कल्पयन्त्रीय युगकी "कमरेड भाउजू"

- डा . के . आर . खम्बू

(एउटा आँखामा मोतिया बिन्दू र अर्कोमा जलबिन्दूको कारण २०६३ देखि दुबै आँखा गुमाएका मेची क्याम्पसका प्राध्यापक डा. के आर खम्बूले कम्प्युटरको किबोर्ड अडियो सिष्टम र स्क्रीन रिडर सफ्टवेयरको सहायताले कथासंग्रह ‘कमरेड भाउजू’को सफ्ट कपि पढेर उहाँ आँफैले कम्प्युटरमा लेखेको समीक्षा–सम्पादक)
अत्याधुनिक कल्पयन्त्रीय युगको मूल बाटोमा साहित्यिक रथ हाँक्ने महारथी वरिष्ठ साहित्यकार कृष्ण वजगार्इंको अति चर्चित पुस्तक ‘कमरेड भाउजू’ मिडिया र सामाजिक सञ्जालमा देख्दा मन नलोभिने कुरै थिएन । मनको बह पुस्तकका लेखकसँग पोखेँ । म प्रति उहाँको पनि सहानुभूति पलाएछ । हार्ड कपि पढ्न नसक्ने मेरो बाध्यतालाई बुझेर सफ्ट कपि पढ्ने व्यवस्था मिलाइ दिनु भयो । प्राप्त गर्न साथ लगातार पढेर सिद्ध्याएँ ।

यो पुस्तक भित्र नेपालमा जन्मेर वैदेशिक जीवन व्यतीत गर्ने नेपाली (डायोस्पोरा) जीवनसँग गाँसिएका १३ वटा कथाहरू रहेछन् । पहिलो कुरो त पुस्तकको शीर्षक मुनी ‘डायोस्पोरिक कथासङग्रह’ लेखिएको देख्दा शब्दार्थ लगाउन सकिन । त्यसपछि अंग्रेजी शब्दकोषको शरण लिन पुग्छु । त्यहाँ भएका विभिन्न अपवादहरूलाई संयोजन गर्दा पनि उपर्युक्त नेपाली शब्द भेट्दिन । तर अर्थ भने प्रस्ट हुन्छ स्वदेशबाट विविध कारणले अन्य देशहरूमा गइ बस्ने नेपालीहरूको साझा आवाज डायोस्पोरिक साहित्य हुनु पर्छ । अर्थात् निर्वासित जीवन बिताइ रहेका लाखौँ नेपालीहरूका वास्तविकता झल्कने कथा बेथाहरू । मैले यति नै बुझेपछि चित्त बुझाउँदै यस पुस्तकले आफ्नो मनलाई उथलपुथल मच्चाएको कुराहरू मध्ये केही कुरा यहाँ समेट्न चाहन्छु ।

मलाई लाग्छ, यस्तो साहित्य नै अहिलेको माग हो । म जस्ता उत्तरार्र्धितर पुगेका पुस्ताहरूका बाउ बाजेको पालामा पनि त्यस बेलाका एक तिहाइ भन्दा ज्यादा नेपालीहरू कमाउन परदेश जान पर्ने बाध्यता थियो । त्यो बेला परदेश भन्नाले भारतको विभिन्न ठाउँहरू (आसाम, दार्र्जििलङ, सिक्किम, भुटान, देरादुन आदि) पर्थे । उक्त रोजी रोटीको लागि परदेश जान पर्ने नियति अहिले झन् विकराल रूपमा फस्टिएर गएको छ । अहिलेको नेपाली जनसंख्याको पनि एक तिहाइ भन्दा ज्यादा विदेशीएका छन् । फरक यति छ, कि त्यस बेला नेपाली श्रमिकहरूको भारत मात्र गन्तव्य देश थियो भने अहिले संसारको सबै देश ओगटिएको छ । यसर्थ पनि त्यो बेलाको लोकप्रिय गीत ‘डोकोमा थाङ्ना बोकेर, ओराली झर्ने को होला ? घर र बारी साहूलाई सुम्पेर जाने त्यो होला’ भन्ने गीतले आधुनिक जनमानसलाई छुँदैन । तर अहिले ब्याग बोकेका वा सुटकेस घिसारेका नेपाली हेर्दा अचल सम्पत्ति साहूलाई बेचेर वा चर्को ब्याजमा ऋण काढेर भारतीय नाका वा अन्तर्र्रािष्ट्रय एयरपोर्ट तिर कुदेका को होला भनिए थाप्लो भरी ऋण बोकेर विदेश कुदेका ती होला’ भनी चसक्क मन दुख्छ । यसर्थ वर्तमान नेपालीको कथा व्यथा जन्मभूमिबाट त सुरु मात्र हुन्छ, त्यसको हुर्काइ अन्तर्र्रािष्ट्रय जगत पुगेर पुरा हुन्छ । तर त्यसको अन्त्य कहाँ पुगेर हुन्छ भन्ने कुरो अरू एक पुस्ता पर्खनु पर्ला जस्तो लाग्छ । जे होस् यो पुस्तक यस्तै दोहोरो सम्बन्ध स्थापित भइ नयाँ परिवेश तयार भएपछि लेखिने नयाँ साहित्यिक आयाम हो ।

मैले मनन गरे अनुसार यो पुस्तक पढ्दा हरेक कथाका कथा वस्तु यति सशक्त पाएँ कि सुरु गरेपछि हरेक शब्द, वाक्य र परिवेशले लगातार तान्दै पुच्छरमा पुर्याएर नै छोड्छ । कहीँ रहस्य, कहि राजनीति, कहि द्वन्द्व, कहि प्रेमालाप, कहि आक्रोश, कहि संवेग, कहि उत्तेजना (रोमान्स) सबैको मिसमास झल्किन थाल्छन् । शब्द संरचना हेर्दा हाम्रै कुना कन्दरा, भिर पहरा वा झरना वा चौतारीतिरका झर्रोपना झल्किन्छ । नढाँटी भन्ने हो भने पढी सक्दा म हक्क न बक्क हुने स्थितिमा पुग्दछु । रेडियो नेपालकी एक चर्चित लोक गायिकाले गाएको लोकगीत ‘उसले भन्यो ए नानी गाजले म त मरे झन्डै लाजले....’ भन्ने गीत सुने झैँ म पनि मान्छे देख्दा टाउको, खुटा र पुच्छर खपडामा लुकाउने कछुवा जस्तै हुन्छु । अर्थात् यस भित्रका केही कथा वस्तुले मतिरै औलो ठडाएर कुरिकुरी पारे जस्तो भान भयो । किनभने यो पुस्तक एउटा यस्तो अत्याधुनिक भूउपग्रहसँग जोडिएको समाजको ऐना झैँ देख्छु । यस भित्र मैले आफ्नो, छिमेकको, वल्लो टोल पल्लो गाउँ, सहर राजधानी हुँदै विदेशीएका लाखौं नेपाली दाजुभाइ, दिदी बहिनीहरूका अनुहारहरू झलझली देख्छु । यसमा भएका चार वटा कथाहरूका परिवेशले त मलाई निकै भावुक बनाउँछन् । लेखकले कस्तो टेलिस्कोपिक आँखाले त्यस्ता घटनाका चित्र खिचेछन् झैँ लाग्छ । विदेशको मेरै छोटो बसाइको आसपास घटेका घटनाहरू पो हुन् कि जस्तो लाग्छ । किनभने ती कथा वस्तु अंकुरित भएको देश त मेरै जन्मभूमि र कर्मभूमि नै हो भने ती कथा वस्तु हुर्किएको, फुलेको फलेको केही देशहरूमा मेरो पनि पाइला परेका छन् । यसर्थ कुनैकुनै कथाहरूलाई त दोहोर्याएर पनि पढ्छु ।

पाँच छ दशक अघिका पुस्ताको मानसिकतामा त यस्ता अत्याधुनिक मिश्रित जीवनका घटनाहरूमा आधारित कथाहरू सुन्दा वा पढ्दा असम्भव वा अतिरञ्जित झैँ लाग्न सक्छन् । तर तथ्य खोली प्रमाणित गरी दिएमा जिव्रो टोक्दै सभ्यतालाई दोष लगाउन पुग्नेछन् । त्यस्ता मानसिकता भनेको धर्म वा अन्धविश्वास र विज्ञान बीचको द्वन्द्वमा च्यापिएर उब्जेको धारणा मान्न सकिन्छ । हुन पनि चार पाँच दशक अघिका साहित्य कृतिले आधुनिक इलेक्ट्रोनिक युगका पुस्तालाई कल्पना कहाँ गर्न सक्थ्यो र ? उ बेलाका समाजको चित्रण नासो, बसाइ, परालको आगो आदि कृतिहरूले चित्रित गरेको पाइन्छ । तर त्यस्ता व्याख्यानले अहिलेका युवा युवतीका मन छुन सक्दैन । आवश्यकता नै आविष्कारको जननी हो भने झैँ यस्तै पुस्तौँनी रिक्त ठाउँ भर्न साहित्यकार बजगाईंले ‘कमरेड भाउजू’ जस्ता अत्याधुनिक कृति सिर्जना गर्नु भएको भन्ने मलाई लाग्यो । यस पुस्तक भित्रका हरेक कथाहरूले एक संस्कार र संस्कृतिको मान्छे अर्का नितान्त भिन्नै संस्कार र संस्कृति भएको समाजमा बस्दा सुरु हुने सामाजिकरण प्रक्रियाबाट उब्जेका समस्याहरूलाई प्रत्यक्ष प्रतिबिम्बित गर्ने साहित्य हो भन्ने मैले महसुस गरेको छु ।
यस पुस्तकको पहिलो शीर्षक कथा र दोस्रो कथा वस्तुहरूका आधार राजनीतिलाई लिइएको पाइन्छ । नेपालमा भएका अति क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि कसरी समयको अन्तरालमा स्खलित हुँदै भुत्ते हुन्छन् भन्ने कुरो देखाउन खोजिएको छ । युरोपियन भूमिमा धर्मको हैकम र भेदभाव तोड्न भावनासँगै विज्ञान जन्मियो । सोही विज्ञानलाई आधार बनाएर कम्युनिस्ट सिद्धान्त पनि जन्मियो । धर्मबाट पलाएको जाति, जातिबाट पलाएको संस्कार र संस्कृति, संस्कारबाट टुसाएको भेदभाव (छुवाछुत) बाट आजित भएर कार्ल माक्र्सले कुलिन तन्त्र र हेपिएका श्रमिकबीच खाडल पुर्न द्वन्द परिकल्पना गरे अर्थात वर्ग संघर्ष अघि सारे । उनको त्यो परिकल्पनाको भूतबाट धर्म गुरु कुलिन तन्त्र वर्ग डराएर लन्डनतिर निर्र्वािसत गराइएको इतिहासले बताउँछ । उनी त्यहाँ पुगेर अनेकौँ हन्डर खाँदा पनि धर्म भीरु भई कुलिन तन्त्र तिर फर्केर स्खलित भएनन् । बरु त्यहाँको झिल्कोले संसार नै डढेलो लगाइ दिएको देखिन्छ ।

तर कमरेड भाउजू कथा भित्रका पात्र आफू क्रान्तिकारी हुँदा अफिम भनी बिडण्डता मच्चाउने कमरेड परिवर्तन उर्फ धर्मप्रसाद उपाध्याय भने लन्डनको माहौलमा पत्नीको बचन काट्न नसकि सोही अफिम सेवन गर्दै अगेनुमा घिउ पग्ले झैँ पग्लिन्छन् । लडाकु हुँदा हतियार पक्रेको हातमा आचमनी तथा घन्टी हल्लिन थाल्छन् । माक्र्स र एंगेल्सको तस्बिरको ठाउमा विष्णु र कृष्णजीका फोटाहरू हाँस्न थाल्छन् । रेड बुक थेम्स नदीमा फालेर हातमा गीता, चण्डी, रूद्रि आदिका पुस्तकहरू सोभित हुन्छन् । फलतः प्रगतिको यस्तो छलाङले घर भरी लक्ष्मी थुपरिन्छिन् । तर उनका पार्टी वा मान्छै उनलाई देख्दा वा सुन्दा पनि लाजमर्दो स्थितिमा पुगेर समूहबाटै पखाली दिन्छन् । त्यसपछि, कमरेडको सम्मानले पहिचान पाएकी धर्म पत्नीलाई सो उपाधि काउछोको माला जस्तो लाग्छ । तर धर्मप्रसादले आफू कमरेडबाट महापण्डितमा परिवर्तन भए पछिको असरले सामान्य भाइचाराको सम्बन्ध स्थापित भइ बिती रहेको लन्डने नेपाली समाजमा पनि डढेलो लगाइ दिन्छ । नेपालमा रहँदा वर्णाश्रमको कारणले भोगिएका जातीय भेदभाव, छुवाछुत सम्झेर गैर धर्मप्रसादहरू पनि बचाउको लागि पुख्र्याैली संस्कार संस्कृति खोज्न थाल्छन् । बेलायत बस्ने नेपालीहरू चार जात छत्तिस वर्णकै हुन्छन् । इतिहासमा भने जयस्थिति मल्लले शासन सत्ता सजिलो बनाउन श्रम विभाजन (वर्णाश्रम) गरेकोलाई जङ्ग बहादुरले त मुलुकि ऐन बनाएर लालमोहर लगाइ दिए । त्यसपछि त नेपालका विभिन्न जाति जनजातिहरू साङ्गो पाङ्गो फूलबारीका फूलहरू बने । पुरेत्यायी विधि (रुद्री, चण्डी, पूजा, पुराण) लागू हुने समाज बनिएपछि त सोही अनुसार व्राह्मण, क्षेत्री, वैश्य र शूद्रलाई गर्ने व्यवहार र पूजा विधि फरक भए । एक आँतको भएर अँगालोमा बाँधिएर हिँड्ने नेपाली नेपाली बीच भेदभाव सुरु भयो । सायद यस्तै भयो होला लन्डने नेपाली जीवनमा पनि । त्यसैले त आआफ्ना जातीय पहिचान खुल्ने संघ संस्था खोल्ने लहर चलेको कुरा यस पुस्तकमा देखाउन खोजिएको छ । विदेशमा बस्ने गैर आवाशीय नेपाली बीचमा पनि एकतामा अनेकता आएको तीतो अनुभूतिलाई प्रस्तुत गर्न लेखकले यस्तो सचेतना मूलक कथा तयार पारेको देखिन्छ ।

