श्रीमतीका सौताहरू !

- युवा बराल ‘अनन्त’

बिहान बेलुकैको उनको असहज हावभावले

त्रस्त् बनेका कविताहरु

उनी आएको मन्द आहट नसुन्दै

छरपष्टै यत्रतत्र भाग्न खोज्छन्

दिमागको हाँगाबाट एकाएक हाम फालेर

समाउँदा समाउँदै फुत्किएर

सम्हाल्दा सम्हाल्दै उछिटिएर

छताछुल्ल यत्र-तत्र अदृष्यतिर विलीन हुँदै

कोहि भाँड़ाधुने बेसिनको नलीबाट

कोहि चुल्हाको धूवाँ जाने चिम्निबाट

कविताहरु हक पाएकी सौतादेखि

दशहात परै पन्छिनछन् ।



सम्झौता विफलै रहन्छ प्रत्येक प्रयाशमा

वास्तविक्ता कि भावुक्ता

दुइमा एक चुन्नु पर्ने शर्त लाग्दा

आफैले बैठक बहिष्कार गरेर

आफ्नै अनुपस्थितिको बहनामा

सम्पूर्ण समर्थन उनैलाई हो भनी

फकाइ फुस्ल्याइ सम्झाईराखेको

भित्रि गुड़ कुरा

आज यसरी खोल्दैछु…।


कवितासंग रम्ने मान्छे दुःखी हुन्छ भन्छिन

कविता रचेर बस्ने मान्छे

निस्क्रिय एवं नितान्त एकलो हुन्छ भन्छिन ।

तसर्थ, उनी प्रेममाथि अतिरिक्त माया थप्छिन

मलाई हरक्षण व्यस्त राख्न, किसिम उपायहरु रच्छिन।


म अघाउँदिन उनको अघोर मायाले

यथेष्ट बन्दैन उनको पगितो माया

कुन्नि कस्तो असन्तोक !


खुस्रुक्कै भावुक समय मिल्यो कि

शब्दका थुँगा गुँथेर

कविता गाँस्न थालिहाल्ने श्रीमानको

पितुर्के आत्मा सम्मानमा सोझै ठेश नलागोस

त्यति सावधानि व्यवहारमा राख्दै

कानको छेवैमा चपक्क अधिकार जमाउँछिन् न्यानो मायाको त्यही झरिलो मौसममा

एक नाङ्लो वर्तमान केलाउन राखिदिन्छिन

मेरो अघि।



म घरि त्यो अर्धलिखित कविता,

घरि उनको त्यो नाटकीय दुस्साहस निहार्दै

जीवनको अञ्जान परिवेशले प्रदानगरेको

अमिलो उपहास निःशब्द निलिरहन्छु ।



कविता पनि कस्ती लबस्तरी, जिद्दि !

आरतीको घण्टीको आवाज सुनेर

मीठो प्रशादको आशामा भेलाभएका

ती मसिना निश्छ्ल बच्चाहरु झैं

देउता र देवीको प्रतिरुपमा लाम लागेर

मेरो संलघ्नताको बारम्बार साउति गरिरहन्छन

मेरो संरक्षणको निरन्तर अनुनयन गरिरहन्छन ।



म पागल प्रेमि…

कैले श्रीमतीको भइ

उनको अंगालोभरि झुमिरहन्छु

म कायल कवि…

सदैव कविताको भएर पनि

उनकै गालाभरि चुमिरहन्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 चैत्र, 2072

लेखकका अन्य रचनाहरु