बदलिएका विम्बहरू

- बुद्धिसागर

जसरी मानिसको बाँच्ने शैली बद्लिएको छ । क्याफे संस्कृतिको उदय भइसकेको छ । मानिस इन्टरनेटको घना जंगलमा अलपत्र परिरहेका छन् । सञ्चारले संसार खुम्च्याउँदै ल्याएको छ । यसैगरी कविताका बिम्ब पनि बद्लिरहेका छन् । फेरिइरहेका छन् ।
अब कविताको दृष्टिकोण बद्लिरहेको छ । भानुभक्तले त्यसबेला खुवै प्रशंसा गरेको 'कान्तिपुरी नगरी'को शौन्दर्य फेरिइसकेको छ । अहिलेका कविका लागि 'काठमाडौं' धेरै अर्थमा केन्दि्रकृत लाग्छ । र, काठमाडौंमाथि कविता नलेख्ने कवि त को नै होला र ? कतिले यसको पक्षमा लेखे होलान् कत्तिले विपक्षमा ।
धेरै कवि 'काठमाडौं'लाई यौटा प्रवृत्तिको रूपमा हेर्छन् । 'काठमाडौं' पोखरा होस् या विराटनगर जहाँ पनि अटाएको हुनसक्छ । कविताको 'सामथ्र्य' 'जीवन'माथि कैयौं प्रश्न पनि उठिरहेका छन् । उठिरहनेछन् ।

अब कविता व्यक्तिगत कुण्ठा, असफलता र 'मनको बह'को टंकण मात्र रहेन । स्तुति गायन, गाली-गलौज र डायरीका पन्ना मात्र पनि रहेन ।
'
विम्ब'हरू अब वन-जंगल, फूल, चन्द्रमा या युवतीको मुस्कानबाट मात्र जन्मिँदैनन् । सुपरमार्केट, क्याफे, बद्लिँदो पर्यावरण, विस्तारै सहरीकरणको जालोमा हराएका गाउँ, सपनाले डोर्‍याउँदै इराक, अफगानिस्तान या अमेरिकामा पुर्‍याएर अनुहार र मनोकांक्षा लुछिएका मानिसका 'चित्कार'बाट जन्मिरहेका छन्, अहिलेका विम्बहरू ।
अब 'गुलाब' होइन, त्यसका काँडाका कविता लेखिनेछ । चन्द्रमाको वैंशको मात्र होइन, उसको हजारौं वर्ष पुरानो प्रतीक्षाको 'कविता' लेखिनेछ ।
अहिलेका कविताका विम्बमा आफ्नो धरातल टेकेर उठिरहेछन् । लोककथाजस्ता लाग्ने स्वरै-कल्पनाका कविता अब बढारिनेछन् ।
सन्त कविर भन्थे, 'कवि हुनु छ भने, आफ्नो घरमा आगो लगाएर हिँड ।' अबका कविलाई त्यो दोधार छैन । कवि हुनु समाजबाट उप्किएर बेग्लै 'दुःखी जीव' भएर पनि हिँड्नु होइन । जसरी कविताका विम्ब फेरिरहेछन्, त्यसरी नै फेरिइरहेको छ, कविको विम्ब ।

जसरी प्रकृतिले फनफनी घुमाउँछ पृथ्वी, त्यसरी समयलले फनफनी घुमाउँछ, मानिसलाई । 'मान्छे' ले 'मानिस' हुनुमा कत्ति संघर्ष र त्याग गर्नुपर्छ ? यो 'सामान्य ज्ञान'को प्रश्न हुनसक्छ । र, यसको उत्तर कुनै 'गेस पेपर'मा उपलब्ध छैन । यसको सन्दर्भ स्रोत केवल कविता हुनसक्छ ।
कविता अब गाउँबाट झोला बोकेर सहर आउँदैन । हिँड्दा-हिँड्दै अचानक कविता 'मल्टिकम्प्लेक्स' सिनेमा हलमा भेटिनसक्छ । अब हिमाल गर्वका प्रतीक मात्र रहेनन् । र, तीनलाई 'चोखो प्रेम'को पर्यायवाची बनाएर हेरिँदैन ।
अहिलेका कैयौं कविता हिमाल 'अभाव'को बिम्बमा लेखिन्छन् । हाम्रो देशमा अनेकौं हिमाल छन्, तर ती अभावले मात्र चुलिएका छन् । हिमाललाई एउटा एंगलबाट मात्र हेरिँदैन । हिमाललाई हेर्ने अनेकौं 'एंगल' बनेका छन् । यो 'फोर-डी एनिमेसन'को जमाना हो । हिमालमा सुन्दरता त छ, तर हिमालसँग अभावमा 'नुन' खान नपाएका मानिस पनि छन् । सायद, तिनका आँसुका स्वाद पनि अलिना छन् ।
मुलुकले झेलेको जनयुद्धले पनि नयाँ-नयाँ विम्ब बनाइदिएको छ । लालीगुराँस युवतीका गाला वा ओठसित होइन, आफन्तका रगतसित बढी गाँसिन्छ । यो समयमा पुराना अर्थ र विम्ब लिएर बाँचेका सबै कुरा ध्वस्त भएका छन् ।

रूख, झरना, नदी, मन्दिर, चरा, जून, आकाश, पहाड, आँखा, आवाज, सहर, गाउँ आदि कैयौं यस्ता शब्द छन्- तिनका अर्थ पनि फरक भइसकेका छन् ।
विश्व-साहित्य केही व्यक्तिको बौद्धिकता (कि अहम् ?) को उपज रहेन र जानकारी मात्र पनि रहेन । इजरायलका कवि रोनी सोमेक 'भातको पहाड' कविता लेखिरहेछन् भने अमेरिकी कवि डेभिड रे 'इराकको बालक'लाई भनिरहेछन्- 'हामीले तिम्रो घरमा यसकारण बम फाल्यौं कि तिमी पुनर्जन्ममा अमेरिकामा जन्म र दूधले नुहाऊ ।'
संसारभरिका कविले कसरी हेर्छन्, आकाश, सूर्योदय र सूर्यास्तलाई त्यो अहिलेका कविलाई थाहा छ । संसार धेरै अघि बढिसकेको छ । , हामी धेरै पछि छाडिएका छौं । भर्खरै हामीले इन्टरनेट चिन्यौं र मोबाइल समायौं । यिनका अद्भूत र आश्चर्यचकित सहयोगले हामी दोधारमा छौं, यी टेक्नोलोजीलाई माया गरौं कि गाली ?
भर्खरै कविहरू यिनै कुरामाथि कविता लेख्न थालेका छन् । र, कविले यी कुरा पनि छाड्नसकेका छैनन्, विकट स्कुलमा अझै पाठ्यपुस्तक छैन । चामल छैन । अस्पताल छैन । चौध वर्षमै गर्भवती भएकी किशोरीको अकालमै भएको मृत्युदेखि पर पनि भाग्न सकेको छैन कविता ।
सिंहदरबारको फराकिलो सडक हुँदै घाँस बोकेर हिँड्ने महिलाले आधुनिकतालाई चुनौती दिइरहेका छन् । त्यसैले, टेक्नोलोजीले सहज बन्दै गएको जीवन र आदिम संघर्षमै मरेको जीवनको 'शोक' अहिलेका कवितामा 'फ्युजन' भएर आएका छन्, नयाँ बिम्ब बोकेर ।
कवितालाई सबैभन्दा बढी हस्तक्षेप गर्छर् र नयाँ विम्ब दिन्छ, समाजले । नेपालमै पनि कैयौं समाज युरोपकै तुलनामा 'सम्भ्रान्त' छन् । कैयौं मानिस विज्ञानका चरम उपयोगी भए पनि उनीहरू नै भगवानका सबैभन्दा ठूला भक्त रहेका हुन्छन् । आधुनिक समाजले पुराना 'ढर्रा' पनि छाड्न सकेको छैन ।
'
जंक फुड'को यो जमानामा नयाँ पुस्ता 'धान'का बाला चिन्दैनन् । उनका लागि खेतमा चामलै फल्छ । तिनका संवेदना र जीवन शैली फेरिएको छ । यी सबै फेरिएका बिम्ब हुन् ।

जसरी 'लोकगीत'मा अहिलेको परिवर्तन र पीडा आइरहेको छ, जस्तै- भिसा, मोबाइल, बस अथवा इन्टरनेट । यी सब परिवर्तनले ल्याएका नयाँ संवेदना हुन् । कुनै जमानामा 'झमझम स्टकोट' नयाँ विम्ब बनेर आएको थियो, त्यो अब पुरानो भइसकेको छ ।
समयले नयाँ-नयाँ विम्ब दिन्छ र फेरि पुरानो बनाइदिन्छ । फेरि अर्को दिन्छ । त्यही नयाँ र पुरानोको बीचमा कैयौं कवि चेप्पिएका पनि छन् । उनीहरू नयाँ बिम्ब लिएर अगाडि जान त चाहन्छन्, तर पुरानो बिम्बलाई छाड्न सक्दैनन् ।
विम्ब भोगेर र सुनेर बन्छन् । ती नै विम्ब शक्तिशाली हुन्छन्, जो भोगाइबाट उब्जिन्छन् । नेपाली कवितामा पनि कैयौं यस्ता विम्ब छन्, जो प्रयोग हुँदा-हुँदा छिया-छिया भइसकेका छन् । र, पनि कविहरू तिनका अलि-अलि बाँकी धुकधुकीलाई पनि छाड्न चाहँदैनन् ।
लगाम लगाएको घोडाजस्तो एउटै लय, शैली र बिम्बको रेखामा हिनहिनाइरहन्छन् ।
कविता सौखको साधन पनि भएको छ । सौखिनले कविताको उछितो काढिरहेका छन् । उनीहरू जमिनमाथि टाँगिएर कविता र बिम्बलाई आफ्ना धारिला 'सौख'ले घोचिरहेछन् ।
मुगु 'रारा ताल'को सौन्दर्यमा मोहित कविले त्यहीको पाखामा गुन्जने महिलाका लोकगीत र तीनका दुःखलाई कसरी बिर्सन सक्लान् । आखिर नेपाली समाजको धरातल त्यही हो ।
कहिल्यै काठमाडौं नआएका र आउने सपना पनि नबुनेका मानिस अहिले सांसद चुनिएका छन् र तिनीहरूले संसद्मा आफ्नो आवाज उठाउनेछन् । उनका आवाज पहिला अरूले नै बोल्नुपथ्र्यो । अब उनीहरू आफै बोल्नेछन् । र, यी नै परिवर्तनले पुराना बिम्बलाई ध्वस्त बनाउनेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 28 आसाढ, 2065

लेखकका अन्य रचनाहरु