रवचन, कलात्मक विधिका स्थानमा उपदेशबाजी जस्ता कुराको भने विरोध गरेको पाइन्छ (माक्र्स र एङ्गेल्स, २०६३ ः २३) ।
सौन्दर्यात्मक मूल्याङ्कनको कुरो कृतिभित्र अभिव्यञ्जित विचार यति कारणले ठिक र गलत छ भन्ने निष्कर्ष दिने कुरा नै हो । यो कुरा आदर्शवादी रचनाहरूमा पनि सत्पक्षको विजय तथा असत्पक्षको पराजय मार्फत दिइएको हुन्छस तर त्यसभन्दा फरक प्रगतिवादी कविताको निष्कर्ष चाहिँ द्वन्द्वात्मक भौतिकवादी मान्यता अनुरूपको क्रान्तिकारी आशावाद सहितको कथ्यद्वारा प्रस्तुत गरिएको हुन्छ । सुन्दर पनि सापेक्ष हुन्छ भन्ने प्रगतिवादले समाजभित्रका उत्पीडक र उत्पीडित, शोषक र शोषित, प्रगतिशील र प्रतिगामी, अन्ध विश्वासी र वस्तुवादी, निराशावादी र आशावादी, सङ्घर्षशील र पलायनवादी आदि नकारात्मक एवं सकारात्मक पक्षका बिचको द्वन्द्वमा सकारात्मक पक्षको विजयलाई मात्र सुन्दर मान्दछ । मानव जीवन त्यो बेला मात्र वास्तविक र सुन्दर बन्छ जुन बेला मानव समस्त उत्पीडन तथा बन्धनबाट मुक्त तथा स्वतन्त्र हुँदै अनि आफ्नो रचनात्मक ऊर्जा तथा मानवीय सारतत्त्वको उद्घाटन गर्दै सङ्गतिपूर्ण तथा सर्वाङ्गीण विकासको दिशामा अघि बढ्छ (चैतन्य, २०६७ ः ५०) । प्रगतिवादी कृतिमा गलत, अवैज्ञानिक, प्रतिगामी र ह्रासशील विचारले प्रश्रय पाएको देखाउनु सर्वथा अनुचित मानिन्छ । सुन्दर सम्बन्धी यस्तो मूल्याङ्कन श्रम वर्गीय एवं विकासको द्वन्द्ववादी यथार्थ नियम र मान्यतामा आधारित सुन्दर भविष्यको खोजीमा उन्मुख रहन्छ अनि भावमय, कलामय र सङ्केतमय भएर साहित्यमा प्रकट हुन्छ । यसलाई रचनाकारले निकै जतन र सावधानीका साथ प्रस्तुत गर्नु पर्छ भन्ने मानिन्छ । यस्तो मूल्याङ्कनको सङ्केत नगरी पाठकलाई नै निष्कर्ष निकाल्न दिनु पर्छ भन्ने साहित्यिक मान्यता पनि नपाइने होइन; तर कुनै पनि विचार तटस्थ हुन नसक्ने मान्यता राख्ने प्रगतिवादले सामान्यतया नकारात्मक तत्त्वको अवसान अनि सकारात्मक तत्त्वको उदयको द्वन्द्ववादी मान्यतालाई नै सौन्दर्यात्मक मूल्याङ्कनमा प्रस्तुत गरेको पाइन्छ । यसरी सौन्दर्यात्मक मूल्याङ्कन सम्बन्धी प्रगतिवादी मान्यता अन्य साहित्यिक मान्यताभन्दा भिन्न, समाजोपयोगी र महत्त्वपूर्ण रहेको देखिन्छ र यो पनि अन्तर्वस्तुको महत्त्वपूर्ण सङ्घटक तत्त्वमा पर्दछ ।
२.२ रूपतत्त्व
अन्तर्वस्तुलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्ने संरचनात्मक ढाँचा वा आकृतिलाई रूपतत्त्व मानिन्छ । वस्तुतत्त्वको योजना विन्यास र केन्द्रीय विचारलाई कलात्मक रूप दिँदा प्रयोग गरिने भाषा, बिम्ब, प्रतीक, छन्द, लय, सङ्गीत, अलङ्कार आदि तत्त्वहरू रूपतत्त्वमा पर्दछन् (गौतम, २०४९ ः १२९–३०) । रूप बाह्य आवरण मात्र होइन अन्तर्वस्तुको आन्तरिक संरचनाको अभिव्यक्ति समेत हो (चापागाईं, २०५४ ः ३७) भन्ने प्रगतिवादले प्रभावकारी अन्तर्वस्तुको निर्माणका निम्ति रूपको उल्लेख्य