भानुभक्तः नेपाली हास्य–व्यङ्य साहित्यका पथनिर्माता

- प्रा.डा.गंगाप्रसाद अधिकारी

हास्य–व्यङ्ग्य साहित्यको विधा–विशेष नभई पद्धतिविशेष चाहिँ हो । यसको उपस्थिति साहित्यका प्रायः जसो विधाहरूमा रहेको देखिन्छ । जीवनजगतका अनेकौं विकृति र विसङ्गतिलाई विनोदात्मक अथवा ठट्यौलो पारामा छेडपेचका साथ अभिव्यक्ति दिँदा नै हास्य–व्यङ्ग्य साहित्यको जन्म हुन्छ । हाँस्नु, ठट्टा–रमाइलो गर्नु मानिसको नैसर्गिक स्वभावै हो र यसबाट मानिस आत्मिक आनन्दको अनुभूति गर्छ । त्यसैले जुन कुनै मानिस पनि त्यही आनन्दप्राप्तिको लालसाले गर्दा समय–समयमा जीवनका अनेकौं गम्भीर बोझहरूबाट मुक्त भई हाँस्न र ठट्टा रमाइलो गरेर मनोरञ्जन प्राप्त गर्न चाहन्छ । अतः साहित्य–स्रष्टाहरूले पनि प्राचीन कालदेखि नै आफ्ना सृजनाहरूका माध्यमबाट त्यही मनोरञ्जन दिने उद्देश्यले हास्य–व्यङ्ग्यको सृजना गर्दै आएका छन् भने साहित्यचिन्तकहरूले पनि यसको सैद्धान्तिक दृष्टिबाट चर्चा परिचर्चा गर्दै आएका छन् ।
हास्य–व्यङ्ग्यको सृजना पूर्व पश्चिम दुवैतर्फ साहित्यका आदि स्रष्टाहरूबाटै हुँदै आएको पाइन्छ । त्यसको साक्ष पूर्वमा भरतको ‘नाट्यशास्त्रम्’ले र पश्चिममा अरस्तुको काव्यशास्त्र ‘पेरिपोइतिकेस’ ले प्रस्तुत गर्दछन् । पश्चिममा नाटकलाई कमेडी (सुखान्त) र ट्राजेडी (दुःखान्त) मा वर्गीकरण गरी अरस्तुले हास्य–विनोदात्मक एवम् व्यङ्ग्य–विद्रोहात्मक नाटकलाई कमेडी मानेको र आदिकवि होमरले नै ‘मार्गारितोस’ (हास्य–व्यङ्ग्य महाकाव्य) लेखेको उल्लेख गरेका छन् भने पूर्वमा आदि चिन्तक भरतले साहित्यका आठ रस मानेर तिनै रसमध्येको एक हास्य रस बताउँदै भाण, प्रहसन आदि नाट्यप्रकारलाई हास्य रसप्रधान मानेका छन् । यिनै प्रमाणहरूबाट नै हास्य–व्यङ्ग्यको सृजनाको परम्परा शिष्ट साहित्यको परम्परासँगै थालिएको पुष्टि हुन्छ । नेपाली साहित्यमा पनि प्रथमतः सैद्धान्तिक सचेतताका साथ शक्तिबल्लभ अर्ज्यालले आफैंले संस्कृतमा लेखेको ‘हास्य कदम्ब’ नाटकको १८५५मा नेपालीमा अनुवाद गरेपछि प्रारम्भ भएको पाइन्छ ।
यसरी साहित्यमा हास्य–व्यङ्ग्यको थालनी प्रारम्भमा नाट्य विधाबाट भएको देखिन्छ तापनि पछि गएर यसको विस्तार कविता, कथा आदि हुँदै प्रायः सबै विधामा भएको पाइन्छ भने हाल आएर यसले कविता र विशेष गरी निबन्ध विधामै बढी सफलता पाएको अनुभव हुन्छ ।
हास्य र व्यङ्ग्य आफैंमा अलग–अलग स्वतन्त्र अस्तित्व भएका कुरा हुन् । हास्य विकृतिबाट र व्यङ्ग्य विसङ्गतिबाट सृजना हुने कुरा दर्शाएर विद्वान्हरूले यिनीहरूका उत्पत्तिस्रोत पनि अलग अलग रहने बताएका छन् । यी दुई अलग–अलग कुरा भएकैले पूर्वीय एवम् पाश्चात्य चिन्तन एवम् सृजनको परम्परामा आधारभूत भिन्नता पनि देखिन्छ । त्यो भिन्नता के हो भने पूर्वमा (संस्कृत साहित्य परम्परामा) हास्यलाई प्रधान तŒव मानेर ‘हास्य रस’ का रूपमा हेर्ने परम्परा रहेको छ । साथै त्यसैको उपकारक अथवा सहायक तŒवका रूपमा मात्र व्यङ्ग्यको उपस्थिति रहने बुझिन्छ भने पश्चिममा चाहिँ प्रधान तŒव व्यङ्ग्यलाई मान्दै त्यसकै एउटा पक्ष वा अङ्गको रूपमा मात्र हास्यलाई लिने गरेको परम्परा रहेको छ । त्यसैले पूर्वमा (संस्कृत) हास्यलाई आधार बनाईं हाँसोकै विविध प्रकारका रूपमा यसको वर्गीकरण गरिएको छ भने पश्चिममा चाहिँ हास्य वर्ग र व्यङ्ग्यवर्गका अलग–अलग प्रकारहरूको चर्चा पाइन्छ । नेपाली साहित्यमा भने सैद्धान्तिक रूपमा भिन्न माने पनि सृजनामा चाहिँ दुवैलाई सँगै राखेर ‘हास्य–व्यङ्ग्य’ कै रूपमा हेर्ने गरिएको छ, छुट्याएर हेर्ने परम्परा छैन । तर, परम्परा जे भए पनि यिनको मात्रागत अन्तर वा प्रधानताको आधारमा हास्य वा हास्यतŒवप्रधान ,व्यङ्ग्य वा व्यङ्ग्यतŒवप्रधान र दुवैको सन्तुलन भएको हास्य–व्यङ्ग्य गरी यसलाई तीन वर्गमा राखेर हेर्न सकिने देखिन्छ ।
शक्तिबल्लभ अर्ज्यालको ‘हास्य कदम्ब’ ( नेपाली अनुवाद १८५५) नै नेपाली साहित्यको प्रथम हास्यरसप्रधान नाट्यकृति हो । संस्कृतको हास्य रसको परम्पराबाट अनुप्राणित हुँदै मूलतः हास्य रससम्बन्धी सैद्धान्तिक सचेततासाथ सृजना गरिएको ‘हास्य कदम्ब’ मा अंशतः व्यङ्ग्यचेत पनि मुखरित भएको पाइन्छ । यसर्थ शक्तिबल्लभका समकालीन तथा अग्रज स्रष्टाहरूबाट पनि छिटफुट रूपमा हास्य–व्यङ्ग्यको प्रयोग भएको देखिए पनि सचेत रूपमा हास्य–व्यङ्ग्य सृजना गरेकाले पहिलो नेपाली हास्य–व्यङ्ग्यस्रष्टाको ऐतिहासिक श्रेय शक्तिबल्लभलाई नै प्राप्त छ ।
शक्तिबल्लभपछि भानुभक्त नै यस फाँटका उम्दा सर्जकका रूपमा देखिएका छन् । संस्कृत साहित्यको हास्य रसको परम्पराबाट प्राप्त सैद्धान्तिक सचेततासाथ यस क्षेत्रमा देखिएका शक्तिबल्लभमा हास्य रससम्बन्धी सैद्धान्तिक चेत तीव्र भए पनि समसामयिक समाजका विसङ्गति–विकृतिजनित व्यङ्ग्यचेत न्यून र व्यङ्ग्यबोधभन्दा पनि आक्षेपको मात्रा ज्यादा हुनाले उनको व्यङ्ग्यचेत अत्यन्त दुर्बल प्रतीत हुन्छ । त्यसैले हास्य–व्यङ्ग्य सञ्चेतनाको सशक्तताका दृष्टिले भानुभक्तभन्दा शक्तिबल्लभ निकै दुब्ला छन् ।
भानुभक्त भक्तिधाराका कवि भएकाले उनको सम्पूर्ण सृजना सामथ्र्य मूलतः भक्ति रसमै केन्द्रित देखिन्छ तापनि एउटा स्वतन्त्र जीवनभोक्ताका हैसियतबाट निर्मित उनको कवि व्यक्तित्वको अर्को पाटो पनि सिङ्गै छ । त्यस पाटोमा हामी भानुभक्तलाई एउटा समाजसचेत, युगसचेत, जीवनसचेत र व्यवहारसचेत कविका रूपमा पाउँछौं । उनले वैयक्तिक रूपमा देखे–भोगेको समाज, मानवीय जीवनपद्धति, विधिव्यवहार, युगीन सामाजिक परिस्थिति आदिबाट प्राप्त अनुभूतिलाई पनि उनले उत्तिकै सशक्तता एवम् सचेतता साथ प्रस्तुत गर्न सकेका छन् । यसै क्रममा उनले आफ्नो निजी भोगाइमा जीवन एवम् समाजलाई जे–जस्तो रूपमा देख्नु–भोग्नु पर्यो, त्यसभित्र उनले जे–जस्ता बेथिति, विकृति र विसङ्गतिहरू देखे–भोगे त्यसलाई उनको ठट्यौलो र छेडालु कलमले ज्यादै मनोहारी ढङ्गले पोख्न सकेको छ । त्यसैले लाग्छ, भानुभक्त भक्तिरसपछि हास्य–व्यङ्ग्य सृजनामा नै बढी सशक्त र समृद्ध छन् ।
हास्य–व्यङ्ग्य सृजनातर्फ भानुभक्त संख्यात्मक वा मात्रात्मक दृष्टिले निकै दुब्ला प्रतीत हुन्छन् । उनका पाँच–सात फुटकर कविता मात्र यसको उदाहरणका रूपमा पाउन सकिन्छ । तर गुणात्मक दृष्टिले उनले यस फाँटमा जुन उचाइ छोए त्यो उचाइमा पुग्न नेपाली परम्पराले देवकोटा, पिंडाली र भैरव अर्यालहरूलाई नै पर्खिनु पर्यो ।
हास्य–व्यङ्ग्य सृजनाका दृष्टिबाट भानुभक्तका पाँच–सात फुटकर रचनाहरू उल्लेख्य देखिन्छन् । आफ्नै जीवन भोगाइका क्रममा देखे–भोगेका र अनुभव गरेका विविध विकृति–विसङ्गतिलाई नै विषय बनाई लेखिएका यी श्लोकहरू नेपाली हास्य–व्यङ्ग्यका बेजोड नमुना बनेका छन् । कुमारी चोकमा थुनिँदाका बखत भोग्नुपरेको विषम भोगाइलाई विषय बनाई लेखिएको यो श्लोक हास्य र व्यङ्ग्यको सन्तुलित प्रयोगका दृष्टिले अत्यन्त उत्कृष्ट छ —
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात् भर् नाच् पनि हेर्छ‘ खर्च नगरी ठूला चयन्मा म छू ।
लाम्खुट्टे उपिञा उडुस् यि सँगी छन् यिन्कै लहड्मा बसी
लाम्खुट्टेहरू गाउँछन् यि उपिञा नाच्छन् म हेर्छू बसी ।
यसै गरी हास्य कम तर व्यङ्ग्यचेत अत्यन्त प्रबल रहेको उदाहरणको रूपमा यो पंक्ति पनि बेजोड छ –
जागिर छैन धनी म छैन घरको केवल् कुदालो खनी
खान्थ्याँ दुःख गरेर चाकरी ग¥याँ मान् पाउँला कि भनी
एक् मन् चित्त लगाइ चाकरी ग¥याँ खूसी भयाछन् हरि
मान् माथि पनि भुक्तमान् थपिदिया कैल्ह्यै नखोस्न्या गरी ।
भानुभक्त समसामयिक जीवनका बेथिति र विसङ्गतिप्रति अत्यन्त आक्रोशित र विद्रोही पनि बनेर देखापरेका छन् । तात्कालिक प्रशासनिक क्षेत्रका अनियमितता, ढिलासुस्ती र लापरवाहीलाई विषय बनाएर रचिएको यस श्लोकले त्यस बेलाको मात्र होइन आजको प्रशासनिक बेथितिलाई समेत चोटिलो प्रहार गर्छ —
बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप् रहञ्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिन दिन् भन्दछन् भोलि भोलि
की ता सक्दीन भन्नू कि तब छिनिदिनू क्यान भञ्छन् इ भोली
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली
त्यसो त व्यङ्ग्य विद्रोहका नाउँमा व्यक्तिगत गाली–गलौज र सत्तो–सराप गर्न पनि उनी पछि परेका छैनन् । वैयक्तिक गली–गलौजकै तहमा ओर्लिएको अभिव्यक्तिको रूपमा गजाधर सोतीकी बुढीसम्बन्धी निम्न प्रसङ्गलाई लिन सकिन्छ —
गजाधर् सोतीकी घरबुढी अलच्छिन्की रहिछन्
नरक् जानालाई सबसित बिदाबादि भइछन्
गयौं साँज्मा तिन्का घर पिंडिमहाँ बास गरियो,
निकालिन् साँजैमा अलिक पर गुज्ज्रान गरियो
यसै गरी गिरिधारी भाटसँगको मुद्दाका सन्दर्भमा पनि यस्तै वैयक्तिक गाली–गलौजको प्रयोग गरिएको छ । कतिपय ठाउँमा भानुभक्त ठट्यौला र उर्बौला पनि देखिएका छन् । बन्दुक बिक्रीको प्रसङ्ग, असल मुङ्ग्रे केरा.. आदिको प्रसङ्गमा उनी राम्रैसँग जिस्किएका पनि छन् । आफ्ना प्रतिद्वन्द्वी संस्कृतज्ञ पण्डितका मूर्खतामाथि व्यङ्ग्य गर्दै, छेड हान्दै उनलाई ‘उल्लू’ सम्म भन्न पनि उनी पछि परेका छैनन् ।
खर् अक्षर् पर भै विसर्ग तिमिले क्याले गर्यौ लोप् भनी
कस्ता पण्डित ह्वौ भनेर चिठिमा लेखी पठायौ पनी
खर् अक्षर् पर भै विसर्ग तिमिले पो लोप् गर्यौ देखियो
यस्तै काम् गरि हिँड्दछौ र तब पो ‘उल्लू’ भनी लेखियो ।
यो अभिव्यक्ति उनका प्रतिपक्षीप्रतिद्वन्द्वीको निन्दा–आक्षेपात्मक पत्रको निन्दा–आक्षेपात्मक रूपमै दिइएको जवाफको रूपमा आएको छ । यस्तै आफूले उपहार दिएको बिर्के टोपी सानु हुँदाको अभिव्यक्तिमा पर्याप्त ठट्यौलो–हँस्यौलोपन पाइन्छ । यी बाहेक आनुप्रासिक चमत्कारका माध्यमबाट हाँसो सृजना गरिएका उदाहरणहरू पनि उनका कतिपय फुटकर श्लोकहरूमा पाइन्छ ।
भानुभक्तरचित यी हास्य–विनोदात्मक एवम् व्यङ्ग्यविद्रोहात्मक–आक्षेपात्मक श्लोकहरू हास्य–व्यङ्ग्यसम्बन्धी सैद्धान्तिक सचेततावस सायास सृजना गरिएका भन्दा पनि आफ्नै दैनन्दिन जीवन भोगाइका क्रममा देखे–भोगेका,अनुभव गरेका कुराहरूकै स्वतः स्फूर्त आभिव्यक्तिका रूपमा आएका छन् । सचेत रूपमा हास्य–व्यङ्ग्य सृजनाका लागि भन्दा पनि जीवनका कटु अनुभवहरूबाट अभिप्रेरित भई समाजका बेथिति–विसङ्गतिहरूको कुतकुत्याइबाट सृजित यी रचनाहरूले तत्कालीन सामाजिक अर्घेल्याइँहरूलाई चोटिलो प्रहार गर्दछन् ।
नेपाली हास्य–व्यङ्ग्यसृजनाको परम्परामा भानुभक्त शक्तिबल्लभपछि देखा परेका हुन् । भानुभक्तअघिका शक्तिबल्लभमा हास्य रससम्बन्धी सैद्धान्तिक सचेतता हुँदा हुँदै पनि त्यो सहज स्वस्फूर्तभन्दा निर्माणमुखी नै ज्यादा छ । साथै समाजचेत कम हुनगई व्यङ्ग्यबोध पनि न्यूनतम बनेको छ । समसामयिक समाजका होची–अर्घेलीमाथि कटाक्ष गर्ने कलामा अर्ज्याल निकै कमजोर देखिन्छन् भने यसका तुलनामा भानुभक्तको व्यङ्ग्यचेत अत्यन्त प्रखर र चोटिलो छ । आफैंले देखे–भोगेका समसामयिक सामाजिक विसङ्गतिहरूलाई पक्रेर धारिलो व्यङ्ग्य गर्ने कौशल भानुभक्तमा बेजोड छ । सामाजिक होची–अर्घेलीमाथि कटाक्ष गर्नेदेखि लिएर वैयक्तिक जीवनका स्वभाव–आचारजन्य कमी–कमजोरीमाथि आक्षेपात्मक नाटी–कुटी गर्नेसम्मका प्रयोग भानुभक्तले गरेका छन् ।
यसरी समसामयिक युगजीवनका विसङ्गति–विकृतिलाई विषय बनाई हास्य तŒवको समुचित उपयोगका साथ स्वस्फूर्त रूपमा जीवनका असङ्गतिहरूमाथि प्रहार गर्ने भानुभक्तीय शैली अत्यन्त सशक्त र समृद्ध छ ।
यति मात्र होइन, भानुभक्तपछिको सिङ्गो माध्यमिक कालभरि पनि भानुभक्तले दिएको स्तरीयता यस क्षेत्रमा कसैले दिन सकेको देखिँदैन । त्यसैले नेपाली हास्य–व्यङ्ग्य परम्पराको प्रथम चेष्टा शक्तिबल्लभको ‘हास्य कदम्ब’ हो तापनि हास्य–व्यङ्ग्यको सन्तुलित प्रयोग, समाजसचेत व्यङ्ग्यबोध, प्रस्तुतिगत उचाइ एवम् मौलिक सृजनाका दृष्टिले आधुनिक हास्य–व्यङ्ग्य सञ्चेतनाका प्रथम पथनिर्माताका साथै सिङ्गो प्राथमिक र माध्यमिक कालभरिका प्रतिनिधि हास्य–व्यङ्ग्यकारका रूपमा भानुभक्तलाई लिन सकिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2075

लेखकका अन्य रचनाहरु