‘भाया साक्रा’को नालीबेली

- होम सुवेदी

१. पूर्वसन्दर्भ:
‘युरेसियाको स्पर्श’ पछि धेरै कृतिहरु पढिए र तिनका बारेमा लेखिएपछि र सकियो भने लेख्नकै लागि पढिएको ताजा कृति पढियो जो उनै कृष्ण बजगाईंको हो । यस कृतिको नाम हो ‘भाया साक्रा’ । यसलाई विश्वसञ्जालमा निकै अघिदेखि देखिन थालेको हो । हात नपरेर मात्र अलिक ढिलो भएको हो । यस कृतिको नाम भाया साक्रा हो यसको शब्दार्थ फेदैमा खुलासा गदिऊँ । यो इटालेली भाषाको शब्दावली हो । यसको भावार्थ पवित्र मार्ग, पावन गन्तव्य वा शुभ मार्ग हो । अब यसैमा केही लेख्ने विचार जागेकोले किबोर्डमा औंला कुदाइरहेको छु ।
कृष्ण बजगाईंको साहित्यिक कार्यका बारेमा युरेसियाको स्पर्शमै मैले लेखिसकेकै छु यसैले उनको साहित्यिक वैशिष्ट्यका बारेमा यहाँ दोहो¥याइरहनु पर्र्दैन । नदोहो¥याए पनि उनी नेपाली नै हुन् । सातसमुद्र पारिको दुनियाँमा बस्छन् र नेपालबाट सारै परको सुदूरको दुनियाँमा बसेका भए पनि नेपाल भनेपछि हुरुक्क हुने स्वभाव भएका एक नेपालप्रेमी साहित्यसाधक हुन् भन्ने कुरा चाहिं दोहो¥याउनै पर्छ ।
यिनै विदेशमा र खास गरी युरोपमा खाइखेली गरिबसेका नेपालभक्त साहित्यकार बजगाईंको यो पछिल्लो नेपाली डायस्पोरिेक कृति हो ‘भाया साक्रा’ । नेपालको साङ्ग्रिला पुस्तक प्रकाशन गृहबाट यसको प्रकाशन भएको छ । किताबमै नियात्रा सङ्ग्रह भनिदिएपछि विधाका लागि हामीलाई समस्यै परेन । २०७४ साल माघ यसको प्रकाशन समय हो । राम्रै साजसज्जामा छापिएको छ । १८५ पृष्ठको आकारमा तन्किनु भनेको मध्यम आकार हुनु हो । यसैले यो कृति मध्यम आकारमा निर्मित छ । मान्छेले साङ्ग्रिलालाई नै काफी ठान्छन् यहाँबाट प्रकाशित कृतिहरुमा यसै पनि श्रेष्ठ हुन्छन् भनेर बुझे हुने कुरा छ । अहिलेको बेलाको यसलाई पर्ने दाम २९५ रुपियाँ ठिकै हो । यसका सामग्रीहरुलाई कुनै पनि माध्यमबाट पुनरुत्पानदन कपी वा फोटो कपी गर्न नपाइने कुरा कृतिमा उल्लेख भइसकेपछि म त्यस कथनलाई शिरोपर र सम्मान गर्दछु र यस कृतिबाट केही पनि उद्धरण नगरी मेरै विचार र यस कृतिबाट बजगाईंका वैशिष्ट्यहरु कोट्याउने काम मात्र गर्छु । कृतिका बारेमा समीक्षा वा कृतिविवेचना गर्न भने निषेध नगरेकोले मलाई सजिलै भो ।
२. कृतिपरिचयः
भाया साक्रा २१ ओटा यात्रा निबन्धको सँगालो हो । यो वास्तवमा किताबले भनेजस्तै ‘पवित्र यात्रा’ मै आधारित छ । युरोपेली संसारमा इतिहासको कालखण्डमा जन्मेका र विश्वलाई नै अतुल्य योगदान दिएका एवम् मानवसभ्यता र मानव सोचलाई नै उलटपलट गराएका प्रसिद्ध साहित्यकार, कला तथा भाषाविज्ञ, वास्तुविद्, अभिनेता, आविष्कारक, दार्शनिक, वैज्ञानिक, चिन्तक आदि महापुरुषहरुको जन्मथलो कर्मथलो र कार्यहरुको