महत्त्व रहन्छ भन्ने स्वीकार गर्दछ । यहीँनेर रूपतत्त्व र रूपवादमा भिन्नता रहेको कुरा स्मरणीय छ । रूपवादले साहित्यको अन्तर्वस्तुलाई महत्त्व नदिने मात्र होइन त्यसलाई अस्वीकारै गर्दछ (पाण्डेय, २०६४ ः ३०)स तर सुन्दर कलाकृतिका निम्ति रूपतत्त्वको उपेक्षा गर्न नहुने कुरामा प्रगतिवादले जोड दिन्छ । प्रगतिवादले रूपतत्त्वको उपेक्षाले कृति गरिब पत्रकारिता बन्न जाने कुरामा सचेत गराउन चाहन्छ । लुनाचास्र्कीले रूपतत्त्वको विश्लेषण अन्तर्वस्तुका तुलनामा ज्यादै जटिल हुन्छ (मिश्र, सन् १९७३ ः ३९३) भनेको सन्दर्भबाट रूपतत्त्वको महत्त्व र जटिलताको बोध गर्न सकिन्छ । यसको मुख्य काम नै अन्तर्वस्तुको कुशल सम्प्रेषण कार्यलाई सघाउनु मानिन्छ । यस सन्दर्भमा कविताका रूपतत्त्वसँग सम्बधित प्रमुख घटकहरूबारे पृथक् रूपमा प्रकाश पार्नु आवश्यक छ र तिनलाई तल क्रमशः प्रस्तुत गरिएको छ ।
२.२.१ भाषिक विधान
कविताको अन्तर्वस्तुलाई प्रभावकारी ढङ्गले व्यक्त गर्ने रूपतत्त्वको अनिवार्य घटक भाषा हो । सिङ्गो साहित्य नै भाषाका माध्यमबाट अभिव्यक्त हुन्छ । त्यसो हुनाले कवितात्मक अभिव्यक्तिको माध्यम पनि भाषा नै हो भन्ने प्रस्टै छ । यही भाषा प्रयोगका पक्षहरूको आयोजनलाई भाषिक विधान भनिन्छ । साहित्यको भाषा सामान्य बोलीचालीको भन्दा विशिष्ट हुन्छ भने साहित्यमध्ये पनि अधिकतम सौन्दर्यानुभूति प्रदान गर्ने मानिएको कविताको भाषा थप सौन्दर्यपूर्ण हुनु स्वाभाविकै हो । प्रगतिवादी समीक्षक क्रिस्टोफर कडवेल(सन् १९९० ः १३)ले पनि कविताको भाषा आम जनताको भन्दा ओजपूर्ण हुन्छ भनेका छन् । कविता बन्नका लागि आवश्यक पर्ने कलात्मक शब्द विन्यास र समग्र कलात्मक संयोजनका अभावमा सुन्दर र प्रभावपूर्ण कविता लेखिन नसक्ने कुरामा प्रगतिवादी चिन्तकहरू स्पष्ट देखिन्छन् (पाण्डेय, २०५६ ः ५२) । जीवन जगत्का यथार्थलाई अन्तर्वस्तुमा सजाएर बिम्ब, प्रतीक, अलङ्कार आदि मार्फत अभिव्यक्त गर्नुमा भाषाको भूमिका महत्त्वपूर्ण रहन्छ र प्रगतिवादले निम्न वर्गका जनताको सहजबोध र चेतनालाई उठाउन पनि सक्ने भाषिक प्रयोगको अपेक्षा राख्दछ ।
प्रगतिवादी कवितामा निम्न वर्गका श्रमजीवी, उत्पीडित जनताका यथार्थ जीवनलाई सुन्दर शब्द चयनका माध्यमबाट व्यक्त गर्ने प्रयत्न गरिन्छ । अनेक शब्दहरूका विकल्पबाट सुन्दर, सुकोमल, सघन एवं श्रुति सुखद शब्दको छनोट गरी उपयुक्त भावको प्रकटीकरण गर्नु पर्नेमा प्रगतिवादी चिन्तकहरू पनि सहमत देखिन्छन् । यस क्रममा थोरैमा धेरै कुराहरू व्यक्त गर्नु पनि कविताका भाषाको महत्त्वपूर्ण पक्ष मानिन्छ । गद्यमा धेरै पङ्क्तिपुञ्जमा भनिने कुरा कवितामा थोरैमा व्यक्त गर्न सम्भव हुन्छ । कविताको भाषामा प्रायः अपूर्ण वाक्य, व्यञ्जनात्मक अर्थ सामथ्र्यका शब्द, साङ्केतिक अभिव्यक्ति आदि रहने भएकाले यसको आयाम गद्यका तुलनामा छोटो र छरितो हुन्छ । साथै कविताको