सुन्दरीजलमा उर्फ जलमा सुन्दरी

- मुक्ति भण्डारी

निकै रमाइलो यात्रा । अमर, विकुल, मीरा, भीमा, वविता, सिर्जना र म । यात्रा सुरु भयो कीर्तिपुरबाट । विहान साढे ६ बजे नयाँ बजारमा जम्मा भएर गाडी चढियो । रत्नपार्क पुग्दा पिसाबले यति चाँप्यो कि कुरै नगर्नुस् । काकताली परेको फेरि आजै पुरुष शौचालय बन्द । केटीहरूले ठट्टा गरे । आफूलाई कस्तो भा’छ ! बुझ्ने होइनन् मोरीहरू !
बसपार्कको एउटा कुनामा सानो चिया पसलमा पसियो चिया खान ।
“एसो चियाचुरोट खान परो” मैले भनें ।
“के रे के रे ?” एउटीले आँखा तर्दै भनी ।
“चिया नास्ता खाम भनेको ।” मैले हाँस्दै भनें ।
“बद्मास्”
“सेम टु यु”
हाँसोको फोहरा छुट्यो ।
“भ्रमण जाँदा लगाम्ला भनेर किनेको जाकेट उद्घाटन गर्नै नपाइने हो कि भन्ने पिर थियो, आज शान्त भयो ।” गोरी बोली ।
सबैले उसको नयाँ ज्याकेटको तारिफ गरे । मुखले “बिल्ला नगर है धेरै” भने पनि मनमनमा मख्ख परेकी छे भन्ने कुरा उसको अनुहारबाटै बुझिन्थ्यो । एकछिन रमाइलो गरेपछि हाम्रो यात्रा सुरु भयो सुन्दरीजलतर्फ ।
बसमा चढियो । अगाडितिरका सिटहरू केटीहरूले कब्जा गरे । अमर र म अलिक पछाडिको सिटमा बस्यौं । ए साँच्ची, हाम्रो टोलीको एउटा ‘केटो’ पनि केटी वा सो सरह भएर सँगै बसेछ । पछि मात्र थाहा भयो । हामी दुईका गन्थन सुरु भए । यात्रा रमाइलो बन्दै थियो । ड्राइभरले एउटा पुरानो हिन्दी गीत बजायो—
“इन आँखों के मस्ती के,
मस्ताने हजारों में...।”
हामी गीतमा झुम्दै अगाडि बढ्यौं ।
काठमाडौंका सार्वजनिक गाडीहरूको मुख्य विशेषता हो—ठेलामठेल । बीचबीचमा मान्छे थप्दा थप्दै गाडी पूरा अटेसमटेस भयो । हाम्रो टोलीका सबैजना सिटमा बस्न पाएका थियौं । काठमाडौंमा यो दुर्लब घटना मान्नुपर्छ । “गाडी पनि बेलुन जस्तो हुनुपर्ने के, फुलाएर ठूलो बनाउन मिल्ने ।” मैले ठट्टा गर्न खोजें । वास्तवमा मलाई ठट्टा गर्न आउँदैन । “अनि त एउटै गाडी फुलेर सारा काठमाण्डु ढाकिपठाउला नि” अमरजीको दार्जिलिङे लवजमा ठट्यौली उत्तर आयो । एकछिन हाँसियो ।
“म ड्राइभर स्वयम स्टेरिङ छोडेर ओर्लेर आउँदा त टेर्दैनन्, अझ खलाँसी भाइलाई कस्तो गर्लान् यिनेरुले !” गाडी रोकेर आएर झ्यालबाट बोल्दै थियो ड्राइभर । खलाँसीले पनि बाहिरबाटै ‘पछाडि सर्नुस्, पछाडि सर्नुस्’ भन्दै थियो । भित्र आउन त मिले पो आओस् बरा ! ड्राइभरले आफ्नो ड्राइभरीको खुव गर्व गर्दो रै’छ । मलाई अमला अधिकारीको एक शेर याद आयो । अमरजीलाई सुनाए—