जानकारी वा जिज्ञासा समनका लागि यायावर बजगाईंले गरेको डुलाइ र उनैको कलमबाट सिर्जित नियात्राहरु हुन् । अझ उनका यी रचनाहरु विश्वसम्पदासूचीमा अङ्कित भएका वा हुन सक्ने स्मारक, देवालय, मन्दिर, चर्च र कलात्मक शिल्पले सजिएका ऐतिहासिक धरोहरको अवलोकनपछि सिर्जित रचनाहरुको सङ्ग्रह हो । समग्रमा तिनै महापुरुषहरुको जन्मथलो, कर्मथलो र सृजनक्षेत्र, पौरख आदिमाति ती ती राष्ट्रले राखेका अमूल्य स्मारकहरुको दर्शन अवलोकनका लागि बजगाईं दगुरेका छन् अझ दगुर्नु मात्र हैन धाइफल तोडेका छन् । यायावरीय जीवनका पाटामा भेटिएका तथ्यहरुलाई अघि सार्ने काम गरको स्मारक, मुख्यक्षेत्र, वस्तु, व्यक्ति, महापुरुषहरुको अवलोकनका लागि गरिएको पवित्र यात्रा नै यसको कृतिको केन्द्रीयता हो ।
३. कृतिभित्रका रचनाहरुको संक्षिप्त खुलासाः
क. न्यूटन भनेको गुरुत्वाकर्षण सिद्धान्तका प्रतिपादक महान् वैज्ञानिक हुन् । उनले आफ्नो बारीमा फलेको स्याउ भैंतिर खसेको देखेर त्यही कुरालाई आधार बनाई गुरुत्वाकर्षण सिद्धान्त तय गरेका थिए । तिनै आइज्याक न्यूटनको सङ्ग्रहालयका रुपमा राखिएको निजको ऐतिहासिक घरको यात्रा र त्यो देखेर गरिएकोे अनुभूतिबाट उब्जेको रचना ‘आइज्याक न्यूटनको बगैंचामा स्याउ टोक्दा’ हो र यसैबाट कृतिको आरम्भ भएको छ ।
ख. यसपछि मान्छेको पुर्खा तोक्ने चाल्र्स डार्विनको जन्मघरको यात्रा गरिएको रचना छ । जसमा डार्बिनको जीवनी र उनका कर्मको खुलासा समेत छ ।
ग.नाटककार वर्नर्ड श को घरमा हिउँदको बेला पारेर एक दिने यात्रा गरेको कुरा त्यसपछिको नियात्रा रचनामा आउँछ नियात्रा भएर पनि यसले श को साहित्यिक जीवनको र उनका रचनाकर्मको जानकारी गराएकाएको छ ।
घ.तारानाथ शर्माले बेलायततिर बरालिँदा कृतिमा भएको र उहिल्यै गरेको यात्रा थलो हो ‘वक्ताको कुनो’ । यसलाई बजगाईंले ‘स्पिकर कर्नरसमा निःशब्द म’ भन्ने नियात्रा रचनामा त्यस थलोको इतिहास देखाउँदै सजीव रुपमा वर्णन गरेर त्यहाँ वाक् स्वतन्त्रताको सरकारले प्रत्याभूति गरेको कुरा देखाउने काम गरेका छन् । आफैं पाठक त्यहाँ पुगेको अनुभूति हुने शैलीमा यो रचित छ ।
ङ. विशेष गरी साहित्य र त्यसमा पनि जासूसी रचनाको क्षेत्रका ख्यातनामा बेलायती साहित्यकारको नाम आर्थर कोनन डोयल । संसारमा लेखक भन्दा पनि लेखले कल्पना गरेका पात्रहरुको ओजन बढी भएको कुरा बडो सुन्दर रुपमा यसमा अभिव्यक्त छ । कोननका धेरै रचनाहरुको नायकपात्र सर्लक होम्स विश्वप्रसिद्ध हुन पुगेको र त्यही काल्पनिक पात्रको शालिक समेत बनाएको बडो स्वादिलो विषयलाई लिएर रचित वा निर्मित उक्त काल्पनिक पात्रको स्टाच्यूको डेरा डन्डाको निरीक्षण यात्रा र त्यससँग जोडिएका अन्य पक्षको वर्णन ‘सर्लक होम्सको डेरामा एकछिन’ नियात्राले देखाएको छ । मलाई यो पढिरहँदा हाम्रो मुना र मदन पनि त्यत्तिकै प्रसिद्ध छन् यिनको पनि कतै शालिक बनाए कसो होला भनेर कल्पना आयो तर फेरि मुनामदन ता एक रचनामा मात्र छन् देवकोटाका अरु रचनाहरुमा ता अरु नै पात्र छन् भन्ने सोचें र मूल सन्दर्भतिर नै लागें ।
च.कृतिको पाँचौं नियात्रात्मक रचना हो रहस्यमयी ‘स्टोनहेन्जको तिन फन्को’ । यसमा बजगाईंले बेलायतको भूमिमा पाँच हजार वर्ष अघिको भनेर वैज्ञानिकहरुले तोकेको स्टोन हेन्जको अवलोकनपछि त्यसको दृश्यको वर्णन र त्यस दृश्यको अवलोकनबाट आएको विचार भावहरुलाई अङ्कन गरेका छन् ।
छ. यसपछि यस कृतिमा रहेको अर्को रचना हो ‘डाह्लको आइडिया बुक’ । डाह्ल भनेका बेलायतका सय वर्ष पुराना बालसाहित्यकार हुन् । उनको घरलाई म्युजियमका रुपमा राखिदिएको हुँदा त्यसैको अवलोकनको सन्दर्भ यस नियात्रामा छ । १९१६ मा जन्मेका डाह्लको शतवार्षिकीको अवसर पारेर लेखकको म्युजियमका रुपमा राखिएको घरका कोठा चोटामा घुमेर लेखकका आनीबानी, चालचनको समेत र उनले बाल साहित्यको रचना गर्नु पर्दा पूर्वतयारीका रुपमा बुँदा टिपेर राख्ने नोटबुकलाई नै आइडिया बुक भनिएको हो भन्ने खुलासा गरेका छन् र त्यस आइडिया बुकको समेत अवलोकन गरेका छन् ।
ज. अर्काे नियात्रात्मक निबन्ध हो ‘चार्लि च्याप्लिनको निलो प्लेट’ । यस रचनामा विश्वप्रसिद्ध कलाकार वा अभिनेता चार्लिच्याप्लिनका बारेमा कुरा आएका छन् । च्याप्लिनको जन्मस्थल, बस्ने गरेको ‘इस्ट स्ट्रिट’ र त्यस क्षेत्रसँग जोडिएको पक्षको यात्रा, उनी बसेको डेरा घर लगायतका कुराहरुको अवलोकनका सन्दर्भहरु यस रचनामा छन् । च्याप्लिनको दुःखमय बाल्यकाल, अमेरिकाको उनीप्रतिको कुदृष्टि आदिको र अत्यन्तै अभावग्रस्त बाल्यकालदेखि उनले गरेको कठिन सङ्घर्षपछि उनले प्राप्त गरेको सफलताको इतिहास र उनीमाथिको अमेरिकी कुदृष्टिको खुलासा पनि यसमा रामरी दिइएको छ । यो रचना एकातिर यात्रा पनि हो अर्कातिर च्याप्लिनले मरेपछि पनि सुख नपाएको कुराको दुःख लाग्दो वर्णन पनि हो । सारमा यो ऐतिहासिक रुपमा च्याप्लिनको जीवनीबारेको राम्रो ज्ञान दिन समर्थ रचना पनि हो ।
झ. यसपछिको क्रममा आउने रचना हो ‘चाल्र्स डिकेन्स म्युजियममा एक साँझ’ । संसार प्रसिद्ध साहित्यकारको नाम हो चाल्र्स डिकेन्स । अरु धेरै महान् व्यक्तित्वहरुकै जस्तो यिनको पनि जन्मघर, कार्यक्षेत्र वा कर्मथलोलाई सङ्ग्रहालयका रुपमा सुरक्षित गरेको छ । यिनै विषय समेटिएको यस भ्रमण विवरणमा पनि च्याप्लिनको जस्तै यिनको पनि जीवनवृत्तका नाना पक्षहरुलाई टिपिएको छ । लेखकको जीवनचर्याका नानाविधा कुराहरुको अवलोकन गरिएको छ । उनको जन्मथलो, कर्मथलो, लेखनकार्य लगायता विवरणहरु यसमा पेस भएका छन् । अरु धेरै रचनामा जस्तै यहाँ पनि वर्णनका साथ पाठकले चित्रको पनि खोजी गर्न सक्छ तर त्यसको कमी खट्किन्छ ।
ञ.यसपछिको अर्काे नियात्रा हो ‘बेलायतको मन्दिरमा ड्रागनसँग जम्काभेट’ । यो नियात्रामा बजगाईंले बर्खे बिदा मनाएर बसेका आफ्ना नानीहरुको रमाइलोका लागि वा आफ्नो धर्म र संस्कारको बोध गरुन् भनेर बेलायतका हिन्दूमन्दिरको अवलोकनका लागि बेलायतको स्कन्दभेलको भ्रमण गरेको र त्यसै सन्दर्भसँग जोडिएको नियात्रात्मक रचना हो । उक्त मन्दिमा जान वा फर्कन लाग्दा बाटो भुलेर ड्रागनसँग जम्काभेट भएको रमाइलो पक्षका साथ यसमा भ्रमण गरिएका मन्दिरको इतिहास, त्यहाँको संस्कार र त्यस ओरपरको प्रकृतिको सुन्दर र सजीव रुपमा यात्रात्मक शब्दचित्र पेस गरिएको यो नियात्रात्मक रचना पनि रोचक छ ।
ट.यसपछिको अर्काे रचना हो ‘कुमारी अस्टिन खोज्दै बाथ सहरमा’ । बेलायतकी प्रसिद्ध उपन्यासकार कुमारी अस्टिनका बारेमा यस नियात्राले जानकारी गराउँछ । यो पनि साहित्यकारको बेलायती सम्मानको उदाहरणका रुपमा उपस्थित नियात्रा हो । यसमा प्रसिद्ध उपन्यासकार अस्टिनको जन्मघरलाई र उनले उपयोग गरेको जीवनकालका यावत् सामग्रीहरुलाई यथावत् रुपमा सुरक्षा गरेर सरकारले लेखक साहित्यकारको सम्मान गरेको कुरा बुझिन्छ । अझ यिनै अस्टिनको छवि बेलायतको दस पाउन्डको मुद्रामा समेत अङ्कित गरेको सन्दर्भबाट सर्जकलाई कति महत्व दिइँदो रहेछ भनेर यस रचनाबाट यात्राकारले बुझाउन खोजेका छन् ।
ठ. ‘वाटरलु पुगेर नेपोलियन भेट्दा’ यस कृतिको अझ चखिलो रचना हो । नेपोलियन बोनापार्टले युद्धमा हार स्वीकार गरेको थलो हो हो वाटर लु । विश्वविजयको सपना बोकेका बोनापार्टको युद्धबाट परास्त भएपछि हार स्वीकार गरेर आत्मसर्मण गरिएको थलो हो वाटर लु । यो मिथ जस्तै भइसकेको पद हो । यो पनि बेल्जियमम पर्दछ । यहाँ सो कुरालाई झल्काउने सैनिक स्मारकहरु छन् । यसै ऐतिहासिक स्थानको अवलोकनार्थ जाँदाको अनुभवको स्मरण हो यो रचना । यसमा पनि नेपोलियको जीवनरेखालाई लेखकले रामरी टिपेका छन् । स्वादिलो रचनाका रुपमा यसलाई लिन सकिन्छ ।
ड. नियात्राक्रममा यसपछि आउँछ ‘फ्लान्दर्सको मैदानमा’ नामक नियात्रात्मक रचना । यो रचना भने बेल्जियमको यात्रामाथि आधारित छ । बेल्जियमको फ्लान्दर्सको इपर सहरको मैदानमा बनेको मेनिन द्वार पहिलो विश्वयुद्धमा ज्यानआहुती दिने सैनिकहरुको स्मरणमा बनाइएको स्मारक हो । यसमा त्यसरी ज्यान दिने बहादुर सेनाको नाम लेखिएको छ कुँदिएको छ । त्यस युद्धमा सामेल नेपाली सैनिकहमध्ये केहीका नाम पनि छन् तर ती पनि भारतीय भनेर चित्रण गरिएको छ । यो अवलोकनपछि बजगाईंको मनमा उठेका तरङ्गहरुको हुँडलो र नेपालीहरु युद्धमा मारिएपछि पनि आफ्नो मुलुकका हुन नपाएको दुखेसो समेत यस यात्राविवरणमा छ । गलत रुपमा चित्रण गरिएका ती कतिपय भारतीय हुन् भनिएका सैनिकहरु नेपाली हुन् भनेर आफ्नो दूतावासले पहल नगरेकोमा अलिकति आक्रोश छ तर अन्तमा कसरी हो नेपालीहरुको नाम भारतीयका रुपबाट हटेर नेपालकै सेनाका रुपमा स्थापित भएको खबर पाएर लेखकलाई अलिकति सुख मिलेको अनुभूति भएको वर्णनसमेत यसमा छ । विदेशमा बसेका सबै नेपालीहरुको मनमा नेपाल जीवितै हुन्छ उनीहरु नेपाल भनेपछि मरिमेट्छन्, उनीहरुको मनमस्तिष्कमा नेपालै नेपाल हुन्छ । नेपालमाथिको आघात सहन सक्तैनन् भन्ने कुरा पनि यस नियात्राबाट झल्कन्छ ।
ढ. यसै गरी ‘नौ ग्रहको तिन फन्को’ नामक रचना यसपछिको क्रममा छ । यो रचना बेल्जियमको स्मारकहरुको अवलोकनपछि सृजित छ । ई.१९५८ मा बेल्जियममा वल्र्ड एक्सपोको आयोजना गरिएको स्मरणमा फलामका नौ ओटा भव्य पिण्डहरुको निर्माण भएको थियो भन्ने दिग्दर्शन गराउँदै लेखकले यी के हुन् भन्ने विषयमा रामरी विवरण दिएका छन् । अहिलेसम्म पनि विश्वका विकसित देशहरुले आफ्नो क्षमता, उद्योग, प्रविधि आदिको विकासमा आफूले गरेको उन्नति र प्रगतिको अन्तर्राष्ट्रिय रुपमै प्रदर्शन प्रायः सालसालमा गरिदै आएको छ । यही प्रदर्शनी ई.१९५८ मा बेल्जियमको ब्रसेल्समा गरिएको थियो । यसैको स्मरणका लागि नौ ओटा भव्य आकारका गोलाकार फलामे पिण्डहरु स्मारकका रुपमा बनाइएको थियो जसमा मानिसहरुलाई रमाइलो गर्न सक्ने क्षमता समेत छ । तिनलाई नै बजगाईंले यहाँ नौ ग्रह भनिदिएका छन् । भव्य स्मारकभित्रको यात्राको सुन्दर र लोभलाग्दो वर्णन यहाँ छ ।
ण. ‘चरीचुच्चो रेलमा’ नामक अर्को रचना बडो स्वादिलो छ । यात्राकार बेलायतबाट ब्रसेल्समा आयोजना हुन लागेको अन्तरराष्ट्रिय नेपाली साहित्यिक कार्यक्रममा रेलयात्रा गरेर जाँदाको विषयमाथि यो अडिएको छ । रेलयात्राको रोमान्टिक शैलीमा यो नियात्रा संरचित छ । रेलको यात्रामा कोही साथी नपाएपछि र भएकी एक खैरे सुन्दरीले वास्ता नगरेपछि फेसबुकलाई नै साथी बनाएर ब्रसेल्स पुगेका कुरा आएका छन् । ब्रसेल्समा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्यका भेलामा डायस्पोरिक नेपाली साहित्यबारे कार्यपत्र प्रस्तुत गर्न जाँदाको स्मरण हो यो । यायावर बजगाईंको साहित्यिक यात्रा विषयक रचना हो ।
त. ‘पिसा टावरमा धरहराको सम्झना’ नामक रचनाले लेखकलाई नेपालको भूकम्पले ढालेको धरहराको सम्झना गराउँछ । यो इटलीको राजधानी रोमबाट तिनसय पचास किलोमिटरको दूरीमा अवस्थित सात आश्चर्यमध्येको एक आश्चर्य पिसा टावरको अवलोकन भ्रमणका अवसरपछि सिर्जित रचना हो । पिसा टावरको संचना, त्यसमा रहेका सात स्वर निकाल्न सक्ने घन्टाहरु, हरेक वर्ष केही ढल्किरहेको त्यो संरचना, सोझ्याउन गरिएका अनेक प्रयासहरु र यसको ऐतिहासिकता र यसको महत्वको बखान गर्दै नेपालको धरहराको स्मरण गरिएको छ र यसबाट पनि वर्णनका साथ चित्र पनि भइदिएको भए अझ सजीव लाग्दो हो भन्ने भोक पाठकमा जाग्न सक्तछ ।
थ. ‘भ्याटिकन सिटीमा शिवलिङ्ग’ नामक रचना यसपछिको क्रममा आउने रचना हो । संसारको सबै भन्दा सानो मानिएको देश भ्याटिकन सिटीको मुख्य चोक शिवलिङ्गको आकारमा रहेको भान भएर लेखकले निकै गहिरो तर्क गरेका छन् । भ्याटिकन सिटीको शाब्दिक नामसँग संस्कृतको वाटिक शब्दसँग सामीप्यताको अनुभव गर्दै बजगाईंले यसको पवित्रतासँग हिन्दू दर्शनको साइनो पुगेको हुन सक्ने कल्पना गरेका छन् । क्रिस्चियन धर्मको पवित्र भूमिका रुपमा तथा विश्वको सबै भन्दा सानो देशको रुपमा रहेको भ्याटिकन सिटीको इतिहास, धर्म, संस्कार र त्यहाँको पोप परम्पराको ऐतिहासिकता देखाउने यो यात्राविवरणले पनि तथ्य तथ्याङ्कहरु बोकेको छ ।
द. ‘प्राचीन रोममा कुमारी’ यस कृतिको यो महत्वपूर्ण र कृतिको नामकरणसँग सम्बन्धित यात्राविवरण हो । यो रचनामा बजगाईंले रोमको सभ्यता र त्यहाँको प्राग् ऐतिहासिक अवस्थाको तथ्यलाई केलाउने काम गरेका छन् । यो पवित्र थलोको मन्दिर सभ्यता र नेपालको पुरानो सभ्यताको मेल बुझेर उनले काठमाडौंको स्मरण गरेका छन् । नेपालको कुमारी परम्परासँग मेल खाने विषय पनि रोममा रहेको पाएर नियात्राकार आश्चर्यान्वित छन् । सातओटा पहाडको सहर रोमन फोरममा पुरातात्विक अवशेषको अवलोकनमा लेखक अत्यन्त मोहित भएका छन् । यद्यपि भाया साक्रा वा पवित्र मार्गमा यात्रा गर्दाको अनुभव यस निबन्धमा रहेको छ र यसैलाई पुस्तकको महत्वपूर्ण पक्ष मानेर नामकरण गरिएको बुझिन्छ तापनि यसको पवित्र मार्गको बयान केही अधिक हुनु पर्ने पाठकीय अपेक्षा भने अलिक थाती नै रहन सक्छ ।
ध.‘नेपल्समा नेपाली खोज्दा ज्वालामुखी’ यो यस नियात्रा सङ्ग्रहको अर्काे महत्वपूर्ण रचना हो । यो पनि इटलीको नेपल्स यात्राको क्रममा जन्मेको रचना हो । इटालेलीमा नापोली र अङ्ग्रेजीमा नेपल्स भनेर चिनिने यस स्थानमा प्राचीन समयमा ग्रीकबाट आएका आप्रवासीको बस्ती बसेको थियो भन्ने इतिहास पनि कोट्याइएको छ । नेपल्समा नेपालीको खोजी गर्नु भन्दा बरु यहाँको ज्वालामुखी पहाड हेर्न जानु नि भनेर रेस्टुरेन्टका मालिकले भनिदिएपछि यात्रा ज्वालामुखी पर्वततिर मोडिएको छ । भेसुभियस पहाडमा उहिल्यै १९४४ सालमा भएको ज्वालामुखी विस्फोटको राखको अवलोकनमा लेखकले गरेको ज्वालामुखी सम्बन्धी अन्य तथ्याङ्कहरुले यात्रा भन्दा पनि भोल्क्यानो वा ज्वालामुखीका सो मुलुक भन्दा अन्यत्रका समेत तथ्य पस्किएजस्तो लाग्ने यो नियात्राबन्ध पनि स्वादिलो र रोचक यात्रात्मक छ ।
न. ‘डेथ ट्र्यापमा फनफनी’ यो पनि इटलीको रोममा रहेको एम्फिथिएटरको अवलोकनको क्रममा जन्मिएको रचना हो । मध्ययुगको सात आश्चर्यमा पर्न सक्ने यो ऐतिहासिक कोलोसियम थिएटरको निर्माणको अद्भूत कलात्मक पक्षहरुको अवलोकन र यसको वर्णन नै यस नियात्राको वण्र्य विषय हो । नाट्यघरको आकारप्रकार, निर्माणप्रविधि, अत्यन्त परिष्कृत वास्तुशिल्प, इन्जिनियरिङ वा प्रविधि आदिको आश्चर्यजनक स्वरुप देखेर नियात्राकार छक्क परेका छन् र दङ्गदास भएका छन् । यात्राको क्रममा यस थिएटरको कायाकैरन नै अघि सारेका छन् ।
प. कृतिको अन्तिम रचना हो ‘शाश्वत नगर रोममा’ । यसमा पनि इटलीको राजधानी रोमको शाश्वत पक्षलाई अघि सारिएको छ । ऐतिहासिक विषयवस्तुहरुको यात्रात्मक अवलोकनपछिका विचार र सोचहरु देखिएका छन् । रोमलाई युरोपमा मन्दिर, भवन, स्मारक, कलाकौशल आदि मानव सम्पदाको सहर नै मानिन्छ । यसले यी विषयहरुमा संसारमै नाम कमाएको छ भन्दै लगभग तिन हजार वर्ष अघिका सामग्रीहरु र स्मारकहरुको अगाडि हजार दुई हजार वर्ष पुराना स्मारक मन्दिरहरुको ता महत्व नै नहुने रहेछ भनेका छन् र इतिहासको लामो झलक बोकेको सहरका रुपमा यसको परिचय दिएका छन् । रोमनहरुको ऐतिहासिक पान्थियन (सबै देवदेवीको मन्दिर) मन्दिरमा घुम्न जाँदा सातौं शताब्दीमा क्रिस्चियनहरुले त्यस मन्दिरलाई इशाइकरण गरेको कुरा थाहा पाएर लेखकलाई खल्लो लागेको छ । रोमन राजाहरु वा रोमनहरुको धर्म र हिन्दू धर्ममा समानताका कुराको खुलासा गर्दै हिन्दूधर्मकै स्वरुपसँग तुलना हुन सक्ने विविध पक्षहरुको तुलनात्मक विषयहरुको झलक दिएका छन् । यसै यात्रामा बेलायती रोमान्टिक कवि जोन किटस् र पर्सि विस सेलीको निवासको अवलोकन भ्रमणसमेत भएको छ । यस्ता पुराना कलाकृतिहरु र स्मारकलाई सुरक्षित रुपमा राख्न समर्थ यो रोम सहरले शाश्वत सहरको नाम कमाएको तथ्यहरु अघि सार्दै यसले इतिहासकै स्मारक सहरका रुपमा नाम कमाएको कुरा समेत उल्लेख गरिएको यसै यात्रा विवरणमा कृतिको समापन गरेका छन् ।
यसरी यात्राकार कृष्ण वजगार्इंंका यस कृतिको खुलासा गनृ सकिन्छ ।
४. कृतिको मूल्य ः
प्रस्तुत ‘भाया साक्रा’ नेपाली यात्रासाहित्यको परम्पराको अहिलेसम्मको लगभग पछिल्लो रचना हो । नेपाली यात्रा साहित्यमै नभएको कुरा यसमा छ भन्ने हैन । अरु यात्रा विवरणहरु र अरुका रचनाहरु भन्दा पूरापूर फरक छ भन्ने कुरा पनि हैन । यद्यपि एक भन्दा अर्काेमा केही न केही भिन्नता हुन्छ नै । हुनु पनि पर्छ । मेरो विषय नै यात्रा साहित्य हो यसैले यात्रा नेपाली यात्रा साहित्यका बारेमा केही भन्ने म अधिकार राख्छु ।
नेपाली यात्रा साहित्यको पहिलो यात्रा कृति ‘राजा गगनीराजको यात्रा’, र त्यसपछिको ‘जङ्गबहादुरको बेलायत यात्रा’ नामक कृतिहरुदेखि यसोका हात लागेका र अहिलेम्म पाइएसम्मका रचना पढेको छु । यसैले मलाई यात्रासाहित्यकारहरुको शक्ति, सामथ्र्य, सीमा, औकात र उनीहरुको नियात्रात्मक मूल्यको धेरथोर जानकारी छ । यसै जानकारीका आधारमा बजगाईंको यात्राकर्मको यहाँ अब अलिकति आकलन गर्नतिर लाग्दैछु ।
बजगाईं यात्रा साहित्यको रचनामा पर्याप्त क्षमता भएका रचनाकार हुन् । निबन्धको भाषामा पहुँच भएका भाषाकर्मी हुन् । उनको यात्रा लेखनधर्मलाई नियाल्दा उनी वस्तुपरक यात्राकार हुन् । वस्तुको तथ्य र तथ्याङ्कहरु, त्यसको इतिहास, आकार प्रकार लगायतका तथ्य दिने यात्राकारहरुमा भने उनी अग्रिम कोटीमा पर्न सक्छन् । वस्तुसँग आत्मराग उनका यात्राविवरणमा कम हुने हुँदा उनी विवरणमुखी, तथ्यमुखी, व्याख्यामुखी, सामग्रीको आकलनमुखी नियात्राकार हुन् । स्थान र अवस्थाअनुसार उनमा सम्वेदना पनि प्रकट हुन्छ, यो हुनै पर्ने विषय नभए पनि भावुकता, रोमान्टिकता, हार्दिकता र रागात्मकताहरुको केही कमी अनुभव हुन्छ उनका रचनामा । यात्राको क्रममा त्यहाँको प्रकृति, मानवस्वभाव, कलाकौशल र आचार विचार देखेर भावुक हुनु भन्दा आफ्नो देश यस्ता विषयमा पछि परेकोमा उनी अलिक मुर्मुरिन्छन् । यसैले उनी आचोचक यात्रीका रुपमा देखिन्छन्, यहींनिरबाट उनी निष्णात देशभक्त नेपालीका रुपमा सुपरिचित हुन आउँछन् । अर्थात् उनी जुन सन्दर्भलाई पनि नेपालसँग अलिकति जोडिहाल्छन् र आफ्नो मुलुकमा पनि यस्तो भए ता हुने थियो नि, हामी सारै पछि परिरहेका छौं भनेर गुनासो गर्छन् । राम्रो कुराको समर्थन गर्न र नराम्रो कुरामा आलोचना गर्न उनी बाटो पर्खिंदैनन् । त्यस्ता कुरालाई आलोचनात्मक रुपमा स्थापित गर्न पछि पर्र्दैनन् । अझ नेपालको राजनीतिक अवस्थाहरु र यहाँको नेतृत्वको अदूरदर्शिताको तिखो आलोचना पनि गर्न पछि पर्दैनन् ।
नेपाली यात्रासाहित्यकारहरुको औसत हारमा उनी स्थापित हुन्छन् । अनेक उपाय र सोच वा वर्णनका चातुर्यबाट नेपाली यात्रासाहित्यको प्रवाहलाई पूरै हल्लाएर अर्काे दिशामा मोड्ने नभई प्रबाहमा गतिवान् र आफ्नो भिन्न पहिचान राख्न सक्ने सामथ्र्य भएका यात्राकारको रुपमा उनलाई लिनु पर्छ । यो नै उनको र उनका यात्रासाहित्यको मूल्याङ्कन हो ।
वर्णनमा चातुर्य छ, भाषामा अधिकार छ यो गुणात्मक पक्ष नै हो । नेपाली भाषामा प्रचलित उखान, टुक्काहरु र नेपाली स्तरीय वण्र्य र कथ्यको प्रयोगमा उनी सिपालु छन् । पर्याप्त मिथहरु प्रयोग गरेका छन् । सूक्तिहरु पनि यदाकदा उपयोग गरेका छन् । परिष्कृत र परिमार्जित शैलीमा ‘भाया साक्रा’ निर्मित छ । जे छ, मूल्यवान् छ ।

झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु