कोसेली

- युवा बराल ‘अनन्त’

आज उनिहरु एउटा अनौठो बजार भर्न हिंड़ेका छन् – पति पत्नी दुवै ।

‘एक बोतल रक्सि पनि लगिदिऊँ है ! फेरि खान्छ के त्यस्ले ?’ एक्लै बर्बराउँदै हिंड़दै थिइन् पत्नी चैं । ‘ नखानु…!’ठूलो भूँड़ी हल्लाउँदै पछि पछि हिंड़दै थिए पति चैं ।

गान्तोकको एम्जि मार्ग । सफा अनि स्निग्ध भुईं । आधा रातसम्म यतिकै चहल पहल भइरहन्छ मान्छेहरुको । कताबाट आ’को अनि कता गा’को । आउने त्यतिकै जाने त्यतिकै । कोही काम भएर, कोही कामै नभएर घुम्न निस्कन्छन् । कोही हेर्न, कोही देखाउन । हरेक तह अनि हरेक उमेरका मान्छेहरु । अनेक जात अनि विभिन्न सम्प्रदायका मान्छेहरु । ओहोर दोहोर … ओहोर दोहोर ।

छोग्यालको समयसम्म त गान्तोक र यसका वरिपरीको जग्गा एक दुई ठूल-साना घरहरु बाहेक अन्य ठाँउलाई अटब्बे जङ्गलले ढाकेको थियो रे । जङ्गली जनावरहरुको डर हुन्थ्यो रे । पातलो घर अनि मानिसहरु ।एक दुईवटा गाड़ीहरु । तर ऐले पाइला टेक्ने खालि ठाँउ छैन । जता ततै भिड़ै भिड़ । सड़कको, घरको, गाड़ीको, बिल्डिङ्गको, अफिसको, मान्छेको अनि होड़वाजीको । सबै व्यस्त । सबै तल्लिन । स्वार्थ…स्वार्थ अनि स्वार्थ ।

त्यो ठूलो भूँड़ी भा’को मान्छे बिरेन्द्र पनि डल्ली डल्ली परेकी आफ्नी श्रीमती सानुमतीको पछि पछि त्यो भिड़लाई चिर्दै हाफिंदै उसले जता लान्छे त्यतै जाँदैछन्। उनिहरु सोझै रक्सि बेच्ने दोकान मै पसे ।

‘त्यो के रे… ठूलो बोतलको बेग्पेपर छ मालिक !’ सानुमतीले आग्रह गरिन् त्यो रक्सि बेच्ने भैयालाई ।

‘छ , कति ?’ त्यसले सोद्दैथ्यो ।

‘ छ्या सानु पनि… त्यसतो मुङ्गो काँ लानु हौ त्यो बस्तीवालालाई । थ्री एक्स लैजाम नँ ।’ बिरेन्द्रले बद्लिगर्न चाहे मेनु । सानुमती तर मानिनन् :- ‘ आ… त्यै बीस तीस रुपे त बेसिहोला । किन मन खुम्च्याउनु । यतिले नि धेरै काम पो गर्छ त। चाखोस न त्यो साँईंला दाजुले पनि मङ्गो दामको !’

‘ अरु…?’ बिरेन्द्र अघि बड़दै छन् । ‘ एक केजी रसदाना, दुई पाकेट भूजा, केटा केटीको लागि बिस्कुट, चिप्स के के हुन्छ किन्नोस न ।’ आदेश जस्तो बोली सानुमती ।

भनेको जति सप्पै सामान किनिसक्दा झण्डै एक हजारको सौदा एक झोलै भएको थियो । गहरुङ्गो झोला बोकेर पुन: सानुमतीको पछि पछि हिंड़दै थिए बिरेन्द्र । तर यो यात्रा बजारको घर जाने होइन बस्तीको घर जाने थियो । सानो गाड़ीमा लगभग अढ़ाई घण्टा लाग्छ आफ्नो पुस्तैनी घर जमीन भए ठाँउ बिरिङ्ग बस्ती पुग्न ।

बाटो राम्रो छैन । नत्र त बिरेन्द्र घरकै गाड़ी एस्टिलो लिएर जाने थिए । कालोपत्रे छैन सड़क । बर्खाको भेलले झन बिगारेको छ । सानो गाड़ी त ठोकिएरै हुँदैन । त्यसैले तिनीहरु गाँउकै सर्विस गाड़ीमा जाँदैछन् आफ्नो पुरानो घर ।

