कवि भागवत आचार्यको सम्बोधन आफ्नै मनलाई

- प्रा.डा.गंगाप्रसाद अधिकारी

विद्यार्थी जीवनदेखि नै कविता लेख्नमा चाख राख्तै र लेख्दै आएका कवि भागवत आचार्य (२०२८) को ५२ वटा विविध भावका कविता समेटिएको नयाँ कविता संग्रह हो – ‘मनलाई सम्बोधन’ (२०६६) । माथ्लाबारी प्रकाशनका लागि उर्मिला आचार्यद्वारा प्रकाशित यो संग्रहका कविताहरू ९४ पृष्ठसम्ममा अटाएका छन् भने थप २२ पृष्ठ भूमिका र मन्तव्य एवम् अन्य सामग्रीका लागि खर्चिएका छन् । आकर्षक आवरण सजावट भएको बाहिरी गाताको पछिल्लोपट्टि कविको छोटकरी परिचयसहित समालोचकहरू रामचन्द्र दाहाल,वासुदेव अधिकारी, भीष्म उप्रेती र ठाकुर शर्माका यस संग्रहबारेका सारगर्भित टिप्पणीहरू राखिएका छन् । ९४+२२+२ गरी ११८ पृष्ठ र ६ वटा खालि पृष्ठ समेत गरी जम्मा १२४ पृष्ठको मोटाइमा यो संग्रह प्रकाशित भएको छ ।
पहिले खोटाङे, पछि झापाली र अहिले काठमाडौंली कवि भागवतका विभिन्न समयमा लेखिएका विभिन्न स्वादका यी कविताहरूबारे ‘भाव र विवेकले अङ्कमाल गरेका कविता’ शीर्षकमा समालोचक मोदनाथ प्रश्रितले र ‘‘मनलाई सम्बोधन’ मा अन्तश्चेतनाका बिम्बहरू’ शीर्षकमा समालोचक डा.लक्ष्मणप्रसाद गौतमले विस्तृत विवेचना गरी गहन भूमिका लेखेका छन् । त्यसपछि ‘मैले भन्नुपर्ने’ शीर्षक राखेर आफ्ना कविता र यस संग्रहका बारेमा कविका आफ्ना दृष्टिकोण, स्पष्टीकरण र मन्तव्यहरू प्रस्तुत गरिएको छ ।
कविताको स्थानक्रमको प्रारम्भमै ‘मनलाई सम्बोधन’ शीर्षकको कविता छ । यस कवितालाई नै कवि भागवत आचार्यले विशेष स्थान दिएका रहेछन् भन्ने कुरा पुस्तककै नाम यसकै शीर्षकबाट राखिनु र कविताको स्थानक्रममा पनि यसलाई नै पहिलो पार्नुले पुष्टि गर्दछन् । र यस संग्रहलाई पढिसक्दा कविले आफ्ना अनुभूति, दृष्टिकोण, कलासामथ्र्य पनि सबैभन्दा बढी यसै कवितामा देखाएको अनुभूति पनि मिल्छ । समस्त युग र युगीन परिस्थिति, आजको उत्तर्सिंदो र अत्यासलाग्दो जीवन, त्यसप्रतिको कविको अनुभूति, चिन्तन र दृष्टिकोण यसैभित्र समेटिएका छन् । मनलाई श्रोता बनाएर कवि प्रथम पुरुष दृष्टिविन्दुमा बोलेका छन् । कवि आचार्य मानव जीवनलाई यसरी परिभाषित गर्दछन् यस कविताभित्र ः
जीवन एक उज्यालोको यात्रा हो
यस यात्राका लागि
सृष्टिसँगै प्राप्त यस धरतीलाई
बमबारुदको अकाट्य सन्त्रास होइन
हरेक जिजीविषा र सुन्दर मनहरूमा
आफ्नो प्रतिबिम्ब खोजौं । (मनलाई सम्बोधन, पृ.४)
कविताहरूमा कतै कविका मानसिक अन्तश्चेतना प्रतिबिम्बित बनेका छन् त कतै युगचेतना हुङ्कार गर्दै अघि बढेका छन् । कतै कविको जीवनबोध दार्शनिकता बनेर प्रकट भएको छ भने कतै वर्तमान परिस्थितिले थङ्थिल्याएको राष्ट्रिय जीवन यस दुःखद परिस्थितिको अवसान र सुखद दिनको आगमन पर्खिंदै बसिरहेको भेटिन्छ । कतै कवि आफ्नै जीवनानुभूतिका रङहरूमा रङ्गिदै देखिन्छन्, आफ्नै अनुभूतिका तरङ्गमा तरङ्गित हुँदै र आफ्नै रसमा तरलित हुँदै पोखिएका भेटिन्छन् । कतै कविको वर्तमान जीवनको विसङ्गतिबोध र त्यसमाथिको विद्रोह प्रकट भएको पाइन्छ भने कतै सरल जीवन बाँच्ने आग्रह र उत्प्रेरणा बाँडिरहेको पनि फेला पर्छ । समग्रमा हरेक कवितामा बेग्लाबेग्लै स्वाद पाउन सकिन्छ, त्यसैले यस संग्रहभित्रका कवितामा विविधता छ । कविको दृष्टिकोण, आस्था, अनुभूति सबै यस संग्रहभित्रका कविताले बोलेका छन् ।
कविका अनुभूति, विचार, दृष्टिकोण कविको अन्तश्चेतनाका रूपमा कवितामा प्रस्तुत भएका छन् । कविको मनले अनुभूत गरेका सत्यलाई कविले यसरी कवितामा प्रकट गरेका छन् ः
मलाई विश्वास छैन —
कुरानका स्रष्टा मोहम्मदले
आफ्ना विरोधीलाई बन्दुकले भुट भने भन्ने कुरामा
मलाई विश्वास छैन
वेदका स्रष्टाले आफू जस्तै मानवलाई
पशुभन्दा तलको अछूत बनाउनुपर्छ भने भन्ने कुरामा (मनलाई सम्बोधन, पृ. ३)
शत्रुता वा मित्रता केवल
संसार हेर्ने चस्मा मात्र । (शत्रुता, पृ. ९)
पटक–पटक मरिरहे पनि
अथवा वरिपरि जताततै मृत्युले घेरे पनि
म मर्छु भनेर नसम्झनु
सबभन्दा ठूलो आश्चर्य
विश्वब्रह्माण्डको । (ओ मैनबत्ती !, पृ. १६)
देउरालीको पीपलबाट
गमलाको पीपल
अहिले भएको छ — ठूलोबाट सानो । (गमलाको पीपल, पृ.८९)
कवि भागवत युगसचेत र समाजसचेत कवि हुन् । उनको कवि युगचेतनाबाट निस्पृह छैन । उनको कविले हिजो–अस्तिको युगजीवन र समाजजीवनलाई पढेको–बुझेको छ । आजकोलाई भोगेको छ । त्यसैले हिजो के थियो, आज के छ र भोलि के हुनसक्छ र हुनुपर्छ भन्ने बोध यहाँका धेरैजसो कवितामा व्यक्त भएको छ । यी सबै युगीन चेतनाको एकमुष्ट अभिव्यक्ति भएको छ विशेषतः ‘म इतिहासको लिलिपुटको प्रतिनिधि’ शीर्षकको कवितामा । त्यहीं एक ठाउँमा कवि आचार्य भन्छन् ः
मेरो सोचाइले सगरमाथालाई चिनेन
बुद्धलाई चिनेन
मानव गरिमालाई कहिल्यै चिनेन
आत्मसम्मान र गौरवमय अतीतलाई चिनेन
विवेकमाथि बादल लागेपछि
जनताको हृदय गुमाइसकेको म लिलिपुट .. (म इतिहासमा लिलिपुट... पृ. ८८)
त्यस्तै अन्यत्र पनि कवि भन्छन् ः
सारा गरीब नेपालीको गाँस काटेर
सारा नेपालीलाई नाङ्गो राखेर
आफू मात्र अट्टहासमा रमाउने इतिहास पो रहेछ हाम्रो ..
(बाहजुरलाई नातिको आग्रह, पृ.१७)
आउनुस्, अरूलाई शासन होइन
आफ्नो शासक आफैं बन्न सक्नुपर्छ
आउनुस्, विधिलाई मियो बनाऔं .. (मियो, पृ. ७)
मानवलाई एकत्रित मानव देख्न चाहन्छु
राष्ट्रियताको बृहत् इतिहास लेख्न चाहन्छु .. (सिमाना, पृ.३४)
समग्रमा कवि आचार्यको मनको अन्तश्चेतना “सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम्” र “सहनाववतु, सह नौ भुनक्तु, सहवीर्यङ्करवावहै । तेजस्वीनावधीतमस्तु मा विद्विषावहै” को वैदिक दर्शनको मानव कल्याणमुखी अन्तश्चेतना हो जहाँ सुखी, समृद्ध र परस्पर प्रेममा आबद्ध सुन्दर मानवजीवनको परिकल्पना छ । कवि भागवतको काव्यमुखी अन्तश्चेतना यसै दृष्टिकोणको सुरम्य बाटोको खोजीमा छ र यही नै आजको प्रगतिशील दृष्टिकोण अनुसारको मानवसमाजको आभ्यन्तरिक चाहना पनि हो । त्यसैले यस्तै प्रगतिशील दृष्टिकोण अनुकूल सभ्य, सुखी, समृद्ध र शोषणरहित समाजको प्राप्तिको चाहनामा कवि आचार्यको अन्तर्मुखी चेतना लक्ष्यित रहेको छ । यसप्रकार त्यही समुन्नत मानव जीवनको परिकल्पनामा नै कवि आचार्यले आफूभित्रका अन्तश्चेतना प्रकट गरेका छन् – आफ्नै मनसँग, आफ्नै अन्तरात्मासँग भलाकुसारी गरेका छन्, मनलाई सम्बोधित गरेका छन् ।
कविको प्रस्तुति शैली पर्याप्त खारिएको छ । त्यसैले मनका गूढ र गहनतम भाव र अनुभूतिलाई सरलता एवम् सहजतासाथ व्यक्त गर्न कवि सफल छन् । सुन्दर भाव र सुन्दर शैलीको उल्लेख्य ढङ्गको समीकरण भएको देख्न सकिन्छ यहाँ । लगभग दुई दशकको कवि आचार्यको कवित्व साधना भावविधान, सौन्दर्यविधान दुवै दृष्टिले उच्च र विशिष्ट बन्न पुगेको छ ‘मनलाई सम्बोधन’ कविता संग्रहभित्र ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु