"दमिनी भीर"को सेरोफेरो !

- डा . के . आर . खम्बू

प्रखर साहित्यकार तथा आधुनिक प्रतिभाशाली उपन्यासकार श्री राजन मुकारुङद्वारा लिखित बहुचर्चित ‘दमिनी भीर’ नामक उपन्यासले नेपालको अति प्रतिष्ठित साहित्यिक सम्मान ‘मदन पुरस्कार’ प्राप्त गरेको खबर सारा सञ्चार माध्यमले चर्चा गर्छन् । त्यसपछि त झन् उक्त पुस्तकको चर्चा स्कूल होस् वा क्याम्पस, कार्यालय होस् वा सार्वजनिक स्थलहरू; सर्वत्र चल्छ । यस्तो अधिकांश पाठकले पढ्न रुचाएको यो पुस्तक मलाई पनि पढ्ने चाहना जागेर आउँछ । यसको सफ्ट कपी भएको भए ‘त्रिवेणि आमा’ उपन्यास पढेँ जस्तै ‘दृष्टीवाचक’ यन्त्र प्राण प्रयोग गरी आफै पढ्न सक्थे । तर लेखकसँग सम्पर्कको कुनै माध्यम नभएको हुँदा यो कुरो सम्भव भएन । यसर्थ आफ्नो मनको इच्छा जीवन सँगी शुभलाई कहन्छु । दोबर जिम्मेवारी थाप्लोमा लीन परेकोले फुर्सत त कहाँ मिल्थ्यो र ? तैपनि, घुम्दै फिर्दै निकै दिन पछि यो पुस्तक किनेर ल्याउनु भयो । ल्याएर मात्र के पुग्थ्यो र ! पढेर सुनाउनु पनि पर्यो । तब ‍आफ्नो अति व्यस्तताको बावजुत पनि केही फुर्सत निकाल्दै पाठ गर्दै जानु हुन्छ । अनि म मन्त्र मुग्ध भइ सुन्दै जान्छु । संयोग भनौं, यस उपन्यासको पृष्ठभूमि शुभकै माइती गाउँ छेउछाउ तिर पर्दो रहेछ । अनि मैले अनुमान लगाउँछु कि, यस भित्र पर्ने भूगोल, वन, गाउँ, घर, जनजीवन आदि सबै थाहा होला । तर अध्ययन खातिर उहिलेदेखि नै गाउँ बाहिर बस्न परेकोले ती स्थानहरू सपना जस्ता भइसकेका रहेछन् । त्यसपछि भने नौलो परिवेशको उपन्यासलाई जस्तै पढ्ने र सुन्ने कार्यलाई निरन्तरता दिइ करिब दुई तीन हप्ता भित्र आद्योपान्त गरियो । यसरी पुस्तक पढी सक्दा पनि एउटा बाजी जिते झैँ लाग्छ ।
यो २९० पृष्ठ भएको गहकिलो उपन्यासलाई कथा सार, पूर्व कथा, मध्य कथा, उत्तर कथा अनि कथान्त गरी जम्मा पाँच खण्डहरूमा विभाजन गरिएको रहेछ । फिनिक्स बुक पब्लिकेसनद्वारा २०६९ सालमा प्रकाशित यस पुस्तकमा बहु-जातीय, बहु-भाषिक, बहु-सांस्कृतिक सामाजिक संरचना भित्र लुकेर बसेका तीतो सत्यहरूलाई सार्वजनिक गरिएको रहेछ । वर्णाश्रम युक्त जटिल समाज भित्र हुने क्षतविक्षत भावनाहरू साथै असमान अर्थतन्त्रले बनाएको आर्थिक खाडलहरूमा हुर्केको राजनैतिक द्वन्द्वलाई व्यवस्थापन अर्थात् पुनर्स्थापना गर्ने केही उपायहरू यहाँ देखाउने प्रयास गरिएको छ । समाज भित्र कैयौँ घटनाहरू सामन्ती धाक, रवाफ वा पदप्रतिष्ठाको आडमा बिलाएर जाने गर्छन् । त्यस्ता परम्पराको नाममा थिचिएका निरिह जनताका न्याय, सत्य र तथ्य कुराहरू सबै सामु खुलस्त बनाउन साहस गर्ने निर्भीक साहित्यकार राजन मुकारूङजीलाई सर्वप्रथम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
पढ्दै जाँदा, झर्रो वा ठेट नेपाली भाषालाई माध्यमभाषा बनाइ लेखिएका जन-जिभ्रे शब्दका प्रयोगहरू उदेक लाग्दा देखिन्छन् । वाक्यहरू पनि छोटो-छोटो भएकोले कविता पढे जस्तो लाग्छ । यति लामो पुस्तक भए पनि प्रसङ्ग एक अर्कासँग टाँसिएकोले पढी सकिएको थाहै हुँदैन । यस्तै अनुभूति पाउँछु मैले ।
केही वर्ष अघिदेखि पुस्तक पढेपछि फुर्सद मिल्दा केही टिपोट गर्ने गर्थें । यो नयाँ आधुनिकतालाई छुने पुस्तक पढे पछि झन् केही लेख्ने लहड चल्यो । थप अर्को कारण मेरो जन्मथलो पनि यस उपन्यासको पृष्ठभूमि भएको स्थान भन्दा दक्षिण पश्चिमको (सेल्मे र हलहले भन्ज्याङ) पारी सावा खोलाको दक्षिण पाटोमा अवस्थित चुमलुङ गाउँ पर्छ । त्यहाँ पनि यस्तै बहुजातीय मिश्रित समाज थियो । यसर्थ म यस उपन्यास भित्रको परिवेश भित्र सजिलै भिज्न सक्छु । अनि आफ्ना औँलाहरू कल्पयन्त्र (कम्प्युटर)को कीबोर्डमाथि दगुराउन थाल्छु । त्यसपछि उपन्यास भित्र मलाई लागेका कुराहरू यसरी टङ्कन हुँदै जान्छन्- ।
यो लोकप्रिय पुस्तकमा मोटामोटी चार प्रसङ्गका कथा वस्तुलाई समेट्न खोजिएको देखिन्छ । पहिलो हो पाँच पुस्तौनी आख्यान (जगरमानदेखि परषमान, देउमान, नामदेङ हुँदै रिदुमसम्मको परिघटना); दोस्रो सुके दर्जीदेखि देवकी, पद्मा, हुँदै लछी, चेतन, अमर र अमितसम्मको आख्यान, तेस्रो हो सेखुवाली साइलादेखि लाहुरे, हाङदिमा हुँदै निहाङसम्मको कथावस्तु, र चौथो नवीन र निसामको माओवादी युद्धकालीन क्रान्तिकारी परिवेश आदि ।
सामन्ती समाजको प्रतिमूर्ति कालीबहादुर बस्नेत जस्ता अपराधीको अन्याय, शोषण अत्याचार तथा वलत्कार निमुखा दलित नारी भइ सधैँ कलङ्कित बनेर सही बस्नु भन्दा आत्महत्या गर्नु निको ठानी सुकेकी दमिनीले भीरबाट हाम फाल्दै इहलीला समाप्त गर्छिन् । त्यसपछि सोही दमिनीको पीडा-युक्त रामकहानी दुनियाँले थाहा पाउन् भनी उक्त भीरलाई ‘दमिनी भीर’ नै नामाङ्कन गरिन्छ । माओवादी आन्दोलन ताका त्यही भीरको चट्टान फोरी नयाँ बाटो बनाउने काममा लागेका स्थानीय जन-श्रमिकहरूको गाउँले झर्रो संवादसँगै उपन्यास सुरु भएको छ ।
उपन्यास भित्रका पात्रहरू बाक्लै छन् । यसको मुख्य नायक नायिका प्रस्टसँग छुटाउन सकिन्न । तर बेग्ला बेग्लै धारमा भएका नामदेङ र लछीको भूमिका सुरुदेखि अन्तिमसम्म आउँछ । अन्य पात्रहरूका भूमिका आंशिक रूपमा भए पनि निकै महत्त्वपूर्ण स्थानमा छन् । उदाहरणको लागि-
देउमान र पारुमाको साल्पा बासा मेलामा हाकपारे जुवारी खेल्दै परम्परागत गन्धर्व विवाह बन्धनमा बाँधिएको निकै चाख लाग्दो प्रसङ्ग आउँछ । अर्कोतिर टुहुरी अवस्थामा दिदी र भाउजूको घरमा बस्दै पढ्दा उनीहरूकै पजनीमा परेर लाहुरेसँग जबरजस्ती अनमेल बिहा गर्दा हाङदिमाले पाएको वैवाहिकबलत्कार जस्तै अमानवीय प्रताडना सारै हृदयविदारक छ । अर्कोतिर निहाङको किराती संस्कार अनुसार मागी बिहा गर्दाको परम्परागत सुखद क्षण र उनको असामयिक निधनमा गरिएको मृत्यु संस्कारले पाठकको मन दुःखित तुल्याउँछ । यसमा किराती राई संस्कार वा रीतहरू लिपिबद्ध भएकोलाई उदाहरणीय मान्न सकिन्छ ।
यसै गरी गाउँ नै माओ-वादीको कब्जामा परेपछि मंसिरे गर्दा गर्दै नवीन र निसामलाई क्रान्तिकारी लडाकू बनाउन आधार क्षेत्रतिर लगेको र मोर्चामा लड्दा घाइते भएर फर्केको प्रसङ्ग पनि कम संवेदनशील छैन ।
यस उपन्यास भित्रका गाउँले पात्रहरू मेलापातमा होस वा शुभकार्यमा होस्, आपत्, विपत्मा होस् वा राजनैतिक मामलामा होस्, जहाँ पनि सँगसँगै हुन्छन् । बोली चाली, रहन सहन सबै गाउँले पाराकै छ । कहींकहीँ अपशब्द (अश्लील) शब्दहरू पनि नभेटिने होइनन् । तर ती अपशब्दहरू त्यही अनुसारको वातावरण भित्र त्यस्तै पात्रहरूले प्रयोग गरेको प्रसङ्ग देखाइएकोले खासै खुलदुली चल्दैन ।
यहाँ देउमानका हजूरबुवा गरजमान उर्फ जेठा राईको भूमिका पनि कम तिलस्मी छैन !, उनीले जहानियाँ राणा ‍शासन कालमा घुस-खोरीलाई पक्रेमा इनाम पाइने उर्दी भएकोले उक्त महा-घुस-खोरीलाई पक्रेर सिधैँ राणाजीलाई बुझाउँदा इनाम पाउनको बदला आफ्नै जागिर खोसिन्छ । यही झ्वाँकमा जागिर छोडी राणा शासकले मात्र बनाउने पचपन्न झ्याले (ढोके) दरबार(घर)) आफ्नै गाउँमा बनाएर चुनौती दिन्छन् । तर पोल पर्दा उक्त घर बनाएको डण्ड पनि तिरेर उकास्छन् । त्यसपछि, आफ्नै गाउँमा छोटे राजा(राई पगरी) भइ सामन्ती शासन चलाउन साथै समाजमा आन, वान, शान, धाक, रवाफ राख्न हिन्दू-संस्कार मान्दै दसैमा मौलो पूजा वा मार वा भीमसेन पूजा विधि गर्ने चलन अँगाल्छन् । एउटा दसैको दुर्गा पूजाको अवसरमा राँगोलाई मार हान्दा आफ्नै जेठो छोरोको खुट्टो पनि छिनिएर ठूलो दुर्घटनामा परेको कथा पनि यहाँ उल्लेख छ ।
उपन्यासको मुख्य पुरुष पात्रको रूपमा देखिएका नामदेङ उनै गरजमानका चौथो पुस्ताका(पनाति) सन्तान हुन्छन् । उनी पढ्न काठमाडौंमा बस्दा कलाकारदेखि शिक्षक, ट्यूसन मास्टरदेखि सहकारी व्यवस्थापक सम्म बनेर पेटपाला गरेका हुन्छन् । उपत्यकाको वामपन्थी राजनीतिबाट प्रभावित हुँदै अन्तिमतिर माओवादी कार्यकर्तासम्म बन्न पुग्छन् । वैदेशिक रोजगार मिलाउने एक जना दलाल साथीसँग क्याविन बार जाँदा रम्भा नामकी केटीसँग भेट हुन्छ । पछि तिनीसँग बिहा पनि गर्छन् र एउटा छोरो रिदुम समेत जन्मिन्छ । तर पछि वैवाहिक सम्बन्धमा विवाद आउँदा छुट्टिँदै छोरो लिएर गाउँ फर्किन्छ । गाउँमा उनको नैराश्यता पूर्ण जिन्दगी बित्न थाल्छ ।
अर्कोतिर, माओवादी जन युद्ध दिल्ली सम्झौतामा टुङ्गिए पछि नेपालमा संविधान सभाको निर्वाचन हुन्छ । उक्त पहिलो निर्वाचनमा माओवादी सबभन्दा ठूलो पार्टी भएकोले सरकार पनि बनाउने अवसर पाउँछ । तर वर्ष दिन पनि न पुग्दै विपक्षिहरूबाट ढालिए पछि पुन शक्ति प्रदर्शन गर्न एक हप्ते काठमाडौं घेराउ गर्ने कार्यक्रम बनाउँछ । यसको लागि देश व्यापी रूपमा कार्यकर्ता काठमाडौंमा थुपार्ने अभियान चल्छ । भोजपुरबाट पनि नामदेङको नेतृत्वमा लछी, हामदिमा, कान्छीमाया, रत्ना, धौले कान्छो, पूर्णे, नवीन, निसम आदिको टोली अन्तिम लडाइँ लड्ने भनी काठमाडौं ओइरिन्छ । उक्त टीमले रिङ-रोड घेराउ गर्न त्यसैको एक कुनामा मोर्चा समाल्ने जिम्मेवारी पाउँछन् । अर्को दिन प्रचण्डको सम्बोधन हुने कार्यक्रम भएकोले मुख्य मञ्चमा राष्ट्रिय क्रान्तिकारी कलाकारहरूले कार्यक्रम प्रस्तुत गर्छन् । उक्त मञ्चमा कलाकार चेतन र नुमा आपसमा अँगालो मारी गीत गाउँदै नाचेको देख्दा लछीको मुटू छिया-छिया पर्छ । राती आफ्नो मन बहलाउन नामदेङलाई टाइसनको खाजाघरमा पुराउन अनुरोध गर्छिन् र त्यहाँ आफ्नो मनको सबै बह खुलस्तसँग पोख्छिन् । भोलिपल्ट नामदेङले भोजपुरे लडाकु समूहको बैठक बोलाइ चेतनलाई पनि हाजिर गराउँछन् । गाउँमा छँदा मीठो गीतमा मोहित पारेर चेतनले लछीलाई पेट बोकाएर भूमिगत हुने बहनामा भागेको रहश्य बैठकमा खुल्छ । लछीले पनि आत्मसम्मान जगाउँदै स्वार्थी चेतनलाई ‘शरीर मन पर्ने तर जात मन नपराउने’ सैँदुवा भनी कटाक्ष गर्छिन् । अन्तमा चेतनले गल्ती गरेकोमा माफी माग्दै लछी र तिनले हुर्काएको छोरो अमितलाई आफ्नै परिवार भनी स्वीकार गर्छ । तर लछीले न त छोरो सुम्पिन्छे न आफू नै । बरु पुरुषले महिलामाथि गरी ल्याएको अन्याय अत्याचार, भेदभावसँग यत्रो वर्ष लडेर सो दिन विजय पाएको घोषणा गर्दै धौले भुजेल कान्छोसँग नयाँ सम्बन्ध कायम गर्ने इच्छा जाहेर गर्छे । त्यो बैठकका सबै साथीहरूले उसको इच्छालाई जायज ठहराउँदै समर्थन गर्छन् ।
भोलि पल्टदेखि पुन घेराउ आन्दोलन अघि बढ्दै जाँदा आन्दोलन बिना उपलब्धि टुङ्गिएको घोषणा हुन्छ । त्यसपछि सबै लडाकू कार्यकर्ताहरू हताश हुन्छन् । त्यहाँ पनि अन्तिम लडाइँ हारेकोमा सबभन्दा धेरै लछी दुःखित भएर रुँदै सोध्छिन् ‘काका के हामी हारेकै हौ त ?’ यस प्रश्नले नामदेङलाई पनि विचलित पार्न खोज्छ ।
यसरी ठूलो उत्साह र क्रान्तिकारी जोस लिएर आएका लछी, हाङदिमा, कान्छीमाया, रत्ना, धौलेकान्छा, पूर्णे डोटेल, निसाम, नवीन, देउधन आदि सबै फर्सिको लहरा ओइलाए झैँ ओइलाउँछन् । त्यसपछि निराश पार्ने नेताहरूलाई गाली गर्दै भोलि पल्ट फुस्रा अनुहार पारिएका लडाकूहरू फर्किन्छन् सुपर कोशी बस चढेर आफ्नै गाउँ भोजपुरतिर ।
तर नामदेङ गाउँले टीमसँग नफर्केर केही वर्ष काठमाडौंमै बस्छन् ।
माओवादी युद्धपछि जति पनि जन सङ्घर्षहरू सञ्चालित हुन्छ सबै अशफल हुँदै जाँदा क्रान्तिकारी युवा युवतिहरू निराश हुन्छन् र नजानिदो तरिकाले जनजाति आन्दोलनतिर आकर्षित हुन्छन् । यही क्रममा नामदेङ पनि किरात स्वायत राज्य निर्माण गर्ने आन्दोलनमा मिसिन्छ । त्यस बेलासम्ममा संसारमा प्रविधिले निकै लामो फड्को मारी सकेको हुन्छ । हतियार बन्ध लडाइँ भन्दा विज्ञान प्रविधिको इन्टरनेट लडाइँ महत्त्वपूर्ण ठानिन्छ । नयाँ पुस्ता सडकमा मुठी कस्दै आवाज उठाउने होइन कोठा भित्रबाट सञ्चालन गरिने इन्टरनेट र सामाजिक सञ्जालको सङ्घर्षमा करामत देखाउन मन पराउँछन् । यसरी अघि बढी सकेको प्रविधिको दुनियाँसँग परिचित हुन नामदेङलाई धौधौ पर्छ । तर संयोगवश भान्जी पर्ने नुमाबाट प्रारम्भिक ज्ञान प्राप्त गर्दै इन्टरनेट दुनियाँमा प्रवेश गर्छन् । त्यसपछि, उनको हातमा पनि आन्दोलनको लाठी, ढुङ्गो, झन्डा, पर्चाको बदला हत्केलो भरीको माउस (सुलसुले) चलाउन थाल्छन् वा हातको औँलाले की बोर्ड वा टच प्याडलाई छुई इन्टरनेटको दुनियाँलाई कमाण्ड गर्न थाल्छन् । त्यहीबाट आफ्ना परिचित वा राजनैतिक समर्थक वा विरोधीहरूसँग सवाल जबाफ गर्छन् । मन परेको मानिससँग गफ पनि गरेर दिल बहलाउँछन् ।
गाउँकी हाङदिमाले ‘एक कल फोन पनि गर्न सकिनस् होइन निठुरी !’ भन्ने मेसेजको जबाफ दिन हिचकिचाउने नामदेङले अझै माया अल्झेको रिदुमकी आमा रम्भालाई फेसबुक भित्र उही पुराना दलाल साथीसँग अस्तव्यस्त अवस्थामा देख्छन्, तब उनी पनि दमिनी भीरबाटै खसेर वाचिम्ले खोलाको भेलमा बग्दै पुच्छरमा पुग्छन् । अझ, रम्भाले मेसेज पठाउँदै ‘अब सम्पर्क गर्ने कोसिस नगर्नु’ भनी चेतावनी मात्र होइन ‘हुतीहारा र नामर्द’ भनेर डस्छे तब उ सबै खाले भ्रमजालबाट मुक्त हुन्छ । त्यसपछि, उसले कम्प्युटरको हार्डडिस्कबाट मात्र होइन आफ्नै मन मस्तिष्कबाट पनि रम्भालाई सधैँको लागि डिलिट गरी दिन्छ । अब भने उसको दुनियाँ खुम्चिँदै उनकै छोरो रिदुम र हरेक बेला आफन्त भएर मायालु काख दिने प्यारो गाउँले दाजुभाइ, साथी सँगी र दौँतरीलाई सम्झिन थाल्छ । गाउँ फर्किन अघि आफ्नो सहयोगी खुङसङ भाइलाई लिएर अमात्य खाजा घर उर्फ टाइसन दाइको मम पसल पुग्छन् । त्यो मम पसल माओवादी नेतादेखि कार्यकर्तासम्म र उद्योगपतिदेखि मजदुरसम्मका ग्राहकहरूले भरिने गर्छ । त्यहाँ भोक, पीर, वेदना वा अपमानले छटपटिदै आए पनि जब त्यहाँको पञ्चामृत र अपुङ्गो रूपी आइला र मम खान्छन्, तब सबै पीडा त्यही उकेली फर्किने गर्छन् । त्यहाँ, नामदेङ र खुङसङले कलिला दुई किशोर (एक आर्यन र अर्का मङ्गोल वर्णका) पञ्चामृत अचाए झै आइला सुइँकाएको झोँकमा मनको बह अश्लील शब्दहरूमा उकेली रहेका देख्छन् । उनलाई त्यो जन्म दिने आमा बाबुलाई मन परी गाली गर्ने केटो नजिकै गइ सोध्दा उसले पनि खुलस्त भएर आफ्नो आगतदेखि विगत सम्मको सारा दर्दनाक कथा बताउँछ । त्यसपछि नामदेङलाई थाहा हुन्छ- उ पनि भोजपुर खावा गाउँतिरकै एक जना राईकै छोरो र नाम अमर भएको, दुई वर्षको हुँदा आमाले छोडेर गएको तथा बाउको ठेगाना आफूलाई थाहा नभएको र आफू भने लुगा सिलाउने पेसा भएका मावली बाजेको घरमा हुर्केको कुरा समेत थाहा पाउँछन् । अब उनले उक्त खलासी केटो अमर भित्र पनि एउटा गहिरो रहस्यमयी कथा लुकेको महसुस गर्दै उक्त रहस्यको पर्दाफास गर्न तुरुन्त गाउँ फर्किने अठोट गर्छन् ।
मानिसले साहस गरेमा कुनै कुरा असम्भव हुँदैन भने झैँ दमिनी भीरको अजङ्गका चट्टानहरू यहीँका जनताले गैँती र छिनोले कपेर मोटर कुद्ने बाटो बनाएर देखाइ दिएका हुन्छन् । भीर मुनि बतासेमा लछी र धौलेको ‘जनमुखी साझा पसल’ चल्न थालेको छ । विकासको निकै गतिलो फड्को मराइले यहाँको जनताको जीवनस्तरमा निकै ठूलो परिवर्तन ल्याएको छ । गाउँलेको जीवनस्तर पनि ढाक्रे संस्कृतिबाट खच्चडे ढुवानी हुँदै मोटर ढुवानीसम्म आइपुगेर पेसा पनि कृषिबाट उद्योग व्यापारतिर परिवर्तन हुँदै गरेको देखिन्छ । चखेवाबाट लेगुवा जाने यात्रीहरूको लागि यही साझा पसल बिसौनी बनेको हुन्छ । ‍काठमाडौंबाट फर्किँदा नामदेङ पनि त्यही बतासे उर्फ समावेसी डाँडोमा बिसाउन पुग्छन् र यस्ता चमत्कारी प्रगति हेरेर आसर्जे चकित हुन्छन् । त्यसपछि पस्छन् उही लछीको पसल भित्र । ‘नन्देलाई कसरी मुख देखाउने काका’ भन्दै फर्केकी लछी आज आत्मनिर्भर हुँदै स्वाभिमानी हँसिलो अनुहार सबैलाई देखाई रहेकी पाउँदा उनी दङ्ग पर्छन् । भलाकुसारी पछि उनको आँखा अचानक लछीको एलबमको एउटा तसबिर आफ्नो एलबमको तसबिरसँग मिलेको देख्दा अचम्म मान्दै लछीलाई सोध्छन् । ‘देवकी फुपूकी छोरी पद्मा हो’ भन्ने जबाफ पाउँदा झन रहस्यमा पर्दै अझ विस्तृत कुरा खोतल्न थाल्छन् । अब लछीको कुरा फ्लासब्याक हुन्छ- ‘चालीस वर्ष अघि सन्ते दर्जीकी बहिनी अर्थात लछीकी फुपू देवकीले प्रधान घरे जेठाको पेट बोक्छिन् । ठूला बडा भनेर गुपचुपमा सिक्तेलको एउटा बुढा दर्जीलाई जिम्मा लगाई पठाउँदै गाउँमै मिलाउँछन् । तिनिले सिक्तेलमा छोरी पद्मालाई जन्माउँछिन् । बीस वर्षपछि पद्माको प्रेम बिहा खावाली राई केटोसँग हुन्छ र उनीहरूको एउटा छोरो अमर पनि जन्मिन्छ । तर जातीय छुवा-छुतको भावनाले गर्दा घर परिवारले स्वीकार गर्दैन । त्यसपछि खावाली राईले पनि पद्मालाई छाडेर बिदेशिन्छ । पद्माले अमर दुई वर्षको भएपछि माइतीमा नै छोडेर काठमाडौं भासिन्छिन् । अमर पनि सात वर्षको भएपछि मावली घर छाडी काम खोज्दै आफै पेटपाला गर्न मदेश झर्छ । जब कथा यहाँसम्म आइ टाइसनको पसलमा खलासी अमरले भनेको कथासँग ठ्याक्क मिल्न जान्छ, तब भने नामदेङको मस्तिष्कमा शक्तिशाली विद्युतीय झड्का पर्छ । अब भने उनको मनको पर्दा खोलिन्छ अनि लछीको एलबमको ढुङ्गे पर्खालको धारा मुनीको फूलबारीमा सयपत्री फूल समातेर टुक्रुक्क बसेकी पद्मा र आफ्नो दराजकी रम्भाको तस्बिर एउटै भएको प्रमाणित हुन्छ । त्यस पछि स्पष्टसँग पर्दाफास हुन्छ अमर पद्मा उर्फ रम्भाको जेठो छोरो, रिदुम रम्भा उर्फ पद्माको कान्छो छोरो । यसरी रहश्य खुलेपछि केही नबोली जुरुक्क उठेर दमिनी भीरको भित्तामा हेर्छन् । त्यहाँ निसमले लेखेको ‘पहिचान सहितको सङ्घियता- जिन्दाबाद !’ लेखिएको देख्छन् । यो नारा हेरेर नामदेङलाई लाग्छ ‘अरुले पहिचान पावस नपावस्, तर रिदुम, अमर र अमितले भने आफ्नो ‘पहिचान’ यही दमिनी भीरकै सेरोफेरोमा पाएकै हो’ जस्तो लाग्छ । अनि झस्किँदै उठ्दा उपन्यास पनि समाप्त हुन्छ ।
उपन्यास भित्रको गाउँ घरका जनजीवनमा कैयौँ पुस्तेनी परिवर्तन भोग्दै आउने क्रममा एकीकरण अघि र पछिका धेरै काल खण्डहरू यस गाउँका जनताले भोगेका हुन्छन् । हरेक आन्दोलन पछि व्यवस्था परिवर्तन हुँदा पनि जनता उस्तै भएको र समस्या उस्तै रहेको वास्तविकता यहाँ प्रकाश पारिएको छ ।
यो उपन्यास को प्रसङ्गलाई जोड्दा अर्का ख्याति प्राप्त उपन्यासकार पुण्यप्रसाद खरेल जीको दोसाँधको घाम र त्रिवेणी आमा नामक दुई उपन्यासहरूको सम्झना आउँछ । दुबैमा लिम्बु समाज भित्र जातीय भेदभाव विरुद्ध सामाजिक सद्भावना कायम गर्न अन्तर्जातीय विवाहलाई प्रोत्साहन दिएको प्रसङ्गहरू छन् । त्यसरी नै युवा उपन्यासकार मुकारूङ जीले यस उपन्यासमा किराती राई समाज भित्र पनि अन्तर्जातीय विवाहलाई ढिलो वा चाँडो स्वीकार गर्नु पर्ने परिस्थितिहरू सप्रमाण प्रस्तुत गरेका छन् । दुबै लेखकहरूले नेपालको सामाजिक संरचना अनुसार द्वन्द्व रहित वा भेदभाव रहित समाज सिर्जना गर्न जातीय सह-जीवन र समीकरण हुनु पर्ने अनिवार्यता औँल्याएका छन् ।
यसै गरी राजनैतिक रूपमा पनि अघिल्लो त्रिवेणी आमामा माओवादी युद्ध कालको नेतृत्व तहको समस्याहरूलाई उजागर गरिएको छ भने पछिल्लो दमिनी भीरमा युद्धकाल र त्यसपछिका निम्न स्तरीय लडाकू वा कार्यकर्ता तहको ।
समग्रमा दुबै पुस्तकहरू यथार्थवादी राजनैतिक-सामाजिक उपन्यासहरू हुन् । यसको अतिरिक्त दमिनी भीरमा अत्याधुनिक सञ्चारको प्रविधि(इन्टरनेट, फेसबुक)सञ्जाल भित्रको जिन्दगी पनि प्रस्तुत गर्दै वर्तमान अत्याधुनिक युवा पीढीलाई समेत समेटेका छन् । यस्तै भौगोलिक अवस्थितिको वर्णनले पनि चलचित्र वा कुनै राम्रो श्रव्य-दृश्य हेरी रहे झै पार्छ ।
यसरी नेपाली समाजको मौलिक सामाजिक दर्पणको रूपमा सिर्जना गरिएको कृतीलाई मदन पुरस्कारबाट सम्मानित हुँदै एक साहित्यिक स्रष्टा बन्न सफल हुनु भएका उपन्यासकार राजन मुकारूङ जीलाई हार्दिक बधाई । यसरी नै सामाजिक परिवर्तनको वाहक भएर युवा पीढीलाई सही बाटोमा डोर्याउने अन्य उपन्यासहरू पनि तयार पार्न लेखकको कलम अझ तीव्र रूपमा अघि बढी रहोस् ! यही छ हार्दिक शुभकामना !! –

भद्रपुर ५,क्याम्पस मोड, झापा (नेपाल) ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु