घुर ताप्ने बस्तीहरूमा

- भेषराज रिजाल

वि.सं. २०६८ साल चैत्रको तेस्रो साता ।
वीरगञ्जस्थित भिसुवा होटलबाट निस्केर चोकमा पुग्दा भर्खर बिहानको पाँच बज्दै थियो । पशुपतिको जात्रा सिध्राको व्यापार भनेझैँ वीरगञ्ज पुगेको अवसरमा तराई मधेशका गाउँघर नियाल्दै शक्तिपीठ गढीमाइको मन्दिरतर्फ जाँदै थियौँ हामी ।
पृथ्वीनारायणको सालिकछेउबाट पार भएर साँघुरो बाटोभित्र छिर्‍यो गाडी । प्रतिमाचोकपछि वीरगञ्ज र बाराको सिमानाको गाउँ लक्ष्मनवा आइपुग्यो । बाटोमा गोरू गाडाका लस्करहरू भेटिए । ती गाडामा सामानका बोरामाथि सुतेर बजारतिर जाँदै थिए केही मान्छेहरू । एउटा ट्रकले सडक किनाराको धूलो उडाउँदै अगाडि बढ्यो । सडकका धुमिल दृश्यहरू एकछिनका लागि झन् धमिलिए ।
बिहान मधेश छिटै उठ्दोरहेछ । रिक्सा, साइकल, मोटरसाइकल र पैदलमा देखिए मान्छेहरू । टुकीको जस्तो मधुरो उज्यालोले चम्केका झुप्राहरू जण्डिस लागेको बिरामीजस्तै देखिए । तर पनि शहरका महलभन्दा सम्पन्न लागे मलाई ती झुप्राहरू । खाना पकाउने, सुत्ने, बस्ने आदि सबै सुविधा थिए एउटै झुप्राभित्र । सबै प्रणालीले सम्पन्न जीवित मेशिनरूपी मान्छेको शरीरजस्तै थिए ती ।
—हुलाकी मार्ग यतै पर्छ । तीनचार किलोमिटर दूरीमा बोर्डर पर्छ ।’ साथीहरूले जानकारी दिँदैथिए । जतिबेला हामीले दुधौरा पुल पार गरिसकेका थियौँ ।
—सिम्रौनगढको पारिपट्टि घोडासन, वीरगञ्ज नेपालमा रक्सौल भारतमा भएजस्तै । सिम्रौनगढ एउटा ऐतिहासिक राज्य हो ।’ स्थानीय विषयमा स्थानीय साथीहरूलाई राम्रै जानकारी थियो ।
राजा हरिसिद्धिका कतै पढेका प्रसङ्ग स्मरण हुँदैथिए । टुटेफुटेका प्रसङ्गको स्मरणमा पनि खुसीले बर्कुसी मारिरहेथ्यो मन ।
—कलैयामा पर्छ बरेवा दरवार । बरेवा दरबारबाट केही पश्चिममा पर्छ चिम्नीमाइ ।’ बंगारी पुल तर्दा साथीहरू भन्दैथिए ।
—पथलैयातिरबाट कलैया आउने कच्ची बाटा मात्र छन् । त्यताबाट आउँदा झन् ढिला हुन्छ । कलैया सिधा सडकले जोडिए विकासले अर्कै रूप फेर्दो हो ।’ वस्तुस्थिति बताइरहेका थिए साथीहरूले ।
काठमाडौंबाट कलैया आउँदा वीरगञ्ज भएरै घुम्नु पर्दोरहेछ । वीरगञ्जबाट चारकिलोमिटरको दूरीमा पर्दोरहेछ कलैया ।
—वीरगञ्जको छायामा परेको छ कलैया । वीरगञ्जदेखि पथलैयासम्म उद्योग, कलकारखानाहरू छन् तर कलैया वीरगञ्ज कोरिडोरमा एउटा पनि उद्योग छैन ।’ साथीहरूको दुखेसो थियो ।
—त्यसैले वीरगञ्जमा व्यापार कलैयामा घरबास गर्छन् नि मान्छेहरू ।’ शारदा प्रसाद त्रिताल सरको स्पष्टोक्ति थियो ।
गाडीले चौराहा पार गर्यो । भानुचोक रहेछ त्यो । स्पिड ब्रेकरहरूले गाडीको कोचाकोच स्थितिलाई झन् अस्तव्यस्त बनाइदिएका थिए । तथापि नवीन कुराकानीले सामान्य लागिरहेको थियो त्यो सबै ।
कलैयाबजारभन्दा केही अगाडि पुग्दा देखिए गुइँठाका थुप्राहरू । ग्याँस, बिजुली आदि नयाँ प्रचलनले विस्थापित गरिसकेको रहेनछ गुइँठालाई । लाग्यो, उर्वर माटोलाई चाहिने गोबर सुकाएर दाउरा बनाएको देख्दा गरिबी खित्खिताइरहेछ त्यहाँ ।
पीच नराम्ररी भत्केको बाटोमा कुदियो । छेउमा ठडिएका थिए केही झिँगटीका छाना भएका घरहरू । सिमलो जमिनछेउमा पाक्न लागेर गहुँगोरो भएको फस्टाएको गहुँबाली देखियो। मकैबारी देख्दा घोगा नलागेको मकैको पनि स्मरण भयो । हरिया खेतबारीको किनारैकिनार कुदिरहँदा मनभरि भरिएथे केही रमाइला र केही विष्मयकारी दृश्यहरू ।
शहरउन्मुख बस्ती गोरियापुर आइपुग्यो । गहुँबारीका दृश्यहरू नजिकबाट हुइँकिए ।
—हाम्रा अन्नदाता फाँटहरू’ विस्तृत फाँटतिर हेर्दै शारदा सरले भन्नुभयो ।
हरिया मकैबारी र पहेँला गहुँबारीका बीच लुकामारी भइरहेथ्यो । फाँटका बीचबीचमा झुप्प परेका आँप र लिचीका बगैँचाहरू देखिन्थे । चैत्रको खडेरीमा हरिया खेतका विशाल फाँटको बीचबाट हिँड्न पाउनु अत्यन्त सुखद अवसर थियो ।
—गढीमाइ मन्दिर कता पर्छ ?’ अघिल्लो सिटमा बसेकी राधिका रेग्मीको सोधाइ थियो यो ।
—उतै फर्कनुस्’ टाउकोमा फेटा बाँधेको मान्छेले हामीतिर नहेरी भर्खरै पार गरेको चोकतिरै देखाइदियो । चोकनेर पुगेपछि उसले फेरि इशारा गर्यो- —त्यतै हो ।’
वीरगञ्जबाट करिब बाह्रकिलोमिटर दूरीमा पर्ने गढीमाइ एकघण्टा हुनलाग्दा पनि आइपुगेको थिएन । तथापि सिधा बाटो छोडिनाले गाउँको वस्तुस्थिति हेर्न पाइएको थियो । गाउँको साँघुरो बाटोभित्र पनि सरर गाडी गुडाएका थिए श्यामजीले ।
झुप्रे गाउँ टुप्लुकिँदा देखिए गोठबाहिरै बाँधिएका दुब्ला गाईवस्तुहरू । झुप्राका छेउमा पराल पोलेर तापिरहेका थिए केही महिला, बूढाबूढी र केटाकेटीहरू ।
—घुर तापिरहेका मान्छेहरू’ साथीहरूले जानकारी दिँदै थिए, तर बिचराहरूले धुवाँ तापिरहेका थिए । तिनीहरूको शरीरमा एकसरो लुगा थियो । अनुहार तिनले लगाएको लुगाजस्तै मैलिएको थियो । गरिबीको विदिर्ण रूप देखेर मेरो मन पनि तिनीहरूले तापिरहेको घुरजस्तै पुत्पुताइरहेथ्यो ।
हामी पुगेको तराई मधेशको भूमिमा आइरहे- घुर तापेका मान्छे, गाईवस्तु, बाख्रापाठा, कुकुर र घुम्ती पसलहरू । गइरहे कुद्दै गरेका साइकल, झुप्रे घर र स-साना पराले टौवाहरू ।
—राम्रो गाडीमा चढेर गाउँको गरिबी हेर्न आएका मोटा शरीर र सुकिलो पहिरनका हामी ।’ मैले हामीतिर हेरिरहेका गाउँलेका नजरबाट हामीलाई नै हेरेँ ।
फेरि बाटो छुटेछ । गाउँबीचबाट छिर्नुपर्नेमा सिधै अगाडि पुगिएछ । सोध्दा जवाफ पाइयो… —उतै फर्कनुस् र बीचबाट छिर्नुस् ।’
आइपुग्यो फेरि अर्को घुर ताप्ने बस्ती । घुर तापिरहेका मान्छेहरूले गाडीको हर्न सुनेनन् र बाटो पनि छोडेनन् । मलाई लाग्यो, राज्यले यिनको निर्वाहमा सहजता गर्न नसक्दा शहरबासीप्रति बिछट्ट घृणा छ यिनको मनमा ।
—शीतलहरले कठ्याङ्‍ग्रिएका घुर ताप्ने बस्तीका कारुणिक व्यथाहरूमा कसले गर्ला सेकताप ?’ बाक्लो हुस्सुभित्र हराएझैँ भएँ म मेरै प्रश्नको भुमरीमा ।
पोखरीहरू भएको बस्ती पार गरेपछि विशाल चौर आइपुग्यो । आँप र वर पिपलका रूखहरूको छहारीमुन्तिर गढीमाइको मन्दिर देखियो । मन्दिर परिसर घन्किने गरी गढीमाइको वन्दना बजिरहेथ्यो ।
—संसारमै सबैभन्दा धेरै बली चढाइने शक्तिपीठको सूचीमा अग्रस्थानमा पर्छ गढीमाइ । पञ्चवलीका रूपमा जङ्गली मुसा, सुँगुर, बोका, राँगा र कुखुराको बली चढाउने चलन छ ।’ स्थानीय साथीहरूले दिएका जानकारी थिए यी ।
—पुजारी थारू हुन् ?’ मैले साथीहरूसँग खुसुक्क सोधेको थिएँ ।
—हो, चौधरी थारू’ साथीहरूले भन्दा पहिला पुजारीले नै जवाफ दिए । गढीमाइको स्थापना गर्ने भगवान चौधरीका सन्तान रहेछन् उनी ।
गढीमाइको मन्दिरबाट उत्तरतर्फ गढीमाइकी आमाको मन्दिर रहेछ भने पश्चिमतर्फ सुन्दर पोखरी । आहा क्या सुन्दर देखिए… आँपका नुहेका हाँगा र पोखरीमा परेका छाया । तिनै रूख र छाया हेर्दै घुमियो पोखरीलाई । पोखरीको दक्षिणमा रहेछ कलेश्वरनाथको मन्दिर र गढीमाइका द्वारपालको स्थान । गढिमाइ मन्दिरको पूर्वतर्फ रहेछ ब्रम्हबाबा र भगवान चौधरीको समाधिस्थल ।
मन्दिर परिसरमा टहलिँदै चिया खाँदा भाँडहरूले कर्णाली तरेपछि बल्ल आफूहरूलाई गनेझैँ मैले पनि गणना गरेँ, हामी बाह्रजना रहेछौँ ।
वीरगञ्ज फर्कँदा बाटोमा फेरि देखिए टाँगामा जोतिएका दुब्ला घोडाहरू । आँखाको डिलबाट दुगुरे… पाकेको मुसुरो, बाख्राका बथान, पहेँलपुर गहुँबाली, गुइँठाका चाङ, चिया पसलको भीड र घरआँगनका केटाकेटीहरू । सेरोफेरोका सजीव दृश्यहरूले तृषित आँखाको प्यास मेटिए पनि मनको मझेरीमा भरिइरहेथ्यो विरक्ति ।
—पोखरियामा कृषि विकास बैँकमा जागिर खाँदा यस्तै झुप्रामा बसिन्थ्यो ।’ एकाध झुप्रा नजिकबाट पार हुँदा शारदा सर बोल्नुभयो ।
—पाठ्यक्रमसम्म राम्ररी थाहा नभई पूर्वज्ञानका आधारमा जागिर खाइयो । कृषि विकास बैँकको जागिरबाट राजिनामा दिएर निजामतीमा प्रवेश गरे पनि दुर्गममा भएको पदस्थापनाले पढाइमा असर गरेपछि फेरि राजिनामा दिइयो । सरकारी जागिर खानै लेखेको रहेछ अधिकृतबाट पुनः निजामती सेवामा प्रवेश गरियो ।’
—नासु पदको स्थायी जागिरबाट राजीनामा दिएको भन्दै निर्वाचन आयोगका केही कर्मचारीले निकै उडाए त्यतिबेला । तिनीहरूमध्ये केही त हाल पनि नासु नै छन् ।’ मेहनत गर्नेहरूका लागि शारदा सरको सङ्घर्ष प्रेरक यथार्थ रहेछ ।
गण्डक बाँधबाट निसृत: कुलोलाई नाघेर गएकै बाटो वीरगञ्ज फर्कियौँ ।
पाँचवर्षअघि छठका दिन पहिलोपटक वीरगञ्ज पुगेको थिएँ म । पाँचवर्षपछि घडीअर्बा पोखरीको किनारमा उभिएर मध्याकासको सूर्यलाई हेर्दै छठीमाइलाई नमन गरेँ मैले । नजिकैको घण्टाघर र गहवामाइसँग सामिप्यता गासेँ ।
मधेश पुग्दा टाँगाका घोडाको टापको टकटकाहट सुन्दै तिनमा लादिएका सामान वा मान्छेको ढलपलाइ हेरिरहन्छु टाँगा ओझेल नहुँदासम्म मैले ।
ब्रेकहीन भएर पनि एकइञ्च तलमाथि नभई खाल्डाहरूमा समेत उत्तिकै सन्तुलित भएर तीब्र रफ्तारमा कुदिरहन्छन् टाँगाका घोडाहरू । फलामे किला ठोकिएका टाप सडकमा बजारिँदा पीडाको चस्को तालुमा पुग्दो हो । सोहोर्ने कोर्राका चोटहरू बिर्सिएर त्यही आततायी मालिकको इशारामा दौडिरहन्छन् बिचराहरू ।
मेरो मथिङ्गलभर घोडाकै उल्झन बल्झिरहे… —सवारी साधन जति भित्रिए पनि अर्काको लगाममा बाँधिएका घोडाहरूलाई कहिल्यै सुविस्ता होला त ?’
व्यस्त शहरका इञ्जिन गाडीसँगै दौडिरहेका टाँगाका घोडाको कुदाइले प्रश्नको हँसिया ठड्याइदिएको थियो मेरो मनमा- —ती घोडाहरूको ब्रेक कहाँ हुन्छहोला ?’
—सोझो बाटो मात्र हेर्नपाउने घोडाको आँखामा ? अरूको आदेश पालना गर्ने तिनको दिमागमा ? भार र बाटोको प्रवाह नगरी निरन्तर कुदिरहने तिनको टापमा ? अरूको विवेकले बोकाइदिएको भार थामिरहेको तिनको पिठ्युँमा ? टाँगाको टायरमा ? वा मालिकका कोर्रामा ?’
—साँच्चै कहाँ हुन्छ हँ टाँगाका घोडाहरूको ब्रेक ?’
निरीह घोडाहरूप्रतिको सहानुभूतिले यो जिज्ञासा झन् पेचिलो लागेको होला मलाई । घोडाका टापको आवाजलाई सङ्गीत सम्झनेहरूका लागि भने हाँसो उठ्दो लाग्ला यस्तो प्रश्न ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 माघ, 2074

लेखकका अन्य रचनाहरु