भाषामा विचलनलाई पनि अर्थ विशिष्टताका निम्ति स्वीकारिन्छ । यस्तो विचलन पदक्रममा, व्याकरणिक कोटिमा तथा शब्दार्थमा समेत व्यक्त भएको हुन्छ । छन्दोबद्ध वा छन्दमुक्त गद्य कवितामा मिलाउनु पर्ने गण, गति, यति, सुर अनुप्रास आदि कारणले पनि विचलनलाई सार्थक तुल्याएको हुन्छ । यी सबै तत्त्वलाई प्रगतिवादी कवितामा अभिव्यक्तिगत विशिष्टताको निर्माणका साधनका निम्ति मात्र प्रयोग गरिएको पाइन्छ । कवितामा रमणीय अर्थका निम्ति व्यञ्जना, चमत्कारपूर्ण अर्थका निम्ति लक्षणा तथा स्वाभाविक अभिव्यक्तिका निम्ति अभिधा गरी तिनै शब्दशक्तिको प्रयोग गरिन्छ (मिश्र, सन् १९९० ः १९७) । कवितामा शब्द स्वयं केन्द्र बनेर आउने नभई जन मानसलाई केन्द्र बनाएर जीवन र श्रमको सजातीय सहकारिता प्रकट हुनु पर्ने प्रगतिवादी मान्यता छ (पाण्डेय, २०५६ ः ५२) । यसैले प्रगतिवादी कवितामा निम्न वर्गका जनताका यथार्थ र तिनमा सामाजिक रूपान्तरणको उन्नत चेतना निर्माण गर्ने अन्तर्वस्तुलाई सरल, सहज अभिव्यक्तिमा प्रस्तुत गरिएको पाइन्छ । यसका साथै यथार्थ जीवनलाई व्यक्त गर्न जन जीवनमा बढी प्रचलित रहेका आगन्तुक, तद्भव एवं तत्सम शब्दको सान्दर्भिक, उपयुक्त तथा स्वाभाविक प्रयोगमा पनि ध्यान दिइएको हुन्छ । यसरी प्रगतिवादी कवितामा जीवन जगत् सम्बन्धी यथार्थताको बोध र उन्नत चेतनाको निर्माणको अन्तर्वस्तुलाई भाषिक घटकका उपयुक्त चयन, सार्थक विचलन तथा सौन्दर्यपूर्ण प्रयोगद्वारा व्यक्त गरिन्छ । कविताको त्यो भाषा लयबद्ध रही झन् विशिष्ट बनेको हुन्छ ।
२.२.२ लय विधान
कवितालाई साहित्यका अन्य विधाबाट भिन्न तुल्याउने रूपतत्त्वको अर्को अपरिहार्य तत्त्व लय हो । यो वर्णहरूको उच्चारणको प्रवाह र विरामबाट उत्पन्न हुने सम्मोहनकारी शक्ति हो । लयको उपस्थिति मानव जीवनका समस्त क्रियाकलापमा रहने भए पनि साहित्यमा र त्यसमा पनि कवितामा झन् टड्कारो हुन्छ । लयको स्वरूप आवृत्तिमूलक हुन्छ र यसको व्याप्ति दिक् र काल दुबैमा रहने मानिन्छ (वर्मा, सन् १९८५ ः ५५८) । सङ्गीतका गायन, नर्तन र वादनलाई सूत्रबद्ध गर्ने लय कविताको अनिवार्य र अपरिहार्य तत्त्व हो । कवितामा लय काल सापेक्ष हुन्छ । लयको उपस्थिति छन्दोबद्ध वा छन्दमुक्त गीत वा गद्य कविता सबैमा रहन्छ । छन्दोबद्ध कवितामा बाह्य रूपमै पनि लय व्यवस्थापन गर्ने वर्ण वितरणको नियम हुन्छ । वार्णिक छन्दमा विभिन्न गणमा पर्ने वर्ण र अक्षरलाई नियमित तुल्याउने प्रावधान रहेको हुन्छ भने मात्रिक छन्दमा ह्रस्व र दीर्घको मात्रा अनुसार रचनालाई लयात्मक नियममा आबद्ध गरिएको हुन्छ । छन्दमुक्त गद्य कवितामा बाह्य रूपमा त्यस्तो व्यवस्थित नियम नदेखिए पनि आन्तरिक लय सङ्गतिको अविच्छिन्नता रहेकै हुन्छ । छन्दोबद्ध कवितामा जति नियमित लय विधान गरिएको हुन्छ गद्य कवितामा त्यसका तुलनामा अनियमित लय विधान पाइन्छ । बिसौँ शताब्दीमा पाश्चात्य कवितामा भित्रिएको गद्य कवितामा न्यूनतम लयात्मक अनुशासन र अधिकतम उन्मुक्तताको खोजी भइ रहेको पनि देखिन्छ (त्रिपाठी, २०५३ ः ६) । कवितामा लय विधान अनिवार्य भएको मान्ने प्रगतिवादी काव्य चिन्तकहरू छन्दको यान्त्रिक वा रूढिबद्ध पद्धतिका विरोधी भए पनि छन्दको बहिष्कारै गर्नु पर्दछ भन्ने मान्यता राख्दैनन् (तिमल्सेना, २०६४ ः१०४) । यसर्थ जनजिब्रोमा आकर्षक र प्रभावकारी भइ रहेका लोक जीवनका नवीन प्रकारका लयको प्रयोगमा पनि प्रगतिवादी चिन्तकको विमति नरहनु स्वाभाविकै देखिन्छ ।
कविताको लय निर्माणमा प्रचलित अनुप्रास, यमक आदि अलङ्कारका साथै श्रुतिरम्य वर्ण निर्मित शब्द, तुलनात्मक रूपमा श्रवणीय रहेका स्वरवर्णको आधिक्य उपयुक्त मानिन्छ । गायन, नर्तन र वादनको आकर्षणबाट शारीरिक स्फूर्तिमा समेत अभिवृद्धि गर्ने लयले मानवीय भावावेगलाई उद्दीप्त पार्ने, मनलाई आनन्दमग्न तुल्याउने, स्मरण कार्यलाई सघाउने तथा सामूहिक एवं समाज रूपान्तरणकारी भावलाई एकत्रित र प्रभावशाली पार्ने भूमिका खेल्दछ । कडवेलका भनाइमा कवितालाई सामान्यभन्दा ओजपूर्ण बनाउनमा पनि लयतत्त्वको नै महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ (कडवेल, सन् १९९० ः १३) ।
गीत र कवितामा लयको तुलनात्मक उपस्थिति पनि विचारणीय देखा पर्छ । साहित्यका अरू विधाबाट गीत र कविता लयकेै कारण छुट्टिन्छन् र सङ्गीत र साहित्यको सन्धिरेखामा यी दुबैको उपस्थिति रहेको मानिन्छ (त्रिपाठी, २०५३ ः २३) । गीतका आँतमा कविता र कविताका आँतमा गीत अनिवार्य रहे पनि सङ्गीतसँग साइनो जोडी अधिकतम गेयगुण प्राप्त गर्दा गीतको जन्म हुने तथा साहित्यसँग साइनो जोडी भावपक्षका प्राधान्यमा गीतिचेत प्रकट हुँदा कविताको निर्माण हुने देखिन्छ (त्रिपाठी, २०५३ ः २४–२५) । यस सन्दर्भमा गीतको लय तुलनात्मक रूपमा सार्वजनीन हुन सक्ने देखिन्छ भने कविताको लयमा सार्वजनीनता कम रहने देखिन्छ । यसको प्रमाण बुझ्दै नबुझ्ने भाषामा गाइएको गीत जसरी मानिसले तल्लीनताका साथ सुनेर आनन्द लिन सक्छ त्यही तल्लीनतामा ऊ कविता सुनेर आह्लादित हुन सक्दैन । यस स्थितिले गीत र कविताको लयात्मक भिन्नताको बोध गर्न सकिन्छ । यसरी समष्टिमा सबभन्दा तीव्र लय चेतना गीतमा रहने, त्यसपछि छन्दोबद्ध कवितामा र अन्त्यमा गद्य वा मुक्त कवितामा रहने देखिन्छ । लयबिना कविताको कल्पनै गर्न सकिदैन भने निम्न वर्गीय जीवनको समृद्धिलाई अन्तर्वस्तुमा अभिव्यक्त गर्ने प्रगतिवादले जनजिब्रोमा रूचिकर हुने कर्णप्रिय लयलाई बढी महत्त्व प्रदान गरेको हुन्छ ।
२.२.३ कथन पद्धति
कविताको रूपतत्त्वसँग सम्बन्धित महत्त्वपूर्ण पक्ष कथन पद्धति हो । यसले कवि र पाठकका बिच सम्बन्ध स्थापित गर्दछ । कविले व्यक्त गर्ने अन्तर्वस्तुको प्रस्तुति कुन तरिका वा पद्धतिबाट गरेको छ भन्ने विधिपक्षलाई यसले जनाउँछ । सामान्यतया कविताका सबै प्रकारमा अभिव्यक्त अन्तर्वस्तु कविकै कथनका रूपमा आएको हुन्छ र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने क्रममा विभिन्न कथन पद्धतिको उपयोग कविले गर्दछ । प्रगतिवादी चिन्तकहरू कवितामा प्रत्यक्ष र स्वतस्फूर्त कथन पद्धतिको प्रयोगलाई प्राथमिकता दिन्छन् (पाण्डेय, २०५६ ः ५७) । त्यसरी कविले उपयोग गर्ने पद्धतिहरू निम्न तिन प्रकारका देखिन्छन् र ती हुन् (१) सोझै कवि कथन (२) आख्यानीकृत कवि कथन र (३) नाटकीकृत कवि कथन ।
(क) सोझै कवि कथन
कविताको अन्तर्वस्तुलाई सोझै कविले प्रस्तुत गर्दछ भने त्यसलाई कवि कथन वा कवि प्रौढोक्ति पनि भनिन्छ । यस पद्धतिमा कविले आफ्ना वस्तुपरक वा आत्मपरक कथ्य कसैप्रति सम्बोधित गरी भन्दछ र यो तृतीय पुरुष वा प्रथम पुरुषमा र कहिलेकाहीँ द्वितीय पुरुषमा पनि कथित वा आत्मालापित हुन्छ(त्रिपाठी, २०५३ ः १९) । एकालापी हुनु यसको मुख्य विशेषता हो जसमा आत्मानुभूतिको कथन वा कुनै स्थितिप्रतिको वर्णन, विवरण वा सङ्केत पनि गरिएको हुन सक्छ । यस प्रकारको कवि कथन कविताका लघुतम र लघु कविता रूपमा बढी प्रयोग भएको पाइन्छ भने कतिपय कविताका मध्यम, बृहत् र बृहत्तम रूपमा पनि आंशिक रूपमा पाउन सकिन्छ ।
(ख) आख्यानीकृत कवि कथन
कविले आफ्नो अन्तर्वस्तुलाई आख्यानात्मक रूप दिई प्रस्तुत गरेमा सो कथन आख्यानीकृत कवि कथन हुन्छ । आख्यान भन्नासाथ त्यसमा छोटो वा लामो कथानक, चरित्र, परिवेश आदि पक्षको प्रस्तुति हुन्छ । यस पद्धतिमा कविले विभिन्न अनुकूल प्रतिकूल पात्रको निर्माण गरेर तिनै पात्र मार्फत आफ्नो कथन प्र्रस्तुत गरेको पनि हुन्छ र कवि सोझै आफै बिचबिचमा प्रकट भएरै पनि कथन गरि रहेको हुन्छ । सामान्यतया कविताका बृहत्तम, बृहत् तथा मध्यम रूपमा अनि कतिपय लघु रूप समेतमा यस कथन पद्धतिको उपयोग गरिएको देखिन्छ । यसैले आख्यानीकृत कवि कथनमा प्रायः कवि निबद्ध पात्र कथन तथा कवि कथन दुबैको मिश्रण रहन्छ ।
(ग) नाटकीकृत कवि कथन
कविले प्रस्तुत गर्ने अन्तर्वस्तु पात्रहरूका प्रत्यक्ष संवाद तथा दृश्य निर्माण र सङ्केत समेतबाट प्रस्तुत गरिएमा नाटकीकृत कवि कथन पद्धतिको निर्माण हुन्छ । यस प्रकारका कथन पद्धतिको प्रयोग कविताका मध्यम, बृहत् र बृहत्तम रूपका साथै कताकति फुटकर रूपमा समेत भएको देखिन्छ । यस्ता कवितामा कवि अप्रकट रूपमा रहेर नै पात्रका संवाद र दृश्य निर्माण मार्फत आफ्ना मान्यताहरू प्रस्तुत गरि रहेको हुन्छ । प्रत्यक्ष संवादको आधिक्य रहनु यसको मुख्य पहिचान हो ।
कथन पद्धतिका उपर्युक्त पद्धतिमध्ये कुनै पनि कविता रूपमा एउटा मात्र पद्धतिको उपयोग पनि हुन सक्छ भने एउटामा अर्का पद्धतिको वा सबैको मिश्रण गरिएको पनि देखिन्छ । प्रगतिवादी काव्य चिन्तनमा कविको मूल विचार र भावबोधका निम्ति उपयुक्त र प्रभावकारी कथन पद्धतिको उपयोग गर्नु पर्ने मान्यता प्रकट गरिएको पाइन्छ ।
२.२.४ बिम्ब, प्रतीक एवं अलङ्करण योजना
कविताको अन्तर्वस्तुलाई आर्कषक र प्रभावकारी बनाउने महत्त्वपूर्ण प्रगतिवादी रूपतत्त्वमा बिम्ब, प्रतीक तथा अलङ्कारका अन्य उपकरण पनि पर्दछन् । यी तत्त्वले कवितामा व्यक्त गर्न चाहेको मूल कथ्यलाई बुझ्न सजिलो पार्ने, सादृश्य कायम गरेर पाठकको पूर्वस्मृतिलाई ताजा बनाउने र प्रत्यक्ष चित्र वा गहन अभिव्यञ्जना खडा गरेर अभिव्यक्तिलाई भरपर्दाे बनाउने गर्दछन् । कथ्यको अभिव्यक्ति सामान्य भाषामा पनि अवश्य गरिन्छस तर कविता विशिष्ट कथन भएकाले यस्ता घटकहरूले कविताको विशिष्टता र सौन्दर्यको निर्माणमा अहं भूमिका खेल्ने मानिन्छ । यहाँ उक्त बिम्ब, प्रतीक तथा अलङ्करण योजनाका बारेमा थप प्रकाश पारिएको छ ।
(क) बिम्ब योजना
बिम्ब भनेको छाया, प्रतिच्छवि, प्रतिमूर्ति वा शब्दचित्र हो । यसले कवितामा भन्न खोजेको मुख्य भाव, विचार वा घटनालाई अर्को सादृश्य खडा गरेर प्रत्यक्ष वा झलमल्ल पार्दछ । यसैले बिम्बलाई मुख्य अर्थको सहचर प्रतिच्छायाका रूपमा आउने अर्काे सहप्रस्तुत वा सहवर्ती अर्थ (त्रिपाठी, २०५३ ः २०) मानिन्छ । बिम्बहरूको सामूहिक रूपलाई बिम्ब विधान भनिन्छ । कवितामा प्रयुक्त बिम्ब कृतिव्यापी बनी व्यञ्जनात्मक किसिमले व्यापक प्रतीकधर्मी बनेर आए कृतिव्यापी बिम्ब मानिन्छ भने कृतिका खास ठाँउमा प्रयुक्त भई त्यसैको सौन्दर्य बढाउने रूपमा आएमा त्यसलाई स्थानीय बिम्ब मानिन्छ (अवस्थी, २०५६ ः ८८) । काव्य सौन्दर्यको अभिवृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्ने बिम्ब विधान आधुनिक काव्यशिल्पको महत्त्वपूर्ण रूपपरक घटक मानिन्छ । प्रगतिवादी चिन्तनमा पनि सामाजिक जीवनका यथार्थलाई कला सिर्जनाका नियमका आधारमा प्रतिबिम्बन गराउनु पर्दछ र यसका निम्ति बिम्ब विधानले यथेष्ट मात्रामा मद्दत पु¥याउँछ भन्ने मान्यता प्रस्तुत गरिएको पाइन्छ (तिमल्सेना, २०६४ ः ११३) ।
(ख) प्रतीक योजना
प्रतीक भनेको कुनै गहिरो अर्थलाई सङ्केत गर्ने कविताको रूपपरक घटक हो । यसले शब्दको अभिधेयार्थ वा वाच्यार्थभन्दा भिन्न लक्षार्थ र व्यङ्ग्यार्थलाई प्रतीकात्मक सन्दर्भमा व्यक्त गर्दछ (लुइटेल, २०६२ ः २६६) र अभिव्यक्तिलाई गहन, सारगर्भित एवं सौन्दर्यपूर्ण बनाउँछ । यसले एकातिर अमूर्त र अव्यक्त भावलाई भिन्न ढाँचाले मूर्तता दिने काम गर्छ भने अर्कातिर धेरै शब्द खर्च गरेर भन्नु पर्ने कुरालाई थोरै शब्दमा मिठोसँग भन्दछ (बराल र एटम, २०५६ ः ४२) । राष्ट्रियताको प्रतीक झन्डा, गतिशीलताको प्रतीक नदी, रङ्ग फेर्नेको प्रतीक छेपारो, सुन्दरताको प्रतीक फूल, उचाइको प्रतीक सगरमाथा आदिले कविताको अभीष्ट भाव वा विचारलाई प्रत्यक्ष रूपमा परिपुष्ट र अनुभवगम्य बनाई व्यक्त गर्न सक्दछन् । यस्ता प्रतीकहरूको अर्थ शब्दकोशमा नभई तिनले लिएको ऐतिहासिक, सांस्कृतिक, सामाजिक परम्परा, देश, काल, परिस्थिति एवं कथ्यको सन्दर्भमा गहिरिएर खोज्नु पर्छ । अभिव्यक्त गर्न खोजिएका विषयमा सामान्य भाषाको पहुँच नपुगेको महसुस हँुदा कविले भावनामा उम्लिएका तरङ्गहरूलाई साक्षात् गर्न खोज्दा प्रतीकको सहारा खोज्दछ (चन्द्रकला, सन् १९६६ ः २) । यसैले मुख्य भावको अभिव्यक्तिमा सघाउने रूपतात्त्विक उपकरणका रूपमा प्रतीक पनि महत्त्वपूर्ण रहेको छ ।
(ग) अलङ्करण
अलङ्कार पनि बिम्ब वा प्रतीकजस्तै कविताको सौन्दर्य अभिवृद्धि गर्ने आभूषण वा गहना हो । संस्कृत अलङ्कारवादी चिन्तकहरू आगोमा तातोपन भएजस्तै काव्यमा अलङ्कार हुनु पर्छ भन्ने मान्यता राख्दछन् (उपाध्याय, २०३६ ः ११४)स तर प्रगतिवादी चिन्तनमा अलङ्कार कविताका निम्ति त्यस्तो अनिवार्य एवं अपरिहार्य तत्त्व मानिन्न । अनुप्रास, यमक जस्ता शब्दालङ्कारले लयगत श्रुति माधुर्यको सञ्चारमा भूमिका खेलेको पाइन्छ भने उपमा, रूपक, दृष्टान्त लगायतका अर्थालङ्कारले काव्यको आन्तरिक सौन्दर्यको नै अभिवृद्धि गरी कवितालाई चमत्कारपूर्ण र आकर्षक बनाउने कार्य गरेको देखिन्छ । प्रगतिवादी चिन्तनले पुरातन अलङ्कार योजनामाथि विश्वास नगरी शोषणको स्थितिलाई सङ्घर्षको बिम्बद्वारा सजाउने नयाँ तथा सरल प्रयोगमा ध्यान दिन्छ (गुप्ता, सन् २००१ ः २०८) । यसर्थ यथार्थ जीवनसँग सम्बद्ध र काव्यका शोभा वद्र्धक रूपतात्त्विक घटकका रूपमा अलङ्कारको उपयोग प्रगतिवादी कवितामा पनि गरिएको पाइन्छ । यसका साथै प्रकृतिको मानवीकरण, हास्यव्यङ्ग्यात्मकता, स्वैरकल्पना, उखान आदि तत्त्वले पनि कविताको सौन्दर्य निर्माण र अभिवृद्धिमा भूमिका खेलेका हुन्छन् ।
३. निष्कर्ष
जीवन जगत् सम्बन्धी भावको लयात्मक अभिव्यक्ति कविता हो र यसका अन्तर्वस्तु तथा रूप जस्ता दुई प्रमुख सङ्घटक तत्त्व रहेका हुन्छन् । प्रगतिवादी मान्यता अनुसार कविताको अन्तर्वस्तुमा समाजका श्रमजीवी, मिहेनती एव् उत्पीडित निम्न वर्गप्रतिको पक्षधरता दर्शाइएको हुन्छ र तिनकै समृद्ध एवं सुखमय जीवनको परिकल्पना प्रस्तुत गरिएको पाइन्छ । यस्तो अन्तर्वस्तुलाई परोक्ष, विशिष्ट, रमणीय एवं मार्मिक बनाएर प्रस्तुत गर्न प्रभावकारी रूपतत्त्वको अपरिहार्यता रहन्छ । यस्तो रूपतत्त्व अन्तर्गत चयनपूर्ण, साङ्केतिक र सूत्रात्मक भाषा, श्रुति सुखद, रमणीय एवं हृदय संवेद्य लय विधानको आवश्यकता पर्दछ । त्यस्तै कवितालाई शक्तिशाली एवं रमणीय बनाउन उपयोग गरिने बिम्ब, प्रतीक लगायत कविता कलाका सौन्दर्य वर्धक प्रसाधनहरूको औचित्यपूर्ण उपयोगको आवश्यकता पनि पर्दछ । बिम्ब, प्रतीक र अलङ्कारहरू कविले व्यक्त गर्न चाहेको मूल कथ्यलाई स्पष्ट पार्न, चमत्कारपूर्ण एवं आकर्षक बनाउन तथा कलात्मक उत्कर्ष भरी सौन्दर्यपूर्ण बनाउन उल्लेख्य भूमिका खेल्ने घटक हुन् । यस्ता घटकहरूले समाज जीवनमा समुन्नत परिवर्तनको अन्तर्वस्तुलाई प्रभावशाली बनाएर प्रस्तुत गर्ने सामथ्र्य निर्माण गर्दछन् । प्रगतिवादी चिन्तनमा यी सबैलाई साध्यका रूपमा नभई अन्तर्वस्तुको सौन्दर्य वर्धक महत्त्वपूर्ण साधनका रूपमा मात्र उपयोग गर्नु पर्छ भन्ने मान्यता पाइन्छ । यसरी समग्रमा प्रगतिवादी कवितामा निम्न वर्गको समृद्ध जीवन निर्माणको अन्तर्वस्तुलाई शक्तिशाली रूपतत्त्व मार्फत प्रस्तुत गरिन्छ भन्ने निष्कर्ष निस्कन्छ ।
सन्दर्भ सामग्री
अवस्थी, महादेव (२०५६), लक्ष्मी प्रसाद देवकोटाको खण्डकाव्यकारिता, काठमाडौं ः एकता बुक्स डिस्ट्रिब्युटर्स प्रा.लि. ।
उपाध्याय, केशव प्रसाद (२०३६), पूर्वीय साहित्य सिद्धान्त, काठमाडौं ः पाठ्यक्रम विकास केन्द्र त्रि. वि. ।
कडवेल, क्रिस्टोफर (सन् १९९०), विभ्रम और यथार्थ, अनु ः भगवान सिंह, नयी दिल्ली ः राजकमल प्रकाशन प्रा.लि.।
गुप्ता, राम निवास (सन् २००१), काव्यशास्त्र के मानदण्ड, नयी दिल्ली ः वाणी प्रकाशन ।
गौतम, देवी प्रसाद (२०४९), प्रगतिवाद ः परम्परा र मान्यता, काठमाडौं ः श्रीमती मुना गौतम ।
चन्द्रकला (सन् १९६६), आधुनिक हिन्दी काव्य में प्रतीकवाद, जयपुर ः मंगल प्रकाशन ।
चापागार्इँ, निनु (२०५४), माक्र्सवादी चिन्तनमा सौन्दर्य, ललितपुर ः मृदुल महिम चापागार्इं ।
चैतन्य (२०६७), “सौन्दर्यका नियमहरू ः एक छलफल”, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, सम्पा. घनश्याम ढकाल, काडमाडौं ः अखिल नेपाल लेखक सङ्घ ।
तिमल्सेना, पशुपतिनाथ (२०६४), प्रगतिवादी कविता मान्यता र प्रवृत्ति, पोखरा ः ओजन बुक्स ।
त्रिपाठी, वासुदेव (२०५३), “कविता ः विधागत चिनारी”, सम्पा. वासुदेव त्रिपाठी र अरू, नेपाली कविता (भाग ४), दो.सं., ललितपुर ः साझा प्रकाशन ।
पाण्डेय, ताराकान्त (२०५६), प्रगतिवाद र कविता, काठमाडौं ः शिला योगी ।
पाण्डेय, भवानी प्रसाद (२०६४), पारिजातका उपन्यसमा समाजवादी यथार्थवाद, काठमाडौं ः अल्टिमेट मार्केटिङ्ग प्रा. लि.।
फिसर, अंस्र्ट (सन् २००५), कला की जरुरत, अनु. रमेश उपाध्याय, नयी दिल्ली ः राज कमल प्रकाशन प्रा. लि. ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुर ः साझा प्रकाशन ।
माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (२०६३), साहित्य र कला, दो.सं., अनुः राजेन्द्र मास्के, सूर्य प्रसाद पौडेल, काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।
मिश्र, भगीरथी (सन् १९९०), काव्यशास्त्र, न.सं., वाराणसी ः विश्व विद्यालय प्रकाशन ।
मिश्र, शिव कुमार (सन् १९७३), माक्र्सवादी साहित्य चिन्तन, भोपाल ः मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी ।
लुइटेल, खगेन्द्र (२०६२), कविताको संरचनात्मक विश्लेषण, काठमाडौ ः विद्यार्थी पुस्तक भण्डार ।
वर्मा, धीरेन्द्र र अरू (सम्पा.), (सन् १९८५), हिन्दी साहित्यकोश, वाराणसी ः ज्ञान मण्डल लिमिटेड ।
सिदोरोव, ये. (सन् १९८७), साहित्य और सौन्दर्यशास्त्र (बीसवीं शताब्दीका साहित्य १), मस्को ः रादुगा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु