प्रेमिल जीवनका अनेक रङहरूको सँगालो : धराश्री

- डा.लेखप्रसाद निरौला

साहित्यमा अवचेतन मन र दमित वासनाका बारेमा फयड, एडलर र युङजस्ता विद्वान्हरूका धारणाहरू आआफ्नै किसिमबाट विशिष्टीकृत छन् । त्यसैगरी प्रेमको व्याख्या वा पुनर्व्याख्याका क्रममा यौनिकता र हार्दिकताका विषयहरू पनि बहसयोग्य देखिन्छन् । प्रेमको परिणति मांसलकेन्द्री हुन्छ कि भावनाकेन्द्री भन्नेबारे तर्कवितर्क वा कुतर्कहरूको शृङ्खलाले समेत साहित्यमा कुनै न कुनै रूपमा प्रभाव पारिरहेकै छ । अझ त्यसमा पनि पुरुषबाट महिलाप्रति बढी प्रेम गरिन्छ अथवा महिलाद्वारा पुरुषप्रति बढी प्रेम गरिन्छ भन्ने विषय विचारणीय छँदै छ । कतै प्रेमका नाममा पुरुषबाट आफ्नो स्वार्थसिद्धि मात्र त भइरहेको छैन अथवा प्रेमकै बहानामा नारीले पुरुषबाट आन्तरिक पीडाबोध गर्नुपरेको अवस्था त छैन जस्ता विषयहरूमाथि समाजले आँखा चिम्लिरहेको छ कि ! यस दृष्टिले कथाकार भूधरा उपाध्यायका विचारहरू निकै विश्लेषणीय देखिन्छन् । उनी सत्तरीको प्रारम्भदेखि औपचारिक रूपमा नेपाली कथा क्षितिजमा उदाएकी नवोदिन नारी प्रतिभा हुन् । उनले धराश्रीमा सङ्कलित अठारओटा कथाहरूमा कुनै न कुनै रूपमा प्रेमको स्वरूप, प्रभाव र परिणतिबारे बहस गरेकी छन् । समाजका विभिन्न परिवेशसँग गाँसेर प्रेमका नाममा हुने गरेका क्रियाकलाप र अपेक्षित सन्दर्भसहित विशेषत: नारीमनोविज्ञानबारे प्रकाश पारेकी छन् ।
यस धराश्रीमा सङ्कलित कथाहरूमध्ये अधिकतम कथाहरू प्रेमकै सेरोफेरोसँग गाँसिएका छन् । त्यसमा पनि नारीले पुरुषबाट अपेक्षा गरेका वास्तविक प्रेमका परिसन्दर्भहरू मुखरित भएका छन् । प्रेमकै धरातलसँग गाँसिएर आएका अन्य सन्दर्भहरूमध्ये विशेषत: नारीवादी चिन्तन, पुरुषको सङ्कीर्ण मनोवृत्ति, यौनिक जीवनका सूक्ष्मतम तन्तुहरू र स्वार्थीपनजस्ता विषयहरू समेटिएका छन् ।
नारीलाई समर्पणकी प्रतिमूर्ति मानिन्छ । उनमा अथाह उदार हृदय हुनुका साथै त्याग र समर्पणमा आधारित प्रेमिल जीवनको अपेक्षा रहन्छ । प्राय: प्रेमले हरेक भावुक मनहरूलाई नपगाल्ने कुरै हुँदैन । भावुकता र अवचेतन मनमा दमित इच्छाहरूले उपयुक्त परिवेशमा प्रकट हुने चाहनाको परिणतिस्वरूप नारीका जीवनमा उतारचढाव देखा पर्नु पनि स्वाभाविकै हो । यहाँ सङ्कलित आत्मिक मिलन, गुड फइडे र विवशताभित्रको जिन्दगीजस्ता कथाहरूबाट प्रेमिल स्वभावका कारण नारीमनोविज्ञानमा पारेको प्रभाव-विशेषलाई सम्बोधन गरिएको छ । आत्मिक मिलन कथामा बाल्यकालीन सखाहरूमध्ये सीताको अभिनय गर्ने ‘म’ पात्र र रामको अभिनय गर्ने पुरुषका बीच लामो समयपछि पनि अर्थात् आआफ्नै फरकफरक किसिमबाट दाम्पत्य जीवन बाँचिरहेको अवस्थामा समेत केही क्षणका लागि भए पनि आत्मिक रूपमै मिलन भएको दर्साएर प्रेमिल अनुभूतिको परिणतिलाई व्यक्त गरिएको छ । वास्तवमा पतिपत्नीको सम्बन्धबारे नजानीकनै अभिनय गरिएको पौराणिक घटनामा आधारित यस्तो विषयले सिर्जना गरेको प्रेमिल भावनाले लामो समयसम्म दमित भए पनि अन्तत: वानेश्वरको बेकरीमै तदाकार भएपश्चात् पूर्णता पाएको छ । त्यसैगरी गुड फइडे कथामार्फत कार्यालयमा काम गरिरहँदा समेत विगतमा आकाशसँग ‘म’ पात्रले कपनको गुम्बानजिकैको प्राकृतिक वातावरणमा साटासाट गरेको प्रेमको दमित चाहनाले अझै पनि सुखद शुक्रबारका दिनहरूको प्रतीक्षा गरिररहेको सन्दर्भ उठाएर नारीभित्रको प्रेमिल स्वभावबारे प्रकाश पारिएको छ । साथै, नारीको मौनताभित्र लुकेको अपेक्षाबारे वास्तविक प्रेमीले बुझ्नुपर्ने कुरामा समेत जोड दिइएको छ । यसभित्रको अर्को कथा विवशताभित्रको जिन्दगीमा सहपाठी हुँदैदेखिको मिजासिलेा साथी मानवलाई अचानक बीस वर्षपछि देख्दा पनि उस्तै मिजासिलो पाउँदा ‘म’ पात्र अचम्ममा त परेकी छिन् नै; तर सँगसँगै लिफ्ट पाएपछि उनका मनमा उब्जिएका विचारहरूबाट अनायास दमित रूपमा विद्यमान प्रेमिल वासनाहरूसमेत सलबलाएका छन् । अनलाइनमार्फत मानवसँग कुराकानी गर्न आतुर ‘म’ पात्रका लागि ती सपनाहरू त्यतिखेर भङ्ग भएका छन् जब श्रीमतीसहितको मानवको तस्बिर देखिएको छ । प्रेममार्गमा कुनै कसिमका अवरोधहरू देखापर्छन् भने त्यहाँ ईर्ष्या जाग्नु पनि स्वाभाविक नै हो तर जीवनको विवशता भनेकै त्यही हो कि सबै परिवेशमा प्रेमले उपयुक्त निकास पाउँछ भन्ने छैन ।
प्रेमलाई कतिपयले हार्दिक समर्पणका रूपमा लिने गर्छन् भने कतिपयले स्वार्थसिद्धिको बहानाका रूपमा । कतिपय पुरुषहरूमा निहित स्वार्थसिद्धिको प्रवृत्ति अत्यधिक मात्रामा पाइन्छ पनि । नारीको यौवन र सुन्दरता रहँदासम्म अथवा अर्की नारीसँगको सान्निध्य नबढेसम्म केही पुरुषहरूले एउटीसँगै प्रेमको अभिनय गरिरहन्छन् । जब पत्नी वा प्रेमिकामा त्यस्तो परिस्थिति रहँदैन तब त्यस्ता पुरुषहरूको प्रेम विशुद्ध अनुराग र समर्पणमा मात्र सीमित रहँदैन । यस सङ्ग्रहभित्र खासगरी आमालाई सम्झिँदा, समयको अन्तराल, यसपालिको तीज र मात्र मेरो छोरोजस्ता कथाहरूमा पुरुषको स्वार्थीपनले भरिएको प्रेमलाई दर्साइएको छ । आमालाई सम्झिँदा कथामा सानो ‘म’ पात्रका लागि आमाप्रतिको अनन्य अनुरागभन्दा पनि बाबुले देखाएको व्यवहार विचारणीय रहेको छ । बालकका लागि आमाको संस्मरण अत्यन्त महŒवपूर्ण मानिन्छ तर यहाँ पुरुषबाट गरिएको व्यवहारले प्रेमको अपव्याख्या गरेझैँ भएको छ । वकालत गर्ने बाबुले आमा बिरामी भएदेखि बेवास्ता गर्नु र अर्की नारीसँग सम्बन्ध-विच्छेदका लागि अनुकूल परिवेश सिर्जना गर्नु तथा श्रीमती मरेको पैँतालीस दिन पुग्दा-नपुग्दै तिनै सम्बन्ध-विच्छेद गराइएकी नारीसँग बिहे गरी समागममा लिप्त रहनुले स्वार्थी पुरुषको प्रेममा देखा परको दागलाई झल्काउँछ । त्यसैगरी समयको अन्तराल कथामा यौवनका अङ्कुरणहरू देखा पर्दा-नपर्दै आमाको अनुशासनमा बसेकी ‘म’ पात्रले आखिरमा दिदीभिनाजुसँगै आएको युवकसँग बिहे गरेकी छन् । विवाहपश्चात् उनको पढाइ त रोकिएको छ नै घरायसी कामकाज, शिशुको स्तनपान, श्रीमान्को इच्छापूर्ति र व्यस्तताले शारीरिक थकावटका कारण उनी शिथिल एवम् कमजोर बनेकी छन् । सुरुसुरुमा त्यतिसाह्रो प्रेमको अभिनय गर्ने श्रीमान्ले ‘म’ पात्रमा आएको शारीरिक परिवर्तनसँगै हेर्न छाडेको घटना सन्दर्भ नै स्वार्थी पुरुषको देखावटी प्रेम मान्न सकिन्छ । तर, जब तिनै श्रीमान्ले साथीको सहयोगमा चेकजाँचपछि औषधिसेवनबाट शारीरिक आकर्षण बढाएकी श्रीमतीको अवस्था देखेपछि पुन: प्रेमिल स्वभावलाई दर्साउनुले प्रेमको वास्तविक मर्मलाई कुण्ठित तुल्याएको देखिन्छ । यस सङ्ग्रहभित्रको अर्को यसपालिको तीज कथामा पनि प्रारम्भमा त्यति धेरै माया गर्ने श्रीमान्ले परदेश गएको केही वर्ष नबित्दैदेखि तीजमा समेत नसम्झिएको घटनालाई समेटिएको छ । धार्मिक सांस्कृतिक परम्पराका कारणले समेत श्रीमतीप्रति अनुरक्त तुल्याउने अवस्थामा त्यस्तो किसिमबाट घरकी श्रीमतीप्रति बेवास्ता गरिएको सन्दर्भ देखापर्नुलाई पुरुषभित्रको स्वार्थीपन र प्रेममा धोखा नै मान्न सकिन्छ ।
अझ, पुरुषबाट केवल पुत्रोत्पादनका लागि गरिएको प्रेम रहेछ भने अभीष्ट सिद्धि नहुँदा नै श्रीमतीप्रतिको प्रेममा परिवर्तन हुने गरेको पाइन्छ । त्यस्तै मात्र मेरो छोरो कथामा सासूआमाले नातिको मुख हेर्ने इच्छा गरेको भनिए पनि श्रीमान् अनिकेतबाट समेत छोराको इच्छा गरिएको र श्रीमती लक्ष्मीले छोरीहरू जन्माए पनि छोरो नजन्माएकी भनेर बेवास्ता गर्दै अर्की श्रीमतीको खोजी गरिएको छ । तर, अर्काकै वीर्य राखेर भए पनि छोरो जन्माइएपछि उही श्रीमान्बाट पुन: प्रेमिल व्यवहार गरिएको देखाइएको छ ।
वास्तवमा प्रेम सजीव वा निर्जीव दुवै किसिमको वस्तुसँग हुन सक्छ । प्रेमका लागि उमेर, अवस्था र परिवेश आदि कुनैको ख्याल गरिँदैन । प्रेम भावनात्मक तरलतासँग गाँसिने भएकाले पनि यसलाई मानसिक विषय मानिन्छ र त्यसको प्रभावसँगै शारीरिक क्रियाकलापहरूमा परिवर्तन हुने गर्दछ । प्रेमबाट सन्तुष्टि र पीडा दुवै हुन सक्छ । भनिन्छ, प्रेमिल परिवेशमा तदाकार हुन सके सन्तुष्टि र नसके त्यसैबाट पीडा हुन्छ । यहाँ जाँदै छु परदेश कथामा निर्जीवसँगको अनन्य अनुरागलाई दर्साइएको छ । ‘म’ पात्रलाई परदेश जाने तयारीसँगै उही गुडिया हिरोले मन आकर्षित गरिरहेको छ । गुडिया न त बोल्छ न उसका कुनै क्रिया-प्रतिक्रियाहरू नै छन् । तर पनि, ‘म’ पात्रका लागि ऊ नै आत्मालापको माध्यम बनेको छ । उसकै सम्झनाका कारण अमेरिकाका लागि बोर्डिङ पास लिएपछि पनि ‘म’ पात्रलाई रिँगटा लागेको छ । गुडिया नै त्यस्तो अनन्य अनुरागी पात्र बनेको छ कि जसका कारण ‘म’ पात्रले चाँडै नै नेपाल फर्कने इच्छा गरेको पाइएको छ । त्यस्तै एक्लोपन कथाकी वृद्धालाई स्वदेशप्रतिको प्रेम र वृद्धाश्रमका साथीहरूसँगको प्रेमले जीवन निर्वाहको आधार तयार गरेको भए तापनि सबैभन्दा बढी विगतका आफ्ना प्रेमिल अनुभूतिहरूले केही क्षण भए पनि रोमाञ्चित तुल्याएका छन् । यसबाट प्रेमिल भावनाका लागि वर्तमानका क्षणहरू मात्र नभई विगतका संस्मरणहरू समेत उद्दीप्तिका कारण बन्दछन् भन्ने बुझिन्छ ।
प्रेमका नाममा सामाजिक विकृतिले जति जरो गाडेको छ त्यति नै त्यसले सम्झौताको परिवेशसमेत सिर्जना गरेको छ । कतै सामाजिक प्रतिष्ठाका नाममा सम्बन्धलाई अविच्छिन्न रूपमा दर्साउने आधार पनि त्यही प्रेम नै हुने गरेको छ । यहाँ सम्झौता र अतृप्त प्यारजस्ता कथाहरूमा सामाजिक वा पारिवारिक प्रतिष्ठालाई प्रभाव पार्ने कारणसँग गाँसेर प्रेमको परिणतिलाई दर्साइएको छ । सम्झौता कथाको श्रीमान् काँठ क्षेत्रको हैकमी, रबाफी र ऐयासी प्रकृतिको देखिन्छ र उसले प्रेमको दुरूपयोग गरिरहेको पाइन्छ । पुरुष मनोवृत्तिको स्वतन्त्र अधिकारका रूपमा धनदौलत खर्च गर्ने प्रवृत्तिका कारण उसमा आफ्नी श्रीमतीसँगको प्रेमले पूर्णता पाउन सकेको छैन । सहनशीलताको पराकाष्ठापछि अन्तत: श्रीमतीले श्रीमान्को व्यवहारबारे सामाजिक रूपमै भन्डाफोर गर्ने बताएपछि मात्र सम्झौतामा पुगेर आपसी प्रेमका लागि पुन: वातावरण सिर्जना भएको छ । त्यस्तै अतृप्त प्यार कथाकी झाको सौन्दर्यप्रति सबै आकर्षित नै देखिन्छन् । हरेकलाई उनका गाला छुने आतुरताले प्रभाव पारे पनि उनले नियन्त्रण गरेकी छन् । उनी बिस्तारै राजलाई मन पराउन थाल्छिन् तर काकाको साथी छोटुबाटै उनी बलात्कृत हुनुपरेको छ । उनीभित्रको प्रेमले जहाँ संसर्ग पाउनुपर्ने हो त्यहाँसम्म पुग्ने परिस्थित नै सिर्जना भएको छैन । बरु, सामाजिक वा पारिवारिक प्रतिष्ठाका नाममा उनी घरभित्रै ढाकछोपको सिकार भएकी छन् । छोटुसँगै बिहे गर्नुपर्छ भन्ने पारिवारिक दबाबको समेत कुनै निकास निक्लिएको छैन । राजले पनि बलात्कृत कुमारीसँग बिहे गर्ने हिम्मत देखाएको छैन । यसरी प्रेमका नाममा हार्दिकता, सहजता र अनुकूलताको परिवेश सिर्जना हुनुभन्दा पनि बढी नारीभित्र पीडा, असन्तुष्टि र निराशाले प्रभाव पारेको छ ।
कहिलेकाहीँ परिस्थितिले पनि प्रेमका लागि प्रेरणा दिन सक्छ तर त्यतिखेरसम्म आफ्ना विगतका प्रवृत्तिहरू नै बाधक बन्न सक्दछन् । लालचको घडा कथामा त्यस्तै प्रवत्ति देखापरेको छ । विदेशबाट फर्किएको युवकलाई चाबहिलमा घाइते तुल्याएका कारण पटकपटक गरी मोटो रकम तिर्न बाध्य भएकी नारीसँगै पुन: युवकले विवाहको प्रस्ताव राखेको छ । वास्तवमा पहिले धनप्रति लोभिएको युवक पछि तिनै धन दिन बाध्य बनाइएकी नारीसँग विवाहका लागि लालायित बन्नुले प्रेममा कुनै अवस्था विशेषले मात्र छेकबार गर्दैन भन्ने कुरा प्रस्ट हुन्छ । तर, पहिले नै युवकले आफ्नो प्रवृत्ति देखाइसकेका कारण आखिरमा नारीप्रति देखाइएको त्यस्तो प्रेम असफल बनेको छ । यसरी कतिपय पुरुषभित्रको धनप्रतिको लालसा र प्रेमप्रतिको बाह्य दृष्टिकोणले उनीहरूभित्रको स्वार्थी प्रेमलाई दर्साउने गरेको छ ।
पुरुषप्रति आरोप लाग्ने मुख्य कारणमध्ये आफ्नी श्रीमतीले कुनै पुरुषसँगको सम्बन्धबारे बयान गरेको सहन नसक्नु पनि हो । फुटेको ऐना कथामा पुरुष र महिला दुवैका विगतहरू मिल्दाजुल्दा नै छन् । दुवैले आआफ्ना जीवनसाथीलाई गुमाएकै कारण पुन: आपसमा वैवाहिक सम्बन्धमा बाँधिएर बस्ने सहमति गरेका छन् । तर, जबजब पुरुषको मुखबाट पहिली पत्नीसँगका प्रेमिल प्रसङ्गहरू दोस्री पत्नीसँग निर्धक्क व्यक्त भएका छन् तबतब दोस्री श्रीमतीका मुखबाट पहिलो श्रीमान्सँगका संस्मरणहरू व्यक्त हुन सकेका छैनन् । हिम्मतिली महिलाबाट नारी स्वतन्त्रताका पक्षमा क्रान्तिकारी अभियान पनि चाल्न सकिन्छ । र, त्यसैको फलस्वरूप दोस्री श्रीमतीले आफ्ना सन्ततिलाई भेट्ने हिम्मत गरेकी छन् ।
नारीवादी चिन्तनका अनेक तरङ्गहरू हुन सक्दछन् । पुरुषबाट भएगरिएका व्यवहारका साथै आफ्नै क्रियाकलाप र अस्तित्वबोधी चिन्तनहरू पनि सँगसँगै गाँसिएर देखापर्न सक्दछन् । साथै, नारीनारीबीचका वैचारिक मतभेदहरूले पनि स्थान पाउने अवस्था सिर्जना हुन सक्दछ । म को हुँ कथाकी मुनाले पतिको मायालु काखमै रहे पनि कहिलेकाहीँ आफ्नो अस्तित्वको खोजी गर्ने प्रयास गरेकी छन् । उनले आफको हुँ भन्दै पटकपटक खोजी गरेर आखिरमा अस्तित्वको बोध गरेकी छन् । उनलाई केही हदसम्म भए पनि नारी अस्तित्वको बोध भएको छ ।
त्यस्तै यस सङ्ग्रहभित्र सङ्कलित कथाहरूमध्ये त्यो दसैँ कथामा बालमनोवृत्ति र छोराछोरीको जिद्दीका अगाडि बाबुआमाले देखाएको भेदभावपूर्ण निर्णयलाई दर्साएको छ । यसलाई एक किसिमबाट पारिवारिक समस्या र बालमनोविज्ञानको प्रयोगका रूपमा पनि लिन सकिन्छ । बहिनीले मन पराएको कपडा नै दिदीले रोज्नु, आमाबुबाले दिदीकै जिद्दीलाई प्राथमिकतामा राख्नु, मन नपरे पनि बहिनीले अर्को कपडा लिन बाध्य हुनु र दिदीको दसैँका लागि सिलाइएको राम्रो कपडा आखिरमा बहिनीले रिसले च्यात्नुजस्ता घटनाहरू पारिवारिक समस्याका कारण उत्पन्न बालस्वभावको परिणाम मान्न सकिन्छ । त्यस्तै बालस्वभावको अर्को दृष्टान्तका रूपमा चिसिएको वात्सल्य कथालाई लिन सकिन्छ । यहाँ सुत्केरी बुहारीको हेरचाहका लागि अमेरिका पुगेकी हजुरआमाले नातिबाट देखाइएको हर्कत र अमेरिकी कानुनको परिणामका कारण एकरात चिसो हावा खाएपछि सबैथोक छोडेर स्वदेश फर्कनुपरेको छ । यसरी मातृत्व र वात्सल्य नारीका गहना नै भए पनि परिस्थितिले कहिलेकाहीँ वात्सल्य पनि चिसिएको पाइएको छ ।
यीबाहेक पनि प्रस्तुत कथासङ्ग्रहका कथाहरूमा २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा निम्त्याएको दुखद परिवेशसँगै पारिवारिक प्रेमका विषयहरूलाई समेत समेटिएको पाइन्छ । किन्न नसकेको खुसी र जिउने कलाजस्ता कथाहरू यस दृष्टिले उल्लेखनीय रहेका छन् । किन्न नसकेको खुसीमा परिवारकै खुसीका लागि श्रम गर्न विदेश गएका सुरज र रमेशहरूको अभिलाषा पूर्ण हुन सकेको छैन । विनाशकारी भूकम्पकै कारण उनीहरू सिन्धुपाल्चोक फर्केका छन् र सुरजका घरको भग्नावशेषबाट लासहरू निकालिएका छन् । पारिवारिक स्नेह भन्ने कुरा परिवारका सदस्यहरूको अभावमा कहीँकतै र कुनै किसिमबाट पनि किन्न नसकिने यथार्थलाई यस कथाले सम्बोधन गरेको छ । त्यस्तै जिउने कला कथामा पनि सोही भूकम्पका कारण श्रीमान् गुमाएकी नारीको मुहारमा उज्यालो फर्काउने कार्यका लागि योगगुरुको भूभिका उल्लेख्य रहेको देखाइएको छ । वस्तुत: परम्परागत सामाजिक मान्यताभन्दा केही माथि उठेर निर्णय गर्न सके र आत्मिक प्रेमको महŒव स्वीकार गर्न सके हरेकको मुहारमा गुमेको हाँसो पनि फर्किन सक्छ भन्ने सन्देश दिइएको छ ।
वस्तुत: मनेवैज्ञानिक प्रकृतिका यस धराश्रीभित्र सङ्कलित कथाहरू अधिकतम प्रेमिलताकै परिवेश र परिणतिको चिरफारमा केन्द्रित छन् तापनि यिनलाई त्यतिमै मात्र सीमित राख्न सकिँदैन । यहाँ नारीमनोविज्ञान, पितृसत्तात्मक सोचको परिणाम, बालमनोविज्ञान, वृद्धावस्थाको अनुभूति, समकालीन सन्ततिहरूको व्यवहार, लालच र भूकम्पीय प्रभावजस्ता विषयहरूसहित पौराणिक तथा सांस्कृतिक सन्दर्भदेखि वर्तमान वैदेशिक जीवनका उतारचढावहरू पनि समेटिएका छन् । त्यस्तै कतै जीवनको बाल्यकालदेखि वृद्धावस्थासम्मका विषयहरू उठाइएको पाइन्छ भने घरायसी परिवेशदेखि प्राकृतिक वातावरणका सन्दर्भहरू पनि गाँसिएका छन् । तर, त्यति हुँदाहुँदै पनि यहाँ दमित रूपमा विद्यमान नारी र पुरुषका आआफ्नै रङहरू नै बढी मात्रामा झल्किएका छन् । नारीले पुरुषप्रति गर्ने प्रेम होस् वा पुरुषले नारीप्रति गर्ने प्रेम; व्यक्तिले परिवारप्रति गर्ने प्रेम होस् वा परिवारले व्यक्तिविशेषप्रति गर्ने प्रेम; स्वदेशीले विदेशप्रति गर्ने प्रेम होस् वा विदेशीले स्वदेशप्रति गर्ने प्रेम अथवा सजीवले निर्जीवप्रति गर्ने प्रेम नै किन नहोस्; यस्ता सबै खाले प्रेमका विषय र परिणतिहरूलाई प्राथमिकताका साथ यस कथासङ्ग्रहले समेटेको छ । अत: प्रेमिल विषयका दृष्टिले यी कथाहरू निकै आस्वाद्य, ज्ञानमूलक र रोमाञ्चक हुनुका साथै अन्य विषयहरूको समेत स्पर्शले यिनलाई थप प्रभावकारी तुल्याएको पाइन्छ ।
यसरी कथाकार भूधरा उपाध्यायद्वारा लिखित धराश्रीभित्रका अधिकतम कथाहरूले प्रेमिल जीवनमा नारी र पुरुषका आआफ्नै रङहरू विद्यमान भएको अवस्थाबारे नै दिग्दर्शन गराएका छन् । यिनले नारीहरूभित्र पाइने समर्पणमय हार्दिकता र अधिकतम पुरुषहरूमा पाइने पितृसत्तात्मक वैयक्तिक विशिष्टताको सङ्केत गरेका छन् । कसैको नि:स्वार्थमय प्रेमलाई स्वार्थानुकूलताको रापबाट कसरी प्रभावित तुल्याइन्छ भन्ने यथार्थको खोजी गरेका छन् । मानव जीवनलाई प्रेमिलताको प्रभावबाट अलग्याउनै नसकिने भएकाले पनि मानव जीवनमा हुनुपर्ने सच्चा, हार्दिक र नैसर्गिक प्रेमको महŒवमाथि प्रकाश पारेका छन् । साथै, अवचेतन मनमित्र दबिएर रहेका प्रेमिल अनुभूतिहरूले उपयुक्त परिवेश पाउनासाथ जहिलेसुकै र जहाँसुकै पनि निकासको खोजी गरिरहन्छन् भन्ने कुराको पुष्टि गरेका छन् । प्राय: प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएका यी कथाहरूको विषयवस्तु, पात्रविधान, परिवेश, उद्देश्य र आयतनजस्ता पक्षहरू उत्तम खालका रहे पनि यिनमा आख्यानतन्तुको तीव्रताका साथै कलात्मक शैलीको अपेक्षाकृत शिशिलताका कारण यिनको आफ्नै किसिमको पहिचान बनेको छ । जे होस्, पहिलो पुस्तकाकार कृतिका रूपमा सङ्गृहीत यी हरेक कथाहरू आफैमा विशिष्ट पहिचानका साथ प्रस्तुत भएका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 जेठ, 2075

लेखकका अन्य रचनाहरु