यस कथा पछि लगतै अर्को राजनैतिक पृष्ठभूमि नै बोकेको ‘पलायन कमरेड’ नामक कथा आउँछ । यो कथा विश्व प्रसिद्ध हिथ्रो विमानस्थलबाट सुरु भई लन्डनको कुनै चिल्लो कार कुद्ने बाटोको किनारातिर लागेर कमरेड विश्वास र अटलको संवादसँगै सिद्धिन्छ । तर त्यति दूरी भित्र भए ता पनि नेपालको क्रान्तिकारी कमरेडहरूको नालिबेली अटाइएको छ । यस कथा भित्रको अटलसँग पनि म एकछिन हिँड्न थाल्छु । किनभने करिब १२÷१३ वर्ष अघि त्यही एयरपोर्टको इमिग्रेसन लन्ज(अध्यागमण) भित्रको नागबेली लाइनमा दुई घण्टा बसी आगमन ढोका निस्केर म पनि साथीहरूलाई पर्खी बसेको सम्झन्छु । मेरा क्याम्पस पढ्दाका सहपाठी साथीहरू(वाइएस र आरके) पनि जसरी अटललाई लीन विश्वास आए, त्यसरी नै मलाई लीन कार लिएर आएका थिए । यस कथा भित्र उल्लेख गरिएकै झिलिमिली सडकमा होला मेरा साथीहरूले दायाँ बायाँका ठाउँहरू देखाउँदै कारमा सिलिलि चिप्लाउँदै लगेका सम्झन्छु । तर फरक के थियो भने विश्वासले कमरेड अटललाई आधुनिक सुख सुविधाले सम्पन्न अभिजातीय रोयल होटेलमा राख्छन् । तर मेरा साथीहरूले भने प्रेम पूर्वक आफ्नै वास स्थानमा पुर्याएर श्रमिक जीवनका अमृत तुल्य सिठोपिठोको आतिथ्यता दिन्छन् । रोयल होटेलको राजकीय मलमले बिछ्यौनाको काढाले घोचेर कमरेड अटल अनिदो बस्छन् र भोलि पल्ट साथीलाई अनुनय विनय गरी उनको वासस्थान त पुग्छन् । तर विश्वास र उनको परिवारमा आएको परिवर्तनले झस्किन्छन् । राती आफ्ना साथीसँग मनका कुरा राखौला भनेको पाठ पूजा, स्वस्थानी व्रत कथा भन्ने ढोङ रचेर टारी दिन्छन् । लन्डने जीवन कति व्यस्त ! तर बहना भने मलाई पटक्क लाग्दैन । जे होस, परिस्थित बुझेर नै होला साथीले घुम्नको लागि खेतालो खोजी दिएको साथीसँग वेमञ्जिल कुइरेको सहर भन्दै घुम्न थाल्छन् । तर तकाइ बेगरको घुमाइले घुमाउँदै थाहै नपाइ भारतीय व्यापारीको मोहल्ला पुगेर आफ्नो साथीको मेसिन जस्तो खटाइ देख्दा धाक, रवाफ, स्वाभिमान सबै चकनाचुर हुन्छन् । आफूले कत्रो ठूलो लन्डने जीवन होला भनेर हौसिँदै आएको अटल ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भने झैँ आफै लाजले भुतुक्क हुन्छन् । झन्डै यस्तै मैले पनि अनुभूति गरेकोले अटलले कमरेड विश्वासलाई ‘कामै गर्नु थियो भने यस्तोमा किन गरेको ?’ भनेको डायलग मैले पनि भने जस्तो लाग्छ । यसैले यो कथाले मेरो मथिङ्गलनै हल्लाइ दिए झैँ लाग्छ । यस कथामा दुई पात्रहरूका राजनैतिक दृष्टिकोणलाई ज्यादा द्वन्दतिर नलम्बाइ लेखकले आपसमा एक जनाको आँखामा अर्का अवसरवादी पुजीवादी भएको र यस्तो देख्नेको आँखामा देख्ने चाहीँ अझै जड सूत्रवादी कम्युनिस्ट नै भएको आत्मारतिको निर्णयमा टुङ्गाइ दिन्छन् । यसरी नै कथा वस्तुको उठान नेपाली धरतीबाट हुँदै विदेशी भूमि टेक्नसाथ क्रान्तिकारीहरूका धार भुत्ते हुँदै विलय हुने प्रक्रियालाई छोटो तर चोटिलो झलकमा नै प्रस्ट्याएर बिट मारेका छन् । यस्ता वास्तविक तर भन्न गारो पर्ने कुरा पनि सजीव वातावरण सिर्जना गरी सहजै उतारि दिनु लेखकको विशेषता देखिन्छ ।

यस्तै अर्को कथा ‘गड्यौला उर्फ सत्यराज’ले त मलाई भुतुक्क पार्छ । विद्यावारिधि (पिएचडी) गर्न गएको एक होनहार नेपाली त्यो पनि प्राणीशास्त्र(जुलोजी) विषय कै । कस्तो कागताली मिलेको ! कतै मेरै फोटो कपी नै नभइ जावोस भनी डर मान्दै पढ्छु । किनभने म पनि एक जमानामा प्राणीशास्त्र(जुलोजी) विषयकै (सर्वसाधारणका आँखामा हेला गरिएका) भ्यागुत्तो, छेपारो, सर्प आदि उभयचर र सरीसृप (हर्पेटो फाउना) मा विद्यावारिधि गर्न युरोप तिरै डौडिएको थिएँ । कथाका पात्र सत्यराज भने गड्यौलामा पिएचडी गर्न लन्डन पुगेका रहेछन् । उनले पनि नेपाली समाजमा राम्रो भन्दा नराम्रो प्रसंगकै उपमा दिइने जन्तु (गड्यौला) मा पिएचडी सक्न लागेका थिए । हाम्रो समाजमा ‘कस्तो गड्यौला जस्तो मान्छे’ भन्नाले कुराको ठेगान नहुने फटाहा मान्छे भन्ने बुझिन्छ । सोहीठीक, मैले अनुसन्धान गरेको जन्तु पनि उस्तै नराम्रो उपमा दिइने जन्तुहरू ! जस्तै ‘घमन्डी भ्यागुतो जस्तो’, (मूर्ख मान्छे)‘छेपारोले रङ्ग फेरे जस्तै (कुरा बदल्ने ढँटुवा)’ आदि । उनको विषय वस्तु सुन्दा आफ्नै धर्मपत्नीले त मन पराइनन् भने अन्य नाता, कुल कुटुम्बले कसरी मन परावस् ? उनको दशाको केही अंश मैले पनि भोगेको छु । भ्यागुताहरूका अन्तिम पहिचान गर्न नमूना बोकेर बेलायती प्राकृतिक संग्राहलय (बिएमएचएन, लन्डन) पुगेँको कथा गाउँ घरतिर सुनाउँदा तै जाबो कामको लागि बेलायत पुग्ने भनेर ओठ लेप्राइ दिएका थिए । जेहोस, कथामा झैँ सत्यराजले जस्तो स्पाउज (धर्मपत्नी) भने मैले सँगै लगेको थिइन । बालबाल बचेँ । युरोपेली देशमा बसेर शोध कार्य गर्न कति गारो पर्छ भन्ने कुरो सत्यराजको यन्त्रवत खटाइ देख्दा महसुस हुन्छ । एकतिर शोध निर्देशक प्रोफ्रेसरको दिनभरिको पेलाई, अर्र्कोितर रातभरी सुत्न पनि नदिने पत्नीको कचकच ! कसरी अनुसन्धान गर्छन् बिचरो सत्यराज । आफूले कत्रो महत्व दिएर अध्ययन गरी रहेको गड्यौलोसँग आफूलाई नै दाँज्दै गरेको अपमान ! वास्तवमा असह्य पीडा थियो । हुन त भरभराउँदी नौजवान युवतीलाई जमानामा घाम नअस्ताउने देशको राजधानीमा पुर्याएर एउटा कोठा भित्र थुनी आफू अन्य कामको लागि गोरु झैँ जोतिनु अनि पत्नी अघि नपुङ्सक बन्नु, उसको पनि त कसुर होइन र ? पौराणिक कालमा पनि यस्तै स्रस्टा द्रष्टा वा ऋषीमुनि हुन तपस्या गर्न वनवासी हुन पथ्र्याे । अप्सराहरूले तपस्या भङ्ग गर्ला कि भनी सतर्क हुन पथ्र्याे । उर्वशी मेनकाको फेला परे खाली हात फर्किनु पर्ने । नियम मिचेर रामले सीता लिएर वनवास जाँदा जसरी सीता रावणको वैभव र व्यक्तित्वमा लोभिएर लक्ष्मण रेखा पनि नाघ्दै विमान माथि चढेर लंका हुइकिइन, त्यसरी नै अनुलता पनि आधुनिक रावण राधेश्यामको वनारसी पान र लड्डु खाँदै उसकै अंगालोमा बाँधिएर लन्डनमा हराइन । उफ ! उस जमानामा रामले गलती गरे भने यस जमानामा सत्यराजले पनि गल्ती नै गरेका होइनन् र ? फलतः यो युगमा स्पाउज लग्दा हातमा पिएचडी, राधेश्यामको हातमा आफ्नी स्पाउज ! यो पनि कागताली हो कि ? अब भन्नोस् हाम्रा युवा अनुसन्धान कर्ताले यस्तो गल्ती दोहोर्याउनु कि नदोहोर्याउनु ? लेखकले यस कथामा श्रव्य दृष्य झै सबैको अगाडी अन्तरकुन्तरको प्रश्न प्रस्तुत गरेका छन् ।

अर्को मलाई छोएको कथा ‘तेस्रो कुकुर’ हो । स्वदेशमा चखेवा चखेवीको जोडाजोडी जस्तो भएर बसेका पति पत्नी । डलर र युरोको मोहमा फसेर प्राण प्यारीलाई पारपाचुके गर्दै युरो महिलासँग बिहा गरी चोक्टो खोज्न ब्रसेल्स पुगेको रवि । तर जव तेस्रो कुकुर भएको कुरा युरोपेली कानुनी पत्नी फ्लोरेन्सद्वारा प्रमाणित हुन्छ, त्यस बेला तितो झोलमा मात्र होइन अपमानको गहिरो खाडलमा जाकिन्छ । यो कथा पढ्दा म पनि एकछिन संवेदनशील हुन्छु । किनभने कथामा प्रस्तुत बेल्जियमको राजधानी ब्रसेल्समा जर्मनीमा बस्दा मलाई माया र अडेसा दिने एक जना मित्र राम थापाजी तथा खनाल परिवारसँग सन् २००० को नव वर्ष मनाउन पुगेको छु । हाम्रो मुकाम बेल्जियमको लागि नेपाली राजदूत स्व. नारायण समशेर थापाज्यूको आवासगृहमा हुन्छ । म नेपालबाट पिएचडी गर्न पुगेको सुन्दा महामहिम राजदूत खुसी हुँदै अधिकांश नेपालीहरू जे जुन बहनामा युरोप आए पनि हराउने, त्यसपछि नर्कको जीवन बिताउने, अकल्पनीय काम गरेको पाइने, कहिले काहीँ स्थानीय सरकारले त्यस्ता मान्छेलाई पक्रेर दूतावासमा बुझाउन ल्याउँदा नेपालीको स्वाभिमान सगरमाथा होइन प्रशान्त महासागरको पिँधमा पुग्ने आदि खालका दर्दनाक उदाहरण दिँदै जसरी पनि आफ्नो अध्ययन पुरा गरी स्वदेश फर्कने सल्लाह दिनु भएको प्रसङ्ग झल्यास्स सम्झे । यो कथा वस्तुको पृष्ठभूमि पनि त्यसकै वरिपरि भएको हुनाले सत्य घटनामा नै आधारित जस्तो लाग्छ । लेखकले रवि जसरी मेट्रोमा आएको थियो त्यसरी नै फर्केको देखाएर कथा टुङ्गाउछन् । तर सात हजार युरो तिरी आफू तीन वर्षसम्म बाँधा भइ बस्दा तेस्रो कुकुर सम्म बनी करार पुरा गरे पनि खरिददारले न त त्यहाँ बस्ने कागज बनाइदिई न त पैसा फिर्ता । अनि बिचरो रवि ‘गाँठ पनि गुमाउनु, बेबकुफ पनि बन्नु’ पर्यो । सायद यस्तै मामला कहिले काहीँ दूतावास पुग्छन् र अनि हाम्रा कूटनीतिज्ञहरूले त्यस्ता तीता कुरा उकेल्न पर्ने हुन्छ । यो कथा विदेशीएका नेपालीहरूका एउटा प्रतिनिधि पात्र झैँ लाग्छ । जे होस, यस कथाले मलाई ब्रसेल्स पुर्याएकै हो ।

यसैगरी अन्य कथाहरू पनि एकसेएक छन् । नारी प्रधान दुई कथाहरू भेट्याउँछु । यसमा भएको ‘मिडिया मुस्कान’ले एक दशक अघिकी एक चर्चित टिभि प्रस्तोता (सायद पवन कली)को गुन्यौ चोली लगाएर मीठो मुस्कानसँगै नखरा भावभङ्गीमा देशका ठूला नेतादेखि प्रनेतासम्म, प्रधानमन्त्री देखि कार्यसहायक सम्मका अन्तर्वार्ता लीने एउटी युवतीको अनुहार सम्झेँ । अर्को कथाको शीर्षक ‘मीट सिङ्गल डट कम’ भए ता पनि निचोडमा माओवादी द्वन्दकालका पिडक र पिडीत दुबै आआफ्ना मोर्चाबाट उछिट्टिएर एउटा परिवेश भित्र टेबुल वार्ता हुन पुगेको प्रसङ्ग देखाउँछ । यीदुई कथा मध्य, एउटामा यदि आफ्नो कार्यालयमा कुनै आकर्षक नारी कर्मचारी आउँदा त्यहाँका हाकिमको मन मस्तिष्कमा कस्तो परिवर्तन आउँदै काल्पनिक दुनीयामा उड्ने र यौन कुण्ठाले पिल्सिने जस्ता कुरा नलजाइ राखिएका छन् । अर्को ‘मीट सिङ्गल डटकम’मा भने आधुनिक युवक युवतीहरूको प्रेम प्रसङ्ग उहिलेको बसाई पुस्तक भित्रका सानी र हरिको प्रसङ्गबाट विकास हुदैन । तर अबका युवाहरूलाई एकल भेटघाट क्लब आवश्यक्ता पर्छ भन्ने कुरा लेखकले संयम बन्दै यहाँ लेख्नु भएको छ । यस कथाकी नायिका आफूलाई यौन उत्तेजना नायकको चाहनाकै लागि गरेकी हो कि भन्ने प्रसंगले झसङ्ग पार्दै सीमा नाघ्ला भनी थर्कमान भइ रहेको बेला अनुसन्धानको लागि अभिनय गरिएको भेद खुल्दा अर्को पटक छक्क परिन्छ । नारीहरूले आफ्नो रूपलाई अर्काको मनोरञ्जनको लागि मात्र होइन गहन अध्ययन अनुसन्धानको लागि पनि सदुपयोग गर्न सक्छन् भन्ने दृष्टान्त लेखकले यी दुई कथाहरूमा सारै प्रशंसनीय तरिकाले प्रस्तुत गर्नु भएको छ । पहिलो मीठो व्यावसाायिक मुस्कान र दोस्रो उत्तेजक व्यावसायिक अंग प्रदर्शनबाट सिर्जिएको भावनालाई जब पहिलीले विद्यावारिधि प्राप्त गरेकी र दोस्रोले लैङ्गिक अनुसन्धान गरेकी देख्दा ती नारीहरूलाई सम्मान गर्न मन लाग्छ । दुबै कथामा दुर्घटनाबाट छलेर सकुसल अवतरण गराउने एक कुशल र अनुभवी पायलट झैँ कुशल शिल्पकार साहित्यिक स्रष्टा बनेका छन् कथाकार बजगाईं ।

अर्को हालको नेपालको युवा युवतीहरूमा बढ्दो समस्याको रूपमा आएको ‘नक्कली विवाह’को प्रसङ्गलाई इङ्गित गर्दै ‘चौथो विवाह’ कथा लेखिएको देखिन्छ । अब त नेपालमा जन्मन साथ विदेश जाने सपना देख्न थाल्ने कुरा नकार्नै नसकिने सत्य बनी सक्यो । विद्यार्थीहरू स्वदेशमा उच्च शिक्षा लीन भन्दा विदेश जान खोज्ने, पढ्नको लागि होस वा कामको खोजीमा होस्, घरधन्दा वा नानी पाइ दिन होस् वा बन्धक बस्न होस् वा मनोरञ्जन गराइ दिन होस्,जस्तोसुकै शर्त मानेर भए पनि विदेशिने लहर बढ्दो छ ।

यस कथामा अमित र सावित्रीले पैसा कमाउनको लागि विवाह, पारपाचुके वा सम्वन्ध विच्छेद मौसमी घाम पानी जस्तै छिनछिनमा बदल्ने खेल जस्तै बनाउँदा पाइने दुष्परिणामको एक झलक देखाउन खोजिएको छ । जब मैले पनि लन्डन टेकेथेँ सोही बेला साथीहरूले मलाई तीन डब्लुका(आइमाई, मौसम र काम) अर्थ सहित यी तीन कुरा त्यहाँ नसोध्ने सल्लाह दिएका थिए । त्यस बेला मैले सम्झेँ यस्ता कुरा भनेका बेलायती ढर्रा होला भनेर । तर यहाँ कथाकारद्वारा लोग्ने स्वास्नी हुनु पुतलीको खेल भन्दा पनि सस्तो भएको प्रमाणित गर्नु भएको देख्दा त्यो साँचो लाग्यो ।
युरोपेली समाजमा जरा गाडेको तेस्रो लिंगी समाजको समस्या भित्र नेपाली अनाथ बालक देखि युवासम्म कसरी फसेका हुन्छन् भन्ने कुरो ‘मौन युद्ध’ र ‘म सिसिफस’ कथाहरूमा प्रस्तुत गरिएका छन् ।

राफ्टिङ गर्न त्रिशुलीमा आएकी पर्यटक फ्लोरेन्सलाई मक्ख पार्दै विवाह गरेर बेलायत पुगेको तर त्यहाँ लोग्ने नभएर बेतलबी नोकर बन्दै गोर्खा मोडेल भइ मूल ढोका कुर्नु पर्ने नियति भोग्दा त्रिशूलीको छालसँग रमाउँदै हुर्केको नेपाली ठिटो हक्कनबक्क हुन्छ । अझ जब विवाहको नाटक गरी ल्याउने पत्नी लेस्बियन भएको थाहा पाउँछ, त्यस बेला सम्ममा उ न छाड्न सक्छ न बस्न । यस्तै एउटा अलपत्र परेको टुहुरो केटोलाई उदार गर्दै धर्म पुत्र बनाउन बेलायत पुर्याउने परिवारको प्रसङ्ग निकालेर लेखिएको ‘मौन युद्ध’ हो । यसमा त्यहाँको समलिङ्गी (गे) समाजको चित्रण गरिएको छ । बिचरो त्यो बालक(प्रजातन्त्र!) राम्रो खाने लाउने आशामा अनजान धर्र्मिपता र धर्ममाताको काख पाएर बेलायत पुग्छ । धर्म मातापिताको रहस्यमय मौन युद्ध भित्र भए पनि हुर्केर जब बुझ्ने हुन्छ, त्यस बेला धर्म माताले रहश्य खोल्छे । त्यस बेला मात्र उसले आफू ‘गे’ परिवार भित्र हुर्केको बुझी आफै धिकारिन्छ ।

आधुनिक चाटुकार साहित्यकारहरूले साहित्यलाई व्यवसायीकरण गर्दै केदेखि केसम्म गर्न सक्छन् भन्ने कुरो ‘मङ्गल ग्रहमा देवकोटाको मूर्ति’ नामक कथामा दृष्टान्त पेस गरिएको छ । यसकै मुख्य पात्र त्रिलोकनाथ शर्माले मङ्गल ग्रहमा देवकोटाको शालिक बनाउने हावादारी प्रस्ताव राख्दै संसार भरीका सोझा साझा साहित्य प्रेमीहरूबाट कमाउनुसम्म सम्पत्ति कमाउँछ । जब उसको कालो करतुतको पोल खोल्ने सम्भावना देख्छ, तब अन्य जात जातीलाई उकास्दै साम्प्रदायिक गन्जागोल बनाएर आफू माथि पर्ने प्रहार अर्र्कैितर तर्काइ दिँदै मस्ति मारेको प्रसंग यहाँ रोचक पाराले देखाइएको छ । हाँस उठ्दो तर मार्मिक कथा छ यो । नेपालमा पनि यसको उदाहरणहरू यत्रतत्र पाइन थालेका छन् । कसैले सबभन्दा ठूलो मूर्ती, कसैले सबभन्दा ठूलो शिवलिङ्ग आदि बनाउने खबर पत्र पत्रिकामा सामान्य भइ सके ।

आधुनिक सभ्य समाजका पति पत्नी बीच अनिवार्य सर्तको रूपमा हुने वादविवाद, वैमनस्यता, अविश्वास, असन्तुष्टी आदिबाट हुने असर वा परिणाम वारे ‘अस्थायी शत्रु र लोग्ने’ र ‘मौनता र शान्ति’ भन्ने कथाहरूमा राखिएका छन् । अठार घण्टा भन्दा ज्यादा खटेर घर परिवारको भलाईको लागि काम गर्ने लोग्नेलाई जब स्वास्नीले चार्मिङ देख्न छोड्छे, तव कहिले नमिल्ने झगडाको बिउँ रोपिन्छ । बिस्तारो लोग्नेले गरेको सबै काम नकारात्मक देख्न थाल्छे तब लोग्ने स्थायी शत्रु र बाहिर आफूसँग झ्यामिनेहरू अस्थायी शत्रु देख्न थालेको चीसो प्रसंग पनि लेखकले राखेको पाइन्छ । तर अर्र्कोितर ‘लोग्ने स्वास्नीको झगडा, परालको आगो’ भन्ने उखानलाई सम्झाउने गरी ‘मौनता र शान्ति’ नामक कथा वस्तु सिर्जिएको छ । यस कथासँग छ सात दशक अघिको ‘गौथली र चामे’ जस्ता जोडीको आपसी झगडालाई सम्झौता गर्न ‘परालको आगो’ कथाले दृष्टान्त दिएको थियो । तर त्यस्ता प्रसंगले अहिलेको अत्याधुनिक समाजलाई छुनै सक्दैन । त्यसैले त अहिलेको जोडीको झगडाको आगो निभाउन नयाँ प्रसंग उभ्याएका छन् लेखकले । यहाँ लोग्ने स्वास्नी बीचको बाँझोलाई साम्य पार्न या कुनै एक चुप बस्नु, वा भ्यालेन्टिन डे पर्खनु, या वार्षिक विवाह उत्सव पर्खनु वा छोराछोरीको माध्याम स्वीकार्नु आदि उपायहरू प्रस्तुत छन् । यीनै इस्यूहरू बोकेको कथा हो ‘मौनता र शान्ति’ ।
युद्ध पछि कसरी शान्ति कायम हुन सक्छ भन्ने अवधारणालाई नायिका र नायक जस्ता पात्रहरू सिर्जना गर्दै ‘गणतन्त्र पछिको पहिलो प्रेम’ भन्ने कथा तयार भएको देखिन्छ । दश वर्षे द्वन्द पछि पीडक र पीडित एउटै समाजमा बाच्न पर्ने बाध्यता आएको र आपसी वैमनस्यता कसरी प्रेम पूर्वक शान्तिको लागि सम्झौता गरिनु पर्छ भन्ने उद्देश्य यस कथाले बोकेको मैले महसुस गरेँ । माओवादी अपहरणबाट बचेर बेलायत पुगी रेस्टुरामा काम गरिरहेकी नायिका हुन्छे । नायिकाको परिवार अपहरण गर्ने पिडक नायक भए तापनि आफ्नै सहकर्मीबाट तिरस्कृत हुँदा पलायन हुँदै बेलायत पुगी कामको खोजीमा सोही नायिका काम गर्ने रेस्टुरेन्टमा पुग्छन् । बदलाको भावनाले उनलाई काम गर्न दिँदै कठिन भन्दा कठिन शारीरीक परिश्रम गराउन थाल्छिन् । तर आफैले दिएको त्यो कठिन यातनापूर्ण कामबाट आफै पग्लिन्छिन् । नायिकाको मनमा एक्कासी माया पलाएर आउँछ अनि उसलाई दोष मुक्त मात्र गर्देनन् बरु समयको धार भन्दा उल्टो चल्न नहुने आत्मनिर्णय गर्दै उपहारको रूपमा ‘गणतन्त्र पछिको पहिलो प्रेम’ भन्दै स्वीकार्छिन् । कति रमाइलो तर उदाहरणीय प्रसंग छ यस कथामा लेखकको ।

समग्रमा यो पुस्तकको कथाहरूका जरा (गानु) नेपालमा रोपिएको छ । तर यसका लहराहरू लहरिँदै संसार भरिका देशहरूमा पुगी फलेका फूलेका देखाइएको छ । मुख्य जरा (गानु) माओवादी दश वर्षे द्वन्द काल नै छ भने यसले पारेको अन्तरदेशीय र अन्तर्र्रािष्ट्रय प्रभावहरू साथै सामाजिक प्रभावहरूका झल्का उदाहरण सहित समेटिएका छन् । यस पुस्तकको मुख्य विशेषता भनेको विदेशीएका नेपालीहरूको वास्तविक जीवन कसरी बिति रहेको छ भन्ने कुरा सर्वसाधारण समक्ष प्रस्ट्याउनु हो जस्तो मैले महसुस गरेको छु । आफ्नो परिवारका सदस्यलाई विदेश पठाएर जुँगामा ताउ लगाउँदै घर बसुवा अभिवावक वा आश्रीतहरू होस् वा विदेश गएर धेरै कमाउने र आनन्दमय जीवन बिताउन सपना देख्ने युवा उमेदवारहरू हुन्, सबैले यो पुस्तक पढ्नै पर्ने मैले ठानेको छु । किनभने विदेश भूमिमा टेक्दा त्यहाँ के कस्ता सम्म हुन सक्ने वा समस्या आउन सक्ने जानकारी यी १३ कथाहरूमा समेटिएका छन् । ति कथाहरूले त्यहाँको सभ्य समाजको चित्रण गरेको छ ।
देशको लागि विदेशी रेमिट्यान्स नै मुख्य आयस्रोत बन्दै गएको अहिलेको अवस्थामा स्कूल वा विश्वविद्यालयमा पढाइने साहित्य समाजको पाठ्यक्रम पनि परिवर्तन गर्न पर्ने आवश्यक्ता अब देखिएको छ । बाउ बाजेको पालामा भारतका विभिन्न ठाउँ मात्र कमाउन जाने गन्तव्य बिन्दु थियो र त्यसबेलाको साहित्य पनि सोही ठाउँहरूसँग प्रसंग मिल्ने बनाइएको थियो । तर अब विश्वको प्रायः सबै राष्ट्र नेपाली कामदारको गन्तव्य बिन्दु भएकोले ‘कमरेड भाउजू’ जस्तै पुस्तकहरू विश्वविद्यालयको कोर्समा समेटिनु पर्छ ।

अन्त्यमा विश्व साहित्यको भण्डारमा नयाँ आयाम थप्ने प्रसिद्ध साहित्यकार तथा समकालीन साहित्य डट कमका प्रकाशक तथा सम्पादक कृष्ण वजगार्इंलाई हार्दिक धन्यवाद । साथै नेपालीहरूका लागि सचेतना फैलाउने नयाँ नयाँ अन्य पुस्तकहरू एक पछि अर्को थपिदै जावस् । हामी नेपालका पाठकहरूले पनि नयाँ स्वादका यस्तै कथाहरु पढ्न पाइयोस् ।

भद्रपुर १०, क्याम्पस मोड, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 पौष, 2072

लेखकका अन्य रचनाहरु