“झिँगा पनि त आफैमा मख्ख पर्दो हो
मेरो जत्तिको उडान कसैको हुँदैन ।”
“ओइ दिदी ! पछाडि सर्नुस् न भन्या । यहाँ त यस्तो गर्नेले घरमा कस्तो ग¥याहोलान ?” खलाँसी प्याच्च बोल्यो ।
“ओइ भाइ ! मुख समालेर बोल् । घरमा के गर्न पर्छ हाम्लाई सिकाम्न पर्दैन । गाडी तेरो मात्र छैन ।” कालीकाली बोली । हामी फिस्स हाँस्यौं । गोकर्णमा ।
“मुक्ति ! भैरव अर्यालले आत्महत्या गरेको यहीँ हो ?” चार सिट अगाडिबाट फुच्चीले चिच्याई ।
“अँ, हो हो ।” मैले आफैले देखेझैं गरी जवाफ दिएँ । ढुक्क साथ ।
एकछिन म सोँचमग्न भएँ । भैरव अर्यालजस्तो प्रखर मान्छेले किन आत्महत्या गरे होलान् ? साँच्चिकै भैरव अर्यालले नेपाली हाँस्यव्यङ्ग्यमा जुन उचाइ प्राप्त गरेका छन्, त्यो जोकोहीका लागि सम्भव छैन । ३० वर्ष मात्र बाँचेर पनि साहित्यमा यति धेरै योगदान पु¥याएका भैरव अर्यालप्रति मनमनै श्रद्धासुमन अर्पण गरेँ । यत्तिकैमा रजनीसको एउटा भनाइ दिमागमा आयो—
‘जीवनको अर्थ लम्बाइमा होइन, गहिराइमा छ ।’
सायद भैरव अर्यालले पनि गहिराइको जिन्दगी बाँचे । विचारको यात्रा रोकिएको थिएन तर बसको यात्रा रोकियो । ड्राइभरले ब्रेक लगायो । म झसङ्ग भएँ ।


गोकर्णबाट माथि गाडी नजाने भो । उकालो बाटो हामी पैदल यात्रा सुरु ग¥यौं । उकालो चढ्दै गर्दा जमानाअनुसार सेल्फी खिचियो । दुई औंला ठड्याएर, चोँसो पसारेर, जिब्रो निकालेर यस्तै यस्तै चल्तीका सबै पोजमा । फोटो खिच्ने बेला समूहकी एक सदस्यले माक्स खोल्न बिर्सिछन्, हाँस्ने विषय पुगिहाल्यो ।
“काठमाडौंमा मलाई मन पर्ने धरै कुरा छन् तर कति कुरा मन नपर्ने पनि छन् । जस्तो कि जतिबेला पनि चोरले झैं मुखमा पट्टी लगाइकन हिन्नु पर्ने ।” काठमाडौंको धुलोप्रति अमरजीले गरेको व्यङ्ग्यमा सबैले हो मा हो मिलाए ।
केहीबेरपछि सुन्दरीजलमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पुगियो ।
“कति जना हुनुहुन्छ ?” काउण्टरवालाले प्रश्न ग¥यो ।
“हामी सात जना ।”
“एक जनाको ५७ रुपैंयाँका दरले लाग्छ ।”
“स्टुडेन्टलाई डिस्काउन्ट हुन्न ?”
“हुँदैन, १० वर्ष मुनिकालाई मात्र छुट छ ।”
“ए, त्यसो भए हाम्रो ग्रुपमा एकजनालाई छुट हुने भो ।” मैले भनें ।
सबैजनाले आश्चर्य मान्दै मतिर हेरे ।
“यिनी भर्खर नौ कि पुगिन्” मीरालाई देखाउँदै भनें ।
“सिर्जना चाहिँ एघार कि लागिन्”
निकै हाँसियो ।
“धेरै बिल्ला नगर्नु है मुक्ति ।” फुच्चीको आवाज ।
सबैजना कान कानसम्म हाँसेर बाटो लागियो ।
सुन्दरीजल आसपासको क्षेत्रलाई राष्ट्रिय निकु बनाइएको रहेछ । १५९ वर्ग कि.मि. मा फैलिएको यस निकुञ्जमा २२ भन्दा बढी प्रजातिका स्तनधारी जनावरको बसोबास रहेको कुरा प्रवेशद्वार नजिकै टाँगिएको सूचनापाटीबाट जानकारी पाइयो । हामीले भने बाँदरशिवाय केही देखेनौं । प्रवेशद्वारको थोरै भित्र अलिकति माथि छाँगाबाट पानी खसिरहेको देखियो । सुन्दरीजल कतिबेला पुगिन्छ भन्ने सुर्ताले त्यसको खासै मतलब नगरी अगाडि बढ्यौं । हामीले खाजाको रूपमा टप बिस्कुट लगेका थियौं । पानीसँग बिस्कुट खाँदै गर्दा सुन्दरीहरूले घेरे । सुन्दरीजलमा आएर सुन्दरीसँग फोटो त खिच्नै प¥यो भनेर अघि सरेको मात्र के थिएँ एउटा बाँदरले मेरो हातको बिस्कुट खोसेर भाग्यो । म जिल्ल परेँ । त्यहीबेला एउटा विदेशीको हातबाट बाँदरले मोबाइल खोसेछ । उसले एउटा आइडिया लगायो । बाँदरलाई दुइटै हातमा खानेकुरा दिएपछि बाँदरलाई मोबाइल समाउन मिलेन र भुइँमा छोडेर हिँड्यो । सेतो छाला हाँस्यो । हामी भए बाँदरलाई ढुङ्गा हान्ने, रुने, कल्लाउने के के गरेर मोवाइल गुमाउँथ्यौं सायद । गोरेको बुद्धि देखेर हामीलाई कताकता लज्जाबोध भयो ।
सुन्दरीजलको राम्रो पक्ष भनेकै पानी रहेछ । जताततै पानीका मुहान । खुबै पियौं पानी । सधैं मौन, सधैं गम्भीर रहने अमर पनि फुरे । साथीहरू अन्ताक्षरी खेल्न थाले मैले पनि साथ दिएँ । हामीले सुन्दरी जलको मुख्य केन्द्र वा हामी जे हेर्न आएका हौं त्यो चिज खोज्दै थियौं तर भेटेनौं । सबैको लागि अपरिचित थियो त्यो ठाउँ । वास्तवमा धेरै बेर डुल्दा पनि हामीले केही फेला पारेनौं शिवाय एउटा जलविद्युत उत्पादनको लागि बनाइएको ताल । कुन्नि कसले भन्यो यहाँ झरना छ रे । हामी झरना खोज्दै डाँडातिर निस्क्यौं । एउटा पसलजस्तै घर भनौं कि घरजस्तै पसल फेला प¥यो ।
“आन्टीऽऽ ! यता झरना छ ?” एउटी युवतीलाई देखेर फुच्चीले प्रश्न गरी ।
“आन्टीऽऽ ! छैन यता ।” आँखा तर्दै युवतीले जवाफ दिई । आन्टी भनेर सम्बोधन गर्दा उनको मनमा चोट परेछ । मलाई मनमनै हाँसो उठ्यो ।
हामी झर्ना खोज्न डाँडातिर लाग्यौं । कस्तो हाँस्यास्पद थियो हाम्रो हिँडाइ । झर्ना के भेटियोस् । अलिक माथि जङ्गलमा पुगेपछि फर्किने बिचार ग¥र्यौं । लप्सी पाक्ने सिजन रहेछ । झटारो हानेर केही लप्सी झा¥यौं र चुस्दै तलतिर झ¥यौं । हामीले खोजेको सुन्दरीजलको केन्द्र अझै फेला परेन । तल एउटा खोला रहेछ । खोलामा पुगेर एकछिन फोटा खिच्यौं । हल्ला ग¥यौं । पानी निकै चिसो थियो । सुन्दरीजलको जलमा सुन्दरीहरूसित फोटा खिच्यौं र फर्कियौं । साँझ पर्न लाग्यो तर हामीले सुन्दरीजलको मुख्य ठाउँ भेटेनौं । अन्त्यमा बोध भयो यो जङ्गल, खोला, जलासय सबैको समग्रता पो सुन्दरीजल हो । हामीले टुक्रा टुक्रा सुन्दरीजल खोजेर के पो पाइयोस् ? मनमनै सोचेँ हामीले जीवनलाई समग्रतामा नहेरेर टुक्राटुक्रामा हेरेर नै दुःख पाइरहन्छौं । फर्किँदा थाहा भयो सुरुमा देखिएको माथिबाट खसेको पानी नै सुन्दरीजलको झरना रहेछ । दिनभर सुन्दरीजलभित्रै घुमेर हामी सुन्दरीजल नै भेटिएन भनेर भौतारिइरह्यौं । जब थाहा पाइयो तव रात परिसकेको थियो । हामी घर फक्र्यौं । मनमनै विचार गरेँ हाम्रो जीवन पनि थाहा नपाउँदा नपाउँदै सिद्धिन्छ, जव थाहा हुन्छ, त्यतिबेला ढिलो भइसकेको हुन्छ । यो एकदिने यात्रा सिङ्गो जीवन जस्तै लाग्यो मलाई ।
फर्किँदा सबैजसो साथीहरू थाकेकाले निदाए । म भने निद्रा नलागेकोले छेवैमा बसेका एकजनासँग कुरा गर्न लागेँ । कुराकानीका सिलसिलामा थाहा भयो उनी मेलम्ची खानेपानी आयोजनामा काम गर्दै रहेछन् । उनीसँग उक्त परियोजनाबारे थप जानकाारी लिएँ । काठमाडौं उपत्यकामा रहेको पिउने पानीको चर्को अभाव पूर्तीको लागि ल्याउने भनिएको मेलम्ची खानेपानी आयोजनाको प्रमुख द्वार पनि यहीँ रहेको साथै सुरुङ मार्गद्वारा सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंको सुन्दरी जलसम्म पानी ल्याउने भनिएको सो आयोजनाको दूरी करिब २७ कि.मि. रहेको जानकारी पाएँ । दिउसो हामीले देखेको जलाशय नेपालको दोस्रो जलविद्युत आयोजना ‘सुन्दरीजल जलविद्युत गृह’ को लागि बनाइएको साथै ६४० कि.वा. क्षमता भएको उक्त जलविद्युत गृहको निर्माण वि.सं. १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्घ शमसेरले निर्माण गरेको जानकारी उनले दिए । उनले थपे— “यो मेलम्ची खानेपानी योजनाको बारेमा म स्कुल पढ्दा नै चर्चा सुनेको थिएँ, मैले इन्जिनियरिङको पढाइ सकेर यसमा काम गर्न लागेको पनि निकै भइसक्यो ।” उनी हाँस्दै भने कति मान्छे त यसैमा काम गरेर रिटायर्ड भइसके तर पानी आइपुगेन ।” आफ्नो देशको कछुवा गतिको विकास देख्दा मलाई ग्लानी भयो ।
छुट्टिने बेलामा हिसाब गर्दा यात्राको खर्च दुइटा गैंडाले सजिलै बोक्न सक्ने देखियो । हामी फिस्स हाँस्दै आ—आफ्नो डेरातर्फ लाग्यौं । बाटोमा दिनभरको लहडी यात्राको सम्झना आइरह्यो । सोंचेँ— ‘रमाइलो गर्न धेरै पैसा खर्चनु पर्दो रहेनछ, उन्मुक्त भई हाँस्न सके ।’

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 फागुन, 2074

लेखकका अन्य रचनाहरु