XXX

त्यो बितेको समय थियो । बिरेन्द्र सानै छँदाको । उनको बाजे (बाबै भन्छ उ) राजाको समयमा गाँउको ठिकादार थिए । महेन्द्र खँड़कालाई गाँउकाहरुले खँड़का ठिकादार भनेर इज्जत दिन्थे । राज्य मै उनको निकै तुईंफुईं चल्थ्यो । कर उठाउनु, मामला मिलाउनु, सजाय दिनु, जमीनको खजना उठाएर राज्यमा बुझाउनु, ठिङ्ग्रो ढिकुरो गराउनु आदि उनकै आदेश अनि नालिशमा हुने गर्दथ्यो । घर जमीनका मालिक थिए उनी । एउटै छोरा थिए महेन्द्रको … लोकेन्द्र ।

उनको बाबु लोकेन्द्र खड़काको बीस ऐकर जति जमीन थियो गाँउमा । चार ऐकर जति त पानी खेत । पाँच ऐकर सुख्खा बारी । झण्डै तीन ऐकर अलैंचीबारी । अरु पाखा पखेरु अनि अटब्बे जङ्गल । महाजन थिए ती गाउँका । मूठा जूँगा बटारेका । दही दूध घीउ छुर्पि मकै कोदो अनि जाउलोले हृष्ट पुष्ट । पुगिसरीका । खँदिला जीउ अनि रवाफिलो स्वभावका ।

सिक्किम भारत देशमा विलय भएपछि काजी ठिकादारी प्रथा पनि एकाएक समाप्त भएको थियो । तर पछि राज्यले पुन: गाउँमा जमीनको खजना उठाउन र सरकारलाई बुझाउनको निम्ति मण्डल राख्ने चलन चल्यो । अलिक लेख्न पड़न सक्ने, नियम कानुन बुझेका अनि इज्जतदार व्यक्तित्वको हैसियतमा लोकेन्द्रलाई नै मण्डल घोषित गरियो अनि सम्पूर्ण जिम्मा उनैलाई दिइयो । लोकेन्द्र मण्डल उनको गाँउले चिन्ने नाम ऐले ।

चार घर त पाखुरे थिए बारीभरि अलग अलग कटेरो बनाएर राखेका । मानबीरे, गोतामे, अधिकारी कान्छा अनि आईतराज । घरमा एक जना नोकर । ‘ हन्बेर्नो’ भन्छ्न् लोकेन्द्र उसलाई । एकजना हली सँधैलाई । ‘ओइ भुसतिग्रे’ पुकार्छन् त्यसलाई पनि ।कामै उसको दुई हल गोरु स्याहार्ने अनि पालै पालो जोत्ने । एकजना गोठालो । प्राकृतिक तवरले पुड़के डल्ले भएकोले ‘बामपुड़के’ नामै उसको । दुई माऊ दुहुना गाई, आठ दशवटा खसी बाख्राको देखरेख हेरचाह उसको काम । सहरमा पढ़दै गरेकाछन् चार भाई छोरा । तीन बहिनी छोरी पनि उतै होस्टेलमा । शिक्षालाई प्राथमिक्ता दिएको समय अनि खानदान । उत्ति पुरानो पनि होइन कुरा अनि कथा पनि ।

अलैंची बारी आफै हेर्चाह गर्थे अनि ऐलेसम्म गर्दैछन्। छोरा छोरीलाई बाहिर पढ़ाउनु उनको वाध्यता हो । गाँउमा सानो मात्र छ ठूलो स्कूल छैन । पाखुरेहरुले कमाएको अँधिया कुतको कमाइले सालभरलाई खान लाउन प्रसस्तै पुग्थ्यो । अलैंची बेचेको पैसाले छोरा छोरी पढ़ाउन । एउटा सर्वमान्य सर्वसम्पन्न अनि धनाड्य परिवार उनको ।

XXX

एक दिन बिहान सात बजेतिरको कुरा हो । दुई लुम्रे झुम्रे परेका, अधबैंसे, हेर्दा लोग्ने स्वास्नी देखिने दम्पति लोकेन्द्र खड़काको सिकुवामा मैलाले कालो टल्कने लामो तुर्लुङ्ग परेको झोलामा दुई बोतल बस्तिको तीनपाने रक्सि, एक बोतल मकैको खोयाले ठेड़ी हालेको मौरीको मह , नेबारोको पातले पोको पारेको एक सेर जति घीउ, एउटा छरी पल्हाएको तिनबर्से रातो जक्खरको भाले एउटा खोङ्गीमा अलग्गै, दुई दर्जन जति अण्डा अनि बूड़ोलाई मनपर्ने केराको दाम्छामा पोको पारेको खोलाको असला माछा बोकेर आई बिसाउँछन् ।

‘ हन के भनेर आइस साईंला एकाबिहानै ?’ घोर्ले घोर्ले सोर भा’को बूढ़ोले ठूलै लवजमा बोल्दा झस्केर एकैचोटी ‘जदौ माइला बाउ’ भन्दै शरण परेका ती दुईले भूईं नै सोह्रेर ढोग गरेका थिए । ‘ ल ल के काम परो लौ भन’ भन्दै सिकुवाको डिलमा ओछ्याएको काठको खाटमाथिको गुन्द्रीमा बस्दै तिनेरले बोकेर ल्याएको सामान निर्क्यौल्न लागे । साईंलाले पालेपालो त्यो चिज बूढ़ाको अघि ओसार्दै थुपा-यो । अनि हात जोड़ेर विन्ती बिसाउन थाल्यो –‘ जदौ गरें हजूरलाई । केही बिराएँ भने माफी पाऊँ । यी केही खाने पिउने वस्तु छन् स्वीकारी बक्सियोस ।’

‘ यो के ल्याइस अनि किन लेर आउन परो ?’ डरलाग्दै कड़किए बूढ़ा । उनको अघि राखेको सबै कुरा एक एक गर्दै उठाएर हेर्दै पुन: त्यहीं राखे । ती समान माझबाट घिउको पोका अलग्गै राख्दै – यो चैं मलाई चल्दैन… तर ल्याइहालिस बामपुड़केहरुले खाइहल्ला… भन साईंला… यसको बद्लि मैले के सेवा गर्नु परो तेरो ?’ आवाज ठूलै तर भाव अलिक नरम बोले लोकेन्द्र । साईंलालाई अलिक आँट जुट्यो । एकपल्ट बुढ़ियातिर हेरेर लामै सास तान्दै बोल्यो उ - ‘ हजूरको एक टुक्रा पानी खेत र अलिकति सुखा बारी- मासीकट्टा, अँधिया, कुत के मा भन्नुहुन्छ त्यै’ मा, बस्न र कमाईखान दिनुहुन्छ कि भनेर ठूलो आस बोकेर आएँ है हजूर मो त ।’ ठूलो भारी बिसायो साईंलाले ।

‘पैला बसेको के भयो ?’ लोकेन्द्र नरम नै बोले ।

‘ काँ र माइला बाउ कुत बड़ाएर कमाईखानै नसकिने भो । कमाए जति सप्पै तिर्दै ठिक्क । लालाबाला छ्न्, ऐंचो पैंचो तिरो भरो खेताला-पात चाड़-पर्व मरौ-परौ … साह्रै पर्ने भैगो नि …।’ वास्तविक्ता यति नै बोल्यो साईंला । साईंलीलाई अझै बोलोस लागेको थियो । त्यो पहिलाको जमीन मालिकले उसलाई नराम्रो पाराले हेरेको पनि भनोस जस्तो लागेको थियो । ‘पापिष्ट’ मन मनै सरापी मात्र ।

‘ म चैं सालै पिच्छे कुत बड़ाउने, पाखुरेलाई सताउने, ठग्ने, हेप्ने खाल्को मान्छे चैं होइन साईंला । तर चार घर पाखुरे अगाड़ि नै बसिराखेका छन् । अब कसको खोसेर तँलाई मिलाइदिनु भन त आफै ।’ निकै सोचेर आफ्नो कुरा बोले लोकेन्द्र । ‘लौ त एउटा उपाय, त्यो मानबीरे कान्छा अलिक बिमारी पनि छ । सक्दैन तेल्ले अब । त्येसकी बूढ़ी पनि दोजिया छे । ल म कुरा मिलाइहाल्छु । अब ठूलो आस गरेर आइछस । दशमुरी धान वर्षेनी कुतमा त्यै जमीन कमा तँ । ठिक छ होइन त ।’ लोकेन्द्रले आदेश दिए ।

धिमै स्वरमा बोल्यो साईंला फेरि –‘ अनि मानबीर काका चैं काँ जान्छ्न् ।’ ‘ त्यो सोच्ने मेरो जिम्मा…म मालिक हो । त्यसलाई राखूँ नराखूँ मेरो मर्जि । तँ चुबो लागेर जा अनि तेरो कुम्लो कुटुरो बोकेर पस त्यो मानबीरे बसेको कटेरोमा। ’ अचम्मको फसेला थियो त्यो । ज्यादा बोल्न सकेन उ । उठेर लाग्यो आफ्नो बाटो ।

XXX

पुरानो घरको झिटिमिटि उठाएर नयाँ घरमा बसाईं सर्न आइपुग्दा मानबीरे बूढ़ाबूढ़ी पनि त्यस्तै कुम्लो कुटुरो बोकेर त्यो कटेरोदेखि बाहिर निस्कँदै रहेछन् ।

एक वचन नबोली गए तिनीहरु उकालै उकालो लाला बाला घिसार्दै । डाँड़ाले छलिएपछि तिनीहरु, साईंला साईंली मानबीरेले बनाएको त्यो कटेरोभित्र पसे ।

‘ यी मालिक भनौंदाहरुको माया ममता अनि सम्वेदना भन्ने चिज चैं साँच्चै मेरेको हुन्छ कि क्याहो !’ अलिकति सन्देह बोल्यो साईंला । साईंली त्यतिबेला आफ्ना तीनजना भल्ट्याङ्ग भुल्टुङ्ग तुर्लुङ्ग तुर्लुङ्ग झुण्ड्याउँदै केटेरोभित्र हुल्दै थिई ।

XXX

ऐले…

लोकेन्द्र खड़का छैनन् गाँउमा । परलोक भइसके । उनका छोरा छोरी पनि सहरतिरै बस्छन् । उनको जमीन छोराहरुले बेचेर बेचेर अब अलिकति मात्र रहेको छ । त्यही अलिकति जमीन र घरबारी बिरेन्द्रको हो ।

जसजसलाई जमीन कमाउने पाखुरे राखेका थिए लोकेन्द्रले, तिनीहरुलाई नै बेचिदिए तिनका छोराहरुले त्यत्रो जमीन । बाउको बिङ्गो थाम्ने एउटै छोरो मात्र रह्यो बिरेन्द्र । बेचेन उसले उसको बण्डामा परेको पानी खेत र घर बारी । लोकेन्द्रको अस्तु । बिरेन्द्रको अंश ।

XXX

अब…

साईंला पनि उमेर र खटाइले वृद्ध बनेका छन् । छोरा छोरी बढ़ेका छन् पढ़ेका छ्न् । हतपत काम टिपेर गर्दैनन् । अह्राए रिसाउला झैं गर्छन्। डराउँछन किन किन त्यसैले उनी ।

जुन जमीन उनलाई लोकेन्द्रले कमाउन दिएका थिए त्यो लोकेन्द्रको जेठो छोरो हेमेन्द्रको बण्डामा परेको थियो । अन्तै कता हो बेच्छु भन्दै आएको थियो उ एकपल्ट सुरिएर । दुई लाखमा बल्ल मानेर पैसा थापेर उ फर्किएको थियो । त्यसपछि हेमेन्द्र त्यो गाँउ फर्किएर आएन ।

माइलो हो बिरेन्द्र । साईंलो छोरो नरेन्द्रको हिस्सा पल्लो गाँउको सुकहाङ्ग लिम्बुलाई सिरिखुरी बेच्यो । कान्छो छोरो जितेन्द्रको बण्डा लोकेन्द्रले हियाएर खेदिपठाएको मानबिरेले फर्किआएर सस्तैमा किन्यो । मानबिरेले बदला जस्तै लियो त्यतिबेला खेदिमागेको । लोकेन्द्र सिकिस्त भएको बेला भेट्न जाँदा छेवैमा बोलाएर पिठ थपथपाएका थिए उनले उसको। सायद आत्माग्लानि थ्यो त्यो ।

साईंलाको सपरिवार ऐले लोकेन्द्रको त्यही पुरानो घरमा सरेका छ्न् । ठूलो गाह्रे तिनतले घर । मालिक बनेका छन् उनी आफ्नै सम्पत्तिको । आफ्नै पौरखको । आफ्नै भाग्यको ।

XXX

गाड़ीबाट झरेपछि बिरेन्द्र र सानुमती सरासर आफ्नो मूल घर (?)को बाटो तल झर्छन् । त्यही घर जहाँ उनीहरुको शैशव बित्यो, किशोरवस्था बित्यो, यौवन बित्यो अनि थाहै नपाई बिते आमा बाबा । अब त्यो घर पनि सदालाई बित्यो ।

त्यो घर अब साईंलाको भएको छ ।

XXX

बेलुकीको त्यस्तै पाँच बजेतिर साईंलाको घरको सिकुवामा बिरेन्द्र र सानुमती एउटा आयातित पोलिथिन झोलामा एक बोतल ब्लाक पाइपर, दुई पाकेट हल्दिरामको भूजा, एक केजी युनिकको रसदाना, एक बोतल रियल जुस, एक बट्टा ट्युना माछा, दुईवटा नेपाली ढाकाछाप खादा, एक केजी आईफल, एक दर्जन केरा आदि बोकेर बिसाउन पुग्छन् ।

कहिले त्यो आफ्नै घर । ऐले त्यही घरमा पाहुना सरह । साईंलाले उस्तै ‘जदौ !’ गरेर अभिवादन गर्न भुलेनन् ती कुनै समयका मालिक मालिक्नीलाई । हतपत बस्ने चौकी बिछ्याइदिए । केही झुकेरै सत्कार गरे । अन्तमा जहाँ लोकेन्द्र बसेर अरुहरुलाई हुकुम छाँट्थे त्यहीं बसेपछि तिनी नम्र बोले –“ भन्नोस कति कामले पाउकष्ट गर्नुभयो हजूरहरु ?”

उस्तो ठूलो विषय केही थिएन तर सानुमतीले पालै-पालो ती बजारबाट लगेको सामान एक एक गर्दै साईंलाको अघि थुपारिन् अनि माथिबाट त्यो ढाकाछाप नेपाली खादाले फन्को मारेपछि विन्ती जस्तो औपचारिक्तामा एकपल्ट ख्याक्क खोकेपछि एकाएक बर्बराउन थालिन् – ‘ साँल्दाई ! अरु दाजुभाईले एउटा कान्ला नराखी बेचेर स्वाहा पारे आफ्नो बाउ बाजेको सम्पत्ति । नबेचौं भनेर हामीले चैं मन थामेर बस्यौं । पोर साल माथि डिल्ले कान्छाले कमाएका थिए । यसपाली त्यो पनि नसक्ने अरे । आधा खेत त पोरै बाँझो बस्यो । बारीको उब्जनी बाँदर र मजूरले सोत्तर पा-यो भनेर एक कञ्ची पाइएन । त्यै भनेर नी यसो तपाईंकोमा…!’

सानुमतीले सक्दा नसक्दा बिरेन्द्र अन्कनाउँदै बोल्न थाल्यो –‘ पितृ प्रशाद हो यो जमीन । लत्याउनु बेचिखानु कहाँ हुन्छ भनेर नि !। सराप लाग्छ भनेर थामिराख्ने भयौं । अब छेउमा तपाईंहरु नै हुनुहुन्छ । हामीलाई क्यै दिनु पर्दैन । खालि सालको तीन मूरी धान दिए भईहाल्छ । ‘ खेत बारी बाँझो चैं नबसोस् नत्र दुनियाँ हाँस्छ है केटा हो’ भन्थे बा’ले । सहरमा बस्ने भयौं । उतै घर बनायौं। यी यहाँ खेत-बारी बेस्याहार भो नि अबो !’

पुन: सानुमतीको पालो –‘ हो त्यसैले नि ! हाम्रो खेत-बारी कमाई खाइदिनुहुन्छ भनेर हामी त कत्रो आशा लिएर आ’को…साँल्दाई ।’

साँईंलालाई धेरै वर्ष अघिको याद आयो त्यो दिन। जुन दिन उनी आफ्नी पत्नी सहित त्यही सिकुवामा बसेर लोकेन्द्र बाउलाई एक टुक्रा जमीन अँधिया-कुत जेमा हुन्छ कमाउने विन्ती बिसाइरहेका थिए । केही बोल्ने वाक्य निस्केन मुखबाट । किंकर्तव्यविमूड़ उनी ती मालिक भनौदाहरुलाई पालै पालो हेरिमात्र रहे । कस्तो अन्योलता ! ज्यादा विवशता !! अब के भन्ने !

साँईंला आफै पनि पाको भए । हात-खुट्टा पनि त्यति लाग्दैन । साँईंली पनि रोगी भइन् । भान्सा बाहेक अरु काम सक्दिनन् । दुई छोरामा पहिलोले कलेज सकेर उतै प्राइवेट काम गर्दैछ । सानो छोरा दशमा पढ़दैछ । एउटी छोरी थिइ बिहे भएर गइसकी । एउटा गोठालो राखेका छ्न् ‘मने’ । त्यो पनि भर पर्दो छैन । चित्त बुझेन भने हिंड़िहाल्छ । अक्क्ड़ो छ । आफ्नै खेत-बारी अर्कालाई कमाउन दिने बेला भा’को बेला…! कसरी थाप्ने यो कोसेली !! असमञ्जसता हुईंकिरह्यो ।

स्थितिले गम्भिर्ताको रुप धारण ग-यो । घरि कोसेलीको थुप्रो घरि साँईंलीको अहुनार पालै-पालो हेरिरहेका छन् साँईंला । साँईंली निरुपाय थिई । मुर्तिवत उ ठिङ्ग उभिएकी थिई दैलो छेउ । कुनै गतिलो महाजन, कुनै ठूलै मालिक, कुनै पञ्चायत, कुनै नेता या निकै तुईंफुईं भा’को मान्छेकोमा धेरै सिकायत, विन्ती या सिफारिसको निम्ति झैं निकै ओजनदार कोसेली बोकेर आएका छ्न् सहरबाट सानो मालिक, उनीहरुलाई जमीन कमाइदिने आग्रह गर्दै । अब के गर्ने ? साँईलीको सोचभन्दा माथिको विषय छ यो ।

केहीक्षणको मौनता पछि गह्रौं लवजमा अस्वीकृतिको मुण्टो हल्लाउँदै सुस्तरी बोले साँईंला- ‘ हुँदैन…हुँदैन… हुँदैन …। सित्थै कमाइखानु भन्छौ भने पनि हुँदैन…। कस्ले गर्ने । अँहँ ! थाम्न सकिन्न यो भारीमाथिको सुपारी । केटाहरु टेर्ने होइनन् । आफु थला बसियो । कल्ले जोत्ने गोरु । कल्ले खन्ने बारी । कल्ले रोप्ने अन्न । खई मैले त क्यै क्यै क्यै उपाय देखिन ।’

बिरेन्द्रले सानुमतीतिर हेरेर ओठ लोबारे । प्रुत… । सानुमती जुरुक्क उठीन् । सानु ऊठेको देखेर बिरेन्द्र पनि अल्छे पाराले उठे । ‘चिया पिएर जानोस्न ’ साँईंलीको झिनो आवाज तिनीहरुको कानले छोयो कि छोएन । हिंड़ने बेलामा बिरेन्द्रले यति मात्र भने :- ‘अब जमीन हो कसैले उखेलेर लान त सक्ने होइन होला । बसोस् बाँझै । फैलियोस जङ्गल । अँ …साँल्दाई कोई किन्ने छ भने बेच्छ अरे भन्दिनु । बेचिदिन्छु बरु ! लण्ठै खत्तम ! ”

‘आ… किन अलमल गरिराखेको । फर्किनु ढिलो हुन्छ । गाड़ी पर्खिरा’को होला । जौं जौं छिटो !’ सानुमती घरको आँगनमा निस्केर बिरेन्द्रलाई सहर फर्किने हतार लाउँदै थिइन् ।

घरको आँगनमा निस्केका बिरेन्द्र पनि यन्त्रचालित ; सानुमतीको पछि पछि उकालो लागे…।

मान्छेको नियन्त्रित मस्तिष्कले सोचे र सम्झे जति मात्रै हो कि क्याहो यो लोभ मोह भन्ने कुरो पनि…! ऐले साँईंला एउटा नजानिंदो भ्रमको भुवँरीमा परेका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु